सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड”

“आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड”

“आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड”

“अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी तिमीहरू आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड।”—यहू. २१.

१, २. यहोवाले हामीलाई प्रेम गर्नुहुन्छ भनेर कसरी देखाउनुभएको छ र उहाँले हामीलाई स्वतः प्रेम गरिरहनुहुन्‍न भनेर हामी कसरी थाह पाउँछौं?

 होवा हामीलाई प्रेम गर्नुहुन्छ भनेर उहाँले विभिन्‍न तरिकामा देखाउनुभएको छ। निश्‍चय पनि, यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुराको सबैभन्दा ठूलो प्रमाण फिरौतीको बलिदानको प्रबन्ध हो। यहोवा मानिसजातिलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले आफ्नो प्रिय पुत्र हाम्रो लागि यस पृथ्वीमा मर्नसमेत पठाउनुभयो। (यूह. ३:१६) उहाँले यसो गर्नुभयो किनकि हामी सधैंभरि बाँचेको र हामीले उहाँको प्रेमबाट सधैंभरि लाभ उठाएको उहाँ चाहनुहुन्छ!

तर हामीले जे गरे पनि यहोवा हामीलाई स्वतः प्रेम गरिरहनुहुन्छ भनेर के हामी अनुमान लाउन सक्छौं त? अहँ किनभने यहूदा २१ मा हामीलाई यस्तो अर्ती दिइएको छ: “अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड।” “आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड” भन्‍ने अभिव्यक्‍तिले के देखाउँछ भने हामीले पनि केही गर्नै पर्छ। त्यसोभए, परमेश्‍वरको प्रेममा रहन हामीले के गर्नुपर्छ?

हामी कसरी परमेश्‍वरको प्रेममा रहिरहन सक्छौं?

३. पिताको प्रेममा रहिरहन येशूले आफ्नो निम्ति के अत्यावश्‍यक छ भन्‍नुभयो?

यसको जवाफ हामी येशूले पृथ्वीमा बिताएको अन्तिम रात उहाँले भनेका शब्दहरूमा पाउँछौं। उहाँले भन्‍नुभयो: “मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु।” (यूह. १५:१०) स्पष्ट छ, पितासँग राम्रो सम्बन्ध कायम राख्न उहाँका आज्ञाहरू पालन गर्नुपर्छ भनेर येशूले बुझ्नुभएको थियो। परमेश्‍वरको सिद्ध छोरा येशूमा त यो कुरा लागू हुन्थ्यो भने हामीमा चाहिं नहोला र?

४, ५. (क) यहोवालाई प्रेम गर्छौं भनी देखाउने मुख्य तरिका के हो? (ख) यहोवाका आज्ञाहरू मान्‍ने विचारले आङ सिरिङ्‌ङ पार्नुपर्ने किन कुनै कारण हामीसित छैन?

मुख्यतया यहोवाको आज्ञा पालन गरेर हामी उहाँलाई प्रेम गर्छौं भनी देखाउँछौं। यो कुरा प्रेरित यूहन्‍नाले यसरी व्यक्‍त गरे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।” (१ यूह. ५:३) हो, आजको संसारमा आज्ञाकारी हुनुलाई अक्सर त्यति राम्रो ठानिंदैन। तैपनि, “उहाँका आज्ञाहरू कडा छैनन्‌” भन्‍ने अभिव्यक्‍तिलाई ध्यान दिनुहोस्‌। हामीलाई असाध्यै गाह्रो हुने काम यहोवाले माग गरिरहनुभएको छैन।

उदाहरणको लागि: के तपाईं आफ्नो प्यारो साथीलाई बोक्नै नसक्ने गह्रौं सामान बोक्न लगाउनुहुन्छ? पक्कै लगाउनुहुन्‍न! यहोवा हामीभन्दा धेरै दयालु हुनुहुन्छ अनि उहाँलाई हाम्रो सीमितता राम्रोसँग थाह छ। “मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ” भनेर बाइबल हामीलाई आश्‍वस्त पार्छ। (भज. १०३:१४) हामीले गर्न सक्नेभन्दा बढी माग उहाँ कहिल्यै गर्नुहुन्‍न। त्यसैले यहोवाका आज्ञाहरू मान्‍ने विचारले आङ सिरिङ्‌ङ पार्नुपर्ने कुनै कारण हामीसित छैन। बरु, आज्ञा मान्‍नुलाई स्वर्गमा बस्ने हाम्रा पितालाई साँच्चै प्रेम गर्छौं र उहाँको प्रेममा रहन चाहन्छौं भनी देखाउने राम्रो मौका ठान्छौं।

यहोवाबाट एउटा विशेष वरदान

६, ७. (क) अन्तस्करण भनेको के हो? (ख) परमेश्‍वरको प्रेममा रहिरहन अन्तस्करणले कसरी मदत गर्न सक्छ, उदाहरणसहित बताउनुहोस्‌।

हामी बाँचिरहेको यस जटिल संसारमा हामीले यस्ता थुप्रै निर्णयहरू गर्नुपर्ने हुन्छ जसमा यहोवाप्रतिको आज्ञाकारिता मुछिएको हुन्छ। ती निर्णयहरू परमेश्‍वरको इच्छा अनुरूप छन्‌ भनेर हामी कसरी पक्का हुन सक्छौं? यहोवाले दिएको एउटा उपहारले हामीलाई यस आज्ञाकारिताको मामिलामा धेरै मदत गर्न सक्छ। र त्यो उपहार हो—अन्तस्करण। अन्तस्करण भनेको के हो? यो विशेष प्रकारको भित्री चेतना हो। यसले हामीभित्र न्यायाधीशको काम गर्छ, मतलब यसले हामीलाई जीवनमा गर्नुपर्ने छनौटहरू जाँच्न, आफूले गरिसकेका कामबारे विचार गर्न र त्यो असल थियो कि खराब, सही थियो कि गलत भनी मूल्याङ्‌कन गर्न सक्षम बनाउँछ।—रोमी २:१४, १५ पढ्‌नुहोस्‌।

हामी कसरी अन्तस्करणको सही प्रयोग गर्न सक्छौं? एउटा उदाहरण विचार गर्नुहोस्‌। एक जना पदयात्री अनकन्टार ठाउँमा यात्रा गर्दैछन्‌। त्यहाँ गोरेटो, सडक, साइनबोर्ड केही छैन। तैपनि, उनी खुरुखुरु आफ्नो लक्ष्यतर्फ लम्कन्छन्‌। कसरी? उनीसँग एउटा कम्पास छ। यसमा चारवटा मुख्य दिशा देखाउने संकेत र एउटा चुम्बकीय सुई छ अनि यो सुई भरपर्दो गरी उत्तरतर्फ फर्केको छ। कम्पास नभएको भए सायद यी पदयात्री बेपत्ता हुनेगरि हराउने थिए। त्यसैगरि, अन्तस्करण नभएको भए मानिसले जीवनमा नैतिकतासम्बन्धी छनौट गर्न सक्ने थिएन, न त के सही र के गलत भनी छुट्याउन नै सक्ने थिए।

८, ९. (क) हाम्रो अन्तस्करणको कस्ता सीमाहरू छन्‌ भनेर मनमा राख्नुपर्छ? (ख) अन्तस्करणलाई साँच्चै उपयोगी बनाउन हामी के गर्न सक्छौं?

तर कम्पासको जस्तै अन्तस्करणको पनि सीमा छ। उक्‍त उदाहरणको पदयात्रीले कम्पास नजिकै चुम्बक राख्यो भने सुई उत्तर दिशाबाट अन्तै घुम्छ। त्यसैगरि, हामीले पनि हृदयको चाहनालाई अति नै महत्त्व दियौं भने के होला? हाम्रो स्वार्थी चाहनाले अन्तस्करणलाई सजिलै भ्रष्ट बनाइदिन सक्छ। “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ” भनी बाइबल हामीलाई सचेत गराउँछ। (यर्मि. १७:९ हितो. ४:२३) साथै, ती पदयात्रीसित सही र भरपर्दो नक्सा नभएको भए त्यो कम्पासको त्यति काम हुने थिएन वा कुनै काम हुने थिएन। त्यसैगरि, हामी परमेश्‍वरको वचन बाइबलको पक्का र कहिल्यै परिवर्तन नहुने डोऱ्‍याइमा भर परेनौं भने हाम्रो अन्तस्करण केही कामको नहुन सक्छ। (भज. ११९:१०५) दुःखको कुरा, यस संसारका धेरै मानिसहरू हृदयको चाहनालाई अनावश्‍यक महत्त्व दिन्छन्‌ तर परमेश्‍वरको वचनमा भएका स्तरहरूलाई चाहिं त्यति वास्ता गर्दैनन्‌ वा ध्यानै दिंदैनन्‌। (एफिसी ४:१७-१९ पढ्‌नुहोस्‌) त्यसैले त, अन्तस्करण भए तापनि थुप्रै मानिसहरू खराब कामहरू गर्छन्‌।—१ तिमो. ४:२.

तर हामी कहिल्यै त्यस्तो नहुन कटिबद्ध हुनुपर्छ! बरु, परमेश्‍वरको वचनद्वारा हामीले आफ्नो अन्तस्करणलाई शिक्षा र प्रशिक्षण दिइरहौं जसले गर्दा यो हाम्रो लागि साँच्चै उपयोगी हुन सक्छ। अनि यसलाई स्वार्थी चाहनाहरूले अधीनमा रहन दिनुको सट्टा हामीले यसको बाइबल प्रशिक्षित आवाज सुन्‍नुपर्छ। त्यसको साथै, हाम्रा प्रिय आध्यात्मिक भाइबहिनीहरूको अन्तस्करणको आदर गर्न पनि हामीले प्रयास गर्नुपर्छ। आफ्नो भन्दा हाम्रा भाइहरूको अन्तस्करण बढ्‌ता संवेदनशील वा कमजोर हुन सक्छ भन्‍ने कुरा मनमा राख्दै हामी उनीहरूलाई ठोकर नपुऱ्‍याउन हर प्रयास गर्छौं।—१ कोरि. ८:१२; २ कोरि. ४:२; १ पत्रु. ३:१६.

१०. जीवनका कुन तीन वटा क्षेत्रहरू हामी विचार गर्नेछौं?

१० अब हामी आज्ञाकारी भएर यहोवाप्रति आफ्नो प्रेम देखाउन सक्ने जीवनका तीन वटा क्षेत्रहरू विचार गरौं। हो, यी तीनै क्षेत्रमा अन्तस्करणको भूमिका हुनेछ। तर सर्वप्रथम, आचरणसम्बन्धी बाइबलका प्रेरित स्तरहरूबाट यो अन्तस्करण डोऱ्‍याइएको हुनुपर्छ। आज्ञाकारी हुँदै हामीले यहोवालाई प्रेम गर्न सक्ने तीन तरिका यी हुन्‌: (१) यहोवाले प्रेम गर्नेहरूलाई हामी प्रेम गर्छौं, (२) अख्तियारप्रति हामी आदर देखाउँछौं र (३) हामी परमेश्‍वरको नजरमा शुद्ध रहने प्रयास गर्छौं।

यहोवाले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌

११. यहोवाले प्रेम गर्नेहरूलाई हामीले किन प्रेम गर्नुपर्छ?

११ पहिलो, यहोवाले प्रेम गर्नेहरूलाई हामीले प्रेम गर्नै पर्छ। संगतबारे कुरा गर्नुपर्दा मानिसहरू थुप्रै तरिकामा स्पन्जजस्तै छन्‌। वरिपरि भएका जेसुकैलाई सोस्ने झुकाव हामीमा छ। असिद्ध मानिसहरूका लागि संगत कति खतरनाक र मदतकारी हुन सक्छ, हाम्रो सृष्टिकर्तालाई राम्रोसँग थाह छ। त्यसैले उहाँ हामीलाई यो बुद्धिमानी सल्लाह दिनुहुन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितो. १३:२०; १ कोरि. १५:३३) हामी कोही पनि ‘बरालिन’ चाहँदैनौं; ‘बुद्धिमान्‌ हुन’ चाहन्छौं। यहोवालाई उहाँ अहिले जति बुद्धिमान्‌ हुनुहुन्छ, त्योभन्दा बढी बुद्धिमान्‌ बनाउन सकिंदैन, न त उहाँलाई कहिल्यै कसैले भ्रष्ट नै बनाउन सक्छ। तर संगतको कुरा गर्नुपर्दा उहाँले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभएको छ। यहोवाले कस्ता मानिसहरूलाई आफ्नो साथी चुन्‍नुहुन्छ, एकछिन विचार गर्नुहोस्‌!

१२. यहोवा कस्ता प्रकारका मानिसहरूलाई आफ्नो साथी चुन्‍नुहुन्छ?

१२ यहोवाले कुलपिता अब्राहामलाई “मेरो मित्र” भनेर सम्बोधन गर्नुभयो। (यशै. ४१:८) यी मानिस एकदमै विश्‍वासी, धार्मिक र आज्ञाकारी थिए। (याकू. २:२१-२३) यस्तै मानिसहरूलाई यहोवा साथी चुन्‍नुहुन्छ। आज पनि उहाँ यस्तै मानिसलाई साथी बनाउनुहुन्छ। यहोवा त यस्ता मानिसहरूलाई साथी चुन्‍नुहुन्छ भने, के हामीले पनि बुद्धिमान्‌ मानिसहरूलाई साथी छानेर बुद्धिमान्‌ हुनुपर्दैन र?

१३. साथीहरू छान्दा हामीलाई केले सही छनौट गर्न मदत दिन सक्छ?

१३ यस सन्दर्भमा सही छनौट गर्न तपाईंलाई केले मदत दिन सक्छ? बाइबलमा भएका उदाहरणहरू अध्ययन गर्नु प्रेरणादायी हुन सक्छ। रूथ र उनकी सासू नाओमी, दाऊद र जोनाथन अथवा तिमोथी र पावलबीचको मित्रतालाई विचार गर्नुहोस्‌। (रूथ १:१६, १७; १ शमू. २३:१६-१८; फिलि. २:१९-२२) सबैभन्दा महत्त्वपूर्ण एउटा कारणले गर्दा तिनीहरूबीचको मित्रता असाध्यै प्रगाढ भयो। त्यो हो: तिनीहरू सबै यहोवालाई साँचो प्रेम गर्थे। यहोवालाई तपाईंले जत्तिकै प्रेम गर्ने साथी के तपाईं पाउन सक्नुहुन्छ? ख्रीष्टियान मण्डलीमा यस्ता साथीहरू थुप्रै पाउन सकिने कुरामा आश्‍वस्त हुनुहोस्‌। यी साथीहरूले तपाईंलाई आध्यात्मिक तवरमा बराल्ने छैनन्‌। बरु, तिनीहरूले तपाईंलाई यहोवाको आज्ञा मान्‍न, आध्यात्मिकतामा बढ्‌दै जान र आत्माको लागि रोप्न मदत गर्नेछन्‌। (गलाती ६:७, ८ पढ्‌नुहोस्‌) तिनीहरूले तपाईंलाई परमेश्‍वरको प्रेममा रहिरहन सहायता दिनेछन्‌।

अख्तियारप्रति आदर देखाउनुहोस्‌

१४. कस्ता कारणहरूले गर्दा हामीलाई अख्तियारप्रति आदर देखाउन गाह्रो हुन्छ?

१४ यहोवालाई प्रेम गर्छौं भनी देखाउने दोस्रो तरिकामा अख्तियार समावेश छ। अख्तियारप्रति हामीले आदर देखाउनै पर्छ। तर अख्तियारको आदर गर्नु कहिलेकाहीं किन असाध्यै गाह्रो हुन्छ? एउटा कारण हो, अख्तियारमा भएका मानिसहरू असिद्ध छन्‌। साथै, हामी आफै पनि असिद्ध छौं। जन्मजातै लिएर आएको विद्रोही झुकावसँग हामी संघर्ष गर्छौं।

१५, १६. (क) यहोवाले आफ्ना जनको हेरचाह गर्ने जिम्मेवारी सुम्पेकाहरूको हामीले किन आदर गर्नुपर्छ? (ख) इस्राएलीहरूले मोशा विरुद्ध गरेको विद्रोहप्रति यहोवाको दृष्टिकोणबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं?

१५ तपाईं सोच्नुहोला, ‘अख्तियारको आदर गर्न यस्तो गाह्रो छ भने किन आदर गर्नुपऱ्‍यो त?’ यसको जवाफमा सार्वभौमिकताको विवाद मुछिएको छ। तपाईं आफ्नो सार्वभौम वा शासक कसलाई रोज्नुहुन्छ? यदि यहोवालाई रोज्छौं भने उहाँको अख्तियारको आदर गर्नै पर्छ। यदि आदर गर्दैनौं भने के हामी उहाँलाई साँच्चै आफ्नो शासक भन्‍न सक्छौं र? त्यसको साथै, यहोवा अक्सर असिद्ध मानिसहरूलाई आफ्ना जनको हेरचाह गर्ने जिम्मेवारी सुम्पनुभएर आफ्नो अख्तियार प्रयोग गर्नुहुन्छ। यी असिद्ध मानिसहरूलाई नै उहाँ आफ्ना जनहरूको हेरचाह गर्ने जिम्मेवारी सुम्पनुहुन्छ। हामीले यी मानिसहरूको विद्रोह गऱ्‍यौं भने यहोवाले हामीलाई कुन नजरले हेर्नुहुन्छ?—१ थिस्सलोनिकी ५:१२, १३ पढ्‌नुहोस्‌।

१६ उदाहरणको लागि, जब इस्राएलीहरूले मोशा विरुद्ध गनगन र विद्रोह गरे, यहोवाले त्यसलाई उहाँ विरुद्ध गरेको विद्रोहको रूपमा लिनुभयो। (गन्ती १४:२६, २७) परमेश्‍वर परिवर्तन हुनुभएको छैन। उहाँले अख्तियार दिएर राखेकाहरू विरुद्ध विद्रोह गर्छौं भने हामीले उहाँ विरुद्ध नै विद्रोह गरिरहेका हुन्छौं!

१७. मण्डलीमा अख्तियार पाएकाहरूप्रति हामीले कस्तो सही मनोवृत्ति राख्ने प्रयास गर्नुपर्छ?

१७ प्रेरित पावलले ख्रीष्टियान मण्डलीमा अख्तियार पाएकाहरूप्रति हामीले राख्नुपर्ने सही मनोवृत्ति प्रकाश पारेका छन्‌। उनले लेखे: “तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाहा गर्छन्‌। यो काम तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।” (हिब्रू १३:१७, NRV ) हो, यस्तो आज्ञाकारिता र अधीनमा बस्ने मनोवृत्ति देखाउन साँचो प्रयास चाहिन्छ। तर नबिर्सनुहोस्‌, हामी परमेश्‍वरको प्रेममा रहन यी सब गर्दैछौं। यस लक्ष्यमा पुग्न हरेक प्रयास गर्नु मनासिब छैन र?

परमेश्‍वरको नजरमा शुद्ध रहनुहोस्‌

१८. हामी स्वच्छ रहेको यहोवा किन चाहनुहुन्छ?

१८ यहोवालाई प्रेम गर्छौं भनी देखाउने तेस्रो तरिका हो, परमेश्‍वरको नजरमा शुद्ध रहने प्रयास गरेर। आमाबाबुले आफ्ना साना छोराछोरीलाई सफा-सुग्घर राख्न कडा परिश्रम गर्छन्‌। किन? एउटा कारण हो, छोराछोरीको हित र स्वास्थ्यको लागि तिनीहरूलाई सफा-सुग्घर राख्नु अत्यावश्‍यक छ। अर्को कारण, छोराछोरी सफा-सुग्घर छ भने आमाबाबुबाट कत्ति माया र ध्यान पाइरहेको छ त्यो देखिन्छ र यसले परिवारको छविमा राम्रो प्रभाव पार्छ। यस्तै कारणले गर्दा यहोवा पनि हामी स्वच्छ भएको चाहनुहुन्छ। हाम्रो हितको लागि स्वच्छता अत्यावश्‍यक छ भनेर उहाँलाई थाह छ। हाम्रो स्वच्छताले स्वर्गका हाम्रा पिता यहोवाको महिमा हुन्छ भन्‍ने कुरा पनि उहाँलाई थाह छ। यो असाध्यै महत्त्वपूर्ण छ किनकि मानिसहरूले हामीलाई यो भ्रष्ट संसारका मानिसहरूभन्दा भिन्‍नै देखेर उनीहरू हाम्रा परमेश्‍वरतर्फ आकर्षित हुन सक्छन्‌।

१९. शारीरिक स्वच्छता महत्त्वपूर्ण छ भनी हामी कसरी थाह पाउँछौं?

१९ हामी के-कस्ता तरिकामा स्वच्छ रहनुपर्छ? हो, जीवनका हरेक क्षेत्रमा। आफ्ना जनहरू शारीरिक तवरमा स्वच्छ हुनु अत्यावश्‍यक छ भनेर यहोवाले प्राचीन इस्राएलीहरूलाई स्पष्ट पार्नुभयो। (लेवी १५:३१) मोशाको व्यवस्थाले फोहोर नष्ट गर्ने, भाँडाकुँडा सफा राख्ने र हात-गोडा तथा लुगाफाटा धुनेजस्ता विषयलाई समेटेको थियो। (प्रस्थ. ३०:१७-२१; लेवी ११:३२; गन्ती १९:१७-२०; व्यव. २३:१३, १४) तिनीहरूका परमेश्‍वर यहोवा पवित्र अर्थात्‌ “स्वच्छ,” “शुद्ध” र “चोखो” हुनुहुन्छ भनी इस्राएलीहरूलाई सम्झाइयो। पवित्र परमेश्‍वरका सेवकहरू पनि पवित्र हुनै पर्छ।लेवी ११:४४, ४५ पढ्‌नुहोस्‌।

२०. के-कस्ता तरिकामा हामी स्वच्छ रहनुपर्छ?

२० त्यसैले हामी भित्र-बाहिर, दुवै तरिकामा स्वच्छ हुनुपर्छ। हामी आफ्नो विचार स्वच्छ राख्ने प्रयास गर्छौं। हामी वरपरको संसार यौनमा पतित भए तापनि हामी विश्‍वासी भई नैतिक स्वच्छतासम्बन्धी यहोवाका स्तरहरू पालन गर्छौं। सबैभन्दा महत्त्वपूर्ण, झूटा धर्मको कुनै पनि कुप्रभावबाट अलग भएर हामी आफ्नो उपासना स्वच्छ राख्न जोडदार प्रयास गरिरहन्छौं। हामी यशैया ५२:११ मा लिपिबद्ध यो प्रेरित चेतावनी सधैं मनमा राख्छौं: “गइहाल, गइहाल, त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! . . . त्यसको बीचबाट निस्केर जाऊ। तिमीहरू आफैलाई शुद्ध पार।” आज हामी, स्वर्गका हाम्रा पिताले अशुद्ध ठान्‍ने झूटो धर्मसँग सम्बन्धित कुराहरूलाई छुँदा पनि नछोएर आध्यात्मिक रूपमा स्वच्छ बस्छौं। उदाहरणको लागि, झूटो धर्मसँग सम्बन्धित संसारका अति लोकप्रिय उत्सव वा चाडपर्वहरूबाट आफूलाई अलग राख्न हामी सजग हुन्छौं। यो कुरा सही हो, स्वच्छ रहनु चुनौतीपूर्ण छ। तर परमेश्‍वरका जनहरू स्वच्छ रहन प्रयास गर्छन्‌ किनकि यसो गरेमा उनीहरू परमेश्‍वरको प्रेममा रहन सक्छन्‌।

२१. परमेश्‍वरको प्रेममा रहिरहनेछौं भनेर हामी कसरी पक्का हुन सक्छौं?

२१ हामी सधैंभरि उहाँको प्रेममा रहेको यहोवा चाहनुहुन्छ। तर परमेश्‍वरको प्रेममा रहन हामी प्रत्येकले सक्दो गर्न सुनिश्‍चित गर्नुपर्छ। यो, हामीले येशूको उदाहरण पछ्याएर अनि उहाँको आज्ञा पालन गरी उहाँप्रतिको प्रेम प्रमाणित गरेर गर्न सक्छौं। यसो गऱ्‍यौं भने हामी यो कुरामा पक्का हुन सक्छौं, “न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।”—रोमी ८:३८, ३९. ( w 09 8/15)

के तपाईंले सम्झनुभएको छ?

• परमेश्‍वरको प्रेममा रहिरहन अन्तस्करणले हामीलाई कसरी मदत गर्न सक्छ?

• परमेश्‍वरले प्रेम गर्नेहरूलाई हामीले किन प्रेम गर्नुपर्छ?

• अख्तियारको आदर गर्नु किन अत्यावश्‍यक छ?

• परमेश्‍वरका जनहरूका लागि स्वच्छता कत्तिको महत्त्वपूर्ण छ?

[प्रश्‍नहरू]

[पृष्ठ ३०-मा भएको पेटी/चित्र]

असल आचरण कायम राख्न प्रोत्साहन दिने एउटा प्रकाशन

सन्‌ २००८ को जिल्ला अधिवेशनमा “कीप योरसेल्भ्स्‌ इन गड्‌स लभ” (आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड) शीर्षकको २२४ पृष्ठे किताब विमोचन गरियो। यो नयाँ किताबको उद्देश्‍य के हो? ख्रीष्टियानहरूलाई यहोवाका स्तरहरूलाई चिन्‍न र प्रेम गर्न मदत गर्ने हेतुले यो किताब तयार पारिएको हो। यसले विशेषगरि ख्रीष्टियान आचरणलाई जोड दिन्छ। “कीप योरसेल्भ्स्‌ इन गड्‌स लभ” किताबलाई ध्यान दिएर पढ्‌दा, यहोवाको स्तरबमोजिम चल्नु नै अहिलेको लागि सर्वोत्तम मार्ग हो र यसरी चल्नुले हामीलाई भविष्यमा अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने हाम्रो विश्‍वासलाई अझ बलियो बनाउनेछ।

त्यसबाहेक, यहोवाको आज्ञा मान्‍नु बोझ होइन बरु उहाँलाई कत्तिको प्रेम गर्छौं त्यो देखाउने एउटा तरिका हो भनेर हामीलाई बुझाउन पनि यो किताब तयार पारिएको हो। त्यसैले यो किताबले हामीलाई यस्तो प्रश्‍न सोध्न जुरमुऱ्‍याउँछ, ‘म किन यहोवाको आज्ञा मान्छु?’

जब कसैले यहोवाको प्रेमबाट आफूलाई अलग राख्ने दुःखलाग्दो गल्ती गर्छ, त्यसको कारण साधारणतया बाइबलको कुनै शिक्षा नबुझेर होइन तर गलत आचरणले गर्दा हो। त्यसैले दैनिक जीवनमा हामीलाई डोऱ्‍याइ दिने यहोवाका नियम तथा सिद्धान्तहरूप्रति प्रेम र कृतज्ञता बढाउनु कत्ति महत्त्वपूर्ण छ! यो नयाँ किताबले विश्‍वभरका यहोवाका साक्षीहरूलाई सही कुरामा दृढ हुन, शैतानलाई झूटो साबित गर्न र सबैभन्दा महत्त्वपूर्ण, परमेश्‍वरको प्रेममा रहिरहन मदत गर्नेछ भनी हामी विश्‍वस्त छौं।—यहू. २१.

[पृष्ठ ३०-मा भएको चित्र]

“मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु”