सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वासी भण्डारे र यसको परिचालक निकाय

विश्‍वासी भण्डारे र यसको परिचालक निकाय

विश्‍वासी भण्डारे र यसको परिचालक निकाय

“त्यो विश्‍वासी र बुद्धिमानी भण्डारे को हो? जसलाई त्यसका मालिकले आफ्ना घरानालाई समय-समयमा तिनीहरूका भोजन दिनलाई खटाएका छन्‌।”—लूका १२:४२.

१, २. अन्तिम दिनका चिह्नहरू दिंदा येशूले कुन महत्त्वपूर्ण प्रश्‍न गर्नुभयो?

 अन्तिम दिनका चिह्नहरू दिंदा येशूले यस्तो प्रश्‍न गर्नुभयो: “विश्‍वासी र बुद्धिमान्‌ दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक-ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ?” त्यसपछि उहाँले यो पनि भन्‍नुभयो, दास विश्‍वासी भएकोले इनामस्वरूप उसलाई मालिकको सारा सम्पत्ति रेखदेख गर्न नियुक्‍त गरिनेछ।—मत्ती २४:४५-४७.

केही महिनाअघि पनि येशूले यस्तै प्रश्‍न गर्नुभएको थियो। (लूका १२:४२-४४ पढ्‌नुहोस्‌) उहाँले दासलाई “भण्डारे” र “परिवार”-लाई “घराना” भन्‍नुभएको थियो। भण्डारे घरको र दासहरूको बन्दोबस्त मिलाउने प्रबन्धक हो। तर भण्डारे आफै पनि दास हो। यो दास अथवा भण्डारे को हो र उसले कसरी “ठीक-ठीक समयमा खान” दिन्छ? आध्यात्मिक भोजन दिन चलाइने माध्यम के हो, त्यो हामी सबैले बुझ्नु अत्यावश्‍यक छ।

३. (क) “दास”-बारे येशूले भनेको कुरा चर्चका टिप्पणीकारहरूले कसरी बुझाउन खोजेका छन्‌? (ख) “भण्डारे” अथवा “दास” को हो अनि “घराना” अथवा “परिवार” को हो?

येशूले भनेको “भण्डारे” अथवा “दास” शब्दले ख्रीष्टियान भनौंदाहरूमाझ जिम्मेवार पद ओगटिरहेका व्यक्‍तिहरूलाई बुझाउँछ भनी अक्सर चर्चका टिप्पणीकारहरू भन्‍ने गर्छन्‌। तर यस दृष्टान्तका “मालिक” येशूले चर्चका विभिन्‍न गुटमा थुप्रै दास छरिएका हुन्छन्‌ भन्‍नुभएन। बरु उहाँले स्पष्टसित बताउनुभयो, “भण्डारे” अथवा “दास” एउटै मात्र हुन्छ जसलाई उहाँले आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नु हुने थियो। त्यसकारण, भण्डारेले अभिषिक्‍त चेलाहरूको “सानो बगाल”-लाई समूहको रूपमा प्रतिनिधित्व गरेको हुनुपर्छ भनेर यो पत्रिकाले बारम्बार भन्दै आएको छ। लूकाको पुस्तकको कुरा गर्नुपर्दा येशूले यिनै व्यक्‍तिहरूलाई संकेत गर्दै हुनुहुन्थ्यो। (लूका १२:३२) “घराना” वा “परिवार”-ले यसै समूहलाई बुझाउँछ तर यसले व्यक्‍तिगत रूपमा उनीहरूले गर्नुपर्ने कामलाई प्रकाश पार्छ। एउटा चाखलाग्दो प्रश्‍न खडा हुन्छ: के यस दास वर्गका प्रत्येक सदस्य ठीक-ठीक समयमा आध्यात्मिक भोजन दिने काममा सहभागी हुन्छन्‌? धर्मशास्त्र राम्ररी केलाएर हेर्दा यसको स्पष्ट जवाफ पाउन सक्छौं।

विगतमा यहोवाको दास

४. यहोवाले प्राचीन इस्राएल राष्ट्रलाई के भनेर बोलाउनुभयो र त्यो राष्ट्रबारे के कुरा याद गर्नु महत्त्वपूर्ण छ?

यहोवाले आफ्ना जन, प्राचीन इस्राएल राष्ट्रलाई सामूहिक रूपमा दास भन्‍नुभयो। “परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू [बहुवचन] मेरा साक्षी र मैले चुनेका दास [एकवचन] हौ।’ ” (यशै. ४३:१०) यस दास वर्गमा त्यस राष्ट्रका सबै सदस्य पर्थे। तर के कुरा याद गर्नु महत्त्वपूर्ण छ भने, पूजाहारी र गैरपूजाहारी लेवीहरूले मात्र इस्राएल राष्ट्रलाई व्यवस्था सिकाउने जिम्मा पाएका थिए।—२ इति. ३५:३; मला. २:७.

५. येशूले कस्तो ठूलो परिवर्तन हुनेछ भन्‍नुभयो?

के येशूले भन्‍नुभएको दास इस्राएल राष्ट्र नै थियो? अहँ, थिएन। यो, येशूले आफ्नो समयका यहूदीहरूलाई भनेको कुराबाट थाह पाउँछौं: “परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४३) स्पष्ट छ, परिवर्तन हुने थियो। यहोवाले नयाँ राष्ट्र खडा गर्नुहुने थियो। तर, मानिसहरूलाई आध्यात्मिक निर्देशन दिने सन्दर्भमा भने येशूको दृष्टान्तमा बताइएको दासको काम र प्राचीन इस्राएलमा परमेश्‍वरको “दास”-को कामबीच समानता छ।

विश्‍वासी दास देखा पर्छ

६. इस्वी संवत्‌ ३३ पेन्तिकोसमा कुन नयाँ राष्ट्र अस्तित्वमा आयो र को यसको भाग बन्यो?

नयाँ राष्ट्र अर्थात्‌ “परमेश्‍वरका इस्राएल” आत्मिक इस्राएलीहरू मिलेर बनेको छ। (गला. ६:१६; रोमी २:२८, २९; ९:६) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा परमेश्‍वरको आत्मा खनिएपछि यो राष्ट्र अस्तित्वमा आयो। त्यसपछि, सबै आत्मा-अभिषिक्‍त ख्रीष्टियानहरू त्यस राष्ट्रको भाग बने र मालिक येशू ख्रीष्टले नियुक्‍त गरेको दास वर्गको रूपमा सेवा गरे। त्यस राष्ट्रका प्रत्येक सदस्यलाई सुसमाचार प्रचार गर्ने र चेला बनाउने जिम्मा दिइयो। (मत्ती २८:१९, २०) तर के त्यस वर्गका प्रत्येक सदस्य ठीक-ठीक समयमा आध्यात्मिक भोजन दिने काममा सहभागी थिए? यस प्रश्‍नको जवाफ बाइबलले कसरी दिन्छ, हेरौं।

७. सुरु-सुरुमा प्रेरितहरूको प्रमुख काम के थियो र पछि के काम थपियो?

बाह्र प्रेरितहरूलाई नियुक्‍त गर्दा येशूले तिनीहरूको प्रमुख कामको रूपमा सुसमाचार प्रचार गर्न पठाउनुभयो। (मर्कूस ३:१३-१५ पढ्‌नुहोस्‌) यो काम, मूल युनानी शब्द अपोसटोलस-को अर्थ अनुरूप छ जुन “पठाइनु” भन्‍ने क्रियाबाट लिइएको हो। तर समय बित्दै जाँदा र ख्रीष्टियान मण्डली स्थापना हुनै लाग्दा प्रेरितहरूको काममा “पदाधिकार [“निरीक्षण,” NW ]”-को काम पनि थपियो।—प्रेरि. १:२०-२६.

८, ९. (क) बाह्र प्रेरितहरूको मुख्य चिन्ताको विषय के थियो? (ख) अरू कसलाई पनि परिचालक निकायले थप जिम्मेवारी दियो?

बाह्र प्रेरितहरूको मुख्य चिन्ताको विषय के थियो? पेन्तिकोसपछिको घटनामा यसको जवाफ पाउन सकिन्छ। विधवाहरूलाई दिनहुँ खाद्य वितरण गर्नेबारे विवाद खडा हुँदा १२ प्रेरितहरूले चेलाहरूलाई भेला गरे र भने: “परमेश्‍वरको वचन प्रचार गर्न छोडेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन।” (प्रेरित ६:१-६ NRV, पढ्‌नुहोस्‌) त्यसपछि, आफूहरूले “वचनको सेवकाइमा” सम्पूर्ण समय दिन सकोस्‌ भनेर प्रेरितहरूले “यस काम”-को रेखदेखको लागि आध्यात्मिक तवरमा योग्य अन्य भाइहरूलाई नियुक्‍त गरे। यस प्रबन्धले यहोवाको आशिष्‌ ल्यायो किनभने “परमेश्‍वरको वचन बढ्‌दै गयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ्यो।” (प्रेरि. ६:७) यसरी आध्यात्मिक तवरमा खुवाउने मुख्य जिम्मेवारी प्रेरितहरूले नै सँभाले।—प्रेरि. २:४२.

समयको दौडान अरूलाई गहन जिम्मेवारीहरू सुम्पियो। पवित्र आत्माको डोऱ्‍याइमा एन्टिओक मण्डलीले पावल र वर्णाबासलाई मिसनरी सेवामा पठाए। अनि तिनीहरू सुरुका १२ प्रेरितहरूमध्ये नभए तापनि प्रेरित गनिए। (प्रेरि. १३:१-३; १४:१४; गला. १:१९) यो नियुक्‍तिलाई पछि यरूशलेमको परिचालक निकायले पक्का गऱ्‍यो। (गला. २:७-१०) त्यसको केही समयपछि आध्यात्मिक भोजन दिने काममा पावल संलग्न भए। तिनले पहिलो प्रेरित पत्र लेखे।

१०. प्रथम शताब्दीमा के सबै आत्मा-अभिषिक्‍त ख्रीष्टियानहरू आध्यात्मिक भोजन तयार पार्ने काममा सहभागी भए? व्याख्या गर्नुहोस्‌।

१० तर, के सबै आत्मा-अभिषिक्‍त ख्रीष्टियानहरू प्रचारकार्यको निरीक्षण र आध्यात्मिक भोजन तयार पार्ने काममा सहभागी भए? अहँ, भएनन्‌। प्रेरित पावलले भने: “के सबै प्रेरित, के सबै अगमवक्‍ता, के सबै शिक्षक, के सबै आश्‍चर्यकर्म गर्नेहरू हुन्‌ र?” (१ कोरि. १२:२९) हो, आत्मा-अभिषिक्‍त सबै ख्रीष्टियानहरू प्रचारकार्यमा सहभागी भए। तर ख्रीष्टियान युनानी धर्मशास्त्रको २७ वटा पुस्तक लेख्न एकदमै थोरै अथवा तोकेरै भन्‍नुपर्दा जम्मा आठ जना पुरुष मात्र चलाइए।

वर्तमान समयमा विश्‍वासी दास

११. कुन “सम्पत्ति”-को रेखदेख गर्न दासलाई नियुक्‍त गरियो?

११ अन्तको समयको दौडान विश्‍वासी र बुद्धिमान्‌ दास वर्गकाहरू पृथ्वीमा अझै बाँकी हुनेछन्‌ भन्‍ने कुरा मत्ती २४:४५ मा लिपिबद्ध येशूका शब्दहरूबाट स्पष्ट हुन्छ। प्रकाश १२:१७ मा यिनीहरूलाई स्त्रीका “बाँकी सन्तानहरू” भनिएको छ। पृथ्वीमा ख्रीष्टको सारा सम्पत्तिमाथि यी बाँकी सन्तानलाई समूहको रूपमा नियुक्‍त गरिएको छ। त्यो विश्‍वासी भण्डारेको रेखदेखमा छोडिएको “सम्पत्ति” मालिकको पृथ्वीमा रहेका कुराहरू हुन्‌ जसमा पार्थिव आशा भएका प्रजाहरू र सुसमाचारको प्रचारमा चलाइने सम्पूर्ण भौतिक कुरा पर्छन्‌।

१२, १३. कुनै ख्रीष्टियानले स्वर्गीय बोलावट पाएको कसरी थाह पाउँछन्‌?

१२ कुनै ख्रीष्टियानले स्वर्गीय आशा पाएको र आफू आत्मिक इस्राएलको बाँकी सन्तानमा समावेश भएको कसरी थाह पाउँछ? प्रेरित पावलले आफूजस्तै स्वर्गीय आशा राख्नेहरूलाई लेखेका शब्दहरूमा यसको जवाफ पाइन्छ: “जति जनालाई परमेश्‍वरका आत्माले डोऱ्‍याएका हुन्छन्‌ तिनीहरूनै परमेश्‍वरका छोराहरू हुन्‌। किनभने फेरि भयभीत हुनलाई बन्धनको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पायौ, जसबाट अब्बा, पिता, भनी हामी पुकार्दछौं। हामी परमेश्‍वरका सन्तान हौं भने, आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्‍वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँग दुःख भोग्छौं भनेता उहाँसँगै महिमित पनि हुनेछौं।”—रोमी ८:१४-१७.

१३ सरल भाषामा भन्‍ने हो भने, परमेश्‍वरको पवित्र आत्माद्वारा अभिषेक भएर तिनीहरूले स्वर्गीय “बोलावट” पाएका हुन्छन्‌। (हिब्रू ३:१) यो व्यक्‍तिगत निमन्त्रणा परमेश्‍वरबाटको हो। अनि तिनीहरूले कुनै प्रश्‍न, शंका वा डरविना तुरुन्तै परमेश्‍वरको पुत्र हुने निमन्त्रणा स्वीकारी हाल्छन्‌। (१ यूहन्‍ना २:२०, २१ पढ्‌नुहोस्‌) त्यसैले, यो आशा तिनीहरूको आफ्नै रोजाइ होइन तर यहोवाले तिनीहरूमाथि आफ्नो छाप लगाउनुहुन्छ अर्थात्‌ पवित्र आत्मा खन्याउनुहुन्छ।—२ कोरि. १:२१, २२; १ पत्रु. १:३, ४.

सही दृष्टिकोण

१४. अभिषिक्‍त जनहरूले आफ्नो बोलावटलाई कसरी हेर्छन्‌?

१४ स्वर्गीय इनामको प्रतीक्षामा रहेका यी अभिषिक्‍त जनहरूले आफूबारे कस्तो दृष्टिकोण राख्नुपर्छ? तिनीहरूले के कुरा बुझेका हुन्छन्‌ भने, यो अत्यन्तै उत्तम बोलावट भए तापनि केवल निमन्त्रणा मात्रै हो। यो इनाम पाउन तिनीहरू मृत्युसम्मै विश्‍वासी रहनुपर्छ। नम्रतासाथ तिनीहरूले पावलका यी शब्दहरू दोहोऱ्‍याउँछन्‌: “ए भाइ हो, मैले पक्रिसकेको छु भनी म अझै सम्झन्‍नँ तर पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, ख्रीष्ट येशूमा परमेश्‍वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाडि बढ्‌दछु।” (फिलि. ३:१३, १४) शेष अभिषिक्‍त जनहरूले ‘बोलावटमा बोलाइएकोले त्यसैको योग्य चालमा चल्न सारा नम्रतासाथ’ सक्दो प्रयास गर्नुपर्छ, त्यो पनि “डर र कम्पसाथ।”—एफि. ४:१, २; फिलि. २:१२; १ थिस्स. २:१२.

१५. स्मरणार्थका प्रतीकहरूमा भाग लिनेहरूप्रति ख्रीष्टियानहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ र अभिषिक्‍त जनहरूले आफूबारे कस्तो दृष्टिकोण राख्छन्‌?

१५ अर्कोतर्फ, कोही व्यक्‍तिले अभिषिक्‍त भएको दाबी गर्दै स्मरणार्थका प्रतीकहरूमा भाग लिन्छन्‌ भने तिनीप्रति अरू ख्रीष्टियानहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ? तिनले भाग लिनु ठीक हो/होइन हामी भन्‍न सक्दैनौं। किनभने यो त्यस व्यक्‍ति र यहोवाबीचको कुरा हो। (रोमी १४:१२) तर साँच्चै यस्तो बोलावट पाएका ख्रीष्टियानहरूले विशेष महत्त्व खोज्दैनन्‌। अभिषिक्‍त जन भएकोले “ठूलो भीड”-का केही अनुभवी सदस्यहरूले भन्दा पनि विशेष अन्तरदृष्टि पाएको हुन्छु भनेर तिनीहरू भन्ठान्दैनन्‌। (प्रका. ७:९) न त “अरू भेडा”-का सँगीहरूले भन्दा आफूले धेरै पवित्र आत्मा पाएको छु नै भन्ठान्छन्‌। (यूह. १०:१६) तिनीहरू विशेष मान-सम्मानको आशा गर्दैनन्‌ साथै प्रतीकहरूमा भाग लिएको कारण मण्डलीका नियुक्‍त प्राचीनहरूभन्दा ठूलो हुँ भन्दैनन्‌।

१६-१८. (क) बाइबलको नयाँ समझ प्रकट गर्ने काममा के सबै अभिषिक्‍त जनहरू सहभागी हुन्छन्‌? उदाहरणसहित बताउनुहोस्‌। (ख) म अभिषिक्‍त जन हुँ भन्‍ने सबैसित परिचालक निकायले सरसल्लाह गर्नु किन आवश्‍यक छैन?

१६ बाइबलका नयाँ समझहरू प्रकट गर्नुअघि के संसारभरि रहेका प्रत्येक अभिषिक्‍त जनहरूसित सम्पर्क राखेर छलफल गर्ने गरिन्छ? अहँ, गरिंदैन। दास वर्गले एउटा समूहको रूपमा आध्यात्मिक भोजन दिने जिम्मा पाएको भए तापनि यसका प्रत्येक सदस्यको कार्यभार वा जिम्मेवारी एउटै हुँदैन। (१ कोरिन्थी १२:१४-१८ पढ्‌नुहोस्‌) सुरुमा पनि उल्लेख गरेझैं प्रथम शताब्दीमा सबै अभिषिक्‍त जनले महत्त्वपूर्ण प्रचारकार्यमा भाग लिए। तर बाइबल लेख्न र ख्रीष्टियान मण्डलीमा निरीक्षण गर्न सीमित संख्या मात्र चलाइयो।

१७ उदाहरणको लागि: “मण्डली”-ले न्यायिक मामिला सँभालेको कुरा बाइबलमा कहीं-कहीं उल्लेख गरिएको छ। (मत्ती १८:१७, NRV ) तर वास्तवमा त्यो सँभाल्ने प्राचीनहरू मात्र हुन्‌ जसले मण्डलीको प्रतिनिधित्व गर्छ। निर्णयमा पुग्नुअघि प्राचीनहरूले मण्डलीको प्रत्येक सदस्यलाई सम्पर्क गरेर सबैको राय बुझ्ने गर्दैनन्‌। ईश्‍वरतान्त्रिक ढंगमा तिनीहरू आफूलाई खटाइएको भूमिका निर्वाह गर्छन्‌। सम्पूर्ण मण्डलीको खातिर तिनीहरू कदम चाल्छन्‌।

१८ त्यसैगरि, आज अभिषिक्‍त जनहरूका सीमित संख्याले दास वर्गको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएको छ। तिनीहरू नै मिलेर यहोवाका साक्षीहरूको परिचालक निकाय बनेको छ। यी आत्मा-अभिषिक्‍त पुरुषहरूले राज्य गतिविधि र आध्यात्मिक भोजनको कार्यक्रमको निरीक्षण गर्छन्‌। तर प्रथम शताब्दीमा जस्तै परिचालक निकायले कुनै निर्णय गर्नुअघि दास वर्गको प्रत्येक सदस्यसित सरसल्लाह गर्दैनन्‌। (प्रेरित १६:४, ५ पढ्‌नुहोस्‌) तर सबै अभिषिक्‍त जनहरू अहिले भइरहेको महत्त्वपूर्ण कटनी कार्यमा पूरापूर भाग लिन्छन्‌। समूहको रूपमा “विश्‍वासी र बुद्धिमान्‌ दास” एउटै शरीर हो तर व्यक्‍तिविशेषको रूपमा तिनीहरू विभिन्‍न कार्यभारहरू सँभाल्छन्‌।—१ कोरि. १२:१९-२६.

१९, २०. “विश्‍वासी र बुद्धिमान्‌ दास” अनि यसको परिचालक निकायबारे ठूलो भीडले कस्तो सन्तुलित दृष्टिकोण राख्छन्‌?

१९ माथि छलफल गरिएका कुराहरूले एकदमै वृद्धि भइरहेको पार्थिव आशा राख्ने ठूलो भीडलाई कस्तो असर पार्छ? राजाको सम्पत्तिको रूपमा तिनीहरू “विश्‍वासी र बुद्धिमान्‌ दास”-को प्रतिनिधित्व गर्ने परिचालक निकायको हरेक प्रबन्धमा खुसीसाथ पूरापूर सहयोग गर्छन्‌। परिचालक निकायको निर्देशनमा प्रकाशित हुने आध्यात्मिक भोजनको तिनीहरू मोल गर्छन्‌। ठूलो भीडले दासलाई एउटा समूहको रूपमा आदर गर्छ तर दास वर्गको हुँ भनी दाबी गर्ने कसैलाई पनि उच्च स्थानमा राख्नदेखि होसियार हुन्छन्‌। परमेश्‍वरको आत्माद्वारा साँच्चै अभिषेक भएकाहरूले त्यस्तो व्यवहारको चाहना वा आस गर्दैनन्‌।—प्रेरि. १०:२५, २६; १४:१४, १५.

२० हामी “परिवार” अर्थात्‌ शेष अभिषिक्‍त जनको भाग होऔं वा ठूलो भीडको, विश्‍वासी भण्डारे र यसको परिचालक निकायलाई पूरापूर सहयोग गर्ने संकल्प गरौं। हामी प्रत्येक अन्तसम्मै ‘जागा’ र विश्‍वासी रहौं।—मत्ती २४:१३, ४२. (w09 6/15)

के तपाईंले सम्झनुभएको छ?

• “विश्‍वासी र बुद्धिमान्‌ दास” को हो अनि “परिवार” नि?

• कुनै व्यक्‍तिले स्वर्गीय बोलावट पाएको कसरी थाह पाउँछन्‌?

• बाइबलको नयाँ समझ प्रकट गर्ने मुख्य जिम्मेवारी कसको हो?

• अभिषिक्‍त जनले आफूबारे कस्तो दृष्टिकोण राख्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

आज परिचालक निकायले “विश्‍वासी र बुद्धिमान्‌ दास”-को प्रतिनिधित्व गर्छ। प्रथम शताब्दीमा पनि यस्तै प्रबन्ध थियो