सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफूलाई ख्रीष्टको साँचो अनुयायी साबित गर्नुहोस्‌

आफूलाई ख्रीष्टको साँचो अनुयायी साबित गर्नुहोस्‌

आफूलाई ख्रीष्टको साँचो अनुयायी साबित गर्नुहोस्‌

“हरेक असल रूखले बढिया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ।”—मत्ती ७:१७.

१, २. विशेषगरि अन्तको यस समयमा ख्रीष्टका साँचो अनुयायीहरू झूटा अनुयायीभन्दा कसरी भिन्‍न छन्‌?

 ख्रीष्टको अनुयायी हूँ भनेर झूटो दाबी गर्नेहरू उहाँका साँचो अनुयायीहरूभन्दा भिन्‍नै हुनेछन्‌ भनेर येशूले बताउनुभयो। तिनीहरूको फलले अर्थात्‌ तिनीहरूको शिक्षा र आचरणले गर्दा भिन्‍नै हुने थिए। (मत्ती ७:१५-१७, २०) वास्तवमा मानिसहरू आफ्नो मन-मस्तिष्कमा जस्तो कुराहरू राख्छन्‌ त्यसले तिनीहरूमा अवश्‍य प्रभाव पार्छ। (मत्ती १५:१८, १९) झूटो कुरा सिक्नेले “खराब फल” फलाउँछ तर आध्यात्मिक कुरा सिक्नेले “बढिया फल” फलाउँछ।

अन्तको यस समयमा दुई प्रकारका फलहरू प्रस्टै देखिएका छन्‌। ( दानियल १२:३, १० पढ्‌नुहोस्‌) झूटा ख्रीष्टियानहरू परमेश्‍वरप्रति टेढो दृष्टिकोण राख्छन्‌ र अक्सर कपटपूर्ण ईश्‍वरभक्‍ति चढाउँछन्‌। तर आध्यात्मिक अन्तरदृष्टि भएकाहरूले भने “आत्मा र सत्यता”-मा परमेश्‍वरको उपासना गर्छन्‌। (यूह. ४:२४; २ तिमो. ३:१-५) तिनीहरू ख्रीष्टको जस्तै गुणहरू देखाउन सक्दो गर्छन्‌। तर व्यक्‍तिगत रूपमा के हामी त्यसो गर्दैछौं? साँचो ख्रीष्टियान धर्म चिन्‍ने पाँच तरिका अब छलफल गर्दा आफैलाई सोध्नुहोस्‌: मेरो आचरण र मैले सिकाउने कुरा परमेश्‍वरको वचनसित प्रस्टै मेल खान्छ? मेरो आचरण र मैले सिकाउने कुराले सत्य खोज्नेहरूलाई आकर्षित गर्छ?

परमेश्‍वरको वचनअनुरूप जिउँछन्‌

३. कुन कुराले यहोवालाई खुसी बनाउँछ र साँचो ख्रीष्टियानहरूका लागि यसो गर्नुमा के समावेश छ?

येशूले भन्‍नुभयो: “मलाई प्रभु! प्रभु!! भन्‍ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।” (मत्ती ७:२१) हो, ख्रीष्टियान हुँ भनेर दाबी गर्दैमा यहोवालाई खुसी बनाउन सकिंदैन तर ख्रीष्टियानहरूले गर्नुपर्ने कुरा गरेमा मात्रै उहाँलाई खुसी बनाउन सकिन्छ। ख्रीष्टका साँचो अनुयायीहरूका लागि यसो गर्नुमा तिनीहरूको सारा जीवनशैली समावेश छ। जसमा पैसा, पेसा, मनोरन्जन, सांसारिक रीतिथिति र चाडपर्वहरू, विवाह र संगी मानवहरूसँगको सम्बन्ध यी सबैप्रतिको तिनीहरूको मनोवृत्ति समावेश छ। तर झूटा ख्रीष्टियानहरूले संसारको सोचाइ र मार्ग पछ्याउँछन्‌ जुन अन्तिम दिनमा अझ धेरै खराब हुँदै गएको छ।—भज. ९२:७.

४, ५. मलाकी ३:१८ मा पाइने यहोवाको वचन हामी आफ्नो जीवनमा कसरी लागू गर्न सक्छौं?

त्यसैगरि अगमवक्‍ता मलाकीले पनि यस्तो लेखे: “तिमीहरू फर्कनेछौ, औ धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्याउन सक्नेछौ।” (मला. ३:१८) यी कुरा विचार गर्दै आफैलाई सोध्नुहोस्‌: के म संसारको मानिसजस्तै छु वा फरक देखिन्छु? स्कूलमा होस्‌ वा काममा के म सधैं सांसारिक साथीभाइजस्तै हुन खोज्छु वा बाइबलका सिद्धान्तहरूमा अडिग रहन्छु? अनि मौका मिल्दा बाइबलबारे बताउँछु कि? ( १ पत्रुस ३:१६ पढ्‌नुहोस्‌) हो, हामी आत्मधर्मी देखिन चाहँदैनौं। तर यहोवालाई प्रेम नगर्ने र उहाँको सेवा गर्न नचाहनेहरूभन्दा हामी फरक देखिनुपर्छ।

आफूमा सुधार गर्नुपर्ने आवश्‍यकता देख्नुभयो भने यसबारे प्रार्थना गरे कसो होला? साथै नियमित बाइबल अध्ययन तथा प्रार्थना गरेर अनि सभामा गएर आध्यात्मिक बल पाउन प्रयास गरे कसो होला? तपाईं जति धेरै परमेश्‍वरको वचन आफ्नो जीवनमा लागू गर्नुहुन्छ त्यति नै तपाईंले “असल फल” फलाउनुहुनेछ जसमा “[परमेश्‍वरको] नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल” पनि समावेश छ।—हिब्रू १३:१५.

परमेश्‍वरको राज्यको प्रचार गर्छन्‌

६, ७. राज्य सन्देशको सम्बन्धमा साँचो ख्रीष्टियान र झूटो ख्रीष्टियानबीच कस्तो ठूलो भिन्‍नता देख्न सकिन्छ?

येशूले भन्‍नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) येशूले आफ्नो सेवकाईमा परमेश्‍वरको राज्यलाई किन मुख्य विषय बनाउनुभयो? पुनरुत्थान भएका आत्मा-अभिषिक्‍त भाइहरूसित मिलेर उहाँले उक्‍त राज्यको राजाको हैसियतमा मानिसजातिको दुःखको स्रोत अर्थात्‌ पाप र शैतानको अन्त गर्ने कुरा उहाँलाई थाह थियो। (रोमी ५:१२; प्रका. २०:१०) त्यसैकारण उहाँले आफ्ना अनुयायीहरूलाई वर्तमान रीतिरिवाजको अन्त नहोउन्जेल परमेश्‍वरको राज्य प्रचार गरिरहन आज्ञा दिनुभयो। (मत्ती २४:१४) ख्रीष्टको अनुयायी हूँ भनेर दाबी गर्ने मानिसहरू यस काममा भाग नलिने मात्र होइनन्‌ वास्तवमा तिनीहरू भाग लिन पनि सक्दैनन्‌। किन? कम्तीमा तीन कारण छन्‌। पहिलो: तिनीहरूले जुन कुरा बुझेका छैनन्‌ त्यो प्रचार गर्न सक्दैनन्‌। दोस्रो: छिमेकीहरूलाई प्रचार गर्दा आइपर्ने खिसी र विरोधको सामना गर्न चाहिने नम्रता र साहस तिनीहरूमध्ये धेरैसित छैन। (मत्ती २४:९; १ पत्रु. २:२३) तेस्रो: झूटा ख्रीष्टियानहरूसँग परमेश्‍वरको आत्मा छैन।—यूह. १४:१६, १७.

अर्कोतर्फ ख्रीष्टका साँचो अनुयायीहरूले चाहिं परमेश्‍वरको राज्य के हो र यसले के गर्नेछ भनेर बुझेका छन्‌। त्यसबाहेक तिनीहरू यहोवाको आत्माको मदतले संसारभरि यस राज्यको प्रचार गरेर आफ्नो जीवनमा यसलाई प्राथमिकता दिन्छन्‌। (जक. ४:६) के तपाईं प्रचारमा नियमित भाग लिंदै हुनुहुन्छ? के तपाईं प्रचारमा धेरै समय बिताएर वा अझ प्रभावकारी भएर राज्य प्रचारकको हैसियतमा सक्दो उन्‍नति गर्दै हुनुहुन्छ? कसै-कसैले प्रचारमा अझ राम्ररी बाइबल प्रयोग गरेर आफ्नो सेवकाईको गुणस्तर बढाउने कोसिस गरेका छन्‌। धर्मशास्त्रबाट तर्क गर्ने बानी बसालेका प्रेरित पावलले लेखे: “परमेश्‍वरको वचन जीवित र प्रबल” छ।—हिब्रू ४:१२; प्रेरि. १७:२, ३.

८, ९. (क) प्रचार गर्दा बाइबल प्रयोग गर्नु महत्त्वपूर्ण छ भनेर कस्ता अनुभवले देखाउँछ? (ख) परमेश्‍वरको वचन प्रयोग गर्न हामी कसरी अझै सिपालु हुन सक्छौं?

घर-घरको प्रचारमा एक जना भाइले एउटा क्याथोलिकलाई भेटे र दानियल २:४४ पढेर परमेश्‍वरको राज्यले साँचो शान्ति र सुरक्षा कसरी ल्याउँछ भनी बताए। उक्‍त व्यक्‍तिले यसो भने: “आफैले सुनाउनुभन्दा बाइबल खोलेरै देखाउनुभयो। यो कुरा मलाई साह्रै मनपऱ्‍यो।” जब एक जना भाइले ग्रीक अर्थोडक्स चर्चमा जाने महिलालाई बाइबलबाटै पढेर सुनाए। तब तिनले थुप्रै प्रश्‍न सोधिन्‌ जसबाट तिनको चासो देखिन्थ्यो। ती भाइले पनि आफ्नी पत्नीसँग मिलेर बाइबलबाटै जवाफ दिए। पछि ती महिलाले भनिन्‌: “म तपाईंहरूसँग कुरा गर्न किन राजी भएकी थाह छ? तपाईं बाइबल लिएर मकहाँ आउनुभयो र बाइबल खोलेरै पढ्‌नुभयो। त्यही भएर।”

हो, हाम्रा साहित्यहरू कम महत्त्वका छैनन्‌ र प्रचार गर्दा ती प्रस्तुत गर्नुपर्छ। तैपनि हामीले प्रयोग गर्ने मुख्य साधन बाइबल नै हो। त्यसैले यदि प्रचारमा नियमित रूपमा बाइबल प्रयोग गर्ने तपाईंको बानी छैन भने प्रयोग गर्ने लक्ष्य किन नराख्ने? सायद तपाईं केही मुख्य शास्त्रपद छान्‍न सक्नुहुन्छ जसले परमेश्‍वरको राज्य के हो र तपाईंको इलाकाका मानिसहरूलाई चासो लाग्ने कुनै-कुनै समस्याहरू यसले कसरी समाधान गर्नेछ भनेर बताउँछ। त्यसपछि ती पद घरघरमा प्रचार गर्दा पढेर सुनाउन तयार हुनुहोस्‌।

परमेश्‍वरको नाउँ गर्वसाथ वहन गर्छन्‌

१०, ११. परमेश्‍वरको नाउँ प्रयोग गर्ने सम्बन्धमा येशू र उहाँका अनुयायी भनी दाबी गर्नेबीच कस्तो ठूलो भिन्‍नता पाउँछौं?

१० “ ‘तिमीहरू मेरा साक्षी हौ।’ परमप्रभु भन्‍नुहुन्छ, म परमेश्‍वर हुँ।” (यशै. ४३:१२, १३) यहोवाको सर्वोत्कृष्ट साक्षी येशू ख्रीष्टले परमेश्‍वरको नाउँ वहन गर्न र यो नाउँ प्रकट गर्न पाउनुलाई सम्मान ठान्‍नुभयो। ( प्रस्थान ३:१५; यूहन्‍ना १७:६; हिब्रू २:१२ पढ्‌नुहोस्‌) वास्तवमा येशूले आफ्नो पिताको नाउँ घोषणा गरेकै कारण उहाँलाई “विश्‍वासयोग्य साक्षी” भनियो।—प्रका. १:५; मत्ती ६:९.

११ यसको विपरीत परमेश्‍वर र उहाँको पुत्रको प्रतिनिधित्व गरेको दाबी गर्ने थुप्रैले बाइबलबाट परमेश्‍वरको नाउँ हटाएर समेत उहाँको नाउँप्रति लज्जास्पद मनोवृत्ति देखाएका छन्‌। तिनीहरूको छन्‌। क्याथोलिक विशपहरूलाई हालै दिइएको यो निर्देशनमा यस्तै मनोवृत्ति पाउँछौं: “टेट्राग्रामाटन अर्थात्‌ चारवटा हिब्रू व्यञ्जनवर्णले बनेको परमेश्‍वरको नाउँ ( YHWH) उपासना गर्दा प्रयोग गर्नुहुँदैन, उच्चारण पनि गर्नुहुँदैन।” * कत्ति निन्दनीय सोचाइ!

१२. सन्‌ १९३१ मा यहोवाका सेवकहरू यहोवासित अझै नजिकबाट कसरी परिचित भए?

१२ ख्रीष्ट र उहाँअघिका थुप्रै “गवाहीका मेघ”-को अनुकरण गर्दै साँचो ख्रीष्टियानहरूले परमेश्‍वरको नाउँ गर्वसाथ प्रयोग गर्छन्‌। (हिब्रू १२:१) वास्तवमा परमेश्‍वरका सेवकहरूले सन्‌ १९३१ मा यहोवाका साक्षीहरू भन्‍ने नाउँ ग्रहण गरेर यहोवासित अझै नजिकबाट परिचित भए। ( यशैया ४३:१०-१२ पढ्‌नुहोस्‌) त्यसैले विशेष अर्थमा ख्रीष्टका साँचो अनुयायीहरू परमेश्‍वरको “नाउँद्वारा बोलाइएका” हुन गए।—प्रेरि. १५:१४, १७, NRV.

१३. परमेश्‍वरले दिएको नाउँअनुरूप हामी कसरी जिउन सक्छौं?

१३ परमेश्‍वरको नाउँद्वारा बोलाइएकाहरूले गर्नुपर्ने कुरा गरिरहेका छौं भनेर हामी कसरी पक्का हुन सक्छौं? एउटा त हामीले विश्‍वासी भई परमेश्‍वरबारे साक्षी दिनैपर्छ। पावलले लेखे: “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। तब जसलाई तिनीहरूले विश्‍वास गरेकै छैनन्‌ उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन्‌ उहाँलाई कसरी विश्‍वास गर्ने? औ प्रचार गर्ने विना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌? औ नपठाईकन कसरी तिनीहरूले प्रचार गर्लान्‌?” (रोमी १०:१३-१५) साथै हाम्रो सृष्टिकर्ताको बदनाम गर्ने धार्मिक झूटहरूलाई हामीले कौशलतासाथ पर्दाफास गर्नुपर्छ। ती झूटमध्ये एउटा हो: नरकको आगोको शिक्षा, जसले वास्तवमा शैतानको क्रूर कामको दोष प्रेमको परमेश्‍वरमाथि थोपर्छ।—यर्मि. ७:३१; १ यूह. ४:८; मर्कूस ९:१७-२७ तुलना गर्नुहोस्‌।

१४. परमेश्‍वरको व्यक्‍तिगत नाउँ थाह पाउँदा कसै-कसैले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

१४ स्वर्गमा बस्ने आफ्नो पिताको नाउँ वहन गर्न पाउँदा के तपाईं गर्व महसुस गर्नुहुन्छ? के तपाईं यो पवित्र नाउँ अरूलाई चिनाउन सक्नुहुन्छ? फ्रान्सको पेरिसकी एउटी महिलाले यहोवाका साक्षीहरूलाई परमेश्‍वरको नाउँ थाहा छ भनी सुनिन्‌। त्यसैले उनले अर्को साक्षीलाई भेट्‌दा त्यो नाउँ मेरै बाइबलबाट देखाइदिनुहोस्‌ भनिन्‌। उनले भजन ८३:१८ पढेपछि गहिरो प्रभाव पऱ्‍यो। उनले बाइबल अध्ययन सुरू गरिन्‌ र अहिले एक जना विश्‍वासी बहिनीको रूपमा विदेशमा सेवा गर्दैछिन्‌। अस्ट्रेलियामा बस्ने एउटी क्याथोलिक महिलाले बाइबलमा परमेश्‍वरको नाउँ पहिलो पटक देख्दा उनको आँखाबाट खुसीको आँसु झऱ्‍यो। अहिले उनी धेरै वर्षदेखि नियमित अग्रगामीको रूपमा सेवा गर्दैछिन्‌। हालसालै जमैकामा साक्षीहरूले एउटी महिलालाई उनको आफ्नै बाइबलबाट परमेश्‍वरको नाउँ देखाइदिंदा उनको पनि खुसीले आँखा रसायो। त्यसैले परमेश्‍वरको नाउँ वहन गर्न र येशूको अनुकरण गर्दै त्यो अनमोल नाउँ सबैलाई घोषणा गर्न पाएकोमा गर्व गरौं।

“संसारलाई प्रेम” गर्दैनन्‌

१५, १६. साँचो ख्रीष्टियानहरू यस संसारप्रति कस्तो दृष्टिकोण राख्छन्‌ र हामीले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१५ “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन।” (१ यूह. २:१५) यो संसार र यसको शारीरिक मनोवृत्ति यहोवा अनि उहाँको पवित्र आत्माको विरुद्धमा खडा छ। तसर्थ ख्रीष्टका साँचो अनुयायीहरू यस संसारको भाग हुनबाट मात्रै अलग रहँदैनन्‌। चेला याकूबले लेखेझैं “संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो” भन्‍ने बुझेर तिनीहरू यस संसारलाई हृदयदेखि नै इन्कार गर्छन्‌।—याकू. ४:४.

१६ संसारले अनगन्ती प्रलोभनहरू ल्याउने भएकोले याकूबका शब्दहरू पालन गर्नु चुनौती हुन सक्छ। (२ तिमो. ४:१०) त्यसैकारण येशूले आफ्ना अनुयायीहरूका लागि प्रार्थना गर्नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूह. १७:१५, १६) आफैलाई सोध्नुहोस्‌: ‘संसारको भाग नहुन के म सक्दो गर्दैछु? गैरशास्त्रीय चाडपर्व र प्रचलन अनि सायद मूर्तिपूजासँग सम्बन्धित नभएको तर यस संसारको आत्मा प्रस्टै झल्किने कुराको विषयमा मेरो अडानबारे के अरूलाई थाह छ?’—२ कोरि. ६:१७; १ पत्रु. ४:३, ४.

१७. इमानदार हृदय भएकाहरूलाई यहोवाको पक्ष लिन कुन कुराले उत्प्रेरित गर्न सक्छ?

१७ यो कुरा साँचो हो, बाइबल आधारित अडान लिंदा हामीलाई संसारले मन पराउनेछैन तर यसले इमानदार हृदय भएकाहरूमा चासो जगाउन सक्छ। वास्तवमा जब यस्ता इमानदार मानिसहरूले हाम्रो विश्‍वास बाइबलमा आधारित भएको र यसमा हाम्रो सम्पूर्ण जीवन समावेश भएको देख्छन्‌, तब तिनीहरूले वास्तवमा अभिषिक्‍त जनहरूलाई यसो भनिरहेका हुन्छन्‌: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।”—जक. ८:२३.

साँचो ख्रीष्टियान प्रेम देखाउँछन्‌

१८. यहोवा र छिमेकीलाई प्रेम देखाउनुमा के समावेश छ?

१८ येशूले भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू” र “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३७, ३९) यो प्रेम (युनानीमा अगापे) के सही छ त्यसमा आधारित हुन्छ। यसले आफ्नो दायित्वलाई गम्भीरतासाथ लिन्छ अनि स्वीकार्य निर्देशन र आचरणसम्बन्धी स्तरअनुसार काम गर्छ। तथापि यसमा अक्सर गहिरो भावना मुछिएको हुन्छ। यो न्यानो अनि प्रगाढ हुन सक्छ। (१ पत्रु. १:२२) यो प्रेम स्वार्थको ठीक विपरीत हो किनकि यो निःस्वार्थ बोली र कामबाट देखाइन्छ।—१ कोरिन्थी १३:४-७ पढ्‌नुहोस्‌।

१९, २०. ख्रीष्टियान प्रेमको शक्‍ति कस्तो छ, केही अनुभव बताउनुहोस्‌।

१९ प्रेम परमेश्‍वरको पवित्र आत्माको फलको एउटा पक्ष भएकोले यसले साँचो ख्रीष्टियानहरूलाई अरूले गर्न नसक्ने कुरा जस्तै: जातीय, सांस्कृतिक र राजनैतिक विभेदबाट मुक्‍त हुन मदत गर्छ। ( यूहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌; गला. ५:२२) यस्तो प्रेमले भेडाखाले मानिसहरूलाई गहिरो प्रभाव पार्छ। उदाहरणको लागि, इस्राएलमा एक जना जवान यहूदी पहिलो पटक ख्रीष्टियान सभामा आए। त्यहाँ यहूदी र अरबी भाइहरू सँगसँगै मिलेर यहोवाको उपासना गरेको देख्दा तिनी छक्क परे। परिणामस्वरूप तिनी नियमित सभा आउन थाले र बाइबल अध्ययन पनि स्वीकारे। के तपाईं पनि आफ्ना भाइबहिनीहरूलाई त्यसरी नै हृदयदेखि प्रेम देखाउनुहुन्छ? राज्यभवनमा आउने नयाँ व्यक्‍तिहरू चाहे जुन देशका होऊन्‌, जस्तो वर्णका होऊन्‌, जुनसुकै स्तरका होऊन्‌, के तपाईं तिनीहरूलाई न्यानो स्वागत गर्नुहुन्छ?

२० साँचो ख्रीष्टियान भएकोले हामी सबैलाई प्रेम देखाउने प्रयास गर्छौं। एल साल्भाडोरमा एउटी जवान साक्षीले ८७ वर्षकी एउटी क्याथोलिक महिलासँग बाइबल अध्ययन गर्न थालिन्‌। ती महिला आफ्नो चर्चप्रति एकदमै भक्‍तिभाव राख्थिन्‌। एक दिन उनी सिकिस्त बिरामी परिन्‌ र अस्पताल भर्ना हुनुपऱ्‍यो। अस्पतालबाट घर फर्केपछि साक्षीहरू उनलाई भेट्‌न गए र खानेकुराको बन्दोबस्त गरिदिए। यो काम लगभग एक महिनासम्म चलिरह्‍यो। उनको चर्चबाट कोही पनि भेट्‌न आएनन्‌। यसको परिणाम कस्तो भयो? उनले आफूसँग भएका मूर्तिहरू फ्याँकिन्‌, चर्चबाट राजीनामा दिइन्‌ र फेरि बाइबल अध्ययन गर्न थालिन्‌। हो, ख्रीष्टियान प्रेममा शक्‍ति छ! यसले मानिसहरूको हृदय छुन सक्छ जुन सायद प्रचार गरेर मात्र सम्भव छैन।

२१. हामी आफ्नो भविष्य कसरी सुरक्षित बनाउन सक्छौं?

२१ येशूको सेवा गर्छु भनेर झूटो दाबी गर्नेहरूलाई चाँडै नै उहाँ यसो भन्‍नुहुनेछ: “मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।” (मत्ती ७:२३) त्यसैले पिता र पुत्र दुवैको आदर हुने गुणहरू खेती गरौं। येशूले भन्‍नुभयो: “जसले मेरा यी वचनहरू सुन्छ र गर्छ, म एउटा बुद्धिमान मानिससित त्यसको तुलना गर्छु, जसले आफ्नो घर चटानमाथि बनायो।” (मत्ती ७:२४) हो, यदि हामीले आफूलाई ख्रीष्टका साँचो अनुयायी साबित गऱ्‍यौं भने हामीले परमेश्‍वरको अनुमोदन पाउनेछौं र हाम्रो भविष्य सुरक्षित हुनेछ, मानौं त्यसको जग चट्टानमाथि बसालिएको छ। ( w10-E 01/15)

[फुटनोट]

^ केही अंग्रेजी आधुनिक क्याथोलिक प्रकाशनहरूका साथै द जेरुशलेम बाइबलमा टेट्राग्रामाटन-लाई “याहवे” भनेर अनुवाद गरिएको छ।

के तपाईंलाई सम्झना छ?

• ख्रीष्टका साँचो अनुयायीहरू झूटा अनुयायीहरूभन्दा कसरी भिन्‍न छन्‌?

• साँचो ख्रीष्टियानहरू चिन्‍ने केही “फल” बताउनुहोस्‌।

• ख्रीष्टियान गुणहरू फलाउन तपाईं के-कस्तो लक्ष्य राख्न सक्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र

प्रचारमा नियमित रूपमा बाइबल प्रयोग गर्ने के तपाईंको बानी छ?

[पृष्ठ २१-मा भएको चित्र]

धर्मशास्त्र विपरीतका चाडपर्वहरूप्रति तपाईंको अडान के अरूलाई थाह छ?