सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?

नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?

नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?

नयाँ गरी जन्मनु a भनेको साँचो ख्रीष्टियानहरूको चिनारी अनि मुक्‍तिको एउटै मात्र बाटो हो भनी चर्च जाने संसारका लाखौं व्यक्‍तिहरू विश्‍वास गर्छन्‌। धर्मविद्‌ रबर्ट सी. स्प्रलजस्ता धर्मगुरुहरूको विचारलाई तिनीहरू समर्थन गर्छन्‌। तिनले यस्तो लेखे: “यदि कुनै मानिस नयाँ गरी जन्मँदैन भने . . . ऊ ख्रीष्टियान होइन।”

नयाँ गरी जन्म्यो भने निश्‍चयै मुक्‍ति पाइन्छ भनेर के तपाईं पनि विश्‍वास गर्नुहुन्छ? गर्नुहुन्छ भने पक्कै पनि तपाईं आफ्नो नातेदार र साथीभाइलाई त्यो मुक्‍तिको बाटो भेट्टाउन र त्यसमा हिंड्‌न मदत गर्न चाहनुहुन्छ होला। तर त्यसो गर्नको लागि तिनीहरूले नयाँ गरी जन्मेको व्यक्‍ति र नजन्मेको व्यक्‍तिबीचको भिन्‍नता बुझ्नु आवश्‍यक छ। नयाँ गरी जन्मनुको अर्थ तपाईं तिनीहरूलाई कसरी बताउनुहुन्छ?

थुप्रैलाई लाग्छ कि “नयाँ गरी जन्मनु” भन्‍ने अभिव्यक्‍तिले सच्चा मनले परमेश्‍वर र ख्रीष्टको सेवा गर्छु भनेर प्रतिज्ञा गर्ने मानिसलाई संकेत गर्छ। फलस्वरूप, तिनी आध्यात्मिक तवरमा जीवित हुन्छन्‌। वास्तवमा, एउटा शब्दकोशले नयाँ गरी जन्मने भन्‍ने अभिव्यक्‍तिलाई यसरी व्याख्या गरेको छ: “कुनै व्यक्‍तिको सम्पूर्ण जीवनमा पूर्ण र स्थायी परिवर्तनलाई वर्णन गर्नका लागि प्रयोग भएको शब्द। . . . [यो पाउने] व्यक्‍तिले सक्रिय रूपमा पश्‍चात्ताप गर्छ, येशूमा विश्‍वास गर्छ र जीवनको नयाँपनमा जिउँछ।”—सामदान बाइबल शब्दकोश।

यो परिभाषालाई बाइबलले समर्थन गर्दैन भन्दा के तपाईं छक्क पर्नुहुन्छ? नयाँ गरी जन्मनेबारे परमेश्‍वरको वचनले वास्तवमा के सिकाउँछ, तपाईं बुझ्न चाहनुहुन्छ? यस विषयमा गौर गर्नुभयो भने निश्‍चयै लाभ उठाउनुहुनेछ। किन? किनभने नयाँ गरी जन्मनुको अर्थलाई सही तरिकाले बुझेमा यसले तपाईंको जीवन र भावी आशालाई असर गर्नेछ।

बाइबलले के सिकाउँछ?

“नयाँ गरी जन्मनु” b भन्‍ने अभिव्यक्‍ति यूहन्‍ना ३:१-१२ मा मात्र पाइन्छ। यसमा येशू र एक जना धर्मगुरुबीच यरूशलेममा भएको रोचक कुराकानी दिइएको छ। सँगैको पेटीमा तपाईंले बाइबलको यो पूरै विवरण उद्धरण गरेको पाउनुहुनेछ। यसलाई ध्यान दिएर पढ्‌न हामी तपाईंलाई आग्रह गर्छौं।

त्यो विवरणमा येशूले “नयाँ जन्म”-को विभिन्‍न पक्ष प्रकाश पार्नुभयो। वास्तवमा येशूको त्यो छलफलले हामीलाई निम्न पाँच महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउन मदत गर्छ:

नयाँ जन्म कत्तिको महत्त्वपूर्ण छ?

नयाँ गरी जन्मनु के हाम्रो आफ्नै निर्णयको कुरा हो?

यसको उद्देश्‍य के हो?

कसरी नयाँ गरी जन्मिन्छ?

अनि यसले नयाँ गरी जन्मनेहरू र परमेश्‍वरबीचको सम्बन्धमा कस्तो परिवर्तन ल्याउँछ?

आउनुहोस्‌, यी प्रश्‍नहरू हामी एक-एक गरी छलफल गरौं। (w 09 4/1)

[फुटनोटहरू]

a बाइबलमा बताइएको नयाँ गरी जन्मनुको शिक्षा र पुनर्जन्मको शिक्षा एउटै होइन।

b “नयाँ जन्म” भन्‍ने अभिव्यक्‍ति १ पत्रुस १:३, २३ मा पाइन्छ। यो, “नयाँ गरी जन्मनु”-लाई बुझाउने बाइबलको अर्को अभिव्यक्‍ति हो। दुवै अभिव्यक्‍ति युनानी क्रिया एनाओ-बाट लिइएको हो।

[पृष्ठ ४-मा भएको चित्र/पेटी]

“तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्‍यक छ”

“त्यस बेला फरिसीहरूमा निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका एक शासक थिए। तिनले राती उहाँकहाँ आएर भने, ‘गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्‍वरबाट शिक्षक भएर आउनुभएको हो, किनकि परमेश्‍वर साथमा हुनुहुन्‍न भने कसैले पनि तपाईंले गर्नुभएका यी चिन्हहरू गर्नसक्‍तैनन्‌।’ येशूले तिनलाई भन्‍नुभयो, ‘साँचो-साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्नसक्‍तैन।’ निकोदेमसले उहाँलाई भने, ‘मानिस बूढो भएर कसरी जन्मनसक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रोचोटि पसेर जन्मन सक्छ?’ येशूले जवाफ दिनुभयो, ‘साँचो-साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माले जन्मेन भने परमेश्‍वरको राज्यमा पस्नसक्‍तैन। देहबाट जन्मेको देह हो, औ आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्‍यक छ भनी तिमीलाई भनेकोमा अचम्म नमान। बतास जता इच्छा गर्छ, बहन्छ। तिमी त्यसको आवाज सुन्छौ, तर कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ।’ निकोदेमसले उहाँलाई भने, ‘यी कुरा कसरी हुनसक्‍तछन्‌?’ येशूले तिनलाई भन्‍नुभयो, ‘तिमी इस्राएलको गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ? साँचो-साँचो म तिमीलाई भन्दछु, जे हामी जान्दछौं त्यो बोल्दछौं, औ जे हामीले देखेका छौं त्यसको हामी गवाही दिन्छौं, तर तिमीहरू हाम्रा गवाही ग्रहण गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र तिमीहरू विश्‍वास गर्दैनौ भने, मैले तिमीहरूलाई स्वर्गका कुरा भनें भने कसरी विश्‍वास गर्नेछौ?”—यूहन्‍ना ३:१-१२.