सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ?

के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ?

के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ?

के तपाईं कुनै समय ख्रीष्टियान मण्डलीमा गहन जिम्मेवारी बहन गर्नुहुन्थ्यो? सायद सेवकाई सेवक वा प्राचीन वा पूर्ण-समय सेवक हुनुहुन्थ्यो। तपाईं अवश्‍य पनि जिम्मेवारी सँभालेर आनन्दित र सन्तुष्ट हुनुहुन्थ्यो तर पछि कारणवश तपाईंले ती जिम्मेवारीहरू छोड्‌नुपऱ्‍यो।

सायद तपाईंले परिवारको सदस्यको हेरचाह गर्न सेवाको सुअवसर छोड्‌नुपऱ्‍यो। अथवा बुढेसकाल वा खराब स्वास्थ्यले गर्दा होला। त्यस्ता निर्णयहरू असफलताका चिनारी होइनन्‌। (१ तिमो. ५:८) प्रथम शताब्दीमा फिलिपले मिसनरी सेवा गरेका थिए तर पछि सिजरियामा बसोबास गरेर आफ्नो परिवारको हेरचाह गरे। (प्रेरि. २१:८, ९) प्राचीन इस्राएलका राजा दाऊदले बुढेसकालमा छोरा सुलेमानलाई उत्तराधिकारी नियुक्‍त गर्ने प्रबन्ध मिलाए। (१ राजा १:१, ३२-३५) तैपनि, फिलिप र दाऊद दुवैलाई यहोवाले उत्तिकै माया र प्रशंसा गरिरहनुभयो। अनि आज पनि मानिसहरू तिनीहरूलाई आदर गर्छन्‌।

तर हुन सक्छ, तपाईंलाई सेवाको सुअवसरबाट हटाइएको थियो। अनुचित आचरणले गर्दा हो कि? अथवा पारिवारिक समस्याले गर्दा? (१ तिमो. ३:२, ४, १०, १२) आफूलाई त्यसरी सेवाबाट हटाइनु जायज होइन भन्‍ने समेत तपाईंलाई लागेको होला। अनि अहिलेसम्म पनि तपाईंको मनमा त्यसको तुस बाँकी हुन सक्छ।

जिम्मेवारी बहन गर्न फेरि अघि बढ्‌न सक्नुहुन्छ

के सेवाको सुअवसर एकचोटि गुमाएपछि फेरि कहिल्यै पाउन सकिंदैन? प्रायः त्यसो होइन। तर जिम्मेवारी फेरि बहन गर्न तपाईंमा अघि बढ्‌ने चाहना हुनै पर्छ। (१ तिमो. ३:१, NW ) किन? तपाईंले जुन कारणले यहोवालाई समर्पण गर्नुभएको थियो त्यहीले गर्दा। मतलब, यहोवा र उहाँलाई सेवा गर्नेहरूप्रतिको प्रेमले गर्दा। फेरि जिम्मेवारी ग्रहण गरेर तपाईं त्यो प्रेम देखाउन इच्छुक हुनुहुन्छ भने यहोवाले तपाईंलाई चलाउनुहुनेछ अनि पहिला सेवाको सुअवसर पाउँदाखेरिको र त्यो गुमाएपछि बटुलेका तपाईंका अनुभवहरूको सदुपयोग हुनेछ।

यहोवाले इस्राएल राष्ट्रबाट न्यायोचित ढंगमा तिनीहरूले पाइरहेको सुअवसर हटाउनुभएपछि कस्तो आश्‍वासन दिनुभयो, सम्झनुहोस्‌। बाइबल भन्छ: “म परमप्रभु कहिल्यै परिवर्तन हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू भस्म भएका छैनौ।” (मला. ३:६) यहोवा इस्राएलीहरूलाई माया गर्नुहुन्थ्यो र तिनीहरूलाई अझै चलाउन चाहनुहुन्थ्यो। तपाईंलाई पनि यहोवा फेरि चलाउन चाहनुहुन्छ। अहिले थप जिम्मेवारी नभएको बेला के गर्न सक्नुहुन्छ? ईश्‍वरतान्त्रिक गतिविधिमा भाग लिने कुरा योग्यतामा भन्दा आध्यात्मिक स्वास्थ्यमा धेरै निर्भर हुन्छ। त्यसैले, अहिले तपाईंको काँधमा थप जिम्मेवारीहरू नहुँदा आध्यात्मिक तवरमा बलियो हुन बढी जोड गर्नुहोस्‌।

विश्‍वासमा ‘बलियो’ हुन “परमप्रभु र उहाँको शक्‍तिको खोजी” गर्नै पर्छ। (१ कोरि. १६:१३; भज. १०५:४) त्यसो गर्ने एउटा तरिका हृदयदेखि प्रार्थना गरेर हो। यहोवालाई आफ्नो अवस्था बताउँदा भावनाहरू व्यक्‍त गर्नुहोस्‌ र पवित्र आत्मा माग्नुहोस्‌। यसो गर्दा तपाईं उहाँको नजिक हुनुहुनेछ र बलियो हुनुहुनेछ। (भज. ६२:८; फिलि. ४:६, १३) आध्यात्मिक तवरमा बलियो हुने अर्को तरिका परमेश्‍वरको वचन अध्ययन गर्ने तरिकामा उन्‍नति गरेर हो। अहिले खासै धेरै जिम्मेवारी नहुँदा तपाईंले व्यक्‍तिगत र पारिवारिक अध्ययनमा अझै ध्यान दिन सक्नुहुन्छ। सायद पहिला निरन्तरता दिन नसकिरहेको अध्ययन तालिका फेरि सुरु गर्न सक्नुहुन्छ।

निस्सन्देह, यहोवाको एक साक्षीको रूपमा तपाईं अझै उहाँको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। (यशै. ४३:१०-१२) “परमेश्‍वरका सहकर्मी” हुनु, त्योभन्दा ठूलो सुअवसर अर्को कुन होला र? (१ कोरि. ३:९) तपाईंको आध्यात्मिकता बलियो बनाउँदै लैजाने अनि आफ्ना साथीहरूलाई त्यसै गर्न मदत गर्ने एउटा उत्तम तरिका प्रचारकार्यमा अझै सक्रिय भएर हो।

आफ्ना भावनाहरूसित संघर्ष गर्नुहोस्‌

सेवाको सुअवसर गुम्दा लाज वा ग्लानिका भावनाले पिरोल्न सक्छ। आफ्नो कार्यलाई जायज ठहऱ्‍याउने झुकाव तपाईंमा हुन सक्छ। तर जिम्मेवार भाइहरूले तपाईंको कुरा सुनिसकेपछि पनि तपाईंले बहन गरिरहेको केही-केही सुअवसर छोड्‌नुपर्छ भन्‍ने महसुस गरेमा नि? नकारात्मक भावनाहरू मनमा आइरहन सक्छ जसले तपाईंलाई अघि बढ्‌न वा आफ्नो त्यो अनुभवबाट पाठ सिक्न समेत बाधा पुऱ्‍याउन सक्छ। अय्यूब, मनश्‍शे र यूसुफको अनुभवले नकारात्मक भावनाहरूसित संघर्ष गर्न कसरी मदत पुऱ्‍याउन सक्छ, आउनुहोस्‌ हेरौं।

अरूको प्रतिनिधित्व गर्दै अय्यूबले यहोवाको सामु बिन्ती चढाएका थिए अनि कुलपिताहरूको समाजमा बूढाप्रधान र न्यायकर्ताको रूपमा बसेका थिए। (अय्यू. १:५; २९:७-१७, २१-२५) तर पछि, जीवनमा सबै राम्रै चलिरहेको बेला तिनले आफ्नो सम्पत्ति, छोराछोरी र स्वास्थ्य सर्वस्व गुमाए। यसो हुँदा आफूले कमाएको असल नाउँ पनि गुमाए। तिनले भने, “अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्छन्‌।”—अय्यू. ३०:१.

आफू पूर्णतया निर्दोष छु भन्‍ने लागेकोले अय्यूब परमेश्‍वरसामु आफू सही हुनुको कारण पेस गर्न चाहन्थे। (अय्यू. १३:१५) तैपनि अय्यूबले यहोवाकै बाटो हेर्न चाहे। फलस्वरूप असल नतिजा पनि पाए। विशेषगरि आफूले भोगिरहेको परीक्षाप्रतिको प्रतिक्रियामा सुधार ल्याउनुपर्ने तिनले बुझे। (अय्यू. ४०:६-८; ४२:३, ६) अन्ततः नम्रताको कारण अय्यूबले परमेश्‍वरबाट प्रशस्त आशिष्‌ पाए।—अय्यू. ४२:१०-१३.

सेवाको सुअवसर आफ्नो गल्तीको कारण गुमाउनुपरेको हो भने यहोवा र ख्रीष्टियान भाइहरूले त्यो कुरालाई बिर्सेर माफी दिने हुन्‌ कि होइनन्‌ भन्‍ने तपाईंलाई लाग्ला। एकछिन यहूदाका राजा मनश्‍शेलाई सम्झनुहोस्‌। “तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।” (२ राजा २१:६) तैपनि मनश्‍शे विश्‍वासी राजाको रूपमा मरे। यो कसरी सम्भव भयो?

अन्ततः मनश्‍शेले अनुशासन स्वीकारे। चेतावनीहरूलाई बेवास्ता गरेपछि यहोवाले तिनी विरुद्ध अश्‍शूरीहरू पठाउनुभयो र तिनीहरूले तिनलाई साङ्‌लाले बाँधेर टाढा बेबिलोनमा लगे। त्यहाँ मनश्‍शेले “परमप्रभु आफ्ना परमेश्‍वरलाई प्रार्थना गरेर उहाँलाई शान्त गराउन खोजे। औ आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ विनम्र भएर झुके। तिनले प्रार्थना गरे।” साँचो पश्‍चात्ताप गरेको तिनको कार्यमा देखियो र तिनले माफी पाए।—२ इति. ३३:१२, १३.

साधारणतया, गुमाएका सुअवसरहरू फेरि एकैचोटि प्राप्त गर्न सकिंदैन। तर समयको दौडान तपाईंलाई केही-केही जिम्मेवारी फेरि दिइन सक्छ। पाएको जिम्मेवारी स्वीकार्दै आफ्नोतर्फबाट यथासक्दो गर्दा अक्सर थप जिम्मेवारीहरू पाइन्छ। यसको मतलब आफूअघिको बाटो सजिलो छ भन्‍ने त होइन। बाधाअडचन र निराशाहरूको सामना गर्नुपर्ने हुन सक्छ। यद्यपि, इच्छुक र लगनशील भई लागिरहेमा असल नतिजा प्राप्त गर्न सकिन्छ।

उदाहरणको लागि याकूबको छोरो यूसुफलाई लिनुहोस्‌। तिनलाई १७ वर्षको हुँदा दाइहरूले अन्यायपूर्वक बेचिदिएका थिए। (उत्प. ३७:२, २६-२८) आफ्ना दाइहरूले यस्तो व्यवहार गर्लान्‌ भन्‍ने तिनले सोचेकै थिएनन्‌। तैपनि तिनी यी परिस्थितिको सामना गर्न तयार भए। अनि यहोवाको आशिष्‌द्वारा ‘तिनलाई [मालिकको घरको] मुख्य कारिन्दा तुल्याइयो र उनीसँग भएका सब थोकको जिम्मा’ सुम्पियो। (उत्प. ३९:४) पछि यूसुफलाई झ्यालखानामा हालियो। तर तिनले आफूलाई विश्‍वासी साबित गरे र यहोवा तिनको साथमा हुनुभयो। त्यसैले अन्ततः तिनलाई झ्यालखानाको हेरचाह गर्ने जिम्मा दिइयो।—उत्प. ३९:२१-२३.

तिनले झ्यालखानामा बिताएका वर्षहरू पछाडि एउटा उद्देश्‍य छ भनेर यूसुफलाई थाह थिएन। तैपनि तिनले आफ्नोतर्फबाट सक्दो गरिरहे। यसरी यहोवाले प्रतिज्ञा गरिएको सन्तानको वंश बचाइरहन सक्नुभयो। (उत्प. ३:१५; ४५:५-८) हुन त हामी कसैले पनि यूसुफले जस्तो महत्त्वपूर्ण भूमिका खेल्ने आशा गर्न सक्दैनौं तर यहोवाका सेवकहरूले पाउने सुअवसरहरूमा उहाँको हात छ भनेर प्रेरित विवरणहरूबाट स्पष्ट हुन्छ। यूसुफको अनुकरण गर्दै ढोका खुला राख्नुहोस्‌।

कठिनाइहरूबाट सिक्नुहोस्‌

अय्यूब, मनश्‍शे र यूसुफले हतोत्साहित पार्ने समस्याहरूको सामना गर्नुपऱ्‍यो। तर तीनै जनाले यहोवाले हुन दिएको परिस्थिति स्वीकारे र त्यसबाट अनमोल पाठ सिके। तपाईंले चाहिं के सिक्न सक्नुहुन्छ?

यहोवा तपाईंलाई के सिकाउन खोज्दै हुनुहुन्छ, बुझ्ने कोसिस गर्नुहोस्‌। अय्यूब निराशाहरूसित जुझ्दा आत्म-केन्द्रित भए र महत्त्वपूर्ण कुरा बिर्से। तर यहोवाबाट मायालु सुधार पाएपछि तिनी फेरि ठीक ठाउँमा आए र भने: “मैले ता म आफैले नजानेका महान्‌ कामहरूका विषयमा भनेको छु।” (अय्यू. ४२:३) सेवाका सुअवसरहरू गुमाउनुपरेको कारण तपाईंको चित्त दुखेको छ भने ‘आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झनुहोस्‌, तर सुबुद्धिले सम्झनुहोस्‌।’ (रोमी १२:३) अहिलेसम्म राम्ररी बुझ्नै नसकेको तरिकामा यहोवाले तपाईंलाई सुधार्न खोजिरहनुभएको हुन सक्छ।

अनुशासन स्वीकार्नुहोस्‌। सुरुमा मनश्‍शेलाई आफूले त्यस्तो कठोर सजाय पाउनु ठीक होइन भन्‍ने लागेको हुन सक्छ। तैपनि तिनले अनुशासन स्वीकारे, पश्‍चात्ताप गरे अनि गलत मार्ग त्यागे। आफूले पाएको अनुशासनबारे तपाईंलाई जे-जस्तो लागे तापनि ‘यहोवाको सामने आफूलाई विनम्र तुल्याउनुहोस्‌ र उहाँले तपाईंलाई उच्च पार्नुहुनेछ।’—१ पत्रु. ५:६; याकू. ४:१०.

धीरजी र इच्छुक हुनुहोस्‌। यूसुफले सामना गरेको परिस्थितिलाई विचार गर्दा तिनले सजिलै घृणा र बदलाको भावना पालिराख्न सक्थे। त्यसको सट्टा, तिनले गहिरो समझ र कृपा विकास गरे। (उत्प. ५०:१५-२१) निरुत्साहित हुनुभएको छ भने धीरजी हुनुहोस्‌। यहोवाबाट तालिम पाउन इच्छुक हुनुहोस्‌।

के तपाईंले कुनै समय ख्रीष्टियान मण्डलीमा गहन जिम्मेवारी बहन गर्नुभएको थियो? भविष्यमा फेरि सेवाका सुअवसरहरू प्रदान गर्ने मौका यहोवालाई दिनुहोस्‌। आध्यात्मिक तवरमा बलियो हुनुहोस्‌। आफ्ना भावनाहरूलाई धीरज र नम्रताद्वारा काबुमा राख्नुहोस्‌। तपाईंलाई दिइएको जस्तोसुकै जिम्मेवारी सहर्ष स्वीकार्नुहोस्‌। “इमान्दारी सँग हिंड्‌नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्‍न” भनेर ढुक्क हुनुहोस्‌।—भज. ८४:११. (w09 8/15)

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

व्यग्र प्रार्थना गरेर विश्‍वासमा बलियो हुँदै जानुहोस्‌

[पृष्ठ २६-मा भएको चित्र]

तपाईंको आध्यात्मिकता बलियो बनाउँदै लैजाने एउटा उत्तम तरिका प्रचारकार्यमा अझै सक्रिय भएर हो

[पृष्ठ २७-मा भएको चित्र]

भविष्यमा फेरि सेवाका सुअवसरहरू प्रदान गर्ने मौका यहोवालाई दिनुहोस्‌