सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महान्‌ मोशाको भूमिकालाई कदर गर्नुहोस्‌

महान्‌ मोशाको भूमिकालाई कदर गर्नुहोस्‌

महान्‌ मोशाको भूमिकालाई कदर गर्नुहोस्‌

“परमप्रभु परमेश्‍वरले मलाई खडा गर्नुभएजस्तै तिमीहरूका दाज्यू-भाइहरूका माझबाट एउटा अगमवक्‍ता तिमीहरूका निम्ति खडा गर्नुहुनेछ। . . . [ तिनको] सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ।”—प्रेरि. ३:२२, NRV.

१. इतिहासमा येशू ख्रीष्टले कस्तो प्रभाव पारेको छ?

 स्वर्गका दूतहरूको ठूलो दलले दुई हजार वर्षअघि एक जना बालकको जन्म हुँदा खुसीयाली मनाउँदै परमेश्‍वरको स्तुति गरेको केही गोठालाहरूले सुने। (लूका २:८-१४) तीस वर्षपछि जवान भइसकेका ती बालकले आफ्नो सेवकाई सुरु गरे जुन केवल साढे तीन वर्ष रह्‍यो। तर यसले मानिसजातिको इतिहासको रूप बद्‌लिदियो। उन्‍नाइसौं शताब्दीका नाउँ चलेका इतिहासकार फिलिप शाफले ती जवानबारे भने: “तिनी आफैले कहिल्यै कलम चलाएनन्‌। तर तिनीबारे भने असंख्य कलमहरू चलाइए। प्राचीन तथा आधुनिक समयका लेखक, गायक, चित्रकार र प्रवचन दिनेहरूलाई तिनले भनेका र गरेका कुराले जत्ति अरू केहीले उत्प्रेरित गरेन।” निस्सन्देह, ती उल्लेखनीय पुरुष येशू ख्रीष्ट थिए।

२. यूहन्‍नाले येशू र उहाँको सेवकाईबारे के भने?

येशूको सेवकाईबारे लेख्ने प्रेरित यूहन्‍नाले विवरणको समापनमा यसो भने: “येशूले गर्नुभएका अरू पनि धेरै काम छन्‌, जुन एक-एक गरी लेखिएका भए, म सम्झन्छु ती लेखिएका पुस्तकहरू संसारभरि पनि अटाउने थिएनन्‌।” (यूह. २१:२५) साढे तीन वर्षको रोमाञ्चकारी समय अवधिमा येशूले भनेका र गरेका कुराको सानो अंश मात्र आफूले लेख्न सकेको यूहन्‍नालाई थाह थियो। तैपनि, यूहन्‍नाले आफ्नो सुसमाचारको पुस्तकमा जे-जति ऐतिहासिक घटनाहरू लेखे ती अनमोल छन्‌।

३. यहोवाको उद्देश्‍यमा येशूको भूमिका अझ गहिरिएर बुझ्न केले मदत गर्छ?

हाम्रो विश्‍वास बलियो बनाउने येशूको जीवनका विवरणहरू चार महत्त्वपूर्ण सुसमाचारका पुस्तकमा मात्र नभई बाइबलका अन्य भागमा पनि पाइन्छन्‌। उदाहरणको लागि, येशूभन्दा अघिका केही विश्‍वासी पुरुषबारे बाइबलमा दिइएको विवरणले परमेश्‍वरको उद्देश्‍यमा येशूको भूमिका अझ गहिरिएर बुझ्न मदत गर्छ। आउनुहोस्‌, तिनीहरूमध्ये केही विचार गरौं।

ख्रीष्टको पूर्वचित्रण गर्ने विश्‍वासी पुरुषहरू

४, ५. क-कसले येशूको पूर्वचित्रण गऱ्‍यो र कुन तरिकामा?

मोशा, दाऊद र सुलेमानले परमेश्‍वरको अभिषिक्‍त जन र नियुक्‍त राजा येशूको पूर्णचित्रण गर्छ भनी यूहन्‍ना र अन्य तीन सुसमाचारका पुस्तकका लेखकहरू बताउँछन्‌। कुन तरिकामा तिनीहरूले येशूको पूर्वचित्रण गऱ्‍यो? अनि ती विवरणबाट हामी के पाठ सिक्न सक्छौं?

मोशा अगमवक्‍ता, मध्यस्थकर्ता र उद्धारक थिए भनी बाइबल बताउँछ, यी तिनले निर्वाह गरेका केही भूमिका हुन्‌। येशू पनि ती सबै हुनुहुन्छ। दाऊद गोठाला र राजा थिए जसले इस्राएलका शत्रुहरूमाथि विजय हासिल गरे। येशू पनि गोठाला र विजयी राजा हुनुहुन्छ। (इज. ३७:२४, २५) विश्‍वासी रहुन्जेल सुलेमान बुद्धिमान्‌ शासक थिए र तिनको शासनकालमा इस्राएलमा शान्ति छाएको थियो। (१ राजा ४:२५, २९) येशू पनि एकदमै बुद्धिमान्‌ हुनुहुन्छ र उहाँलाई “शान्तिका राजकुमार” भनिएको छ। (यशै. ९:६) स्पष्टतः ख्रीष्टको भूमिका विगतका ती विश्‍वासी पुरुषहरूसित मिल्दोजुल्दो छ। तर यति हो कि, परमेश्‍वरको उद्देश्‍यमा येशूको स्थान सर्वोत्कृष्ट छ। सबैभन्दा पहिला, येशू र मोशालाई तुलना गरौं र यस तुलनाले यहोवाको उद्देश्‍यमा येशूको भूमिकालाई अझ राम्ररी बुझ्न कसरी मदत गर्छ, हेरौं।

मोशा—येशूको छाया

६. येशूको कुरा सुन्‍नुको महत्त्वलाई प्रेरित पत्रुसले कसरी बताए?

इस्वी संवत्‌ ३३ पेन्तिकोसको तुरुन्तै पछि प्रेरित पत्रुसले मोशाको एउटा अगमवाणी उद्धृत गरे जुन येशू ख्रीष्टमा पूरा भयो। पत्रुस मन्दिरमा उपासकहरूको भीडअघि उभिरहेका थिए। तिनी र यूहन्‍नाले जन्मैदेखि लङ्‌गडो माग्नेलाई निको पारिदिंदा मानिसहरू “अति अचम्म” भएर त्यो हेर्न दगुरी आए। येशू ख्रीष्ट मार्फत परमेश्‍वरको पवित्र आत्माले काम गरिरहेकोले यो सम्भव भएको हो भनी पत्रुसले बताए। त्यसपछि हिब्रू धर्मशास्त्रबाट उद्धृत गर्दै तिनले भने: “मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्‍वरले मलाई खडा गर्नुभएजस्तै तिमीहरूका दाज्यू-भाइहरूका माझबाट एउटा अगमवक्‍ता तिमीहरूका निम्ति खडा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्‍नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ।’ ”—प्रेरि. ३:११, २२, २३ NRV; व्यवस्था १८:१५, १८, १९ पढ्‌नुहोस्‌।

७. मोशाभन्दा महान्‌ अगमवक्‍ताबारे पत्रुसले भनेको कुरा तिनका श्रोताले किन बुझेको हुनुपर्छ?

मोशाका यी शब्दहरू पत्रुसका श्रोतालाई राम्ररी थाह भएको हुनुपर्छ। तिनीहरू यहूदी भएकोले मोशालाई एकदमै मान गर्थे। (व्यव. ३४:१०) मोशाभन्दा महान्‌ अगमवक्‍ताको उत्कट प्रतीक्षामा तिनीहरू थिए। ती अगमवक्‍ता मोशा जस्तो एक अभिषिक्‍त जन मात्र नभई मसीह अर्थात्‌ “परमेश्‍वरको ख्रीष्ट उहाँको चुनिएको” जन हुनेथिए।—लूका २३:३५; हिब्रू ११:२६.

येशू र मोशाबीच समानता

८. मोशा र येशूको जीवनका केही समानताहरू के हुन्‌?

केही-केही पक्षमा येशूको पार्थिव जीवन र मोशाको जीवन मिल्दोजुल्दो थियो। उदाहरणको लागि, जन्मने बित्तिकै मोशा र येशू दुवैलाई निरंकुश शासकले मार्न खोज्यो। (प्रस्थ. १:२२–२:१०; मत्ती २:७-१४) यसबाहेक दुवैलाई ‘मिश्र देशबाट बोलाइयो।’ अगमवक्‍ता होशेले भने: “जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्यारो गरें, र मिश्र देशबाट मैले मेरो छोरालाई बोलाएँ।” (होशे ११:१) होशेका यी शब्दहरूले त्यो समयलाई इङ्‌गित गर्छ जब परमेश्‍वरले नियुक्‍त गरेको नेता मोशाले इस्राएलीहरूलाई मिश्रबाट डोऱ्‍याइ ल्याए। (प्रस्थ. ४:२२, २३; १२:२९-३७) तर, होशेका यी शब्दहरूले पहिला भएका घटनाहरूलाई मात्र नभई भविष्यमा हुने एउटा घटनालाई पनि संकेत गऱ्‍यो। राजा हेरोदको मृत्युपछि यूसुफ र मरियम बालक येशूसँगै मिश्रबाट फर्किंदा होशेको यो अगमवाणी पूरा भयो।—मत्ती २:१५, १९-२३.

९. (क) मोशा र येशूले कस्ता चमत्कारहरू गरे? (ख) मोशा र येशूबीच अन्य समानताहरू बताउनुहोस्‌। (पृष्ठ २६ मा “येशू र मोशाबीच मिल्दोजुल्दो थप कुराहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।)

मोशा र येशू दुवैले चमत्कारहरू गरे जसबाट तिनीहरूले यहोवाको समर्थन पाएको स्पष्ट भयो। वास्तवमा, चमत्कार गर्ने पहिलो मानिस मोशा नै थिए। (प्रस्थ. ४:१-९) उदाहरणको लागि, मोशाले पानीसित सम्बन्धित चमत्कार गरे। तिनको आदेशमा नील नदी र वरपरका अन्य खोला-पोखरी रगतमा परिणत भए, लाल समुद्र दुई भाग भयो र मरुभूमिमा चट्टानलाई हिर्काउँदा पानीको फोहोरा निस्क्यो। (प्रस्थ. ७:१९-२१; १४:२१; १७:५-७) येशूले पनि पानीसित सम्बन्धित चमत्कारहरू गर्नुभयो। उहाँले एउटा विवाह भोजमा पानीलाई दाखमद्यमा परिणत गर्नुभयो र यो उहाँको पहिलो चमत्कार थियो। (यूह. २:१-११) पछि उहाँले ठूलो आँधी आएको गालीलको समुद्रलाई शान्त पार्नुभयो। अनि अर्को एकचोटि पानीमा समेत हिंड्‌नुभयो। (मत्ती ८:२३-२७; १४:२३-२५) मोशा र महान्‌ मोशा येशूबीचको थप केही समानता  पृष्ठ २६ मा हेर्न सक्नुहुन्छ।

अगमवक्‍ताको रूपमा ख्रीष्टको कदर गर्नुहोस्‌

१०. साँचो अगमवक्‍ताका जिम्मेवारीहरू के-के हुन्‌ र मोशा किन त्यस्तै एक अगमवक्‍ता थिए?

१० थुप्रैलाई अगमवक्‍ताको काम भविष्यमा हुने कुरा बताउनु हो भन्‍ने लाग्छ। तर यो त अगमवक्‍ताको जिम्मेवारीको एउटा भाग मात्र हो। साँचो अगमवक्‍ता, यहोवाको प्रेरित प्रवक्‍ता हो जसले “परमेश्‍वरका महाकार्यहरू” उद्‌घोषणा गर्छ। (प्रेरि. २:११, १६, १७) भविष्यमा हुने घटनाहरूबारे बताउनु, यहोवाको उद्देश्‍यका पक्षहरू प्रकट गर्नु वा यहोवाको न्याय घोषणा गर्नु पनि अगमवक्‍ताको काममा गाभ्न सकिन्छ। मोशा त्यस्तै कामहरू गर्ने अगमवक्‍ता थिए। मिश्रमाथि आइपरेको दस विपत्तिबारे तिनले अगमवाणी गरे। तिनले सीनै पर्वतमा व्यवस्थाको करार इस्राएलीहरूलाई बताए। अनि इस्राएल राष्ट्रलाई परमेश्‍वरको इच्छाबमोजिम गर्न सिकाए। तैपनि मोशाभन्दा महान्‌ अगमवक्‍ता आउन बाँकी नै थियो।

११. येशू मोशाभन्दा महान्‌ अगमवक्‍ता कसरी साबित हुनुभयो?

११ पछि प्रथम शताब्दीमा जकरियाले आफ्नो छोरो यूहन्‍नाबारे यहोवाको उद्देश्‍य प्रकट गर्दा तिनले अगमवक्‍ताको काम गरे। (लूका १:७६) त्यो छोरो बप्तिस्मा दिने यूहन्‍ना बने जसले लामो समयदेखि प्रतीक्षा गरिराखेको महान्‌ मोशा येशूको आगमनबारे घोषणा गरे। (यूह. १:२३-३६) अगमवक्‍ताको हैसियतमा येशूले थुप्रै अगमवाणी गर्नुभयो। उदाहरणको लागि उहाँले आफ्नै मृत्युबारे बताउनुभयो। आफूलाई कहाँ, कसरी र कसले मार्नेछ त्यो पनि अगमवाणी गर्नुभयो। (मत्ती २०:१७-१९) श्रोताहरू छक्क पर्नेगरि उहाँले यरूशलेम र यसको मन्दिरको विनाशबारे पनि अगमवाणी गर्नुभयो। (मर्कू. १३:१, २) उहाँका भविष्यवाणीहरूले हाम्रो समयलाई पनि ढाक्छ।—मत्ती २४:३-४१.

१२. (क) येशूले कसरी विश्‍वव्यापी प्रचार अभियानको जग बसाल्नुभयो? (ख) आज हामी कसरी येशूको उदाहरण पछ्याउन सक्छौं?

१२ येशू अगमवक्‍ताका साथै प्रचारक र शिक्षक पनि हुनुहुन्थ्यो। उहाँले राज्यको सुसमाचार प्रचार गर्नुभयो। अनि उहाँले जस्तो निर्भयता साथ अरू कसले बोल्यो होला र? (लूका ४:१६-२१, ४३) शिक्षकको रूपमा उहाँ अतुलनीय हुनुहुन्थ्यो। “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन” भनेर उहाँको कुरा सुन्‍ने कोही-कोहीले भने। (यूह. ७:४६) राज्य सुसमाचार घोषणा गर्न येशू जोडतोडले लाग्नुभयो र आफ्ना अनुयायीहरूलाई पनि त्यस्तै जोसले भरिदिनुभयो। यसरी उहाँले विश्‍वव्यापी प्रचार अनि शिक्षणकार्यको जग बसाल्नुभयो र यो आजसम्म पनि चलिरहेको छ। (मत्ती २८:१८-२०; प्रेरि. ५:४२) गत वर्ष, झन्डै ७० लाख ख्रीष्टका अनुयायीहरूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र इच्छुकहरूलाई बाइबल सत्य सिकाउन झन्डै १,५०,००,००,००० घण्टा बिताए। यस महत्त्वपूर्ण काममा के तपाईंले पनि सक्दो भाग लिइरहनुभएको छ?

१३. ‘जागा रहन’ हामीलाई केले मदत गर्नेछ?

१३ निस्सन्देह, मोशा जस्तो अगमवक्‍ता खडा गर्ने भविष्यवाणी यहोवाले पूरा गर्नुभयो। यो कुराले तपाईंलाई कसरी असर गर्छ? यसले गर्दा के तपाईं हाम्रो निकट भविष्यबारेको प्रेरित भविष्यवाणी पक्कै पूरा हुन्छ भनेर झन्‌ विश्‍वस्त हुन सक्नुभयो? हो, महान्‌ मोशाको उदाहरण मनन गर्दा परमेश्‍वरले चाँडै चाल्नुहुने कदमबारे ‘जागा रहन र होशियार हुन’ उत्प्रेरित हुनेछौं।—१ थिस्स. ५:२, ६.

मध्यस्थकर्ताको रूपमा येशूको मोल गर्नुहोस्‌

१४. परमेश्‍वर र इस्राएलबीच मोशाले कसरी मध्यस्थताको काम गरे?

१४ मोशा जस्तै येशू मध्यस्थकर्ता हुनुहुन्थ्यो। हामीलाई थाह नै छ, मध्यस्थकर्ताले दुई पक्षबीच पुलको काम गर्छ। यहोवा र इस्राएलीहरूबीच व्यवस्थाको करारको सन्दर्भमा मोशाले मध्यस्थताको काम गरे। याकूबका सन्तानले परमेश्‍वरको व्यवस्था पालन गरेको खण्डमा तिनीहरू उहाँको निज धन, उहाँको समुदाय बनिरहन सक्थे। (प्रस्थ. १९:३-८) त्यो करार ईसापूर्व १५१३ देखि इस्वी संवत्‌ प्रथम शताब्दीसम्म कायम रह्‍यो।

१५. येशू कसरी सर्वोत्कृष्ट मध्यस्थकर्ता हुनुहुन्छ?

१५ इस्वी संवत्‌ ३३ मा यहोवाले “परमेश्‍वरका इस्राएल”-सित अझ उत्तम करार बाँध्नुभयो। यो इस्राएल अभिषिक्‍त ख्रीष्टियानहरू मिलेर बनेको विश्‍वव्यापी मण्डली भयो। (गला. ६:१६) मोशाले मध्यस्थ गरेको करारमा परमेश्‍वरले ढुंगाको पाटीमा लेखेको आज्ञा पनि समावेश थियो। तैपनि येशूले मध्यस्थ गरेको करार चाहिं सर्वोत्तम छ। यसका व्यवस्थाहरू परमेश्‍वरले मानिसको हृदयमा नै लेख्नुभएको छ। (१ तिमोथी २:५; हिब्रू ८:१० पढ्‌नुहोस्‌) यसरी, “परमेश्‍वरका इस्राएल” उहाँको निज धन बनेको छ जसले मसीही राज्यको ‘फल फलाइरहेको’ छ। (मत्ती २१:४३) यस आत्मिक राष्ट्रका सदस्यहरू नयाँ करारका भागीदार हुन्‌। तर यसबाट लाभ उठाउने तिनीहरू मात्रै होइनन्‌। असंख्य मानिसहरू जसमध्ये कति त अहिले मृत्युको निद्रामा परेका छन्‌ तिनीहरूले पनि यस सर्वोत्तम करारको कारण अनन्त आशिष्‌ पाउनेछन्‌।

उद्धारकको रूपमा ख्रीष्टको आदर गर्नुहोस्‌

१६. (क) इस्राएलीहरूलाई उद्धार गर्न यहोवाले कुन तरिकामा मोशालाई चलाउनुभयो? (ख) प्रस्थान १४:१३ अनुसार उद्धारको स्रोत को हुनुहुन्छ?

१६ मिश्र छोड्‌नुअघिको अन्तिम रात इस्राएलका केही सन्तान ठूलो खतरामा परे। चाँडै स्वर्गदूतहरू मिश्र देश भएर जाने थिए र तिनीहरूले प्रथम जन्मेका सबैलाई मार्ने थिए। आ-आफ्नो घरको ढोकाको दुवै पट्टिका खामा र चौकोसको माथिल्लो भागमा निस्तार चाडको पाठोको रगत लाएमा इस्राएलीहरूको पहिलो जन्मेका सबै बच्नेछन्‌ भनेर यहोवाले मोशालाई भन्‍नुभयो। (प्रस्थ. १२:१-१३, २१-२३) त्यस्तै भयो पनि। पछि, पूरै राष्ट्र अर्को एउटा गम्भीर खतरामा पऱ्‍यो। तिनीहरू लाल समुद्र र रथमा खेद्दै आइरहेका मिश्रीहरूको बीचमा परे। यतिबेला पनि यहोवाले मोशा मार्फत समुद्रलाई दुई भाग पारेर तिनीहरूको उद्धार गर्नुभयो।—प्रस्थ. १४:१३, २१.

१७, १८. कुन तरिकामा येशू मोशाभन्दा महान्‌ हुनुहुन्छ?

१७ हो, ती उद्धारका घटनाहरू विशेष थिए, तर यहोवाले येशूद्वारा प्रबन्ध गरेको उद्धारभन्दा महान्‌ होइनन्‌। आज्ञाकारी मानिसहरूलाई पापको दासत्वबाट छुटाउन येशूलाई माध्यमको रूपमा चलाइयो। (रोमी ५:१२, १८) अनि त्यो उद्धार “अनन्त उद्धार” हो। (हिब्रू ९:११, १२) येशू नाउँको अर्थ “यहोवा मुक्‍तिदाता हुनुहुन्छ” भन्‍ने हो। येशू हाम्रो उद्धारक अथवा मुक्‍तिदाता हुनुहुन्छ र उहाँले हामीलाई विगतका पापहरूबाट उद्धार गर्ने मात्र होइन तर उज्ज्वल भविष्यबाट आनन्द उठाउन पनि बाटो खोलिदिनुहुन्छ। पापको दासत्वबाट उद्धार गरेर येशूले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको क्रोधबाट बचाउनुहुन्छ र यहोवासित सम्बन्ध गाँसिदिनुहुन्छ।—मत्ती १:२१.

१८ समयको दौडान येशूले पापको दासत्वबाट उद्धार गर्नुहुनेछ जसमा पापको भयानक असरहरू बिमारी र मृत्यु समेत पर्छ। यसले कस्तो अर्थ राख्छ, त्यो कल्पना गर्न येशू याइरस भन्‍ने मानिसको घरमा जाँदा के भएको थियो एकछिन विचार गरौं। तिनकी १२ वर्षकी छोरी मरेकी थिई। येशूले याइरसलाई यस्तो आश्‍वासन दिनुभयो: “नडराऊ, विश्‍वास मात्र गर, र त्यो बाँच्नेछ।” (लूका ८:४१, ४२, ४९, ५०) साँच्चै, त्यो बच्ची ब्यूँती। तिनको आमाबाबु कत्ति खुसी भए होलान्‌, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यसो गर्नुभयो भने, ‘चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुनेर’ निस्कि आउँदा कस्तो हुन्छ त्यो पनि कल्पना गर्न सक्नुहुनेछ। (यूह. ५:२८, २९) हो, येशू साँच्चै हाम्रो उद्धारक, मुक्‍तिदाता हुनुहुन्छ।—प्रेरित ५:३१ पढ्‌नुहोस्‌; ती. १:४; प्रका. ७:१०.

१९, २०. (क) महान्‌ मोशाको रूपमा येशूको भूमिका मनन गर्दा हामीलाई कसरी असर गर्छ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

१९ हामी अरू मानिसलाई येशूको उद्धार कार्यबाट फाइदा उठाउन मदत गर्न सक्छौं। अनि यसमा हाम्रो भूमिका महत्त्वपूर्ण छ भनी थाह पाएर प्रचार र शिक्षण कार्यमा जोडतोडले भाग लिन उत्प्रेरित हुन्छौं। (यशै. ६१:१-३) यसबाहेक, महान्‌ मोशा येशूको भूमिकालाई मनन गऱ्‍यौं भने दुष्टहरूमाथि न्याय गर्न आउँदा उहाँले आफ्ना अनुयायीहरूलाई चाहिं बचाउनुहुनेछ भनी अझै विश्‍वस्त हुन सक्छौं।—मत्ती २५:३१-३४, ४१, ४६; प्रका. ७:९, १४.

२० हो, येशू महान्‌ मोशा हुनुहुन्छ। उहाँले गरेका थुप्रै अद्‌भुत कुराहरू मोशाले कहिल्यै गर्न सक्दैनथे। अगमवक्‍ताको रूपमा येशूका शब्दहरू र मध्यस्थकर्ताको रूपमा उहाँका कार्यले सम्पूर्ण मानिसजातिलाई असर गर्छ। उद्धारकको रूपमा उहाँले मानिसजातिको लागि अस्थायी होइन तर अनन्त मुक्‍ति ल्याउनुहुनेछ। तर प्राचीन विश्‍वासी पुरुषहरूलाई हेर्दै येशूबारे सिक्न सक्ने अझै थप कुरा छन्‌। उहाँ कसरी महान्‌ दाऊद र सुलेमान हुनुहुन्छ अर्को लेखमा छलफल गरिनेछ। (w 09 4/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

येशू कसरी मोशाभन्दा महान्‌ हुनुहुन्छ:

• अगमवक्‍ताको रूपमा?

• मध्यस्थकर्ताको रूपमा?

• उद्धारकको रूपमा?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

 येशू र मोशाबीच मिल्दाजुल्दा थप कुराहरू

◻ दुवैले यहोवा र उहाँका जनहरूको सेवा गर्न उच्च ओहदा त्यागे।—२ कोरि. ८:९; फिलि. २:५-८; हिब्रू ११:२४-२६.

◻ दुवैले अभिषिक्‍त जनको रूपमा सेवा गरे।—मर्कू. १४:६१, ६२; यूह. ४:२५, २६; हिब्रू ११:२६.

◻ दुवै यहोवाको नाउँमा आए। अर्को शब्दमा भन्‍नुपर्दा, दुवैले यहोवाको प्रतिनिधित्व गरे।—प्रस्थ. ३:१३-१६; यूह. ५:४३; १७:४, ६, २६.

◻ दुवै विनयी थिए।—गन्ती १२:३; मत्ती ११:२८-३०.

◻ दुवैले ठूलो भीडलाई खुवाए।—प्रस्थ. १६:१२; यूह. ६:४८-५१.

◻ दुवैले न्यायकर्ता र व्यवस्था दिने व्यक्‍तिको रूपमा सेवा गरे।—प्रस्थ. १८:१३; मला. ४:४; यूह. ५:२२, २३; १५:१०.

◻ दुवैलाई परमेश्‍वरको घरको जिम्मा सुम्पियो।—गन्ती १२:७; हिब्रू ३:२-६.

◻ दुवैलाई यहोवाको विश्‍वासी साक्षी भनिएको छ।—हिब्रू ११:२४-२९; १२:१; प्रका. १:५.

◻ मोशा र येशूको मृत्युपछि परमेश्‍वरले तिनीहरूको शरीर उठाइ लानुभयो।—व्यव. ३४:५, ६; लूका २४:१-३; प्रेरि. २:३१; १ कोरि. १५:५०; यहू. ९.