सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘ख्रीष्टको’ पछि किन लाग्नुपर्छ?

‘ख्रीष्टको’ पछि किन लाग्नुपर्छ?

‘ख्रीष्टको’ पछि किन लाग्नुपर्छ?

“कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र . . . मेरो पछि लागोस्‌।”—लूका ९:२३.

१, २. ‘ख्रीष्टको’ पछि लाग्नुपर्ने कारण किन विचार नगरी हुँदैन?

 पृथ्वीमा भएका आफ्ना उपासकहरूको समूहमा तपाईं नव-जिज्ञासुहरू र कलिला केटाकेटीहरू देख्न पाउँदा यहोवा निश्‍चय नै खुसीले गद्‌गद हुनुहुन्छ। बाइबल अध्ययन गर्दै जाँदा, ख्रीष्टियान सभाहरूमा नियमित रूपमा उपस्थित हुन थाल्दा र परमेश्‍वरको वचनमा पाइने जीवन बचाउने सत्यको ज्ञान अझ धेरै लिंदै जाँदा येशूले दिएको यो निम्तोलाई तपाईंले गम्भीर भएर सोच्नैपर्छ: “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।” (लूका ९:२३) आफूलाई इन्कार गर्ने र उहाँको पछि लाग्ने इच्छा तपाईंकै हो भनेर येशू बताउँदै हुनुहुन्छ। त्यसकारण ‘ख्रीष्टको’ पछि लाग्नुपर्ने कारणबारे हामीले विचार नगरी हुँदैन।—मत्ती १६:१३-१६.

येशू ख्रीष्टको पाइलामा हिंड्‌न थालिसकेकाहरूबारे चाहिं के भन्‍न सकिन्छ नि? “तिमीहरू झन्‌ बढदै जाओ” भनी हामीलाई सल्लाह दिइएको छ। (१ थिस्स. ४:१, २) साँचो उपासनालाई हामीले हालसालै अँगालेका हौं वा वर्षौंदेखि, ख्रीष्टको पछि लाग्नुपर्ने कारण विचार गर्दा पावलले दिएको सल्लाह लागू गर्ने र हरेक दिन अझ राम्ररी येशूको पछि लाग्ने मदत पाउनेछौं। हामी ख्रीष्टको पछि किन लाग्नुपर्छ, पाँचवटा कारण विचार गरौं।

यहोवासित अझ घनिष्ठ हुन

३. यहोवालाई अझ राम्ररी चिन्‍न सक्ने दुई तरिका के-के हुन्‌?

“अरियोपागसको बीचमा खडा भएर” एथेन्सवासीहरूलाई सम्बोधन गर्दा प्रेरित पावलले यसो भने: परमेश्‍वरले “तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, तिनीहरूले परमेश्‍वरलाई खोजून्‌, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान्‌ कि भन्‍ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न।” (प्रेरि. १७:२२, २६, २७, NRV) हामी परमेश्‍वरलाई खोज्न सक्छौं र उहाँलाई साँच्चै चिन्‍न सक्छौं। उदाहरणको लागि सृष्टिलाई हेर्दा हामी परमेश्‍वरका गुण र उहाँको क्षमताबारे धेरै कुरा सिक्छौं। कृतज्ञ हुँदै उहाँका हातका कामहरूमा मनन गर्दा सृष्टिकर्ताबारे अझ धेरै सिक्न सक्छौं। (रोमी १:२०) आफ्नो लिखित वचन बाइबलमा पनि यहोवाले आफूबारे थुप्रै कुरा बताउनुभएको छ। (२ तिमो. ३:१६, १७) हामी जति धेरै यहोवाका ‘कामहरूमा ध्यान दिन्छौं’ र ‘उहाँका कार्यहरूमा घोरिन्छौं’ उहाँलाई त्यति नै राम्ररी चिन्‍न सक्छौं।—भज. ७७:१२.

४. येशूको पछि लाग्दा हामी कसरी यहोवासित अझ घनिष्ठ हुन सक्छौं?

यहोवासित अझ घनिष्ठ हुने राम्रो तरिका ख्रीष्टको पछि लाग्नु हो। “संसार हुनभन्दा अघि” आफ्नो पितासित हुँदा येशूको महिमा कस्तो थियो, सोच्नुहोस्‌ त! (यूह. १७:५) उहाँ “परमेश्‍वरको सृष्टिको . . . [“सुरु,” NW ]” हुनुहुन्छ। (प्रका. ३:१४) “सारा सृष्टिको जेठो” भएकोले उहाँले आफ्नो पिता यहोवासित स्वर्गमा जुगौंजुग बिताउनुभयो। मानवपूर्व अस्तित्वको त्यस अवधिमा येशूले आफ्नो पितासित समयमात्र बिताउनुभएन। उहाँ परमेश्‍वरको घनिष्ठ सहकर्मी हुनुहुन्थ्यो जसले आनन्द मान्दै सर्वशक्‍तिमान्‌ परमेश्‍वरसँग काम गर्नुभयो र अरू कसैले अहिलेसम्म गाँस्न नसकेको घनिष्ठ सम्बन्ध आफ्नो पितासित गाँस्नुभयो। येशूले पिताका भावना र गुणहरू याद गर्दै उहाँको काम गर्ने तौरतरिका हेर्नुमात्र भएन; पिताबारे सिकेका सबै कुरामा मग्न हुनुका साथै त्यसलाई स्वीकार्नु पनि भयो। परिणामस्वरूप आज्ञाकारी पुत्र आफ्नो पिताजस्तै हुनुभयो—यति दुरुस्त कि बाइबलले उहाँलाई “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भनेर चिनाउँछ। (कल. १:१५) अझ राम्ररी येशूको पछि लाग्दा हामी यहोवासित अझ धेरै घनिष्ठ हुन सक्छौं।

अझ राम्ररी यहोवाको अनुकरण गर्न

५. अझ राम्ररी यहोवाको अनुकरण गर्न हामीलाई केले मदत गर्नेछ र किन?

हामी ‘परमेश्‍वरकै स्वरूपमा, उहाँकै प्रतिरूपमा बनिएका’ छौं। त्यसैले हामीमा परमेश्‍वरका गुणहरू देखाउन सक्ने क्षमता छ। (उत्प. १:२६) प्रेरित पावलले ख्रीष्टियानहरूलाई “प्रिय बालकहरूझैं परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ” भनेर सल्लाह दिए। (एफि. ५:१) येशूको पछि लाग्दा स्वर्गमा बस्ने हाम्रा पिताको अनुकरण गर्ने मदत पाउँछौं। किनभने परमेश्‍वरको सोचाइ, भावना र व्यक्‍तित्व झल्काउने अनि उहाँबारे अरूलाई सिकाउन सक्ने व्यक्‍ति येशूजस्तो अरू कोही छैन। पृथ्वीमा हुँदा येशूले अरूलाई यहोवाको नाउँमात्रै चिनाउनुभएन। परमेश्‍वर कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर पनि प्रकट गर्नुभयो। (मत्ती ११:२७ पढ्‌नुहोस्‌) येशूले आफ्नो वचन र काम अनि आफ्नो शिक्षा र उदाहरणद्वारा यसो गर्नुभयो।

६. येशूको शिक्षाले यहोवाबारे के प्रकट गर्छ?

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ र उहाँका उपासकहरूबारे उहाँ कस्तो महसुस गर्नुहुन्छ भनेर येशूले आफ्नो शिक्षाद्वारा देखाउनुभयो। (मत्ती २२:३६-४०; लूका १२:६, ७; १५:४-७) उदाहरणको लागि “तैंले व्यभिचार नगर्नू” भन्‍ने दस आज्ञामध्येको एउटा आज्ञा उद्धरण गरेपछि व्यभिचार गर्नुभन्दा धेरैअघि नै मानिसको हृदयमा के आउँछ भन्‍नेबारे येशूले परमेश्‍वरको दृष्टिकोण बताउनुभयो। उहाँले भन्‍नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (प्रस्थ. २०:१४; मत्ती ५:२७, २८) व्यवस्थाको आज्ञालाई बङ्‌ग्याएर फरिसीहरू “तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर” भन्‍ने गलत धारणा राख्छन्‌ भनेर बताएपछि यसबारे यहोवाको सोचाइ येशूले यसरी प्रस्ट पार्नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।” (मत्ती ५:४३, ४४; प्रस्थ. २३:४; लेवी १९:१८) परमेश्‍वरको सोचाइ र भावना अनि उहाँले हामीबाट चाहने कुरा बुझ्दा हामी अझ राम्ररी उहाँको अनुकरण गर्न सक्छौं।

७, ८. येशूको उदाहरणबाट हामी यहोवाबारे के सिक्छौं?

आफ्नो उदाहरणद्वारा पनि येशूले पिता कस्तो हुनुहुन्छ, त्यो प्रकट गर्नुभयो। खाँचोमा परेकाहरूप्रति येशूले देखाएको कोमलता, दुःख पाइरहेकाहरूप्रति उहाँले देखाएको समानुभूति र साना केटाकेटीलाई हकार्ने चेलाहरूसँग उहाँले पोखेको आक्रोशबारे सुसमाचारका पुस्तकमा पढ्‌दा के हामी यहोवा पनि यस्तै महसुस गर्नुहुन्छ भनी बुझ्दैनौं र? (मर्कू. १:४०-४२; १०:१३, १४; यूह. ११:३२-३५) येशूका कामले परमेश्‍वरका प्रमुख गुणहरू बुझ्न हामीलाई कसरी मदत गर्छ सोच्नुहोस्‌। ख्रीष्टले गर्नुभएका चमत्कारहरूले उहाँसित अथाह शक्‍ति थियो भनी देखाउँदैन र? तैपनि त्यो शक्‍ति उहाँले आफ्नै फाइदाको लागि वा अरूलाई हानी पुऱ्‍याउने अभिप्रायले कहिल्यै प्रयोग गर्नुभएन। (लूका ४:१-४) लोभी व्यापारीहरूलाई मन्दिरबाट लघारेको घटनाले उहाँको न्यायलाई कत्ति राम्ररी छर्लङ्‌ग पार्छ! (मर्कू. ११:१५-१७; यूह. २:१३-१६) उहाँका शिक्षा तथा मानिसहरूको हृदय छुन उहाँले प्रयोग गर्नुभएका अनुग्रहका शब्दहरूले बुद्धिमा उहाँ “सुलेमानभन्दा श्रेष्ठ” हुनुहुन्थ्यो भनी देखाउँछ। (मत्ती १२:४२) अरूको लागि आफ्नो प्राण अर्पण गरेर येशूले देखाएको प्रेमबारे बाइबलले यसरी सुन्दर ढङ्‌गमा बताएको छ: योभन्दा “बढ्‌ता प्रेम कसैको हुँदैन।”—यूह. १५:१३.

आफूले भनेको र गरेको हरेक कुरामा परमेश्‍वरको पुत्रले यहोवाको अनुकरण यत्ति दुरुस्त गर्नुभयो कि उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूहन्‍ना १४:९-११ पढ्‌नुहोस्‌) येशूको पछि लाग्नु भनेको यहोवाकै पछि लाग्नु बराबर हो।

येशू यहोवाले अभिषेक गरेको व्यक्‍ति हुनुहुन्छ

९. येशू कहिले र कसरी परमेश्‍वरले अभिषेक गरेको व्यक्‍ति हुनुभयो?

इस्वी संवत्‌ २९ को शरद्‌ ऋतुमा ३० वर्षका येशू बप्तिस्मा दिने यूहन्‍नाकहाँ जाँदा के भयो, विचार गर्नुहोस्‌। “येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्‍वरका आत्मालाई ढुकुर झैं ओर्लंदै गर्नुभएको औ आफूमाथि आउँदै गर्नुभएको देख्नुभयो।” त्यसबेला उहाँ ख्रीष्ट वा मसीह हुनुभयो। आफूले अभिषेक गरेको व्यक्‍ति येशू नै हो भनेर चिनाउँदै त्यति नै बेला यहोवा आफैले यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१३-१७) येशूको पछि लाग्नुपर्ने कत्ति असल कारण!

१०, ११. (क) येशूको सन्दर्भमा “ख्रीष्ट” भन्‍ने उपाधि कुन-कुन तरिकामा प्रयोग गरिएको छ? (ख) हामी येशू ख्रीष्टको पछि किन लाग्नुपर्छ?

१० येशूको सन्दर्भमा “ख्रीष्ट” भन्‍ने उपाधि बाइबलमा विभिन्‍न तरिकामा प्रयोग गरिएको छ। जस्तै: येशू ख्रीष्ट, ख्रीष्ट येशू र ख्रीष्ट। येशू आफैले नै सबैभन्दा पहिला “येशू ख्रीष्ट” भन्‍ने पदावली प्रयोग गर्नुभयो। यहाँ नाउँपछाडि उपाधि प्रयोग गरिएको छ। पितालाई प्रार्थना गर्दा उहाँले यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूह. १७:३) नाउँपछि ख्रीष्ट भन्‍ने उपाधि हुनुले येशू यहोवाद्वारा पठाइएको र उहाँले अभिषेक गरेको व्यक्‍ति हुनुहुन्छ भनेर स्पष्ट पार्छ। “ख्रीष्ट येशू” भनेर नाउँअघि उपाधि हुँदाचाहिं व्यक्‍तितर्फ होइन तर उहाँको ओहोदातर्फ जोड जान्छ। (२ कोरि. ४:५) त्यसैगरि “ख्रीष्ट” भन्‍ने आधिकारिक उपाधि प्रयोग गर्नु येशूको मसीह पदलाई जोड दिने अर्को तरिका हो।—प्रेरि. ५:४२.

११ येशूको सन्दर्भमा “ख्रीष्ट” भन्‍ने उपाधि जुनसुकै तरिकाले प्रयोग गरिए तापनि यसले यो महत्त्वपूर्ण सत्यलाई जोड दिन्छ: परमेश्‍वरका पुत्रले पृथ्वीमा मानिसको रूपमा आएर पिताको इच्छा प्रकट गरे तापनि उहाँ कुनै साधारण मानिस वा भविष्यवक्‍ता मात्रै हुनुहुन्‍नथ्यो। उहाँ यहोवाले अभिषेक गरेको व्यक्‍ति हुन पृथ्वीमा आउनुभयो। हामी यी अभिषिक्‍त व्यक्‍तिको पछि लाग्नैपर्छ।

मुक्‍तितर्फ डोऱ्‍याउने एकमात्र बाटो येशू हुनुहुन्छ

१२. आफ्नो मृत्युभन्दा केही समयअघि येशूले आफ्ना प्रेरित थोमालाई कुन महत्त्वपूर्ण कुरा भन्‍नुभयो?

१२ मसीहको पछि लागिरहनुपर्ने अर्को महत्त्वपूर्ण कारण येशूले आफ्नो मृत्युभन्दा केही समयअघि आफ्ना वफादार चेलाहरूलाई भनेका शब्दहरूमा पाउँछौं। येशूले अब आफू जाने र तिनीहरूका निम्ति ठाउँ तयार पार्ने विषयमा कुरा गर्दा थोमाले सोधेको प्रश्‍नको जवाफ उहाँले यसरी दिनुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूह. १४:१-६) त्यसबेला येशू आफ्ना ११ जना वफादार चेलाहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो। येशूले तिनीहरूका निम्ति स्वर्गमा ठाउँ तयार पार्ने प्रतिज्ञा गर्नुभयो। तर उहाँका शब्दहरूले पृथ्वीमा अनन्त जीवन पाउने आशा भएकाहरूका लागि पनि ठूलो अर्थ राख्छ। (प्रका. ७:९, १०; २१:१-४) किन यसो भन्‍न सकिन्छ?

१३. येशू कुन अर्थमा “बाटो” हुनुहुन्छ?

१३ येशू ख्रीष्ट “बाटो” हुनुहुन्छ। मतलब, परमेश्‍वरको नजिक जान हामीलाई सम्भव बनाउने एकमात्र व्यक्‍ति उहाँ नै हुनुहुन्छ। प्रार्थनाको सन्दर्भमा यसो भन्‍न सकिन्छ किनकि येशूको नाउँमा प्रार्थना गर्दामात्र पिताको इच्छाबमोजिम हामीले मागेको जुनसुकै कुरा पिताले पूरा गरिदिनुहुनेछ भन्‍ने आश्‍वासन हामीले पाएका छौं। (यूह. १५:१६) तर अन्य तरिकामा पनि येशू “बाटो” हुनुहुन्छ। पापले मानिसजातिलाई परमेश्‍वरबाट बिरानो तुल्याएको छ। (यशै. ५९:२) येशूले “धेरैको उद्धारको निम्ति आफ्नो प्राण” दिनुभयो। (मत्ती २०:२८) यसले सम्भव तुल्याएको नतिजाबारे बाइबल यसो भन्छ: “येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ।” (१ यूह. १:७) यसरी पुत्रले हाम्रो निम्ति परमेश्‍वरसँग मिलाप गर्ने बाटो खोलिदिनुभयो। (रोमी ५:८-१०) येशूमा विश्‍वास गरेर र उहाँको आज्ञा मानेर हामी परमेश्‍वरसित सम्बन्ध गाँस्न सक्छौं।—यूह. ३:३६.

१४. येशू कुन अर्थमा “सत्य” हुनुहुन्छ?

१४ सत्यबारे बोलेको र त्यसै अनुरूप जीवन बिताएकोले मात्र होइन तर मसीहबारे गरिएका सम्पूर्ण भविष्यवाणी उहाँमा नै पूरा भएकोले पनि येशू “सत्य” हुनुहुन्छ। “परमेश्‍वरका जुनसुकै प्रतिज्ञाहरू पनि उहाँमा ‘हो’ नै भनिएका छन्‌” भनी प्रेरित पावलले लेखे। (२ कोरि. १:२०) मोशाको व्यवस्थामा भएको “आउने उत्तम कुराहरूको . . . छाया”-समेत ख्रीष्ट येशूमा वास्तविक भयो। (हिब्रू १०:१; कल. २:१७) सम्पूर्ण भविष्यवाणी येशूमा नै केन्द्रित छन्‌ र ती भविष्यवाणीले हामीलाई यहोवाको उद्देश्‍य पूरा गर्न येशूले निर्वाह गर्ने भूमिका बुझ्न मदत गर्छ। (प्रका. १९:१०) परमेश्‍वरले हाम्रो लागि राखेको उद्देश्‍यबाट लाभ उठाउन हामी मसीहको पछि लाग्नु जरुरी छ।

१५. येशू कुन अर्थमा “जीवन” हुनुहुन्छ?

१५ मानवजातिलाई आफ्नो रगतबाट किनेकोले अनि “हाम्रा प्रभु येशू ख्रीष्ट”-द्वारा नै यहोवाले हामीलाई अनन्त जीवनको आशा दिएकोले येशू “जीवन” हुनुहुन्छ। (रोमी ६:२३) मरिसकेकाहरूका लागि पनि येशू “जीवन” हुनुहुन्छ। (यूह. ५:२८, २९) अझ, हजार वर्षीय आफ्नो शासनको दौडान प्रधान पूजाहारीको रूपमा उहाँले गर्ने कामलाई सम्झनुहोस्‌ त! उहाँले पृथ्वीका आफ्ना मानिसहरूलाई पाप र मृत्युबाट सधैंको लागि छुटकारा दिनुहुनेछ।—हिब्रू ९:११, १२, २८.

१६. हामीसित येशूको पछि लाग्नुपर्ने कस्तो कारण छ?

१६ त्यसबेला येशूले थोमालाई दिएको जवाफले हाम्रो लागि ठूलो अर्थ राख्छ। येशू बाटो, सत्य र जीवन हुनुहुन्छ। संसार उहाँबाट बचोस्‌ भनेर परमेश्‍वरले पठाएको व्यक्‍ति उहाँ नै हुनुहुन्छ। (यूह. ३:१७) उहाँबाहेक अरू कोहीद्वारा पिताकहाँ जान सकिंदैन। बाइबल स्पष्टसँग यसो भन्छ: “नता अरू कसैबाट मुक्‍ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।” (प्रेरि. ४:१२) त्यसैले विगतमा हामीलाई जेसुकै सिकाइएको भए तापनि येशूमा विश्‍वास गर्नु, उहाँको पछि लाग्नु र जीवनतर्फ डोरिनु नै हाम्रो लागि बुद्धिमानी मार्ग हो।—यूह. २०:३१.

हामीलाई ख्रीष्टको कुरा सुन्‍ने आज्ञा दिइएको छ

१७. परमेश्‍वरको पुत्रको कुरा सुन्‍नु हाम्रो लागि किन महत्त्वपूर्ण छ?

१७ पत्रुस, यूहन्‍ना र याकूबले एउटा असाधारण दृश्‍य देखे। त्यसबेला स्वर्गबाट यस्तो आवाज आएको उनीहरूले सुने: “यी मेरा पुत्र, मैले छोनेका पुत्र हुन्‌। तिनको वचन सुन।” (लूका ९:२८, २९, ३५) मसीहको कुरा सुन्‍न दिइएको आज्ञा पालन गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।— प्रेरित ३:२२, २३ पढ्‌नुहोस्‌।

१८. के गरेमा हामी येशू ख्रीष्टको कुरा सुन्‍न सक्छौं?

१८ येशूको कुरा सुन्‍नुमा उत्सुक भएर ‘येशूलाई हेर्नु र उहाँको उदाहरण विचार गर्नु’ समावेश छ। (हिब्रू १२:२, ३) त्यसैले बाइबलमा र “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले तयार पारेका प्रकाशनमा हामीले उहाँबारे पढेका र ख्रीष्टियान सभाहरूमा हामीले उहाँबारे सुनेका कुराहरूलाई “झन्‌ बढी उत्कट ध्यान दिनु” आवश्‍यक छ। (हिब्रू २:१; मत्ती २४:४५) येशूको भेडाको हैसियतमा हामी उहाँको कुरा सुन्‍न र उहाँको पछि लाग्न उत्सुक होऔं।—यूह. १०:२७.

१९. निरन्तर ख्रीष्टको पछि लाग्न हामीलाई केले मदत दिन्छ?

१९ के जस्तोसुकै गाह्रो परिस्थितिमा पनि ख्रीष्टको पछि लागिरहन सम्भव छ? पक्कै छ। “ख्रीष्ट येशूमा भएको विश्‍वास र प्रेम”-लाई व्यवहारमा उतार्दै ‘पक्का कुराहरूको नमूना पक्रीराख्यौं’ भने सम्भव छ।—२ तिमो. १:१३.

(w 09 5/15)

तपाईंले के सिक्नुभयो?

• येशूको पछि लाग्दा हामी किन यहोवासित अझ घनिष्ठ हुन सक्छौं?

• येशूको पछि लाग्नु भनेको किन यहोवाकै पछि लाग्नु बराबर हो?

• कुन अर्थमा येशू “बाटो, सत्य र जीवन” हुनुहुन्छ?

• यहोवाले अभिषेक गरेको व्यक्‍तिको कुरा हामीले किन सुन्‍नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

येशूको शिक्षाले यहोवाको उच्च सोचाइ प्रतिबिम्बित गऱ्‍यो

[पृष्ठ ३०-मा भएको चित्र]

वफादार भएर हामी यहोवाले अभिषेक गरेको व्यक्‍तिको पछि लाग्नैपर्छ

[पृष्ठ ३२-मा भएको चित्र]

यहोवाले यस्तो घोषणा गर्नुभयो: “यी मेरा पुत्र . . . हुन्‌। तिनको वचन सुन”