सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको हुन पाउनु—उहाँको अनुग्रह

यहोवाको हुन पाउनु—उहाँको अनुग्रह

यहोवाको हुन पाउनु—उहाँको अनुग्रह

“हामी प्रभुकै हौं।”—रोमी १४:८.

१, २. (क) हामीले कस्तो सुअवसर पाएका छौं? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

 “समस्त मानिसहरूमध्येमा तिमीहरूचाहिं मेरो एक निज धन हुनेछौ।” (प्रस्थ. १९:५) यहोवाले यसो भन्दै इस्राएल राष्ट्रलाई कत्ति अनमोल सुअवसर दिनुभयो! आज ख्रीष्टियान मण्डलीका सदस्यहरूले पनि यहोवाको हुने सम्मान पाएका छन्‌। (१ पत्रु. २:९; प्रका. ७:९, १४, १५) यो सुअवसरले हामीलाई सदाको लागि लाभ पुऱ्‍याउँछ।

यहोवाको हुनु सुअवसर मात्र होइन जिम्मेवारी पनि हो। कतिलाई लाग्ला: ‘यहोवाले मबाट चाहेको कुरा के म पूरा गर्न सकूँला? पापमा फसें भने के उहाँले मलाई त्याग्नुहुन्छ? उहाँको हुँदा मेरो स्वतन्त्रता गुम्छ कि?’ यस्ता चिन्ताहरूलाई विचार गर्नु उचित हो। तर त्यसभन्दा पहिला अर्को एउटा प्रश्‍नबारे होसियारीपूर्वक विचार गर्नुपर्छ: यहोवाको हुँदा के-कस्तो लाभ हुन्छ?

यहोवाको हुँदा आनन्द पाइन्छ

३. यहोवाको सेवा गर्न राहाबले गरेको निर्णयले उनलाई कस्तो लाभ भयो?

के यहोवाका हुनेहरूले लाभ उठाउँछन्‌? प्राचीन समयको यरिहोमा बस्ने वेश्‍या राहाबलाई विचार गर्नुहोस्‌। पक्कै पनि राहाब कनानका देवताहरूको भ्रष्ट उपासना गर्ने प्रचलनमा हुर्केकी थिइन्‌। तैपनि यहोवाले इस्राएललाई विजयी बनाउनुभएको सुनेपछि यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर उनले बुझिन्‌। त्यसैकारण आफ्नो ज्यानको बाजी लगाएर पनि परमेश्‍वरले चुनेका मानिसहरूलाई उनले बचाइन्‌ र तिनीहरूको हातमा आफ्नो भविष्य छोडिदिइन्‌। बाइबल भन्छ: “राहाब वेश्‍याले पनि, जब त्यसले दूतहरूलाई सत्कार गरेर तिनीहरूलाई अर्कै बाटो पठाई, तब सो कामैबाट त्यो ठीक ठहरेकी होइन र?” (याकू. २:२५) प्रेमपूर्ण र न्यायी ढंगमा परमेश्‍वरको व्यवस्थाद्वारा सिकाइएका उहाँका स्वच्छ जनहरूमाझ हुन पाउँदा तिनले पाएका लाभहरू कल्पना गर्नुहोस्‌। विगतको जीवनशैली त्यागेर राहाब कत्ति आनन्दित भएकी हुनुपर्छ! उनले एक जना इस्राएलीसँग विवाह गरिन्‌ र बोअजलाई जन्माइन्‌। बोअज परमेश्‍वरको नजरमा उल्लेखनीय मानिस भए।—यहो. ६:२५; रूथ २:४-१२; मत्ती १:५, ६.

४. यहोवाको सेवा गर्ने निर्णय गरेर रूथले कस्तो लाभ उठाइन्‌?

मोआबी रूथले पनि यहोवाको सेवा गर्ने निधो गरिन्‌। सानी छँदा सायद तिनले कमोश देव र मोआबका अन्य देवताको उपासना गरेकी थिइन्‌। तर तिनले साँचो परमेश्‍वर यहोवालाई चिनिन्‌ र तिनको देशमा शरण लिन आएका एक जना इस्राएलीसित विवाह गरिन्‌। ( रूथ १:१-६ पढ्‌नुहोस्‌) पछि रूथ र उनकी देउरानी ओर्पा आफ्नी सासू नाओमीसँग बेतेलहेम जान लाग्दा सासूले ती जवान स्त्रीहरूलाई आ-आफ्नो माइती-घर फर्कन आग्रह गरिन्‌। किनकि तिनीहरूलाई इस्राएलमा जीवन बिताउन सजिले हुने थिएन। ओर्पाचाहिं “आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर गई” तर रूथ फर्किनन्‌। तिनले विश्‍वास अनुसारको काम गरिन्‌ र तिनी कसको हुन चाहन्थिन्‌ तिनलाई थाह थियो। तिनले नाओमीलाई भनिन्‌: “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहींनै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।” (रूथ १:१५, १६) यहोवाको सेवा गर्ने छनौट गरेकोले रूथले परमेश्‍वरको व्यवस्थाबाट लाभ उठाइन्‌। त्यस व्यवस्थामा विधवा, गरिब र भूमिहीनहरूको लागि विशेष प्रबन्ध गरिएको थियो। यहोवाको छत्रछायामा तिनले आनन्द र सुरक्षा पाइन्‌।

५. विश्‍वासी भएर यहोवाको सेवा गर्नेहरूबारे तपाईंले के देख्नुभएको छ?

यहोवामा आफूलाई समर्पण गरेर दशकौंदेखि विश्‍वासी भएर सेवा गरिरहेका कतिपयलाई सायद तपाईं चिन्‍नुहुन्छ। यहोवाको सेवा गरेर कस्तो लाभ उठाएका छन्‌ उहाँहरूलाई सोध्नुहोस्‌। हुन त समस्या नभएको कोही छैन, तैपनि भजनरचयिताका यी शब्दहरूलाई समर्थन गर्ने प्रमाण प्रशस्त छ: “ती मानिसहरू सुखी हुन्छन्‌, जसका परमेश्‍वर परमप्रभुनै हुनुहुन्छ।”—भज. १४४:१५.

यहोवा अव्यावहारिक माग गर्नुहुन्‍न

६. यहोवाले हामीबाट आशा राखेको कुरा पूरा गर्न नसकिएला भनी किन डराउनुपर्दैन?

‘मबाट यहोवाले आशा गरेको कुरा पूरा गर्न सक्दिनँ होला’ भनेर तपाईं सायद सोच्नुहुन्छ। परमेश्‍वरको सेवक हुने, उहाँको नियमअनुसार जीवन बिताउने र उहाँको नाउँको प्रचार गर्ने कुराले सजिलै अत्यास लाग्न सक्छ। उदाहरणको लागि, इस्राएलीहरू र मिश्रको राजासित कुरा गर्न पठाउँदा मोशाले आफूलाई अयोग्य ठाने। तर मोशाबाट आशा गरेको कुरामा यहोवा अव्यावहारिक हुनुभएन। उहाँले तिनलाई ‘के गर्नुपर्ने हो सो बताउनुभयो।’ ( प्रस्थान ३:११; ४:१, १०, १३-१५ पढ्‌नुहोस्‌) दिइएको मदत स्वीकारेको हुनाले परमेश्‍वरको इच्छा पूरा गर्दा मोशा आनन्दित भए। हामीबाट आशा गरेको कुरामा पनि यहोवा त्यसरी नै व्यावहारिक हुनुहुन्छ। उहाँ हाम्रो असिद्धता बुझ्नुहुन्छ र हामीलाई मदत दिन चाहनुहुन्छ। (भज. १०३:१४) येशूको अनुयायी बनेर परमेश्‍वरको सेवा गर्दा अत्यास लाग्दैन बरु स्फूर्ति पाइन्छ। किनभने यस्तो जीवनशैलीले अरू मानिसलाई लाभ पुऱ्‍याउँछ र यहोवाको हृदय आनन्दित पार्छ। येशूले भन्‍नुभयो: “मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु।”—मत्ती ११:२८, २९.

७. यहोवा हामीबाट जे आशा गर्नुहुन्छ, त्यो पूरा गर्न मदत पनि दिनुहुन्छ भनेर हामी कसरी विश्‍वस्त हुन सक्छौं?

हामी यहोवाको शक्‍तिमा भर परुन्जेल उहाँले हामीलाई चाहिएको प्रोत्साहन दिनुहुनेछ। उदाहरणको लागि, यर्मिया सायद फरासिलो थिएनन्‌। त्यसैकारण यहोवाले अगमवक्‍ताको काममा खटाउँदा तिनले भने: “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्‌, मता बोल्नै जान्दिनँ, किनभने म त बच्चै छु।” पछि तिनले यसो समेत भने: “म फेरि कहिल्यै उहाँको नाउँ लिन्‍नँ।” (यर्मि. १:६; २०:९) तैपनि यहोवाको प्रोत्साहन पाएर यर्मियाले ४० वर्षसम्म अप्रिय सन्देश सुनाउन सके। यसो भन्दै यहोवाले तिनलाई बारम्बार आश्‍वासन दिनुभयो: “तँलाई बचाउन र छुटाउनलाई म तँसित छु।”—यर्मि. १:८, १९; १५:२०.

८. यहोवामा भर पर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

मोशा र यर्मियालाई बल दिएजस्तै अहिले ख्रीष्टियानहरूबाट आशा गरेको कुरा पूरा गर्न यहोवा हामीलाई मदत दिन सक्नुहुन्छ। मुख्य कुरा यहोवामा भर पर्नु हो। बाइबल भन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझशक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितो. ३:५, ६) जब उहाँको वचन र मण्डलीबाट आएको मदत स्वीकार्छौं तब हामी यहोवामा भर परेका छौं भनेर देखाइरहेका हुनेछौं। यदि हाम्रो जीवन यहोवालाई डोऱ्‍याउन दियौं भने यहोवाप्रति विश्‍वासी भइरहन कुनै कुराले पनि रोक्न सक्नेछैन।

यहोवा आफ्ना जनहरूलाई व्यक्‍तिगत तवरमा हेरचाह गर्नुहुन्छ

९, १०. भजन ९१ अध्यायमा कस्तो सुरक्षा दिने प्रतिज्ञा गरिएको छ?

आफूलाई यहोवामा समर्पण गर्ने कि नगर्ने भनेर विचार गर्दा पाप गरिएला, अयोग्य भइएला र यहोवाबाट तिरस्कृत होइएला भनी कतिपयले सोच्लान्‌। खुसीको कुरा यहोवाले हामीलाई उहाँसँगको अनमोल सम्बन्ध सुरक्षित राख्न आवश्‍यक सबै प्रकारको सुरक्षा दिनुहुन्छ। यो कुरा भजन ९१ अध्यायमा कसरी प्रकट गरिएको छ हेरौं।

१० उक्‍त भजन यसरी सुरू हुन्छ: “जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ, त्यो सर्वशक्‍तिमानको छत्रछायामनि रहन्छ। परमप्रभुको विषयमा म भन्छु, ‘उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्‍वर, जसमा म भरोसा राख्तछु।’ किनभने उहाँले तिमीलाई शिकारीको पासोबाट . . . बचाउनुहुनेछ।” (भज. ९१:१-३) याद गर्नुहोस्‌ परमेश्‍वरलाई प्रेम गर्ने र उहाँमा भर पर्नेहरूलाई उहाँ सुरक्षा दिने प्रतिज्ञा गर्नुहुन्छ। ( भजन ९१:९, १४ पढ्‌नुहोस्‌) कस्तो सुरक्षा? हो, प्राचीन समयका कतिपय सेवकहरूलाई यहोवाले शारीरिक तवरमै सुरक्षा दिनुभयो अर्थात्‌ प्रतिज्ञा गरिएको मसीहको वंश बचाउन बेलाबेलामा त्यस्तो सुरक्षा दिनुभयो। तर अरू थुप्रै विश्‍वासी मानिसहरूलाई परमेश्‍वरबाट तर्काउने क्रूर प्रयासमा तिनीहरू जेलमा हालिए, सताइए र मारिए। (हिब्रू ११:३४-३९) तिनीहरूले सहनको लागि चाहिएको साहस पाए किनभने सत्यनिष्ठा तोड्‌न सक्ने खतराबाट यहोवाले तिनीहरूलाई आध्यात्मिक तवरमा बचाउनुभयो। तसर्थ भजन ९१ अध्यायमा आध्यात्मिक सुरक्षा दिने प्रतिज्ञा गरिएको छ भनेर बुझ्न सकिन्छ।

११. “परम प्रधानको गुप्त ठाउँ” के हो र यसमा परमेश्‍वरले कसलाई सुरक्षा दिनुहुन्छ?

११ भजनरचयिताले उल्लेख गरेको “परम प्रधानको गुप्त ठाउँ” आध्यात्मिक सुरक्षा पाइने लाक्षणिक ठाउँ हो। यस ठाउँमा परमेश्‍वरको पाहुना भएर जो बास गर्छन्‌, तिनीहरूको विश्‍वास र परमेश्‍वरप्रतिको प्रेमलाई खतरामा पार्ने कुनै कुरा वा कुनै व्यक्‍तिबाट तिनीहरू सुरक्षित हुन्छन्‌। (भज. १५:१, २; १२१:५) यो गुप्त ठाउँ हो किनभने अविश्‍वासीहरू यसलाई बुझ्न सक्दैनन्‌। वास्तवमा यसो भन्‍नेहरूलाई यहोवा उक्‍त ठाउँमा सुरक्षा दिनुहुन्छ: ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ जसमा म भरोसा राख्तछु।’ हामी यो शरणस्थानमा रह्‍यौं भने शैतान अर्थात्‌ शिकारीको पासोमा परेर परमेश्‍वरको अनुमोदन गुमाइएला कि भनेर अनावश्‍यक चिन्ता गर्नुपर्दैन।

१२. परमेश्‍वरसँगको हाम्रो सम्बन्धलाई कस्ता कुराले जोखिममा पार्छ?

१२ परमेश्‍वरसँगको हाम्रो अनमोल सम्बन्धलाई कस्ता कुराले जोखिममा पार्छ? भजनरचयिताले थुप्रै खतराहरू उल्लेख गरेको छन्‌। “राती चल्ने रूढीदेखि, दिउँसो क्षय गर्ने नाश” ती खतरामध्ये हुन्‌। (भज. ९१:५, ६) “शिकारी”-ले थुप्रैलाई स्वतन्त्र हुन चाहने स्वार्थी इच्छाको पासोमा पारेको छ। (२ कोरि. ११:३) यसले अरूलाई पनि लोभ, घमन्ड र भौतिकवादलाई चलाएर पासोमा पार्छ। अझ अरू कतिपयलाई देशभक्‍ति, क्रमविकास र झूटो धर्मजस्ता दर्शनहरू चलाएर भर्माउँछ। (कल. २:८) अनि थुप्रैलाई अवैध यौन सम्बन्धको पासोमा जकडेको छ। यस्ता हानिकारक रूढीले गर्दा लाखौं मानिसले परमेश्‍वरलाई प्रेम गर्न छोडेका छन्‌।—भजन ९१:७-१० पढ्‌नुहोस्‌; मत्ती २४:१२.

परमेश्‍वरप्रतिको तपाईंको प्रेम कसरी जोगाउने?

१३. हाम्रो आध्यात्मिक हितलाई जोखिममा पार्ने कुराहरूदेखि यहोवाले हामीलाई कसरी जोगाउनुहुन्छ?

१३ यहोवाले कसरी आफ्ना जनलाई यी आध्यात्मिक खतराबाट जोगाउनुहुन्छ? भजन बताउँछ: “उहाँले आफ्ना दूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई कडा आज्ञा दिनुहुनेछ।” (भज. ९१:११) तपाईंले सुसमाचार प्रचार गर्न सकोस्‌ भनी स्वर्गदूतहरूले डोऱ्‍याइ र सुरक्षा दिन्छन्‌। (प्रका. १४:६) स्वर्गदूतबाहेक ख्रीष्टियान प्राचीनहरूले पनि धर्मशास्त्रमा अडिग भई शिक्षा दिएर झूटो तर्कको धोकामा पर्नदेखि हामीलाई जोगाउँछन्‌। सांसारिक झुकावहरूलाई त्याग्न संघर्ष गरिरहेकाहरूलाई प्राचीनहरूले व्यक्‍तिगत मदत दिन सक्छन्‌। (ती. १:९; १ पत्रु. ५:२) साथै, क्रमविकासको शिक्षा, अनैतिक इच्छाहरूको प्रलोभन, धनसम्पत्ति तथा मानसम्मानको चाहना अनि अन्य अनेकौं हानिकारक इच्छा र प्रभावहरूदेखि हामीलाई जोगाउन “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले आध्यात्मिक खानेकुरा दिन्छन्‌। (मत्ती २४:४५) यस्ता कतिपय खतराहरूलाई रोक्न तपाईंलाई केले मदत गरेको छ?

१४. परमेश्‍वरले दिने सुरक्षाबाट हामी कसरी फाइदा उठाउन सक्छौं?

१४ सुरक्षा पाइने परमेश्‍वरको “गुप्त ठाउँ”-मा रहन हामीले के गर्नैपर्छ? जसरी हामीले आफूलाई दुर्घटना, अपराध वा संक्रमणजस्ता शारीरिक खतराहरूबाट निरन्तर जोगाउनुपर्छ त्यसैगरि आध्यात्मिक खतराहरूबाट पनि जोगाई राख्नैपर्छ। त्यसैले यहोवाले हाम्रा प्रकाशनहरू र मण्डलीका सभा तथा सम्मेलनहरूमा दिने डोऱ्‍याइबाट नियमित तवरमा फाइदा उठाउनुपर्छ। हामी प्राचीनहरूको सल्लाह खोज्छौं। अनि के हामी ख्रीष्टियान भाइबहिनीले देखाउने गुणहरूबाट लाभ उठाउँदैनौं र? हो, मण्डलीसितको संगतले हामीलाई बुद्धिमान्‌ हुन मदत गर्छ।—हितो. १३:२०; १ पत्रुस ४:१० पढ्‌नुहोस्‌।

१५. यहोवाको अनुमोदन गुमाउने हदसम्म पुऱ्‍याउन सक्ने कुनै कुरादेखि यहोवाले तपाईंलाई जोगाउन सक्नुहुन्छ भनेर तपाईं किन विश्‍वस्त हुन सक्नुहुन्छ?

१५ यहोवाको अनुमोदन गुमाउने हदसम्म पुऱ्‍याउन सक्ने कुनै कुरादेखि यहोवाले हामीलाई जोगाउन सक्नुहुन्छ भन्‍ने कुरामा शंका गर्ने कुनै कारण हामीसित छैन। (रोमी ८:३८, ३९) उहाँले मण्डलीलाई धार्मिक तथा राजनैतिक शत्रुहरूबाट जोगाउनुभएको छ। साधारणतया ती शत्रुहरूको लक्ष्य हामीलाई मार्नु होइन तर पवित्र परमेश्‍वरबाट अलग्याउनु हो। यहोवाको यो प्रतिज्ञा साँचो साबित भएको छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ।”—यशै. ५४:१७.

हामीलाई कसले स्वतन्त्रता दिन्छ?

१६. संसारले किन हामीलाई स्वतन्त्रता दिन सक्दैन?

१६ के हामी यहोवाको हुँदा हाम्रो स्वतन्त्रता हनन हुन्छ? बरु संसारको हुँदा पो हाम्रो स्वतन्त्रता हनन हुन्छ। यो संसार यहोवाबाट अलग्गिएको छ र मानिसहरूलाई दासत्वमा पार्ने क्रूर देवले यसमाथि शासन गरेको छ। (यूह. १४:३०) उदाहरणको लागि, शैतानको संसारले आर्थिक दबाब दिएर मानिसहरूको स्वतन्त्रता हनन गर्छ। (प्रकाश १३:१६, १७ तुलना गर्नुहोस्‌) मानिसहरूलाई धोका दिएर दासत्वमा पार्ने एउटा शक्‍ति पाप पनि हो। (यूह. ८:३४; हिब्रू ३:१३) त्यसैले अविश्‍वासीहरूले यहोवाको शिक्षा विपरीत जीवन बिताउँदा स्वतन्त्रता पाइन्छ भने तापनि जसले तिनीहरूको कुरा सुन्छन्‌ तिनीहरू तुरुन्तै पापी र खस्कँदो जीवनशैलीको पासोमा जकडिन्छन्‌।—रोमी १:२४-३२.

१७. यहोवा हामीलाई कस्तो स्वतन्त्रता दिनुहुन्छ?

१७ अर्कोतिर, यदि हामीले आफूलाई यहोवामा सुम्प्यौं भने उहाँले हामीलाई कुनै पनि हानिकारक कुराबाट स्वतन्त्र पार्नुहुनेछ। केही तरिकामा हाम्रो अवस्था ती व्यक्‍तिको जस्तै छ, जसले आफ्नो जीवन मरेतुल्य अवस्थाबाट बचाउन सक्ने दक्ष शल्य-चिकित्सकको हातमा सुम्पन्छन्‌। हामी सबै मरेतुल्य अवस्थामा छौं। मतलब जन्मजात पापी छौं। यहोवामा आफूलाई सुम्प्यौं भने मात्र ख्रीष्टको बलिदानको आधारमा पापको प्रभावबाट उम्कने र सधैंभरि बाँच्ने आशा गर्न सक्छौं। (यूह. ३:३६) शल्य-चिकित्सकको राम्रो नाउँ चलेको जानेर जसरी तिनमा हाम्रो भरोसा बढ्‌छ त्यसरी नै यहोवाबारे निरन्तर सिक्दै जाँदा उहाँमाथिको हाम्रो भरोसा पनि बढ्‌दै जान्छ। त्यसकारण हामी परमेश्‍वरको वचन होसियारसाथ निरन्तर अध्ययन गर्छौं। किनभने यसले हामीलाई यस्तो तरिकामा उहाँलाई प्रेम गर्न मदत गर्नेछ कि उहाँको हुन हामीलाई डर लाग्नेछैन।—१ यूह. ४:१८.

१८. यहोवाका हुनेहरूका लागि नतिजा कस्तो हुनेछ?

१८ यहोवा सबै मानिसलाई छनौट गर्ने स्वतन्त्रता दिनुहुन्छ। उहाँको वचन भन्छ: “जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै।” (व्यव. ३०:१९, २०) उहाँको सेवा गर्ने छनौट गरेर हामीले उहाँलाई प्रेम देखाएको यहोवा चाहनुहुन्छ। हामी आफूले प्रेम गर्ने परमेश्‍वरको हुँदा हाम्रो स्वतन्त्रता हनन हुँदैन बरु अवश्‍य आनन्दित हुनेछौं र भइरहनेछौं।

१९. हामी यहोवाको हुन पाउनु किन उहाँको अनुग्रह हो?

१९ हामी पापी भएकोले सिद्ध परमेश्‍वरको हुन योग्यका छैनौं। परमेश्‍वरको अनुग्रहले मात्र हामीलाई योग्य बनाउँछ। (२ तिमो. १:९) त्यसैकारण पावलले लेखे: “हामी बाँचे पनि प्रभुको निम्ति बाँच्तछौं, औ मरे पनि प्रभुको निम्ति मर्दछौं। यसकारण चाहे हामी बाचौं, चाहे मरौं, हामी प्रभुकै हौं।” (रोमी १४:८) यहोवाको हुने छनौट गरेर हामीले कहिल्यै पछुताउनु पर्नेछैन। ( w10-E 01/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाको हुँदा पाइने लाभहरू के-के हुन्‌?

• परमेश्‍वरले हामीबाट आशा गरेको कुरा गर्न हामी किन सक्षम हुन सक्छौं?

• यहोवा आफ्ना सेवकहरूको सुरक्षा कसरी गर्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएका चित्रहरू]

यहोवाको हुँदा कसरी लाभ उठाएका छन्‌ अरूलाई सोध्नुहोस्‌

[पृष्ठ १६-मा भएको चित्र]

यहोवाले सुरक्षा दिने केही तरिका के-के हुन्‌?