सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छिमेकीसित सत्य बोल्नुहोस्‌

छिमेकीसित सत्य बोल्नुहोस्‌

छिमेकीसित सत्य बोल्नुहोस्‌

“झूट त्यागेर हरेकले आफ्नो-आफ्नो छिमेकीसित सत्य बोल।”—एफि. ४:२५.

१, २. साधारणतया मानिसहरूले सत्य बोल्नेबारे कस्तो धारणा राख्छन्‌?

 सत्य बोल्नु। युगौंदेखि यो एउटा विवादको विषय बनेको छ। ईसापूर्व छैटौं शताब्दीका ग्रीक कवि अल्सियसले भने: “रक्सीले सत्य ओकल्छ।” मतलब, रक्सीको नशा चढेपछि मानिसले सत्य बोल्न थाल्छ र सायद कुरा पनि धेरै गर्छ। प्रथम शताब्दीका रोमी राज्यपाल पन्तियस पिलातसले सत्यको पछि स्वार्थ लुकेको हुन्छ भन्‍ने गलत धारणा राख्दै येशूलाई यस्तो प्रश्‍न गरे: “सत्य के हो?”—यूह. १८:३८.

हाम्रो समयमा सत्य बोल्नेबारे फरक-फरक धारणाहरू व्याप्त छन्‌। “सत्य”-को विभिन्‍न अर्थ हुन्छ वा यसको परिभाषा मान्छेपिच्छे फरक हुन्छ भनी थुप्रैले भन्‍ने गर्छन्‌। अरूचाहिं आफूलाई फाइदा वा सजिलो हुँदा मात्र सत्य बोल्छन्‌। झूटसम्बन्धी एउटा पुस्तक a भन्छ: “इमानदारिताले आदर्श व्यक्‍ति बनाउला तर जीवन र मृत्युको संघर्षमा यसको खासै मोल छैन। झूट बोल्नै पर्ने हुन्छ, अरू विकल्पै छैन।”

३. सत्य बोल्ने सन्दर्भमा येशू उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो, किन?

तर ख्रीष्टका चेलाहरू कत्ति फरक छन्‌! सत्य बोल्नेबारे येशूको विचार बिलकुलै फरक थियो। उहाँ सधैं सत्य बोल्नुहुन्थ्यो। उहाँका शत्रुहरूले समेत यो स्वीकारे: “हे गुरु, हामी जान्दछौं तपाईं सत्य हुनुहुन्छ, र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ।” (मत्ती २२:१६) त्यसैगरि, आज साँचो ख्रीष्टियानहरू येशूको अनुकरण गर्छन्‌। तिनीहरू सत्य बोल्न हिचकिचाउँदैनन्‌। तिनीहरू प्रेरित पावलसित पूर्णतया सहमत छन्‌ जसले सँगी विश्‍वासीहरूलाई यस्तो अर्ती दिए: “झूट त्यागेर हरेकले आफ्नो-आफ्नो छिमेकीसित सत्य बोल।” (एफि. ४:२५) पावलका शब्दहरूका तीन पक्ष विचार गरौं। पहिलो: हाम्रो छिमेकी को हो? दोस्रो: सत्य बोल्नुको अर्थ के हो? तेस्रो: हाम्रो दिनचर्यामा सत्य कसरी बोल्न सक्छौं?

हाम्रो छिमेकी को हो?

४. येशूले छिमेकीप्रति यहूदी धर्मगुरुहरूको जस्तो नभई यहोवाको जस्तो दृष्टिकोण कसरी प्रकट गर्नुभयो?

इस्वी संवत्‌ प्रथम शताब्दीमा केही यहूदी धर्मगुरुहरूले सँगी यहूदी र आफ्ना घनिष्ठ साथीभाइ मात्र “छिमेकी” हुन्‌ भनेर सिकाए। तर येशूले आफ्ना पिताको व्यक्‍तित्व र सोचाइ दुरुस्तै झल्काउनुभयो। (यूह. १४:९) परमेश्‍वरले जात वा देश हेरेर कसैलाई काखा, कसैलाई पाखा गर्नुहुन्‍न भनेर उहाँले चेलाहरूलाई स्पष्ट पारेको कुरा उल्लेखनीय छ। (यूह. ४:५-२६) यसबाहेक, प्रेरित पत्रुसले पवित्र आत्माबाट प्रकाश पाएर यस्तो लेखे: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरि. १०:२८, ३४, ३५) अतः हामीले सबै मानिसलाई छिमेकी ठान्‍नुपर्छ। शत्रुजस्तो व्यवहार गर्नेहरूलाई समेत प्रेम गर्नुपर्छ।—मत्ती ५:४३-४५.

५. छिमेकीसित सत्य बोल्नुको अर्थ के हो?

तर पावलले छिमेकीसित सत्य बोल्नुपर्छ भन्‍नुको अर्थ के थियो? सत्य बोल्नु भनेको कुरा नबङ्‌ग्याइ, जस्तो छ त्यस्तै बताउनु हो। साँचो ख्रीष्टियानहरूले अरूलाई बहकाउने हेतुले तथ्यलाई बङ्‌ग्याउने वा गलत कुरा बताउने गर्दैनन्‌। तिनीहरू ‘जुन कुरो खराब छ, त्यसलाई घृणा गर्छन्‌ र जुन कुरो असल छ, त्यसमा लागिरहन्छन्‌।’ (रोमी १२:९) “सत्य परमेश्‍वर”-को अनुकरण गर्दै आफ्नो सबै व्यवहारमा इमानदार र खुलस्त हुने कोसिस हामीले गर्नुपर्छ। (भज. १५:१, २; ३१:५) शब्द चयनमा ध्यान दिंदा छलकपटको सहारा नलिई अप्ठ्यारो परिस्थितिको समेत कौशलतासाथ समाधान गर्न सकिन्छ।कलस्सी ३:९, १० पढ्‌नुहोस्‌।

६, ७. (क) सत्य बोल्नुपर्छ भन्‍नुको अर्थ सोध्नेहरूलाई सबै कुरा भन्‍नुपर्छ भन्‍ने होइन, व्याख्या गर्नुहोस्‌। (ख) कसले प्रश्‍न सोध्दा हामीले स्पष्ट जवाफ दिनुपर्छ?

सत्य बोल्नुपर्छ भन्‍नुको अर्थ कसैले सोध्दा सबै कुरा भन्‍नुपर्छ भन्‍ने हो? त्यसो त होइन। येशूले पृथ्वीमा छँदा कोही-कोही मानिस सीधा जवाफको वा कुनै-कुनै जानकारीको हकदार हुँदैनन्‌ भनी देखाउनुभयो। कपटी धर्मगुरुहरूले उहाँलाई कुन शक्‍ति वा अख्तियार पाएर चिह्न र आश्‍चर्य कामहरू गरेको भनी प्रश्‍न गर्दा उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई एउटा बात सोध्छु, र तिमीहरूले मलाई त्यसको जवाफ देओ, र म के अख्तियारले यी काम गर्दछु सो तिमीहरूलाई भन्‍नेछु।” शास्त्री र बूढा प्रधानहरूले जवाफ दिन आनाकानी गर्दा उहाँले भन्‍नुभयो: “म पनि कुन अख्तियारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।” (मर्कू. ११:२७-३३) तिनीहरूको भ्रष्ट चालचलन र अधर्मको कारण येशूलाई तिनीहरूको प्रश्‍नको जवाफ दिनुपर्छ जस्तो लागेन। (मत्ती १२:१०-१३; २३:२७, २८) त्यसैगरि, आज पनि परमेश्‍वरका जनहरू धर्मत्यागी र अन्य दुष्ट मानिसहरूदेखि होसियार रहनुपर्छ जसले आफ्नो स्वार्थ पूर्तिको लागि धुर्त्याइँ वा जालझेलको सहारा लिन्छन्‌।—मत्ती १०:१६; एफि. ४:१४.

त्यसैगरि पावलले पनि कोही-कोही मानिस पूरै जवाफको हकदार हुँदैनन्‌ भनी संकेत गरे। “कुरौटे, अरूको काममा हात हाल्ने”-हरू “बोल्न नहुने कुराहरू बोल्ने, हुन्छन्‌” भनी तिनले बताए। (१ तिमो. ५:१३) हो, अरूको चियो गर्ने वा मनमा कुरा राख्न नसक्नेलाई मानिसहरू सितिमिति आफ्ना गोप्य कुराहरू बताउँदैनन्‌। “चूपचाप रहन” र “आफ्नो-आफ्नो काम गर्न” भनी पावलले दिएको प्रेरित सल्लाह पालन गर्नु कत्ति बेस! (१ थिस्स. ४:११) तर कहिलेकाहीं मण्डलीका प्राचीनहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा व्यक्‍तिगत प्रकारका प्रश्‍नहरू सोध्नै पर्ने हुन्छ। त्यतिबेला सत्य बोलेर सहयोग गर्दा प्राचीनहरूले त्यसको धेरै मोल गर्छन्‌ र यो ठूलो मदत साबित हुन्छ।—१ पत्रु. ५:२.

परिवारमा सत्य बोल्नुहोस्‌

८. सत्य बोल्दा परिवारका सदस्यहरूले कसरी एकअर्कासित नजिक हुन मदत पाउँछन्‌?

अक्सर परिवारका सदस्यहरूसित हाम्रो सबैभन्दा घनिष्ठ सम्बन्ध हुन्छ। यो बन्धनलाई बलियो बनाउन एकअर्कासित सत्य बोल्नु अत्यावश्‍यक छ। इमानदार र दयालु भई खुलस्त कुराकानी गर्दा थुप्रै समस्या तथा असमझदारी कम गर्न वा हटाउन सकिन्छ। उदाहरणको लागि, के हामीलाई आफ्नो गल्ती पति वा पत्नी, केटाकेटी वा परिवारका अन्य सदस्यसामु स्वीकार्न गाह्रो लाग्छ? सच्चा मनले माफी माग्दा परिवारको शान्ति र एकतामा योगदान पुऱ्‍याइरहेका हुन्छौं।—१ पत्रुस ३:८-१० पढ्‌नुहोस्‌।

९. सत्य बोल्नुको अर्थ ठाडे वा रुखो हुनु होइन, किन?

सत्य बोल्नुको अर्थ हामी ठाडे वा रुखो हुनुपर्छ भन्‍ने होइन। रुखो हुँदा सत्य कुराको मोल बढ्‌दैन नता यसको प्रभाव नै। पावलले भने: “सबै तीतोपना, क्रोध रीस, होहल्ला, निन्दा, सारा वैरभावसमेत तिमीहरूबाट त्यागिओस्‌। औ जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक-अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफि. ४:३१, ३२) दयालु र मर्यादित ढंगमा बोल्दा हामीले भनिरहेको कुरा अझै गहकिलो हुन्छ र अर्को व्यक्‍तिलाई आदर पनि देखाइरहेका हुन्छौं।—मत्ती २३:१२.

मण्डलीमा सत्य बोल्नुहोस्‌

१०. सत्य बोल्ने सन्दर्भमा येशूको उत्कृष्ट उदाहरणबाट ख्रीष्टियान प्राचीनहरूले के सिक्न सक्छन्‌?

१० येशूले चेलाहरूसित सरल र स्पष्ट तरिकामा कुरा गर्नुभयो। उहाँले सधैं मायालु तरिकामा सल्लाह दिनुहुन्थ्यो तर आफ्ना श्रोताहरूलाई खुसी पार्न सत्यलाई कहिल्यै फितलो बनाउनुभएन। (यूह. १५:९-१२) उदाहरणको लागि, प्रेरितहरू बारम्बार तिनीहरूमध्ये को ठूलो भनी झगडा गर्दा येशूले दृढ भई तर नरिसाई नम्र हुनुपर्ने कुरा बुझाउनुभयो। (मर्कू. ९:३३-३७; लूका ९:४६-४८; २२:२४-२७; यूह. १३:१४) त्यसैगरि, आज ख्रीष्टियान प्राचीनहरू परमेश्‍वरका स्तरहरूमा अडिग छन्‌ तर परमेश्‍वरको बगालमाथि हैकम चलाउँदैनन्‌। (मर्कू. १०:४२-४४) तिनीहरू ख्रीष्टको अनुकरण गर्दै “एक-अर्कोप्रति कोमल मनको” र अरूसितको व्यवहारमा “दयालु” हुन्छन्‌।

११. भाइहरूप्रतिको प्रेमको कारण हामी आफ्नो जिब्रोलाई कसरी चलाउँछौं?

११ अचाक्ली खुलस्त नभईकन पनि हामी आफ्नो मनको कुरा भाइहरूलाई चोट नपुऱ्‍याई स्पष्ट व्यक्‍त गर्न सक्छौं। हाम्रो जिब्रो अरूलाई चोट पुऱ्‍याउन जथाभावी वा दुर्वचन बोल्ने “धारिलो छुराझैं” होस्‌ भन्‍ने कहिल्यै चाहँदैनौं। (भज. ५२:२; हितो. १२:१८, NRV ) भाइहरूप्रतिको प्रेमको कारण हामी आफ्नो ‘जिब्रोलाई खराबीबाट र ओठलाई छलछामको बोलीबाट जोगाउन’ उत्प्रेरित हुन्छौं। (भज. ३४:१३) यसो गर्दा हामीले परमेश्‍वरको आदर गर्छौं र मण्डलीको एकतामा योगदान पुऱ्‍याउँछौं।

१२. कस्तो प्रकारको झूटको लागि न्यायिक कदम चाल्नुपर्ने हुन्छ? व्याख्या गर्नुहोस्‌।

१२ द्वेषपूर्ण झूट बोल्नेहरूबाट मण्डलीलाई जोगाउन प्राचीनहरूले लगनशील भई प्रयास गर्छन्‌। (याकूब ३:१४-१६ पढ्‌नुहोस्‌) द्वेषपूर्ण झूट अरूलाई हानि पुऱ्‍याउने हिसाबले बोलिन्छ। अर्को व्यक्‍तिले कुनै न कुनै तरिकामा दुःख पाओस्‌ भन्‍ने मनसाय हुन्छ। यो, सानोतिनो झूट बोल्नु वा भएको कुरालाई बढाइचढाइ गर्नु मात्र त होइन। हो, झूट बोल्नु—सानो होस्‌ वा ठूलो—गलत हो तर सबै प्रकारको झूटलाई न्यायिक कदम चाल्नु आवश्‍यक पर्दैन। त्यसैले, झूट बोल्ने व्यक्‍तिले न्यायिक कदम चाल्नुपर्ने खालको द्वेषपूर्ण झूट बोल्ने बानी नै बसाली सकेका हुन्‌ कि होइनन्‌ पक्का गर्न प्राचीनहरू सन्तुलित, व्यावहारिक र सही निर्णय गर्न सक्ने हुनुपर्छ। अथवा दृढ भई धर्मशास्त्रबाट मायालु हप्काइ दिए मात्र पुग्ने हो कि?

व्यापारमा सत्य बोल्नुहोस्‌

१३, १४. (क) अफिसमा काम गर्ने कोही-कोहीले कसरी इमानदारिता देखाउँदैनन्‌? (ख) काममा सत्य बोल्दा र इमानदार हुँदा कस्तो असल नतिजा प्राप्त हुन सक्छ?

१३ हामी बेइमान दुनियाँमा बस्छौं। त्यसैले आफ्नो हाकिमसित अलि-अलि भए पनि तलमाथि गर्ने प्रलोभनको प्रतिरोध गर्न गाह्रो हुन सक्ला। जागिरको लागि आवेदन भर्दा थुप्रैले सरासर झूट बोल्छन्‌। उदाहरणको लागि, राम्रो र धेरै पैसा पाउने जागिरका लागि तिनीहरूले बायोडाटामा कामको अनुभव वा शिक्षालाई बढाइचढाइ गर्न सक्छन्‌। अर्कोतर्फ, धेरै कामदारहरूले भन्‍नु त अफिसको काम गरिरहेका भन्छन्‌ तर वास्तवमा कम्पनीको नियम विपरीत व्यक्‍तिगत काम गरिरहेका हुन्छन्‌। जस्तै: आफ्नो कामसित सम्बन्ध नभएका पत्रपत्रिका पढ्‌ने, व्यक्‍तिगत फोन गर्ने, च्याट गर्ने तथा एस एम एस पठाउने वा इन्टरनेट चहार्ने।

१४ साँचो ख्रीष्टियानहरूले इमानदार हुनु र सत्य बोल्नुलाई गरे पनि हुने, नगरे पनि हुने कुरा ठान्दैनन्‌। (हितोपदेश ६:१६-१९ पढ्‌नुहोस्‌) पावलले भने: “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा . . . हामी . . . गर्दछौं।” (हिब्रू १३:१८) त्यसैले ख्रीष्टियानहरू पूरा एक दिनको ज्यालाको लागि पूरा एक दिन नै काम गर्छन्‌। (एफि. ६:५-८) कर्तव्यनिष्ठ कामदार हुँदा हाम्रो स्वर्गमा हुनुहुने पिताको पनि प्रशंसा हुन सक्छ। (१ पत्रु. २:१२) उदाहरणको लागि, स्पेनमा रोबर्टोका हाकिमले तिनी इमानदार र जिम्मेवार कामदार भएकोमा प्रशंसा गरे। रोबर्टोको असल आचरणको कारण तिनको कम्पनीले थप साक्षीहरूलाई लिए। तिनीहरू पनि असल कामदार साबित भए। समयको दौडान रोबर्टोले २३ जना बप्तिस्मा प्राप्त र ८ जना बाइबल विद्यार्थीका लागि जागिर मिलाइदिन सके।

१५. ख्रीष्टियान व्यापारीले कसरी सत्य बोलेको देखाउनुपर्छ?

१५ आफ्नै व्यवसाय छ भने के हामी सबै लेनदेनमा इमानदार छौं वा कहिलेकाहीं छिमेकीसित सत्य बोल्नबाट चुक्छौं? आफ्नो सामान वा आफूले दिने सेवा चाँडो बिकाउन ख्रीष्टियान व्यापारीले झूट बोल्नुहुँदैन; नता तिनले घूस दिनुहुन्छ वा लिनुहुन्छ। अरूले हामीसित जस्तो व्यवहार गरोस्‌ भन्‍ने चाहन्छौं, हामी पनि अरूसित त्यस्तै व्यवहार गर्न चाहन्छौं।—हितो. ११:१; लूका ६:३१.

सरकारी अधिकारीहरूसित सत्य बोल्नुहोस्‌

१६. (क) सरकारी अधिकारीलाई र (ख) यहोवालाई, ख्रीष्टियानहरू के दिन्छन्‌?

१६ येशूले भन्‍नुभयो: “यसकारण जे-जे सिजरका हुन्‌ सिजरलाई, र जे-जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।” (मत्ती २२:२१) के-के कुरा सिजर अर्थात्‌ सरकारी अधिकारीहरूको हो? येशूले यो कुरा भन्‍नुहुँदा छलफल मुख्यगरि करमा केन्द्रित थियो। त्यसैले, परमेश्‍वर र मानिसहरूसामु सफा अन्तस्करण कायम राख्न ख्रीष्टियानहरू आफू बस्ने देशको कानुन पालन गर्छन्‌ र यसमा करसित सम्बन्धित नियम-कानुन पनि पर्छ। (रोमी १३:५, ६) तर यहोवा सर्वोच्च, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी मानिलिन्छौं र उहाँलाई आफ्नो सारा मन, प्राण, बुद्धि र शक्‍तिले प्रेम गर्छौं। (मर्कू. १२:३०; प्रका. ४:११) त्यसैले हामी विना कुनै हिचकिचाहट यहोवा परमेश्‍वरको अधीनमा बस्छौं।भजन ८६:११, १२ पढ्‌नुहोस्‌।

१७. सरकारले दिने सुविधाहरूप्रति यहोवाका जनहरू कस्तो दृष्टिकोण राख्छन्‌?

१७ थुप्रै देशमा आर्थिक सहयोगको खाँचो परेकाहरूलाई मदत गर्ने सुविधाहरूको प्रबन्ध हुन्छ। ख्रीष्टियानहरूले त्यस्तो सुविधा लिनुमा केही आपत्ति छैन तर यति हो, त्यस्तो सुविधाको लागि योग्य हुनुपर्छ। हामी छिमेकीसित सत्य बोल्छौं। मतलब, त्यस्तो सुविधा पाउन सरकारी अधिकारीलाई गलत जानकारी दिने वा झूटो बोल्ने गर्दैनौं।

सत्य बोल्नुका आशिष्‌हरू

१८-२०. छिमेकीसित सत्य बोल्दा कस्ता आशिष्‌हरू पाइन्छन्‌?

१८ सत्य बोल्दा थुप्रै आशिष्‌ पाइन्छ। सफा अन्तस्करण कायम राख्न सक्छौं, फलस्वरूप शान्त मन पाउँछौं। (हितो. १४:३०; फिलि. ४:६, ७) परमेश्‍वरले सफा अन्तस्करणको धेरै मोल गर्नुहुन्छ। साथै, सबै कुरामा सत्य बोल्दा झूट पक्रिएला वा अरूले थाह पाउला भन्‍ने चिन्ता नै हुँदैन।—१ तिमो. ५:२४.

१९ अर्को आशिष्‌बारे विचार गर्नुहोस्‌। पावलले भने: “हरेक कुरामा हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं, . . . सत्य वचनमा।” (२ कोरि. ६:४, ७) बेलाइतमा बस्ने एक साक्षीले त्यस्तै अनुभव गरे। गाडी किन्‍न आएका व्यक्‍तिलाई तिनले आफ्नो गाडीको बखान मात्र गरेनन्‌ तर कस्तो-कस्तो समस्या छ, त्यो पनि बताइदिए। गाडी चलाएर हेरेपछि ती व्यक्‍तिले साक्षी भाइलाई ‘कतै तपाईं यहोवाको साक्षी त होइन’ भनेर सोधे। तिनले किन त्यसो भनेका? ती मानिसले हाम्रा भाइको इमानदारिता र सुकिलो पहिरन याद गरेका रहेछन्‌। त्यसपछि ती भाइले असल साक्षी दिने मौका पाए।

२० के हामी पनि आफ्नो असल नैतिक स्तरद्वारा सृष्टिकर्ताको प्रशंसा गर्छौं? पावलले भने: “कपटमा नचलेर, परमेश्‍वरको वचनमा छलछाम नगरेर, हामीले शर्मका गुप्त कुराहरू त्यागेका छौं।” (२ कोरि. ४:२) त्यसैले छिमेकीसित सत्य बोल्न सक्दो प्रयास गरौं। यसो गर्दा हामीले स्वर्गमा हुनुहुने पिता र उहाँका जनलाई महिमित तुल्याउँनेछौं। ( w 09 6/15)

[फुटनोट]

a The Importance of Lying

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हाम्रो छिमेकी को हो?

• छिमेकीसित सत्य बोल्नुको अर्थ के हो?

• सत्य बोल्दा कसरी परमेश्‍वरको महिमा हुन्छ?

• सत्य बोल्दा कस्ता आशिष्‌हरू पाइन्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

के तपाईं सानातिना गल्ती सजिलै स्वीकार्नुहुन्छ?

[पृष्ठ २४-मा भएको चित्र]

जागिरको लागि आवेदन भर्दा के तपाईं सत्य बोल्नुहुन्छ?