सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो छुटकाराको लागि यहोवाले गर्नुभएको प्रबन्धको के तपाईं मोल गर्नुहुन्छ?

हाम्रो छुटकाराको लागि यहोवाले गर्नुभएको प्रबन्धको के तपाईं मोल गर्नुहुन्छ?

हाम्रो छुटकाराको लागि यहोवाले गर्नुभएको प्रबन्धको के तपाईं मोल गर्नुहुन्छ?

“इस्राएलका परमप्रभु, परमेश्‍वर धन्यका हुनुहुन्छ, किनभने उहाँले आफ्नो मानिसको हेरचाह गरेर उद्धारको काम गर्नुभयो।”—लूका १:६८.

१, २. हाम्रो वर्तमान परिस्थितिको गम्भीरतालाई कसरी चित्रण गर्न सकिन्छ र हामी कुन-कुन प्रश्‍न केलाएर हेर्नेछौं?

 कल्पना गर्नुहोस्‌, तपाईं बिरामी परेर अस्पतालको शैय्यामा हुनुहुन्छ। तपाईं त्यस्तो वार्डमा हुनुहुन्छ जहाँ सबै एउटै रोगबाट ग्रस्त छन्‌—एउटा यस्तो भयानक रोग जसको उपचार नै छैन। एक जना डाक्टरले त्यो रोगको उपचार पत्ता लगाउने काममा नेतृत्व लिइरहेका छन्‌ भन्‍ने थाह पाउँदा तपाईं आशावादी हुनुभएको छ। अनुसन्धानमा के-कस्तो प्रगति भइरहेको छ थाह पाउन तपाईं उत्सुक हुनुहुन्छ। नभन्दै एक दिन उपचार पत्ता लाग्यो भन्‍ने खबर पाउनुहुन्छ! त्यो उपचार पत्ता लगाएका डाक्टरले ठूल्ठूला त्यागहरू गरेका छन्‌। तपाईंलाई कस्तो लाग्छ? पक्कै पनि तपाईंको हृदय उक्‍त व्यक्‍तिप्रति आदर र कृतज्ञताले भरिनेछ। किनभने तिनले तपाईं अनि अरू थुप्रैका लागि मृत्युबाट उद्धार गर्न बाटो खोलिदिए।

यो दृश्‍य तपाईंलाई एकदमै बढाइचढाइ गरिएजस्तो लाग्ला तर यो हामी सबैले सामना गरिरहेको वास्तविकतासित मिल्दोजुल्दो छ। माथि वर्णन गरिएको परिस्थितिभन्दा कता हो कता गम्भीर परिस्थितिमा हामी छौं। हामीलाई उद्धारकको टड्‌कारो खाँचो छ। (रोमी ७:२४, पढ्‌नुहोस्‌) हामीलाई छुटकारा दिन यहोवाले ठूलो त्याग गर्नुभएको छ। साथै पुत्रले पनि। त्यसोभए आउनुहोस्‌ चार आधारभूत प्रश्‍नहरू केलाएर हेरौं। हामीलाई किन छुटकारा चाहिन्छ? हाम्रो छुटकाराको लागि येशूले कस्तो मोल चुकाउनुभयो? अनि यहोवाले नि? साथै परमेश्‍वरले प्रबन्ध गर्नुभएको छुटकाराको मोल गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

हामीलाई किन छुटकारा चाहिन्छ?

३. पाप महामारीसित कसरी मिल्दोजुल्दो छ?

हालैको एउटा अनुमानअनुसार मानव इतिहासको एकदमै भयानक महामारी सन्‌ १९१८ मा आएको स्पेनिश इन्फ्लुएन्जा थियो जसले करोडौंको ज्यान लियो। हुन त यो भन्दा अझै घातक रोगहरू छन्‌। त्यसले व्यापक रूपमा सङ्‌क्रमण त नगर्ला तर सङ्‌क्रमितमध्ये अधिकांशको ज्यान लिन्छ। a तर पापलाई हामीले त्यस्तै महामारीसित दाँजेर हेऱ्‍यौं भने नि? रोमी ५:१२ का शब्दहरू सम्झनुहोस्‌: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” सबै असिद्ध मानिस पापी भएकोले शतप्रतिशत पापबाट सङ्‌क्रमित छन्‌।। (रोमी ३:२३, पढ्‌नुहोस्‌) अनि मृत्युदर कति छ? पावलले लेखे, पापले “सबै मानिसमा” मृत्यु ल्यायो।

४. हाम्रो आयुप्रति यहोवाको दृष्टिकोण कस्तो छ र उहाँको दृष्टिकोण आज थुप्रैको भन्दा कसरी फरक छ?

आज थुप्रैले पाप र मृत्युलाई स्वाभाविक ठान्छन्‌। तिनीहरू अकाल मृत्युदेखि डराउँछन्‌। तर उमेर ढल्कँदै मर्नुलाई चाहिं “प्राकृतिक” ठान्छन्‌। त्यसैले मानिसहरूलाई यसबारे सृष्टिकर्ताको दृष्टिकोण बिर्सन एकदमै सजिलो छ। हाम्रो आयु उहाँले चाहनुभएको भन्दा एकदमै छोटो छ। वास्तवमा, कोही यहोवाको नजरमा “एक दिन” पनि बाँच्न सकेको छैन। (२ पत्रु. ३:८) त्यसैले परमेश्‍वरको वचनले हाम्रो जीवनलाई ओइलाइजाने घाँस वा उडिजाने सासझैं क्षणिक भन्छ। (भज. ३९:५; १ पत्रु. १:२४) यो कुरालाई हामीले मनमा राख्नुपर्छ। किन? किनभने आफूलाई असर गरिरहेको “रोग”-को गम्भीरतालाई बुझ्यौं भने त्यसको “उपचार” अर्थात्‌ हाम्रो छुटकाराको मोलप्रति अझै कृतज्ञ हुन सक्नेछौं।

५. हामी प्रत्येकले पापको कारण कस्तो मोल चुकाउनु परेको छ?

पाप र त्यसको असरको गम्भीरता थाह पाउन हामीले कस्तो मोल चुकाउनुपऱ्‍यो त्यो बुझ्ने कोसिस गर्नै पर्छ। त्यसो गर्न सुरुमा गाह्रो हुन सक्छ किनभने पापको लागि हामीले त्यस्तो मोल चुकाउनु परेको छ जुन हामीले अहिलेसम्म अनुभव गरेका छैनौं। सुरुमा आदम र हव्वाले सिद्ध मानव जीवनको आनन्द उठाएका थिए। तनमन सिद्ध भएको कारण तिनीहरूले आफ्नो विचार, भावना र कामलाई नियन्त्रणमा राख्न सक्थे। यसरी तिनीहरूले यहोवा परमेश्‍वरका सेवकको रूपमा अनुपम गुणहरू विकास गरिहरहन सक्थे। तर तिनीहरूले त्यो बहुमूल्य उपहारलाई लत्त्याए। यहोवा विरुद्ध पाप गर्ने छनौट गरेर तिनीहरूले आफ्नो अनि आफ्नो सन्तानको लागि यहोवाले चाहनुभएको जीवन गुमाए। (उत्प. ३:१६-१९) साथै आफै र हामीमाथि अहिले छलफल गर्दै गरेको डरलाग्दो “रोग” लादिदिए। त्यसैले यहोवाले तिनीहरूको निन्दा गर्नु उपयुक्‍त थियो। तर हामीलाई चाहिं उहाँले छुटकाराको आशा दिनुभएको छ।—भज. १०३:१०.

हाम्रो छुटकाराको लागि येशूले चुकाउनु परेको मोल

६, ७. (क) हाम्रो छुटकाराको लागि ठूलो मोल चुकाउनुपर्नेछ भनेर यहोवाले सुरुमै कसरी देखाउनुभयो? (ख) व्यवस्था दिनुभन्दा अगाडिका हाबिल अनि कुलपिताहरूले चढाएको बलिदानबाट के सिक्न सक्छौं?

आदम र हव्वाको सन्तानलाई छुटकारा दिन ठूलो मोल चुकाउनुपर्छ भनी यहोवालाई थाह थियो। उत्पत्ति ३:१५ मा लिपिबद्ध भविष्याणीबाट छुटकाराको लागि चुकाउनु परेको मोलबारे हामी केही सिक्छौं। यहोवाले “सन्तान” अर्थात्‌ उद्धारकको प्रबन्ध गरिदिनुहुने थियो जसले एकदिन नामोनिशानै नरहने गरी शैतानलाई नाश गर्ने थिए। तर त्यसो गर्ने क्रममा त्यो उद्धारकले पनि दुःख भोग्ने थिए। लाक्षणिक अर्थमा तिनको कुर्कुच्चो डसिने थियो। यो सुन्दा पीडादायी र कमजोर बनाउँदै लैजाने लाग्न सक्छ, तर यसको मतलब के हो? यहोवाका चुनिएका जनले वास्तवमा के सहनुपर्ने थियो?

मानिसजातिलाई पापबाट बचाउन त्यो उद्धारकले प्रायश्‍चित गर्न एउटा आधारको प्रबन्ध गर्नुपर्ने थियो। यसो गर्नु भनेको पापको असरहरू हटाएर मानिसजातिलाई परमेश्‍वरसित मेल गराउनु हो। यसमा कुन कुरा समावेश हुने थियो? एउटा बलिदान आवश्‍यक पर्नेछ भनेर पहिल्यै संकेतहरू दिइएका थिए। प्रथम विश्‍वासी व्यक्‍ति हाबिलले यहोवालाई पशुबलि चढाउँदा उहाँले त्यो ग्रहण गर्नुभयो। पछि परमेश्‍वरको भय राख्ने कुलपिताहरू नूह, अब्राहाम, याकूब र अय्यूबले पनि परमेश्‍वरलाई खुसी तुल्याउने बलिदानहरू चढाए। (उत्प. ४:४; ८:२०, २१; २२:१३; ३१:५४; अय्यू. १:५) शताब्दीऔं पछि, मोशाको व्यवस्थाले बलिदान चढाउने सन्दर्भमा अझै प्रस्ट पाऱ्‍यो।

८. वार्षिक प्रायश्‍चितको दिनमा प्रधान पूजाहारीले के गर्थे?

वार्षिक प्रायश्‍चितको दिनमा चढाइने बलिदानहरू व्यवस्थाअनुसार सबैभन्दा महत्वपूर्ण बलिदानहरूमध्ये थिए। त्यो दिन प्रधान पूजाहारीले एकपछि अर्को प्रतीकात्मक कार्यहरू गर्थे। तिनले सुरुमा पूजाहारी वर्ग र त्यसपछि गैर-पूजाहारी कुलहरूका पापको प्रायश्‍चित गर्न यहोवालाई बलिदानहरू चढाउँथे। तिनी पाल वा मन्दिरको महापवित्रस्थान भित्र पस्थे। त्यो पनि वर्षको यही दिन, केवल तिनी मात्र। तिनले त्यहाँ करारको सन्दुकअगाडि बलिदानको रगत छर्कन्थे। त्यो पवित्र सन्दुकमाथि कहिलेकाहीं उज्यालो अनि चम्किलो बादल यहोवा परमेश्‍वरको उपस्थितिको प्रतिनिधित्व गर्दै देखापर्थ्यो।—प्रस्थ. २५:२२; लेवी १६:१-३०.

९. (क) प्रायश्‍चितको दिनमा प्रधान पूजाहारीले र तिनले चढाउने बलिदानले केलाई चित्रण गर्थ्यो? (ख) प्रधान पूजाहारी महापवित्रस्थानमा पस्नु कुन कुराको संकेत थियो?

प्रेरित पावलले ती प्रतीकात्मक कार्यहरूको अर्थ खुलाउने प्रेरणा पाए। तिनले बताए कि प्रधान पूजाहारीले मसीह अर्थात्‌ येशू ख्रीष्टलाई चित्रण गर्छ भने बलिदान चढाएको कुराले उहाँको बलिदानरूपी मृत्युलाई। (हिब्रू ९:११-१४) त्यो सिद्ध बलिदानले दुई समूह अर्थात्‌ ख्रीष्टका १,४४,००० आत्मा-अभिषिक्‍त भाइहरूको पूजाहारी वर्ग अनि ‘अरू भेडाहरू’-ले साँचो पश्‍चात्ताप गर्न सक्थे। (यूह. १०:१६) येशू स्वर्गमा यहोवा परमेश्‍वरसामु फिरौतीको मोल चढाउन उपस्थित भएको कुरालाई प्रधान पूजाहारी महापवित्रस्थानमा पसेको कुराले संकेत गर्थ्यो।—हिब्रू ९:२४, २५.

१०. मसीहले के-के अनुभव गर्नेछन्‌ भनेर बाइबल भविष्यवाणीहरूले देखायो?

१० स्पष्ट छ, आदम र हव्वाको सन्तानको छुटकाराको लागि ठूलो मोल चुकाउनुपर्ने थियो। मसीहले आफ्नो जीवन अर्पण गर्नुपर्ने थियो! हिब्रू धर्मशास्त्रका अगमवक्‍ताहरूले यो सत्यलाई जीवन्त तरिकामा व्यक्‍त गरे। उदाहरणका लागि “अपराधको प्रायश्‍चित” गर्नको निम्ति “एक अभिषेक जन” ‘हटाइनेछ’ अर्थात्‌ मारिनेछ भनी अगमवक्‍ता दानियलले सीधै बताए। (दानि. ९:२४-२६) असिद्ध मानिसजातिको पाप बोक्नलाई मसीह इन्कार गरिनेछ, सताइनेछ अनि मारिनेछ अर्थात्‌ घायल हुनेछ भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे।—यशै. ५३:४, ५, ७.

११. हाम्रो छुटकाराको निम्ति आफैलाई बलि चढाउन इच्छुक भएको यहोवाका पुत्रले कसरी देखाउनुभयो?

११ पृथ्वीमा आउनुअघि परमेश्‍वरका एक मात्र पुत्रले हाम्रो छुटकाराको निम्ति कस्तो मोल चुकाउनुपर्छ भनेर बुझ्नुभएको थियो। उहाँले घोर दुःख भोग्नुपर्ने थियो। साथै अन्ततः उहाँलाई मारिने थियो। पिताले त्यो सत्य बताउनुहुँदा के उहाँ पछि हट्‌नुभयो वा विद्रोह गर्नुभयो? त्यसको विपरीत उहाँ राजीखुसी पिताको निर्देशन अनुरूप चल्नुभयो। (यशै. ५०:४-६) पृथ्वीमा छँदा पनि येशूले आज्ञाकारी भई पिताको इच्छा पूरा गर्नुभयो। किन? त्यसको एउटा जवाफ उहाँले यसरी दिनुभयो: “म पितालाई प्रेम गर्दछु।” अनि अर्को जवाफ यी शब्दहरूद्वारा दिनुभयो: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनुभन्दा बढ्‌ता प्रेम कसैको हुँदैन।” (यूह. १४:३१; १५:१३) त्यसैले हामीले छुटकारा पाउनुमा धेरै हदसम्म यहोवाको पुत्रको प्रेम मुछिएको छ। उहाँले आफ्नो सिद्ध मानव जीवन अर्पण गर्नुपरे तापनि हाम्रो छुटकाराको लागि त्यसो गर्न उहाँ खुसी हुनुहुन्थ्यो।

हाम्रो छुटकाराको लागि यहोवाले चुकाउनु परेको मोल

१२. फिरौतीको बलिदान कसको इच्छाको अभिव्यक्‍ति हो र उहाँले किन त्यसको प्रबन्ध गर्नुभयो?

१२ फिरौतीको बलिदान दिनुपर्छ र त्यो कसरी दिनुपर्छ, येशूले निर्णय गर्नुभएन। बरु, छुटकाराको निम्ति प्रबन्ध मिलाउनु यहोवाको इच्छाको प्रमुख भाग थियो। मन्दिरमा भएको बलिदान चढाउने वेदीले यहोवाको इच्छालाई संकेत गर्छ भनी प्रेरित पावलले बताए। (हिब्रू १०:१०) त्यसैले ख्रीष्टको बलिदानद्वारा हामीले जुन छुटकारा पायौं त्यसको लागि हामी मुख्यगरि यहोवाप्रति नै ऋणी छौं। (लूका १:६८) यो, उहाँको सिद्ध इच्छा र मानवजातिप्रतिको अपार प्रेमको एउटा अभिव्यक्‍ति हो। यूहन्‍ना ३:१६, पढ्‌नुहोस्‌।

१३, १४. हाम्रो खातिर यहोवाले जे-जति गर्नुभयो त्यसप्रति कृतज्ञ हुन अब्राहामको उदाहरणले कसरी मदत गर्न सक्छ?

१३ हामीलाई त्यसरी प्रेम देखाउँदा यहोवाले कस्तो मोल चुकाउनुपऱ्‍यो? त्यो बुझ्न हामीलाई गाह्रो छ। तर बाइबलमा भएको एउटा विवरणले यसलाई अझै प्रस्टसित बुझ्न हामीलाई मदत गर्न सक्छ। यहोवाले विश्‍वासी पुरुष अब्राहामलाई एउटा साह्रै गाह्रो काम अह्राउनुभयो। त्यो थियो: बलिको रूपमा आफ्नो छोरा इसहाकलाई चढाउने। अब्राहाम मायालु बुबा थिए। तिनीसित इसहाकबारे कुरा गर्दा यहोवाले “तैंले माया गरेको तेरो एउटै छोरो” भन्‍नुभयो। (उत्प. २२:२) तैपनि, अब्राहामले इसहाकप्रतिको प्रेम भन्दा यहोवाको इच्छा पूरा गर्नु अझै महत्त्वपूर्ण छ भनी बुझे। अब्राहाम आज्ञाअनुसारै गर्न तम्सिए। तर यहोवाले अब्राहामलाई त्यसो गर्न दिनुभएन जुन एक दिन उहाँ आफैले गर्नुहुने थियो। अब्राहामले छोरा बलिदान चढाउनै लाग्दा तिनलाई रोक्न यहोवाले स्वर्गदूत पठाउनुभयो। यस्तो गाह्रो परीक्षामा परमेश्‍वरको आज्ञा पालन गर्न अब्राहाम यत्ति दृढ थिए कि जवान छोरालाई फेरि हेर्ने एउटै मात्र आशा पुनरुत्थानद्वारा पूरा हुनेछ भनेर तिनी पक्का थिए। साथै अब्राहाममा परमेश्‍वरले त्यस्तो पुनरुत्थान गर्नुहुन्छ भन्‍ने पूरा विश्‍वास थियो। साँच्चै, अब्राहामले “दृष्टान्तको रूपमा” इसहाकलाई पुनरुत्थानद्वारा फेरि पाए भनी पावलले बताए।—हिब्रू ११:१९.

१४ छोरा बलिदान चढाउनको लागि तयारीहरू गर्दा अब्राहाममाथि के बित्यो, तपाईं कल्पना गर्न सक्नुहुन्छ? एक अर्थमा, यहोवाले “मेरो प्यारो पुत्र” भनेर सम्बोधन गर्नुभएको व्यक्‍तिलाई चढाउनुपर्दा उहाँलाई कस्तो लाग्यो त्यो अब्राहामको अनुभवले बुझ्न मदत गर्छ। (मत्ती ३:१७) तर नबिर्सनुहोस्‌, यहोवाको पीडा अब्राहामको भन्दा अझ तीव्र हुन सक्छ। कारण, उहाँ अनि उहाँको पुत्रले अनगिन्ती वर्ष सँगै आनन्दपूर्वक बिताएको हुन सक्छ। परमेश्‍वरको प्यारो पुत्रले “मुख्य कालिगड” (NW ) अनि उहाँको प्रवक्‍ता अर्थात्‌ “वचन”-को रूपमा पितासित रमाउँदै काम गर्नुभएको थियो। (हितो. ८:२२, ३०, ३१; यूह. १:१) पुत्रलाई सास्ती दिंदा, गिल्ला गर्दा र अपराधीको रूपमा मार्दा यहोवालाई कत्ति पीडा भयो त्यो हामी सोच्न समेत सक्दैनौ। साँच्चै, हाम्रो छुटकाराको लागि यहोवाले ठूलो मोल चुकाउनुपऱ्‍यो! त्यसोभए हामी छुटकाराको मोल गर्छौं भनेर कसरी देखाउन सक्छौं?

छुटकारालाई मोल गरेको तपाईं कसरी देखाउन सक्नुहुन्छ?

१५. येशूले प्रायश्‍चितको ठूलो काम कसरी पूरा गर्नुभयो अनि यसले के सम्भव तुल्यायो?

१५ पुनरुत्थान भएर स्वर्गमा गएपछि येशूले प्रायश्‍चितको ठूलो काम पूरा गर्नुभयो। आफ्नो मायालु पितासित फेरि एक भएपछि बलिदानको मोल चढाउन उहाँ आफै हाजिर हुनुभयो। त्यसपछि आशिष्‌को ओइरो लाग्यो। सर्वप्रथम ख्रीष्टका अभिषिक्‍त भाइहरू अनि त्यसपछि “सबै संसार”-ले पापबाट पूर्णतया क्षमा पाउन सक्ने भए। त्यो बलिदानले गर्दा, आज हृदयदेखि नै पापको प्रायश्‍चित गरेर ख्रीष्टको साँचो चेला बन्‍नेहरूले यहोवा परमेश्‍वरसित घनिष्ठ सम्बन्धको आनन्द उठाउन सक्छन्‌। (१ यूह. २:२) यो कुरा तपाईंमा कसरी लागू हुन्छ?

१६. यहोवाले हाम्रो लागि सम्भव तुल्याएको छुटकाराप्रति कृतज्ञ हुनुपर्ने कारण हामी कुन उदाहरणबाट देखाउन सक्छौं?

१६ सुरुमा दिइएको उदाहरणमा फेरि फर्कौं। मानिलिनुहोस्‌, त्यो रोगको उपचार पत्ता लगाउने डाक्टर तपाईं भएको वार्डमा बिरामीहरूको लागि यस्तो प्रस्ताव लिएर आउँछन्‌: ‘यदि कुनै बिरामीले यो उपचार स्वीकार्छ र भनेजस्तै सबै गर्छ भने ऊ शतप्रतिशत निको हुनेछ।’ यदि त्यहाँ भएका थुप्रै बिरामीले औषधी खान र भनेजस्तो गर्न साह्रै गाह्रो छ भन्दै डाक्टरको निर्देशन अस्वीकार गर्छ भने नि? त्यो उपचारले साँच्चै निको पार्छ भन्‍ने प्रमाण पाउँदा-पाउँदै के तपाईं उनीहरूको पछि लाग्नुहुन्छ? अवश्‍यै लाग्नु हुन्‍न! तपाईंले पक्कै पनि डाक्टरलाई उक्‍त उपचारको लागि धन्यवाद दिनुहुनेछ अनि होशियारीसाथ सबै निर्देशन पालन गर्नुहुनेछ। सायद आफ्नो यो निर्णयबारे अरूलाई समेत बताउनुहुन्छ होला! अझ, यहोवाको पुत्रको फिरौतीको बलिदानले गर्दा पाउन सकेको छुटकाराप्रति कृतज्ञ छौं भनी देखाउन हामी प्रत्येक कत्ति उत्सुक हुनुपर्छ होला?—रोमी ६:१७, १८, पढ्‌नुहोस्‌।

१७. यहोवाले छुटकारा दिन जे-जति गर्नुभयो त्यसप्रति तपाईं कसरी कृतज्ञता देखाउन सक्नुहुन्छ?

१७ यहोवा र उहाँको पुत्रले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन जे-जति गर्नुभयो त्यसप्रति कृतज्ञ छौं भने त्यो देखाउने पनि छौं। (१ यूह. ५:३) पाप गर्ने झुकाव विरुद्ध लड्‌नेछौं। कहिल्यै पनि जानाजानी पापका कार्यहरू गर्ने अनि दोहोरो जीवन बिताउने छैनौं। यस्ता कार्यहरू गऱ्‍यौं भने हामीले फिरौतीको बलिदानको पटक्कै मोल गर्दैनौं अथवा त्यसप्रति कृतज्ञ छैनौं भनेर देखाइरहेका हुन्छौं। बरु, यहोवाको नजरमा स्वच्छ रहन कडा परिश्रम गरेर आफ्नो कृतज्ञता व्यक्‍त गर्नेछौं। (२ पत्रु. ३:१४) छुटकाराको सुन्दर आशा अरूसित बाँडेर हामी यसो गरेको देखाउनेछौं ताकि तिनीहरूले पनि यहोवाको नजरमा स्वच्छ रहन र अनन्त भविष्यको आशा पाउन सकोस्‌। (१ तिमो. ४:१६) पक्कै पनि यहोवा र उहाँको पुत्रलाई प्रशंसा गर्न हामी जे-जति समय बिताउँछौ अनि प्रयास गर्छौं, त्यसको उहाँहरू योग्य हुनुहुन्छ। (मर्कू. १२:२८-३०) एकछिन सोच्नुहोस्‌! हामीले पापबाट पूर्णतया मुक्‍त हुने समयको प्रतीक्षा गर्न सक्छौं। हामी परमेश्‍वरले चाहनुभएअनुसारको सिद्धतामा, सधैंभरि जिउन सक्नेछौं । यी सब यहोवाले हाम्रो छुटकाराको निम्ति जे-जति प्रबन्ध गर्नुभयो त्यसले गर्दा नै हो!—रोमी ८:२१. ( w 09 9/15)

[फुटनोट]

a भनिन्छ, स्पेनिश इन्फ्लुएन्जाले त्यतिबेला विश्‍व जनसंख्याको २० देखि ५० प्रतिशत मानिसलाई सङ्‌क्रण गऱ्‍यो। त्यसको जीवाणुले मोटामोटी एक देखि दस प्रतिशत सङ्‌क्रमित मानिसको ज्यान लिएको हुन सक्छ। त्यसको ठीक विपरीत, इबोलाको जीवाणु त्यसको तुलनामा छिटपुट देखापर्छ तर यसले सङ्‌क्रमितहरूमध्ये झन्डै-झन्डै सबैलाई नै माऱ्‍यो।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• तपाईंलाई किन छुटकाराको टड्‌कारो खाँचो छ?

• येशूले आफैलाई बलि चढाएको कुराले तपाईंलाई कसरी असर गर्छ?

• यहोवाले दिनुभएको फिरौतीको बलिदानको उपहारप्रति तपाईं कस्तो महसुस गर्नुहुन्छ?

• यहोवाले तपाईंको छुटकाराको निम्ति गर्नुभएको कुराको बदलामा तपाईं के गर्न उत्प्रेरित हुनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ३०-मा भएको चित्र]

इस्राएलका प्रधान पूजाहारी प्रायश्‍चितको दिन मसीहको जीवन्त उदाहरण बने

[पृष्ठ ३१-मा भएको चित्र]

छोरा चढाउन अब्राहामले देखाएको इच्छुक मनोभावले यहोवाले चढाएको एकदमै महान्‌ बलिदानबारे धेरै कुरा सिकाउँछ