सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बगालबाट तर्किएकाहरूलाई मदत गर्नुहोस्‌

बगालबाट तर्किएकाहरूलाई मदत गर्नुहोस्‌

बगालबाट तर्किएकाहरूलाई मदत गर्नुहोस्‌

“मसित रमाओ, किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।”—लूका १५:६.

१. येशूले आफूलाई कसरी मायालु गोठालो साबित गर्नुभएको छ?

 यहोवाका एक मात्र पुत्र येशू ख्रीष्टलाई “भेडाका महान्‌ गोठाला” भनिएको छ। (हिब्रू १३:२०) उहाँको आगमनबारे बाइबलले पहिल्यै बताइसकेको थियो। अनि उहाँ इस्राएलको “हराएको भेडा” खोज्ने बेजोड गोठालो हुनुहुन्थ्यो भनी देखायो। (मत्ती २:१-६; १५:२४) त्यसबाहेक, आफ्नो भेडाको सुरक्षाको लागि ज्यान दिन तयार गोठालो जस्तै येशूले पनि उहाँको बलिदानबाट लाभ उठाउन चाहने भेडाखाले नम्र जनहरूका निम्ति छुटकाराको बलिदान दिनुभयो।—यूह. १०:११, १५; १ यूह. २:१, २.

२. कोही-कोही ख्रीष्टियानहरू निष्क्रिय हुनुको कारण के हुन सक्ला?

दुःखको कुरा, पहिला येशूको बलिदानको मोल गर्ने जस्तो देखिएका र परमेश्‍वरमा समर्पण गरेका व्यक्‍तिहरूले अहिले ख्रीष्टियान मण्डलीसित संगत गर्न छाडेका छन्‌। हुन सक्छ निरुत्साह, स्वास्थ्य समस्या वा अन्य कारणले गर्दा तिनीहरूको जोस सेलाएको छ र तिनीहरू निष्क्रिय भएका छन्‌। तर, परमेश्‍वरको बगालमा रहेर मात्र तिनीहरूले दाऊदले भजन २३ अध्यायमा बताएको शान्ति र आनन्द पाउन सक्छन्‌। उदाहरणको लागि, उनले यसरी गाए: “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” (भज. २३:१) परमेश्‍वरको बगालमा भएकाहरूलाई आध्यात्मिक अर्थमा कुनै कुराको खाँचो छैन तर बगालबाट तर्किएकाहरूलाई त्यसो हुँदैन। तर्केकाहरूलाई कसले र कसरी सहयोग गर्न सक्छ? अनि, तिनीहरूलाई बगालमा फर्काइ ल्याउन के गर्न सकिन्छ?

कसले मदत दिन सक्छ?

३. परमेश्‍वरको खर्कको हराएका भेडा उद्धार गर्न येशूले के चाहिन्छ भन्‍नुभयो?

परमेश्‍वरको खर्कको हराएका भेडालाई उद्धार गर्न निष्कपट प्रयास चाहिन्छ। (भज. १००:३) यस कुरालाई येशूले दृष्टान्तमा यसरी भन्‍नुभयो: “कोही मानिसका सय भेडामा एउटा हरायो भने, त्यसले उनान्सयवटालाई छोडीकन पर्वतहुँदो गएर त्यस हराएकोलाई खोजि गर्दैन र? औ यदि उसले त्यसलाई भेट्टाइहाल्यो भने, म तिमीहरूलाई साँचो भन्दछु, ती नहराएका उनान्सयभन्दा त्यो एउटाको लागि बढ्‌ता रमाउनेछ। त्यस्तैगरी यी सानाहरूमध्ये एउटा पनि नष्ट नहोस्‌ भन्‍ने तिमीहरूका स्वर्गमा हुने पिताको इच्छा छ।” (मत्ती १८:१२-१४) बगालबाट तर्केका भेडाखाले नम्र जनहरूलाई कसले मदत गर्न सक्छ?

४, ५. परमेश्‍वरको बगालप्रति प्राचीनहरूको मनोवृत्ति कस्तो हुनुपर्छ?

ख्रीष्टियान प्राचीनहरूले तर्केका भेडालाई मदत गर्ने हो भने, परमेश्‍वरको बगाल भनेको यहोवामा समर्पित मानिसहरूको मण्डली हो भन्‍ने कुरा मनमा राख्नै पर्छ। हो, तिनीहरू ‘परमेश्‍वरको खर्कको’ अनमोल बगालका भाग हुन्‌। (भज. ७९:१३) यस्ता प्यारा भेडाहरूलाई कोमल हेरचाह चाहिन्छ। मतलब, मायालु गोठालाहरूले ती भेडामा व्यक्‍तिगत चासो राख्नुपर्छ। तिनीहरूलाई मित्रैलो तरिकामा गोठालो भेट गर्नु एकदमै प्रभावकारी हुन सक्छ। गोठालोले मायालु ढंगमा प्रोत्साहन दिंदा तिनीहरू आध्यात्मिक तवरमा बलिया हुन सक्छन्‌ र बगालमा फर्किने तिनीहरूको इच्छा बढ्‌न सक्छ।—१ कोरि. ८:१.

बगालबाट तर्केका भेडालाई खोज्ने र तिनीहरूलाई मदत दिने जिम्मेवारी परमेश्‍वरको बगालका गोठालाहरूको हो। प्रथम शताब्दीको एफिससका ख्रीष्टियान प्राचीनहरूलाई तिनीहरूको गोठालो गर्ने जिम्मेवारीबारे प्रेरित पावलले यसरी स्मरण गराए: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्‍नुभएकोले होशियारी हुनुहोस्‌।” (प्रेरि. २०:२८) त्यस्तैगरि, प्रेरित पत्रुसले पनि अभिषिक्‍त बूढा-प्रधानहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्‍वरको इच्छाबमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले, तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ।”—१ पत्रु. ५:१-३.

६. परमेश्‍वरका भेडाहरूलाई विशेषगरि आज किन गोठालाहरूको हेरचाह चाहिन्छ?

ख्रीष्टियान गोठालाहरूले “असल गोठाला” येशूको अनुकरण गर्नुपर्छ। (यूह. १०:११) उहाँ परमेश्‍वरको बगालको गहिरो चिन्ता लिनुहुन्थ्यो र शिमोन पत्रुसलाई “मेरा भेडाहरूको हेरचाह गर” भन्‍नुहुँदा तिनीहरूको हेरचाह गर्नुको महत्त्वलाई जोड दिनुभयो। (यूहन्‍ना २१:१५-१७ पढ्‌नुहोस्‌) त्यस्तो हेरचाह भेडाहरूलाई विशेषगरि आज चाहिन्छ किनभने परमेश्‍वरप्रति समर्पित व्यक्‍तिहरूको निष्ठा तोड्‌न शैतान झन्‌ जोडतोडले लागिपरेको छ। त्यसले शारीरिक कमजोरीहरूको फाइदा उठाउँछ र यहोवाका सेवकहरूलाई पापी क्रियाकलापमा फसाउन संसार चलाउँछ। (१ यूह. २:१५-१७; ५:१९) विशेषगरि निष्क्रिय व्यक्‍तिहरू जोखिममा छन्‌। तसर्थ, तिनीहरूलाई “आत्माको भरमा हिंड” भन्‍ने सल्लाह लागू गर्न सहयोग चाहिन्छ। (गला. ५:१६-२१, २५) यस्ता भेडालाई मदत गर्नको लागि प्रार्थनापूर्वक परमेश्‍वरमा भरोसा राख्नु, उहाँको आत्माको निर्देशन खोज्नु र उहाँको वचन दक्षतासाथ चलाउनु आवश्‍यक छ।—हितो. ३:५, ६; लूका ११:१३; हिब्रू ४:१२.

७. प्राचीनहरूले आफ्नो हेरचाहमा रहेका भेडाखाले नम्र जनहरूको गोठालो गर्नु कत्तिको महत्त्वपूर्ण छ?

प्राचीन इस्राएलमा गोठालाहरूले बगाल चराउन लामो अंकुसे लौरो प्रयोग गर्थे। भेडाहरू खोरबाट निस्कँदा वा खोरभित्र छिर्दा ‘लौरोको मनि छिरेर जान्थे’ र यसरी गोठालोले भेडाको गन्ती लिन सक्थे। (लेवी २७:३२; मीका २:१२; ७:१४) त्यस्तैगरि, ख्रीष्टियान गोठालोले पनि आफ्नो हेरचाहमा रहेका परमेश्‍वरको बगाललाई राम्ररी चिन्‍नु र तिनीहरू के-कस्ता अवस्थामा छन्‌ जान्‍नु आवश्‍यक छ। (हितोपदेश २७:२३ तुलना गर्नुहोस्‌) तसर्थ, प्राचीनहरूको निकायले विचार गर्ने एउटा महत्त्वपूर्ण विषय गोठालो गर्ने काम हो। यसमा, तर्केर गएका भेडालाई मदत गर्न प्रबन्ध मिलाउनु पनि समावेश छ। यहोवा स्वयम्‌ले भन्‍नुभएको छ कि उहाँ आफ्नो भेडालाई खोज्न जान्छु र चाहिएको मदत दिन्छु। (इज. ३४:११) त्यसैले, तर्केका भेडालाई बगालमा फर्काउने प्रयासमा प्राचीनहरूले त्यस्तै पाइला चाल्दा परमेश्‍वर खुसी हुनुहुन्छ।

८. प्राचीनहरूले कुन-कुन तरिकामा भेडालाई व्यक्‍तिगत ध्यान दिन सक्छन्‌?

सँगी विश्‍वासी बिरामी परेको बेला परमेश्‍वरको बगालको गोठालो भेट्‌न जाँदा आनन्द र प्रोत्साहनको स्रोत बन्‍न सक्छ। आध्यात्मिक तवरमा बिरामी परेको भेडालाई व्यक्‍तिगत ध्यान दिंदा पनि त्यस्तै नतिजा हुन सक्छ। प्राचीनहरूले तिनीसँगै बाइबल पदहरू पढ्‌न सक्छन्‌। कुनै लेख छलफल गर्न सक्छन्‌, सभाका मुख्य बुँदाहरूबारे बताउन सक्छन्‌, तिनीसँगै प्रार्थना अनि त्यस्तै अन्य कुरा गर्न सक्छन्‌। ती निष्क्रिय व्यक्‍ति मण्डलीमा फर्केमा अरू सदस्यहरू रमाउनेछन्‌ भनेर प्राचीनहरूले बताउन सक्छन्‌। (२ कोरि. १:३-७; याकू. ५:१३-१५) भेट्‌न जानु, एक कल फोन गर्नु वा चिट्ठी लेख्नुले मात्र पनि ठूलो मदत पुग्न सक्छ! बगालबाट हराएको भेडालाई व्यक्‍तिगत मदत दिंदा दयालु ख्रीष्टियान गोठालोको आनन्द पनि बढ्‌न सक्छ।

मिलेर प्रयास गर्नुपर्छ

९, १०. तर्केर गएका भेडाप्रति चासो देखाउने काम प्राचीनहरूको मात्र होइन भनेर तपाईं किन भन्‍न सक्नुहुन्छ?

हामी व्यस्त र डरलाग्दो समयमा बाँचिरहेका छौं। त्यसैले, सँगी विश्‍वासी मण्डलीबाट तर्किंदै गएको हामीलाई याद नहुन सक्छ। (हिब्रू २:१) तर, यहोवाको दृष्टिमा उहाँका भेडा अनमोल छन्‌। जसरी मानव शरीरको हरेक अंग मूल्यवान्‌ छ, त्यसरी नै ती हरेक भेडा मूल्यवान्‌ छन्‌। त्यसैकारण, हामी सबैले भाइहरूप्रति चासो देखाउनुपर्छ र एकअर्काको साँचो हेरचाह गर्नुपर्छ। (१ कोरि. १२:२५) के तपाईंको पनि त्यस्तै मनोवृत्ति छ?

१० हुन त तर्केर गएका भेडालाई खोज्ने र मदत गर्ने प्रमुख जिम्मेवारी प्राचीनहरूको हो। तैपनि, यस्ता सँगी विश्‍वासीप्रति चासो देखाउने काम ख्रीष्टियान निरीक्षकहरूको मात्र होइन। यी गोठालाहरूलाई अरूले पनि साथ दिन सक्छन्‌। बगालमा फर्कन मदत चाहिएका भाइबहिनीलाई हामी प्रोत्साहन र आध्यात्मिक सहयोग दिन सक्छौं र दिनु पनि पर्छ। तर, यस्तो मदत कसरी दिन सकिएला?

११, १२. निष्क्रिय सँगी विश्‍वासीलाई मदत दिने कस्तो विशेष अनुरोध तपाईंलाई गरिन सक्छ?

११ कतिपय अवस्थामा मदतको लागि आग्रह गर्ने निष्क्रिय व्यक्‍तिहरूसित बाइबल अध्ययन गर्न प्राचीनहरूले अनुभवी राज्य प्रकाशकलाई खटाउन सक्छन्‌। यस्तो प्रयास गर्नुको उद्देश्‍य हो ती निष्क्रिय व्यक्‍तिहरूमा ‘[तिनीहरूको] पहिलेको प्रेम’ पुनः जगाउनु। (प्रका. २:१, ४) यी सँगी विश्‍वासीहरूलाई तिनीहरू सभामा नआउँदा छुटाएको आध्यात्मिक कुराबारे छलफल गरेर आध्यात्मिक तवरमा सुदृढ र बलियो पार्न सकिन्छ।

१२ आध्यात्मिक सहयोग चाहिएका सँगी विश्‍वासीसित बाइबल अध्ययन गर्न प्राचीनहरूले तपाईंलाई अनुरोध गरेमा यहोवाको निर्देशन र आशिष्‌ पाउन प्रार्थना गर्नुहोस्‌। हो, “आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदेऊ, र तिम्रा योजनाहरू सफल हुनेछन्‌।” (हितो. १६:३) आध्यात्मिक मदत चाहिएकाहरूसित छलफल गर्दा प्रयोग गर्न सकिने बाइबल पदहरू र तिनीहरूको विश्‍वास बलियो बनाउने बुँदाहरू विचार गर्नुहोस्‌। पावलको उत्कृष्ट उदाहरणलाई विचार गर्नुहोस्‌। (रोमी १:११, १२ NRV पढ्‌नुहोस्‌) केही आध्यात्मिक इनाम दिन पावलले रोमका ख्रीष्टियानहरूलाई भेट्‌ने इच्छा गरे। यसो गर्दा तिनीहरूको विश्‍वास दह्रो हुन सक्थ्यो। साथै, तिनले एकअर्कालाई प्रोत्साहन पुग्ने पनि आशा गरेका थिए। हामीले पनि परमेश्‍वरको बगालबाट तर्केका भेडालाई मदत दिंदा त्यस्तै मनोवृत्ति राख्नुपर्दैन र?

१३. निष्क्रिय व्यक्‍तिसित तपाईं के छलफल गर्न सक्नुहुन्छ?

१३ छलफलको दौडान निष्क्रिय व्यक्‍तिलाई यस्तो प्रश्‍न गर्न सक्नुहुन्छ: “तपाईंले सच्चाइ कसरी सिक्नुभयो?” ती निष्क्रिय व्यक्‍तिलाई सभा, प्रचारकार्य र अधिवेशनहरूमा बटुलेका आनन्ददायी अनुभवहरू बताउन प्रोत्साहन दिएर विगतका आनन्ददायी पलहरूको सम्झना दिलाउनुहोस्‌। सायद तपाईंहरूले यहोवाको सेवामा सँगै समय बिताउनुभएको थियो होला, त्यसबारे कुरा गर्नुहोस्‌। यहोवाको नजिक हुँदा तपाईंले पाएको आनन्दबारे बताउनुहोस्‌। (याकू. ४:८) परमेश्‍वरले आफ्ना जनहरू अर्थात्‌ हामीलाई जुन तरिकामा हेरचाह गर्नुहुन्छ, विशेषगरि संकष्टको बेला सान्त्वना र आशा दिनुहुन्छ, त्यसको लागि आभार व्यक्‍त गर्नुहोस्‌।—रोमी १५:४; २ कोरि. १:३, ४.

१४, १५. निष्क्रियहरूले पहिला पाएका कस्ता आशिष्‌हरूको सम्झना दिलाउनु मदतकारी हुन सक्छ?

१४ अवश्‍यै पनि, निष्क्रिय व्यक्‍तिलाई तिनले मण्डलीसित संगति गर्दा पाएको कतिपय आशिष्‌बारे सम्झना दिलाउनु लाभदायी हुन सक्छ। उदाहरणको लागि, परमेश्‍वरको वचन र उहाँको उद्देश्‍यको ज्ञानमा तिनी बढ्‌न पाएका थिए। (हितो. ४:१८) निस्सन्देह, ‘आत्माअनुसार हिंड्‌दा’ तिनलाई पापमा फसाउने प्रलोभनहरूको प्रतिरोध गर्नु सजिलो थियो। (गला. ५:२२-२६) नतिजास्वरूप, तिनले सफा अन्तस्करण लिएर परमेश्‍वरलाई प्रार्थना गर्न अनि ‘सारा समझलाई माथ गर्ने, हृदय र विचारलाई रक्षा गर्ने परमेश्‍वरको शान्ति’ पाउन सकेका थिए। (फिलि. ४:६, ७) निष्क्रिय व्यक्‍तिसित कुरा गर्दा यी कुरा मनमा राख्नुहोस्‌, निष्कपट चासो देखाउनुहोस्‌ र ती आध्यात्मिक भाइ वा बहिनीलाई बगालमा फर्किन हरतरहले मायालु प्रोत्साहन दिनुहोस्‌।—फिलिप्पी २:४ पढ्‌नुहोस्‌।

१५ मानिलिनुहोस्‌ तपाईं प्राचीन हुनुहुन्छ र गोठालो भेट गर्दै हुनुहुन्छ। तपाईंले भेट गर्ने दम्पती निष्क्रिय भएका छन्‌। तपाईंले तिनीहरूलाई परमेश्‍वरको वचनबाट पहिलोचोटि सच्चाइ सिक्दाको क्षण सम्झन प्रोत्साहन दिंदै हुनुहुन्छ। त्यतिबेला तिनीहरूलाई त्यो सच्चाइ कत्ति अद्‌भुत, तार्किक, स्वतन्त्र तुल्याउने र सन्तोषजनक लागेको थियो! (यूह. ८:३२) यहोवा, उहाँको प्रेम र उहाँको भव्य उद्देश्‍यबारे सिक्न पाएकोमा तिनीहरूको हृदय कृतज्ञताले ओतप्रोत भएको थियो! (लूका २४:३२ तुलना गर्नुहोस्‌) समर्पित ख्रीष्टियानहरूले आनन्द उठाइरहेको यहोवासितको घनिष्ठ सम्बन्ध र उहाँलाई प्रार्थना गर्ने अद्‌भुत सुअवसरबारे तिनीहरूलाई सम्झना दिलाउनुहोस्‌। निष्क्रिय भएकाहरूलाई “परमधन्य [अर्थात्‌, “आनन्दित,” NW] परमेश्‍वरको महिमाको सुसमाचार” फेरि स्वीकार्न साँचो मनले प्रोत्साहन दिनुहोस्‌।—१ तिमो. १:११.

तिनीहरूलाई प्रेम देखाइरहनुहोस्‌

१६. आध्यात्मिक मदत दिनु साँच्चै प्रभावकारी हुन्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१६ के माथिका सल्लाहहरूले साँच्चै काम गर्छ? गर्छ। उदाहरणको लागि, १२ वर्षको छँदा राज्य प्रकाशक बनेका एक जवान भाइ १५ वर्षको हुँदा निष्क्रिय भए। तर पछि उनी फेरि सक्रिय भए र पूर्ण-समय सेवामा लागेको अहिले ३० वर्ष भइसक्यो। मुख्यतया तिनी एक जना प्राचीनको सहयोगले गर्दा नै आध्यात्मिक तवरमा निको हुन सकेका हुन्‌। त्यस आध्यात्मिक मदतप्रति तिनी कत्ति कृतज्ञ भए!

१७, १८. परमेश्‍वरको बगालबाट तर्केर गएकालाई सहयोग गर्न तपाईंलाई कस्ता गुणहरूले मदत गर्नेछ?

१७ प्रेमले गर्दा नै ख्रीष्टियानहरू निष्क्रियहरूलाई मण्डलीमा फर्काइ ल्याउन उत्प्रेरित हुन्छन्‌। आफ्ना अनुयायीहरूबारे येशूले यसो भन्‍नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गस्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूह. १३:३४, ३५) हो, प्रेम साँचो ख्रीष्टियानहरूको एउटा चिनारी हो। निष्क्रिय भएका बप्तिस्माप्राप्त ख्रीष्टियानहरूप्रति के त्यो प्रेम देखाउनुपर्दैन? अवश्‍यै पर्छ! तर आवश्‍यक मदत दिनको लागि विभिन्‍न ईश्‍वरीय गुणहरू व्यवहारमा उतार्नुपर्ने हुन्छ।

१८ यदि परमेश्‍वरको बगालबाट तर्केर गएका कसैलाई मदत गर्न चाहनुहुन्छ भने तपाईंले कस्ता गुणहरू देखाउनुपर्ने हुन सक्छ? प्रेमको अलावा अनुकम्पा, दया, नम्रता र धीरज देखाउनुपर्ने हुन सक्छ। परिस्थितिअनुसार तपाईं क्षमाशील पनि हुनुपर्ने हुन सक्छ। पावलले लेखे: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कल. ३:१२-१४.

१९. भेडाखाले नम्र जनहरूलाई ख्रीष्टियान बगालमा फर्काउन गरेको प्रयास किन व्यर्थ जानेछैन?

१९ किन कतिपय व्यक्‍ति परमेश्‍वरको बगालबाट तर्किन्छन्‌, त्यसबारे यसपछिको अध्ययन लेखमा विचार गरिनेछ। बगालमा फर्कनेहरूलाई कसरी स्वागत गरिनेछ त्यो पनि त्यस लेखले बताउनेछ। तपाईंले अहिलेको यो लेखलाई मनन गर्दै यसपछिको त्यो लेख अध्ययन गर्नुहुँदा आश्‍वस्त हुनुहोस्‌ कि भेडाखाले नम्र जनहरूलाई ख्रीष्टियान बगालमा फर्काउन तपाईंले गरेको प्रयास व्यर्थ जानेछैन। वर्तमान रीतिरिवाजमा थुप्रै मानिसहरू आफ्नो सारा जीवन धन-सम्पत्ति आर्जन गर्नुमै बिताउँछन्‌ तर संसारको सारा सम्पत्तिभन्दा जीवन कता हो कता मूल्यवान्‌ छ। यस कुरालाई येशूले हराएको भेडाको दृष्टान्तमा जोड दिनुभयो। (मत्ती १८:१२-१४) तर्केर गएका यहोवाका प्रिय भेडाखाले नम्र जनहरूलाई फर्काइ ल्याउन निष्कपट र अविलम्ब प्रयास गर्नुहुँदा तपाईंलाई यो कुरा सधैं सम्झना आओस्‌। (w08 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• बगालबाट तर्केर गएका भेडाखाले नम्र व्यक्‍तिहरूप्रति ख्रीष्टियान गोठालाहरूको कस्तो जिम्मेवारी छ?

• अहिले मण्डलीसित संगत गर्न छाडेकाहरूलाई तपाईं कसरी मदत दिन सक्नुहुन्छ?

• बगालबाट तर्केकाहरूलाई सहयोग गर्न तपाईंलाई कस्ता गुणहरूले मदत गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

परमेश्‍वरको बगालबाट तर्केर गएकाहरूलाई ख्रीष्टियान गोठालाहरूले मायालु ढंगमा मदत गर्ने प्रयास गर्छन्‌