सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय शिक्षाको श्रेष्ठता

ईश्‍वरीय शिक्षाको श्रेष्ठता

ईश्‍वरीय शिक्षाको श्रेष्ठता

“ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु।”—फिलि. ३:८.

१, २. केही ख्रीष्टियानहरूले कस्तो छनौट गरेका छन्‌ र किन?

 रबर्ट सानैदेखि स्कूलमा उत्कृष्ट विद्यार्थी थिए। आठ वर्षको मात्र छँदा तिनलाई पढाउने एक शिक्षिकाले घरमै आएर “तिमीले गर्न नसक्ने केही छैन” भनेकी थिइन्‌। उक्‍त शिक्षिकाले तिनी एक दिन डाक्टर बनेको हेर्न पाओस्‌ भन्‍ने इच्छा व्यक्‍त गरिन्‌। उच्च माध्यामिक विद्यालयमा राम्रो अंक ल्याएकोले तिनी आफ्नो देशको एक-से-एक युनिभर्सिटीमा भर्ना हुनसक्थे। तर तिनले थुप्रै मानिसहरूले जिन्दगीमा एकचोटि मात्र आउने मौका ठान्‍ने कुरालाई अस्वीकार गरेर आफ्नो लक्ष्य अर्थात्‌ नियमित अग्रगामी गर्ने छनौट गरे।

रबर्टले जस्तै जवान, वृद्ध सबै ख्रीष्टियानहरूले यस संसारमा उन्‍नति गरेर अघि बढ्‌ने मौकाहरू पाउँछन्‌। आफ्नो आध्यात्मिक लक्ष्य प्राप्त गर्न केहीले ती मौकाहरूको पूर्ण सदुपयोग नगर्ने छनौट गर्छन्‌। (१ कोरि. ७:२९-३१) रबर्टजस्ता ख्रीष्टियानहरूलाई प्रचारकार्यमा अझ धेरै भाग लिन केले उत्प्रेरित गर्छ? प्रचारकार्यमा अझ धेरै भाग लिनुको मुख्य कारण यहोवालाई प्रेम गरेकोले हो। तर त्यसका साथै तिनीहरूले ईश्‍वरीय शिक्षाको श्रेष्ठताको महत्त्व पनि बुझेका छन्‌। सत्यको सही ज्ञान नपाएको भए अहिले तपाईंको जीवन कस्तो हुन्थ्यो के तपाईंले हालसालै सोच्नुभएको छ? यहोवाबाट सिकाइएकोले आनन्द उठाउन सकेका केही अनुपम आशिष्‌हरूबारे विचार गर्दा सुसमाचारप्रति कृतज्ञ भइरहन र त्यो अरूलाई बाँड्‌ने काममा जोसिलो भइरहन मदत मिल्नेछ।

यहोवाद्वारा सिकाइनु एउटा सुअवसर

३. यहोवा असिद्ध मानिसहरूलाई सिकाउन इच्छुक हुनुहुन्छ भनेर हामी किन पक्का हुन सक्छौं?

यहोवा भलो हुनुभएकोले असिद्ध मानिसहरूलाई सिकाउन इच्छुक हुनुहुन्छ। अभिषिक्‍त ख्रीष्टियानहरूबारे भविष्यसूचक रूपमा यशैया ५४:१३ भन्छ: “तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्‌, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” यी शब्दहरू सिद्धान्तमा ख्रीष्टका “अरू भेडा”-लाई पनि लागू हुन्छ। (यूह. १०:१६) यो कुरा अहिले हाम्रो समयमा पूरा भइरहेको एउटा भविष्यवाणीबाट प्रस्ट हुन्छ। यशैयाले दर्शनमा साँचो उपासनाको लागि सबै जातिका मानिसहरू ओइरिरहेका देखे। तिनीहरू आपसमा यसो भन्दै गरेको यशैया बताउँछन्‌: “आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्‌नेछौं।” (यशै. २:१-३) परमेश्‍वरबाट शिक्षा पाउनु कस्तो ठूलो सुअवसर!

४. यहोवाबाट शिक्षा पाउने मानिसहरू कस्तो भएको उहाँ चाहनुहुन्छ?

ईश्‍वरीय शिक्षाबाट लाभ उठाउन के आवश्‍यक छ? एउटा प्रमुख आवश्‍यकता भनेको नम्रता हो। भजनहार दाऊदले लेखे: “परमप्रभु भला र सरल हुनुहुन्छ। . . . नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ।” (भज. २५:८, ९) अनि येशूले भन्‍नुभयो: “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढाउँदछु, तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाएर बालकहरूलाई प्रकट गर्नुभयो।” (लूका १०:२१) ‘नम्रहरूलाई अनुग्रह गर्नुहुने’ परमेश्‍वरसित के तपाईं नजिकिएको महसुस गर्नुहुन्‍न र?—१ पत्रु. ५:५.

५. परमेश्‍वरको ज्ञान लिन हामीलाई केले मात्र सम्भव तुल्यायो?

के हामीले आफ्नै क्षमता वा बुद्धिले सच्चाइ पत्ता लगाउन सकेका हौं भन्‍न सक्छौं? अहँ, सक्दैनौ। वास्तवमा हामी कसैले पनि आफ्नै बल-बर्कतले परमेश्‍वरको ज्ञान कहिल्यै लिन सक्दैनौं। येशूले भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूह. ६:४४) प्रचारकार्य र पवित्र आत्मामार्फत यहोवाले भेडाखाले नम्र व्यक्‍तिहरूलाई अर्थात्‌ “जाति-जातिका धनसम्पत्तिहरू”-लाई खिंच्दै हुनुहुन्छ। (हाग्गै २:७) यहोवाले आफ्ना पुत्रतर्फ खिंचेकाहरूमध्ये हुन पाउँदा के तपाईं आभारी हुनुहुन्‍न?— यर्मिया ९:२३, २४ पढ्‌नुहोस्‌।

जीवनलाई उकास्न सक्ने शक्‍ति

६. “परमेश्‍वरको ज्ञान”-ले मानिसहरूमा कस्तो असाधारण प्रभाव पार्न सक्छ?

अहिले हाम्रो समयमा मानव व्यक्‍तित्वमा भइरहेको परिवर्तनलाई यशैयाको भविष्यवाणीमा जीवन्त ढंगमा चित्रण गरिएको छ। पहिलेका हिंस्रक व्यक्‍तिहरू अहिले शान्तिप्रिय बनेका छन्‌। (यशैया ११:६-९, पढ्‌नुहोस्‌) वर्ण, देश, जाति फरक-फरक भएकोले वा अन्य केही सांस्कृतिक कारणले कुनै समय एकअर्कासित दुस्मनी मोल्नेहरूले समेत अहिले मिलेर बस्न सिकेका छन्‌। लाक्षणिक अर्थमा भन्‍ने हो भने तिनीहरूले ‘आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली बनाएका छन्‌।’ (यशै. २:४) यस्तो असाधारण परिवर्तन कसरी सम्भव भयो? मानिसहरूले “परमप्रभुको ज्ञान” लिएर त्यो जीवनमा लागू गरेकाले। परमेश्‍वरका सेवकहरू असिद्ध भए तापनि तिनीहरूबीच साँचो अन्तरराष्ट्रिय भातृत्व छाएको छ। सुसमाचारले सबैलाई पार्न सक्ने प्रभाव र त्यसले फलाउने असल फलले ईश्‍वरीय शिक्षाको श्रेष्ठतालाई प्रमाणित गरेको छ।—मत्ती ११:१९.

७, ८. (क) मानिसमा भएका केही “किल्लाहरू” के-के हुन्‌ जसलाई ईश्‍वरीय शिक्षाले भत्काउँछ? (ख) ईश्‍वरीय शिक्षाले यहोवाको प्रशंसा गर्छ भनेर कुन अनुभवले देखाउँछ?

परमेश्‍वरका सेवकहरूको सेवकाईलाई प्रेरित पावलले आध्यात्मिक युद्धसित तुलना गरे। तिनले लेखे: “(किनभने हाम्रो युद्धका हतियार शारीरिक होइनन्‌, तर किल्लाहरू भत्काउनसक्नेझैं छन्‌, ती परमेश्‍वरका सामने शक्‍तिमान छन्‌) परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हुने कल्पना र हरेक उच्च कुरालाई हामी खण्डन गर्छौं।” (२ कोरि. १०:४, ५) मानिसमा भएका केही “किल्लाहरू” के-के हुन्‌ जसलाई ईश्‍वरीय शिक्षाले भत्काउँछ? केही उल्लेख गर्नुपर्दा: झूटा शिक्षा, अन्धविश्‍वास अनि मानव दर्शनहरूको बोझ। (कल. २:८) ईश्‍वरीय शिक्षाले कुलत हटाएर ईश्‍वरीय गुणहरू विकास गर्न मदत गर्छ। (१ कोरि. ६:९-११) पारिवारिक जीवनलाई उकास्छ। अनि आशा नभएकाहरूलाई जीवनमा साँचो उद्देश्‍य प्रदान गर्छ। के अहिले चाहिएको शिक्षा यस्तै होइन र?

यहोवाले मानिसलाई विकास गर्न मदत गर्ने एउटा गुण हो, इमानदारी। यो कुरा तलको अनुभवले देखाउँछ। (हिब्रू १३:१८) भारतकी एक महिलाले बाइबल अध्ययन स्वीकारिन्‌ र समयको दौडान बप्तिस्मा अप्राप्त प्रकाशक भइन्‌। एक दिन, मण्डलीको निर्माणकार्य सकेर घर फर्कंदै गर्दा तिनले बस बिसौनी नजिकै करिब ६४,००० नेपाली रुपैयाँ बराबरको सुनको सिक्री भेटिन्‌। गरिब भए पनि तिनले सम्बन्धित व्यक्‍तिलाई फर्काइदिनुहोस्‌ भन्दै त्यो सिक्री पुलिस थानामा बुझाइन्‌। थानाका पुलिस अफिसर तीनछक परे! पछि अर्को अफिसरले तिनलाई सोधे, “तपाईंले यो सिक्री किन फिर्ता गर्नुभएको?” तिनले भनिन्‌, “बाइबल शिक्षाले मलाई परिवर्तन गरेको छ, त्यसैले म अहिले इमानदार भएकी छु।” प्रभावित हुँदै उक्‍त पुलिस अफिसरले तिनीसँगै थानामा गएका ख्रीष्टियान प्राचीनलाई यसो भने, “यो इलाकाको जनसंख्या अहिले तीन करोड असी लाखभन्दा धेरै छ। यदि तपाईंले १० जनालाई मात्र पनि उहाँ जस्तो बन्‍न मदत गर्नुभयो भने त्यो एउटा ठूलो उपलब्धि हुनेछ।” ईश्‍वरीय शिक्षाले गर्दा जीवनमा परिवर्तन गरेका लाखौं मानिसलाई विचार गर्दा यहोवाको प्रशंसा गर्ने प्रशस्त कारण पाउँछौं नि, होइन र?

९. केले मानिसहरूलाई जीवनमा ठूलो परिवर्तन गर्न सम्भव तुल्याएको छ?

परमेश्‍वरको वचनमा भएको परिवर्तन गर्ने शक्‍तिका साथै यहोवाले दिनुहुने पवित्र आत्माको मदतले मानिसहरूलाई जीवनमा ठूलो परिवर्तन गर्न सक्षम बनाउँछ। (रोमी १२:२; गला. ५:२२, २३) कलस्सी ३:१० भन्छ: “नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्तन भएका छौ।” परमेश्‍वरको वचन बाइबलको सन्देशले कुनै व्यक्‍ति वास्तवमा कस्तो छ त्यो प्रकट गर्न सक्छ। साथै यसले उसको सोच्ने तरिका र कुनै कुराप्रतिको उसको भावनालाई समेत परिवर्तन गर्न सक्छ। (हिब्रू ४:१२, पढ्‌नुहोस्‌) धर्मशास्त्रको सही ज्ञान लिएर अनि यहोवाको धार्मिक स्तरहरूअनुसार जीवन बिताएर कुनै पनि व्यक्‍ति परमेश्‍वरको मित्र बन्‍न सक्छ, त्यो पनि सधैंभरि बाँच्ने आशासहित।

भविष्यको लागि तयारी

१०. (क) किन यहोवाले मात्रै हामीलाई भविष्यको लागि तयार पार्न सक्नुहुन्छ? (ख) चाँडै कुन नाटकीय परिवर्तनले पूरै पृथ्वीलाई असर गर्नेछ?

१० यहोवाले मात्रै हामीलाई भविष्यको लागि तयार पार्न सक्नुहुन्छ किनभने पछि हुने कुरा उहाँ जान्‍नुहुन्छ। उहाँले मानव भविष्य कस्तो हुनेछ त्यो निर्धारण गर्नुहुन्छ। (यशै. ४६:९, १०) बाइबल भविष्यवाणी बताउँछ, “परमप्रभुको भयानक दिन नजीकै छ।” (सप. १:१४) त्यो दिनबारे हितोपदेश ११:४ मा लेखिएका शब्दहरू सत्य साबित हुनेछन्‌: “क्रोधको अन्तिम समयमा धन-सम्पत्तिको केही मोल हुँदैन, तर सोझोपनाले मृत्युबाट रक्षा गर्छ।” शैतानको संसारलाई न्याय गर्ने यहोवाको दिन आउँदा सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको अनुमोदन पाउनु हो। पैसा, केही कामको हुनेछैन। वास्तवमा इजकिएल ७:१९ यसो भन्छ: “तिनीहरूले आफ्ना चाँदी सडकहरूहुँदो फालिदिनेछन्‌, र तिनीहरूका सुन अशुद्ध थोकजस्तो हुनेछ।” पछि हुने कुराको यो ज्ञानले अहिले बुद्धिमानीसाथ कदम चाल्न हामीलाई मदत दिन सक्छ।

११. ईश्‍वरीय शिक्षाले भविष्यको लागि तयार हुन मदत दिने एउटा तरिका के हो?

११ ईश्‍वरीय शिक्षाले आउँदै गरेको यहोवाको दिनको लागि तयार पार्ने एउटा खास तरिका, उचित प्राथमिकताहरू तय गर्न मदत दिएर हो। प्रेरित पावलले तिमोथीलाई लेखे: “वर्तमान संसारका धनीहरूलाई कडा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै आशा राखून्‌।” हामी धनी छैनौं भने पनि परमेश्‍वरको यो प्रेरित सल्लाहबाट लाभ उठाउन सक्छौं। यसमा के समावेश छ? भौतिक धनसम्पत्ति थुपार्नुको साटो हामीले ‘असल गर्न’ र ‘असल काममा धनवान्‌ हुन’ प्रयत्न गर्नुपर्छ। जीवनमा आध्यात्मिक कुरालाई प्राथमिकता दिएर हामी ‘पछि आउने समयको निम्ति असल जग बनाउन’ सक्छौं। (१ तिमो. ६:१७-१९) यस्तो आत्मत्यागी जीवनशैलीमा व्यावहारिक बुद्धि झल्किन्छ। किनभने येशूले भन्‍नुभयो, “सिङ्‌गै पृथ्वी प्राप्त गरेर आफ्नो प्राणचाहिं गुमाउँछ भने, मानिसलाई के लाभ हुनेछ र?” (मत्ती १६:२६, २७) यहोवाको दिन एकदमै नजिक भएकोले हामी सबैले यसमा विचार पुऱ्‍याउनु बेस हुन्छ: ‘म कहाँ धन-सम्पत्ति थुपार्दैछु? म कसको दास बन्दैछु, परमेश्‍वरको कि धनको?’—मत्ती ६:१९, २०, २४.

१२. अरूले हाम्रो प्रचारकार्यलाई तुच्छ दृष्टिले हेर्दा किन निरुत्साहित हुनु हुँदैन?

१२ ख्रीष्टियानहरूका लागि परमेश्‍वरको वचनमा उल्लेख गरिएका “असल काम”-हरूमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको जीवन बचाउने राज्य प्रचार र चेला बनाउने कार्य हो। (मत्ती २४:१४; २८:१९, २०) प्रथम शताब्दीमा जस्तै अहिले पनि कोही-कोहीले हाम्रो प्रचारकार्यलाई तुच्छ दृष्टिले हेर्लान्‌। (१ कोरिन्थी १:१८-२१, पढ्‌नुहोस्‌) तर त्यसले हाम्रो सन्देशको मोललाई फरक पार्दैन। अनि समय छँदै सबैलाई त्यसमा विश्‍वास राख्न मौका दिने महत्त्वलाई पनि घटाउँदैन। (रोमी १०:१३, १४) अरूलाई ईश्‍वरीय शिक्षाबाट लाभ उठाउन मदत गर्दा हामीले थुप्रै आशिष्‌ पाउनेछौं।

त्यागहरू गर्दा आशिष्‌ पाउँछौं

१३. सुसमाचारको खातिर प्रेरित पावलले के-कस्ता त्याग गरे?

१३ ख्रीष्टियान हुनुअघि प्रेरित पावलले यहूदी समाजमा सफल हुन सक्ने तालिम पाएका थिए। पछि त्यस्तै १३ वर्षको हुँदा तिनी आफ्नो गृहनगर टार्सस छोडेर यरूशलेममा सबैले एकदमै आदर गर्ने व्यवस्थाका शिक्षक गमलीयलकहाँ शिक्षा लिन गए। (प्रेरि. २२:३) समयको अन्तरालमा, पावल आफ्ना मित्रहरूभन्दा श्रेष्ठ देखिन थाले अनि तिनले त्यसलाई निरन्तरता दिएका भए यहूदी धर्मका प्रतिष्ठित व्यक्‍ति हुन सक्थे। (गला. १:१३, १४) तर सुसमाचार स्वीकारेर प्रचारकार्यमा लागेपछि तिनले ती सबै त्यागे। के त्यस्तो छनौट गरेकोमा पावल चुकचुकाए? अहँ। वास्तवमा तिनले यस्तो लेखे: “साँच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्दी सम्झन्छु।”—फिलि. ३:८.

१४, १५. “परमेश्‍वरका सहकर्मी” भएर हामी कस्ता आशिष्‌हरू अनुभव गर्न सक्छौं?

१४ पावलले जस्तै अहिले पनि थुप्रैले सुसमाचारको खातिर त्यागहरू गर्छन्‌। (मर्कू. १०:२९, ३०) के त्यसो गर्दा हामीलाई केही गुमेको महसुस हुन्छ? सुरुमा उल्लेख गरिएका रबर्टले भनेको यो कुरामा सायद अरू थुप्रै पनि सहमत छन्‌: “मलाई अहिले कुनै पछुतो छैन। पूर्ण-समय सेवाले ममा खुसी र सन्तुष्टि ल्याएको छ अनि ‘यहोवा कति भलो हुनुहुन्छ पारख गरेर हेर्न’ सकेको छु। आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्न जब-जब भौतिक त्यागहरू गरें यहोवाले सधैं आशिष्‌ दिनुभएको छ—त्याग गरेभन्दा धेरै। लाग्छ, मैले कुनै त्याग गरेकै छैन। मात्र पाएको छु!”—भज. ३४:८; हितो. १०:२२.

१५ यदि तपाईंले पनि केही समयदेखि प्रचार अनि सिकाउने कार्यमा समय बिताइरहनुभएको छ भने यहोवा कति भलो हुनुहुन्छ त्यो पारख गरेर हेर्नुभएको होला भन्‍नेमा कुनै शंका छैन। सुसमाचार सुनाउने बेला यहोवाको पवित्र आत्माले मदत गरेको क्षण के तपाईंलाई याद छ? हाम्रो सन्देश ध्यान दिएर सुनोस्‌ भनेर यहोवाले मानिसहरूको मन खोलिदिंदा तिनीहरूको आँखा चम्किलो भएको के तपाईंले याद गर्नुभएको छ? (प्रेरि. १६:१४) तपाईंले सेवकाईलाई बढाउन सकोस्‌ भनेर यहोवाले बाधाअडचन हटाउन मदत पो गर्नुभएको छ कि? गाह्रो परिस्थितिमा कमजोर महसुस गर्दा पनि सेवामा लागिरहन यहोवाले के तपाईंलाई मदत गर्नुभएको छ? (फिलि. ४:१३) प्रचारकार्यमा जाँदा यहोवाले मदत गर्नुभएको आफैले अनुभव गर्दा उहाँ अझै वास्तविक लाग्छ र उहाँसित झनै नजिक महसुस गर्न सक्छौं। (यशै. ४१:१०) ईश्‍वरीय शिक्षाको महान्‌ कार्यमा “परमेश्‍वरका सहकर्मी”-मध्ये हुन पाउनु के आशिष्‌को कुरा होइन र?—१ कोरि. ३:९.

१६. ईश्‍वरीय शिक्षाको खातिर गर्नुभएको प्रयास र त्यागप्रति तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१६ आफ्नो जीवनकालभरिमा चिरकालीन अर्थ राख्ने केही गर्ने चाह थुप्रै मानिसको छ। अहिलेको संसारमा एकदमै ठूलो प्राप्ति गरे तापनि छिनभरमै माटोमा मिलेको हामीले देखेका छौं। तर, यहोवाले आफ्नो नाउँ पवित्र पार्न अहिले आधुनिक समयमा यहोवाले गरिरहनुभएको काम उहाँका जनहरूको इतिहासको स्थायी भाग बन्‍नेछ भन्‍नेमा कुनै शंका छैन। यी कामहरू सदा-सर्वदै यादगार रहनेछन्‌! (हितो. १०:७; हिब्रू ६:१०) ऐतिहासिक ईश्‍वरीय शिक्षाको काममा भाग लिन पाउने सुअवसरलाई हामीले सधैं कदर गरौं। ( w 09 9/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आफूले सिकाउनेहरूबाट यहोवा के चाहनुहुन्छ?

• ईश्‍वरीय शिक्षाले मानिसको जीवनलाई कसरी उकास्छ?

• अरूलाई ईश्‍वरीय शिक्षाबाट लाभ उठाउन मदत गर्दा हामी कुन-कुन तरिकामा आशिषित्‌ हुनेछौं?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

यहोवाबाट शिक्षा पाएकाहरू साँचो अन्तरराष्ट्रिय भातृत्वमा रहेका छन्‌

[पृष्ठ २७-मा भएको चित्र]

“परमेश्‍वरका सहकर्मी”-मध्ये हुन पाउनु के आशिष्‌को कुरा होइन र?