सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌

कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌

कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌

‘प्रेमले सबै कुरा सहन्छ। प्रेम कहिल्यै टल्दैन।’—१ कोरि. १३:७, ८.

१. (क) प्रेमलाई अक्सर कसरी प्रस्तुत गरिन्छ? (ख) धेरैले कसलाई र केलाई प्रेम गर्छन्‌?

 प्रेमको विषयमा थुप्रै प्रचार-प्रसार गरिएको छ। गीतहरूमा यो गुणको गुणगान गरिन्छ र यसलाई रोमान्टिक तरिकामा प्रस्तुत गरिन्छ। प्रेम आधारभूत मानव आवश्‍यकता हो। तर पुस्तक तथा चलचित्रहरूले यसलाई अक्सर काल्पनिक प्रेम कथामा प्रस्तुत गरेका छन्‌ र बजारमा यस्ता सामग्रीहरू छ्यासछ्यासी पाइन्छन्‌। तथापि, परमेश्‍वर र छिमेकीप्रतिको निष्कपट प्रेम तीव्र गतिमा हराउँदैछ। आखिरी दिनबारे बाइबलको भविष्यवाणी पूरा भइरहेको हामी देख्छौं। मानिसहरू “आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, . . . परमेश्‍वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने” भएका छन्‌।—२ तिमो. ३:१-५, NRV.

२. गलत प्रकारको प्रेमबारे बाइबल कसरी सचेत गराउँछ?

मानिसहरूमा प्रेम देखाउन सक्ने क्षमता छ। तर परमेश्‍वरको वचन हामीलाई गलत प्रकारको प्रेमबारे सचेत गराउँछ। अनि यस्तो प्रेमले कसैको हृदयमा जरा गाड्‌दा के हुन्छ, बाइबल बताउँछ। (१ तिमो. ६:९, १०) प्रेरित पावलले डेमसबारे लेखेको कुरा के तपाईं सम्झनुहुन्छ? डेमसले पावलसित संगत गरेको भए तापनि तिनको प्रेम संसारले दिने कुराहरूतर्फ मोडियो। (२ तिमो. ४:१०) प्रेरित यूहन्‍नाले ख्रीष्टियानहरूलाई यसै खतराबारे होसियार गराए। ( १ यूहन्‍ना २:१५, १६ पढ्‌नुहोस्‌) यस संसार र यसमा भएका बितिजाने कुरा तथा तरिकाहरू मायालु परमेश्‍वर र उहाँबाट आउने कुरासित मेल खाँदैनन्‌।

३. हामी कस्तो चुनौती सामना गर्छौं र यसले कस्ता प्रश्‍नहरू खडा गर्छ?

हामी यसै संसारमा बाँचिरहेको भए तापनि यसका भाग होइनौं। त्यसैले प्रेमबारे यस संसारको टेढो धारणाबाट आफूलाई अलग राख्ने चुनौती हामीसित छ। यस्तो गलत वा भ्रष्ट प्रकारको प्रेमको पासोमा आफूलाई पर्न नदिनु अत्यावश्‍यक छ। त्यसोभए हामीले कसप्रति साँचो प्रेम खेती गर्नु र देखाउनु पर्छ? सबै कुरा सहने र कहिल्यै नटल्ने प्रेम खेती गर्न हामीलाई कस्ता कुराले मदत गर्छ? यस मार्गले हामीलाई अहिले कसरी लाभ पुऱ्‍याउँछ र भविष्यमा कस्तो असर गर्नेछ? यस सन्दर्भमा हामीले परमेश्‍वरको दृष्टिकोण बुझ्नुपर्छ जसले गर्दा हामी त्यसैअनुरूप डोरिन सक्नेछौं।

यहोवाप्रति प्रेम खेती गर्नुहोस्‌

४. परमेश्‍वरप्रतिको प्रेम कसरी बढ्‌छ?

जमिन तयार पार्न र बीउ छर्न कडा परिश्रम गर्ने किसानलाई विचार गर्नुहोस्‌। ऊ बीउ बढोस्‌ भन्‍ने चाहन्छ। (हिब्रू ६:७) त्यसैगरि परमेश्‍वरप्रतिको हाम्रो प्रेम पनि बढ्‌नुपर्छ। यसको लागि के चाहिन्छ? राज्य सत्यको बीउ छरिएको हाम्रो हृदयको असल जमिनमा मेहनत गर्नैपर्छ। यसको लागि हामीले लगनशील भई परमेश्‍वरको वचन अध्ययन गर्न सक्छौं जसले गर्दा हामी परमेश्‍वरको ज्ञानमा अझै बढ्‌नेछौं। (कल. १:१०) मण्डलीका सभाहरूमा नियमित उपस्थित हुँदा र भाग लिंदा पनि ज्ञानमा बढ्‌न मदत पाउनेछौं। गहिरो ज्ञान हासिल गर्न के हामी प्रत्येकले अथक प्रयास गरिरहेका छौं?—हितो. २:१-७.

५. (क) यहोवाका मुख्य गुणहरूबारे हामी कसरी सिक्न सक्छौं? (ख) परमेश्‍वरको न्याय, बुद्धि र शक्‍तिबारे तपाईं के भन्‍न सक्नुहुन्छ?

यहोवा आफ्नो व्यक्‍तित्व उहाँको वचनमार्फत प्रकट गर्नुहुन्छ। धर्मशास्त्र अध्ययन गरेर र क्रमिक रूपमा यहोवाको ज्ञान लिएर उहाँका गुणहरू—न्याय, शक्‍ति, बुद्धि र सबैभन्दा महत्त्वपूर्ण, उहाँले देखाउनुभएको विशिष्ट प्रेमप्रतिको हाम्रो कृतज्ञता बढाउन सक्छौं। यहोवा आफ्नो सम्पूर्ण तौरतरिकामा र उहाँका सिद्ध व्यवस्थामा न्याय झल्काउनुहुन्छ। (व्यव. ३२:४; भज. १९:७, NRV) यहोवाका सम्पूर्ण सृजनशील कार्यहरूमा गौर गर्दा हामी उहाँको उत्कृष्ट बुद्धिप्रति श्रद्धाले भरिन सक्छौं। (भज. १०४:२४) यहोवा ठूलो शक्‍ति र अथाह सामर्थ्यको स्रोत हुनुहुन्छ भनेर पनि यस ब्रह्‍माण्डले प्रमाण दिन्छ।—यशै. ४०:२६.

६. परमेश्‍वरले हामीप्रति कसरी प्रेम देखाउनुभएको छ र यसले तपाईंलाई कस्तो असर गरेको छ?

परमेश्‍वरको प्रमुख गुण प्रेमबारे के भन्‍न सकिन्छ? यो सर्वत्र छ र यसले हामी सबैलाई असर गर्छ। मानिसजातिको छुटकाराको लागि छुडौतीको बलिदानको प्रबन्ध गरेर उहाँले यो प्रेम देखाउनुभयो। ( रोमी ५:८ पढ्‌नुहोस्‌) यो प्रबन्ध सम्पूर्ण मानिसजातिका लागि उपलब्ध छ। तर यसबाट लाभचाहिं परमेश्‍वरको प्रेम स्वीकार्ने र पुत्रमाथि विश्‍वास गर्नेहरूले मात्र उठाउने छन्‌। (यूह. ३:१६, ३६) परमेश्‍वरले येशूलाई हाम्रो पापको प्रायश्‍चितको रूपमा दिनुभयो। यसको जवाफमा हामी पनि परमेश्‍वरप्रति प्रेम देखाउन उत्प्रेरित हुनुपर्छ।

७, ८. (क) परमेश्‍वरप्रति प्रेम देखाउन हामीले के गर्नुपर्छ? (ख) कस्ता परिस्थितिमा पनि परमेश्‍वरका जनहरूले उहाँको आज्ञा पालन गर्छन्‌?

परमेश्‍वरले हाम्रो लागि जे-जति गर्नुभएको छ, त्यसको जवाफस्वरूप हामी कसरी उहाँप्रति प्रेम देखाउन सक्छौं? यस प्रश्‍नको ईश्‍वरप्रेरित जवाफ उल्लेखनीय छ: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।” (१ यूह. ५:३) हो, यहोवा परमेश्‍वरप्रतिको प्रेमले हामीलाई उहाँका आज्ञाहरू पालन गर्न उत्प्रेरित गर्छ। हामीले उहाँको नाउँ र राज्यबारे अरूलाई साक्षी दिनुको एउटा कारण यो हो। यसरी साक्षी दिंदा अरूलाई लाभ पुग्छ। हृदयदेखि नै यस काममा भाग लिनु हामी शुद्ध मनसायले परमेश्‍वरको आज्ञा मान्छौं भन्‍ने कुराको प्रमाण हो।—मत्ती १२:३४.

राज्य सन्देशप्रति मानिसहरूले उदासीनता देखाउँदा र यसलाई ठाडै तिरस्कार गर्दा पनि संसारभरका हाम्रा भाइहरूले परमेश्‍वरको आज्ञा पालन गरिरहेका छन्‌। सेवाको काम पूरा गर्ने आफ्नो प्रयासमा तिनीहरू हरेस खाँदैनन्‌। (२ तिमो. ४:५) त्यसैगरि, परमेश्‍वरको ज्ञान अरूलाई बताउनुका साथै उहाँका अन्य सबै आज्ञा पालन गर्न हामी उत्प्रेरित हुन्छौं।

प्रभु येशू ख्रीष्टलाई हामीले प्रेम गर्नुका कारणहरू

९. ख्रीष्टले के-के सहनुभयो र ती सहन उहाँलाई केले प्रेरित गऱ्‍यो?

परमेश्‍वरलाई प्रेम गर्नुको अलावा हामीले उहाँका पुत्रलाई प्रेम गर्नुका थुप्रै कारण छन्‌। हामीले येशूलाई कहिल्यै नदेखे तापनि उहाँबारे हामीले जति धेरै सिक्छौं, उहाँप्रतिको हाम्रो प्रेम त्यति नै गहिरो हुँदै जान्छ। (१ पत्रु. १:८) येशूले सहेका केही कुरा के हुन्‌? आफ्नो पिताको इच्छाअनुसार गर्दा येशूलाई विनाकारण घृणा गरियो साथै उहाँले सतावट, झूटो आरोप, गाली र अन्य अपमानहरू पनि भोग्नुपऱ्‍यो। ( यूहन्‍ना १५:२५ पढ्‌नुहोस्‌) स्वर्गमा बस्ने आफ्नो पिताप्रतिको प्रेमले येशूलाई यी परीक्षाहरू सहन प्रेरित गऱ्‍यो। अनि प्रेमकै कारण उहाँले दिएको बलिदानरूपी मृत्युले थुप्रैलाई छुटकारा दियो।—मत्ती २०:२८.

१०, ११. ख्रीष्टले हाम्रो लागि गर्नुभएको कुरा सोच्दा हाम्रो उद्देश्‍य के हुनुपर्छ?

१० येशूको जीवनशैलीले हामीलाई पनि केही गर्न उत्प्रेरित गर्छ। ख्रीष्टले हाम्रो लागि के गर्नुभयो भनी सोच्दा उहाँप्रतिको हाम्रो प्रेम गहिरो हुन्छ। उहाँको अनुयायी भएकोले हामीले पनि ख्रीष्टको जस्तै प्रेम खेती गर्ने र देखाइरहने उद्देश्‍य राख्नुपर्छ। यसो गर्दा हामी राज्यबारे साक्षी दिन र चेला बनाउन उहाँले दिनुभएको आज्ञा पालन गरिरहन सक्नेछौं।—मत्ती २८:१९, २०.

११ सबै मानिसजातिप्रति ख्रीष्टले देखाउनुभएको प्रेमको कारण अन्त आउनुअघि नै हामी आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न बाध्य महसुस गर्छौं। ( २ कोरिन्थी ५:१४, १५ पढ्‌नुहोस्‌) परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्ने सन्दर्भमा ख्रीष्टले देखाउनुभएको प्रेम नभई नहुने थियो। ख्रीष्टको पाइलामा हिंड्‌न उहाँले बसाल्नुभएको उदाहरण पछ्याउँदा हामी प्रत्येकले यस ईश्‍वरीय उद्देश्‍यमा भाग लिन सक्छौं। यसको लागि हामीले सफलतासाथ परमेश्‍वरप्रतिको प्रेम सकेसम्म धेरै खेती गर्नुपर्छ। (मत्ती २२:३७) येशूले सिकाउनुभएको कुरालाई नियालेर अनि उहाँका आज्ञा मानिरहेर हामी उहाँलाई प्रेम गर्छौं र जस्तोसुकै मोल चुकाउनुपरे तापनि उहाँले जस्तै दृढ भएर परमेश्‍वरको सार्वभौमिकतालाई समर्थन गर्छौं भनेर देखाउँछौं।—यूह. १४:२३, २४; १५:१०.

प्रेमको उत्तम मार्ग पछ्याउनुहोस्‌

१२. “उत्तम मार्ग” भनेर पावलले चलाएका अभिव्यक्‍तिको अर्थ के हो?

१२ प्रेरित पावल ख्रीष्टको देखासिकी गर्ने व्यक्‍ति थिए। ख्रीष्टको पाइला राम्ररी पछ्याएकोले पावलले निर्धक्क भई भाइहरूलाई आफ्नो देखासिकी गर्न आग्रह गर्न सके। (१ कोरि. ११:१) कोरिन्थका ख्रीष्टियानहरूलाई प्रथम शताब्दीमा प्रकट भएका निको पार्ने, विभिन्‍न भाषामा बोल्नेजस्ता आत्माका वरदानहरू जोसिलो भई खोज्न आग्रह गरे तापनि तिनीहरू पछि लाग्नुपर्ने त्योभन्दा पनि उत्तम अरू केही भएको कुरा पावलले बताए। पहिलो कोरिन्थी १२:३१ मा तिनले यस्तो लेखे: “म तिमीहरूलाई अझै उत्तम मार्ग बताउँछु।” यसपछिका पदहरूको प्रसङ्‌गलाई हेर्दा त्यो प्रेमको उत्तम मार्ग थियो भनेर स्पष्ट हुन्छ। कुन अर्थमा त्यो उत्तम मार्ग थियो? आफूले भन्‍न खोजेको कुरा पावलले उदाहरणसहित स्पष्ट पारे। ( १ कोरिन्थी १३:१-३ पढ्‌नुहोस्‌) तिनीसित खास उल्लेखनीय क्षमता भए तापनि र तिनले ठूलठूला कुराहरू हासिल गरेका भए तापनि प्रेमचाहिं छैन भने के त्यो व्यर्थ हुनेथिएन र? परमेश्‍वरको आत्माद्वारा उत्प्रेरित भएर तिनले यो महत्त्वपूर्ण बुँदालाई स्पष्टसँग बुझाए। तिनले यो कुरा हामीलाई कत्ति सशक्‍त तरिकामा बुझाए!

१३. (क) सन्‌ २०१० को वार्षिक पद के हो? (ख) कुन अर्थमा प्रेम कहिल्यै टल्दैन?

१३ यसपछि पावलले प्रेम के हो र के होइन भनेर व्याख्या गरे। ( १ कोरिन्थी १३:४-८ पढ्‌नुहोस्‌) प्रेमको सम्बन्धमा तपाईंले कस्तो गरिरहनुभएको छ, अब केलाउनुहोस्‌। मुख्यतया पद ७ र पद ८ का सुरुका अभिव्यक्‍तिहरूलाई विचार गर्नुहोस्‌: ‘प्रेमले सबै कुरा सहन्छ। प्रेम कहिल्यै टल्दैन।’ यो सन्‌ २०१० को वार्षिक पद हो। ख्रीष्टियान मण्डली स्थापना भएको सुरु-सुरुतिर प्रयोग गरिएका अगमवाणी गर्ने र विभिन्‍न भाषामा बोल्नेजस्ता आत्माका वरदानहरू रद्दी तुल्याइने छन्‌ भनेर पावलले पद ८ मा बताएको कुरालाई याद गर्नुहोस्‌। तिनीहरू बन्द हुने थिए। तर प्रेम भने सधैं रहनेछ। यहोवा प्रेमको मूल सार हुनुहुन्छ र उहाँ अनन्त हुनुहुन्छ। त्यसैले प्रेम कहिल्यै टल्दैन वा अन्त हुँदैन। अनन्त परमेश्‍वरको एउटा गुणको रूपमा यो सधैंभरि रहिरहनेछ।—१ यूह. ४:८.

प्रेमले सबै कुरा सहन्छ

१४, १५. (क) परीक्षाहरू सहन प्रेमले कसरी मदत गर्न सक्छ? (ख) एक जवान भाइले किन सम्झौता गरेनन्‌?

१४ जस्तोसुकै परीक्षा, साह्रो-गाह्रो परिस्थिति र समस्या भोग्नुपरे तापनि ख्रीष्टियानहरूलाई सहन केले मदत गर्छ? मुख्यतया सिद्धान्तमा आधारित प्रेमले। यस्तो प्रेम भौतिक रूपमा केही कुरा त्याग्नुमा मात्र सीमित छैन। यसमा हाम्रो सत्यनिष्ठा कायम राख्न र ख्रीष्टको खातिर आफ्नो ज्यान गुमाउने हदसम्म पुग्न इच्छुक हुनु समावेश छ। (लूका ९:२४, २५) दोस्रो विश्‍वयुद्धको दौडान र त्यसपछि यातना शिविर, श्रम शिविर र झ्यालखानामा दुःख भोगेका साक्षीहरूको विश्‍वासी मार्गबारे विचार गर्नुहोस्‌।

१५ भिल्हेम नाउँ गरेका एक जवान जर्मन साक्षीको उदाहरणले यसलाई राम्ररी पुष्टि गर्छ। सम्झौता गर्नुको सट्टा नाजीहरूको गोली खान तयार भएर तिनी वफादार रहिरहे। मारिनुअघि आफ्नो परिवारलाई लेखेको अन्तिम पत्रमा तिनले यस्तो लेखे: “हाम्रा नेता येशू ख्रीष्टले आज्ञा गरेअनुरूपै हामीले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण छ। यदि उहाँको पक्षमा अडान लियौं भने उहाँले हामीलाई इनाम दिनुहुनेछ।” पछि, प्रहरीधरहरा-को एउटा लेखमा तिनको परिवारको एक सदस्यले यस्तो लेखिन्‌: “त्यस्तो अशान्त समयदेखि नै हामी सम्पूर्ण परिवारले सधैं परमेश्‍वरप्रतिको प्रेमलाई पहिलो स्थानमा राख्न ध्यान दिएका छौं।” अहिले आर्मेनिया, एरिट्रिया, दक्षिण कोरिया र अन्य मुलुकमा कैदी जीवन बिताइरहेका थुप्रै भाइहरूले यस्तै मनोवृत्ति देखाएका छन्‌। यी भाइहरू यहोवाप्रतिको प्रेममा स्थिर रहेका छन्‌।

१६. मलावीका हाम्रा भाइहरूले के सहे?

१६ थुप्रै ठाउँमा अर्कै किसिमको परीक्षाले हाम्रा भाइहरूको विश्‍वास र सहनशीलताको जाँच गरेको छ। मलावीका यहोवाका साक्षीहरूले २६ वर्षसम्म सरकारी प्रतिबन्ध, कठोर विरोध र थुप्रै अत्याचार सहे। तिनीहरूको सहनशीलताले राम्रो नतिजा ल्यायो। सतावट सुरु हुँदा त्यस मुलुकमा लगभग १८,००० साक्षी थिए। तीस वर्षपछि तिनीहरूको संख्या दुई गुणाभन्दा धेरैले वृद्धि भएर ३८,३९३ पुगेको छ। अन्य मुलुकमा पनि यस्तै नतिजा अनुभव गर्न सकिएको छ।

१७. विभाजित परिवारमा कसै-कसैले केको सामना गर्छन्‌ र केले गर्दा तिनीहरूले ती दुर्व्यवहार सहन सके?

१७ समूहगत रूपमा परमेश्‍वरका जनहरूमाथि सीधै आक्रमण गर्नु एउटा कुरा हो। तर व्यक्‍तिविशेषलाई परिवारका सदस्यहरूबाट विरोध आउँदा भने कुरा अर्कै हुन्छ। परिवारका सदस्य वा नजिकका नातेदारहरूबाट दबाब आउन सक्छ। यस्तो हुने नै छ भनेर के येशूले भविष्यवाणी गर्नुभएको थिएन र? हो, गर्नुभएको थियो र थुप्रैले उहाँका शब्दहरू पूरा भएको अनुभव गरेका छन्‌। (मत्ती १०:३५, ३६) किशोर-किशोरीहरूले बेग्लै विश्‍वास भएका आमाबाबुबाट विरोध सहनुपरेको छ। कोही-कोही त घरबाट समेत निकालिएका छन्‌। तर दयालु साक्षीहरूले तिनीहरूका लागि आफ्नो घरको ढोका खुला राखिदिएका छन्‌। कतिपयचाहिं त्यागिएका छन्‌। यस्तो दुर्व्यवहार तिनीहरूले केले गर्दा सहन सके? भाइबहिनीहरूप्रतिको प्रेमले गर्दा मात्र होइन तर सबैभन्दा ठूलो, यहोवा र उहाँको पुत्रप्रतिको निष्कपट प्रेमले गर्दा।—१ पत्रु. १:२२; १ यूह. ४:२१.

१८. विवाहित ख्रीष्टियानहरूका लागि सबै कुरा सहने प्रेम कसरी एउटा मदत हो?

१८ सबै कुरा सहने प्रेमको आवश्‍यकता पर्ने अन्य थुप्रै परिस्थिति जीवनमा आइपर्छन्‌। वैवाहिक बन्धनमा प्रेमले विवाहित जोडीलाई येशूका यी शब्दहरू पालन गर्न सक्षम बनाउँछ: “जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:६) “शरीरमा कष्ट” भोग्दा विवाहित ख्रीष्टियानहरूले यहोवा तिनीहरूको वैवाहिक सम्बन्धमा मुख्य भाग हुनुहुन्छ भनेर आफैलाई सम्झाउनुपर्छ। (१ कोरि. ७:२८) ‘प्रेमले सबै कुरा सहन्छ’ भनी उहाँको वचन भन्छ र यो गुण धारण गरेका पति-पत्नी एकअर्काप्रति वफादार रहन र आफ्नो वैवाहिक बन्धनलाई बलियो राख्न सुदृढ हुन्छन्‌।—कल. ३:१४.

१९. प्राकृतिक प्रकोपपछि परमेश्‍वरका जनहरूबीच के देखिएको छ?

१९ प्रेमले प्राकृतिक प्रकोपको चपेटामा पर्दा सबै कुरा सहन मदत गर्छ। दक्षिणी पेरूमा भैंचालो जाँदा अनि कट्रिना नाउँ गरेको आँधीबेह्रीले अमेरिकाको खाडी क्षेत्र तहसनहस पार्दा यो कुरा सत्य साबित भयो। यी विपत्तिमा हाम्रा थुप्रै भाइहरूले आफ्नो घर वा भौतिक सर-सम्पत्ति गुमाए। प्रेमले गर्दा विश्‍वव्यापी मण्डली राहत सामग्रीको प्रबन्ध गर्न उत्प्रेरित भए र स्वयंसेवकहरूले घरहरू पुनर्निर्माण गर्न अनि राज्यभवनहरूको मर्मत गर्न मदत गरे। सधैं र जस्तोसुकै परिस्थितिमा हाम्रा भाइहरू आपसमा प्रेम गर्छन्‌ अनि चासो राख्छन्‌ भनेर यस्ता कार्यहरूले प्रमाणित गर्छन्‌।—यूह. १३:३४, ३५; १ पत्रु. २:१७.

प्रेम कहिल्यै टल्दैन

२०, २१. (क) प्रेम किन सर्वोत्कृष्ट छ? (ख) तपाईं किन प्रेमको मार्ग पछ्याउन दृढ हुनुहुन्छ?

२० प्रेमको उत्तम मार्ग पछ्याउनु बुद्धिमानी कुरा हो भनेर आज हामी यहोवाका जनहरूमाझ देख्छौं। साँच्चै, सबै परिस्थितिमा यो सर्वोत्कृष्ट छ। प्रेरित पावलले यस सत्यलाई कसरी जोड दिए याद गर्नुहोस्‌। पहिला तिनले आत्माको वरदान रद्दी हुन्छ र ख्रीष्टियान मण्डली बाल्यावस्थाबाट बढेर परिपक्व अवस्थामा पुग्छ भनी बताए। त्यसपछि यी शब्दहरूद्वारा आफ्नो कुरा टुङ्‌ग्याए: “तर विश्‍वास, आशा, प्रेम, यी तीन रहन्छन्‌, र यिनमा सर्वोत्तमचाहिं प्रेम हो।”—१ कोरि. १३:१३.

२१ अन्ततः हामीले विश्‍वास गरेका कुराहरू यथार्थमा परिणत हुनेछन्‌ र तिनीहरूमा विश्‍वास गर्नुपर्ने छैन। सबै कुरा नयाँ भइसकेपछि हामीले पूरा भएको हेर्न चाहेका प्रतिज्ञाहरूमा आशा गर्नुपर्ने छैन। तर प्रेम नि? यो कहिल्यै टल्ने वा अन्त हुने छैन; रहिरहनेछ। अनन्त जीवनलाई मनमा राख्दा हामीले पक्कै पनि परमेश्‍वरको प्रेमका अझ धेरै पक्ष देख्ने र बुझ्ने छौं। कहिल्यै नटल्ने प्रेमको उत्तम मार्ग पछ्याउने सम्बन्धमा परमेश्‍वरको इच्छाबमोजिम गर्दा तपाईं सधैंभरि रहन सक्नुहुनेछ।—१ यूह. २:१७. ( w 09 12/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• गलत प्रकारको प्रेमदेखि हामी किन जोगिनैपर्छ?

• प्रेमले हामीलाई के सहन मदत गर्न सक्छ?

• कुन अर्थमा प्रेम कहिल्यै टल्दैन?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

सन्‌ २०१० को वार्षिक पद हो: ‘प्रेमले सबै कुरा सहन्छ। प्रेम कहिल्यै टल्दैन।’ —१ कोरि. १३:७, ८.

[पृष्ठ २७-मा भएको चित्र]

परमेश्‍वरप्रतिको प्रेमले हामीलाई साक्षी दिन उत्प्रेरित गर्छ

[पृष्ठ २८-मा भएको चित्र]

कहिल्यै नटल्ने प्रेमले मलावीका हाम्रा भाइबहिनीहरूलाई परीक्षा सहन मदत गऱ्‍यो