सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

याकूब र पत्रुसको पत्रका विशेषताहरू

याकूब र पत्रुसको पत्रका विशेषताहरू

यहोवाको वचन जीवित छ

याकूब र पत्रुसको पत्रका विशेषताहरू

इस्वी संवत्‌ ३३ पेन्तिकोसको झन्डै ३० वर्षपछि येशूका सौतेनी भाइ चेला याकूबले आत्मिक इस्राएलको “बाह्रै कुललाई” पत्र लेख्छन्‌। (याकू. १:१) पत्र लेख्नुको उद्देश्‍य तिनीहरूलाई विश्‍वासमा बलियो हुन र परीक्षा आइपर्दा स्थिर रहन सल्लाह दिनु थियो। साथै मण्डलीमा देखिन थालेको नराम्रो अवस्थालाई सुधार्न पनि तिनी सल्लाह दिन्छन्‌।

इस्वी संवत्‌ ६४ मा रोमी सम्राट नेरोले ख्रीष्टियानहरूलाई सताउन थालेको केहीअघि मात्र प्रेरित पत्रुसले तिनीहरूलाई विश्‍वासमा दृढ भई बस्नू भनेर पहिलो पत्र लेख्छन्‌। त्यसको लगत्तै पछि लेखिएको दोस्रो पत्रमा उनले सँगी विश्‍वासीहरूलाई परमेश्‍वरको वचनमा ध्यान दिन प्रोत्साहन दिन्छन्‌ र यहोवाको आउनै लागेको दिनबारे होसियार गराउँछन्‌। याकूब र पत्रुसका पत्रमा पाइने सन्देशमा ध्यान दिंदा हामी अवश्‍य लाभ उठाउन सक्छौं।—हिब्रू ४:१२.

‘विश्‍वाससाथ माग्नेहरूलाई’ परमेश्‍वर बुद्धि दिनुहुन्छ

(याकू. १:१–५:२०)

याकूब लेख्छन्‌, “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि प्रभुबाट, उहाँलाई प्रेम गर्नेहरूलाई दिनेछु भन्‍ने प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट त्यसले पाउनेछ।” ‘विश्‍वाससाथ मागिरहनेहरूलाई’ यहोवाले परीक्षामा स्थिर रहन बुद्धि दिनुहुन्छ।—याकू. १:५-८, १२.

मण्डलीका “शिक्षक”-हरूलाई पनि विश्‍वास र बुद्धि चाहिन्छ। “सानो इन्द्रिय” जिब्रोले ‘सारा शरीरभरि कलङ्‌क लगाउन’ सक्छ भनी बताइसकेपछि याकूबले परमेश्‍वरसितको सम्बन्धलाई खतरामा पार्न सक्ने संसारका झुकावहरूबारे चेतावनी दिन्छन्‌। साथै आध्यात्मिक तवरमा बिरामी परेकाहरूले निको हुन चाल्नुपर्ने कदमबारे पनि उनी बताउँछन्‌।—याकू. ३:१, ५, ६; ५:१४, १५.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१३—“दयाले इन्साफमाथि दिग्विजय गर्दछ,” कसरी? परमेश्‍वरलाई लेखा दिनुपर्ने विषयमा भन्‍नुपर्दा हामीले अरूप्रति देखाएको दयाको उहाँ हेक्का राख्नुहुन्छ र आफ्नो पुत्रको छुडौतीको बलिदानको आधारमा हामीलाई क्षमा दिनुहुन्छ। (रोमी १४:१२) दयालाई जीवनमा एउटा प्रमुख गुण बनाउनुपर्ने के यो एउटा सशक्‍त कारण होइन र?

४:५—याकूबले यहाँ उद्धृत गरेको शास्त्रपद कुन हो? याकूबले यहाँ कुनै खास शास्त्रपद उद्धृत गरिरहेका छैनन्‌। तर यी प्रेरित शब्दहरू उत्पत्ति ६:५; ८:२१; हितोपदेश २१:१० र गलाती ५:१७ जस्ता शास्त्रपदहरूमा पाइने कुराहरूमै आधारित भएको पाउन सकिन्छ।

५:२०—“जसले त्यस पापीलाई त्यसको कुमार्गबाट फिराएर ल्याउँछ” त्यसले कसलाई मृत्युबाट बचाउँछ? गल्ती गर्नेलाई पापी मार्गबाट फिराएर ल्याउने ख्रीष्टियानले पश्‍चात्तापी व्यक्‍तिलाई आध्यात्मिक मृत्यु र सम्भवतः अनन्त विनाशबाट बचाउँछ। साथै, यसरी पापीलाई मदत गर्ने ख्रीष्टियानले “[उक्‍त व्यक्‍तिको] पापको राशलाई ढाक्नेछ।”

हाम्रो लागि पाठ:

१:१४, १५. पाप अनुचित इच्छाबाट सुरु हुन्छ। त्यसैकारण अनुचित इच्छा मनमा खेलाएर त्यसलाई बढाउँदै लानुहुँदैन। बरु, उत्थानदायी कुरामा ‘विचार गर्ने’ र तिनै कुराले आफ्नो मन-मस्तिष्क भर्ने गर्नुपर्छ।—फिलि. ४:८.

२:८, ९. “मानिसको मुख हेरेर काम” गर्नु प्रेमको “शाही व्यवस्था” विपरीत हो। त्यसैले साँचो ख्रीष्टियानहरूले मानिसको मुख हेरेर काम गर्ने गर्दैनन्‌।

२:१४-२६. हाम्रो “उद्धार” नता मोशाको व्यवस्थाको “कामबाट” हो न ख्रीष्टियान भएको नाताले गरेको “कामबाट” नै, तर “विश्‍वासद्वारा” हो। हाम्रो विश्‍वास नाउँ मात्रको हुनुहुँदैन। (एफि. २:८, ९; यूह. ३:१६) यसले हामीलाई परमेश्‍वरको इच्छाबमोजिम गर्न उत्प्रेरित गर्नुपर्छ।

३:१३-१७. “माथिबाट आउने ज्ञान” निश्‍चय नै “सांसारिक, स्वाभाविक [अर्थात्‌, “पाशविक,” NW] र शैतानी ज्ञान”-भन्दा श्रेष्ठ छ। हामीले ‘परमेश्‍वरको बुद्धिलाई गाड-धनझैं खोजिरहनुपर्छ।’—हितो. २:१-५.

३:१८. परमेश्‍वरको राज्यको सुसमाचार ‘मेल-मिलाप खोज्नेहरूका निम्ति मिलापमै रोप्नुपर्छ।’ हामी घमन्डी, झगडालु वा जंगली पाराको नभई मिलापी हुनुपर्छ।

“विश्‍वासमा दह्रो भएर” बस्नुहोस्‌

(१ पत्रु. १:१–५:१४)

पत्रुसले आफ्ना सँगी विश्‍वासीहरूलाई स्वर्गमा पाउने पैतृक सम्पत्तिको “जीवित आशा”-बारे सम्झना दिलाउँछन्‌। पत्रुस तिनीहरूलाई “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति” हौ भन्छन्‌। अधीनताबारे खास सल्लाह दिइसकेपछि तिनले सबैलाई “एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका,” हुन सल्लाह दिन्छन्‌।—१ पत्रु. १:३, ४; २:९; ३:८.

“[यहूदी रीतिरिवाजको] अन्त नजीकै” आएकोले पत्रुस भाइहरूलाई “शुद्ध मनको भएर प्रार्थनामा सचेत” रहन सल्लाह दिन्छन्‌। तिनी तिनीहरूलाई यसो भन्छन्‌: “सचेत रहो, जागा रहो, . . . विश्‍वासमा दह्रो भएर . . . [शैतानको] विरोध गर।”—१ पत्रु. ४:७; ५:८, ९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३:२०-२२—बप्तिस्माले हामीलाई कसरी बचाउँछ? उद्धार पाउन चाहनेहरूले बप्तिस्मा लिनै पर्छ। तर बप्तिस्माले मात्रै बचाउने होइन। उद्धार वास्तवमा “येशू ख्रीष्टको पुनरुत्थानद्वारा” पाइन्छ। येशू छुटकाराको बलिदानको रूपमा मर्नुभएकोले मात्र उद्धार सम्भव भएको हो, उहाँ पुनरुत्थान हुनुभयो र अहिले “परमेश्‍वरको दाहिने बाहुलीतर्फ” हुनुभएर जीवित र मृत सबैमाथि अधिकार जमाउनुभएको छ भनेर बप्तिस्मा लिन चाहने व्यक्‍तिले विश्‍वास गर्नै पर्छ। त्यस्तो विश्‍वासको आधारमा लिएको बप्तिस्मा “आठ जना पानीद्वारा बाँचेको” बराबर हुन्छ।

४:६—‘सुसमाचार प्रचार गरिएका’ “मरेकाहरू” को हुन्‌? यिनीहरू “आफ्ना अपराध र पापमा मरेका” अर्थात्‌ सुसमाचार सुन्‍नअघि आध्यात्मिक तवरमा मरेका व्यक्‍तिहरू हुन्‌। (एफि. २:१) तर सुसमाचारमा विश्‍वास राखेपछि तिनीहरू आध्यात्मिक तवरमा “सजीव” हुन थाले।

हाम्रो लागि पाठ:

१:७. हाम्रो विश्‍वास किम्मती हुनालाई यो जाँचिएको हुनै पर्छ। त्यस्तो बलियो विश्‍वासले “आत्माको उद्धार” गर्छ अर्थात्‌ प्राणलाई बचाउँछ। (हिब्रू १०:३९) विश्‍वासको जाँच हुँदा हामी पटक्कै पछि हट्‌नुहुँदैन।

१:१०-१२. स्वर्गदूतहरूले प्राचीन समयका परमेश्‍वरका अगमवक्‍ताहरूले अभिषिक्‍त ख्रीष्टियान मण्डलीबारे लेखेका गहिरा-गहिरा आध्यात्मिक कुराहरू हेर्ने र बुझ्ने इच्छा गरे। तर यी कुराहरू यहोवाले मण्डलीसित व्यवहार गर्न थाल्नुभएपछि मात्र स्पष्ट भए। (एफि. ३:१०) के हामीले पनि स्वर्गदूतहरूको अनुकरण गर्दै “परमेश्‍वरका गहीरा-गहीरा कुराहरू” खोजी गर्ने चेष्टा गर्नुपर्दैन र?—१ कोरि. २:१०.

२:२१. हाम्रा नमुना येशू ख्रीष्टको अनुकरण गर्दै यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न हामी मृत्यु समेत सहन तयार हुनुपर्छ।

५:६, ७. हामीले आफ्नो चिन्ता-फिक्री यहोवामा बिसाउँदा भोलिको निम्ति अनावश्‍यक चिन्ता नगरी साँचो उपासनालाई प्राथमिकता दिन उहाँले हामीलाई मदत दिनुहुनेछ।—मत्ती ६:३३, ३४.

‘यहोवाको दिन आउनेछ’

(२ पत्रु. १:१–३:१८)

पत्रुस लेख्छन्‌, “मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसले परमेश्‍वरका तर्फबाट बोल्दथिए।” भविष्यसूचक शब्दहरूमा ध्यान दिंदा “झूटा शिक्षकहरू” र अन्य भ्रष्ट व्यक्‍तिहरूबाट हामीले सुरक्षा पाउन सक्छौं।—२ पत्रु. १:२१; २:१-३.

पत्रुस यस्तो चेतावनी दिन्छन्‌: “पछिपछिका दिनहरूमा गिल्ला गर्नेहरू” हुनेछन्‌। तर “प्रभुको [“यहोवाको,” NW] दिन चोर जस्तैगरी आउनेछ।” “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा” गर्नेहरूलाई उपयोगी सल्लाह दिंदै पत्रुसले आफ्नो पत्र टुङ्‌ग्याउँछन्‌।—२ पत्रु. ३:३, १०-१२.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१६-१९—“बिहानको तारा” को हो, यो कहिले उदाउँछ र यो उदाइसक्यो भनी हामी कसरी थाह पाउन सक्छौं? “बिहानको तारा” राज्य शक्‍तिमा आउनुभएको येशू ख्रीष्ट हुनुहुन्छ। (प्रका. २२:१६) सन्‌ १९१४ मा मसीही राजाको रूपमा नयाँ दिन उदय भएको घोषणा गर्दै उहाँ उदाउनुभयो। येशूको रूप परिवर्तनले उहाँको महिमा र राज्य शक्‍तिको पूर्वझलक दियो। अनि यसले परमेश्‍वरको भविष्यसूचक वचन कत्तिको भरपर्दो छ, त्यो प्रकाश पाऱ्‍यो। (मर्कू. ९:१-३) ती वचनहरूमा ध्यान दिंदा हाम्रो हृदय उज्यालो बन्छ र बिहानको तारा उदाइसकेको छ भनेर हामी सजग हुन्छौं।

२:४—“नरक” के हो र विद्रोही स्वर्गदूतहरूलाई त्यहाँ कहिले फालियो? यहाँ “नरक” भनेर अनुवाद गरिएको शब्द मूल भाषामा “टार्टरस” हो। टार्टरसले झ्यालखाना जस्तो अवस्थालाई बुझाउँछ जहाँ मानिसहरू नभई स्वर्गदूतहरूलाई मात्र थुनिन्छ। यो अवस्थामा रहँदा तिनीहरूलाई परमेश्‍वरको चहकिलो उद्देश्‍यबारे पूरै अन्धकारमा राखिन्छ। त्यहाँ हुनेहरूको भविष्यको कुनै आशा हुँदैन। परमेश्‍वरले नूहको दिनमा अनाज्ञाकारी स्वर्गदूतहरूलाई टार्टरसमा फाल्नुभयो र तिनीहरूलाई नाश नगरेसम्म तिनीहरू त्यही निष्पट्ट अन्धकारमा रहनेछन्‌।

३:१७—पत्रुसले ‘अघिबाट थाह पाएका कुरा’ भन्‍नुको अर्थ के थियो? पत्रुसले तिनी र अन्य बाइबल लेखकहरूले प्रेरणा पाएर अघिबाटै थाह पाएको कुरा अथवा पूर्वज्ञानबारे बताउँदै थिए। तर तिनीहरूको ज्ञान असिमित थियो भन्‍ने चाहिं होइन, सीमित नै थियो। त्यसैकारण प्रथम शताब्दीका ख्रीष्टियानहरूले भविष्यमा हुने सबै घटनाबारे थाह पाएनन्‌। भविष्यमा के हुन सक्छ, तिनीहरूले मोटामोटी रूपमा मात्र थाह पाए।

हाम्रो लागि पाठ:

१:२, ५-७. विश्‍वास, धीरज र भक्‍ति जस्ता गुणहरू विकास गर्दा हामीलाई “परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानमा” बढ्‌दै जान मदत गर्नुको अलावा त्यसले हामीलाई उक्‍त ज्ञानमा “बेकम्मा र निष्फल तुल्याउनेछैनन्‌।”—२ पत्रु. १:८.

१:१२-१५. ‘सत्यमा स्थिर’ रहन हामीलाई सम्झौटाहरूको खाँचो पर्छ जुन हामीले मण्डलीका सभा, व्यक्‍तिगत अध्ययन र बाइबल पढाइ मार्फत पाउँछौं।

२:२. हाम्रो आचरणले गर्दा यहोवा अनि उहाँको संगठनको बदनाम नहोस्‌ भनेर हामी होसियार हुनुपर्छ।—रोमी २:२४.

२:४-९. यहोवाले विगतमा गर्नुभएका कुराहरूलाई हेर्दा “भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न” उहाँ जान्‍नुहुन्छ भनेर हामी निर्धक्क हुन सक्छौं।

२:१०-१३. “उच्च पदाधिकारीहरू” अर्थात्‌ ख्रीष्टियान प्राचीनहरूको कमीकमजोरीहरू हुन्छन्‌ र तिनीहरूले कहिलेकाहीं गल्ती गर्न सक्छन्‌ तर त्यस्तो बेला तिनीहरूबारे मनपरी बोल्ने छुट पाउँदैनौं।—हिब्रू १३:७, १७.

३:२-४, १२. “पवित्र अगमवक्‍ताहरूबाट अघाडिनै बोलिएका वचनहरू, र तिमीहरूका प्रेरितद्वारा दिएको प्रभु र मुक्‍तिदाताको आज्ञालाई” राम्ररी ध्यान दिंदा यहोवाको दिन एकदमै नजिक छ भन्‍ने कुरामा ध्यान केन्द्रित गरिराख्न मदत पाउनेछौं।

३:११-१४. हामी “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर” बसिरहेकोले (१) हाम्रो ‘जीवन पवित्र’ हुनै पर्छ, मतलब शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक स्वच्छता कायम राख्नै पर्छ; (२) “भक्‍तिको जीवनमा” प्रशस्त हुनै पर्छ, जस्तै राज्य प्रचारकार्य र चेला बनाउने कार्यसित सम्बन्धित गतिविधिमा प्रशस्त भाग लिनै पर्छ; (३) आफ्नो आचरण र व्यक्‍तित्व “निष्खोट” अर्थात्‌ संसारबाट कलंक लागेको हुनै हुँदैन; (४) सबै कुरा शुद्ध मनले गरेर “निष्कलंक” रहनै पर्छ र (५) “शान्तिसाथ” रहनै पर्छ, मतलब परमेश्‍वर, ख्रीष्टियान भाइ र अन्य सँगी मानवसित शान्तिमा रहनै पर्छ। (w 08 11/15)