सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको घरको निम्ति जोस देखाउनुहोस्‌!

यहोवाको घरको निम्ति जोस देखाउनुहोस्‌!

यहोवाको घरको निम्ति जोस देखाउनुहोस्‌!

“तपाईंको घरको जोशले मलाई खाइहाल्नेछ।”—यूह. २:१७.

१, २. इस्वी संवत्‌ ३० मा येशूले मन्दिरमा के गर्नुभयो र किन?

 यो दृश्‍य कल्पना गर्नुहोस्‌। समय इस्वी संवत्‌ ३०, निस्तार चाडको हो। येशूले पृथ्वीमा प्रचारकार्य सुरु गरेको छ महिना भएको छ। अब उहाँ यरूशलेम जानुहुन्छ। मन्दिरमा अन्यजातिहरूको चोकमा “गोरु, भेडा र परेवा बेच्नेहरू र सराफीहरूलाई बसिरहेका” भेट्टाउनुहुन्छ। डोरीको कोर्रा झटार्दै उहाँ सबै जनावरलाई त्यहाँबाट धपाउनुहुन्छ र व्यापारीहरू तिनीहरूको पछि-पछि लाग्छन्‌। येशूले पैसा साट्‌नेहरूको पैसा पनि छरपस्ट पारिदिनुहुन्छ र तिनीहरूको टेबल पल्टाइदिनुहुन्छ। परेवा बेच्नेहरूलाई उहाँ आफूसित भएका चीजबीज लिएर गइहाल्न आदेश दिनुहुन्छ।—यूह. २:१३-१६.

येशूको यस कार्यबाट मन्दिरप्रति उहाँको गहिरो चासो देखिन्छ। उहाँ यस्तो आदेश दिनुहुन्छ: “मेरा पिताको घर व्यापारको घर नतुल्याओ”! यी घटना देख्दा येशूका चेलाहरू भजनरचयिता दाऊदले वर्षौंअघि लेखेका शब्दहरू सम्झन्छन्‌: “तपाईंको घरको जोशले मलाई खाइहाल्नेछ।”—यूह. २:१६, १७; भज. ६९:९.

३. (क) जोस भनेको के हो? (ख) हामी आफैलाई कस्तो प्रश्‍न सोध्न सक्छौं?

परमेश्‍वरको घरप्रति उहाँको चासो र जोसले येशूलाई काम गर्न उत्प्रेरित गऱ्‍यो। जोस भनेको “कुनै कुराको पछि लाग्न देखाइने उत्सुकता र व्यग्रता” हो। अहिले २१ औं शताब्दीमा ७० लाखभन्दा धेरै ख्रीष्टियानले परमेश्‍वरको घरको निम्ति जोस देखाइरहेका छन्‌। हामी आफैलाई यसरी सोध्न सक्छौं, ‘यहोवाको घरको निम्ति म आफ्नो जोस कसरी बढाउन सक्छु?’ यो प्रश्‍नको जवाफ दिन हामीलाई मदत पुगोस्‌ भनेर आज परमेश्‍वरको घर भनेको के हो, आउनुहोस्‌ पहिला त्यो बुझौं। त्यसपछि परमेश्‍वरको घरको निम्ति जोस देखाएका बाइबलमा उल्लिखित वफादार मानिसहरूको उदाहरण छलफल गर्नेछौं। तिनीहरूको उदाहरण “हाम्रो शिक्षाको निम्ति” लेखिएका थिए र यसले हामीलाई अझ धेरै जोस देखाउन प्रेरणा दिन सक्छ।—रोमी १५:४.

परमेश्‍वरको घर—पहिले र अहिले

४. सुलेमानले बनाएका मन्दिरले कुन उद्देश्‍य पूरा गऱ्‍यो?

प्राचीन इस्राएलमा यरूशलेममा मन्दिर थियो र त्यसलाई परमेश्‍वरको घर पनि भनिन्थ्यो। हो, यहोवा साँच्चै नै त्यहीं आएर बस्नुभएन। उहाँले यस्तो घोषणा गर्नुभयो: “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिं मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले कस्तो भवन बनाउनेछौ? औ मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?” (यशै. ६६:१) जेहोस्‌, सुलेमानको शासनकालमा बनाइएको मन्दिर यहोवाको उपासना गर्ने प्रमुख ठाउँ थियो जहाँ प्रार्थना चढाइन्थ्यो।—१ राजा ८:२७-३०.

५. सुलेमानको मन्दिरमा गरिने उपासनाले वर्तमान समयको कुन प्रबन्धलाई पूर्वचित्रण गर्थ्यो?

आज यहोवाको घर यरूशलेम वा अन्य कुनै ठाउँमा बनाइएको भवन होइन। बरु ख्रीष्टको छुडौतीको बलिदानको आधारमा यहोवाको उपासना गरेर उहाँको नजिक जाने प्रबन्ध हो। यहोवाका सम्पूर्ण वफादार सेवकहरू यस आध्यात्मिक मन्दिरमा उहाँको उपासना गर्न भेला हुन्छन्‌।—यशै. ६०:४, ८, १३; प्रेरि. १७:२४; हिब्रू ८:५; ९:२४.

६. यहूदाका कुन-कुन राजाले साँचो उपासनाको लागि उल्लेखनीय जोस देखाए?

ईसापूर्व ९९७ मा इस्राएल विभाजन भएपछि दक्षिणी भाग अर्थात्‌ यहूदामा शासन गर्ने १९ राजामध्ये ४ राजाले साँचो उपासनाको निम्ति उल्लेखनीय जोस देखाए। तिनीहरू आसा, यहोशापात, हिजकियाह र योशियाह थिए। तिनीहरूको उदाहरणबाट हामी कस्ता गहन पाठहरू सिक्न सक्छौं?

पूर्ण हृदयले सेवा गर्दा आशिष्‌ पाइन्छ

७, ८. (क) यहोवा कसरी गरेको सेवालाई आशिष्‌ दिनुहुन्छ? (ख) राजा आसाको उदाहरणबाट हामी कस्तो चेतावनीमूलक पाठ सिक्न सक्छौं?

आफ्नो राष्ट्रलाई विश्‍वासी मार्गमा डोऱ्‍याउन यहोवाले राजा आसाको शासनकालमा भविष्यवक्‍ताहरूको प्रबन्ध मिलाउनुभयो। उदाहरणको लागि आसाले ओदेदका छोरा भविष्यवक्‍ता अजर्याहको कुरा सुने भनी बाइबल बताउँछ। (२ इतिहास १५:१-८ पढ्‌नुहोस्‌) आसाको सुधारले यहूदाका मानिसहरू र यरूशलेममा भेला हुन आएका इस्राएल राज्यको ठूलो जमातलाई एकजुट गरायो। वफादार भएर यहोवाको उपासना गर्ने संकल्प गरेको घोषणा तिनीहरूले एकसाथ गरे। हामी यस्तो लेखिएको पाउँछौं: “ठूलो सोरले चिच्याएर तुरही र नरसिङ्‌गा बजाउँदै तिनीहरूले स्वयं परमप्रभुको शपथ खाएर बाचा बाँधे। सारा यहूदा यो शपथ खाएकोले गर्दा आनन्दित भए। किनभने तिनीहरूले आफ्ना पूरा मनले परमेश्‍वरलाई यत्नपूर्वक खोजेका थिए। औ उहाँ पनि तिनीहरूले पाऊन्‌ भनी स्वयं प्रकट हुनुभएको थियो। यसैकारण परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभएको थियो।” (२ इति. १५:९-१५) पूर्ण हृदयले यहोवाको सेवा गर्दा निश्‍चय नै उहाँले हामीलाई पनि यसरी नै आशिष्‌ दिनुहुनेछ।—मर्कू. १२:३०.

दुःखको कुरा, पछि दर्शी हनानीबाट सल्लाह पाउँदा आसा रिसाए। (२ इति. १६:७-१०) यहोवाले हामीलाई ख्रीष्टियान प्राचीनहरूद्वारा सल्लाह वा निर्देशन दिंदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? प्राचीनहरूले बाइबल आधारित भएर दिएको सल्लाह के हामी तुरुन्तै स्वीकारेर लागू गर्छौं र रिस देखाउनदेखि जोगिन्छौं?

९. यहोशापात र सम्पूर्ण यहूदा किन डराउनुपऱ्‍यो र तिनीहरूले के गरे?

यहोशापातले ईसापूर्व दशौं शताब्दीमा यहूदामा राज्य गरे। उनी र सम्पूर्ण यहूदालाई अम्मोनी, मोआबी र सेईरको पहाडी देशका मानिसहरूको संयुक्‍त सेनाले धम्क्याए। डर लागे तापनि यी राजाले के गरे? उनी र उनका मानिसहरूलगायत उनीहरूका पत्नी तथा छोराछोरीहरू प्रार्थना गर्न यहोवाको घरमा भेला भए। (२ इतिहास २०:३-६ पढ्‌नुहोस्‌) पहिला मन्दिर समर्पण गर्दा सुलेमानले भनेझैं यहोशापातले पनि यहोवालाई मन खोलेर यसरी बिन्ती गरे: “हे परमेश्‍वर, हाम्रा परमेश्‍वर, तिनीहरूको न्याय गर्नुहोस्‌। किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्यदलको सामना गर्न हाम्रो केही शक्‍ति छैन। हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं। हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।” (२ इति. २०:१२, १३) यहोशापातले समुदायको माझ प्रार्थना गरेपछि मानिसहरू ढुक्क हुन सक्ने सान्त्वनादायी शब्द बोल्न यहोवाको आत्माले लेवी यहजीएललाई प्रेरित गऱ्‍यो।—२ इतिहास २०:१४-१७ पढ्‌नुहोस्‌।

१०. (क) यहोशापात र यहूदा राज्यले यहोवाको निर्देशन कसरी पाए? (ख) यहोवाले आज हामीलाई दिने निर्देशनप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं?

१० हो, त्यतिखेर यहोशापात र यहूदा राज्यले यहजीएलमार्फत यहोवाको निर्देशन पाए। आज हामी विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत सान्त्वना र निर्देशन पाउँछौं। हाम्रो हेरचाह गर्न र “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले दिएको निर्देशन लागू गर्न कडा परिश्रम गर्ने नियुक्‍त प्राचीनहरूलाई हामी सधैं सहयोग र आदर गर्न चाहन्छौं।—मत्ती २४:४५; १ थिस्स. ५:१२, १३.

११, १२. यहोशापात र यहूदा राज्यलाई जे भयो त्यसबाट हामी के पाठ सिक्न सक्छौं?

११ यहोशापात र उनका मानिसहरू यहोवाको डोऱ्‍याइ खोज्न एकसाथ भेला भएझैं, हाम्रा भाइबहिनीसँगै मण्डलीका सभाहरूमा नियमित रूपमा एकसाथ भेला हुने कुरालाई हामी बेवास्ता नगरौं। यदि हामी असाध्यै अप्ठेरो परिस्थितिमा पऱ्‍यौं र के गर्ने भनेर थाहै पाउन सकेनौं भने यहोशापात र यहूदाका मानिसहरूले बसालेको असल उदाहरण अनुकरण गरौं र यहोवामा पूर्ण भरोसा राख्दै प्रार्थना गरौं। (हितो. ३:५, ६; फिलि. ४:६, ७) हामी एक्लै छौं भने पनि यहोवालाई गर्ने प्रार्थनाले “संसारमा भएका [हाम्रा] दाज्यू-भाइहरू”-सित हामीलाई एक बनाउँछ।—१ पत्रु. ५:९.

१२ परमेश्‍वरले यहजीएलमार्फत दिएको निर्देशन यहोशापात र उनका मानिसहरूले पछ्याए। नतिजा कस्तो भयो? तिनीहरूले लडाइँ जिते र “विजयको साथ” “सितार, वीणा र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको भवनभित्र पसे।” (२ इति. २०:२७, २८) त्यसैगरि यहोवाले आफ्नो माध्यममार्फत दिने निर्देशनको हामी आदर गर्छौं र उहाँको प्रशंसा गर्न सहभागी हुन्छौं।

सभास्थलको राम्रो हेरविचार गर्नुहोस्‌

१३. आफ्नो शासनकालको सुरुमा हिजकियाहले कुन काम सुरु गरे?

१३ आफ्नो शासनकालको पहिलो महिनामा मन्दिर फेरि खोलेर र त्यसको मर्मत गरेर हिजकियाहले यहोवाको उपासनाप्रति जोस देखाए। परमेश्‍वरको घर शुद्ध पार्न उनले पूजाहारी तथा लेवीहरूको बन्दोबस्त मिलाए। तिनीहरूले यो काम १६ दिनमा सिध्याए। (२ इतिहास २९:१६-१८ पढ्‌नुहोस्‌) तिनीहरूको त्यस्तो प्रयासले हामी यहोवाको उपासनामा जोसिला छौं भनेर झल्काउने किसिमले सभास्थलको मर्मत-सम्भार गर्नुपर्छ भनेर सम्झाउँछ। यस्तो काममा भाग लिन जोस देखाएका भाइबहिनीबाट प्रभावित भएका मानिसहरूको अनुभव सुन्‍नुभएको छ? हो, तिनीहरूको प्रयासले यहोवाको प्रशंसा गर्छ।

१४, १५. कस्तो कामले आज यहोवाको ठूलो प्रशंसा भएको छ? उदाहरणहरू दिनुहोस्‌।

१४ इङ्‌गल्यान्डको उत्तरतर्फ पर्ने एउटा सहरमा एक जना व्यक्‍तिले तिनको घरसितै जोडिएको राज्यभवन मर्मतकार्यको विरोध गरे। तर त्यहाँका भाइहरूले तिनीसित दयालु व्यवहार गरे। राज्यभवन र उक्‍त छिमेकीबीचको पर्खाल मर्मत गर्नुपर्ने देखेपछि भाइहरूले सित्तैमा त्यो काम गरिदिने प्रस्ताव राखे। तिनीहरूले कडा परिश्रम गरे र मर्मतमात्र होइन झन्डै-झन्डै पूरै पर्खाल पुनर्निर्माण नै गरिदिए। भाइहरूको त्यस्तो व्यवहारले उक्‍त छिमेकीको मन परिवर्तन भयो। अहिले तिनी बेलाबेलामा राज्यभवनको निगरानी गरिदिन्छन्‌।

१५ यहोवाका जनहरू विश्‍वव्यापी निर्माणकार्यमा भाग लिन्छन्‌। इच्छुक स्थानीय स्वयम्‌सेवकहरू अन्तरराष्ट्रिय सेवकहरूसित मिलेर राज्यभवनको निर्माणमा मात्र होइन; सम्मेलन भवन र बेथेल भवनको निर्माणमा पनि भाग लिन्छन्‌। स्याम्‌ इन्जिनियर हुन्‌। उनीसित भवन न्यानो बनाउने, भेन्टिलेसन र एयर-कन्डिसनसम्बन्धी राम्रो ज्ञान छ। निर्माणसम्बन्धी परियोजनालाई मदत गर्न उनी र उनकी पत्नी रुथ युरोप र अफ्रिकाका थुप्रै देश गएका छन्‌। जहाँ गए पनि उनीहरू स्थानीय मण्डलीसित प्रचारकार्यमा भाग लिएर आनन्दित हुन्छन्‌। यस्तो अन्तरराष्ट्रिय परियोजनामा भाग लिन आफूलाई जुर्मुऱ्‍याएको स्रोतबारे स्याम्‌ यसो भन्छन्‌: “यहाँ र अन्य थुप्रै देशमा बेथेलमा सेवा गरेकाहरूबाट मिलेको प्रोत्साहनले जुर्मुऱ्‍यायो। उनीहरूको जोस र आनन्द देख्दा म पनि त्यसरी नै सेवा गर्न हौसिएँ।”

परमेश्‍वरको निर्देशन पालन गर्नुहोस्‌

१६, १७. परमेश्‍वरका जनहरूले कुन विशेष अभियानमा उत्सुकतासाथ भाग लिएका छन्‌ र नतिजा कस्तो भएको छ?

१६ हिजकियाहले मन्दिर मर्मत गर्नुको अलावा यहोवाले वर्षेनी मनाउन आज्ञा दिनुभएको निस्तार चाड पनि पुनःस्थापित गरे। (२ इतिहास ३०:१, ४, ५ पढ्‌नुहोस्‌) हिजकियाह र यरूशलेमका बासिन्दाले देशका सबैलाई र उत्तरी राज्यकाहरूलाई समेत चाड मनाउन आउन निम्तो दिए। निम्तोपत्र लिएर समाचारवाहकहरू यहूदा र इस्राएलभरि दौडाहामा निस्के।—२ इति. ३०:६-९.

१७ हालैका वर्षहरूमा हामीले पनि झन्डै यस्तै अभियानमा भाग लिएका छौं। येशूको आज्ञा अनुरूपै हाम्रो इलाकाका मानिसहरूलाई प्रभुको साँझको भोजको सम्झना गर्न हामीसितै भेला हुने निम्तो दिन हामीले आकर्षक निम्तोपर्ची प्रयोग गरेका छौं। (लूका २२:१९, २०) सेवा सभाबाट पाएको निर्देशन लागू गर्दै हामीले यस काममा जोसका साथ भाग लिएका छौं। अनि यहोवाले हाम्रो प्रयासमा कत्ति धेरै आशिष्‌ दिनुभएको छ। गत वर्ष हामी लगभग ७० लाख साक्षीहरूले निम्तोपर्ची बाँड्यौं! त्यसैले कुल उपस्थिति थियो: १,७७,९०,६३१!

१८. साँचो उपासनाको लागि जोसिलो हुनु तपाईंको लागि किन महत्त्वपूर्ण छ?

१८ हिजकियाहबारे यस्तो भनियो: “तिनले इस्राएलका परमेश्‍वरमाथि भरोसा राखे। यहूदाका सबै राजाहरूमध्येका तिनका पछि आउने अथवा तिनीअघि जाने कुनै पनि तिनीजस्ता भएनन्‌। तिनी परमप्रभुका भक्‍त भइरहे र आफ्नो भक्‍ति देखाउनमा तिनी पछि हटेनन्‌, औ मोशालाई परमप्रभुले दिनुभएका आज्ञाहरू तिनले पालन गरे।” (२ राजा १८:५, ६) हामी पनि तिनको उदाहरण अनुकरण गर्न सकौं। परमेश्‍वरको घरप्रतिको हाम्रो जोसले अनन्त जीवनको आशालाई मनमा राख्दै ‘परमप्रभुप्रति भक्‍त भइरहन’ हामीलाई मदत गर्नेछ।—व्यव. ३०:१६.

दिइएको निर्देशन तुरुन्तै पालन गर्नुहोस्‌

१९. स्मरणार्थको समयमा कस्तो जोसिलो प्रयास गरिन्छ?

१९ राजा भएपछि योशियाहले पनि निस्तार चाड मान्‍नुपर्ने प्रबन्ध मिलाए। यसको लागि तिनले व्यापक तयारी गरे। (२ राजा २३:२१-२३; २ इति. ३५:१-१९) हामी पनि जिल्ला अधिवेशन, क्षेत्रीय सम्मेलन, विशेष सम्मेलन र स्मरणार्थको तयारी राम्ररी गर्न विशेष ध्यान दिन्छौं। कुनै-कुनै मुलुकका भाइहरू आफ्नो ज्यानको समेत पर्वाह नगरी ख्रीष्टको मृत्युको सम्झना गर्न सँगै भेला हुन्छन्‌। मण्डलीका कोही पनि नछुटून्‌ भनेर जोसिला प्राचीनहरू पक्का गर्छन्‌। वृद्ध तथा अशक्‍तहरूले यस अवसरमा उपस्थित हुन मदत पाउँछन्‌।

२०. (क) राजा योशियाहको शासनकालमा के भयो र तिनले कस्तो प्रतिक्रिया देखाए? (ख) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

२० राजा योशियाहले सुरु गरेको पुनर्निर्माणको समयमा प्रधान पूजाहारी हिल्कियाहले “मोशाद्वारा दिएको परमप्रभुको व्यवस्थाको पुस्तक भेट्टाए।” तिनले त्यो पुस्तक राजाका सचिव शापानलाई दिए। त्यसपछि शापानले त्यस पुस्तकमा भएका कुराहरू योशियाहलाई पढेर सुनाए। (२ इतिहास ३४:१४-१८ पढ्‌नुहोस्‌) नतिजा कस्तो भयो? दुःखित हुँदै राजाले तुरुन्तै आफ्नो लुगा च्याते र यहोवाको अगुवाइ खोज्न मानिसहरूलाई हुकूम गरे। यहूदामा अझै बाँकी रहेका केही धार्मिक प्रचलनविरुद्ध परमेश्‍वरले अगमवादिनी हुल्दामार्फत सन्देश दिनुभयो। तर मूर्तिपूजक प्रथा हटाउन योशियाहले गरेका असल प्रयासहरू यहोवाले सम्झनुभयो र सम्पूर्ण राष्ट्रविरुद्ध विपत्तिको भविष्यवाणी गरिए तापनि तिनले चाहिं यहोवाको अनुमोदन पाए। (२ इति. ३४:१९-२८) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? निश्‍चय नै हाम्रो चाहना योशियाहको जस्तै छ। धर्मत्याग र अवफादारीले हाम्रो उपासनामा अड्डा जमाउन दिंदा के हुन सक्छ भन्‍ने चेतावनीमूलक उदाहरण सम्झिरहेर हामी यहोवाको निर्देशन तुरुन्तै पालन गर्न चाहन्छौं। अनि हामी यो कुरामा विश्‍वस्त हुन सक्छौं कि जसरी योशियाहले देखाएको जोसलाई यहोवाले बिर्सनुभएन, त्यसरी नै साँचो उपासनाको लागि हामीले देखाउने जोसलाई पनि उहाँ कहिल्यै बिर्सनुहुन्‍न।

२१, २२. (क) यहोवाको घरको निम्ति हामीले किन जोस देखाउनुपर्छ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२१ परमेश्‍वरको घर र उहाँको उपासनाप्रति जोसिलो हुने सम्बन्धमा यहूदाका यी चार राजा—आसा, यहोशापात, हिजकियाह र योशियाहले हाम्रो लागि असल उदाहरण बसाले। हाम्रो जोसले हामीलाई पनि यसरी नै यहोवामा भरोसा गर्न र उहाँको उपासनामा लाग्न उत्प्रेरित गर्नुपर्छ। परमेश्‍वरले दिएका निर्देशनहरू पालन गर्नु र मण्डली अनि प्राचीनहरूबाट पाइने मायालु चासो र सल्लाह स्वीकार्नु पक्कै पनि बुद्धिमानी र आनन्दतर्फ डोऱ्‍याउने मार्ग हो।

२२ यसपछिको लेखले क्षेत्र सेवाको लागि जोस देखाउने विषयमा जोड दिनेछ र किशोरकिशोरीलाई जोसिलो भएर हाम्रो मायालु बुबा यहोवाको सेवा गर्न प्रोत्साहन दिनेछ। शैतानको एउटा अत्यन्तै भ्रष्ट प्रभावलाई हामी कसरी तिरस्कार गर्न सक्छौं, त्यो पनि छलफल गर्नेछौं। यहोवाले दिने यी सबै सम्झौटालाई जोसिलो भएर पछ्याउँदा हामीले यहोवाको छोरा येशूको उदाहरण पछ्याइरहेका हुनेछौं। यी छोराबारे यसो भनिएको थियो: “तपाईंको घरको जोशले मलाई खाएको छ।”—भज. ६९:९; ११९:१११, १२९; १ पत्रु. २:२१. ( w 09 6/15)

के तपाईंलाई याद छ?

• यहोवा कसरी गरेको सेवालाई आशिष्‌ दिनुहुन्छ र किन?

• यहोवामा भरोसा गरेको कुरा हामी कसरी देखाउन सक्छौं?

• परमेश्‍वरले दिने निर्देशन पालन गर्न जोसले हामीलाई कसरी प्रेरित गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

आसा, यहोशापात, हिजकियाह र योशियाहले यहोवाको घरको निम्ति कसरी जोस देखाए?