सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इनाममा दृष्टि राखिराख्नुहोस्‌

इनाममा दृष्टि राखिराख्नुहोस्‌

इनाममा दृष्टि राखिराख्नुहोस्‌

“पुरस्कारको निम्ति निशानातिर म अगाडि बढ्‌दछु।”—फिलि. ३:१४.

१. प्रेरित पावल अघि कस्तो इनाम राखिएको थियो?

 टार्ससका शावल भनेर पनि चिनिने प्रेरित पावल राम्रो घरानाका थिए। उनले व्यवस्थाका नामी शिक्षक गमलिएलबाट पुर्खौली धर्मको शिक्षा पाएका थिए। (प्रेरि. २२:३) त्यतिबेलाका मानिसले उज्ज्वल भविष्य ठान्‍ने अवसरहरू पावलसामु थियो। तर उनले आफ्नो धर्म त्यागे र ख्रीष्टियान बने। त्यसपछि उनले आफू अघि राखिदिएको अनन्त जीवनको इनाममा दृष्टि राखे। उनको सन्दर्भमा त्यो इनाम हो: परमेश्‍वरको स्वर्गीय राज्यको अमर राजा र पूजाहारी हुने सुअवसर। त्यस राज्यले बगैंचारूपी पृथ्वीमा शासन गर्नेछ।—मत्ती ६:१०; प्रका. ७:४; २०:६.

२, ३. पावलले स्वर्गीय जीवनको इनामलाई कत्तिको मोल गर्थे?

पावलले त्यस इनामको कत्ति मोल गर्थे, त्यो उनको यस भनाइबाट देखिन्छ: “जुन कुरा मलाई फायदाका थिए, ती ता मैले ख्रीष्टका निम्ति हानिकानै सम्झें। साँच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्दी सम्झन्छु।” (फिलि. ३:७, ८) मानिसजातिको लागि यहोवाको उद्देश्‍य जानिसकेपछि धेरैजसो मानिसले महत्त्वपूर्ण ठानेका कुरालाई पावलले रद्दी ठाने, जस्तै: पदवी, धन, पेशा र मान-सम्मान।

त्यहाँदेखि यता पावलको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै यहोवा र ख्रीष्टको अनमोल ज्ञान थियो। त्यस ज्ञानबारे येशूले प्रार्थनामा यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूह. १७:३) अनन्त जीवन पाउने पावलको निष्कपट इच्छा फिलिप्पी ३:१४ मा पाइने उनका शब्दहरूबाट प्रस्ट हुन्छ: “ख्रीष्ट येशूमा परमेश्‍वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाडि बढ्‌दछु।” हो, उनको दृष्टि परमेश्‍वरको स्वर्गीय सरकारको भागको रूपमा पाइने अनन्त जीवनको इनाममा केन्द्रित थियो।

पृथ्वीमा अनन्त जीवन

४, ५. परमेश्‍वरको इच्छाबमोजिम गर्नेहरूको अघि कस्तो इनाम राखिएको छ?

परमेश्‍वरको इच्छाबमोजिम चल्ने निर्णय गरेका धेरैजसोले कडा परिश्रम गरेर पाउने इनाम हो: परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन। (भज. ३७:११, २९) यो इनाम निश्‍चयै पाइन्छ भनेर येशूले पुष्टि गर्नुभयो। उहाँले भन्‍नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” (मत्ती ५:५) भजन २:८ ले संकेत गरेझैं पृथ्वीको मुख्य उत्तराधिकारी येशू स्वयम्‌ हुनुहुन्छ अनि उहाँसित स्वर्गमा १,४४,००० सह-शासक हुनेछन्‌। (दानि. ७:१३, १४, २२, २७) भेडाखाले नम्र ठूलो भीडकाहरूले चाहिं परमेश्‍वरको राज्य अन्तर्गत पृथ्वीमा “अधिकार” गर्नेछन्‌ जुन ‘तिनीहरूका निम्ति तयार गरिएको छ।’ (मत्ती २५:३४, ४६) यो सब पूरा हुनेछ भनी हामी ढुक्क हुन सक्छौं किनभने यो प्रतिज्ञा गर्नुहुने परमेश्‍वर ‘कहिल्यै झूट बोल्नुहुन्‍न।’ (ती. १:२) परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर यहोशू जस्तै हामी पनि विश्‍वस्त हुन सक्छौं। तिनले इस्राएलीहरूलाई यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन।”—यहो. २३:१४.

परमेश्‍वरको नयाँ संसारमा आजको जस्तो निराशाजनक जीवन हुनेछैन। बिलकुलै फरक हुनेछ: युद्ध, अपराध, गरिबी, अन्याय, बिमारी र मृत्युरहित। मानिसहरू शतप्रतिशत स्वस्थ हुनेछन्‌ र प्रमोदवनमा परिणत गरिएको पृथ्वीमा बस्नेछन्‌। त्यो जीवन हामीले सोचेभन्दा कता हो कता सन्तोषजनक हुनेछ। हो, हरेक दिन अपार आनन्दको क्षण हुनेछ। कस्तो अद्‌भुत इनाम!

६, ७. (क) नयाँ संसारमा हुने कस्ता कुराहरू येशूले देखाउनुभयो? (ख) मरेकाहरूको पनि कस्तो सुरुआत हुनेछ?

येशू पृथ्वीमा हुँदा उहाँले परमेश्‍वरको पवित्र आत्माको शक्‍ति पाएर नयाँ संसारमा सबैतिर छाउने अचम्मका कुराहरूको झलक देखाउनुभयो। उदाहरणको लागि, येशूले ३८ वर्षदेखि पक्षाघात भएको मानिसलाई उठेर हिंड भन्‍नुभयो। बाइबल बताउँछ, त्यो मानिस साँच्चै उठेर हिंड्यो। (यूहन्‍ना ५:५-९ पढ्‌नुहोस्‌) अर्को एकचोटि, येशूले ‘जन्मैदेखिको अन्धो मानिसलाई’ भेट्‌नुभयो र निको पार्नुभयो। पछि, तिनलाई निको पार्ने व्यक्‍तिबारे सोध्दा तिनले यसो भने: “संसारको शुरुदेखि यसो कसैले जन्मैको अन्धाका आँखा खोलिदिएको कहिल्यै सुनिएन। यदि यी मानिस परमेश्‍वरतर्फका नहुनुहुँदो हो ता उहाँले केही गर्नसक्नुहुने थिएन।” (यूह. ९:१, ६, ७, ३२, ३३) परमेश्‍वरबाट शक्‍ति पाएकोले नै येशूले यो सब गर्न सक्नुभयो। उहाँ जहाँ-जहाँ जानुभयो “निको पार्नुपर्ने जतिलाई निको पार्नुभयो।”—लूका ९:११.

येशूले बिरामी र लुलो-लङ्‌गडोलाई निको पार्नुभएको मात्र होइन मरेकालाई समेत ब्यूँताउनुभयो। उदाहरणको लागि, एउटी १२ वर्षकी ठिटी मरेकोले तिनका आमाबाबु एकदमै दुःखी थिए। तर येशूले भन्‍नुभयो: “ए कन्या म तिमीलाई भन्दछु, उठ!” अनि त्यो जुरुक्कै उठी! आमाबाबु र त्यहाँ भएकाहरूलाई कस्तो लाग्यो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? (मर्कूस ५:३८-४२ पढ्‌नुहोस्‌) परमेश्‍वरको नयाँ संसारमा लाखौं-लाखको पुनरुत्थान हुँदा ‘साह्रै छक्कलाग्दो हुनेछ।’ अथवा न्यु वर्ल्ड ट्रान्सलेसन बाइबलमा भनेझैं “एकदमै आनन्दित हुनेछ।” किनभने त्यहाँ ‘धर्मी र अधर्मीहरू दुवैको पुनरुत्थान हुनेछ।’ (प्रेरि. २४:१५; यूह. ५:२८, २९) त्यस उप्रान्त सधैंभरि बाँच्ने आशासहित तिनीहरूको जीवनमा नयाँ सुरुआत हुनेछ।

८, ९. (क) ख्रीष्टको हजार वर्षीय शासनको दौडान आदमबाट वंशानुगत पाएको पाप के हुनेछ? (ख) मरेकाहरूलाई केको आधारमा न्याय गरिनेछ?

पुनरुत्थान भएकाहरूले जीवन प्राप्त गर्ने मौका पाउनेछन्‌। पुनरुत्थानअघि तिनीहरूले गरेको पापको आधारमा तिनीहरूलाई न्याय गरिनेछैन। (रोमी ६:७) ख्रीष्टको हजार वर्षीय शासनको दौडान छुटकाराको बलिदानका लाभहरू पाउँदै जाँदा परमेश्‍वरको राज्यका आज्ञाकारी प्रजाहरू बिस्तारै सिद्ध हुँदै जानेछन्‌ र आखिरमा आदमको पापका सबै असरबाट पूर्णतया मुक्‍त हुनेछन्‌। (रोमी ८:२१) यहोवाले ‘मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।’ (यशै. २५:८) बाइबल यसो पनि भन्छ: ‘पुस्तकहरू खोलिनेछन्‌।’ यसले त्यसबेला बाँचिरहेकाहरूलाई नयाँ जानकारी दिइनेछ भनेर संकेत गर्छ। (प्रका. २०:१२) पृथ्वी प्रमोदवनमा परिणत हुँदा “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्‌।”—यशै. २६:९.

पुनरुत्थान भएकाहरूको न्याय आदमबाट वंशानुगत पाएका पापको आधारमा होइन तर तिनीहरू आफैले छनौट गरेको कामको आधारमा गरिनेछ। प्रकाश २०:१२ बताउँछ: “ती पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो।” यहाँ काम भन्‍नाले तिनीहरूको पुनरुत्थानपछिको काम हो। यहोवाको न्याय, दया र प्रेमको कस्तो अद्‌भुत उदाहरण! त्यसबाहेक, यस पुरानो संसारमा तिनीहरूले भोगेका पीडादायी कुराको “सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशै. ६५:१७) उत्थानदायी नयाँ-नयाँ जानकारी पाएकोले र जीवन असल-असल कुराले भरिभराउ भएकोले तिनीहरू विगतका खराब कुराद्वारा पिरोलिने छैनन्‌। विगतका अनुभवहरू तिनीहरूको मन-मस्तिष्कबाट मेटेर जानेछ। (प्रका. २१:४) “ठूलो भीड”-मध्येकाहरू जसले आरमागेडोन जिउँदै पार गर्छन्‌ तिनीहरूलाई पनि त्यस्तै हुनेछ।—प्रका. ७:९, १०, १४.

१०. (क) परमेश्‍वरको नयाँ संसारमा जीवन कस्तो हुनेछ? (ख) इनाममा दृष्टि राखिराख्न तपाईंले के गर्न सक्नुहुन्छ?

१० परमेश्‍वरको नयाँ संसारमा मानिसहरू बिमार पर्नेछैनन्‌ वा मर्नेछैनन्‌। “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” (यशै. ३३:२४) अन्ततः नयाँ संसारका बासिन्दाहरूले हरेक बिहान उठ्‌दा आफ्नो स्वास्थ्य झन्‌ राम्रो भएको पाउनेछन्‌ र नयाँ दिनको आशाले रोमाञ्चित हुनेछन्‌। आफ्नो भलो चाहने मानिसहरूसित मात्र संगत गर्दै सन्तोषजनक कामहरू गर्न उत्सुक हुनेछन्‌। यस्तो जीवन वास्तवमै अद्‌भुत इनाम हो! त्यसोभए, बाइबल पल्टाएर यशैया ३३:२४ र ३५:५-७ का भविष्यवाणीहरू हेरे कसो होला? त्यहाँ आफै भएको कल्पना गर्नुहोस्‌। यसो गर्दा इनाममा दृष्टि राखिराख्न मदत पाउनुहुनेछ।

इनामबाट दृष्टि हटाउनेहरू

११. सुलेमानको शासनको असल सुरुआतबारे बताउनुहोस्‌।

११ इनामबारे जानिसकेपछि यसमा दृष्टि राखिराख्न लगनशील भई प्रयास गर्नुपर्छ किनभने यसबाट हाम्रो दृष्टि हट्‌न सक्छ। उदाहरणको लागि, प्राचीन इस्राएलको राजा भएपछि सुलेमानले परमेश्‍वरका जनहरूलाई ठीकसित न्याय गर्न सकियोस्‌ भनेर समझ र बुद्धिको लागि उहाँलाई नम्र भई प्रार्थना गरे। (१ राजा ३:६-१२ पढ्‌नुहोस्‌) त्यसको परिणामबारे बाइबल बताउँछ, ‘परमेश्‍वरले सुलेमानलाई ज्यादै बुद्धि र ज्ञान दिइरहनुभयो।’ हो, “सुलेमानको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्र देशका सबै मानिसका बुद्धिलाई माथ गर्नेथियो।”—१ राजा ४:२९-३२.

१२. इस्राएलका राजा बन्‍नेहरूलाई यहोवाले कस्तो चेतावनी दिनुभएको थियो?

१२ तथापि, राजा बन्‍ने कसैले “असंख्य घोडाहरू” र “आफ्नो लागि धेरै स्वास्नीहरू जम्मा नगरोस्‌, नत्रता उसको मन बरालिनेछ” भनेर यहोवाले पहिल्यै चेतावनी दिनुभएको थियो। (व्यव. १७:१४-१७) घोडाहरू थुपार्दा राजाले देशको रक्षाको लागि महान्‌ रक्षक यहोवामाथि भर नपरी आफ्नै सैन्य शक्‍तिमाथि भर परेको कुरा देखाइरहेको हुनेथियो। अनि धेरै स्वास्नी राख्नु खतरनाक हुनेथियो किनभने तीमध्ये केही झूटो उपासना गर्ने छिमेकी राष्ट्रका हुन सक्थे र तिनीहरूले राजालाई यहोवाको साँचो उपासनाबाट तर्काउन सक्थे।

१३. सुलेमानले आफूलाई दिइएको कुराबाट कसरी दृष्टि हटाए?

१३ सुलेमानले ती चेतावनी सुनेनन्‌। बरु, राजाहरूले जे कुरा गर्नुहुन्‍न भनेर यहोवाले तोकेरै भन्‍नुभएको थियो तिनले त्यही गरे। हजारौं घोडा र घोडचढीहरू थुपारे। (१ राजा ४:२६) तिनले ७०० पत्नी र ३०० उपपत्नीहरू ल्याए जसमध्ये धेरैजसो झूटो उपासना गर्ने छिमेकी राष्ट्रका थिए। तिनीहरूले ‘तिनको मन अरू देवताहरूतर्फ लगाइदिए र तिनी परमेश्‍वरप्रति पूर्ण भक्‍त भएनन्‌।’ सुलेमान तिनका विदेशी स्वास्नीहरूले मान्‍ने गैर-इस्राएली राष्ट्रहरूको घिनलाग्दो झूटो उपासनामा मुछिए। नतिजास्वरूप, यहोवाले “यो राज्य” सुलेमानबाट खोसेर ‘टुक्राउनेछु’ भन्‍नुभयो।—१ राजा ११:१-६, ११.

१४. सुलेमान र इस्राएल राष्ट्र अनाज्ञाकारी हुँदा के भयो?

१४ सुलेमानले साँचो परमेश्‍वरको प्रतिनिधित्व गर्ने अमूल्य सुअवसर पाएका थिए। तर त्यसबाट तिनले दृष्टि हटाए। तिनी झूटो उपासनामा चुर्लुम्मै डुबे। समयको दौडान, सम्पूर्ण राष्ट्र नै धर्मत्यागी भयो फलस्वरूप ईसापूर्व ६०७ मा यसले विनाश भोग्नुपऱ्‍यो। अन्ततः यहूदीहरूले साँचो उपासना पुनर्स्थापित गरे तापनि शताब्दीऔं पछि येशूले यस्तो घोषणा गर्नुभयो: “परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” अनि त्यस्तै भयो। येशूले भन्‍नुभयो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।” (मत्ती २१:४३; २३:३७, ३८) अविश्‍वासी भएको कारण इस्राएल राष्ट्रले साँचो परमेश्‍वरको प्रतिनिधित्व गर्ने महान्‌ सुअवसर गुमाए। इस्वी संवत्‌ ७० मा रोमी सेनाले यरूशलेम र यसको मन्दिर ध्वस्त पाऱ्‍यो अनि त्यहाँ बाँकी रहेका थुप्रै यहूदीहरू दासत्वमा परे।

१५. साँच्चै महत्त्वपूर्ण कुराबाट दृष्टि हटाउने मानिसहरूको उदाहरण बताउनुहोस्‌।

१५ यहूदा इस्करयोती येशूका १२ प्रेरितहरूमध्ये एक थियो। उसले येशूको अद्‌भुत शिक्षा सुनेको र परमेश्‍वरको पवित्र आत्माको मदतद्वारा उहाँले गरेका चमत्कारहरू देखेको थियो। तर उसले आफ्नो हृदय जोगाएन। उसलाई येशू र १२ प्रेरितहरूको पैसाको थैली राख्न दिइएको थियो। तर “त्यो चोर थियो, र पैसाको थैली बोक्ने भएर त्यसमा राखिएका चीज झिकेर लैजान्थ्यो।” (यूह. १२:६) उसको लोभीपनले त्यतिबेला सीमा नाघ्यो जब उसले कपटी मुख्य पूजाहारीहरूसित चाँदीको ३० टुक्रामा येशूलाई धोका दिने षड्यन्त्र रच्यो। (मत्ती २६:१४-१६) इनामबाट दृष्टि हटाउने अर्को उदाहरण हो, डेमस। ऊ प्रेरित पावलको सहकर्मी थियो। उसले पनि आफ्नो हृदय जोगाएन। पावलले भने: “डेमसले वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागे।”—२ तिमो. ४:१०; हितोपदेश ४:२३ पढ्‌नुहोस्‌।

हामी हरेकको लागि पाठ

१६, १७. (क) हामी विरुद्ध आउने विरोध कत्तिको शक्‍तिशाली छ? (ख) शैतानले ल्याउने जुनसुकै कुराको विरुद्ध दृढ हुन हामीलाई केले सक्षम बनाउँछ?

१६ परमेश्‍वरका हरेक सेवकले बाइबलमा दिइएका उदाहरणहरू मनमा राख्नुपर्छ। किनभने बाइबल भन्छ: “यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे, र हाम्रो चेतावनीको निम्ति लेखिएका हुन्‌, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।” (१ कोरि. १०:११) आज हामी पुस्ताहरूको अर्थात्‌ वर्तमान दुष्ट संसारको अन्तको समयमा बाँचिरहेका छौं।—२ तिमो. ३:१, १३.

१७ “यस संसारको देव” शैतानलाई “आफ्नो अल्प समय” थाह छ। (२ कोरि. ४:४; प्रका. १२:१२) त्यसले यहोवाका सेवकहरूलाई लोभ्याएर ख्रीष्टियान सिद्धान्त विपरीत काम गराउन सक्दो प्रयास गर्नेछ। यो संसार त्यसको हातमा परेको छ। यसमा झूटो हल्ला फैलाउने माध्यमहरू पनि पर्छन्‌। तर यहोवाका जनहरूसित एउटा एकदमै शक्‍तिशाली कुरा छ। त्यो हो: “सर्वश्रेष्ठ शक्‍ति।” (२ कोरि. ४:७, NRV ) हामी विरुद्ध शैतानले ल्याउने जुनसुकै कुराको विरुद्ध दृढ हुन परमेश्‍वरबाट पाउने यो सर्वश्रेष्ठ शक्‍तिमा भर पर्न सक्छौं। त्यसैले, यहोवाले ‘माग्नेहरूलाई पवित्र आत्मा दिनुहुनेछ’ भनी विश्‍वस्त भई निरन्तर प्रार्थना गर्न हामीलाई भनिएको छ।—लूका ११:१३.

१८. यस वर्तमान संसारलाई हामीले कसरी हेर्नुपर्छ?

१८ शैतानको सम्पूर्ण रीतिरिवाज चाँडै नष्ट हुनेछ तर साँचो ख्रीष्टियानहरू चाहिं बच्नेछन्‌। यो कुरा थाह पाउँदा पनि हामी बल प्राप्त गर्छौं। “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्नेचाहिं सधैंभरि रहिरहन्छ।” (१ यूह. २:१७) यस कुरालाई विचार गर्दा, परमेश्‍वरको सेवकले यहोवासितको सम्बन्धभन्दा यस वर्तमान रीतिरिवाजमा अझ मूल्यवान्‌ केही छ भनेर सोच्नु कत्ति मूर्ख हुनेछ! शैतानको हातमा परेको यो संसार डुब्दै गरेको जहाज जस्तै हो। यहोवाले आफ्ना विश्‍वासी सेवकहरूका लागि “जीवन रक्षक डुंगा”—ख्रीष्टियान मण्डलीको—प्रबन्ध गर्नुभएको छ। नयाँ संसारतिर अघि बढ्‌दै जाँदा तिनीहरू यो प्रतिज्ञा पूरा हुने कुरामा विश्‍वस्त हुन सक्छन्‌: “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।” (भज. ३७:९) त्यसैकारण, यस अद्‌भुत इनाममा दृष्टि राखिराख्नुहोस्‌!

(w 09 3/15)

के तपाईंलाई याद छ?

• आफू अघि राखिदिएको इनामबारे पावलले कस्तो महसुस गरे?

• पृथ्वीमा सधैंभरि बाँच्नेहरूलाई केको आधारमा न्याय गरिनेछ?

• तपाईंले अहिले कुन मार्ग अपनाउनु बुद्धिमानी हुनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

बाइबल विवरणहरू पढ्‌दा के तपाईं त्यो इनाम पाएको कल्पना गर्नुहुन्छ?