सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले मात्र जोगाउन सक्नुहुन्छ पृथ्वीलाई

परमेश्‍वरले मात्र जोगाउन सक्नुहुन्छ पृथ्वीलाई

परमेश्‍वरले मात्र जोगाउन सक्नुहुन्छ पृथ्वीलाई

“एउटा चम्किलो नीलो-सेतो रत्न।” अन्तरिक्ष यात्री एड्‌गार मिशेलले अँध्यारो अन्तरिक्षमा पृथ्वीलाई यस्तो देखेको वर्णन गरे।

पृथ्वीलाई मानिसको घर बनाउन परमेश्‍वरले धेरै परिश्रम गर्नुभयो। पृथ्वी सृष्टि गरिंदा स्वर्गदूतहरू “रमाहटले कराए।” (अय्यूब ३८:७) यस ग्रहमा भएका अचम्मलाग्दा कुराहरूबारे थाह भएपछि हामी पनि चुप लागेर बस्न सक्दैनौं, रमाहटले कराउँछौं। पृथ्वीमा जीवन सम्भव तुल्याउने जटिल इकोसिस्टम छ, मतलब हाम्रो पर्यावरणमा थुप्रै जटिल प्रणाली छन्‌। प्रायः सबैलाई थाह भएको एउटा प्रणाली हो: हरियो बोटबिरुवाले घामको किरण, पानी अनि हावाबाट कार्बनडाइअक्साइड सोसेर खानेकुरा बनाउनु। यस प्रक्रियाको दौडान बोटबिरुवाले वातावरणमा अक्सिजन फ्याँक्छ जुन हाम्रो जीवनको लागि नभई हुँदैन।

बाइबल बताउँछ, परमेश्‍वरले मानिसलाई पृथ्वीको रेखदेख गर्ने जिम्मा दिनुभयो। (उत्पत्ति १:२८; २:१५) तर, पृथ्वीको पर्यावरण सन्तुलित बनाइराख्न मानिसको मनोवृत्ति सही हुनु आवश्‍यक थियो। हो, उसले आफ्नो घर पृथ्वीलाई माया गर्नुपर्थ्यो। पृथ्वीलाई सुन्दर अवस्थामा राखिराख्ने चाहना गर्नुपर्थ्यो। तर मानिस स्वैच्छिक इच्छासहित सृजिएकोले पृथ्वीको अनुचित फाइदा उठाउने र यसलाई भताभुङ्‌ग पार्ने छनौट गर्न सक्ने सम्भावना थियो। अनि उसले त्यसै गऱ्‍यो पनि। मानिसको हेलचक्य्राइँ र लोभको नतिजा विनाशकारी भएको छ।

केही समस्या उल्लेख गर्नुपर्दा: (१) वन विनाशको कारण कार्बनडाइअक्साइड सोस्ने पृथ्वीको क्षमता क्षीण हुँदै गइरहेको छ। यसले गर्दा अझ उग्र रूपमा मौसम परिवर्तन हुन सक्छ। (२) अत्यधिक कीटनाशकको प्रयोगले कीरा-फट्याङ्‌ग्राको संख्या घटिरहेको छ। यी कीरा-फट्याङ्‌ग्राहरूले इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेल्छन्‌, जस्तै अन्‍नबालीमा पराग-सेचन गराउनु। (३) अत्यधिक माछा मारेकोले अनि नदी-नाला र समुद्रको प्रदूषणले माछाको संख्या नराम्रोसित घट्‌दै गइरहेको छ। (४) लोभी भएर प्राकृतिक स्रोतसाधनको प्रयोग गर्दा भावी पुस्ताको लागि केही नरहने खतरा सृजना भएको छ र भनिन्छ, यसले गर्दा पृथ्वीको तापक्रम द्रुत गतिमा बढिरहेको छ। केही पर्यावरणविद्‌हरूका अनुसार हिमनदीहरू पग्लेर साँघुरिंदै जानु अनि उत्तरी र दक्षिणी ध्रूवका हिमशीलाहरू चिरा परेर टुक्रिनु पृथ्वीको तापक्रम बढ्‌दै गएको प्रमाण हो।

प्राकृतिक प्रकोप बढ्‌दै गएको कारण केहीले भन्लान्‌: मानिसहरूमाथि दुःख ल्याएर पृथ्वीले बदला लिंदैछ। परमेश्‍वरले हामीलाई पृथ्वी सित्तैमा दिनुभयो। त्यसैले मानिसजाति पैसै तिर्नु नपर्ने किरायादार हुन्‌। (उत्पत्ति १:२६-२९) तर हाल भइरहेका विश्‍व घटनाहरूले के देखाउँछ भने, थुप्रै मानिसलाई आफ्नो सुन्दर घर पृथ्वी जोगाइराख्ने कुनै चासो छैन। बरु, तिनीहरू आफ्नै स्वार्थी इच्छा र क्रियाकलापमा चुर्लुम्मै डुबेका छन्‌। भन्‍ने नै हो भने, तिनीहरू प्रकाश ११:१८ मा भविष्यवाणी गरेको “पृथ्वीका नष्टकारी” अर्थात्‌ दुष्ट किरायादार साबित भएका छन्‌।

बाइबल भविष्यवाणीले देखाएअनुसार पृथ्वीमा जीवन धान्‍न सम्भव तुल्याउने इकोसिस्टमका सृजनहार सर्वशक्‍तिमान्‌ यहोवा परमेश्‍वरबाट खराब किरायादारहरूलाई “हटाउने” हुकुम भएको छ। (सपन्याह १:१४; प्रकाश १९:११-१५) सुधार्नै नसक्नेगरि मानिसले पृथ्वीलाई बिगार्नुअघि परमेश्‍वरले कदम चाल्नुहुनेछ, हामीले सोचेभन्दा पनि चाँडो। a (मत्ती २४:४४) हो, परमेश्‍वरले मात्र पृथ्वीलाई जोगाउन सक्नुहुन्छ। (w 09 1/1)

[फुटनोट]

a ढिलासुस्ती गर्न नहुनेबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित जागा रहो! पुस्तिका हेर्नुहोस्‌।