सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धर्मीहरूले सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछन्‌

धर्मीहरूले सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछन्‌

धर्मीहरूले सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछन्‌

“धर्मात्मा सदासर्वदै सम्झनामा रहन्छ। . . . त्यसको धर्मकर्म सधैं रहिरहन्छ।”—भज. ११२:६, ९.

१. (क) परमेश्‍वरले धर्मी ठहऱ्‍याएका सबै मानिस अगाडि कस्तो उज्ज्वल भविष्यको आशा छ? (ख) कस्तो प्रश्‍न खडा हुन्छ?

 परमेश्‍वरले धर्मी ठहऱ्‍याएका सबै मानिस अगाडि उज्ज्वल भविष्यको आशा छ। यहोवाका सुन्दर गुणहरू सिक्दै तिनीहरू सदासर्वदै आनन्दित रहनेछन्‌। परमेश्‍वरका सृजनशील कार्यहरूबारे सिक्दै जाँदा तिनीहरूको हृदय प्रशंसाले भरिनेछ। त्यस्तो महिमित भविष्यको लागि नभई नहुने एउटा कुरा “धार्मिकता” हो र भजन ११२ मा यही कुरालाई जोड दिइएको छ। तर पवित्र र धर्मी परमेश्‍वरले पापी मानिसजातिलाई कसरी धर्मीको रूपमा हेर्न सक्नुहुन्छ र? सही कुरा गर्न जतिसुकै प्रयास गरे तापनि हामी गल्ती गर्छौं, कहिलेकाहीं त गम्भीर गल्ती समेत।—रोमी ३:२३; याकू. ३:२.

२. प्रेमको कारण यहोवाले गरेका दुइटा चमत्कार के-के हुन्‌?

यसको लागि यहोवाले मायालु ढंगमा एउटा सिद्ध समाधानको प्रबन्ध गर्नुभयो। कसरी? पहिला, उहाँले स्वर्गमा रहेको आफ्ना प्यारो पुत्रको जीवन चमत्कारपूर्ण ढंगमा एउटी कन्या केटीको कोखमा सारिदिनुभयो। यसले गर्दा सिद्ध पुरुषको रूपमा पुत्रको जन्म सम्भव भयो। (लूका १:३०-३५) अनि येशूलाई शत्रुहरूले मारेपछि यहोवाले अर्को एउटा उल्लेखनीय चमत्कार गर्नुभयो। उहाँले येशूलाई महिमित आत्मिक प्राणीको रूपमा पुनरुत्थान गर्नुभयो।—१ पत्रु. ३:१८.

३. आफ्ना पुत्रलाई स्वर्गीय जीवनको इनाम दिन परमेश्‍वर किन खुसी हुनुहुन्थ्यो?

यहोवाले येशूलाई एउटा इनाम दिनुभयो जुन पृथ्वीमा आउनुअघि स्वर्गको जीवनमा उहाँले पाउनुभएको थिएन। त्यो हो: स्वर्गमा अविनाशी जीवन। (हिब्रू ७:१५-१७, २८) यहोवा यो इनाम दिन खुसी हुनुहुन्थ्यो किनभने एकदमै कठिन परीक्षामा समेत येशूले पूर्णतया निष्ठा कायम राख्नुभयो। येशूको त्यस्तो निष्ठाको कारण यहोवाले शैतानलाई मुखभरिको जवाफ दिन सक्नुभयो। मानिसले परमेश्‍वरलाई उहाँप्रतिको अटुट प्रेमको कारण नभई स्वार्थ पूरा गर्न मात्र सेवा गर्छ भनी त्यसले झूटो दाबी गरेको थियो।—हितो. २७:११.

४. (क) स्वर्गमा फर्केपछि येशूले हाम्रो लागि के गर्नुभयो र यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? (ख) यहोवा र येशूले तपाईंको लागि जे-जति गर्नुभयो, तपाईंलाई कस्तो लाग्छ?

स्वर्गमा येशूले अझै थप कुरा गर्नुभयो। उहाँ ‘आफ्नो रगतको’ मोल तिरेर “हाम्रा निम्ति परमेश्‍वरको सामने प्रकट” हुनुभयो। “हाम्रा पापको निम्ति प्रायश्‍चित”-को रूपमा चढाइएको येशूको बलिदानलाई स्वर्गमा हुनुहुने हाम्रा मायालु पिताले अनुग्रहका साथ स्वीकार्नुभयो। यसैले गर्दा हामीले ‘शुद्ध विवेकका’ साथ “जीवित परमेश्‍वरको [पवित्र] सेवा” चढाउन सकेका छौं। “परमप्रभुको प्रशंसा गर” भन्‍ने भजन ११२ का सुरुका शब्दहरूसित सोरमा सोर मिलाउनु कस्तो सशक्‍त कारण!—हिब्रू ९:१२-१४, २४; १ यूह. २:२.

५. (क) परमेश्‍वरसामु धर्मी ठहरिन हामीले के गर्नुपर्छ? (ख) भजन १११ र ११२ को रचना कसरी गरिएको छ?

परमेश्‍वरसामु धर्मी ठहरिन येशूले बगाएको रगतमा विश्‍वास गरिराख्नु अत्यावश्‍यक छ। हामीप्रति औधी प्रेम देखाउनुभएको कारण हरेक दिन यहोवालाई धन्यवाद चढाउनुपर्छ। (यूह. ३:१६) परमेश्‍वरको वचन बाइबल अध्ययन गर्नु र यसको सन्देशअनुरूप जीवन बिताउन सक्दो गर्नु पनि आवश्‍यक छ। परमेश्‍वरसामु शुद्ध अन्तस्करण कायम राख्न चाहनेहरूका लागि भजन ११२ मा असल सल्लाहहरू छन्‌। यो, भजन १११ सित सम्बन्धित छ। दुवै भजन “परमप्रभुको प्रशंसा गर” वा “हल्लेलूयाह” भनी सुरु हुन्छ। अनि मौलिक हिब्रूमा “हल्लेलूयाह” पछि दुवै भजनमा २२ हरफहरू छन्‌ र यो भजन हिब्रू वर्णमालाको २२ अक्षरबाट क्रमअनुसार सुरु हुन्छ। a

आनन्दित हुने आधार

६. भजन ११२ मा वर्णन गरिएको परमेश्‍वरको भय मान्‍ने “मानिस”-ले कसरी आशिष्‌ पाउँछ?

“परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो, जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्‍न हुन्छ। त्यसको वंश देशमा शक्‍तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष्‌ पाउनेछ।” (भज. ११२:१, २ NRV ) याद गर्नुहोस्‌, पदको सुरुतिर भजनरचयिताले “मानिस” भनेर एकवचन चलाएका छन्‌ तर पछि पद २ मा “सोझा मानिसहरू” भनी बहुवचन चलाएका छन्‌। यसबाट के स्पष्ट हुन्छ भने, भजन ११२ ले थुप्रै मानिसहरूको समूहलाई बुझाउन सक्छ। प्रेरित पावलले भजन ११२:९ प्रथम शताब्दीका ख्रीष्टियानहरूमा लागू गर्न उत्प्रेरणा पाउनु चाखलाग्दो छ। (२ कोरिन्थी ९:८, ९ पढ्‌नुहोस्‌) आज ख्रीष्टका अनुयायीहरू आनन्दित हुन सक्ने कारणहरू यस भजनमा कस्तो सुन्दर ढंगमा चित्रण गरिएको छ!

७. परमेश्‍वरका सेवकहरूले किन उहाँप्रति स्वास्थ्यकर भय राख्नुपर्छ र उहाँका आज्ञाहरूलाई तपाईंले कसरी लिनुपर्छ?

भजन ११२:१ मा संकेत गरिएझैं यी साँचो ख्रीष्टियानहरू “परमप्रभुको भय” मान्दै हिंड्‌दा एकदमै आनन्दित हुन्छन्‌। उहाँलाई दुःखित तुल्याइन्छ कि भन्‍ने यस स्वास्थ्यकर भयले शैतानको संसारको आत्मालाई प्रतिरोध गर्न मदत गर्छ। तिनीहरू परमेश्‍वरको वचन अध्ययन गर्न र उहाँका आज्ञाहरू पालन गर्न “ज्यादै प्रसन्‍न” हुन्छन्‌। उहाँका आज्ञाहरूमा सारा संसारभरि राज्यको सुसमाचार प्रचार गर्ने आज्ञा पनि पर्छ। एकातर्फ तिनीहरू सबै राष्ट्रका मानिसहरूलाई चेला बनाउने कोसिस गर्छन्‌ र अर्कोतर्फ दुष्टहरूलाई परमेश्‍वरको आउनै लागेको न्यायको दिनबारे चेताउनी दिन पनि बिर्संदैनन्‌।—इज. ३:१७, १८; मत्ती २८:१९, २०.

८. (क) परमेश्‍वरका समर्पित जनहरूले जोस देखाएको कारण कस्ता आशिष्‌ पाएका छन्‌? (ख) पार्थिव आशा भएकाहरूले भविष्यमा थप कस्ता आशिष्‌ पाउनेछन्‌?

त्यस्ता आज्ञाहरू पालन गरेको कारण आज पृथ्वीमा परमेश्‍वरका सेवकहरूको संख्या झन्डै ७० लाख पुगिसकेको छ। उहाँका जनहरू “देश” अर्थात्‌ पृथ्वीमा “शक्‍तिशाली” बनेका छन्‌ भनेर के कसैले नकार्न सक्छ? (यूह. १०:१६; प्रका. ७:९, १४) अनि परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुँदा तिनीहरूले कत्ति “आशिष्‌” पाउनेछन्‌! समूहको रूपमा पार्थिव आशा भएकाहरूलाई आउनै लागेको “महासंकष्टबाट” बचाइनेछ र “धार्मिकताले बास” गर्ने “नयाँ पृथ्वी” बसालिनेछ। समयको दौडान आरमागेडोनबाट बचेकाहरूले अझै “आशिष्‌” पाउनेछन्‌। तिनीहरूले पुनरुत्थान भएका लाखौंलाई स्वागत गर्नेछन्‌। कस्तो रोमाञ्चकारी प्रत्याशा! अन्ततः परमेश्‍वरको आज्ञामा “ज्यादै प्रसन्‍न” हुनेहरू मानव सिद्धतातर्फ अघि बढ्‌नेछन्‌ र “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता”-मा सधैंभरि आनन्द उठाउनेछन्‌।—२ पत्रु. ३:१३; रोमी ८:२१.

धन-सम्पत्तिको सदुपयोग

९, १०. साँचो ख्रीष्टियानहरूले आफ्नो आध्यात्मिक धन कसरी चलाएका छन्‌ र तिनीहरूको धार्मिकता कसरी सदा रहिरहने छ?

“त्यसको घरमा धन-सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदा रहिरहन्छ। सोझा मानिसहरूको निम्ति अन्धकारमा ज्योतिको उदय हुन्छ। परमप्रभु अनुग्रही, दयावन्त र धर्मात्मा हुनुहुन्छ।” (भज. ११२:३, ४) बाइबल समयमा परमेश्‍वरका कोही-कोही सेवकहरू धनी मानिस भनेर चिनिन्थे। अनि अर्को अर्थमा, परमेश्‍वरले ग्रहण गर्नुभएकाहरू भौतिक तवरमा गरिब भए तापनि साँच्चै धनी हुन्छन्‌। तथ्य कुरा के हो भने, परमेश्‍वरसामु आफूलाई नम्र तुल्याउनेहरू येशूको दिनमा जस्तै गरिब र हेपिएका होलान्‌। (लूका ४:१८; ७:२२; यूह. ७:४९) तर तिनीहरू चाहे धनी होऊन्‌ वा गरिब, आध्यात्मिक तवरमा भने धनी हुन सम्भव छ।—मत्ती ६:२०; १ तिमो. ६:१८, १९; याकूब २:५ पढ्‌नुहोस्‌।

१० अभिषिक्‍त ख्रीष्टियानहरू र तिनीहरूका सँगीहरूले आध्यात्मिक धन आफूसँग मात्र राखिराख्दैनन्‌। त्यसको साटो तिनीहरूले अन्धकारले भरिएको शैतानको संसारमा “सोझा मानिसहरूको निम्ति ज्योति” चम्काउँछन्‌। यो तिनीहरू अरूलाई परमेश्‍वरको अनमोल ज्ञान र बुद्धिबाट लाभ उठाउन मदत दिएर गर्छन्‌। विरोधीहरूले राज्य प्रचारकार्य बन्द गर्ने कोसिस गरेका छन्‌ तर सफल भएका छैनन्‌। बरु, यस धर्मी कामको फल “सदा रहिरहन्छ।” धार्मिकताको मार्गमा लागिरहँदा परमेश्‍वरका जनहरूले ‘सदा रहिरहने’ आश्‍वासन पाउन सक्छन्‌।

११, १२. परमेश्‍वरका जनहरूले आफूसित भएका भौतिक कुराहरू प्रयोग गर्ने केही तरिका के-के हुन्‌?

११ भौतिक कुराको सन्दर्भमा अभिषिक्‍त दास वर्ग र “ठूलो भीड” दुवै उदार साबित भएका छन्‌। भजन ११२:९ भन्छ: “त्यसले बाँड-चूँड गरेर दरिद्रहरूलाई दिएको हुन्छ।” साँचो ख्रीष्टियानहरूले अक्सर खाँचोमा परेका सँगी विश्‍वासी र छिमेकीहरूलाई समेत अनुदान दिएका छन्‌। विपत्तिको समयमा राहत कार्यमा मदत गर्न पनि तिनीहरूले स्रोतसाधन दिएका छन्‌। येशूले भन्‍नुभएझैं यो पनि आनन्दको स्रोत हो।—प्रेरित २०:३५; २ कोरिन्थी ९:७ पढ्‌नुहोस्‌।

१२ यसबाहेक, यो प्रहरीधरहरा पत्रिका १७२ भाषामा प्रकाशित गर्न लाग्ने खर्चलाई विचार गर्नुहोस्‌। यसमध्ये कतिपय भाषा-भाषीका मानिसहरू गरिब छन्‌। अनि नबिर्सनुहोस्‌, यो पत्रिका बहिराहरूका लागि सांकेतिक भाषामा र आँखा नदेख्नेहरूका लागि ब्रेलमा पनि उपलब्ध छ।

अनुग्रही र न्यायसंगत

१३. अनुग्रही भई दिने सन्दर्भमा क-कसले सबैभन्दा राम्रो उदाहरण बसाले र हामी कसरी ती उदाहरणहरूको अनुकरण गर्न सक्छौं?

१३ “जसले अनुग्रह गर्छ र ऋण दिन्छ, त्यसको भलो हुन्छ।” (भज. ११२:५) सायद तपाईंले पनि याद गर्नुभएको होला कि अरूलाई मदत गर्ने मानिसहरू सधैं अनुग्रही हुँदैनन्‌। कसैले म धनी छु भनी देखाउन दिन्छन्‌ भने अरू कतिपयले चाहिं मन नलागी-नलागी दिन्छन्‌। होच्याएर वा झमेला वा बोझ ठान्दै दिने व्यक्‍तिबाट मदत पाउँदा केही रमाइलो लाग्दैन। तर अनुग्रही भई दिनेहरूबाट मदत पाउँदा मजा लाग्छ नि, होइन र! आनन्दित र अनुग्रही दाताको अति विशिष्ट उदाहरण यहोवा हुनुहुन्छ। (याकू. १:५, १७) येशू ख्रीष्टले आफ्ना पिताको अनुग्रह दुरुस्तै झल्काउनुभयो। (मर्कू. १:४०-४२) त्यसैले परमेश्‍वरसामु धर्मी ठहरिन हामी खुसी र अनुग्रही भई दिन्छौं—विशेषगरि क्षेत्र सेवामा छिमेकीहरूलाई आध्यात्मिक मदत दिंदा।

१४. “काम-कुरो न्यायसंगत” ढंगमा गर्न सक्ने केही तरिका के-के हुन्‌?

१४ “त्यसको सबै काम-कुरो न्यायसंगत हुन्छ।” (भज. ११२:५) भविष्यवाणी गरेझैं विश्‍वासी भण्डारे वर्गले यहोवाको न्यायअनुरूप मालिकको सम्पत्तिको हेरचाह गर्छ। (लूका १२:४२-४४ पढ्‌नुहोस्‌) यो, प्राचीनहरूलाई दिइएको धर्मशास्त्रीय डोऱ्‍याइबाट स्पष्ट हुन्छ। तिनीहरूले कहिलेकाहीं मण्डलीमा गम्भीर पाप मुछिएको मामिला सँभाल्नुपर्ने हुन्छ। दास वर्गको कामकुरा न्यायसंगत छ भनेर मण्डली, मिसनरी गृह र बेथेलहरू सञ्चालन गर्न तिनीहरूले दिने बाइबल आधारित निर्देशनहरूबाट पनि स्पष्ट हुन्छ। न्यायी हुनुपर्ने प्राचीनहरू मात्र होइन, अरू ख्रीष्टियानहरू पनि न्यायी हुनुपर्छ। कस्ता क्षेत्रमा? सँगी विश्‍वासी अनि अरूसित व्यापारिक मामिलामा व्यवहार गर्दा र अन्य क्षेत्रमा।—मीका ६:८, ११ पढ्‌नुहोस्‌।

धर्मीहरूलाई आशिष्‌

१५, १६. (क) संसारका नराम्रा खबरहरूले धर्मीहरूलाई कस्तो असर पार्छ? (ख) परमेश्‍वरका सेवकहरू के गरिरहन कटिबद्ध छन्‌?

१५ “किनभने त्यो कहिले पनि डग्मगाउनेछैन। धर्मात्मा सदासर्वदै सम्झनामा रहन्छ। त्यो नराम्रो खबरले डराउँदैन। परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ। त्यसले आफ्नो विरोधीहरूमाथि आफ्नो इच्छा पुगेको नदेखुञ्जेल त्यसको हृदय सम्हालिएको हुन्छ, र त्यो डराउनेछैन।” (भज. ११२:६-८) अहिले जस्तो नराम्रो खबरहरूको ओइरो पहिला कहिल्यै लागेको थिएन। जस्तै: युद्ध, अतांकवाद, अपराध, गरिबी, जीवनलाई खतरामा पार्ने प्रदूषण र नयाँ तथा पुराना रोगहरू देखा पर्नु। परमेश्‍वरले धर्मी ठहऱ्‍याएकाहरू पनि यस्तो नराम्रो खबरको असरबाट बच्न सक्दैनन्‌ तर तिनीहरू डरले असहाय भने हुँदैनन्‌। बरु तिनीहरूको हृदय “स्थिर” र “सुरक्षित” हुन्छ किनभने तिनीहरूलाई थाह छ कि परमेश्‍वरको धार्मिक नयाँ संसार नजिकै छ। अनि तिनीहरू यसैको पर्खाइमा छन्‌। विपत्ति आइपरेको खण्डमा तिनीहरूले परिस्थितिको सामना गर्न सक्छन्‌ किनभने तिनीहरू परमेश्‍वरमा भर पर्छन्‌। उहाँले आफ्ना धर्मी जनहरूलाई कहिल्यै ‘डगमगाउन’ दिनुहुन्‍न। उहाँले मदत र सहन बल दिनुहुन्छ।—फिलि. ४:१३.

१६ परमेश्‍वरका धर्मी जनहरूले विरोधीहरूको घृणा र झूटो हल्ला पनि सहनुपरेको छ। तर तिनीहरूले साँचो ख्रीष्टियानहरूको मुख बन्द गर्न सकेका छैनन्‌ र सक्ने पनि छैनन्‌। बरु, परमेश्‍वरका सेवकहरू स्थिर भई उहाँले दिनुभएको आज्ञा—राज्यको सुसमाचार प्रचार गर्ने र सुन्‍नेहरूलाई चेला बनाउने काममा अघि बढिरहेका छन्‌। अन्त नजिक आउँदा धर्मीहरूले अझ धेरै विरोधको सामना अवश्‍यै गर्नुपर्नेछ। मागोगको गोगको रूपमा शैतानले संसारभरि आक्रमण गर्दा त्यस्तो घृणा चरमविन्दुमा पुग्नेछ। अनि अन्ततः ‘हाम्रा विरोधीहरूले’ अपमानजनक हार खाएको हामी देख्नेछौं। यहोवाको नाउँ पूर्णतया पवित्र पारिएको देख्नु, कस्तो विशेष अनुभव हुनेछ!—इज. ३८:१८, २२, २३.

“आदरसाथ उच्च गराइन्छ”

१७. धर्मीहरूलाई कसरी “आदरसाथ उच्च गराइन्छ”?

१७ शैतान र त्यसको संसारको विरोधविना एकताबद्ध भई यहोवाको प्रशंसा गर्न पाउनु कत्ति आनन्दमय हुनेछ! परमेश्‍वरसामु धर्मी ठहरिएकाहरू सबैले सदाको लागि त्यस्तो आनन्दको अनुभव गर्न पाउनेछन्‌। तिनीहरूले अपमान र हारको अनुभव गर्नुपर्ने छैन किनभने धर्मीहरूको “सीङ” “आदरसाथ उच्च गराइन्छ” भनेर पनि यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (भज. ११२:९) उहाँको सार्वभौमिकताका विरोधीहरूको पतन देख्दा धर्मी जनहरूले हर्षबढाइँ गर्नेछन्‌।

१८. भजन ११२ का अन्तिम शब्दहरू कसरी पूरा हुनेछन्‌?

१८ “दुष्ट त्यो देखेर कँडिन्छ। दाह्रा किटी-किटी त्यो गलिजान्छ, दुष्टको अभिलाषा नष्ट हुनेछ।” (भज. ११२:१०) परमेश्‍वरका जनहरूको विरोध गर्न नछोड्‌नेहरू चाँडै तिनीहरूको ईर्ष्या र घृणासँगसँगै “गलिजान्छ।” हाम्रो कामको अन्त हेर्ने तिनीहरूको अभिलाषा आउँदै गरेको “महासंकष्ट” सँगसँगै नष्ट हुनेछ।—मत्ती २४:२१.

१९. हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौं?

१९ त्यस महान्‌ विजयबाट बच्नेहरूमध्ये के तपाईं पनि हुनुहुनेछ? अथवा बिमारी वा बूढ्यौलीको कारण शैतानको संसारको अन्तअघि नै तपाईंको मृत्यु भएमा “धर्मीहरूको” पुनरुत्थान हुँदा के तपाईं तिनीहरूमध्ये हुनुहुनेछ? (प्रेरि. २४:१५) भजन ११२ मा वर्णन गरिएको धर्मी “मानिस”-ले जस्तै येशूको छुटकाराको बलिदानमा विश्‍वास गरिरहनुभयो र यहोवाको अनुकरण गरिरहनुभयो भने जवाफ सकारात्मक हुन सक्छ। (एफिसी ५:१, २ पढ्‌नुहोस्‌) त्यस्ता व्यक्‍तिहरूको सधैं “सम्झना” राख्न र तिनीहरूको धर्मी कामको अवहेलना हुन नदिन यहोवाले सुनिश्‍चित गर्नुहुनेछ। उहाँले तिनीहरूलाई सदा सर्वदा सम्झनुहुनेछ, माया गर्नुहुनेछ।—भज. ११२:३, ६, ९. (w 09 3/15)

[फुटनोट]

a यी दुई भजनहरू रचनाशैलीमा मात्र होइन तर विषयवस्तुमा पनि सम्बन्धित भएको देखिन्छ। भजन १११ मा वर्णन गरिएका परमेश्‍वरका गुणहरू उहाँको भय मान्‍ने भजन ११२ का “मानिस”-ले अनुकरण गरेका छन्‌। यो कुरा भजन १११:३, ४ र भजन ११२:३, ४ तुलना गरेर हेर्दा थाह पाउन सकिन्छ।

मननका लागि प्रश्‍नहरू

• हामी “हल्लेलूयाह” भनेर कराउनुपर्ने केही कारण के-के हुन्‌?

• आधुनिक समयका कस्ता घटनाहरूले साँचो ख्रीष्टियानहरूलाई आनन्दित बनाउँछ?

• कस्तो प्रकारको दातालाई यहोवा प्रेम गर्नुहुन्छ?

[प्रश्‍नहरू]