सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

एक रास्ताफेरियनलाई * आफ्नो जटा काट्‌न र गोरा मानिसहरूप्रतिको पूर्वाग्रह हटाउन कुन कुराले उत्प्रेरित गऱ्‍यो? लागूपदार्थ बेच्नेहरूका लागि पैसा उठाउने एक हिंस्रक जवानलाई आफ्नो जीवनशैली परिवर्तन गर्न कुन कुराले मदत गऱ्‍यो? उनीहरू के भन्छन्‌, थाह लगाऔँ।

“मैले पूर्वाग्रह पनि हटाउन सकेँ।”—हाफेनी दामा

उमेर: ३४ वर्ष

जन्मस्थान: जाम्बिया

विगतमा: रास्ताफेरियन

मेरो विगत: म जान्बियाको शरणार्थी शिविरमा जन्मिएँ। मेरी आमा युद्धको बेला नामिबियाबाट भाग्नुभएको थियो। उहाँ एउटा सङ्‌गठनमा आबद्ध हुनुभयो। यो सङ्‌गठन त्यतिबेला नामिबियामाथि कब्जा जमाएको दक्षिण अफ्रिकी शासनविरुद्ध लडिरहेको थियो।

पन्ध्र वर्षको उमेरसम्म म थुप्रै शरणार्थी शिविरमा बसेँ। ती शिविरहरूमा जवानहरूलाई स्वतन्त्रताको लागि आवाज उठाउने सङ्‌गठनमा नेतृत्व लिन सिकाइन्थ्यो। हामीलाई राजनैतिक कुराहरू सिकाइनुका साथै गोरा मानिसहरूलाई घृणा गर्न पनि सिकाइएको थियो।

म एघार वर्षको हुँदा ख्रिष्टियन बनेर एउटा शिविरमा भएको चर्चको सदस्य बन्‍न चाहन्थेँ। त्यसबारे मैले पादरीसित कुरा गरेँ। तर तिनको कुराले म निरुत्साहित भएँ। त्यसैले मैले परमेश्‍वरमाथि विश्‍वास गर्नै छोडिदिएँ। पन्ध्र वर्षको हुँदा रेगे सङ्‌गीतप्रतिको मेरो रुचि र काला जातिमाथिको अन्याय हटाउने मेरो इच्छाले गर्दा म एक जना रास्ताफेरियन भएँ। मैले जटा पालेँ, गाँजा तान्‍न थालेँ, मासु खान छोडेँ र काला जातिको हकअधिकारको पक्षमा बोल्न थालेँ। तर मैले आफ्नो अनैतिक जीवनशैली परिवर्तन गरिनँ र हिंसात्मक फिल्महरू हेर्न अनि फोहोर बोली बोल्न पनि छोडिनँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? सन्‌ १९९५ मा २० वर्षजतिको हुँदा मैले मेरो जीवनबारे गम्भीरतापूर्वक सोच्न थालेँ। मैले भेटेजति सबै रास्ताफेरियन प्रकाशनहरू अध्ययन गर्न थालेँ। ती प्रकाशनहरूमा कतै-कतै बाइबलको कुरा पनि लेखिएको हुन्थ्यो तर त्यसबारे गरिएको व्याख्या भने मैले बुझ्नै सकिनँ। त्यसैले मैले बाइबल पढ्‌ने निर्णय गरेँ।

पछि एक रास्ताफेरियन साथीले मलाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल अध्ययन गर्ने एउटा पुस्तक दिए। मैले त्यो पुस्तक र बाइबल तुलना गर्दै अध्ययन गर्न थालेँ। पछि यहोवाका साक्षीहरूसित भेटेँ अनि उनीहरूसितै अध्ययन गर्न थालेँ।

निकै प्रयास गरेपछि मैले चुरोट र रक्सी पिउन छोडेँ। (२ कोरिन्थी ७:१) मैले आफ्नो रूपरङ्‌ग सफा बनाए, जटा काटेँ, अश्‍लील सामग्री र हिंस्रक फिल्महरू हेर्न छोडेँ अनि फोहोर बोली पनि बोल्न छोडेँ। (एफिसी ५:३, ४) अन्ततः मैले गोरा मानिसहरूप्रतिको पूर्वाग्रह हटाउन सकेँ। (प्रेषित १०:३४, ३५) यी परिवर्तनहरू गर्न मैले जातीय भेदभावलाई बढावा दिने सङ्‌गीत सुन्‍न अनि पुरानै जीवनशैलीतिर फर्काउन सक्ने साथीसङ्‌गत छोड्‌नुपर्थ्यो।

ती परिवर्तनहरू गरेपछि म सभाभवन गएँ किनभने म यहोवाको साक्षी बन्‍न चाहन्थेँ। मैले बप्तिस्मा गरेर यहोवाको साक्षी हुने निर्णय गर्दा मेरो परिवार खुसी थिएन। आमाले मलाई जुनसुकै चर्चमा गए पनि हुन्छ तर यहोवाको साक्षीचाहिँ नबन्‍नू भन्‍नुभयो। मेरो एक जना आफन्त, जो नाम चलेको सरकारी अधिकारी हुनुहुन्थ्यो, उहाँले यहोवाको साक्षी बन्‍ने मेरो निर्णयको आलोचना गरिरहनुहुन्थ्यो।

तर येसुले मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो भनेर सिक्दा र त्यो लागू गर्दा मैले मानिसहरूको विरोध र आलोचनाको सामना गर्न मदत पाएँ। मैले साक्षीहरूले सिकाउने कुरा बाइबलसित तुलना गरेर हेरेपछि यो नै साँचो धर्म रहेछ भनेर विश्‍वस्त हुन सकेँ। उदाहरणको लागि, तिनीहरू बाइबलमा आज्ञा दिइएझैँ अरूलाई सुसमाचार सुनाउँछन्‌। (मत्ति २८:१९, २०; प्रेषित १५:१४) तिनीहरू राजनीतिमा भाग पनि लिँदैनन्‌।—भजन १४६:३, ४; युहन्‍ना १५:१७, १८.

मैले कसरी लाभ उठाएको छु? बाइबलको स्तरअनुरूप जीवन बिताउन सिक्दा मलाई धेरै फाइदा भएको छ। उदाहरणको लागि, गाँजा तान्‍न छोडेकोले मेरो पैसा जोगिएको छ। अहिले म लागूपदार्थको नराम्रो असरबाट जोगिएको छु। मेरो मानसिक र शारीरिक स्वास्थ्यमा पनि सुधार आएको छ।

अहिले म आनन्दित छु र मेरो जीवन उद्देश्‍यपूर्ण भएको छ। म किशोरावस्थादेखि नै यही कुराको खोजीमा थिएँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, अहिले म परमेश्‍वरसित नजिक हुन सकेको छु।—याकुब ४:८.

“मैले आफ्नो रिसलाई नियन्त्रण गर्न सिकेँ।”—मार्टिनो पेड्रेटी

उमेर: ४३ वर्ष

जन्मस्थान: अस्ट्रेलिया

विगतमा: लागूपदार्थ किनबेच गर्ने व्यक्‍ति

मेरो विगत: म हुर्कँदै जाँदा मेरो परिवार विभिन्‍न ठाउँमा बसाइँ सऱ्‍यो। म ससाना सहरहरू र एउटा ठूलो सहरमा बसेँ। केही समयको लागि म आदिवासीहरूसित पनि बसेँ। मैले आफ्ना भाइबहिनीहरू र मामाहरूसित रमाइलो समय बिताएँ। हामी माछा मार्थ्यौँ, सिकार गर्थ्यौँ र आदिवासीहरूले चलाउने विभिन्‍न औजारहरू बनाउँथ्यौँ।

मेरो बुबा बक्सिङ्‌ खेल्नुहुन्थ्यो र उहाँले मलाई सानैदेखि बक्सिङ्‌ खेल्न सिकाउनुभयो। यसले गर्दा म एकदमै हिंस्रक स्वभावको भएँ। म किशोर छँदा धेरैजसो समय बारमा रक्सी पिएर बित्थ्यो। म र मेरा साथीहरू सधैँ अरूसित निहुँ खोजिरहन्थ्यौँ। हामी चक्कु र बेसबल ब्याट लिएर २० जना वा त्योभन्दा बढी मानिसहरूमाथि जाइलाग्थ्यौँ।

म पैसा कमाउनको लागि लागूपदार्थ बेच्थेँ। त्यति मात्र होइन, म भरियाहरूले चोरेका सामानहरू पनि बेच्ने गर्थेँ। म लागूपदार्थ बेच्नेहरूका लागि पैसा उठाइदिने काम पनि गर्थेँ। त्यसको लागि मानिसहरूलाई बन्दुक देखाएर धम्काउने समेत गर्थेँ। म पेसेवर हत्यारा बन्‍न चाहन्थेँ। मेरो सधैँ यसो भन्‍ने गर्थेँ: “कि मार कि मर।”

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? म हुर्कँदै गर्दा यहोवाका साक्षीहरूबारे सुनेको थिएँ। म त्यस्तै २० वर्षको हुँदा तिनीहरूलाई कहाँ भेट्‌न सकिन्छ भनेर आमालाई सोधेको मलाई अझै याद छ। त्यसको दुई दिनपछि डिक्सन नाम गरेका साक्षीले मेरो घरको ढोका ढकढक्याए। केही समय कुरा गरिसकेपछि तिनले मलाई यहोवाका साक्षीहरूको सभाको निम्तो दिए। म सभामा गएँ अनि अहिले सभाहरूमा जान थालेको २० वर्षभन्दा धेरै भइसक्यो। मेरो हरेक प्रश्‍नको जवाफ ती साक्षीहरूले बाइबलबाटै दिए।

यहोवा सबैप्रति, भनौँ भने असाध्यै नराम्रो काम गर्ने व्यक्‍तिहरूप्रति पनि चासो राख्नुहुन्छ भनेर सिकेपछि त्यसले मेरो मनै छोयो। (२ पत्रुस ३:९) उहाँ कसैले मेरो वास्ता नगरेको समयमा पनि मेरो ख्याल राख्ने मायालु बुबा हुनुहुन्छ भनेर मैले बुझेँ। मैले गलत मार्ग त्यागेँ भने उहाँले मेरा पापहरू क्षमा गर्नुहुन्छ भनेर बुझ्दा एकदमै खुसी लाग्यो। एफिसी ४:२२-२४ को विवरणले ममा गहिरो प्रभाव पाऱ्‍यो। यसले मलाई ‘पुरानो व्यक्‍तित्वलाई फुकाल्न’ अनि ‘परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको नयाँ व्यक्‍तित्व धारण गर्न’ उत्प्रेरित गऱ्‍यो।

लागूपदार्थ छोड्‌नु मेरो लागि सजिलो कुरा थिएन। म पूरै हप्ता लागूपदार्थ नलिई बिताउँथेँ तर सप्ताहन्तमा साथीहरूलाई भेटेपछि भने लागूपदार्थ लिइहाल्थेँ। जीवनमा परिवर्तनहरू गर्नको लागि म त्यस्तो सङ्‌गतदेखि टाढा जानुपर्छ भनेर बुझेँ। त्यसैले मैले अर्को प्रदेशमा सर्ने निर्णय गरेँ। केही साथी मसितै आउन चाहे। यात्राको दौडान तिनीहरूले गाँजा तान्‍न थाले र मलाई पनि दिए। तर मैले तिनीहरूलाई त्यस्ता बानीहरू छोडिसकेँ भनेर बताएँ। प्रदेशको सीमा पुगेपछि हामी छुट्टियौँ र त्यसपछि मैले एक्लै यात्रा गरेँ। त्यसको केही समयपछि तिनीहरूले बन्दुक देखाएर बैँक लुटेछन्‌ भनेर मैले थाह पाएँ।

मैले कसरी लाभ उठाएको छु? ती साथीहरूको सङ्‌गत छोडिसकेपछि मलाई जीवनमा आवश्‍यक परिवर्तनहरू गर्न सजिलो भयो। सन्‌ १९८९ मा बप्तिस्मा गरेर म एक जना यहोवाको साक्षी बनेँ। मैले बप्तिस्मा गरेपछि आमा, बहिनी र बुबाले पनि मसँगै यहोवाको सेवा गर्न थाल्नुभयो।

मैले विवाह गरेको १७ वर्ष भइसक्यो र मेरा तीन जना छोराछोरी छन्‌। मैले रिसलाई काबूमा राख्न सिकेकोले अरूले रिस उठाउँदा समेत शान्त रहन्छु। मैले सबै “कुल, जाती अनि भाषाका” मानिसहरूलाई प्रेम देखाउन सिकेको छु। (प्रकाश ७:९) येसुले भन्‍नुभएको यो कुरा मेरो सन्दर्भमा सही साबित भएको छ: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्‍ना ८:३१, ३२.

[फुटनोट]

^ रास्ताफेरियनहरू जमाइकाको एउटा धार्मिक समूहका सदस्यहरू हुन्‌। तिनीहरू प्रायः जटा पाल्छन्‌ र इथियोपियाको हाइली सिलासीलाई ईश्‍वर मान्छन्‌।

[ठूलो अक्षरको क्याप्सन]

परिवर्तनहरू गर्न मैले जातीय भेदभावलाई बढावा दिने सङ्‌गीत सुन्‍न छोड्‌नुपर्थ्यो

[ठूलो अक्षरको क्याप्सन]

म र मेरा साथीहरू सधैँ अरूसित निहुँ खोजिरहन्थ्यौँ। हामी चक्कु र बेसबल ब्याट लिएर २० जना वा त्योभन्दा बढी मानिसहरूमाथि जाइलाग्थ्यौँ