सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिपक्वतातर्फ बढौं—“परमप्रभुको भयानक दिन नजिकै छ”

परिपक्वतातर्फ बढौं—“परमप्रभुको भयानक दिन नजिकै छ”

परिपक्वतातर्फ बढौं—“परमप्रभुको भयानक दिन नजिकै छ”

“हामी परिपक्वतातर्फ बढौं।”—हिब्रू ६:१, NRV.

१, २. यरूशलेम र यहूदियामा रहेका प्रथम शताब्दीका ख्रीष्टियानहरूले ‘पहाडहरूतिर भाग्ने’ कस्तो मौका पाए?

 येशू पृथ्वीमा छँदा चेलाहरूले उहाँकहाँ आएर सोधे: “यो कुरा कहिले हुनेछ, र तपाईंको आगमन र जगत्‌को अन्तको चिन्ह के हुन्छ?” तिनीहरूको प्रश्‍नको जवाफमा येशूले एउटा भविष्यवाणी गर्नुभयो र त्यसको प्रारम्भिक पूर्ति प्रथम शताब्दीमा भयो। त्यो अन्त एकदमै नजिक छ भनी संकेत गर्ने एउटा असाधारण घटनाबारे येशूले बताउनुभयो। त्यो देखेपछि ‘यहूदियामा हुनेहरू पहाडहरूतिर भाग्नुपर्ने’ थियो। (मत्ती २४:१-३, १५-२२) के चेलाहरू त्यो चिह्न चिनेर उहाँको निर्देशनबमोजिम भाग्ने थिए?

यसको झन्डै तीस वर्षपछि इस्वी संवत्‌ ६१ मा प्रेरित पावलले यरूशलेम र यसको छेउछाउमा बस्ने हिब्रू ख्रीष्टियानहरूलाई तिनीहरूको सोचाइमा परिवर्तन गर्नुपर्ने कुरा कडा शब्दमा लेखे। तर “महासंकष्ट”-को पहिलो चरण सुरु भएको संकेत गर्ने घटना घट्‌न पाँच वर्ष मात्र बाँकी छ भन्‍ने कुरा पावल र तिनका सँगी विश्‍वासीहरूलाई थाह थिएन। (मत्ती २४:२१) इस्वी संवत्‌ ६६ मा सेस्टियस ग्यालसको नेतृत्वमा आएको रोमी सेनाले यरूशलेममाथि आक्रमण गर्नै लागेको थियो। तर अकस्मात्‌ तिनीहरू फर्के जसले गर्दा खतराको मुखमा परेकाहरूले भाग्ने ठूलो मौका पाए।

३. हिब्रू ख्रीष्टियानहरूलाई पावलले के सल्लाह दिए र किन?

ती घटनाहरूलाई चिनेर भाग्न त्यहाँका ख्रीष्टियानहरूसित तीक्ष्ण आध्यात्मिक समझ हुनु आवश्‍यक थियो। तर कोही-कोहीको ‘कान मन्द’ भएको थियो। तिनीहरू आध्यात्मिक तवरमा “दूधैको” दरकार परेका बच्चाहरू जस्ता थिए। (हिब्रू ५:११-१३ पढ्‌नुहोस्‌) धेरै लामो समयदेखि सत्यको बाटोमा हिंडिरहेका कोही-कोहीले समेत “जीवित परमेश्‍वरबाट टाढा” हुन थालेको संकेत दिइरहेका थिए। (हिब्रू ३:१२, NRV ) त्यो दिन “नजिक-नजिक आइपुगेको” बेला कोही-कोही ख्रीष्टियानहरूको सभा छुटाउने “बानी” परेको थियो। (हिब्रू १०:२४, २५) पावलले तिनीहरूलाई समय सुहाउँदो सल्लाह दिंदै यसो भने: “ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं।”—हिब्रू ६:१, NRV.

४. आध्यात्मिक तवरमा जागा रहनु किन महत्त्वपूर्ण छ र यसको लागि हामीलाई केले मदत गर्छ?

येशूको भविष्यवाणीको अन्तिम पूर्तिको समयमा हामी बाँचिरहेका छौं। शैतानको सम्पूर्ण संसारलाई नाश गर्ने “परमप्रभुको भयानक दिन नजिकै छ।” (सप. १:१४) आध्यात्मिक तवरमा सचेत र जागा रहनु अहिलेजस्तो जरुरी पहिला कहिल्यै भएको थिएन। (१ पत्रु. ५:८) के हामी साँच्चै सचेत र जागा छौं? ख्रीष्टियान परिपक्वताले समयको रफ्तारमा हामी कहाँ छौं, त्यसमा ध्यान दिन मदत गर्छ।

ख्रीष्टियान परिपक्वता

५, ६. (क) आध्यात्मिक परिपक्वतामा के समावेश छ? (ख) परिपक्वतातर्फ अघि बढ्‌न हामीले कुन दुई क्षेत्रमा प्रयास गर्नुपर्छ?

पावलले प्रथम शताब्दीका हिब्रू ख्रीष्टियानहरूलाई परिपक्वतातर्फ अघि बढ्‌न प्रोत्साहन मात्र दिएनन्‌ तर यसमा के समावेश छ, त्यो पनि बताए। हिब्रू ५:१४ पढ्‌नुहोस्‌) “पूरा बढेका मानिसहरू” “दूधै”-मा मात्र सन्तुष्ट रहिरहँदैनन्‌। तिनीहरू “खँदिलो खानेकुरा” लिन्छन्‌। यसैकारण तिनीहरूलाई सत्यको “प्राथमिक” र “गहिरा-गहिरा कुराहरू” दुवै थाह हुन्छ। (१ कोरि. २:१०) यसबाहेक, थाह पाएको कुराको अभ्यासद्वारा तिनीहरूको ज्ञानेन्द्रिय शक्‍ति प्रशिक्षित हुन्छ जसले गर्दा तिनीहरू सही र गलत छुट्याउन सक्ने हुन्छन्‌। यस प्रशिक्षणको कारण कुनै निर्णय गर्नुपर्दा त्यसमा कस्ता धर्मशास्त्रीय सिद्धान्तहरू मुछिएका छन्‌ र ती कसरी लागू गर्न सकिन्छ, खुट्याउन तिनीहरू सक्षम हुन्छन्‌।

पावलले लेखे: “हामीले सुनेका कुराहरूलाई हामीले झन्‌ बढी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।” (हिब्रू २:१) हामी चालै नपाई त्यसरी तर्केर जान सक्छौं। यस्तो हुन नदिन बाइबल छलफल गरिंदा “झन्‌ बढी उत्कट ध्यान दिनुपर्दछ।” त्यसैकारण हामी प्रत्येकले आफूलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘के म अझै प्राथमिक कुराहरूमा मात्रै सन्तुष्ट रहिरहेको छु? हृदयबाटै सच्चाइलाई पूर्णतया आफ्नो नबनाई के म बोक्रे चालको भएको छु? म साँचो अर्थमा आध्यात्मिक प्रगति कसरी गर्न सक्छु?’ परिपक्वतातर्फ अघि बढ्‌न हामीले कम्तीमा पनि दुई क्षेत्रमा प्रयास गर्नुपर्छ। हामी परमेश्‍वरको वचनसित राम्ररी परिचित हुनुपर्छ अनि आज्ञाकारी हुन सिक्नुपर्छ।

परमेश्‍वरको वचनसित राम्ररी परिचित हुनुहोस्‌

७. परमेश्‍वरको वचनसित राम्ररी परिचित हुँदा हामी कसरी लाभ उठाउन सक्छौं?

पावलले लेखे: “दूधको सह-भागी हुने हरेक मानिस धार्मिकताको वचनको अनुभव गर्न नसक्ने हुन्छ, किनकि त्यो बालकै हो।” (हिब्रू ५:१३) परिपक्व हुन परमेश्‍वरले हाम्रो लागि दिएको सन्देशसित राम्ररी परिचित हुनुपर्छ। अनि यो सन्देश उहाँको वचन बाइबलमा पाइन्छ। त्यसैले, हामी बाइबलको अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-बाट उपलब्ध प्रकाशनहरूको असल विद्यार्थी हुनुपर्छ। (मत्ती २४:४५-४७) परमेश्‍वरको सोचाइ त्यसरी अध्ययन गर्दा ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दिन मदत पाउँछौं। अर्किड नाउँ गरेकी बहिनीको उदाहरण विचार गर्नुहोस्‌। a तिनी भन्छिन्‌: “नियमित तवरमा बाइबल पढ भन्‍ने सम्झौटोले मेरो जीवनमा धेरै प्रभाव पारेको छ। पूरै बाइबल पढी सिध्याउन झन्डै दुई वर्ष लाग्यो तर मलाई सृष्टिकर्तासित पहिलो चोटि भेटेको महसुस भयो। मैले उहाँको तौरतरिका, उहाँलाई मन पर्ने/नपर्ने कुरा, उहाँको अपार शक्‍ति र बुद्धिबारे सिकें। जीवनको अत्यन्तै अन्धकारमय क्षणहरूमा समेत बाइबल अध्ययनले मलाई सँभालेको छ।”

८. परमेश्‍वरको वचन हामीमा कसरी प्रबल हुन सक्छ?

परमेश्‍वरको वचनको केही अंश नियमित पढ्‌दा यो हामीमा “प्रबल” हुन सक्छ। ( हिब्रू ४:१२ पढ्‌नुहोस्‌) त्यस्तो पढाइले हाम्रो भित्री मनुष्यत्वलाई परमेश्‍वरको इच्छाअनुरूप ढाल्न र हामीलाई उहाँसामु ग्रहणयोग्य बन्‍न मदत गर्छ। बाइबल पढ्‌न र पढेको कुरा मनन गर्न तपाईंले अझ धेरै समय दिनुपर्ने हो कि?

९, १०. परमेश्‍वरको वचनसित परिचित हुनुमा के समावेश छ? उदाहरणसहित बताउनुहोस्‌।

बाइबलसित परिचित हुनु भनेको यसका विषयवस्तुहरू थाह पाउनु मात्र त होइन। पावलका समयका आध्यात्मिक बालकहरू परमेश्‍वरको प्रेरित वचन पटक्कै थाह नभएकाहरू थिएनन्‌। तर, तिनीहरूले यसको सदुपयोग गरेनन्‌ र यसको असल नतिजा चाखेर हेरेनन्‌। जीवनमा सही निर्णयहरू गर्न आफूलाई बाइबलको सन्देशद्वारा डोरिन नदिएकोले ती सन्देशसित तिनीहरू परिचित भएनन्‌।

१० परमेश्‍वरको वचनसित परिचित हुनुको अर्थ यसको विषयवस्तु थाह पाउनु र त्यो ज्ञान व्यवहारमा उतार्नु हो। यो कसरी गर्न सकिन्छ, काइल नाउँकी बहिनीको अनुभवबाट स्पष्ट हुन्छ। अफिसमा काइलको एक जना सहकर्मीसित चर्को भनाभन परेछ। मतभेद सुल्झाउन काइलले के गरिन्‌? उनी भन्छिन्‌: “झट्टै मेरो दिमागमा रोमी १२:१८ याद आयो जहाँ ‘हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो’ भनिएको छ। त्यसैले त्यस सहकर्मीसित अफिसपछि भेट्‌ने समय मिलाएँ।” उनीहरूको भेटवार्ता फलदायी भयो। अनि ती सहकर्मी पनि काइलले मतभेद सुल्झाउन गरेको प्रयास देखेर प्रभावित भइन्‌। काइल बताउँछिन्‌, “बाइबल सिद्धान्त लागू गर्दा कहिल्यै असफल होइँदैन भनेर मैले सिकें।”

आज्ञाकारी हुन सिक्नुहोस्‌

११. गाह्रो परिस्थितिमा आज्ञाकारी हुनु चुनौतीपूर्ण हुन सक्छ भनेर केले देखाउँछ?

११ धर्मशास्त्रबाट सिकेको कुरा व्यवहारमा उतार्नु चुनौतीपूर्ण हुन सक्छ, अझ विशेषगरि परिस्थिति गाह्रो हुँदा। उदाहरणको लागि, यहोवाले इस्राएलीहरूलाई मिश्रीहरूको बन्धनबाट मुक्‍त गरेको केही समयपछि नै तिनीहरूले “मोशासित झगडा” गरे र फेरि “परमप्रभुको परीक्षा” लिए। कसरी? खाने पानी भएन भनेर। (प्रस्थ. १७:१-४) परमेश्‍वरसित करारमा बाँधिएको र “परमप्रभुले भन्‍नुभएका सबै वचनहरू हामी पालन गर्छौ” भनी सहमत भएको दुई महिना पनि नबित्दै तिनीहरूले मूर्तिपूजासम्बन्धी परमेश्‍वरको व्यवस्था उल्लंघन गरे। (प्रस्थ. २४:३, १२-१८; ३२:१, २, ७-९) होरेब पर्वतमा मोशालाई निर्देशन दिइँदा तिनी इस्राएलीहरूमाझ लामो समयसम्म थिएनन्‌। त्यसैले तिनीहरू डराएका हुन्‌ कि? अमालेकीहरूले फेरि आक्रमण गर्नेछन्‌ र मोशाविना तिनीहरू बेसहारा हुनेछन्‌ भन्‍ने तिनीहरूलाई लागेको थियो कि? किनभने त्योभन्दा पहिला मोशाले आफ्नो हात माथि उचाली राख्दा इस्राएलीहरू विजयी भएका थिए। (प्रस्थ. १७:८-१६) तिनीहरूमा त्यस्तो डर पैदा भएको हुन सक्छ तर कारण जस्तोसुकै भए तापनि इस्राएलीहरूले “आज्ञाकारी हुन इच्छा गरेनन्‌।” (प्रेरि. ७:३९-४१) प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न डराउँदा इस्राएलीहरूले देखाएको “अनाज्ञाकारीको उदाहरणमा . . . पतित नहुन” ‘प्रयत्न गर’ भनी पावलले ख्रीष्टियानहरूलाई कडा सल्लाह दिए।—हिब्रू ४:३, ११.

१२. येशूले कसरी आज्ञाकारी हुन सिक्नुभयो र कस्तो फाइदा भयो?

१२ परिपक्वतातर्फ अघि बढ्‌न परमेश्‍वरको आज्ञा पालन गर्ने प्रयत्न गर्नुपर्छ। अक्सर आफूले भोगेको दुःखद्वारा आज्ञाकारी हुन सिकिन्छ भनेर येशू ख्रीष्टको उदाहरणबाट स्पष्ट हुन्छ। ( हिब्रू ५:८, ९ पढ्‌नुहोस्‌) येशू पृथ्वीमा आउनुअघि पनि पिताप्रति आज्ञाकारी हुनुहुन्थ्यो। तर पृथ्वीमा परमेश्‍वरको इच्छाबमोजिम गर्नुमा शारीरिक र मानसिक दुःख भोग्नु समावेश थियो। चरम दुःखको बेला आज्ञाकारी हुनुभएर येशूले उहाँको लागि परमेश्‍वरले सोचेको नयाँ ओहदा अर्थात्‌ राजा र प्रधान पूजाहारीको लागि आफूलाई “सिद्ध” तुल्याउनुभयो।

१३. हामीले आज्ञाकारी हुन सिकेका छौं कि छैनौं, कुन कुराले देखाउँछ?

१३ हामी नि? के हामीले कष्टकर परिस्थितिमा पनि यहोवाको आज्ञा पालन गर्ने संकल्प गरेका छौं? (१ पत्रुस १:६, ७ पढ्‌नुहोस्‌) नैतिकता, इमानदारिता, जिब्रोको उचित प्रयोग, व्यक्‍तिगत बाइबल पढाइ र अध्ययन, ख्रीष्टियान सभामा उपस्थिति र प्रचारकार्यमा सहभागिताबारे परमेश्‍वरको सल्लाह स्पष्ट छ। (यहो. १:८; मत्ती २८:१९, २०; एफि. ४:२५, २८, २९; ५:३-५; हिब्रू १०:२४, २५) के हामी गाह्रो परिस्थिति आइपर्दा पनि यी विषयमा यहोवाको आज्ञा पालन गर्छौं? हाम्रो आज्ञाकारिता हामी परिपक्वतातर्फ अघि बढ्‌दैछौं भन्‍ने कुराको संकेत हो।

ख्रीष्टियान परिपक्वता—किन लाभकारी?

१४. परिपक्वतातर्फ अघि बढ्‌नु कसरी सुरक्षा हुन सक्छ, उदाहरणसहित बताउनुहोस्‌।

१४ “सम्पूर्ण नैतिक चेतना गुमाइसकेका” संसारमा सही र गलत छुट्याउन सक्ने गरी उचित तालिम पाएको ज्ञानेन्द्रिय शक्‍ति हुनु ख्रीष्टियानहरूका लागि साँच्चै एउटा सुरक्षा हो। (एफि. ४:१९, NW) उदाहरणको लागि जेम्स भन्‍ने एक जना भाइको अनुभवलाई लिनुहोस्‌। तिनी सधैं बाइबल साहित्यहरू पढ्‌थे र यसको एकदमै मोल गर्थे। जेम्सले केटी नै केटी मात्र काम गर्ने ठाउँमा जागिर स्वीकारे। तिनी भन्छन्‌, “ती केटीहरूमध्ये थुप्रै नैतिक तवरमा खतम भएको स्पष्टै देखिन्थ्यो तर एउटी केटी चाहिं चरित्रवान्‌ देखिन्थिन्‌ र बाइबल सच्चाइमा चासो देखाउँथिन्‌। तर एक दिन अफिसको एउटा कोठामा त्यो केटी र म मात्र हुँदा मसँग लेसिन आइन्‌। एकछिन त ठट्टा गरेजस्तो लाग्यो तर उनलाई रोक्न असाध्यै गाह्रो भयो। त्यति नै खेर त्यस्तै अवस्थामा परेको एक जना भाइको अनुभव प्रहरीधरहरा-मा पढेको सम्झें। त्यस लेखमा यूसुफ र पोतीफरकी पत्नीको उदाहरण दिइएको थियो। b मैले तुरुन्तै त्यो केटीलाई घचेटें र उनी भागिन्‌।” (उत्प. ३९:७-१२) त्यसभन्दा अप्रिय केही हुन नपाएकोमा र आफ्नो असल अन्तस्करण कायम राख्न सकेकोमा जेम्स खुसी छन्‌।—१ तिमो. १:५.

१५. परिपक्वतातर्फ अघि बढ्‌दा हाम्रो हृदय कसरी बलियो हुन सक्छ?

१५ परिपक्वता लाभकारी हुनुको अर्को कारण यसले हाम्रो हृदयलाई बलियो बनाउँछ र हामीलाई “नाना किसिमका र अनौठा शिक्षाहरूबाट” जोगाउँछ। (हिब्रू १३:९ पढ्‌नुहोस्‌) आध्यात्मिक प्रगति गर्ने प्रयास गर्दा हाम्रो मन “जे उत्तम छ” ती कुराहरूमै केन्द्रित रहन्छ। (फिलि. १:९, १०, NRV ) यसरी हामी परमेश्‍वर र उहाँले हाम्रो लाभको लागि गरेका सबै प्रबन्धप्रति अझै कृतज्ञ हुन सक्नेछौं। (रोमी ३:२४) “समझमा मानिस” भएको ख्रीष्टियानले त्यस्तो कृतज्ञता विकास गर्छ र परमेश्‍वरसित घनिष्ठ सम्बन्धको आनन्द उठाउँछ।—१ कोरि. १४:२०.

१६. एउटी बहिनीले के गर्दा “आफ्नो हृदयलाई स्थिर” बनाउन सकिन्‌?

१६ लुजी नाउँ गरेकी बहिनीले स्वीकारिन्‌ कि बप्तिस्मा लिएको केही समयपछि पनि तिनको मुख्य चिन्ताको विषय अरूले तिनलाई कसरी हेरिरहेका छन्‌ भन्‍ने थियो। तिनी भन्छिन्‌, “मैले गल्ती त केही गरेको थिइनँ तर मेरो मनै-मनमा परमेश्‍वरको सेवा गर्ने इच्छा त्यति प्रबल थिएन। अनि यदि मैले यहोवाको लागि सक्दो सबै गरिरहेको छु भन्‍ने महसुस गर्न चाहन्छु भने केही परिवर्तन गर्नै पर्छ भनेर बुझें। गर्नुपर्ने सबैभन्दा ठूलो परिवर्तन भनेको दत्तचित्तका साथ यहोवाको उपासनामा लाग्नु थियो।” त्यस्तो प्रयास गर्दा लुजीले “आफ्नो हृदयलाई स्थिर” बनाउन सकिन्‌ र यो, पछि तिनलाई पीडादायी रोग लाग्दा अत्यावश्‍यक साबित भयो। (याकू. ५:८) लुजीले भनिन्‌, “मैले निकै संघर्ष गर्नुपऱ्‍यो तर यहोवासित एकदमै नजिक भएँ।”

‘हृदयबाटै मान्‍नुहोस्‌’

१७. आज्ञाकारी हुनु प्रथम शताब्दीमा किन विशेषगरि महत्त्वपूर्ण थियो?

१७ ‘परिपक्वतातर्फ बढ’ भन्‍ने पावलको सल्लाह यरूशलेम र यहूदियामा बस्ने प्रथम शताब्दीका ख्रीष्टियानहरूका लागि जीवनदायी साबित भयो। यो सल्लाह पालन गर्नेहरूसित ‘पहाडहरूतिर भाग्न’ येशूले दिएको चिह्न चिन्‍न चाहिने तीक्ष्ण आध्यात्मिक समझ थियो। “उजाड गर्ने घृणित कुरा पवित्र स्थानमा खडा भएको” अर्थात्‌ रोमीहरूले यरूशलेमलाई घेरेर आक्रमण गर्न लागेको देखेपछि भाग्ने समय भयो भनेर तिनीहरूले बुझे। (मत्ती २४:१५, १६) येशूको भविष्यसूचक चेताउनी पालन गर्दै ख्रीष्टियानहरू यरूशलेमको विनाशअघि नै त्यहाँबाट भागे र चर्चका इतिहासकार युसिबियसअनुसार तिनीहरू गिलादको पहाडी क्षेत्र पेलामा बसोबास गर्न थाले। यसरी तिनीहरू यरूशलेमको इतिहासको एउटा कालो रातबाट बचे।

१८, १९. (क) हाम्रो समयमा आज्ञाकारी हुनु किन अत्यावश्‍यक छ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

१८ परिपक्वतातर्फ बढ्‌दा सिकिने आज्ञाकारीता, पहिला कहिल्यै नभएको “महासंकष्ट हुनेछ” भन्‍ने येशूको भविष्यवाणीको विस्तृत पूर्ति हुँदा पनि जीवनदायी साबित हुनेछ। (मत्ती २४:२१) ‘विश्‍वासी भण्डारेबाट’ भविष्यमा आउन सक्ने कुनै पनि महत्त्वपूर्ण निर्देशनप्रति के हामी आज्ञाकारी हुनेछौं? (लूका १२:४२) ‘हृदयबाट मान्‍ने’ हुन सिक्नु कत्ति महत्त्वपूर्ण!—रोमी ६:१७.

१९ परिपक्व हुन ज्ञानेन्द्रिय शक्‍तिलाई तालिम दिनुपर्छ। यो हामी परमेश्‍वरको वचनसित राम्ररी परिचित भएर र आज्ञाकारी हुन सिकेर गर्न सक्छौं। ख्रीष्टियान परिपक्वतातर्फ बढ्‌नु विशेषगरि जवानहरूका लागि चुनौती हुन सक्छ। यस्तो चुनौतीको सफलता साथ कसरी सामना गर्न सकिन्छ, यसपछिको लेखले बताउनेछ। (w 09 5/15)

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b प्रहरीधरहरा अक्टोबर १, १९९९ मा “गलत काम गर्दिनँ भन्‍न दृढ” भन्‍ने लेख हेर्नुहोस्‌।

तपाईंले के सिक्नुभयो?

• आध्यात्मिक परिपक्वता के हो र यो कसरी प्राप्त गर्न सक्छौं?

• परिपक्वतातर्फ अघि बढ्‌नुमा परमेश्‍वरको वचनसित परिचित हुनुले कस्तो भूमिका खेल्छ?

• हामी कसरी आज्ञाकारी हुन सिक्न सक्छौं?

• परिपक्वताले हामीलाई कुन-कुन तरिकामा लाभ पुऱ्‍याउँछ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

बाइबल सल्लाह लागू गर्दा हामी परिपक्व तरिकामा समस्याहरूको सामना गर्न मदत पाउँछौं

[पृष्ठ १६-मा भएको चित्र]

येशूको सल्लाह पालन गर्नु प्रथम शताब्दीका ख्रीष्टियानहरूका लागि जीवनदायी साबित भयो