सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीह! परमेश्‍वरले मुक्‍ति दिने माध्यम

मसीह! परमेश्‍वरले मुक्‍ति दिने माध्यम

मसीह! परमेश्‍वरले मुक्‍ति दिने माध्यम

“किनकि जसरी आदममा सबै मर्दछन्‌, त्यसरीनै ख्रीष्टमा पनि सबै जीवित हुनेछन्‌।”—१ कोरि. १५:२२.

१, २. (क) अन्द्रियास र फिलिपले येशूसँग भेटिसकेपछि कस्तो प्रतिक्रिया देखाए? (ख) येशू नै परमेश्‍वरको अभिषिक्‍त जन हुनुहुन्थ्यो भनेर प्रथम शताब्दीका ख्रीष्टियानहरूसित भन्दा आज हामीसित यथेष्ट प्रमाण छन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

 नासरतका येशू नै परमेश्‍वरको अभिषिक्‍त जन हुनुहुन्छ भनी विश्‍वस्त हुँदै अन्द्रियासले आफ्ना भाइ पत्रुसलाई भने, “हामीले मसीहलाई . . . भेट्टाएका छौं।” यस कुरामा विश्‍वस्त हुँदै फिलिपले आफ्ना मित्र नथनेललाई खोजे र यसो भने: “जसका विषयमा मोशाले व्यवस्थामा औ अगमवक्‍ताहरूले लेखे, हामीले उहाँलाई भेट्टाएका छौं, अर्थात्‌ यूसुफका पुत्र, नासरतका येशूलाई।”—यूह. १:४०, ४१, ४५.

येशू नै प्रतिज्ञा गरिएको मसीह, यहोवाको “मुक्‍तिको कर्ता” हुनुहुन्छ भनेर के तपाईं पूर्णतया विश्‍वस्त हुनुहुन्छ? (हिब्रू २:१०) उहाँ नै परमेश्‍वरको अभिषिक्‍त जन हुनुहुन्थ्यो भनेर प्रथम शताब्दीका अनुयायीहरूसित भन्दा आज हामीसित यथेष्ट प्रमाण छन्‌। परमेश्‍वरको वचनमा भएको येशूको जन्मदेखि पुनरुत्थानसम्मको विवरणले उहाँ नै ख्रीष्ट हुनुहुन्थ्यो भन्‍ने अकाट्य प्रमाण दिन्छ। ( यूहन्‍ना २०:३०, ३१ पढ्‌नुहोस्‌) येशूले स्वर्गबाट मसीहको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहनुहुने थियो भनेर पनि बाइबल बताउँछ। (यूह. ६:४०; १ कोरिन्थी १५:२२ पढ्‌नुहोस्‌) आध्यात्मिक अर्थमा आज तपाईं पनि ‘मसीहलाई भेट्टाएको छु’ भन्‍न सक्नुहुन्छ। तर सुरु-सुरुका चेलाहरू मसीहलाई भेट्टाएका छौं भनेर कसरी सही निष्कर्षमा पुग्न सके पहिला हामी त्यो हेरौं।

मसीहसम्बन्धी “पवित्र रहस्य” क्रमिक रूपमा प्रकट गरियो

३, ४. (क) प्रथम शताब्दीका चेलाहरूले कसरी ‘मसीह भेट्टाउन’ सक्थे? (ख) येशूले मात्र मसीहसम्बन्धी सबै भविष्यवाणी पूरा गर्न सक्नुहुन्थ्यो भनेर तपाईं किन भन्‍नुहुन्छ?

येशूका प्रथम शताब्दीका अनुयायीहरूले उहाँ नै मसीह हुनुहुन्थ्यो भनेर कसरी भन्‍न सक्थे? आउनेवाला मसीहलाई कसरी चिन्‍न सकिन्छ, यहोवाले अगमवक्‍ताहरूमार्फत क्रमिक रूपमा प्रकट गर्नुभएको थियो। एक बाइबलविद्‌ले यस प्रक्रियालाई सिङ्‌गमर्मरको विभिन्‍न टुक्रा जोडेर बनाइएको मूर्तिसित तुलना गरे। कल्पना गर्नुहोस्‌, एउटा-एउटा सिङ्‌गमर्मरका टुक्रा लिएर आपसमा कहिल्यै नभेटेका थुप्रै मानिसहरू एउटा कोठामा जम्मा हुन्छन्‌। ती टुक्राहरू जोड्‌दा एउटा चटक्क मिलेको मूर्ति बन्छ भने तपाईं तार्किक रूपमा यो निष्कर्षमा पुग्नुहुनेछ: त्यो मूर्तिलाई आकार दिने अनि त्यसको टुक्रा ती प्रत्येक व्यक्‍तिलाई पठाउने पक्कै कोही हुनुपर्छ। त्यो मूर्तिको प्रत्येक टुक्राजस्तै मसीहसम्बन्धी प्रत्येक भविष्यवाणीले मसीहबारे एक-एक गरी महत्त्वपूर्ण जानकारी दिने थियो।

मसीहबारे गरिएका सबै भविष्यवाणी एउटै व्यक्‍तिमा पूरा हुनु के संयोग मात्र हुन सक्छ? मसीहसम्बन्धी सबै भविष्यवाणी एक जना व्यक्‍तिमै पूरा हुनुलाई संयोग मात्र भन्‍नु एकदमै असम्भव देखिन्छ भनी एक अनुसन्धानकर्ताले बताए। “पूरै इतिहासमा अरू कसैमा नभई येशूमा मात्र यी पूरा भए।”

५, ६. (क) शैतानविरुद्ध कसरी न्यायदण्ड कार्यान्वयन हुने थियो? (ख) प्रतिज्ञा गरिएका “सन्तान”-को वंश यहोवाले कसरी क्रमिक रूपमा प्रकट गर्नुभयो?

मसीहसम्बन्धी भविष्यवाणी “[“पवित्र,” NW] रहस्य” हुन्‌ जसले ब्रह्‍माण्डको सबैलाई महत्त्व राख्छ। (कल. १:२६, २७; उत्प. ३:१५) त्यस रहस्यमा सम्पूर्ण मानिसजातिलाई पाप र मृत्युतर्फ धकेल्ने त्यो “वृद्ध साँप” अर्थात्‌ शैतानविरुद्धको न्यायदण्ड पनि समावेश थियो। (प्रका. १२:९) त्यो न्यायदण्डको कार्यान्वयन कसरी हुने थियो? “स्त्री”-ले जन्माउने “सन्तान”-ले शैतानको शिर कुच्याउनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो। भविष्यवाणी गरिएका “सन्तान”-ले विद्रोह, बिमारी र मृत्युको जडलाई हटाउँदै सर्पको शिर कुच्याउने थिए। तर त्यसअघि परमेश्‍वरको अनुमतिमा शैतानले स्त्रीको “सन्तान”-को लाक्षणिक रूपमा कुर्कुच्चो डस्ने थियो।

प्रतिज्ञा गरिएका ती “सन्तान” को हुने थिए, यहोवाले क्रमिक रूपमा प्रकट गर्नुभयो। परमेश्‍वरले अब्राहामसित यस्तो प्रतिज्ञा गर्नुभयो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्प. २२:१८) यी सन्तान “अगमवक्‍ता” हुनेछन्‌ र आफूभन्दा महान्‌ हुनेछन्‌ भनेर मोशाले भविष्यवाणी गरे। (व्यव. १८:१८, १९) मसीह दाऊदको वंशबाट आउनेछन्‌ र सधैंभरि तिनको सिंहासनबाट शासन गर्नेछन्‌ भनेर दाऊदलाई आश्‍वासन दिइयो र यसबारे पछि अन्य भविष्यवक्‍ताहरूले पुष्टि दिए।—२ शमू. ७:१२, १६; यर्मि. २३:५, ६.

मसीहको रूपमा येशूको प्रमाण

७. कुन तरिकामा येशू परमेश्‍वरकी “स्त्री”-बाट आउनुभयो?

स्वर्गमा आत्मिक प्राणीहरू मिलेर बनेको पत्नीरूपी संगठनबाट यहोवाले आफ्नो पुत्र अर्थात्‌ पहिलो सृष्टिलाई प्रतिज्ञा गरिएका “सन्तान” हुन पठाउनुभयो। यसको लागि परमेश्‍वरको एक मात्र प्रिय पुत्रले स्वर्गीय जीवनबाट “आफूलाई रित्याईकन” सिद्ध मानिसको रूपमा जन्मिनुपर्ने थियो। (फिलि. २:५-७; यूह. १:१४) मरियम पवित्र आत्माको ‘छायामा पर्नु’ तिनीबाट जन्मने व्यक्‍ति ‘पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइने’ कुराको ग्यारेन्टी थियो।—लूका १:३५.

८. पानीको बप्तिस्माको लागि आफूलाई प्रस्तुत गर्दा येशूले कसरी मसीहसम्बन्धी भविष्यवाणी पूरा गर्दै हुनुहुन्थ्यो?

मसीहसम्बन्धी भविष्यवाणीहरूले येशू कहाँ र कहिले देखा पर्नुहुनेछ भनेर संकेत गऱ्‍यो। भविष्यवाणी गरिएझैं येशूको जन्म बेतलेहेममा भयो। (मीका ५:२) प्रथम शताब्दीका यहूदीहरूले ठूल्ठूला आशा राखेका थिए। मसीह देखा पर्ने प्रतीक्षा गर्दै कोही-कोहीले बप्तिस्मा दिने यूहन्‍नाबारे यस्तो सोधे: “कतै यिनीनै ख्रीष्ट हुन्‌ कि”? तर यूहन्‍नाले यस्तो जवाफ दिए: “मभन्दा शक्‍तिशाली आउँदै हुनुहुन्छ।” (लूका ३:१५, १६) इस्वी संवत्‌ २९ को शरद ऋतुमा, येशू ३० वर्षको हुँदा यूहन्‍नाकहाँ बप्तिस्माको लागि आएर तोकिएकै समयमा आफूलाई मसीहको रूपमा प्रस्तुत गर्नुभयो। (दानि. ९:२५) त्यसपछि उहाँले यसो भन्दै आफ्नो उल्लेखनीय सेवाको काम सुरु गर्नुभयो: “समय पूरा भएको छ, औ परमेश्‍वरको राज्य नजिक आइपुगेको छ।”—मर्कू. १:१४, १५.

९. पूरै कुरा नबुझे तापनि येशूका चेलाहरू कुन कुरामा विश्‍वस्त थिए?

तर मानिसहरूको आशा सच्याउनुपर्ने थियो। येशूलाई राजाको रूपमा स्वागत गर्नु उचित भए तापनि उहाँले भविष्यमा र त्यो पनि स्वर्गबाट शासन गर्नुहुनेछ भनेर तिनीहरूले त्यतिबेला पूर्ण रूपमा बुझेनन्‌। (यूह. १२:१२-१६; १६:१२, १३; प्रेरि. २:३२-३६) तैपनि “म को हुँ?” भनेर येशूले सोध्दा पत्रुसले विश्‍वस्त भई यस्तो जवाफ दिए: “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।” (मत्ती १६:१३-१६) एउटा शिक्षा चित्त नबुझेकोले थुप्रै पछि हट्‌दा पत्रुसले फेरि पनि त्यस्तै जवाफ दिए। यूहन्‍ना ६:६८, ६९ पढ्‌नुहोस्‌।

मसीहको वचन सुन्‍नुहोस्‌

१०. आफ्नो पुत्रको वचन सुन्‍नुपर्ने महत्त्वलाई यहोवाले किन जोड दिनुभयो?

१० परमेश्‍वरको एक मात्र प्रिय पुत्र स्वर्गमा छँदा शक्‍तिशाली आत्मिक प्राणी हुनुहुन्थ्यो। पृथ्वीमा येशू “परमेश्‍वरका तर्फबाट” आउनुभएको उहाँको प्रतिनिधि हुनुहुन्थ्यो। (यूह. १६:२७, २८) उहाँले भन्‍नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।” (यूह. ७:१६) रूप परिवर्तनको बेला येशू नै मसीह हुनुहुन्छ भनी पुष्टि दिंदै यहोवाले यस्तो निर्देशन दिनुभयो: “तिनको वचन सुन।” (लूका ९:३५) हो, यस चुनिएका जनको वचन सुन्‍नुहोस्‌ अर्थात्‌ आज्ञा पालन गर्नुहोस्‌। यसको लागि विश्‍वास र भलाइका कार्यहरू गर्नु आवश्‍यक छ। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र अनन्त जीवन प्राप्त गर्न यी दुवै नभई हुँदैन।—यूह. ३:१६, ३५, ३६.

११, १२. (क) के कारणले गर्दा प्रथम शताब्दीका यहूदीहरूले येशूलाई मसीहको रूपमा तिरस्कार गरे? (ख) कसले येशूमाथि विश्‍वास गरे?

११ येशू नै मसीह हुनुहुन्थ्यो भनेर उहाँलाई प्रमाणित गर्ने यथेष्ट प्रमाण भए तापनि प्रथम शताब्दीका अधिकांश यहूदीहरूले उहाँलाई मसीहको रूपमा तिरस्कार गरे। किन? किनभने मसीहबारे तिनीहरूले पहिल्यै सोचाइ बनाइसकेका थिए। त्यसमा उहाँ तिनीहरूलाई रोमी दमनबाट मुक्‍त गर्ने राजनैतिक मसीह हुनुहुनेछ भन्‍ने सोचाइ पनि समावेश थियो। ( यूहन्‍ना १२:३४ पढ्‌नुहोस्‌) त्यसैले मानिसहरूबाट घृणित र तिरस्कृत हुने, पीडा भोग्ने, बिरामीहरूसित परिचित हुने र अन्ततः मारिने भनी गरिएको भविष्यवाणी पूरा गर्ने मसीहलाई तिनीहरूले स्वीकार्न सकेनन्‌। (यशै. ५३:३, ५, NRV) येशूका केही वफादार चेलाहरू समेत उहाँले इस्राएललाई रोमी दमनबाट छुटकारा नदिंदा निराश भएका थिए। तर तिनीहरू वफादार रहिरहे र समयमा तिनीहरूलाई सही समझ दिइयो।—लूका २४:२१.

१२ मानिसहरूले येशूलाई प्रतिज्ञा गरिएको मसीहको रूपमा तिरस्कार गर्नुको अर्को कारण उहाँको शिक्षा थियो जुन स्वीकार्न थुप्रैलाई गाह्रो लाग्यो। परमेश्‍वरको राज्यमा प्रवेश गर्न ‘आफूलाई इन्कार गर्नुपर्ने,’ येशूको देह र रगत ‘खानुपर्ने,’ ‘नयाँ गरी जन्मनुपर्ने,’ र ‘संसारको’ भाग नहुनुपर्ने थियो। (मर्कू. ८:३४; यूह. ३:३; ६:५३; १७:१४, १६) घमन्डी, धनी र कपटीहरूले यी आवश्‍यकतालाई पूरा गर्नै नसक्ने कुरा ठाने। तर नम्र यहूदीहरूले येशूलाई मसीहको रूपमा स्वीकारे। जस्तो कि केही सामरीहरूले पनि स्वीकारेका थिए र तिनीहरूले यसो भने: “उहाँ साँच्चिनै संसारका मुक्‍तिदाता हुनुहुन्छ।”—यूह. ४:२५, २६, ४१, ४२; ७:३१.

१३. येशूको कसरी लाक्षणिक रूपमा कुर्कुच्चो डसियो?

१३ येशूले आफूलाई प्रधान पूजाहारीहरूले निन्दा गर्ने र अन्यजातिहरूले झुन्ड्याउने तर तेस्रो दिनमा आफू ब्यूँतिने कुरा भविष्यवाणी गर्नुभयो। (मत्ती २०:१७-१९) येशूले महासभाअघि स्पष्टसँग आफूलाई “परमेश्‍वरको पुत्र ख्रीष्ट”-को रूपमा चिनाउनुलाई ईश्‍वरनिन्दाको रूपमा लिइयो। (मत्ती २६:६३-६६) पिलातसले उहाँमा “मृत्यु लायकको केही काम” भेट्टाएनन्‌ तर यहूदीहरूले उहाँमाथि राजद्रोहको पनि आरोप लगाएकोले तिनले उहाँलाई “तिनीहरूको इच्छामा सुम्पिदिए।” (लूका २३:१३-१५, २५) यसरी उहाँलाई परमेश्‍वरले पठाउनुभएको हो भन्‍ने सुस्पष्ट प्रमाण हुँदाहुँदै पनि तिनीहरूले उहाँलाई “अस्वीकार” गरे र “जीवनका कर्त्ता”-लाई मार्ने मतो गरे। (प्रेरि. ३:१३-१५) इस्वी संवत्‌ ३३ को निस्तार चाडको दिन खम्बामा झुन्ड्याएर मारिंदा भविष्यवाणी गरिएझैं मसीह ‘हटाइए।’ (दानि. ९:२६, २७; प्रेरि. २:२२, २३) यसरी क्रूर मृत्यु भोग्दा उत्पत्ति ३:१५ मा भविष्यवाणी गरिएझैं उहाँको “कुर्कुच्चो” डसियो।

मसीह किन मर्नुपर्थ्यो

१४, १५. (क) कुन दुई कारणका लागि यहोवाले येशूलाई मर्न दिनुभयो? (ख) पुनरुत्थान भएपछि येशूले के गर्नुभयो?

१४ यहोवाले येशूलाई दुई मुख्य कारणका लागि मर्न दिनुभयो। पहिलो, येशू मृत्युसम्मै विश्‍वासी रहँदा “पवित्र रहस्य”-को एउटा महत्त्वपूर्ण पक्ष स्पष्ट भयो। सिद्ध पुरुषले मृत्युको हदसम्म “भक्‍ति” कायम राख्न सक्छ र शैतानले जस्तोसुकै कठोर परीक्षा ल्याए तापनि परमेश्‍वरको सार्वभौमिकता उच्च पार्न सक्छ भनेर उहाँले प्रमाणित गर्नुभयो। (१ तिमो. ३:१६) दोस्रो, येशूले भन्‍नुभएझैं “मानिसको पुत्र . . . धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।” (मत्ती २०:२८) यस “छुटकाराको मोल”-ले आदमका सन्तानले जन्मजातै पाएको पापको ज्याला तिऱ्‍यो र परमेश्‍वरले मुक्‍ति दिने माध्यमको रूपमा येशूलाई स्वीकार्ने सबैलाई अनन्त जीवन दिन सम्भव बनायो।—१ तिमो. २:५, ६.

१५ चिहानमा राखेको तीन दिनपछि ख्रीष्टको पुनरुत्थान भयो र आफू जीवित भएको प्रमाण दिंदै र चेलाहरूलाई थप निर्देशन दिंदै उहाँ ४० दिनसम्म तिनीहरूकहाँ देखा पर्नुभयो। (प्रेरि. १:३-५) त्यसपछि आफ्नो बहुमूल्य छुटकाराको मोल यहोवासामु चढाउन र मसीही राजाको रूपमा आफ्नो उपस्थिति हुने तोकिएको समय पर्खन उहाँ स्वर्ग उक्लनुभयो। त्यसबीच उहाँले गर्नुपर्ने काम धेरै थियो।

मसीहको रूपमा आफ्नो भूमिका पूरा गर्नुभयो

१६, १७. स्वर्गारोहण भएपछि मसीहको रूपमा येशूको भूमिकाबारे बताउनुहोस्‌।

१६ येशूले पुनरुत्थान भएदेखि यता आफूले राजाको रूपमा शासन गरेको ख्रीष्टियान मण्डलीको गतिविधिलाई निरन्तर निरीक्षण गर्दै आउनुभएको छ। (कल. १:१३) तोकिएको समयमा उहाँले परमेश्‍वरको राज्यको राजाको रूपमा आफ्नो शक्‍ति प्रयोग गर्न थाल्नुहुने थियो। सन्‌ १९१४ मा राजाको रूपमा उहाँको उपस्थिति र “जगत्‌को अन्त” सुरु भयो भनेर बाइबल भविष्यवाणीहरू र विश्‍वघटनाहरूले पुष्टि गर्छ। (मत्ती २४:३; प्रका. ११:१५) त्यसको लगत्तै शैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट फ्याँक्न उहाँले पवित्र स्वर्गदूतहरूको अगुवाइ गर्नुभयो।—प्रका. १२:७-१०.

१७ इस्वी संवत्‌ २९ मा येशूले सुरु गर्नुभएको प्रचार र शिक्षणकार्यको महान्‌ चरमोत्कर्ष नजिकै छ। उहाँले चाँडै सबै जीवितहरूको इन्साफ गर्नुहुनेछ। त्यसपछि, उहाँले यहोवाको मुक्‍ति दिने माध्यमको रूपमा आफूलाई स्वीकार्ने भेडा खाले नम्र मानिसहरूलाई ‘जगत्‌को उत्पत्तिदेखि तिनीहरूका निम्ति तयार गरिएको राज्य अधिकार गर्न’ भन्‍नुहुनेछ। (मत्ती २५:३१-३४, ४१) येशूको नेतृत्वमा स्वर्गीय सेनाले दुष्टता विरुद्ध कदम चाल्दा उहाँलाई राजाको रूपमा इन्कार गर्नेहरूले विनाश भोग्नेछन्‌। अनि उहाँले शैतानलाई बाँध्नुहुनेछ र त्यसलाई तथा त्यसका प्रेतहरूलाई “अगाध खाँद”-मा फालिदिनुहुनेछ।—प्रका. १९:११-१४; २०:१-३.

१८, १९. येशूले मसीहको रूपमा आफ्नो भूमिका पूरा गर्दा के-के गर्नुहुन्छ र यसले आज्ञाकारी मानिसजातिको लागि कस्तो अर्थ राख्छ?

१८ येशूले आफ्नो हजार वर्षीय शासनको दौडान “उदेकका युक्‍ति निकाल्नुहुने, पराक्रमी परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार” जस्ता सबै पदवीअनुसारै काम गर्नुहुनेछ। (यशै. ९:६, ७) उहाँको शासनले गर्दा मानिसहरू सिद्ध हुनेछन्‌ र यसमा पुनरुत्थान हुनेहरू समावेश हुनेछन्‌। (यूह. ५:२६-२९) मसीहले इच्छुक मानिसहरूलाई “जीवनका पानीहरूका फोहोरासम्म” डोऱ्‍याउनुहुनेछ। फलस्वरूप आज्ञाकारी मानिसहरूले यहोवासित शान्तिमय सम्बन्धको आनन्द उठाउन सक्नेछन्‌। ( प्रकाश ७:१६, १७ पढ्‌नुहोस्‌) अन्तिम परीक्षापछि शैतान र त्यसका प्रेतहरूलगायत सबै विद्रोहीहरूलाई ‘आगोको कुण्डमा फालिनेछ।’ सदाका लागि अन्त हुनेगरि त्यो “साँप”-को शिर कुच्याइनेछ।—प्रका. २०:१०.

१९ येशूले मसीहको रूपमा आफ्नो भूमिका कत्ति सुन्दर र खोटरहित ढंगमा पूरा गर्नुहुनेछ! सुन्दर बगैंचारूपी पृथ्वी, उद्धार पाएका मानिसहरूले भरिनेछ। तिनीहरू सदाका लागि सिद्ध शरीर र आनन्दसहित जिउनेछन्‌। यहोवाको पवित्र नाउँमाथि लगाइएको सबै कलंक हटाइएको र ब्रह्‍माण्डमाथि शासन गर्ने उहाँको अधिकार पूर्णतया उच्च पारिएको हुनेछ। परमेश्‍वरको अभिषिक्‍त जन अर्थात्‌ मसीहको आज्ञा पालन गर्ने सबैले कस्तो भव्य आशिष्‌को प्रतीक्षा गर्न सक्छन्‌!

के तपाईंले मसीह भेट्टाउनुभयो?

२०, २१. अरूलाई मसीहबारे बताउनुपर्ने तपाईंसित कस्ता कारणहरू छन्‌?

२० सन्‌ १९१४ देखि हामी ख्रीष्टको पारुसिया अर्थात्‌ उपस्थितिको समयमा बाँचिरहेका छौं। यो कुरा, परमेश्‍वरको राज्यको राजाको रूपमा उहाँको उपस्थिति अदृश्‍य भए तापनि भविष्यवाणीहरूको पूर्तिबाट छर्लंग छ। (प्रका. ६:२-८) तैपनि प्रथम शताब्दीका यहूदीहरूले जस्तै आज अधिकांश मानिसहरू ख्रीष्टको उपस्थितिको प्रमाणलाई बेवास्ता गर्छन्‌। तिनीहरू पनि राजनैतिक मसीहको अथवा त्यो सम्भव नभए मानव राजनैतिक शासकहरूमार्फत काम गर्ने व्यक्‍तिको चाह गर्छन्‌। तर तपाईंले बुझिसक्नुभयो कि येशूले अहिले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गरिरहनुभएको छ। यो कुरा थाह पाउँदा के तपाईं रोमाञ्चित हुनुभएन? प्रथम शताब्दीका चेलाहरूजस्तै तपाईं पनि “हामीले मसीहलाई . . . भेट्टाएका छौं” भनी घोषणा गर्न उत्प्रेरित हुनुभयो।

२१ आज सच्चाइबारे कुरा गर्दा के तपाईं मसीहको रूपमा येशूको भूमिकालाई जोड दिनुहुन्छ? यसो गर्दा उहाँले तपाईंको लागि जे-जति गर्नुभयो, जे-जति गरिरहनुभएको छ र जे-जति गर्नुहुनेछ, त्यसप्रति तपाईंको कृतज्ञता अझै बढ्‌नेछ। अन्द्रियास र फिलिपले जस्तै तपाईंले पनि अवश्‍यै आफ्ना नातेदार र साथीभाइसित मसीहबारे कुरा गर्नुभएको छ। अझै जोसका साथ तिनीहरूसँग कुराकानी गर्न र येशू ख्रीष्ट नै प्रतिज्ञा गरिएको मसीह, परमेश्‍वरले मुक्‍ति दिने माध्यम हुनुहुन्छ भनी बुझाउन किन अग्रसर नहुने?

w 09 12/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• प्रथम शताब्दीका चेलाहरूले कसरी मसीहलाई भेट्टाउन सक्थे?

• कुन दुई महत्त्वपूर्ण कारणका लागि येशू मर्नुभयो?

• मसीहको रूपमा आफ्नो भूमिका पूरा गर्न येशूले अझै के गर्नुहुनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्थ्यो भनेर प्रथम शताब्दीका मानिसहरूले कसरी थाह पाउन सक्थे?

[पृष्ठ २५-मा भएको चित्र]

अरूसित कुरा गर्दा के तपाईं मसीहको रूपमा येशूको भूमिकालाई जोड दिनुहुन्छ?