सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?

येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?

येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?

चिताउँदै नचिताएको चुनौती वा जिम्मेवारीले के तपाईं थिचिनुभएको छ? छाक टार्न दिनहुँ संघर्ष गर्दा-गर्दा के तपाईं क्लान्त हुनुभएको छ? सायद तपाईं त्यस्ता लाखौं मानिसहरूमध्ये हुनुहुन्छ जो आफ्नो देश छोडेर शरणार्थी हुनुपरेकोले अलमलमा परेका र डराएका छन्‌। अनि आफ्नो प्रियजनको मृत्यु हुँदा हामीमध्ये कसले पो गहिरो चोट र रित्तोपन अनुभव गरेका छैनौं र?

येशूकी आमा मरियममाथि यी सबै समस्याहरू आइपऱ्‍यो भनेर के तपाईंलाई थाह छ? अनि तिनले यी समस्याहरूको सफलतापूर्वक सामना पनि गरिन्‌! हामी तिनको उदाहरणबाट के सिक्न सक्छौं?

निश्‍चय पनि मरियम विश्‍वमै परिचित छिन्‌। अनि यो कुनै छक्कलाग्दो कुरा होइन किनभने परमेश्‍वरको उद्देश्‍यको पूर्तिमा तिनले अनुपम भूमिका खेलिन्‌। साथै, लाखौं मानिस मरियमलाई पुज्छन्‌। क्याथोलिक चर्चकाहरूले तिनलाई प्यारी आमा अनि विश्‍वास, आशा र उदारताकी आदर्शको रूपमा पुज्छन्‌। मरियमले मानिसहरूको बिन्ती परमेश्‍वरसामु पुऱ्‍याइदिन सक्छिन्‌ भनेर थुप्रैलाई सिकाइएको छ।

तपाईं येशूकी आमालाई कुन दृष्टिले हेर्नुहुन्छ? अनि त्योभन्दा पनि महत्त्वपूर्ण, परमेश्‍वर तिनलाई कुन नजरले हेर्नुहुन्छ?

एउटा अनुपम जिम्मेवारी

एलीकी छोरी मरियम इस्राएली कुल यहूदाकी थिइन्‌। बाइबलमा तिनीबारे दिइएको पहिलो विवरण एउटा असाधारण घटनासित सम्बन्धित छ। स्वर्गदूत तिनीकहाँ आए र भने: “हे कृपाको पात्र तिमीलाई सलाम! परमप्रभु तिमीसँग हुनुहुन्छ।” सुरुमा त मरियम घबराइन्‌ र “यो कस्तो किसिमको सलाम हो भनी मनमा ठानिन्‌।” त्यसैले उक्‍त स्वर्गदूतले भने कि तिनी परमेश्‍वरका पुत्र गर्भधारण गर्ने, जन्माउने र हुर्काउने अचम्मलाग्दो तर एकदमै गम्भीर जिम्मेवारीको निम्ति छानिएकी छिन्‌।—लूका १:२६-३३.

यी अविवाहित जवान स्त्रीको काँधमा कस्तो अभिभारा! तिनले यस अभिभारालाई कसरी लिइन्‌? मरियमलाई आफ्नो कथा-व्यथा कसले पत्याउलान्‌ र, जस्तो लागेको हुनुपर्छ। यस्तो गर्भधारणको कारण सायद तिनले हुनेवाला श्रीमान्‌ यूसुफको माया गुमाउन सक्थिन्‌ अथवा सबैको गिल्लाको पात्र बन्‍न सक्थिन्‌? (व्यवस्था २२:२०-२४) तिनी यो महत्त्वपूर्ण अभिभारा स्वीकार्न हिचकिचाइनन्‌।

मरियमको बलियो विश्‍वासले तिनलाई आफ्ना परमेश्‍वर यहोवाको इच्छाबमोजिम गर्न सक्षम बनायो। उहाँले हेरविचार गर्नुहुनेछ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिइन्‌। त्यसैले त तिनले यसो भनिन्‌: “हेर्नुहोस्‌, म परमप्रभुकी दासी, मलाई तपाईंको वचन अनुसार होस्‌।” मरियम आफूसामु आइपरेका चुनौतीहरूको सामना गर्न इच्छुक थिइन्‌ किनभने आफूले पाएको आध्यात्मिक सुअवसरको तिनी मोल गर्थिन्‌।—लूका १:३८.

मरियमले आफू गर्भवती भएको कुरा यूसुफलाई बताउँदा उनले मगनी तोड्‌ने विचार गरे। त्यो क्षण तिनीहरू दुवैको लागि एकदमै पीडादायी भएको हुनुपर्छ। त्यो कठिन क्षण कतिन्जेल रह्‍यो बाइबलले बताउँदैन। तर यहोवाको दूत यूसुफकहाँ देखापरेपछि भने यूसुफ र मरियम दुवैले नै चैनको सास फेरे होलान्‌। उक्‍त स्वर्गदूतले यूसुफलाई मरियमको असाधारण गर्भधारणबारे बताए र तिनलाई पत्नीको रूपमा स्वीकार्न निर्देशन दिए।—मत्ती १:१९-२४.

कठिन क्षणहरू

आज, थुप्रै गर्भवती स्त्रीहरू बच्चा जन्मने दिनको लागि महिनौं अघिदेखि नै तयारी गर्न थाल्छन्‌ अनि मरियमले पनि त्यसै गरेकी हुनुपर्छ। तिनको यो पहिलो सन्तान हुने थियो। तर, सोच्दै नसोचेको घटनाले तिनलाई गाह्रो बनाइदियो। सिजर अगस्तसले जनगणना लिने उर्दी निकाले अनि यसको लागि सबैले आ-आफ्नो जन्मभूमिमा गएर दर्ता गर्नुपर्ने थियो। त्यसैले नौ महिनाकी गर्भवती मरियमलाई लिएर यूसुफले करिब १५० किलोमिटर लामो यात्रा गरे, सायद त्यो पनि गधामा! बेतलेहेममा मान्छेहरू खचाखच थिए अनि मरियमलाई बच्चा जन्माउन एकान्त ठाउँ चाहिएको थियो तर तिनीहरूले पाउन सकेको त्यस्तो एउटै मात्र ठाउँ तबेला थियो। तबेलामा बच्चा जन्माउन मरियमलाई निकै गाह्रो भएको हुनुपर्छ। सायद तिनले अप्ठ्यारो र डर दुवै महसुस गरी होलिन्‌।

जीवनको यो कठिन मोडमा आफू र आफ्नो सानो बच्चालाई यहोवाले हेरविचार गर्नुहुनेछ भन्‍ने कुरामा भरोसा गर्दै मरियमले उहाँलाई मनको बह पक्कै पोखिन्‌। पछि, केही गोठालाहरू उत्सुक हुँदै त्यो बच्चालाई हेर्न आइपुगे। त्यो बालकलाई स्वर्गदूतहरूले “एउटा मुक्‍तिदाता . . . जो ख्रीष्ट प्रभु हुनुहुन्छ” भन्‍ने नाउँ दिएका छन्‌ भनी ती गोठालाहरूले बताए। त्यसपछि यस्तो लेखिएको पाउँछौं: “मरियमले यी सब कुरालाई विचार गरेर मनैमा राखिन्‌।” हो, तिनले यी शब्दहरूलाई मनन गरिन्‌ र त्यसबाट बल पाइन्‌।—लूका २:११, १६-१९.

हामी नि? हामीले पनि जीवनमा दुःख भोग्नेछौं होला। साथै, बाइबलले बताएअनुसार हामी जोसुकैलाई पनि “समय र अवसर”-ले अधीनमा पार्न सक्छ—नाना प्रकारको कष्ट एवम्‌ चुनौती हाम्रो मार्गमा फालिदिएर। (उपदेशक ९:११) यदि त्यसो भएमा के हामी नमिठो मान्दै परमेश्‍वरलाई दोष दिन्छौं? के मरियमको मनोवृत्ति अनुकरण गर्दै यहोवा परमेश्‍वरको वचन बाइबलबाट सिकेर अनि सिकेको कुरा मनन गरेर उहाँसित नजिक हुनु राम्रो होइन र? यसो गऱ्‍यौं भने हामीलाई परीक्षा सहन पक्कै मदत मिल्ने छ।

गरिब र शरणार्थी

मरियमले अन्य कष्ट पनि भोगिन्‌। जसमा गरिबी र अकस्मात्‌ आफू बसेको देश छोड्‌नुपर्ने बाध्यता पनि समावेश छ। के तपाईंले यस्ता चुनौतीहरूको सामना गर्नुपरेको छ? एउटा रिपोर्टअनुसार “विश्‍वको आधा जनसंख्या—झन्डै तीन अरब मानिस—दिनको दुई अमेरिकी डलरभन्दा पनि कम पैसामा जिउँछन्‌” र अरू लाखौं चाहिं धनाढ्य मानिएका मुलुकहरूमा बसे तापनि हात-मुख जोड्‌न संघर्ष गर्छन्‌। तपाईं नि? परिवारलाई गाँस, बास र कपासको जोहो गर्न दिनहुँ घोटिंदा-घोटिंदा क्लान्त हुनुभएको छ अथवा कहिलेकाहीं के गरुँ कसो गरुँ पो भएको छ कि?

बाइबलले संकेत गर्छ कि यूसुफ र मरियम तुलनात्मक रूपमा गरिब थिए। कसरी? यी दम्पतीबारे सुसमाचारको पुस्तक मत्ती, मर्कूस, लूका र यूहन्‍नामा दिइएको थोरै तथ्यहरूमध्ये एउटा, बच्चा जन्मेको ४० दिनपछि यूसुफ र मरियम भेटी चढाउन मन्दिर गए भन्‍ने हो। अनि त्यो भेटी थियो, “एक जोड ढुकुर कि परेवाका दुईवटा बच्चा।” a (लूका २:२२-२४) पाठो चढाउन नसक्ने एकदमै गरिब मानिसले मात्र ढुकुर चढाउन सक्थ्यो। त्यसैले, सायद यूसुफ र मरियमलाई हात-मुख जोड्‌न धौ-धौ थियो। त्यसोभए तापनि तिनीहरू मायाको छहारीले ढाकेको पारिवारिक वातावरण सृजन सफल भए। तिनीहरू आध्यात्मिक कुरालाई प्राथमिकता दिन्थे, यसमा कुनै शंका छैन।—व्यवस्था ६:६, ७.

येशू जन्मेको केही समय बित्न नपाउँदै मरियमको जीवनमा एक पटक फेरि ठूलो उतारचढाव आयो। एउटा स्वर्गदूतले यूसुफलाई आफ्नो परिवार लिएर मिश्रमा भाग्नू भने। (मत्ती २:१३-१५) मरियमले चिनेजानेको परिवेश छोड्‌नु परेको यो दोस्रो खेप हो। तर यो पटक भने तिनी अर्कै देशमा जानुपऱ्‍यो। मिश्र देशमा एउटा ठूलो यहूदी समुदाय थियो। त्यसैले मरियम र यूसुफ आफ्नै जातिका मानिसहरूमाझ बसे होलान्‌। त्यसोभए तापनि विदेशी भूमिमा बस्नु चुनौतीपूर्ण र अन्योलपूर्ण हुन सक्छ। के तपाईं अनि तपाईंको परिवारले पनि अन्य लाखौं मानिसले जस्तै आफ्ना बाल-बच्चाको भलाइको निम्ति वा खतराबाट जोगिन आफ्नो देश छोड्‌नुपरेको छ? यदि त्यसो हो भने मरियमले मिश्रमा के-कस्ता कष्ट भोग्नुपऱ्‍यो त्यो तपाईंले राम्ररी बुझ्न सक्नुहुन्छ।

समर्पित पत्नी र आमा

सुसमाचारका पुस्तकहरूमा, येशूको जन्म र बाल्यकालको विवरणमा बाहेक अरू ठाउँमा मरियमबारे एकदमै थोरै मात्र चर्चा गरिएको छ। तैपनि मरियम र यूसुफको कम्तीमा अरू छ जना छोराछोरी थिए भनी हामीलाई थाह छ। यसमा तपाईंलाई अचम्म लाग्ला। तर सुसमाचारको पुस्तक के भन्छ, विचार गर्नुहोस्‌।

परमेश्‍वरका पुत्र जन्माउन मरियमले पाएको सुअवसरलाई यूसुफले गहिरो आदर गरे। त्यसैले, येशू नजन्मेसम्म तिनीसित यौन सम्पर्क राखेनन्‌। मत्ती १:२५ बताउँछ कि यूसुफले “पुत्र नजन्मिउञ्जेल, तिनीसँग सहवास गरेनन्‌।” यहाँ “नजन्मिउञ्जेल” भन्‍ने शब्दले येशूको जन्मपछि तिनीहरूले पति-पत्नीबीच हुने स्वाभाविक यौन सम्बन्ध राखे भन्‍ने कुरालाई संकेत गर्छ। फलस्वरूप, यूसुफ र मरियमका छोराछोरी भए भनी सुसमाचारको विवरण बताउँछ। याकूब, यूसुफ, शिमोन र यहूदा येशूका सौतेनी भाइहरू थिए। तिनका कम्तीमा पनि दुई छोरी थिए। (मत्ती १३:५५, ५६) तर यी बच्चाहरूको गर्भधारण सामान्य तरिकामा भएको थियो। b

मरियम आध्यात्मिक कुरामा ध्यान दिने स्त्री थिइन्‌। व्यवस्थाअनुसार निस्तार चाडमा स्त्री जाति उपस्थित हुनै पर्छ भन्‍ने थिएन। तैपनि मरियम वर्षेनी यूसुफसँग यो चाड मान्‍न यरूशलेम जाने गर्थिन्‌। (लूका २:४१) प्रत्येक वर्ष झन्डै ३०० किलोमिटर बाटो आउ-जाउ गर्नुपर्थ्यो—त्यो पनि बढ्‌दै गरेको परिवारसित! तर यो यात्रा पक्कै परिवारको लागि आनन्ददायी क्षण भएको हुनुपर्छ।

आज थुप्रै स्त्रीहरूले मरियमको असल उदाहरण अनुकरण गर्छन्‌। उनीहरू आफ्नो धर्मशास्त्रीय दायित्व पूरा गर्न निःस्वार्थ भई कडा परिश्रम गर्छन्‌। कत्ति चोटि यी समर्पित पत्नीहरूले उल्लेखनीय धैर्यता, सहनशीलता र नम्रता देखाउँछन्‌! मरियमको मनोवृत्ति विचार गर्दा सुखचैन र आनन्द पाउन आफ्नो इच्छालाई नभई आध्यात्मिक कुरालाई अघि राख्न उनीहरूले मदत पाउँछन्‌। पति र बच्चाहरूसित मिलेर परमेश्‍वरको उपासना गर्दा परिवार एकतामा बाँधिनुका साथै बलियो हुन्छ भन्‍ने कुरा उनीहरूलाई थाह छ र यो कुरा मरियमलाई पनि पक्कै थाह थियो।

एक पटकको कुरा हो, जब मरियम र यूसुफ निस्तार चाड मनाइसकेर यरूशलेमबाट फर्कंदै थिए—हुन सक्छ तिनीहरूसित अहिले अरू छोराछोरी थिए, तब १२ वर्षको येशू आफूसित नभएको तिनीहरूले पत्तो पाए। मरियमले व्याकुल हुँदै आफ्नो छोरालाई तीन दिनसम्म खोज्दा महसुस गरेको पीडा के तपाईं कल्पना गर्न सक्नुहुन्छ? अन्ततः जब तिनीहरूले उहाँलाई मन्दिरमा भेट्टाए तब येशूले भन्‍नुभयो: “के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाह थिएन?” यतिबेला पनि मरियमले “यी सबै कुरा आफ्नो मनमा राखिन्‌” भनी विवरण बताउँछ। मरियमको आध्यात्मिकताको गहिराइको संकेत हामी यसमा पनि पाउँछौं। येशूसित सम्बन्धित जे-जति कुरा भए ती सबै तिनले ध्यानपूर्वक मनन गरिन्‌। वर्षौंपछि, तिनले येशूको सुरु-सुरुतिरको जीवनीसित सम्बन्धित यी अनि अन्य घटनाका स्पष्ट यादहरू सुसमाचार पुस्तकका लेखकहरूलाई बताएकी हुनुपर्छ।—लूका २:४१-५२.

दुःख आइपर्दा र प्रियजन गुमाउनुपर्दा सहँदै

येशूका धर्मपिता यूसुफलाई के भयो? येशू ठिटो छँदा घटेको त्यो घटनामा यूसुफबारे संक्षेपमा बताइएको छ। त्यसपछि सुसमाचारको पुस्तकमा यूसुफबारे उल्लेख गरिएको पाइँदैन। यसलाई येशूले सेवकाई थाल्नुअघि नै यूसुफको मृत्यु भएको संकेतको रूपमा केहीले लिन्छन्‌। c कुरा जेसुकै होस्‌, येशूको सेवकाईको अन्ततिर मरियम विधवा भइसकेकी जस्तो देखिन्छ। आफ्नो मृत्युको बेला येशूले प्रेरित यूहन्‍नालाई आफ्नी आमाको जिम्मा सुम्पनुभयो। (यूहन्‍ना १९:२६, २७) यदि यूसुफ त्यतिबेलासम्म जीवित हुँदो हो त सायद उहाँले त्यसो गर्नुहुने थिएन।

मरियम र यूसुफले सुख-दुःखका थुप्रै पलहरू सँगै गुजारे! तिनीहरूलाई स्वर्गदूतहरूले भेट्‌न आए, तानाशाही शासकबाट भाग्नुपऱ्‍यो, पटक-पटक बसाइँ सर्नुपऱ्‍यो र तिनीहरूले ठूलो परिवार हुर्काए। येशूले भविष्यमा के-के सामना गर्नुपर्ने होला, उहाँलाई तालिम दिएको, भविष्यको लागि तयार पारेको ठिक भयो कि भएन भनेर कुरा गर्न कति रात बिताए होलान्‌? तर अचानक मरियम एक्ली भइन्‌।

मृत्युको कारण के तपाईंले आफ्नो पति वा पत्नी गुमाउनुपरेको छ? वर्षौं बितिसक्दा पनि त्यसले बनाएको घाउ के अझै आलो छ अनि रित्तो महसुस गर्नुहुन्छ? आफ्नो विश्‍वास र पुनरुत्थान हुन्छ भन्‍ने ज्ञानबाट मरियमले सान्त्वना पाइन्‌, यसमा कुनै शंका छैन। d (यूहन्‍ना ५:२८, २९) तर यस्तो सान्त्वनादायी विचारले मात्र मरियमको समस्या सुल्झिएन। आजका थुप्रै एक्ली आमाहरूले जस्तै तिनले पनि पतिको सहाराबिना नै बाल-बच्चाको लालनपालन गर्ने जिम्मेवारी पूरा गर्नुपऱ्‍यो।

यूसुफको मृत्युपछि परिवारलाई हेर्ने मुख्य जिम्मेवारी येशूले उठाउनुभयो भनेर विश्‍वास गर्नु तर्कसंगत छ। येशूका भाइहरू हुर्केपछि परिवारको दायित्व उनीहरूले पनि उठाउन सक्ने थिए। जब येशू “प्रायः तीस वर्षको” हुनुभयो, घर छोड्‌नुभयो र सेवकाई थाल्नुभयो। (लूका ३:२३) हुर्केका छोरा वा छोरीले घर छोड्‌दा धेरैजसो आमाबाबुले हर्ष र बिस्मातको आँसु बगाउँछन्‌। आफ्नो सन्तानको निम्ति निकै समय, शक्‍ति र भावना खर्चिने भएकोले छोराछोरीले घर छोड्‌दा उनीहरूलाई जीवन नै शून्य भए जस्तो लाग्न सक्छ। के तपाईंको छोराछोरीले आफ्नो लक्ष्य प्राप्त गर्न घर छाडेका छन्‌? उनीहरूलाई देखेर गर्व लागे तापनि के कहिलेकाहीं उनीहरू आफूसँगै भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ? त्यसो हो भने येशूले घर छोड्‌दा मरियमले कस्तो महसुस गरी होलिन्‌, तपाईं कल्पना गर्न सक्नुहुन्छ।

नचिताएको परीक्षा

मरियमलाई आइपरेको अर्को एउटा परीक्षा सायद तिनले चिताउँदै चिताएकी थिइनन्‌। येशूले प्रचार गर्नुहुँदा थुप्रै उहाँका चेला बने तर उहाँका आफ्नै भाइहरूले भने उहाँलाई पछ्याएनन्‌। बाइबल भन्छ: “उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैन थिए।” (यूहन्‍ना ७:५) येशू “परमेश्‍वरका पुत्र” हुनुहुन्छ भनी स्वर्गदूतले बताएको कुरा मरियमले पक्कै पनि उनीहरूलाई भनेकी हुनुपर्छ। (लूका १:३५) तर याकूब, यूसुफ, शिमोन र यहूदाको नजरमा येशू उनीहरूको ठूल्दाइ मात्र थियो। त्यसकारण मरियमको परिवार धार्मिक तवरमा विभाजित थियो।

त्यतिबेला के मरियम निरुत्साहित भइन्‌ र लत्तो छोडिन्‌? पक्कै त्यसो होइन! एकपटकको कुरा हो, गालीलमा प्रचार गर्दै गर्दा येशू एउटा घरमा खाना खान जानुभयो र भीड उहाँको कुरा सुन्‍न जम्मा भए। उहाँलाई भेट्‌न बाहिर को आएका थिए? मरियम र उहाँका भाइहरू। हो, येशूले घर नजिकैको इलाकामा प्रचार गर्नुहुँदा मरियम उहाँको पछि लाग्थिन्‌ र आफ्ना अरू छोराछोरीले येशूप्रतिको मनोवृत्ति परिवर्तन गर्नेछन्‌ भन्‍ने आसमा उनीहरूलाई पनि आफूसँगै लग्ने गरेकी हुन सक्छिन्‌।—मत्ती १२:४६, ४७.

घरका अरू सदस्य येशूको पछि लाग्न नमाने तापनि तपाईंले चाहिं मरियमले जस्तै उहाँको पछि लाग्ने भरमग्दुर प्रयास गर्नुपरेको होला। हरेस नखानुहोस्‌ र लत्तो नछोड्‌नुहोस्‌। मरियमले जस्तै थुप्रैले परिवारका सदस्यहरूमा कुनै बदलाव नदेखे तापनि धैर्यपूर्वक उनीहरूलाई प्रोत्साहन दिएका छन्‌। यस कुरामा अरूले प्रतिक्रिया देखाओस्‌ या नदेखाओस्‌, यस्तो धैर्यता परमेश्‍वरको नजरमा बहुमूल्य छ।—१ पत्रुस ३:१, २.

सबैभन्दा कठिन चुनौती

बाइबलमा उल्लेख गरिएको मरियमको अन्तिम परीक्षा जस्तो मुटु छियाछिया पार्ने परीक्षा अर्को थिएन, यसमा कुनै शंका छैन। आफ्नै जातिका मानिसहरूले इन्कार गरिसकेपछि येशू तड्‌पी-तड्‌पी मरेको मरियमले आफ्नै आँखाले देखिन्‌। बच्चाको मृत्युलाई “अपूरणीय क्षति” अनि “सबैभन्दा हृदयविदारक मृत्यु” भनी वर्णन गरिएको छ, चाहे त्यो बच्चा सानो होस्‌ या हुर्केको। मरियमको प्राणलाई तरवारले वारपार छेड्‌नेछ भनेर दशकौंअघि भनिएको थियो र त्यस्तै महसुस तिनले गरिन्‌!—लूका २:३४, ३५.

के यो अन्तिम परीक्षाको कारण मरियमले आफूलाई भावनात्मक रूपमा अथवा यहोवाप्रतिको आफ्नो विश्‍वासलाई कमजोर हुनदिइन्‌? अहँ, दिइनन्‌। यसपछि पनि बाइबलमा मरियमबारे उल्लेख गरिएको पाउँछौं। त्यतिबेला चाहिं तिनी येशूका चेलाहरूसितै “प्रार्थनामा एकोहोरो” लागिरहेकी थिइन्‌। तिनी एक्ली थिइनन्‌। तिनका अरू छोराहरू पनि सँगै थिए—उनीहरूले यतिबेलासम्म आफ्ना दाइलाई विश्‍वास गर्न थालिसकेका थिए। यसले मरियमलाई कत्ति सान्त्वना दियो होला! eप्रेरित १:१४.

मरियमले परमेश्‍वरप्रति विश्‍वासी स्त्री, पत्नी र आमाको रूपमा पूर्ण अनि सन्तोषजनक जीवन बिताइन्‌। परमेश्‍वरको सेवा गर्दाका थुप्रै सन्तोषजनक अनुभवहरू तिनले बटुलिन्‌। तिनले थुप्रै परीक्षा अनि कष्ट पार गरिन्‌। नचिताएका चुनौतीहरूको सामना गर्नुपर्दा अथवा पारिवारिक समस्याको चिन्ताले पिरोल्दा हामी पक्कै पनि तिनले वफादार भई देखाएको धैर्यको उदाहरणबाट सिक्न सक्छौं।—हिब्रू १०:३६.

तर मरियमलाई विशेष धार्मिक भक्‍ति चढाइन्छ। यसबारे के भन्‍न सकिन्छ? के मरियमको अनुपम भूमिकाबारे बाइबलमा दिइएको विवरणले तिनलाई पुज्नु सही हो भनेर बताउँछ? (w 09 1/1)

[फुटनोट]

a एउटा ढुकुर पापबलिको रूपमा चढाइन्थ्यो। (लेवी १२:६, ८) यो बलि चढाएर मरियमले पहिलो मानव आदमको पापको कारण आफू पनि अन्य असिद्ध मानिसहरूजस्तै जन्मजातै पापी छु भन्‍ने कुरा मानिलिइन्‌।—रोमी ५:१२.

c येशूको सेवकाईको विवरणमा यूसुफबारे उल्लेख नगरिनु उल्लेखनीय छ। किनभने उहाँको परिवारका बाँकी सदस्य आमा र भाइबहिनीबारे चाहिं उल्लेख गरिएको छ। उदाहरणको लागि, कानाको विवाह भोजमा मरियमले सक्रिय भएर भाग लिएको र केही कामकुरोमा अघि समेत सरेको पाउँछौं तर यूसुफबारे भने केही छनक पाइँदैन। (यूहन्‍ना २:१-११) अर्को घटनामा हामी ख्रीष्टको गृहनगरका मानिसहरूले येशूलाई “मरियमको छोरो” भनेको पाउँछौं, यूसुफको होइन।—मर्कूस ६:३.

d पुनरुत्थान सम्बन्धी बाइबलको प्रतिज्ञाबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ७ हेर्नुहोस्‌।

e पृष्ठ ७ मा  “तिनीसित परिवर्तन गर्ने आँट थियो” पेटी हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

 के येशूका भाइ-बहिनी थिए?

हो, थिए। केही धर्मविद्‌हरूले यस सत्यको खण्डन गर्ने प्रयास गरेका छन्‌ तर सुसमाचारको पुस्तकले पटक-पटक यस सत्यलाई प्रकट गरेको छ। (मत्ती १२:४६, ४७; १३:५४-५६; मर्कूस ६:३) मरियमले अरू बाल-बच्चा जन्माइनन्‌ भन्‍ने धारणाबारे बाइबलविद्‌हरूले दुइटा कुरा बताएका छन्‌। पहिलो: यसको पछि एउटा मनसाय लुकेको छ—त्यो हो, मरियम आजन्म कन्या रहिन्‌ भनी चर्चमा धेरैपछि सिकाइएको शिक्षालाई समर्थन गर्नु। दोस्रो: नजिकबाट जाँच्दाखेरि ती धारणाहरू तर्कसंगत र मान्य साबित हुँदैनन्‌।

उदाहरणको लागि, यस्तै एउटा धारणाअनुसार येशूका “भाइहरू” भन्‍ने अभिव्यक्‍तिले येशूका सौतेनी भाइहरूलाई अर्थात्‌ यूसुफको पहिलो विवाहबाट जन्मेका छोराहरूलाई बुझाउँछ। यो धारणा वजनदार छैन किनभने यसले जेठो छोरोको रूपमा दाऊदको घरानाको उत्तराधिकार पाउने येशूको कानुनी अधिकारलाई यथार्थमा इन्कार गर्छ।—२ शमूएल ७:१२, १३.

अर्को धारणाले चाहिं ती भाइहरू वास्तवमा येशूका आफन्त-भाइहरू थिए भनी बताउँछ तर युनानी धर्मशास्त्रले “दाजुभाइ,” “आफन्त-भाइ” र “नातागोतालाई” बुझाउन फरक-फरक शब्द प्रयोग गरेको छ। त्यसैले फ्राङ्‌क इ. गाबेलिन नाउँका शास्त्रविद्‌ले यी धर्म सिद्धान्तहरूलाई ‘हुनै नसक्ने कुरा’ भनेका छन्‌। तिनी आफ्नो कुरा यसरी टुङ्‌ग्याउछन्‌: “ ‘दाजुभाइ’ भन्‍ने अभिव्यक्‍तिले एकदमै तार्किक ढंगमा मरियम र यूसुफका छोराहरूलाई नै बुझाउँछ। त्यसैले, येशूका भाइहरू उहाँकै आमाले जन्माएका भाइहरू थिए।”

[पृष्ठ ७-मा भएको पेटी

 तिनीसित धर्म परिवर्तन गर्ने आँट थियो

मरियम यहूदी परिवारमा हुर्केकी थिइन्‌ र यहूदी धर्म मान्थिन्‌। तिनी स्थानीय सभाघर अर्थात्‌ यहूदीहरूले उपासना गर्ने ठाउँमा उपस्थित हुन्थिन्‌ र यरूशलेममा भएको मन्दिर पनि धाउँथिन्‌। तर परमेश्‍वरको उद्देश्‍यबारे मरियमको ज्ञान बढ्‌दै गएपछि आफ्ना पितापुर्खाको परम्परामा परमेश्‍वरको अनुमोदन नभएको कुरा बुझिन्‌। यहूदी धर्मगुरुहरूले तिनका छोरा मसीहलाई मारे। आफू मारिनुअघि येशूले तिनीहरूलाई भन्‍नुभएको थियो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।” (मत्ती २३:३८) मरियम हुर्केको यहूदी धर्मलाई परमेश्‍वरले आशिष्‌ दिन छोड्‌नुभयो।—गलाती २:१५, १६.

ख्रीष्टियान मण्डली स्थापना हुँदा मरियम त्यस्तै ५० वर्षकी हुनुपर्छ। तिनले के गर्ने थिइन्‌? के तिनले आफू यहूदी धर्ममा जन्मेकीले आफ्नो बाजे-बराजुकै परम्परामा वफादार रहन चाहन्छु भनिन्‌? उमेर गइसकेकोले धर्म परिवर्तन गर्न सक्दिनँ भनिन्‌? पक्कै भनिनन्‌! परमेश्‍वरको आशिष्‌ अहिले ख्रीष्टियान मण्डलीमा छ भनेर मरियमले बुझेकी थिइन्‌ त्यसैले तिनमा धर्म परिवर्तन गर्ने विश्‍वास र आँट थियो।

[पृष्ठ ५-मा भएको चित्र]

शरणार्थीको रूपमा मिश्रमा भाग्दै

[पृष्ठ ८-मा भएको चित्र]

एउटी आमालाई हुन सक्ने सबैभन्दा तीतो अनुभव