सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको शासन सही ठहरियो!

यहोवाको शासन सही ठहरियो!

यहोवाको शासन सही ठहरियो!

“सर्वोच्चको नै मानिसहरूमाथि सर्वाधिकार छ।”—दानि. ४:१७.

१, २. मानव शासन असफल हुनुका केही कारण के-के हुन्‌?

 मानव शासन असफल भएको छ। यसमा कुनै शंका छैन। त्यसको मुख्य कारण मानिससित सफलतासाथ शासन गर्न चाहिने बुद्धि नै छैन। मानव शासन असफल भएको कुरा आज विशेषगरि यसका थुप्रै शासकहरूले देखाएको व्यवहारमा देखिन्छ। तिनीहरूले आफूलाई ‘स्वार्थी, धनका लोभी, अहंकारी, हठी, अपवित्र, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, दिमागी’ बनाएका छन्‌।—२ तिमो. ३:२-४

धेरैअघि हाम्रा प्रथम बुबाआमाले परमेश्‍वरको शासन इन्कार गरे। त्यसो गरेर स्वतन्त्रता छनौट गरिरहेको जस्तो तिनीहरूलाई लाग्यो होला। तर वास्तवमा तिनीहरूले शैतानको शासनको अधीनता स्वीकारिरहेका थिए। “यस संसारको मालिक” शैतानको सशक्‍त प्रभावमा परेर मानिसहरूले ६ हजार वर्षसम्म अव्यवस्थित शासन चलाएकोले हामी मानव इतिहासको एकदमै खस्कँदो अवस्थामा पुगेका छौं। (यूह. १२:३१) यसबारे इतिहासको एउटा किताब * बताउँछ: “सिद्ध संसार खोज्नु” निरर्थक छ। उक्‍त किताब अझै भन्छ: “यो पाउन असम्भव मात्र होइन तर सिद्ध संसार बनाउन खोज्दा विपत्ति आइलाग्छ, एकतन्त्रीय शासन चल्छ अनि अझ नराम्रो त युद्ध मच्चिन्छ।” मानव शासन असफल भएको छ भनेर कत्ति प्रस्टै स्वीकारिएको!

३. आदम र हव्वाले पाप नगरेको भए यहोवाले गर्ने शासनबारे हामी के भन्‍न सक्छौं?

कस्तो दुःखलाग्दो कुरा, हाम्रा प्रथम बुबाआमाले सफल हुने परमेश्‍वरको शासन इन्कार गरे। हो, आदम र हव्वा परमेश्‍वरप्रति वफादार रहेको भए यहोवाले पृथ्वीमा कस्तो प्रकारको शासन गर्नुहुन्थ्यो हामीलाई ठ्याक्कै थाह छैन। तर सबै मानिसजातिले स्वीकार्ने उहाँको शासनमा प्रेम र निष्पक्षता हुने थियो भनेर चाहिं हामी निश्‍चित हुन सक्छौं। (प्रेरि. १०:३४; १ यूह. ४:८) परमेश्‍वरको अतुलनीय बुद्धिलाई विचार गर्दा यदि मानिसजाति परमेश्‍वरको शासनको अधीनमा रहेको भए मानव शासनका समर्थकहरूले गरेका सबै गल्तीहरू हुने थिएनन्‌ भनेर पनि पक्का हुन सक्छौं। ईश्‍वरतन्त्र अर्थात्‌ परमेश्‍वरको शासन “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट” पार्न सफल हुने थियो। (भज. १४५:१६) एक वाक्यमा भन्‍नुपर्दा यो सिद्ध शासन हुने थियो। (व्यव. ३२:४) यसलाई मानिसहरूले इन्कार गर्नु कत्ति दुःखको कुरा!

४. शैतानलाई कुन हदसम्म शासन गर्ने अनुमति दिइएको छ?

तैपनि यो सम्झनु बेस हो कि यहोवाले मानिसलाई आफै शासन गर्ने अनुमति दिए तापनि उहाँले आफ्ना सृष्टिमाथि शासन गर्ने अधिकार कहिल्यै त्याग्नुभएन। बेबिलोनको शक्‍तिशाली राजासमेत अन्तमा “सर्वोच्चको नै मानिसहरूमाथि सर्वाधिकार छ” भनेर स्वीकार्न बाध्य भए। (दानि. ४:१७) हो, आखिरमा परमेश्‍वरको राज्यले उहाँको इच्छा पूरा गर्नेछ। (मत्ती ६:१०) हुन त यहोवाले शैतानलाई केही समयको लागि “यस संसारको देव” हुन अनुमति दिनुभएको छ। किन? त्यो विरोधी शैतानले उठाएको विवादको चित्तबुझ्दो जवाफ दिन। (२ कोरि. ४:४; १ यूह. ५:१९) तैपनि यहोवाले अनुमति दिएको कुराभन्दा बढ्‌ता शैतानले गर्न सकेको छैन। (२ इति. २०:६; अय्यूब १:११, १२; २:३-६ तुलना गर्नुहोस्‌) अनि परमेश्‍वरको प्रमुख शत्रुले शासन गरेको यस संसारमा बसिरहेको भए तापनि परमेश्‍वरको प्रजा हुन रोज्ने व्यक्‍तिहरू नामेट भएका छैनन्‌।

इस्राएलमाथि परमेश्‍वरको शासन

५. इस्राएलीहरूले परमेश्‍वरसामु कस्तो शपथ खाए?

हाबिलको समयदेखि कुलपिताहरूको समयसम्म थुप्रै विश्‍वासी सेवकहरूले यहोवाको उपासना गरे अनि उहाँका आज्ञा पालन गरे। (हिब्रू ११:४-२२) मोशाको समयमा यहोवाले कुलपिता याकूबका सन्तानहरूसित करार बाँध्नुभयो र तिनीहरूबाट नै इस्राएल राष्ट्र बन्यो। इसापूर्व १५१३ मा इस्राएलीहरू आफैले र तिनका सन्तानहरूले यहोवालाई शासकको रूपमा स्वीकार गरेको कुरा यसरी शपथ खाएर देखाए: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।”—प्रस्थ. १९:८.

६, ७. इस्राएलमा परमेश्‍वरको शासन कस्तो थियो, बताउनुहोस्‌।

इस्राएलीहरूलाई आफ्ना जनको रूपमा छान्‍नुमा यहोवाको उद्देश्‍य थियो। (व्यवस्था ७:७, ८ पढ्‌नुहोस्‌) तिनीहरूको भलोको लागि मात्र छानिएको थिएन। त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त्यसमा परमेश्‍वरको नाउँ र सार्वभौमिकता समावेश थियो। यहोवा नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने वास्तविक कुराप्रति इस्राएलीहरूले साक्षीको रूपमा सेवा गर्नुपर्थ्यो। (यशै. ४३:१०; ४४:६-८) त्यसकारण यहोवाले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू ता परमप्रभु आफ्ना परमेश्‍वरका लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्वी-तलमा भएका मानिसजातिबाट तिमीहरूलाई नै आफ्नो निज प्रजा हुनलाई चुन्‍नुभएको छ।”—व्यव. १४:२.

परमेश्‍वरले इस्राएलीहरूमाथि शासन गर्दा तिनीहरू असिद्ध छन्‌ भनेर पनि याद गर्नुभयो। त्यसको साथै उहाँका नियमहरू सिद्ध थिए अनि ती नियममा उहाँका गुणहरू झल्किए। मोशामार्फत दिइएको यहोवाका आज्ञाहरूमा उहाँको पवित्रता, न्यायप्रतिको प्रेम, क्षमा दिने इच्छुकता र धीरज देखियो। पछि यहोशू र उनको पुस्ताका समयमा इस्राएल राष्ट्रले यहोवाको आज्ञा मान्यो अनि शान्ति र आध्यात्मिक आशिष्‌ पायो। (यहो. २४:२१, २२, ३१) इस्राएलको त्यस समयमा यहोवाको शासन सफल देखियो।

मानव शासनको दुःखद नतिजा

८, ९. इस्राएलीहरूले कस्तो गलत माग गरे र परिणाम कस्तो भयो?

तर समय बित्दै जाँदा इस्राएलीहरू परमेश्‍वरको शासनबाट बारम्बार तर्किए र उहाँको सुरक्षा गुमाए। अन्तमा अगमवक्‍ता शमूएलमार्फत इस्राएलीहरूले मानव राजाको माग गरे। यहोवाले शमूएललाई तिनीहरूको यो माग पूरा गरिदिनू भन्‍नुभयो। तर यहोवाले यसो पनि भन्‍नुभयो: “तिनीहरूले तँलाई इन्कार गरेका होइनन्‌। . . . मलाईनै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्‌।” (१ शमू. ८:७) यहोवाले मानव राजा राख्न अनुमति दिए तापनि त्यस्ता राजाको शासनको नतिजा दुःखद हुनेछ भनेर चेतावनी दिनुभयो।—१ शमूएल ८:९-१८ पढ्‌नुहोस्‌।

यहोवाको त्यो चेतावनी सत्य भएको इतिहासले देखायो। मानव राजाले शासन गर्दा विशेष गरी राजा अविश्‍वासी हुँदा इस्राएलमा गम्भीर समस्या भयो। यस कुरालाई मनमा राख्दा यहोवालाई नचिन्‍ने मानिसहरूले वर्षौदेखि चलाउँदै आएका सरकारहरूले स्थायी र असल परिणाम ल्याउन नसक्नु अचम्मको कुरा होइन। हो, कतिपय राजनीतिज्ञहरूले शान्ति र सुरक्षा हासिल गर्न प्रयास गर्दा परमेश्‍वरसँग आशिष्‌ माग्छन्‌। तर उहाँको शासनको अधीनमा नबस्नेहरूलाई परमेश्‍वरले कसरी आशिष्‌ दिन सक्नुहुन्छ र?—भज. २:१०-१२.

परमेश्‍वरको शासनको अधीनमा नयाँ राष्ट्र

१०. इस्राएल राष्ट्रको सट्टामा परमेश्‍वरले छानेको राष्ट्र किन आयो?

१० इस्राएलीहरूले विश्‍वासी भई यहोवाको सेवा गर्न इच्छुक नभएको कुरा देखाए। अन्तत: तिनीहरूले परमेश्‍वरले नियुक्‍त गरेको मसीहलाई इन्कार गरे। त्यसैले यहोवाले पनि तिनीहरूलाई त्याग्नुभयो र अर्को समूहलाई नयाँ राष्ट्र बनाउने उद्देश्‍य राख्नुभयो। फलस्वरूप इस्वी संवत्‌ ३३ मा यहोवाका अभिषिक्‍त उपासकहरूको ख्रीष्टियान मण्डली स्थापित भयो। वास्तवमा त्यो मण्डली यहोवाको शासनको अधीनमा नयाँ राष्ट्र भयो। पावलले यसलाई “परमेश्‍वरका इस्राएल” भने।—गला. ६:१६.

११, १२. शासन गर्ने सन्दर्भमा इस्राएल राष्ट्र र “परमेश्‍वरका इस्राएल”-बीचका समानता के-के हुन्‌?

११ शारीरिक इस्राएल राष्ट्र र “परमेश्‍वरका [नयाँ] इस्राएल”-बीच भिन्‍नता र समानता दुवै छन्‌। ख्रीष्टियान मण्डलीमा प्राचीन इस्राएलमा जस्तो मानव राजा छैनन्‌ अनि पापीहरूको पापको लागि पशुबलि पनि चढाउनु आवश्‍यक छैन। इस्राएल राष्ट्र र ख्रीष्टियान मण्डलीबीचको एउटा समानता हो—बूढा प्रधानहरू वा प्राचीनहरूको प्रबन्ध। (प्रस्थ. १९:३-८) ख्रीष्टियान प्राचीनहरू बगालमाथि शासन गर्दैनन्‌। बरु तिनीहरू मण्डलीको गोठालो गर्छन्‌ र उदार भएर ख्रीष्टियान गतिविधिमा नेतृत्व लिन्छन्‌। सबैलाई आदर र सम्मान गरेर तिनीहरू मण्डलीका प्रत्येक सदस्यसँग मायालु व्यवहार गर्छन्‌।—२ कोरि. १:२४; १ पत्रु. ५:२, ३.

१२ इस्राएलीहरूसँग यहोवाले गरेको व्यवहार मनन गरेर “परमेश्‍वरका इस्राएल” र तिनीहरूका सहयोगी “अरू भेडा”-ले यहोवा र उहाँको शासनप्रति अझ धेरै कदर देखाउँछन्‌। (यूह. १०:१६) उदाहरणको लागि, इस्राएलका मानव शासकहरूले आफ्ना प्रजामाथि एकदमै प्रभाव पारेका थिए भनेर इतिहासले देखाउँछ। त्यो प्रभाव असल र खराब दुवै किसिमको थियो। यो तथ्यले ख्रीष्टियानमाझ नेतृत्व लिनेहरूलाई पनि प्रभाव पार्छ। कस्तो प्रभाव? तिनीहरू प्राचीन समयका राजाहरूजस्तै शासक होइनन्‌, तैपनि तिनीहरूले सधैं विश्‍वासको असल उदाहरण बसाल्नैपर्छ।—हिब्रू १३:७.

यहोवा अहिले कसरी शासन गर्नुहुन्छ?

१३. सन्‌ १९१४ मा कस्तो महत्त्वपूर्ण घटना भयो?

१३ मानिसजातिलाई शासन गरिरहेको मानव सरकारको अन्त हुँदैछ भनेर आज ख्रीष्टियानहरू संसारलाई बताउँछन्‌। सन्‌ १९१४ मा यहोवाले येशू ख्रीष्टलाई राजा नियुक्‍त गरेर स्वर्गीय राज्य स्थापना गर्नुभयो। त्यतिबेला उहाँले येशूलाई “विजयी गर्दै र विजय गर्न” अख्तियार दिनुभयो। (प्रका. ६:२) सिंहासनमा बसेका नयाँ राजालाई यसो भनियो: “तिम्रा शत्रुहरूको बीचमा तिमीले राज्य गर।” (भज. ११०:२) दुःखको कुरा राष्ट्रहरूले यहोवाको शासनको अधीनमा बस्न लगातार इन्कार गरेका छन्‌। तिनीहरूले “ईश्‍वर छैन” जस्तै गरी काम गर्दै आएका छन्‌।—भज. १४:१.

१४, १५. (क) आज यहोवाको राज्यले हामीलाई कसरी शासन गरेको छ अनि यसलाई विचार गर्दा आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ? (ख) परमेश्‍वरको शासन श्रेष्ठ छ भनेर कसरी आज पनि देखिन्छ?

१४ “परमेश्‍वरका इस्राएल”-का केही अभिषिक्‍त सदस्यहरू पृथ्वीमा अझै छन्‌। तिनीहरू येशूका भाइहरूको हैसियतमा “ख्रीष्टको पक्षमा . . . राजदूत”-को काम गर्छन्‌। (२ कोरि. ५:२०) तिनीहरूलाई विश्‍वासी र बुद्धिमान्‌ दासको रूपमा नियुक्‍त गरिएको छ। किन? अभिषिक्‍त जन र पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका ख्रीष्टियानहरूको बढ्‌दो भीडको हेरचाह गर्न र तिनीहरूका लागि आध्यात्मिक खानेकुराको प्रबन्ध गर्न। (मत्ती २४:४५-४७; प्रका. ७:९-१५) यस प्रबन्धमा यहोवाको आशिष्‌ स्पष्ट देखिन्छ किनभने आज साँचो उपासकहरूले आध्यात्मिक समृद्धिको आनन्द उठाएका छन्‌।

१५ हामी सबैले यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘के मैले ख्रीष्टियान मण्डलीमा आफूले वहन गर्नुपर्ने जिम्मेवारीहरू राम्ररी बुझेको छु? के म यहोवाको शासनलाई पूर्णतया समर्थन गर्दैछु? के म यहोवाको राज्यको प्रजा हुन पाएकोमा गर्व गर्छु? के मैले परमेश्‍वरको राज्यबारे व्यावहारिक तरिकामा आफूले सक्ने जति हदसम्म अरूलाई बताउने अठोट गरेको छु?’ हामी सामूहिक रूपमा स्वेच्छाले परिचालक निकायले दिएको निर्देशनको अधीनमा रहन्छौं र मण्डलीमा नियुक्‍त प्राचीनहरूलाई समर्थन गर्छौं। यसरी परमेश्‍वरको शासन स्वीकारेका छौं भनेर हामी देखाउँछौं। ( हिब्रू १३:१७ पढ्‌नुहोस्‌) स्वेच्छाले अधीनमा रहँदा विश्‍वव्यापी एकता छाउँछ। अहिलेको विभाजित संसारमा यो एकदमै नौलो कुरा हो। साथै यस्तो अधीनताले शान्ति र धार्मिकता ल्याउँछ अनि यहोवाको शासन सर्वोत्तम छ भनेर देखाउँदै उहाँको महिमा गर्छ।

यहोवाको शासन विजयी

१६. आज हरेकले के निर्णय गर्नुपर्छ?

१६ अदनमा उठेको विवाद सुल्झाउने समय आउनै लागेको छ। त्यसैले मानिसहरूले निर्णय गर्नुपर्ने समय अहिल्यै हो। यहोवाको शासन स्वीकार्ने हो वा मानव शासनमै झुण्डिरहने, हरेक व्यक्‍तिले निर्णय गर्नैपर्छ। नम्र व्यक्‍तिहरूलाई सही निर्णय गर्न मदत दिने सुअवसर हामीले पाएका छौं। अब चाँडै आरमागेडोनमा शैतानद्वारा प्रभावित मानव सरकारहरूको ठाउँमा सदाको लागि यहोवाको शासन हुनेछ। (दानि. २:४४; प्रका. १६:१६) मानव शासनको अन्त हुनेछ र सारा पृथ्वीमा परमेश्‍वरको राज्य हुनेछ। वास्तवमा भन्‍नुपर्दा यहोवाको शासन सही ठहरिनेछ।—प्रकाश २१:३-५ पढ्‌नुहोस्‌।

१७. शासन गर्ने अधिकारको सन्दर्भमा सही निर्णय गर्न नम्र व्यक्‍तिहरूलाई कस्ता कुराहरूले मदत दिन्छ?

१७ यहोवाको पक्षमा अहिलेसम्म निश्‍चित निर्णय नगरीकन बसेकाहरूले मानिसजातिको लागि परमेश्‍वरको शासनले ल्याउने लाभहरूबारे प्रार्थनापूर्वक विचार गर्नुपर्छ। मानव शासनले आतङ्‌कवादजस्ता अपराधहरूको समाधान गर्न सकेको छैन। परमेश्‍वरको शासनले पृथ्वीबाट सबै दुष्टता हटाउनेछ। (भज. ३७:१, २,) मानव शासनमा युद्धै युद्ध भएको छ तर परमेश्‍वरको शासनले ‘पृथ्वीको अन्तसम्मै युद्धहरू रोक्नेछ।’ (भज. ४६:९) परमेश्‍वरको शासनले मानिस र पशु-प्राणीबीच समेत शान्ति स्थापना गर्नेछ। (यशै. ११:६-९) गरिबी र भोकमरी मानव शासनको अभिन्‍न भाग भएको छ तर परमेश्‍वरको शासनले ती हटाउनेछ। (यशै. ६५:२१) असल मनसाय भएका मानव शासकहरूले समेत बिरामी र मृत्यु हटाउन सकेका छैनन्‌ तर परमेश्‍वरको शासनमा वृद्ध र बिरामीहरू जवानीमा फर्केर रमाउनेछन्‌। (अय्यू. ३३:२५; यशै. ३५:५, ६) हो, पृथ्वी आनन्दको बगैंचा हुनेछ जहाँ मरेकाहरूको समेत पुनरुत्थान हुनेछ।—लूका २३:४३; प्रेरि. २४:१५.

१८. परमेश्‍वरको शासन नै सर्वोत्तम हो भनी हामी विश्‍वास गर्छौं भनेर कसरी देखाउन सक्छौं?

१८ हो, शैतानले हाम्रा प्रथम बुबाआमालाई सृष्टिकर्ताबाट अलग्याउन भर्माएपछि भएका सबै हानीलाई परमेश्‍वरको शासनले सच्याउनेछ। अनि यो पनि विचार गर्नुहोस्‌ कि शैतानले लगभग ६,००० वर्षदेखि हानी पुऱ्‍याउँदै आएको छ तर परमेश्‍वरले ख्रीष्टमार्फत ती सबै हानीलाई १,००० वर्षभित्र सच्याउनुहुनेछ। परमेश्‍वरको शासन श्रेष्ठ छ भन्‍ने कस्तो गजबको प्रमाण! हामी परमेश्‍वरका साक्षी भएकोले उहाँलाई शासकको रूपमा स्वीकार्छौं। त्यसैले हामी प्रत्येकले हरेक दिन, भनौं हरेक क्षण आफूलाई यहोवाका उपासकहरू हौं, उहाँका राज्यका प्रजा हौं र उहाँको साक्षी हुन पाएकोमा गर्व गर्छौं भनी देखाउँछौं। आउनुहोस्‌, सुन्‍न चाहने जोसुकैलाई यहोवाको शासन सर्वोत्तम छ भनी बताउन हरेक मौकाको सदुपयोग गरौं। ( w10-E 01/15)

[फुटनोट]

^ The Oxford History of the Twentieth Century

यी पदहरूबाट शासन गर्ने परमेश्‍वरको अधिकारबारे हामीले के सिक्यौं

व्यवस्था ७:७, ८

१ शमूएल ८:९-१८

हिब्रू १३:१७

प्रकाश २१:३-५

[प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएका चित्रहरू]

यहोवाले आफ्नो शासन गर्ने अधिकार सधैं कायम राख्नुभएको छ

[पृष्ठ २९-मा भएको चित्र]

स्वेच्छाले यहोवाको शासनको अधीनमा बस्दा विश्‍वव्यापी एकता छाउँछ