सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌

रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌

रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌

सुरुको लेखमा उल्लेख गरिएका सबिन रक्सी पिउने आफ्नो समस्यासित डटेका भए सायद तिनको जीवनै अर्को हुन्थ्यो। तर पटक-पटक पिउँदा पनि कुनै स्पष्ट लक्षण नदेखिने भएकोले तिनलाई आफ्नो जीवन नियन्त्रणमा नै छ जस्तो लाग्थ्यो। तर तिनको यो सोचाइ किन गलत थियो?

अत्यधिक मात्रामा रक्सी पिउने गरेकोले तिनले गर्ने निर्णय उल्टो भयो। सबिनले याद गरेको होस्‌ वा नहोस्‌, तिनको शारीरिक, मानसिक तथा भावनात्मक अवस्थालाई नियन्त्रण गर्ने तिनको त्यो अङ्‌ग अर्थात्‌ मस्तिष्क नै रक्सीमा चुर्लुम्म डुबेकोले त्यसले सही तरिकामा काम गर्न सकिरहेको थिएन। तिनी जति धेरै पिउँथे, आफ्नो परिस्थितिको लेखाजोखा गर्न त्यति नै असक्षम हुन्थे।

सबिनले यसरी गलत लेखाजोखा गर्नुको दोस्रो कारण पिउने बानीलाई कायम राख्ने तिनको तीव्र चाहना थियो। अघिल्लो लेखमा उल्लेख गरिएका राजेशले त सुरुमा आफ्नो रक्सी पिउने समस्या स्वीकार्नै चाहनेनन्‌। “म मेरो पिउने बानी लुकाउन चाहन्थें र अति पिउने बानीलाई ढाकछोप गर्न अनेक बहाना बनाउँथें,” तिनी स्वीकार्छन्‌। “मेरो एक मात्र लक्ष्य थियो—पिउने बानीलाई निरन्तरता दिनु।” सबिन र राजेश दुवै रक्सीको वशमा परिरहेका छन्‌ भनेर अरूले प्रस्टै देखेको भए तापनि तिनीहरू दुवैलाई भने सब ठीक छ जस्तो लाग्थ्यो। पिउने बानीलाई नियन्त्रणमा राख्न दुवैले कदम चाल्नु आवश्‍यक थियो। तर कस्तो कदम?

कदम चाल्नुहोस्‌!

रक्सीको दुर्व्यसन छोड्‌ने धेरैले येशूका यी शब्दहरूबमोजिम कदम चाले: “यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पार्ने तुल्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्‌गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुन्छ।”—मत्ती ५:२९.

पिउने व्यक्‍तिले आफ्नो अङ्‌गभङ्‌ग गर्नुपर्छ भनेर येशूले भन्‍न खोजिरहनुभएको थिएन। बरु, उहाँले आफ्नो आध्यात्मिकतामा नराम्रो असर पार्ने जुनसुकै कुरालाई काटेर फाल्न हामी तयार हुनुपर्छ भनेर जोड दिन उपमा प्रयोग गरिरहनुभएको थियो। हो, हामीले चाल्ने कदम निकै कष्टकर हुन सक्छ। तर त्यसो गर्दा रक्सीको दुर्व्यसन गर्ने हदसम्म पुऱ्‍याउने सोचाइ तथा परिस्थितिहरूबाट आफैलाई जोगाइरहेका हुनेछौं। त्यसकारण ‘तपाईं धेरै पिउन थाल्नुभएको छ’ भनेर अरूले चिन्ता व्यक्‍त गरेका छन्‌ भने पिउने बानीलाई वशमा राख्न कदम चालिहाल्नुहोस्‌। * पिउने बानीलाई वशमा राख्न नसकेको स्पष्ट भयो भने बाधा दिने अङ्‌ग चट्टै काटेर फालेझैं त्यो बानीलाई चट्टै छोड्‌न तत्पर हुनुहोस्‌। यसरी चट्टै छोड्‌दा गाह्रो त होला तर जीवन नै बर्बाद गर्नु जति कष्टकर पक्कै हुँदैन।

तपाईं मद्यव्यसनी होइन भने पनि के तपाईंको धेरै पिउने झुकाव छ? छ भने रक्सीलाई त्यसकै ठाउँमा राख्न मदत गर्ने कस्ता व्यावहारिक कदमहरू चाल्न सक्नुहुन्छ?

मदत पाउने तरिकाहरू

१. बारम्बार गरिने हार्दिक प्रार्थनाको शक्‍तिमा भरोसा गर्नुहोस्‌। यहोवा परमेश्‍वरलाई प्रसन्‍न पार्न चाहने सबैलाई बाइबल यस्तो सल्लाह दिन्छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) यस्तो शान्ति प्राप्त गर्न तपाईं के भनेर प्रार्थना गर्न सक्नुहुन्छ?

तपाईंको पिउने समस्या छ र यो समस्या आफैले निम्त्याएको हो भनेर इमानदार भई स्वीकार्नुहोस्‌। यो समस्यामाथि विजयी हुन के गर्ने विचार गर्नुभएको छ परमेश्‍वरलाई बताउँदा रक्सीको लतबाट मुक्‍ति पाउन तपाईंले गरेको प्रयासमा उहाँको आशिष्‌ पाउनुहुनेछ र यो लतले निम्त्याउन सक्ने अझै गम्भीर समस्याहरूबाट जोगिन सक्नुहुनेछ। “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितोपदेश २८:१३) येशूले पनि यसरी प्रार्थना गर्न सकिन्छ भनेर हामीलाई बताउनुभयो: “हामीलाई परीक्षामा नल्याउनुहोस्‌, तर दुष्टबाट छुटाउनुहोस्‌।” (मत्ती ६:१३) त्यसोभए तपाईं कसरी यस्ता प्रार्थनाबमोजिम गर्न सक्नुहुन्छ र आफ्ना अन्तरबिन्तीहरूका जवाफ कहाँ पाउन सक्नुहुन्छ?

२. परमेश्‍वरको वचनबाट बल प्राप्त गर्नुहोस्‌। “परमेश्‍वरको वचन जीवित र प्रबल, . . . र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) पहिलेपहिले बेसरी पिउनेहरूले हरेक दिन बाइबलका पदहरू पढेर अनि पढेका कुरा मनन गरेर मदत पाएका छन्‌। परमेश्‍वरको भय मान्‍ने भजनरचयिताले यसरी लेखे: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्‍तिमा चल्दैन, . . . तर परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। . . . त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजन १:१-३.

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि रक्सीको दुर्व्यसनमाथि विजयी हुन बल पाएका राजेश भन्छन्‌: “मलाई रक्सी छोड्‌न मदत गर्ने बाइबल र बाइबल सिद्धान्तहरू नहुँदा हुन्‌ त म पक्कै मरिसक्थें।”

३. आत्म-संयम खेती गर्नुहोस्‌। पहिलेपहिलेका पियक्कडहरू ख्रीष्टियान मण्डलीमा आएपछि “हाम्रा परमेश्‍वरका आत्माले” पखालिएका थिए भनी बाइबल रिपोर्ट गर्छ। (१ कोरिन्थी ६:९-११) कसरी? एउटा तरिका हो, परमेश्‍वरको पवित्र आत्माको मदत पाएर विकास गरेको गुण आत्म-संयम खेती गरेकोले तिनीहरूले मातेर झगडा गर्ने र मोजमस्ती गर्ने बानी छोड्‌न मदत पाए। “दाख-मद्यले नमात्तिओ, जसमा कामोद्दीपन हुन्छ, तर आत्माले भरिपूर्ण भएका होओ।” (एफिसी ५:१८; गलाती ५:२१-२३) स्वर्गमा बस्नुहुने “पिताले उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ” भनेर येशूले प्रतिज्ञा गर्नुभयो। त्यसैले ‘मागिरहनुहोस्‌, तपाईंलाई दिइनेछ।’—लूका ११:९, १३.

यहोवाले ग्रहण गर्ने तरिकामा उहाँको उपासना गर्न इच्छा गर्नेहरूले बाइबल पढेर तथा अध्ययन गरेर अनि अक्सर प्रार्थना गरेर र त्यो पनि हृदयबाटै गरेर आत्म-संयम खेती गर्न सक्छन्‌। निराश भएर लत्तो छोड्‌नुको साटो परमेश्‍वरको वचनमा पाइने यो प्रतिज्ञामा भरोसा गर्नुहोस्‌: “जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ। भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:८, ९.

४. स्वस्थकर सङ्‌गति छान्‍नुहोस्‌। “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) पिउने बानीलाई नियन्त्रण गर्ने अठोट गरेको कुरा आफ्ना साथीहरूलाई बताउनुहोस्‌। तथापि तपाईंले “मतवालीपन, मोजमजा, मद्यपान” अर्थात्‌ पिउने होडबाजी छोड्‌दा तपाईंका पहिलेका साथीहरू ‘ताजुब हुने र तपाईंबारे खराबी बोल्ने’ हुनेछन्‌ भनेर परमेश्‍वरको वचनले पहिल्यै चेतावनी दिएको छ। (१ पत्रुस ४:३, ४) तपाईंको यो अठोटलाई खोक्रो पार्न खोज्ने साथीहरूलाई चटक्कै छोड्‌न इच्छुक हुनुहोस्‌।

५. निश्‍चित सीमा तोक्नुहोस्‌। “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) परमेश्‍वरको वचनको सिद्धान्तहरूअनुसार पिउने सीमा तोक्नुहोस्‌; साथीहरू वा “यस संसार”-अनुसार होइन। यसरी सीमा तोक्नुभयो भने परमेश्‍वरले स्वीकार्ने जीवनको आनन्द उठाउनुहुनेछ। तर तपाईं सन्तुलित हुन सक्ने सीमा कति हो भनेर कसरी पक्का गर्न सक्नुहुन्छ?

जतिसुकै रक्सी पिएको होस्‌, त्यसले तपाईंको निर्णय गर्ने र तर्क गर्ने क्षमतालाई कमजोर पार्छ भने त्यो मात्रा तपाईंको लागि अति हो। त्यसैले पिउन चाहनुहुन्छ भने सन्तुलित भएर अलिकता पिउने र पियक्कड हुनेबीचको भिन्‍नता नै अस्पष्ट हुनेगरि सीमा तोक्नु बुद्धिमानी होइन। आफ्नो पिउने सीमालाई लुकाएर इमानदार भई गर्नुपर्ने लेखाजोखालाई खोक्रो नपार्नुहोस्‌। अत्यधिक पिउने हदसम्म बहकिनदेखि जोगिन अर्थात्‌ सन्तुलित सीमाभित्र बाँधिएर पिउन निश्‍चित सीमा तोक्नुहोस्‌।

६. ‘होइन, पुग्यो,’ भन्‍न सिक्नुहोस्‌। “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌।” (मत्ती ५:३७) सत्कार गरेको भन्ठान्दै माया देखाउने निमन्त्रकले रक्सी थप्न वा पिउन अति नै कर गर्दा विनम्र भई इन्कार गर्नुहोस्‌। “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नलाई तिमीहरूको वचन नूनले स्वादिलो पारेकोजस्तै अनुग्रहसहितको होस्‌।”-कलस्सी ४:६.

७. व्यक्‍तिगत मदत खोज्नुहोस्‌। पिउने बानीलाई नियन्त्रण गर्ने तपाईंको अठोटलाई दह्रो पार्ने र तपाईंलाई आध्यात्मिक मदत दिन सक्ने साथीहरूलाई गुहार्नुहोस्‌। “एकभन्दा दुइ असल हो। तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्‌, किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्‌न सहायता गर्छ।” (उपदेशक ४:९, १०; याकूब ५:१४, १६) त्यसैगरि अमेरिकाको नेसनल इन्स्टिच्युट अन अल्कोहल एब्यूज एन्ड अल्कोहलिज्म सल्लाह दिन्छ: “तपाईंको पिउने बानी कम गर्न बेलाबेलामा गाह्रो हुन सक्छ। आफ्नो लक्ष्यसम्म पुग्न परिवार र साथीहरूको सहयोग लिनुहोस्‌।”

८. आफ्नो अडानमा अडिग रहनुहोस्‌। “वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन। तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्‍याबासी पाउनेछ।”—याकूब १:२२, २५.

रक्सीको लतबाट मुक्‍त हुनुहोस्‌

अति पिउने सबै मद्यव्यसनी हुँदैनन्‌। तर कोहीकोही यति धेरै अनि पटकपटक पिउँछन्‌, तिनीहरूलाई रक्सीको लत लाग्छ। रक्सीको लत लागेकाहरू शारीरिक अनि मनोवैज्ञानिक तवरमै रक्सीमा भर पर्ने भएकोले यस्ता व्यक्‍तिहरूलाई इच्छाशक्‍ति र आध्यात्मिक मदत मात्र भएर पुग्दैन। मद्यव्यसनको बन्धनबाट मुक्‍त हुन अन्य मदत पनि चाहिन सक्छ। राजेश सम्झन्छन्‌: “रक्सी छोड्‌ने कोसिस गरिरहँदा देखा परेका शारीरिक पीडा खप्नै नसकिने थियो। त्यसैले पाइरहेको आध्यात्मिक मदत मात्र पर्याप्त भएन, उपचारै गर्नुपर्ने आवश्‍यकता पनि त्यतिखेर महसुस गरें।”

रक्सीको बन्धनबाट मुक्‍त हुन र रक्सीको दुर्व्यसनबाट पर बस्न लड्‌नुपर्ने आध्यात्मिक युद्धलाई टेवा पुगोस्‌ भनेर थुप्रै रक्सीबाजले उपचार गराउनुपर्ने हुन्छ। * चटक्कै रक्सी छोड्‌दा देखिने चर्को लक्षणसित डट्‌न वा रक्सीको तलतल कम पार्न ओखती प्रयोग गर्नुपर्ने भएको र रक्सीबाट अलग रहन मदत गर्नुपर्ने भएकोले अस्पतालमा नै भर्ना गर्नुपर्ने हुन्छ। परमेश्‍वरका चमत्कारी पुत्रले “निरोगीहरूलाई वैद्यको प्रयोजन हुँदैन, तर रोगीहरूलाई” हुन्छ भन्‍नुभयो।—मर्कूस २:१७.

निर्देशन पछ्याउँदा हुने फाइदाहरू

रक्सीबारे बाइबलले दिएको व्यावहारिक सल्लाह हाम्रो भलाइ चाहने साँचो परमेश्‍वरले नै दिनुभएको हो। उहाँ हाम्रो अहिले मात्र होइन, सधैंभरि फाइदा भएको चाहनुहुन्छ। रक्सी छोडेको २४ पछि राजेश सम्झँदै यसो भन्छन्‌: “म पनि बदलिन सक्छु भनेर थाह पाउँदा ज्यादै खुसी लाग्यो। जीवन सुधार्न यहोवा मलाई मदत गर्न चाहनुहुन्छ भनेर थाह पाउँदा र उहाँ . . . ” राजेश एकछिन रोकिन्छन्‌ र विगत सम्झेर गहभरि भएको आँसु थाम्छन्‌। “अँ . . . उहाँले बुझ्नुहुन्छ, ख्याल गर्नुहुन्छ र चाहिने मदत दिनुहुन्छ भनेर थाह पाउँदा निकै उदेक लाग्यो।”

त्यसैले रक्सीको दुरुपयोगको फन्दामा पर्नुभएको छ भने हरेस खान वा आशा मार्न हतार नगर्नुहोस्‌। अहिले तपाईं जुन अवस्थामा हुनुहुन्छ, कुनै समय राजेश र अन्य थुप्रै त्यस्तै अवस्थामा थिए। तर अहिले भने तिनीहरू रक्सी पिउन कम गर्न वा चटक्कै छोड्‌न सफल भएका छन्‌। तिनीहरूलाई कुनै पछुतो छैन; तपाईंले पनि पछुताउनुपर्ने छैन।

तपाईंले सीमामा रहेर पिउने छनौट गर्नुभएको होस्‌ वा पटक्कै नपिउने, परमेश्‍वरको यो मायालु आग्रह पालन गर्नुहोस्‌: “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो।”—यशैया ४८:१८. ( w10-E 01/01)

[फुटनोट]

^ मदतका लागि थुप्रै उपचार केन्द्र, अस्पताल तथा पुनर्स्थापन कार्यक्रम उपलब्ध छन्‌। प्रहरीधरहरा पत्रिकाले कुनै खास उपचारको सिफारिस गर्दैन। प्रत्येकले उपलब्ध उपचारहरूको होसियारीसाथ लेखाजोखा गर्नुपर्छ र बाइबल सिद्धान्तहरूसित नबाझिने व्यक्‍तिगत निर्णय गर्नुपर्छ।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

 के म रक्सीको वशमा परेको छु?

आफैलाई सोध्नुहोस्‌:

• के मेरो पिउने मात्रा बढेको छ?

• के म पहिलेभन्दा धेरै पटक पिउन थालेको छु?

• के मलाई अझै कडा रक्सी चाहिने भएको छ?

• तनावमुक्‍त हुन वा समस्यामुक्‍त हुन रक्सीको सहारा लिने गरेको छु?

• कुनै मित्रले वा परिवारका कुनै सदस्यले मेरो पिउने बानीबारे चिन्ता व्यक्‍त गरेका छन्‌?

• पिउने बानीले गर्दा घरमा, काममा वा यात्रा गर्दा समस्याहरू भएका छन्‌?

• नपिईकन एक हप्ता पनि बिताउन सक्दिनँ कि?

• अरूले नपिउँदा के मलाई अप्ठेरो लाग्छ?

• कति पिउँछु अरूबाट लुकाउँछु?

यी प्रश्‍नमध्ये एक वा धेरैको ‘छ’ वा ‘हो’ भन्‍ने जवाफ दिनुहुन्छ भने तपाईंले पिउने बानीलाई वशमा राख्न कदम चाल्नुपर्ने हुन्छ।

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

रक्सीबारे बुद्धिमानी निर्णय गर्नुहोस्‌

रक्सी पिउनुअघि विचार गर्नुहोस्‌:

कुनचाहिं उपयुक्‍त होला, रक्सी पिउनु वा नपिउनु?

सल्लाह: कति पिउने सीमा तोक्न नसक्नेले पिउनु हुँदैन।

कति पिउन सक्छु?

सल्लाह: रक्सीले गर्दा निर्णय गर्ने क्षमता भ्रष्ट हुनुअघि नै सीमा तोक्ने निधो गर्नुहोस्‌।

कहिले पिउन सक्छु?

सल्लाह: सवारीसाधन हाँक्नुअघि वा सतर्क हुनुपर्ने काम गर्नुअघि; धार्मिक गतिविधि थाल्नुअघि; गर्भवती भएको बेला; कुनै खास किसिमको औषधी सेवन गर्दा पिउनु हुँदैन।

कहाँ पिउन सक्छु?

सल्लाह: उपयुक्‍त स्थानमा; अरूले नदेखोस्‌ भनेर गोप्य स्थानमा होइन; रक्सी पिएको देखेर ठक्कर खानेहरूअघि होइन।

कोसित पिउन सक्छु?

सल्लाह: तपाईंमा राम्रो छाप पार्न सक्ने साथीहरूसित वा परिवारसित; पिउने समस्या भएकाहरूसित होइन।

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

पहिलेका रक्सीबाजले परमेश्‍वरको वचनबाट मदत पाए

थाइल्याण्डका सुपोत बेसरी पिउँथे। सुरुसुरुमा तिनी साँझतिर मात्र पिउँथे। तर बिस्तारै बिहान अनि दिउँसोतिर पनि पिउन थाले। तिनी अक्सर मस्त हुन मात्र पिउँथे। त्यसबेलातिरै तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। पियक्कडहरूलाई यहोवा परमेश्‍वर ग्रहण गर्नुहुन्‍न भन्‍ने थाह पाएपछि सुपोतले पिउन छोडे। तर बानी न हो केही समयपछि पहिलेजस्तै पिउन थाले। तिनको परिवार हताश भयो।

तर सुपोत यहोवालाई माया गर्थे र सही तरिकाले उहाँको उपासना गर्न चाहन्थे। सुपोतका साथीहरूले तिनलाई निरन्तर मदत गरे र तिनको परिवारलाई तिनीसित अझै समय बिताउन र हार नमान्‍न प्रोत्साहन दिए। ‘मतवालाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌’ भन्‍ने १ कोरिन्थी ६:१० को स्पष्ट सल्लाहले त्यतिखेर सुपोतलाई आफ्नो गम्भीर अवस्थाबारे सोच्न मदत गऱ्‍यो। पिउने समस्याबाट मुक्‍त हुन दृढ अडान लिनुपर्छ भन्‍ने महसुस तिनले गरे।

यसपालि भने सुपोतले रक्सी नपिउने दृढ संकल्प गरे। आखिरीमा परमेश्‍वरको पवित्र आत्माको शक्‍ति, उहाँको वचनको डोऱ्‍याइ अनि परिवार र मण्डलीको मदत पाएर सुपोत आध्यात्मिक तवरमा बलियो भए र रक्सी पिउने कुलतमाथि विजयी भए। तिनले परमेश्‍वरमा समर्पण गरेको कुरा बप्तिस्मा लिएर देखाउँदा तिनको परिवार खुसीले गद्‌गद भए। सुपोत सधैं परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न चाहन्थे। अहिले त्यसै गर्न पाएकोमा तिनी खुसी छन्‌ र अरूलाई आध्यात्मिक रूपमा मदत गर्न समय दिइरहेका छन्‌।