सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सचेत रहो”

“सचेत रहो”

“सचेत रहो”

“सबै कुराको अन्त नजिकै आएको छ। . . . प्रार्थनामा सचेत रहो।” —१ पत्रु. ४:७.

१. येशूको शिक्षाको मुख्य विषय के थियो?

 येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा उहाँको शिक्षाको मुख्य विषय परमेश्‍वरको राज्य थियो। त्यस राज्य मार्फत यहोवाले ब्रह्‍माण्डमा आफ्नो सार्वभौमिकता उच्च पार्नुहुनेछ र आफ्नो नाउँ पवित्र गर्नुहुनेछ। त्यसैले, चेलाहरूलाई येशूले यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ४:१७; ६:९, १०) परमेश्‍वरको त्यस राज्यले चाँडै नै शैतानको संसारलाई अन्त गरेर पृथ्वीभरि परमेश्‍वरको इच्छा पूरा गर्ने काममा रेखदेख गर्नेछ। दानियलले भविष्यवाणी गरेझैं त्यस राज्यले “[वर्तमान समयका] यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।”—दानि. २:४४.

२. (क) येशू राज्य शक्‍तिमा आउनुभयो भनेर उहाँका अनुयायीहरूले कसरी थाह पाउने थिए? (ख) त्यस चिह्नले केलाई पनि संकेत गर्छ?

येशूका चेलाहरूका लागि आउँदै गरेको परमेश्‍वरको राज्य अति महत्त्वपूर्ण भएकोले तिनीहरूले उहाँलाई सोधे: “तपाईंको आगमन [अर्थात्‌, “उपस्थिति,” NW ] र जगत्‌को अन्तको चिन्ह के हुन्छ?” (मत्ती २४:३) पृथ्वीबासीहरूका निम्ति राज्य शक्‍तिमा ख्रीष्टको उपस्थिति अदृश्‍य हुने भएकोले त्यस उपस्थिति थाह पाउन स्पष्ट देखिने चिह्न दिइने थियो। त्यस चिह्नका विभिन्‍न पक्ष हुनेथिए जसबारे बाइबलमा भविष्यवाणी गरिएको थियो। यसैबाट, त्यस समयमा बाँचिरहेका येशूका अनुयायीहरूले स्वर्गमा उहाँको शासन सुरु भएको बुझ्न सक्थे। उक्‍त चिह्नले एउटा समय अवधिको सुरुआतलाई पनि संकेत गर्छ। त्यस समयलाई बाइबलमा दुष्ट संसारको “आखिरी दिन” भनिएको छ र यस दुष्ट संसारले पृथ्वीमाथि अहिले कब्जा जमाइरहेको छ।—२ तिमो. ३:१-५, १३; मत्ती २४:७-१४.

आखिरी दिनमा सचेत रहनुहोस्‌

३. ख्रीष्टियानहरू किन सचेत रहनुपर्छ?

प्रेरित पत्रुसले लेखे: “सबै कुराको अन्त नजिकै आएको छ। यसकारण शुद्ध मनको भएर प्रार्थनामा सचेत रहो।” (१ पत्रु. ४:७) येशू राज्य शक्‍तिमा आउनुभएको संकेत गर्ने घटनाहरूप्रति उहाँका अनुयायीहरू सचेत र जागा रहनुपर्छ। वर्तमान दुष्ट संसारको अन्त आउनै लागेकोले तिनीहरू झनै सचेत हुनुपर्छ। येशूले चेलाहरूलाई भन्‍नुभयो: “जागा रहो, किनकि [शैतानको संसारमाथि न्याय गर्न] घरको मालिक . . . कहिले आउने हो सो तिमीहरू जान्दैनौ।”—मर्कू. १३:३५, ३६.

४. शैतानको संसारको भाग बनेका मानिसहरूको मनोवृत्ति र यहोवाका सेवकहरूको मनोवृत्तिबीच भिन्‍नता बताउनुहोस्‌। (पेटी समावेश गर्नुहोस्‌।)

अधिकांश मानिसहरू शैतानको कब्जामा छन्‌। अनि संसारका घटनाहरूले के अर्थ राख्छ, त्यसप्रति तिनीहरू जागा छैनन्‌। ख्रीष्ट राज्य शक्‍तिमा आउनुभएको तिनीहरू बुझ्दैनन्‌। तर ख्रीष्टका साँचो अनुयायीहरू सचेत छन्‌ र विगतको शताब्दीमा भएका घटनाहरूको साँचो अर्थ बुझेका छन्‌। पहिलो विश्‍वयुद्ध र त्यसपछिका घटनाहरू सन्‌ १९१४ मा ख्रीष्ट स्वर्गीय राज्य शक्‍तिमा आउनुभयो भन्‍ने कुराको ठोस प्रमाण हो भनेर सन्‌ १९२५ देखि यहोवाका साक्षीहरूले बुझेका छन्‌। यसरी, शैतानको अधीनमा भएको यस दुष्ट संसारको आखिरी दिन सुरु भयो। विश्‍व घटनाहरूप्रति ध्यान दिने मानिसहरूले यसको खास अर्थ नजाने तापनि प्रथम विश्‍वयुद्धअघिको समय र त्यसपछिका समयबीच स्पष्ट भिन्‍नता भएको स्वीकारेका छन्‌।— “गोलमालको युग सुरु” पेटी हेर्नुहोस्‌।

५. हामी सचेत भइरहनु किन महत्त्वपूर्ण छ?

झन्डै सय वर्षदेखि संसारभरि घटिरहेका डरलाग्दा घटनाहरूले हामी आखिरी दिनमा बाँचिरहेको प्रमाण दिन्छ। यहोवाले ख्रीष्टलाई शैतानको संसार विरुद्ध स्वर्गदूतहरूको शक्‍तिशाली सेना चलाउने आज्ञा दिनै लाग्नुभएको छ। (प्रका. १९:११-२१) साँचो ख्रीष्टियानहरूलाई जागा रहन भनिएको छ। त्यसैले, यस संसारको अन्त हुने मनमा राख्दै जागा रहिरहनु नितान्त जरुरी छ। (मत्ती २४:४२) हामी जागा रहनै पर्छ अनि येशूको निर्देशनमा एउटा खास काम पृथ्वीभरि पूरा गर्नै पर्छ।

विश्‍वव्यापी काम

६, ७. आखिरी दिनमा राज्य प्रचारकार्य कसरी अघि बढेको छ?

यहोवाका सेवकहरूले गर्नुपर्ने यो काम चिह्नका थुप्रै पक्षमध्ये एउटा हो जुन चिह्नले हामी यस वर्तमान दुष्ट संसारको आखिरी दिनमा बाँचिरहेको संकेत गर्छ। येशूले अन्तको समयमा हुने एक-एक कुरा भन्दै जानुहुँदा यस विश्‍वव्यापी कार्यबारे पनि बताउनुभयो। उहाँको भविष्यवाणीमा यो अर्थपूर्ण भनाइ समावेश थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

येशूको भविष्यवाणीको त्यस पक्षसित सम्बन्धित केही तथ्यहरूबारे सोच्नुहोस्‌। सन्‌ १९१४ मा आखिरी दिन सुरु हुँदा सुसमाचार घोषणा गर्ने मानिसहरूको संख्या एकदमै थोरै थियो। तर त्यो संख्यामा ठूलो वृद्धि भएको छ। अहिले पृथ्वीभरि प्रचार गर्ने यहोवाका साक्षीहरूको संख्या ७० लाखभन्दा धेरै छ र तिनीहरू एक लाख भन्दा बढी मण्डलीहरूमा संगठित छन्‌। थप एक करोड मानिसहरू सन्‌ २००८ को स्मरणार्थ उत्सवमा यहोवाका साक्षीहरूसित भेला भए। यो, गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

८. विरोधको बाबजुद हाम्रो प्रचारकार्य किन सफल भएको छ?

यस संसारको अन्तअघि सारा राष्ट्रमा परमेश्‍वरको राज्यबारे कस्तो विस्तृत साक्षीकार्य! शैतान “यस संसारको देव” भए तापनि यो सम्भव भएको छ। (२ कोरि. ४:४) यस संसारको सबै राजनैतिक, धार्मिक र व्यापारिक तत्त्वहरू साथै अफवाह फैलाउने यसका माध्यमहरू शैतानद्वारा प्रभावित छन्‌। त्यसोभए, यो साक्षीकार्य यस्तो अद्‌भुत तरिकाले सफल हुनुको कारण के हो? अवश्‍यै यहोवाको मदतले गर्दा। त्यसैकारण, शैतानले रोक्ने जमर्को गरे तापनि यो कार्य अद्‌भुत तरिकाले अघि बढ्‌छ।

९. हाम्रो आध्यात्मिक समृद्धिलाई चमत्कार भन्‍न सकिन्छ, किन?

राज्य प्रचारकार्यको सफलता अनि यहोवाका जनहरूको वृद्धि तथा आध्यात्मिक समृद्धिलाई चमत्कार भन्‍न सकिन्छ। परमेश्‍वरको सहयोगबिना यो प्रचारकार्य सम्भव हुने थिएन अनि त्यस सहयोगमा उहाँको निर्देशन र सुरक्षा पनि पर्छ। (मत्ती १९:२६ पढ्‌नुहोस्‌) हामी निश्‍चित हुन सक्छौं कि यहोवाको सेवा गर्न चाहने सचेत हृदय भएकाहरूले परमेश्‍वरको पवित्र आत्मा पाएर सफलतासाथ यस संसारको अन्तसम्मै प्रचार गर्नेछन्‌ र “त्यसपछि अन्त हुनेछ।” त्यो समय तीव्र गतिमा आउँदैछ।

“महासङ्‌कष्ट”

१०. आउँदै गरेको महासङ्‌कष्टलाई येशूले कसरी वर्णन गर्नुभयो?

१० “महासङ्‌कष्ट”-मा यस दुष्ट संसारको अन्त हुनेछ। (प्रका. ७:१४) यो सङ्‌कष्ट कति लामो हुन्छ बाइबल बताउँदैन। तर येशूले भन्‍नुभयो: “त्यस बेला यस्तो महासङ्‌कष्ट हुनेछ, जो जगत्‌को शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) दोस्रो विश्‍वयुद्धमा अनुमानित पाँचदेखि छ करोड मानिसहरू मरेका थिए। मानिसहरूले भोगिसकेका यस्ता सङ्‌कष्टलाई विचार गर्दा यो आउँदै गरेको महासङ्‌कष्ट एकदमै घातक हुनेछ भन्‍न सकिन्छ। यसको पराकाष्ठा आरमागेडोनको युद्धमा हुनेछ जतिबेला शैतानको पार्थिव प्रणालीको हर पक्ष नष्ट गर्न यहोवाले आफ्नो न्यायदण्ड ल्याउने सेना चलाउनुहुनेछ।—प्रका. १६:१४, १६.

११, १२. कुन घटनाले महासङ्‌कष्ट सुरु भएको संकेत गर्छ?

११ महासङ्‌कष्टको पहिलो चरण कहिले सुरु हुन्छ बाइबल भविष्यवाणीमा बताइएको छैन। तैपनि, यसको सुरुआतमा कस्तो असाधारण घटना घट्‌छ त्यो चाहिं बताएको छ। त्यो हो: राजनैतिक शक्‍तिद्वारा सबै झूटो धर्मको विनाश। प्रकाश १७ र १८ अध्यायका भविष्यवाणीहरूमा झूटो धर्मलाई वेश्‍यासित तुलना गरिएको छ जसले पृथ्वीको राजनैतिक व्यवस्थासित अनैतिक सम्बन्ध राखेकी छे। प्रकाश १७:१६ ले त्यो समय चाँडै आउनेछ भनी देखाउँछ जतिबेला यी राजनैतिक तत्त्वहरूले “त्यस वेश्‍यासँग दुश्‍मनी गर्नेछन्‌, र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌। औ त्यसको मासु खानेछन्‌, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्‌।”

१२ त्यो समय आउँदा परमेश्‍वरले “तिनीहरूलाई [अर्थात्‌, राजनैतिक शासकहरूलाई]” सबै झूटो धर्म नाश गर्ने “मन” दिनुहुनेछ। (प्रका. १७:१७) त्यसैले, त्यो विनाश परमेश्‍वरबाट आउँछ भन्‍न सकिन्छ। त्यो कपटी धर्ममाथि उहाँको न्यायदण्ड हो जसले धेरै समयदेखि परमेश्‍वरको इच्छा विपरीत शिक्षा सिकाउँदै आएको छ र उहाँका सेवकहरूलाई सताएको छ। झूटो धर्ममाथि आउँदै गरेको त्यो विनाश संसारले चिताएकै हुँदैन। तर यहोवाका विश्‍वासी सेवकहरू भने पक्का छन्‌। अनि यो कुरा तिनीहरूले यस आखिरी दिनको दौडानभरि मानिसहरूलाई बताइरहेका छन्‌।

१३. झूटो धर्मको अन्त एकदमै चाँडो हुनेछ भनी केले संकेत गर्छ?

१३ झूटो धर्मको विनाश देखेर मानिसहरू एकदमै स्तब्ध हुनेछन्‌। बाइबल भविष्यवाणी देखाउँछ कि कतिपय “पृथ्वीका राजाहरू” समेत त्यस विनाशमा यसो भन्‍नेछन्‌: “हाय, हाय . . . किनभने एकै घण्टामा त्यो नष्ट भएको छ।” (प्रका. १८:९, १०, १६, १९) यहाँ “एक घण्टा” भन्‍नुले त्यो घटना तुलनात्मक हिसाबले एकदमै चाँडो हुन्छ भनेर बुझाउँछ।

१४. अन्ततः यहोवाका शत्रुहरूले उहाँका सेवकहरूमाथि आक्रमण गर्दा उहाँ कसरी प्रतिरोधमा उत्रनुहुन्छ?

१४ हामीले बुझेका छौं, झूटो धर्म विनाश भएको केही समयपछि यहोवाको न्याय सन्देश घोषणा गरिरहेका यहोवाका सेवकहरूमाथि आक्रमण हुनेछ। (इज. ३८:१४-१६) आक्रमण सुरु हुँदा आक्रमणकारीहरूले यहोवासित युद्ध गर्नुपर्नेछ जसले आफ्ना विश्‍वासी जनहरूलाई सुरक्षा दिने प्रतिज्ञा गर्नुभएको छ। यहोवा घोषणा गर्नुहुन्छ: “डाह र प्रचण्ड क्रोधको साथ, म शपथ खाएर भन्दछु . . . तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।” (इजकिएल ३८:१८-२३ पढ्‌नुहोस्‌) “जसले [उहाँका विश्‍वासी सेवकहरूलाई] छुन्छ त्यसले उहाँको आँखाको नानीलाई छुन्छ” भनी परमेश्‍वर आफ्नो वचन बाइबलमा भन्‍नुहुन्छ। (जक. २:८) त्यसैले, शत्रुहरूले उहाँका सेवकहरूमाथि विश्‍वव्यापी आक्रमण गर्न थाल्दा उहाँ प्रतिरोधमा उत्रनुहुनेछ। उहाँले पाइला चाल्नुहुनेछ जसले महासङ्‌कष्टलाई अन्तिम चरणमा पुऱ्‍याउनेछ—मतलब, आरमागेडोन ल्याउनुहुनेछ। ख्रीष्टको आज्ञा पाएर स्वर्गदूतहरूको शक्‍तिशाली सेनाले शैतानको संसार विरुद्ध यहोवाको न्यायदण्ड ल्याउनेछ।

हामीमा कस्तो प्रभाव पर्नुपर्छ?

१५. यस संसारको अन्त नजिकै भएको थाह पाउँदा हामीमा कस्तो प्रभाव पर्नुपर्छ?

१५ यो दुष्ट संसार तीव्र गतिले अन्ततिर लम्किंदैछ भनी थाह पाउँदा हामीमा कस्तो प्रभाव पर्नुपर्छ? प्रेरित पत्रुसले लेखे: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्‍ने देखेर सबै पवित्र जीवन [अर्थात्‌, “आचरण,” NW] र भक्‍तिमा [अर्थात्‌, “ईश्‍वरभक्‍तिका कार्यहरूमा,” NW] तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?” (२ पत्रु. ३:११) यी शब्दहरूले दुइटा कुरा पक्का गर्न होसियार हुनुपर्ने आवश्‍यकतालाई जोड दिन्छ। त्यो हो: हाम्रो आचरण परमेश्‍वरले चाहनुभए अनुरूप छ कि छैन अनि हामीले उहाँको प्रेम झल्काउँदै जीवनमा ईश्‍वरभक्‍तिका कार्यहरू गरेका छौं कि छैनौं। ईश्‍वरभक्‍तिका कार्यमा अन्त आउनुअघि परमेश्‍वरको राज्यको सुसमाचार जोडतोडले प्रचार गर्नु समावेश छ। पत्रुसले यसो पनि लेखे: “सबै कुराको अन्त नजिकै आएको छ। . . . सचेत रहो।” (१ पत्रु. ४:७) परमेश्‍वरको पवित्र आत्मा र उहाँको विश्‍वव्यापी संगठन मार्फत निर्देशन माग्दै निरन्तर प्रार्थना गरेर उहाँको नजिक हुन्छौं र प्रेम देखाउँछौं।

१६. परमेश्‍वरको सल्लाह हामीले किन राम्ररी पालन गर्नुपर्छ?

१६ यस डरलाग्दो समयमा हामीले परमेश्‍वरको वचनको यो सल्लाह राम्ररी पालन गर्नुपर्छ: “कसरी हिंड्‌छौ ध्यानसँग हेर—निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।” (एफि. ५:१५, १६, NRV ) दुष्टताको बिगबिगी अहिले जस्तो पहिला कहिल्यै भएको थिएन। मानिसहरूलाई परमेश्‍वरको इच्छाबमोजिम गर्नदेखि रोक्न वा तिनीहरूलाई तर्काउन शैतानले अनेक युक्‍ति रचेको छ। यो कुरा हामी परमेश्‍वरका सेवकहरूलाई थाह छ र कुनै पनि कुराले परमेश्‍वरप्रतिको निष्ठा फितलो बनाएको हामी चाहँदैनौ। अब चाँडै के हुन लागेको छ त्यो पनि हामीलाई थाह छ र यहोवा अनि उहाँको उद्देश्‍यमा हामी विश्‍वस्त छौं।—१ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌।

१७. जिउँदै आरमागेडोन पार गर्नेहरूलाई पुनरुत्थानको बेला कस्तो लाग्नेछ बताउनुहोस्‌।

१७ मरेकाहरूले फेरि जीवन पाउनेछन्‌ भनी परमेश्‍वरले गरेको अद्‌भुत प्रतिज्ञा पूरा हुनेछ किनभने “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरि. २४:१५) “पुनरुत्थान हुन्छ” भन्‍ने प्रतिज्ञा कत्ति सशक्‍त छ, याद गर्नुहोस्‌ त! यसमा कुनै शंका छैन किनभने यो परमेश्‍वरको प्रतिज्ञा हो! यशैया २६:१९ (NRV ) यस्तो प्रतिज्ञा गर्छ: “तपाईंका मरिगएका जनहरू जिउनेछन्‌। . . . हे माटोमा बस्ने हो, उठ र आनन्दले कराओ। . . . पृथ्वीले आफ्ना मरेकाहरूलाई जन्माउनेछ।” प्राचीन समयमा परमेश्‍वरले आफ्ना जनहरूलाई तिनीहरूको जन्मथलोमा पुनर्स्थापित गर्नुहुँदा यी शब्दहरूको प्रारम्भिक पूर्ति भयो। यसले हामीलाई नयाँ संसारमा यसको वास्तविक पूर्ति हुनेछ भनेर विश्‍वस्त पार्छ। पुनरुत्थान भएकाहरूले आफ्ना प्रियजनहरूसित पुनर्मिलन गर्न पाउने कत्ति हर्षमय क्षण! हो, शैतानको संसारको अन्त र परमेश्‍वरको नयाँ संसार नजिकै छ। हामी सचेत रहनु कत्ति महत्त्वपूर्ण छ! (w 09 3/15)

के तपाईंलाई याद छ?

• येशूको शिक्षाको विषय के थियो?

• अहिले राज्य प्रचारकार्य कत्तिको व्यापक भइरहेको छ?

• सचेत रहनु किन महत्त्वपूर्ण छ?

प्रेरित २४:१५ को प्रतिज्ञामा कस्तो प्रोत्साहनदायी कुरा पाउनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

 गोलमालको युग सुरु

अमेरिकाको सम्पूर्ण केन्द्रीय बैंक सञ्चालन गर्ने समिति फेडेरल रिजर्भ बोर्डमा करीब २० वर्षसम्म अध्यक्ष रहेका एलेन ग्रीनस्प्यानले सन्‌ २००७ मा एउटा किताब (The Age of Turbulence: Adventures in a New World) लेखे। उनले सन्‌ १९१४ अघि र पछिको विश्‍व परिस्थितिबीच स्पष्ट भिन्‍नता यसरी औंल्याए:

“सन्‌ १९१४ अघिको सम्पूर्ण रिपोर्टअनुसार, त्यसअघिका मानिसहरू र राष्ट्रहरू आपसमा आदरपूर्ण व्यवहार गर्थे; सांस्कृतिक र प्राविधिक उन्‍नति भइरहेझैं देखिन्थ्यो; मानव समाज सिद्धतामा पुग्न सकिन्छ जस्तो आभास हुन्थ्यो। उन्‍नाइसौं शताब्दीमा क्रूर दास प्रथाको अन्त पनि भयो। अमानवीय हिंसा न्यून भए जस्तो देखिन्थ्यो। . . . यस शताब्दीभरि खोज-आविष्कारको क्षेत्रमा अनगिन्ती नयाँ-नयाँ आयाम थपियो। जस्तै: रेलमार्ग, टेलिफोन, बिजुली-बत्ती, चलचित्र, मोटर-गाडी र घरायसी उपकरण तथा चीजबीज। खाने पानीको वितरण, चिकित्सा विज्ञान र उन्‍नत पौष्टिक आहारले गर्दा जीवन लम्बिएको थियो। . . . सबैले सोचे कि यस्तो प्रगति निरन्तर हुनेछ।”

तर . . . “भौतिक विनाशको हिसाबले दोस्रो विश्‍वयुद्ध बढी विनाशक भए तापनि सभ्यताको विनाश चाहिं प्रथम विश्‍वयुद्धले जति दोस्रोले गरेन। प्रथम विश्‍वयुद्धले मानिसको एउटा सोचलाई धूलोमा मिलाइदियो। यस युद्धअघिको सोचाइलाई म बिर्सन सक्दिनँ। त्यतिबेला मानिसजातिले तीव्र र असीमित उन्‍नति गरिरहेको जस्तो देखिन्थ्यो। आज हाम्रो दृष्टिकोण एक शताब्दीअघिको भन्दा बिलकुलै फरक छ। तर आजको दृष्टिकोण सत्य-तथ्यमा अलि बढी आधारित छ भन्‍न सकिन्छ। जीवनलाई प्रगति पथतिर लगिरहेको विश्‍वव्यापीकरणको युगलाई के आजको आतंक, पृथ्वीको तापक्रम वृद्धि वा पुनः जागेको जनवादले तहसनहस गर्नेछ, जसरी प्रथम विश्‍वयुद्धले त्यसअघिको युगलाई गरेको थियो? कसैले ठोकुवा गरेर भन्‍न सक्दैन।”

ग्रीनस्प्यानले आफू विद्यार्थी छँदा अर्थशास्त्रका प्राध्यापक बेन्जामिन एम. एन्डरसनले (१८८६-१९४९) तिनको एउटा किताबमा (Economics and the Public Welfare) भनेको कुरा सम्झे: “प्रथम विश्‍वयुद्ध अघिको संसार कस्तो थियो सम्झन र बुझ्न सक्ने उमेरका मानिसहरूले यसलाई एउटा ठूलो यादगारको रूपमा लिन्छन्‌। त्यतिबेला सुरक्षाको आभास थियो, तर त्यहाँदेखि यता त्यो कहिल्यै महसुस गरिएको छैन।”

सन्‌ २००६ मा प्रकाशित जी. जे. मेयरद्वारा लिखित एउटा किताबको (A World Undone) खण्डमा यस्तै निष्कर्ष निकालेको पाउँछौं: “भनिन्छ, ऐतिहासिक घटनाहरूले ‘हरेक कुरा परिवर्तन’ गरिदिन्छ। महा युद्धको [१९१४-१९१८] सन्दर्भमा यो कुरा साँच्चै साँचो साबित भयो। त्यस युद्धले वास्तवमा नै हरेक कुरा परिवर्तन गरिदियो: राष्ट्रहरूको सीमा, सरकार र राष्ट्रहरूको भाग्य मात्र होइन तर मानिसहरू आफै परिवर्तन भए र तिनीहरूले संसारलाई हेर्ने तरिकै परिवर्तन भयो। यस्तो, अघि कहिल्यै भएको थिएन। मानव इतिहासमा यो परिवर्तन एउटा कालो पाटो बन्यो जसले गर्दा प्रथम विश्‍वयुद्धपछिको संसारको रूप सदाको लागि अर्कै भयो।”

[पृष्ठ २२-मा भएको चित्र]

आरमागेडोनमा यहोवाले स्वर्गदूतहरूको शक्‍तिशाली सेना परिचालन गर्नुहुनेछ