सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्‌?

के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्‌?

हाम्रा पाठकहरू सोध्छन्‌

के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्‌?

यहोवाका साक्षीहरू आफूलाई प्रोटेस्टेन्ट ठान्दैनन्‌। किन?

युरोपमा १६ औं शताब्दीतिर रोमन क्याथोलिक चर्चमा सुधार गर्ने प्रयासमा छुट्टिएको सम्प्रदाय प्रोटेस्टेन्ट हो। सन्‌ १५२९ मा स्पेयरको सभामा मार्टिन लुथरका अनुयायीहरूलाई सम्बोधन गर्न पहिलो पटक “प्रोटेस्टेन्ट” शब्द प्रयोग गरिएको थियो। त्यस समयदेखि सुधारवादको (Reformation) उद्देश्‍य र सिद्धान्तहरू पालन गर्ने सबैलाई नै प्रोटेस्टेन्ट भन्‍न थालियो। मेरीयम-वेब्सटर्स कलिजियट डिक्सनरी-को एघारौं संस्करणले प्रोटेस्टेन्ट शब्दको अर्थ यसरी खुलाएको छ: “पोप मात्रै सर्वेसर्वा हो भनेर इन्कार गर्ने, विश्‍वासद्वारा मात्र मुक्‍ति सम्भव छ, सबै विश्‍वासी अगुवा हुन सक्छन्‌ र प्रकटित सत्यको एक मात्र सर्वोच्च स्रोत बाइबल हो भन्‍ने सुधारवादी सिद्धान्तहरूलाई समर्थन गर्ने चर्चहरूमध्ये कुनै एक चर्चका सदस्य।”

यहोवाका साक्षीहरू पोपलाई सर्वेसर्वा ठान्दैनन्‌ र सत्यको एक मात्र सर्वोच्च स्रोत बाइबल हो भनेर हृदयदेखि समर्थन गर्छन्‌। तैपनि तिनीहरू प्रोटेस्टेन्टहरूभन्दा उल्लेखनीय धेरै तरिकामा फरक छन्‌। वास्तवमा यहोवाका साक्षीहरू “भिन्‍नै” हुन्‌ भनेर धर्मसम्बन्धी इन्साइक्लोपीडिया * बताउँछ। तिनीहरू फरक भएका यी तीन तरिका विचार गर्नुहोस्‌।

पहिलो: क्याथोलिक धर्मको उपासनाका केही खास पक्षहरू प्रोटेस्टेन्टहरूले इन्कार गरे तापनि सुधारवादी नेताहरूले क्याथोलिकका खास सिद्धान्तहरू जस्तै:- त्रिएक, नरकको आगो र मानिसको आत्मा अमर हुन्छ भन्‍ने विश्‍वास भने छोडेनन्‌। तर यहोवाका साक्षीहरू यी शिक्षाहरू बाइबलसँग बाझिने मात्र होइन; यस्ता शिक्षाले परमेश्‍वरप्रतिको धारणामा पनि विकृति ल्याउँछ भन्‍ने विश्‍वास गर्छन्‌।—यस पत्रिकाको पृष्ठ ४-७ हेर्नुहोस्‌।

दोस्रो: यहोवाका साक्षीहरूले समर्थन गर्ने धर्म कुनै सम्प्रदायको विरोध गरेर फुटेको समूह होइन तर बाइबलको शिक्षा सिकाउने समूह हो। तिनीहरू बाइबलको यो सल्लाह गम्भीरतासाथ लिन्छन्‌: “प्रभुको सेवक झगडालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ।” (२ तिमोथी २:२४, २५, NRV) यहोवाका साक्षीहरूले बाइबलले भन्‍ने कुरा र थुप्रै धार्मिक समूहहरूले सिकाउने शिक्षाबीचको भिन्‍नतालाई स्पष्ट देखाउँछन्‌। तापनि तिनीहरूको लक्ष्य, अरू धार्मिक संगठनहरूको सुधार गर्नु होइन, इमानदार व्यक्‍तिहरूलाई परमेश्‍वरको वचन बाइबलबाट सही ज्ञान लिन मदत गर्नु हो। (कलस्सी १:९, १०) बेग्लै विश्‍वास भएका मानिसहरू तिनीहरूसित सहमत नहुँदा यहोवाका साक्षीहरू बेकारको विवादमा मुछिंदैनन्‌।—२ तिमोथी २:२३.

तेस्रो: प्रोटेस्टेन्ट आन्दोलनले गर्दा उक्‍त सम्प्रदाय सयौं समूहमा विभाजित भएको छ तर यहोवाका साक्षीहरूले भने विश्‍वव्यापी तवरमै आपसमा एकता कायम राखेका छन्‌। बाइबल सिद्धान्तको सन्दर्भमा यहोवाका साक्षीहरू २३० भन्दा धेरै मुलुकहरूमा प्रेरित पावलको “एउटै कुरा बोल” भन्‍ने सल्लाह पालन गर्छन्‌। तिनीहरूबीच कुनै फुट छैन। तिनीहरू साँच्चै नै “एकै मन र एकै विचार”-का छन्‌। (१ कोरिन्थी १:१०) तिनीहरू आपसमा “शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न” अथक प्रयास गर्छन्‌।—एफिसी ४:३, NRV. ( w09-E 11/01)

[फुटनोट]

^ The Encyclopedia of Religion