सीधै सामग्रीमा जाने

के येसु परमेश्‍वर हुनुहुन्छ?

के येसु परमेश्‍वर हुनुहुन्छ?

धेरैले त्रिएक “ख्रिष्टियन धर्मको मुख्य शिक्षा” हो भनेर सोच्ने गर्छन्‌। यस शिक्षाअनुसार बुबा, छोरा र पवित्र शक्‍ति तीन जना मिलेर एउटा परमेश्‍वर बनेको छ। क्याथोलिक चर्चका पादरी जोन ओ’कनरले त्रिएकबारे यसो भने: “यो एउटा गहिरो रहस्य हो, जुन हामी बुझ्नै सक्दैनौँ।” त्रिएकबारे बुझ्न किन असाध्यै गाह्रो छ?

बाइबलको एउटा शब्दकोशले त्रिएकको शिक्षा बुझ्न गाह्रो हुनुको कारणबारे यसो भनेको छ: “यो बाइबलको शिक्षा होइन किनकि यो शिक्षाको आधार बाइबलमा कतै पाइँदैन।” त्रिएक बाइबलको शिक्षा नभएकोले त्यसमा विश्‍वास गर्नेहरू बाइबलमा त्यसको आधार खोज्न लागिपरेका छन्‌ र आफ्नो शिक्षा सही हो भनेर साबित गर्न बाइबल पदहरू बङ्‌ग्याउन समेत पछि परेका छैनन्‌।

के यस बाइबल पदले त्रिएकबारे सिकाउँछ?

अक्सर गलत अर्थ लगाइने एउटा बाइबल पद युहन्‍ना १:१ हो। संशोधित संस्करण बाइबलमा त्यस पदमा यस्तो लेखिएको छ: “आदिमा वचन थियो, औ वचन परमेश्‍वरसँग [ग्रीक भाषामा, टोन थिओन] थियो, औ वचन परमेश्‍वर नै [थिओस] थियो।” यस पदमा ग्रीक नाम थिओस-लाई (परमेश्‍वर) दुई तरिकामा प्रयोग गरिएको छ। यहाँ ग्रीक नाम थिओन-को अगाडि निश्‍चयवाचक पद टोन प्रयोग गरिएको छ। त्यसैले यहाँ प्रयोग गरिएको थिओन शब्दले सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई जनाउँछ। तर ग्रीक शब्द थिओस-को अगाडि चाहिँ निश्‍चयवाचक पद पाइँदैन। के थिओस शब्दको अगाडि निश्‍चयवाचक पद टोन राख्न छुटेको हो?

त्रिएकको शिक्षाबारे बुझ्न किन असाध्यै गाह्रो छ?

युहन्‍नाको सुसमाचारको किताब चलनचल्तीको ग्रीक भाषा कोइनेमा लेखिएको थियो। यस भाषामा निश्‍चयवाचक पदको प्रयोगसम्बन्धी केही खास नियम छन्‌। बाइबलविद्‌ ए. टि. रोबर्टसनले बताएअनुसार “यदि कर्ता र पूरक दुवैको अगाडि निश्‍चयवाचक पद छ भने ती दुवैले कुनै निश्‍चित कुरालाई सङ्‌केत गर्छन्‌। ती दुवै एउटै र उस्तै हुन्‌ अनि एउटाको ठाउँमा अर्को राख्न मिल्छ।” रोबर्टसन मत्ति १३:३८ लाई उदाहरणको रूपमा चलाउँछन्‌, जहाँ यस्तो लेखिएको छ: “खेत [ग्रीक भाषामा हो एग्रोसʹ] संसार [ग्रीक भाषामा हो कस्मोस] हो।” ग्रीक भाषाको व्याकरणले गर्दा खेत संसार हो भन्‍नु र संसार खेत हो भन्‍नु एउटै हो।

तर माथि उल्लेख गरिएको युहन्‍ना १:१ मा भएजस्तै यदि कर्तामा निश्‍चयवाचक पद छ तर पूरकमा छैन भने नि? यस पदलाई उदाहरणको रूपमा चलाउँदै बाइबलविद्‌ जेम्स एलेन हिवेट भन्छन्‌: “यस्तो वाक्य संरचनामा कर्ता र पूरक दुवैले एउटै कुरालाई सङ्‌केत गर्दैनन्‌। ती दुवै एउटै र उस्तै हुँदैनन्‌ अनि एउटाको ठाउँमा अर्को राख्न पनि मिल्दैन।”

यसलाई बुझाउन हिवेट १ युहन्‍ना १:५ लाई उदाहरणको रूपमा चलाउँछन्‌, जहाँ “परमेश्‍वर ज्योति हुनुहुन्छ” भनिएको छ। यहाँ परमेश्‍वरको ठाउँमा ग्रीक भाषामा हो थिओस अभिव्यक्‍ति चलाइएको छ, जसमा निश्‍चयवाचक पद हो पनि छ। तर “ज्योति”-को लागि प्रयोग भएको ग्रीक शब्द फोस-को अगाडि भने निश्‍चयवाचक पद छैन। तिनी भन्छन्‌: “ज्योतिले परमेश्‍वरलाई चित्रण गर्छ भनेर सधैँ भन्‍न सकिन्छ। तर ज्योति नै परमेश्‍वर हो भनेर चाहिँ सधैँ भन्‍न सकिँदैन।” युहन्‍ना ४:२४ मा भएको “परमेश्‍वर अदृश्‍य हुनुहुन्छ” र १ युहन्‍ना ४:१६ मा भएको “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने अभिव्यक्‍तिलाई पनि उदाहरणको रूपमा लिन सकिन्छ। ग्रीक भाषामा हेर्ने हो भने यी दुवै पदमा कर्ताको अगाडि निश्‍चयवाचक पद चलाइएको छ तर पूरक “अदृश्‍य” र “प्रेम” को अगाडि भने चलाइएको छैन। त्यसैले यहाँ कर्ताको ठाउँमा पूरक र पूरकको ठाउँमा कर्ता राख्न मिल्दैन। यी पदहरूको अर्थ “अदृश्‍य कुरा परमेश्‍वर हुनुहुन्छ” वा “प्रेम नै परमेश्‍वर हुनुहुन्छ” भन्‍ने होइन।

“वचन” को हुनुहुन्छ?

पुरातन ग्रीक भाषामा पोख्त भाषाविद्‌हरू र बाइबल अनुवादकहरू युहन्‍ना १:१ मा “वचन” को हुनुहुन्छ भन्‍ने विषयमा नभई “वचन”-को गुणबारे बताइएको हो भनेर स्विकार्छन्‌। बाइबल अनुवादक विलियम बार्क्ले भन्छन्‌: “यहाँ [प्रेषित युहन्‍नाले] थिओस-को अगाडि निश्‍चयवाचक पद प्रयोग नगरेकोले यसले वचनको विशेषतालाई बुझाउँछ। युहन्‍नाले यहाँ वचन र परमेश्‍वर एउटै हुनुहुन्छ भन्‍न खोजिरहेका होइनन्‌। सरल भाषामा भन्‍ने हो भने तिनले येसु नै परमेश्‍वर हुनुहुन्छ भनेका होइनन्‌।” त्यसैगरि शास्त्रविद्‌ जेसन डेभिड बिडुन भन्छन्‌: “ग्रीक भाषाको युहन्‍ना १:१ को अन्तिम भागबाट र अरू यस्तै वाक्यबाट थिओस-को अगाडिको निश्‍चयवाचक पद हटाइदिनुभयो भने पाठकहरूले तपाईँ ‘परमेश्‍वर’-बारे नभई कुनै ‘एउटा ईश्‍वर’-बारे बताउँदै हुनुहुन्छ भनेर अनुमान लगाउनेछन्‌।” बिडुन अझ भन्छन्‌: “युहन्‍ना १:१ अनुसार वचन एक मात्र परमेश्‍वर होइन तर ईश्‍वरजस्तो हुनुहुन्छ।” यसबारे अमेरिकन स्टाण्डर्ड भर्सन अनुवाद गर्ने काममा भाग लिएका धर्मविद्‌ जोसेफ हेन्रि थेएर भन्छन्‌: “लोगोस [वा वचन] स्वयम्‌ परमेश्‍वर नभई ईश्‍वरीय हुनुहुन्थ्यो।”

येसुले आफू र बुबाबीचको भिन्‍नतालाई स्पष्ट पार्नुभयो

परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा “एउटा गहिरो रहस्य” हुनुपर्छ र? येसुलाई त्यस्तो लाग्दैनथ्यो। उहाँले बुबालाई प्रार्थना गर्दा आफू र बुबाबीचको भिन्‍नता यसरी स्पष्ट पार्नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।” (युहन्‍ना १७:⁠३) हामीले येसुमाथि विश्‍वास गऱ्‍यौँ अनि बाइबलले उहाँबारे बताउने आधारभूत कुरा सिक्यौँ भने उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ र उहाँसित परमेश्‍वरका जस्तै गुणहरू छन्‌ भनेर बुझ्नेछौँ र उहाँलाई आदर गर्नेछौँ। साथै हामी “एक मात्र साँचो परमेश्‍वर” यहोवाको उपासना गर्नेछौँ।