सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

थोरैले शासन, धेरैलाई कल्याण

थोरैले शासन, धेरैलाई कल्याण

थोरैले शासन, धेरैलाई कल्याण

प्रेरितहरूको समयदेखि नै परमेश्‍वरले मानवजातिहरूको माझबाट विश्‍वासी ख्रीष्टियानहरूको सीमित संख्यालाई धर्मपुत्रको रूपमा छान्दै आउनुभएको छ। यी धर्मपुत्रहरूले यत्ति धेरै परिवर्तन अनुभव गर्छन्‌ कि परमेश्‍वरको वचनले त्यसलाई नयाँ जन्म भनेर वर्णन गरेको छ। नयाँ जन्मको उद्देश्‍य परमेश्‍वरका सेवकहरूलाई स्वर्गमा शासक हुन तयार पार्नु हो। (२ तिमोथी २:१२) शासक बन्‍न तिनीहरू स्वर्गीय जीवनको लागि पुनरुत्थान हुन्छन्‌। (रोमी ६:३-५) तिनीहरूले स्वर्गमा ख्रीष्टसँगै “पृथ्वीमाथि राज्य गर्छन्‌।”—प्रकाश ५:१०; ११:१५.

तर परमेश्‍वरको वचनले नयाँ गरी जन्मनेहरूले मात्र होइन तर अरूले पनि अनन्त मुक्‍ति पाउनेछ भनेर बताउँछ। बाइबलमा (हिब्रू अनि युनानी धर्मशास्त्र दुवैमा) दुई समूहका मानिसहरूलाई बचाउने परमेश्‍वरको उद्देश्‍यबारे बताइएको छ—स्वर्गमा बस्ने शासकहरूको तुलनात्मक रूपमा एउटा सानो समूह र पृथ्वीमा बस्ने अर्को ठूलो समूह। उदाहरणको लागि, प्रेरित यूहन्‍नाले नयाँ जन्म अनुभव गरेका सँगी विश्‍वासीहरूलाई के लेखे याद गर्नुहोस्‌। तिनले येशूबारे यसो भने: “उहाँ हाम्रा [सानो समूहको] पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका [ठूलो समूहको] निम्ति पनि।”—१ यूहन्‍ना २:२.

त्यसैगरि, प्रेरित पावलले पनि यस्तो लेखे: “सृष्टिको [ठूलो समूह] उत्कट आशाले परमेश्‍वरका छोराहरू [सानो समूह] प्रकट हुनआउने बाटो हेर्दछ।” (रोमी ८:१९-२१) प्रेरित यूहन्‍ना र पावलका यी शब्दहरूलाई कसरी बुझ्नुपर्छ? यसरी: नयाँ गरी जन्मनेहरू स्वर्गीय सरकारको भाग बन्छन्‌। केको लागि? गन्‍नै नसक्ने लाखौं मानिसहरूलाई अनन्त लाभ दिनको लागि जो पृथ्वीमा बस्ने परमेश्‍वरको सरकारका जनता हुन्‌। त्यसकारण येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

दुई समूहलाई दिइएको मुक्‍तिबारेको यो सत्य हिब्रू धर्मशास्त्रमा पनि पाउन सकिन्छ। उदाहरणको लागि, यहोवाले येशूका पुर्खा अब्राहामलाई के भन्‍नुभयो याद गर्नुहोस्‌: “तेरै सन्तानद्वारा [सानो समूह] पृथ्वीका सबै जातिहरू [ठूलो समूह] आशीर्वादी हुनेछन्‌।” (उत्पत्ति २२:१८) हो, अब्राहामको “सन्तानद्वारा” सबै जातिलाई आशिष्‌ दिइने थियो।

त्यो “सन्तान” को हो? येशू ख्रीष्ट अनि नयाँ जन्मको अनुभव गर्ने परमेश्‍वरका धर्मपुत्रहरू। प्रेरित पावल भन्छन्‌: “ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका वंश हौ।” (गलाती ३:१६, २९) अनि सबै जातिका मानिसहरूले “सन्तान” अथवा “वंश”-द्वारा पाउने आशिष्‌ के-के हुन्‌? परमेश्‍वरको नजरमा पुनः ग्रहणयोग्य हुने र बगैंचारूपी पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउने सुअवसर। भजनहार दाऊदले यस्तो भविष्यवाणी गरेका थिए: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९; यशैया ४५:१८; प्रकाश २१:१-५.

साँच्चै, स्वर्गमा शासन गर्न थोरैलाई मात्र छुट्टाइएको छ तर त्यसबाट पाइने लाभहरू अर्थात्‌ पृथ्वीमा पाउने अनन्त जीवन र अन्य आशिष्‌हरू चाहिं थुप्रैलाई। परमेश्‍वरको राज्यले ल्याउने अनन्त लाभ पाउनेहरूमध्ये तपाईं र तपाईंको परिवार पनि होस्‌।

(w 09 4/1)

[पृष्ठ १२-मा भएको चित्र]

गन्‍नै नसक्ने लाखौं मानिसले पृथ्वीमा अनन्त जीवनको आशिष्‌ पाउनेछन्‌। तपाईंले नि?