सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरू ‘थुमाको पछिपछि लागिरहन्छन्‌’

तिनीहरू ‘थुमाको पछिपछि लागिरहन्छन्‌’

तिनीहरू ‘थुमाको पछिपछि लागिरहन्छन्‌’

“थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने यिनै हुन्‌।”—प्रका. १४:४.

१. येशूको पछि लाग्ने सन्दर्भमा उहाँका चेलाहरूको विचार कस्तो थियो?

 फ्नो सेवकाईको झन्डै साढे दुई वर्षपछि येशू ‘कफर्नहुमको सभाघरमा शिक्षा दिंदै हुनुहुन्थ्यो।’ उहाँको शिक्षादेखि ठोकर खाएर “चेलाहरूमध्ये धेरै जना पछि हटे, औ उहाँसँग फेरि हिंडडुल गरेनन्‌।” येशूले १२ जना प्रेरितहरूलाई तिनीहरू पनि उहाँको पछि लाग्न छोड्‌ने हो कि भनी सोध्नुहुँदा सिमोन पत्रुसले यसो भने: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌। औ तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले विश्‍वास गरेका र जानेका छौं।” (यूह. ६:४८, ५९, ६०, ६६-६९) येशूका साँचो चेलाहरू उहाँको पछि लागिरहे। पवित्र आत्माद्वारा अभिषिक्‍त भएपछि तिनीहरू येशूको निर्देशनबमोजिम चलिरहे।—प्रेरि. १६:७-१०.

२. (क) “विश्‍वासी र बुद्धिमान्‌ दास” अथवा ‘विश्‍वासी भण्डारे’ को हो? (ख) त्यस दासले ‘थुमाको पछि लाग्ने’ सन्दर्भमा कस्तो उदाहरण बसालेको छ?

वर्तमान समयका अभिषिक्‍त ख्रीष्टियानहरूबारे के भन्‍न सकिन्छ? “[आफ्नो] आगमन [अर्थात्‌, “उपस्थिति,” NW ] र जगत्‌को अन्तको” भविष्यवाणीमा येशूले आत्मा-अभिषिक्‍त अनुयायीहरूको समूहलाई “विश्‍वासी र बुद्धिमान्‌ दास” अथवा ‘विश्‍वासी भण्डारे’ भन्‍नुभयो। (मत्ती २४:३, ४५; लूका १२:४२) “थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने” सन्दर्भमा यो दास वर्गले समूहको रूपमा उत्कृष्ट उदाहरण बसालेको छ। (प्रकाश १४:४, ५ पढ्‌नुहोस्‌) यसका सदस्यहरू आध्यात्मिक अर्थमा कुमारी जस्तै चोखो रहिरहन्छन्‌। कसरी? झूटो धर्मको विश्‍व साम्राज्य “महान्‌ बेबिलोन”-को विश्‍वास र प्रचलनहरूमा नबिटुलिएर। (प्रका. १७:५) “तिनीहरूका मुखमा कुनै” झूटो शिक्षा पाइँदैन अनि तिनीहरू आफूलाई शैतानको संसारबाट “निर्दोष” राख्छन्‌। (यूह. १५:१९) पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरू भविष्यमा स्वर्गसम्मै थुमाको ‘पछि लाग्नेछन्‌।’—यूह. १३:३६.

३. दास वर्गलाई भरोसा गर्नु किन महत्त्वपूर्ण छ?

येशूले विश्‍वासी र बुद्धिमान्‌ दासलाई ‘आफ्नो परिवारमाथि ठीक-ठीक समयमा खाना देओस्‌ भनेर खटाउनुभएको छ।’ यहाँ परिवार भनेको दास वर्गका सबै सदस्यहरू हुन्‌। येशूले दासलाई “आफ्नो सारा सम्पत्तिमाथि” पनि नियुक्‍त गर्नुभएको छ। (मत्ती २४:४५-४७) यस सम्पत्तिमा “अरू भेडा”-को बढ्‌दै गरेको “ठूलो भीड” समावेश छ। (प्रका. ७:९; यूह. १०:१६) अभिषिक्‍त जनका प्रत्येक सदस्य र “अरू भेडा”-ले आफूमाथि खटाइएको दासलाई भरोसा गर्नुपर्दैन र? दास वर्ग हाम्रो भरोसाको योग्य हुनुका थुप्रै कारण हामीसित छन्‌। दुइटा उल्लेखनीय कारण हुन्‌: (१) यहोवा दास वर्गलाई भरोसा गर्नुहुन्छ। (२) येशू पनि दास वर्गलाई भरोसा गर्नुहुन्छ। आउनुहोस्‌, यहोवा परमेश्‍वर र येशू दुवैले विश्‍वासी र बुद्धिमान्‌ दासलाई पूर्ण भरोसा गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण केलाऔं।

यहोवा दासलाई भरोसा गर्नुहुन्छ

४. विश्‍वासी र बुद्धिमान्‌ दासले दिने आध्यात्मिक भोजनप्रति हामी किन विश्‍वस्त हुन सक्छौं?

ठीक-ठीक समयमा पोषिलो आध्यात्मिक भोजनको प्रबन्ध गर्न विश्‍वासी र बुद्धिमान्‌ दासलाई केले सम्भव तुल्याउँछ, विचार गर्नुहोस्‌। “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु” यहोवा भन्‍नुहुन्छ। उहाँ अझ भन्‍नुहुन्छ: “तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भज. ३२:८) हो, यहोवा दासलाई निर्देशन दिनुहुन्छ। त्यसैले, दासबाट पाउने आध्यात्मिक शिक्षा अर्थात्‌ अन्तरदृष्टि, समझ र डोऱ्‍याइप्रति हामी पूर्ण विश्‍वस्त हुन सक्छौं।

५. दास वर्गले परमेश्‍वरको पवित्र आत्माबाट बल पाइरहेका छन्‌ भनेर केले देखाउँछ?

यहोवा दास वर्गलाई पवित्र आत्मा पनि दिनुहुन्छ। यहोवाको पवित्र आत्मा अदृश्‍य भए तापनि यो आत्मा प्राप्त गर्नेहरूको जीवनमा यसले काम गरेको चाहिं देखिन्छ। यहोवा परमेश्‍वर, उहाँका पुत्र र उहाँको राज्यबारे संसारभरि साक्षी दिने काममा विश्‍वासी र बुद्धिमान्‌ दासले के हासिल गर्न सकेको छ, त्यसबारे सोच्नुहोस्‌। यहोवाका उपासकहरूले २३० भन्दा बढी मुलुक र टापुमा सक्रिय भई राज्य सन्देश घोषणा गरिरहेका छन्‌। परमेश्‍वरको आत्माबाट दासले बल पाइरहेको छ भन्‍ने के यो अकाट्य प्रमाण होइन र? (प्रेरित १:८ पढ्‌नुहोस्‌) संसारभरि छरिएका यहोवाका जनहरूका लागि ठीक-ठीक समयमा आध्यात्मिक खानेकुरा जुटाउन दास वर्गले थुप्रै महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्छ। ती निर्णय गर्न र त्यसलाई कार्यान्वयन गर्न तिनीहरूले प्रेम, नम्रतालगायत आत्माको फलका अन्य पक्षहरू प्रदर्शित गर्छन्‌।—गला. ५:२२, २३.

६, ७. यहोवा विश्‍वासी दासलाई कुन हदसम्म भरोसा गर्नुहुन्छ?

विश्‍वासी दासलाई यहोवा कुन हदसम्म भरोसा गर्नुहुन्छ सो बुझ्न उहाँले यसका सदस्यहरूलाई गरेको प्रतिज्ञाबारे सोच्नुहोस्‌। प्रेरित पावलले लेखे: “तुरही बज्नेछ, र मरेकाहरू अविनाशी रूपमा बिउँताइनेछन्‌, औ हाम्रो चाहिं परिवर्तन हुनेछ। किनकि यस विनाशीले अविनाशी र यस मरणशीलले अमर रूप धारण गर्नैपर्छ।” (१ कोरि. १५:५२, ५३) अन्तसम्मै विश्‍वासी रहेर विनाशी शरीरमा मर्ने ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूको पुनरुत्थान अनन्त जीवनसहित आत्मिक शरीरमा हुने मात्र त होइन। हो, तिनीहरूले अमरत्व प्राप्त गर्छन्‌—मतलब अनन्त र अविनाशी जीवन। नकुहिने र सम्भवतः आफै स्वपोषित तुल्याउने शरीर पाएकोले तिनीहरू अविनाशी हुन्छन्‌। प्रकाश ४:४ मा यी पुनरुत्थान हुनेहरू शिरमा सुनका मुकुट पहिरेर सिंहासनहरूमा बसिरहेको वर्णन पाइन्छ। राजकीय महिमाले अभिषिक्‍त ख्रीष्टियानहरूको बाटो कुरिरहेको छ। तर परमेश्‍वरले अभिषिक्‍त जनहरूलाई विश्‍वास गरेको प्रमाण यति मात्र होइन।

प्रकाश १९:७, ८ बताउँछ: “थुमाको विवाहको दिन आएको छ। र उहाँकी दुलही आफै तयार हुँदैछिन्‌। तिनले पहिरिनलाई मसिनो सुती लुगा, चहकिलो र चोखो कपडा दिइएको थियो किनभने मसिनो सुती लुगा पवित्र जनहरूका धार्मिक कामहरू हुन्‌।” यहोवाले अभिषिक्‍त ख्रीष्टियानहरूलाई आफ्ना पुत्रको भावी दुलही हुन छान्‍नुभएको छ। अविनाशिता, अमरत्व, राजकीय महिमा र “थुमाको विवाह”—कस्तो अद्‌भुत उपहार! “थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने” अभिषिक्‍त जनहरूलाई परमेश्‍वर विश्‍वास गर्नुहुन्छ भन्‍ने कुराको कस्तो सशक्‍त प्रमाण!

येशू दासलाई भरोसा गर्नुहुन्छ

८. येशूले आत्मा-अभिषिक्‍त अनुयायीहरूलाई भरोसा गर्नुहुन्छ भनेर कसरी देखाउनुहुन्छ?

येशूलाई आफ्ना आत्मा-अभिषिक्‍त अनुयायीहरूमा पूरापूर भरोसा छ भन्‍ने के प्रमाण छ? पृथ्वीमा आफ्नो जीवनको अन्तिम रात येशूले ११ जना विश्‍वासी प्रेरितलाई एउटा प्रतिज्ञा गर्नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।” (लूका २२:२८-३०) त्यतिबेला येशूले ११ जनालाई गरेको त्यो प्रतिज्ञा सम्पूर्ण १,४४,००० अभिषिक्‍ति ख्रीष्टियानहरूलाई लागू हुन्छ। (लूका १२:३२; प्रका. ५:९, १०; १४:१) यदि तिनीहरूलाई भरोसा नगर्नुभएको भए के येशूले सहशासक बनाउने प्रतिज्ञा गर्नुहुन्थ्यो होला र?

९. “[ख्रीष्टको] सारा सम्पत्ति”-मा के-के पर्छ?

त्यसबाहेक, येशू ख्रीष्टले विश्‍वासी र बुद्धिमान्‌ दासलाई “आफ्नो सारा सम्पत्ति”-को हेरविचार गर्ने जिम्मा सुम्पनुभएको छ। मतलब, पृथ्वीमा भइरहेको सबै राज्य गतिविधिमाथि। (मत्ती २४:४७) यी सम्पत्तिहरूमध्ये केही हुन्‌: यहोवाका साक्षीहरूको मुख्यालय, शाखा कार्यालयहरू, विश्‍वभरका सम्मेलन भवन तथा राज्यभवन। साथै यसमा राज्य प्रचार र चेला बनाउने काम पनि समावेश छ। भरोसा नलागेको मान्छेलाई के कसैले आफ्नो बहुमूल्य सम्पत्ति राख्न र चलाउन दिन्छ र?

१०. येशू ख्रीष्ट आफ्ना अभिषिक्‍त अनुयायीहरूको साथमा हुनुहुन्छ भनेर केले देखाउँछ?

१० पुनरुत्थान हुनुभएका येशू स्वर्ग उक्लनु केही समयअघि आफ्ना विश्‍वासी चेलाहरूकहाँ देखा पर्नुभयो र तिनीहरूसित यस्तो वाचा गर्नुभयो: “हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:२०) के उहाँको यो वाचा सही साबित भएको छ? गत १५ वर्षमा यहोवाका साक्षीहरूको मण्डलीको संख्या झन्डै ७०,००० बाट बढेर १,००,००० भन्दा धेरै पुगेको छ। चालीस प्रतिशतभन्दा बढी वृद्धि। अनि थपिएका नयाँ चेलाहरू नि? गत १५ वर्षमा झन्डै ४५ लाख नयाँ चेलाहरूले बप्तिस्मा लिए—सरदर दिनको ८०० जना भन्दा धेरै। मण्डलीका सभा र चेला बनाउने काममा ख्रीष्टले आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई निर्देशन दिइरहनुका साथै सहयोग गरिरहनुभएको छ भन्‍ने कुराको प्रमाण यी अचम्मलाग्दा वृद्धिहरू हुन्‌।

दास—विश्‍वासी र बुद्धिमान्‌

११, १२. दासले कसरी आफूलाई विश्‍वासी र बुद्धिमान्‌ साबित गरेको छ?

११ यहोवा परमेश्‍वर र येशू ख्रीष्ट विश्‍वासी र बुद्धिमान्‌ दासलाई पूर्ण भरोसा गर्नुहुन्छ भने के हामीले गर्नुपर्दैन र? आखिर, आफूलाई सुम्पिएको काममा यो दास विश्‍वासी साबित भएको छ। उदाहरणको लागि, प्रहरीधरहरा पत्रिका १३० वर्षदेखि प्रकाशित हुँदै आएको छ, कहिल्यै टुटेको छैन। यहोवाका साक्षीहरूको सभा, सम्मेलन तथा अधिवेशनले हाम्रो विश्‍वासलाई निरन्तर बलियो बनाउँछ।

१२ विश्‍वासी दास बुद्धिमान्‌ पनि छ किनकि उसले हठी भई यहोवाको स्पष्ट निर्देशन पाउनअघि नै पाइला चालिहाल्दैन, न त यहोवाबाट स्पष्ट निर्देशन पाइसकेपछि ढिलासुस्ती नै गर्छ। उदाहरणको लागि, संसारका मानिसहरूले बिताइरहेको स्वार्थी र अधर्मी जीवन देखेर पनि झूटो धर्मका अगुवाहरू आँखा चिम्लेर बसेका छन्‌ अथवा मौन वा खुलेआम समर्थन गरिरहेका छन्‌। तर दास वर्गले चाहिं शैतानको दुष्ट रीतिरिवाजमा आइपर्न सक्ने खतराहरूबारे सतर्क गराएको छ। दासले यसरी ठीक-ठीक समयमा र बुद्धिमानीसाथ सतर्क गराइरहन सक्नुको कारण यहोवा परमेश्‍वर र येशू ख्रीष्टबाट आशिष्‌ पाइरहेकोले हो। त्यसैले यो दास पूर्ण भरोसा गर्न योग्यको छ। त्यसोभए, हामी विश्‍वासी र बुद्धिमान्‌ दासलाई भरोसा गरेको कसरी देखाउन सक्छौं?

अभिषिक्‍त जनहरू थुमाको पछि लाग्दा ‘तिनीहरूसितै जानुहोस्‌’

१३. जकरियाको भविष्यवाणीअनुसार विश्‍वासी र बुद्धिमान्‌ दासलाई भरोसा गरेको कसरी देखाउन सकिन्छ?

१३ जकरियाको पुस्तकले “दश जना मानिस”-बारे बताउँछ जसले “एउटा यहूदी” कहाँ गएर यसो भन्छन्‌: “हामी तपाईंहरूसितै जानेछौं।” (जकरिया ८:२३ पढ्‌नुहोस्‌ a) यहाँ “एउटा यहूदी”-लाई “तपाईंहरू” भनी सम्बोधन गरिएकोले तिनले मानिसहरूको एउटा समूहलाई बुझाउँछ। हाम्रो समयमा तिनले “परमेश्‍वरको इस्राएल”-को भाग आत्मा-अभिषिक्‍त शेष जनहरूलाई बुझाउँछ। (गला. ६:१६) “सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिस” चाहिं अरू भेडाको ठूलो भीड हो। अभिषिक्‍त ख्रीष्टियानहरू येशू जहाँजहाँ जानुहुन्छ उहाँको पछिपछि लागेझैं ठूलो भीड पनि ‘तिनीहरूसितै’ अर्थात्‌ विश्‍वासी र बुद्धिमान्‌ दाससितै ‘जान्छन्‌।’ अर्को शब्दमा भन्‍ने हो भने, तिनीहरूलाई साथ दिन्छन्‌। “स्वर्गीय बोलावट” पाएकाहरूको सहयोगी हुँ भनेर आफूलाई परिचित गराउन ठूलो भीडकाहरूले कहिल्यै लाज मान्‍नुहुँदैन। (हिब्रू ३:१) येशू अभिषिक्‍त जनहरूलाई “भाइ” भन्‍न शर्माउनुभएन।—हिब्रू २:११.

१४. ख्रीष्टका भाइहरूलाई कसरी सच्चा सहयोग गर्न सकिन्छ?

१४ अभिषिक्‍त भाइहरूलाई दिएको सहयोग येशू ख्रीष्टले आफूलाई नै दिएसरह ठान्‍नुहुन्छ। (मत्ती २५:४० पढ्‌नुहोस्‌) त्यसोभए, पार्थिव आशा भएकाहरूले कसरी ख्रीष्टका आत्मा-अभिषिक्‍त भाइहरूलाई सहयोग गर्न सक्छन्‌? मुख्यगरि राज्य प्रचारकार्यमा मदत गरेर। (मत्ती २४:१४; यूह. १४:१२) दशकौंको दौडान अभिषिक्‍त जनहरूको संख्या पृथ्वीमा घटेको छ भने अरू भेडाको चाहिं बढेको छ। पार्थिव आशा भएकाहरूले सम्भव भएमा पूर्ण-समय प्रचारकको सेवा गरेर चेला बनाउने काममा भाग लिन्छन्‌ र यसरी आत्मा-अभिषिक्‍त जनहरूलाई यो काम सम्पन्‍न गर्न साथ दिइरहेका हुन्छन्‌। (मत्ती २८:१९, २०) साथै विभिन्‍न तरिकामा आर्थिक अनुदान दिएर यो काममा सहयोग गर्न सकिने अवसरहरूलाई पनि नबिर्सनुहोस्‌।

१५. दास वर्गले ठीक-ठीक समयमा दिने आध्यात्मिक भोजन र तिनीहरूले गर्ने संगठनात्मक निर्णयहरूप्रति हरेक ख्रीष्टियानले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१५ विश्‍वासी दासले बाइबल आधारित प्रकाशन तथा ख्रीष्टियान सभा-सम्मेलन मार्फत ठीक-ठीक समयमा दिने आध्यात्मिक भोजनलाई हामी हरेक ख्रीष्टियानले कसरी हेर्छौं? के हामी यसलाई कृतज्ञ भई लिन्छौं र सिकेको कुरा तुरुन्तै जीवनमा लागू गर्छौं? दासले गरेको संगठनात्मक निर्णयहरूप्रति कस्तो प्रतिक्रिया देखाउँछौं? दिइएको निर्देशन इच्छुक भई पालन गर्दा यहोवाको प्रबन्धलाई विश्‍वास गरेको प्रमाण दिइरहेका हुन्छौं।—याकू. ३:१७.

१६. सबै ख्रीष्टियानहरूले ख्रीष्टका भाइहरूको सोर किन सुन्‍नुपर्छ?

१६ येशूले भन्‍नुभयो: “मेरा भेडाहरूले मेरो सोर सुन्छन्‌, र म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछ।” (यूह. १०:२७) अभिषिक्‍त ख्रीष्टियानहरूको सन्दर्भमा यो साँचो साबित भएको छ। ‘तिनीहरूसित जानेहरूबारे’ चाहिं के भन्‍न सकिन्छ? यिनीहरूले येशूको सोर सुन्‍नै पर्छ। उहाँका भाइहरूको सोर पनि सुन्‍नै पर्छ। आखिर, परमेश्‍वरका जनहरूको आध्यात्मिक हितको हेरचाह गर्ने जिम्मेवारी ती अभिषिक्‍त जनहरूलाई नै सुम्पिएको छ। ख्रीष्टका भाइहरूको सोर सुन्‍नुमा के समावेश छ?

१७. दास वर्गको सोर सुन्‍नुको अर्थ के हो?

१७ विश्‍वासी र बुद्धिमान्‌ दासलाई आज परिचालक निकायले प्रतिनिधित्व गर्छ जसले पृथ्वीभरि राज्य प्रचारकार्यमा नेतृत्व लिनुका साथै संयोजन गर्छ। परिचालक निकायका सदस्यहरू अनुभवी, आत्मा-अभिषिक्‍त प्राचीनहरू हुन्‌। तिनीहरूलाई विशेषगरि हाम्रा “अगुवाहरू” भन्‍न सकिन्छ। (हिब्रू १३:७) विश्‍वभरि एक लाखभन्दा बढी मण्डलीका लगभग ७० लाख राज्य उद्‌घोषकहरूको हेरचाह गर्दा यी अभिषिक्‍त निरीक्षकहरूले “प्रभुको काममा प्रशस्त” जिम्मेवारी उठाउनुपर्छ। (१ कोरि. १५:५८) दास वर्गको सोर सुन्‍नुको अर्थ यसको परिचालक निकायलाई पूर्ण सहयोग दिनु हो।

दासलाई सुन्‍नेहरूले आशिष्‌ पाउँछन्‌

१८, १९. (क) विश्‍वासी र बुद्धिमान्‌ दास वर्गको सोर सुन्‍नेहरूले कसरी आशिष्‌ पाउँछन्‌? (ख) हाम्रो संकल्प कस्तो हुनुपर्छ?

१८ नियुक्‍त भएदेखि विश्‍वासी र बुद्धिमान्‌ दासले थुप्रै मानिसलाई ‘धार्मिकतामा डोऱ्‍याइरहेका’ छन्‌। (दानि. १२:३, NRV ) यी मानिसहरूमा, वर्तमान दुष्ट रीतिरिवाजको विनाशबाट बच्ने आशा राख्नेहरू पर्छन्‌। यसरी परमेश्‍वरको अघि धर्मी ठहरिन पाउनु कस्तो ठूलो आशिष्‌!

१९ भविष्यमा, “परमेश्‍वरका तर्फबाट, पतिको निम्ति दुलही जस्तैगरी सिंगारिएर तयार पारिराखेकी, [१,४४,००० ले बनिएको] पवित्र शहर नयाँ यरूशलेम स्वर्गबाट तलतिर” झर्दा दास वर्गको सोर सुन्‍नेहरूले कस्तो अनुभव गर्नेछन्‌? बाइबल बताउँछ: “परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रका. २१:२-४) त्यसकारण, ख्रीष्ट र उहाँका भरोसा योग्य आत्मा-अभिषिक्‍त भाइहरूको सोर सुनौं! हामीसित यसो गर्ने हर कारण छ नि, होइन र?

(w 09 2/15)

[फुटनोट]

a जकरिया ८:२३ (NW): “सेनाहरूका यहोवाले यसो भन्‍नुभएको छ, ‘ती दिनमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌: “हामी तपाईंहरूसितै जानेछौं किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंहरूसित हुनुहुन्छ।”’”

तपाईंले के सिक्नुभयो?

• यहोवाले विश्‍वासी र बुद्धिमान्‌ दासलाई भरोसा गर्नुभएको के प्रमाण छ?

• येशू ख्रीष्टले दास वर्गलाई पूर्ण भरोसा गर्नुभएको केले देखाउँछ?

• विश्‍वासी भण्डारे किन हाम्रो भरोसाको योग्य छ?

• हामीले दासलाई भरोसा गरेको कसरी देखाउँछौं?

[प्रश्‍नहरू]