सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं पूर्णतया ख्रीष्टको पछि लाग्दै हुनुहुन्छ?

के तपाईं पूर्णतया ख्रीष्टको पछि लाग्दै हुनुहुन्छ?

के तपाईं पूर्णतया ख्रीष्टको पछि लाग्दै हुनुहुन्छ?

“जसरी . . . तिमीहरू चल्दै पनि छौ, त्यसरी तिमीहरू झन्‌ बढ्‌दै जाओ।”—१ थिस्स. ४:१.

१, २. (क) येशूको समयका मानिसहरूले कस्ता ठूला कामहरू देखे? (ख) हामी बाँचिरहेको समय पनि किन महत्त्वपूर्ण छ?

 येशू पृथ्वीमा हुँदा तपाईं पनि त्यही समयमा भएको भए कत्ति रमाइलो हुन्थ्यो भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? येशूले निको पारेकोले कुनै पनि शारीरिक पीडा भोग्नु नपर्ने प्रत्याशाबारे तपाईं सोच्नुहुन्छ होला। अथवा येशूलाई हेर्ने र सुन्‍ने अर्थात्‌ उहाँबाट सिक्ने वा उहाँले गरेका चमत्कार हेर्ने लालसा हुन सक्छ। (मर्कू. ४:१, २; लूका ५:३-९; ९:११) येशूले यी सबै गर्दा त्यहीं उपस्थित हुन पाउनु साँच्चै कत्रो सुअवसर हुने थियो! (लूका १९:३७) त्यसपछिका कुनै पुस्ताले पनि त्यस्ता कामहरू देखेको छैन। अनि येशूले “आफ्नै बलिदानले” पृथ्वीमा पूरा गरेको काम कहिल्यै दोहोरिनेछैन।—हिब्रू ९:२६; यूह. १४:१९.

हामी बाँचिराखेको समय पनि महत्त्वपूर्ण छ। किन? किनकि बाइबलले भविष्यवाणी गरेको “अन्तको समय” र “आखिरी दिन”-मा हामी बाँचिरहेका छौं। (दानि. १२:१-४, ९; २ तिमो. ३:१) यही समयमा शैतानलाई स्वर्गबाट फ्याँकियो। अब चाँडै त्यसलाई बाँधेर “अगाध खाँदमा” फ्याँकिनेछ। (प्रका. १२:७-९, १२; २०:१-३) यसै समय अवधिमा मानिसहरूलाई प्रमोदवनको आशाबारे बताएर “राज्यको सुसमाचार” संसारभरि प्रचार गर्ने ठूलो सम्मान हामीले पाएका छौं, जुन काम कहिल्यै दोहोरिनेछैन।—मत्ती २४:१४.

३. स्वर्ग जानुभन्दा केहीअघि येशूले आफ्ना अनुयायीहरूलाई के गर्न भन्‍नुभयो र यसो गर्नुमा के समावेश थियो?

येशू स्वर्ग जानुभन्दा केहीअघि उहाँले आफ्ना अनुयायीहरूलाई भन्‍नुभयो: “तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरि. १:८) उक्‍त काममा विश्‍वभरि हुने शैक्षिक गतिविधि समावेश हुने थियो। त्यसको उद्देश्‍य? अन्त आउनुअघि चेला बनाउनु अर्थात्‌ ख्रीष्टका अनुयायीहरू अझै बढाउनु। (मत्ती २८:१९, २०) ख्रीष्टको आज्ञा पूरा गर्न चाहन्छौं भने हामीले के गर्नैपर्छ?

४. (क) दोस्रो पत्रुस ३:११, १२ मा पाइने पत्रुसको उद्‌गारले कस्तो आवश्‍यकतालाई जोड दिएको छ? (ख) कस्ता कुराहरूदेखि हामी होसियार रहनुपर्छ?

प्रेरित पत्रुसको यो उद्‌गार विचार गर्नुहोस्‌: “सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर।” (२ पत्रु. ३:११, १२) यो आखिरी दिनको दौडान हाम्रो जीवन ईश्‍वरभक्‍तिका कामहरूमा केन्द्रित छ कि छैन एकदमै होसियार रहनुपर्ने कुरालाई पत्रुसका शब्दहरूले जोड दिन्छ। त्यस्ता कामहरूमा सुसमाचार प्रचार गर्नु पनि समावेश छ। त्यसैले प्रचार गर्नू भन्‍ने ख्रीष्टको आज्ञा विश्‍वभरिका हाम्रा भाइबहिनीहरूले जोसका साथ पालन गरेको हेर्न पाउनु हाम्रो लागि एकदमै खुसीको कुरा हो। यसको साथै शैतानको संसारबाट दिनदिनै आउने दबाब र हाम्रो वंशानुगत आएको शारीरिक झुकावले परमेश्‍वरको सेवा गर्ने हाम्रो जोसलाई सेलाउन नदिन होसियार हुनुपर्ने कुरा पनि हामी महसुस गर्छौं। त्यसैले ख्रीष्टको पछि लागिरहन्छौं भनेर हामी कसरी पक्का हुन सक्छौं, विचार गरौं।

परमेश्‍वरले सुम्पेको जिम्मेवारी खुसीसाथ स्वीकार्नुहोस्‌

५, ६. (क) पावलले केको लागि यरुशलेमका सँगी ख्रीष्टियानहरूको प्रशंसा गरे र तिनीहरूलाई कस्तो चेतावनी दिए? (ख) परमेश्‍वरले सुम्पेको जिम्मेवारीलाई हामीले किन हल्कासित लिनु हुँदैन?

प्रेरित पावलले यरूशलेमका सँगी ख्रीष्टियानहरूलाई लेखेको पत्रमा विगतमा सतावट आउँदा समेत तिनीहरूले विश्‍वासी भएर धैर्य देखाएकोमा प्रशंसा गरे। पत्रमा तिनले भने: “अगाडिका दिनहरूलाई सम्झ, जसमा तिमीहरूले ज्योति पाएपछि ठूला ठूला शासनको लडन्त सह्‍यौ।” साँच्चै नै, तिनीहरूले विश्‍वाससाथ गरेका कामहरू यहोवाले सम्झनुभयो। (हिब्रू ६:१०; १०:३२-३४) न्यानो प्रशंसा गर्दै पावलले लेखेका शब्दहरूले ती हिब्रू ख्रीष्टियानहरूलाई ठूलो प्रोत्साहन मिलेको हुनुपर्छ। तथापि मानिसको पापी झुकावलाई नियन्त्रणमा राख्न सकिएन भने त्यसले परमेश्‍वरको सेवा गर्ने जोस सेलाइदिन सक्छ भनेर पनि सोही पत्रमा पावलले चेतावनी दिए। ख्रीष्टियानहरू परमेश्‍वरका आज्ञाहरू पालन गर्न “अस्वीकार” गर्न अर्थात्‌ बहाना बनाउनदेखि होसियार हुनुपर्छ भनी तिनले बताए।—हिब्रू १२:२५.

परमेश्‍वरले सुम्पेको जिम्मेवारी “अस्वीकार” गर्ने झुकावविरुद्ध दिइएको उक्‍त चेतावनी आजका ख्रीष्टियानहरूलाई पनि लागू हुन्छ। ख्रीष्टियान जिम्मेवारीलाई हल्कासित नलिन र परमेश्‍वरको सेवा गर्ने जोस सेलाउन नदिन कटिबद्ध हुनुपर्ने आवश्‍यकता हामी महसुस गर्छौं। (हिब्रू १०:३९) आखिर पवित्र सेवा चढाउनुमा जीवन र मृत्युको सवाल छ।—१ तिमो. ४:१६.

७, ८. (क) परमेश्‍वरको सेवा गर्ने जोस कायम राख्न हामीलाई केले मदत दिनेछ? (ख) पहिलेको भन्दा जोस गुमाएका छौं भने हामीले यहोवा अनि येशूबारे के कुरा याद गर्नुपर्छ?

परमेश्‍वरप्रतिको दायित्व पूरा गर्नदेखि बहाना नबनाउन हामीलाई केले मदत दिनेछ? त्यस्तो झुकावविरुद्ध लड्‌ने एउटा महत्त्वपूर्ण तरिका समर्पणको बेला बाँधेको वाचाको अर्थ नियमित मनन गर्नु हो। समग्रमा भन्‍नुपर्दा जीवनमा यहोवाको इच्छालाई प्राथमिकता दिने वाचा हामीले उहाँसित बाँधेका थियौं र हामी त्यही वाचा पूरा गर्न चाहन्छौं। ( मत्ती १६:२४ पढ्‌नुहोस्‌) त्यसैले कहिलेकाहीं आफैलाई यस्तो प्रश्‍न सोध्नु जरुरी छ: ‘बप्तिस्मा लिंदा परमेश्‍वरमा गरेको समर्पणअनुरूप जीवन बिताउने मेरो संकल्प जस्तो थियो के अहिले पनि त्यस्तै छ? अथवा मेरो जोस पहिलाभन्दा सेलाएको छ कि?’

इमानदार भएर आफूलाई जाँच्दा हामी यहोवाको सेवामा त्यति सक्रिय नभएको पायौं भने अगमवक्‍ता सपन्याहका स्फूर्तिदायी शब्दहरू याद गर्नु वेश हुन्छ। तिनले भने: “तेरा हातहरू ढीला हुन नपाऊन्‌। परमप्रभु तेरा परमेश्‍वर तेरो बीचमा हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ, तेरो कारण उहाँ आनन्दित हुनुहुन्छ।” (सप. ३:१६, १७) यी आश्‍वासनदायी शब्दहरू बेबिलोनको कैदबाट यरूशलेम फर्केका प्राचीन इस्राएलीहरूमा लागू भयो। यी आश्‍वासनदायी शब्दहरू अहिले परमेश्‍वरका जनहरूमा पनि लागू हुन्छ। हामीले गर्ने काम यहोवाको भएकोले उहाँबाट पाएको यो जिम्मेवारी पूरा गर्न यहोवा अनि उहाँको पुत्रले हामीलाई साथ र बल दिनुहुन्छ भन्‍ने कुरा मनमा राख्नुपर्छ। (मत्ती २८:२०; फिलि. ४:१३) परमेश्‍वरको काम जोसका साथ गर्ने कोसिस गरिरह्‍यौं भने उहाँले हामीलाई आशिष्‌ दिनुहुनेछ र आध्यात्मिक प्रगति गरिरहन मदत दिनुहुनेछ।

जोसिलो भई ‘पहिले राज्यको खोजी गर्नुहोस्‌’

९, १०. येशूले भनेको भव्य भोजको दृष्टान्तले बुझाउन खोजेको कुरा के हो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

फरिसीहरूका शासकको घरमा खाना खाँदा येशूले भव्य भोजको दृष्टान्त भन्‍नुभयो। त्यस दृष्टान्तमा उहाँले विभिन्‍न मानिसहरूले स्वर्गको राज्यमा पस्न पाउने मौकाको बारेमा बताउनुभयो। “अस्वीकार” गर्नु अर्थात्‌ बहाना बनाउनुको अर्थ पनि उहाँले दृष्टान्तद्वारा बताउनुभयो। ( लूका १४:१६-२१ पढ्‌नुहोस्‌) येशूको दृष्टान्तमा निम्त्याइएका पाहुनाहरूले भोजमा नआउन बहाना बनाए। एउटाले भर्खरै किनेको खेत हेर्न जानुपर्छ भन्यो। अर्कोले चाहिं केही गोरु किनेकोले त्यो जाँच्न जानुपर्छ भन्यो। अर्कोले भन्यो: ‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्‍तिनँ।’ यी सबै नपत्याउँदा बहानाहरू थिए। खेत वा गाईवस्तु साधारणतया किन्‍नुभन्दा पहिले नै जाँच गरिन्छ, किनिसकेपछि त्यसलाई जाँच्न त्यत्तिको जरुरी पर्दैन। अनि भर्खरै विवाह भएको भन्दैमा त्यस्तो महत्त्वपूर्ण निम्तो किन अस्वीकार गर्नुपऱ्‍यो र? त्यसकारण दृष्टान्तका मालिक असाध्यै रिसाउनु स्वाभाविकै हो।

१० येशूको दृष्टान्तबाट परमेश्‍वरका जनहरू सबैले पाठ सिक्न सक्छन्‌। कस्तो पाठ? येशूको दृष्टान्तका बहाना बनाउनेहरू जस्ता हुनुहुँदैन। हाम्रा व्यक्‍तिगत कामकुराले परमेश्‍वरको सेवालाई कहिल्यै उछिन्‍नु हुँदैन। ख्रीष्टियानहरूले आफ्ना व्यक्‍तिगत कामकुरा उचित स्थानमा राखेनन्‌ भने सेवाको काममा तिनीहरूको जोस बिस्तारै सेलाउँदै जानेछ। ( लूका ८:१४ पढ्‌नुहोस्‌) यसो हुनदेखि जोगिन हामीले येशूको सल्लाहअनुसार जीवन बिताउनुपर्छ: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” (मत्ती ६:३३) जवान होऊन्‌ वा वृद्ध, परमेश्‍वरका सबै सेवकले यो महत्त्वपूर्ण सल्लाह पालन गरेको हेर्न पाउनु कस्तो प्रोत्साहनदायी! हो, प्रचारको काममा अझ धेरै समय दिन सकियोस्‌ भनेर थुप्रैले आफ्नो जीवनशैली सरल बनाउने कदम चालेका छन्‌। जोसिलो भई पहिले उहाँको राज्य खोजी गर्दा साँचो खुसी र अपार सन्तुष्टि पाइन्छ भनेर तिनीहरूले अनुभवबाट सिक्छन्‌।

११. परमेश्‍वरको सेवामा जोसिलो हुनु र पूरा मनदेखि लाग्नु महत्त्वपूर्ण छ भनेर बाइबलको कुन विवरणले देखाउँछ?

११ परमेश्‍वरको सेवामा जोसिलो हुनु किन महत्त्वपूर्ण छ भनेर उदाहरणद्वारा बुझ्न इस्राएलका राजा योआशको जीवनमा भएको घटना विचार गरौं। अरामले इस्राएललाई जित्ने स्पष्ट सम्भावना भएकोले चिन्तित भएका योआश एलीशासामु रूँदै आए। अगमवक्‍ताले तिनलाई त्यस राष्ट्रविरुद्ध यहोवाको हातबाट विजय प्राप्त हुने कुरा संकेत गर्दै झ्यालबाट अरामतिर काँड हान्‍न निर्देशन दिए। यस कुराले राजालाई निश्‍चय पनि हौसला मिलेको हुनुपर्छ। एलीशाले योआशलाई काँड भुइँमा हान्‍न भने। योआशले तीन पटक मात्र हाने। यसो गरेकोले एलीशा रिसाए किनभने भुइँमा काँड पाँच-छ पटक हान्‍नुले “अरामलाई सम्पूर्ण रूपले परास्त” गर्ने कुरालाई संकेत गर्थ्यो। अब भने योआशले तीन चोटी मात्रै अधुरो जित हासिल गर्ने थिए। जोसको कमीले गर्दा योआशले सीमित सफलता मात्र पाए। (२ राजा १३:१४-१९) यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? पूरा मनदेखि अनि जोसका साथ यहोवाको काम गऱ्‍यौं भने मात्र उहाँले प्रशस्त आशिष्‌ दिनुहुनेछ।

१२. (क) जीवनका चुनौतीहरूको सामना गर्नुपर्दा परमेश्‍वरको सेवामा हाम्रो जोस कायमै राख्न केले मदत दिनेछ? (ख) सेवाको काममा व्यस्त रहेर तपाईंले कसरी फाइदा उठाउनुभएको छ, बताउनुहोस्‌?

१२ जीवनमा आउने चुनौतीहरूले परमेश्‍वरको सेवाप्रतिको हाम्रो जोस र भक्‍तिको जाँच गर्छ। थुप्रै भाइबहिनी आर्थिक कठिनाइको सामना गरिरहेका छन्‌। अरू भने गम्भीर बिमारीले यहोवाको सेवा चाहेजति गर्न नसकेकोमा निराश छन्‌। तैपनि हामी प्रत्येकले आफ्नो जोस कायमै राख्न अनि पूर्णरूपले निरन्तर ख्रीष्टको पछि लाग्न पक्का गर्नको लागि कदम चाल्न सक्छौं। “ख्रीष्टको पछि लागिरहन केले मदत गर्नेछ?” शीर्षकको पेटीमा दिइएका केही सुझाव तथा शास्त्रपदहरूमा कृपया ध्यान दिनुहोस्‌। तपाईंको क्षमताले भ्याएसम्म ती सल्लाहहरू कसरी लागू गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌। ती सल्लाह लागू गर्नुभयो भने साँच्चै फाइदा उठाउनुहुनेछ। सेवाको काममा व्यस्त भइरहँदा हामी स्थिर हुन्छौं, जीवन समृद्ध हुन्छ अनि अझ शान्ति र आनन्द मिल्छ। (१ कोरि. १५:५८) यसबाहेक सारा प्राणले परमेश्‍वरको सेवामा लाग्दा “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै” रहन मदत मिल्नेछ। —२ पत्रु. ३:१२.

इमानदार भई आफ्नो परिस्थिति जाँच्नुहोस्‌

१३. सारा प्राणले सेवा गर्नु भनेको हामी प्रत्येकको लागि के हो भन्‍ने कुरा हामी कसरी निर्णय गर्न सक्छौं?

१३ सारा प्राणले सेवा गर्नु भनेको सेवाको काममा धेरै समय बिताउनु भन्‍ने होइन भनेर याद गर्नु राम्रो हो। प्रत्येकको परिस्थिति फरक-फरक हुन्छ। कसैले आफ्नो स्वास्थ्यले दिएसम्म प्रचारकार्यमा एक-दुई घण्टा मात्र बिताउँछन्‌ भने पनि यहोवाको लागि त्यो अति खुसीको कुरा हुन सक्छ। (मर्कू. १२:४१-४४ तुलना गर्नुहोस्‌) त्यसैले सारा प्राणले परमेश्‍वरको सेवा गर्नु भनेको हामी प्रत्येकको लागि के हो भन्‍ने कुरा निर्णय गर्न इमानदार भई आफ्नो क्षमता र परिस्थिति जाँच्नु आवश्‍यक छ। हामी ख्रीष्टका अनुयायी भएकाले उहाँको जस्तै दृष्टिकोण राख्न चाहन्छौं। ( रोमी १५:५ पढ्‌नुहोस्‌; १ कोरि. २:१६) येशूको जीवनमा सबैभन्दा पहिलो स्थानमा कुन कुरा आउँथ्यो? कफर्नहुमका मानिसहरूलाई उहाँले भन्‍नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३; यूह. १८:३७) सेवाको कामप्रति येशूको जोस कस्तो थियो विचार गर्दै आफ्नो परिस्थिति लेखाजोखा गर्नुहोस्‌, कतै तपाईं प्रचारको काममा अझ बढी लाग्न सक्नुहुन्छ कि?—१ कोरि. ११:१.

१४. कुन-कुन तरिकामा हामी आफ्नो सेवाको कामलाई अझ बढाउन सक्छौं?

१४ होसियारीसाथ आफ्नो परिस्थिति केलाउँदा सेवाको काममा अझ धेरै समय बिताउन सक्नेछौं भन्‍ने निष्कर्षमा पुग्न सक्छौं। (मत्ती ९:३७, ३८) उदाहरणको लागि, हालसालै हजारौं जवान भाइबहिनीहरूले स्कूलको पढाइ सिध्याइसकेपछि सेवाको कामलाई अझै बढाएका छन्‌ र अहिले जोसिलो भई अग्रगामी सेवा गरेर आनन्द उठाउँदैछन्‌। के तपाईं पनि त्यस्तै आनन्द उठाउन चाहनुहुन्छ? केही भाइबहिनीहरूले आफ्नो परिस्थिति विचार गरेर राज्य प्रकाशकहरूको आवश्‍यकता धेरै भएका ठाउँहरूमा, कसैले आफ्नै देशमा त कसैले विदेशमा बसाइँ सर्ने निर्णय गर्न सकेका छन्‌। अरूले भने विदेशीहरूलाई मदत गर्न अर्को भाषा सिकेका छन्‌। सेवाको कामलाई बढाउन चुनौतीपूर्ण हुन सक्ने भए तापनि यसबाट प्रशस्त आशिष्‌ पाइन्छ र थुप्रैलाई ‘सत्यको ज्ञानमा आउन’ हामी मदत दिन सक्छौं।—१ तिमो. २:३, ४; २ कोरि. ९:६.

पछ्याउनुपर्ने बाइबलका उदाहरणहरू

१५, १६. ख्रीष्टको जोसिलो अनुयायी हुन हामी कसको उदाहरण अनुकरण गर्न सक्छौं?

१५ पछि प्रेरित बनेका कुनै-कुनैलाई ख्रीष्टले आफ्नो अनुयायी बन्‍न निम्त्याउँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? मत्तीबारे बाइबल विवरण भन्छ: “सबै छोडेर तिनी उठे, र उहाँको पछि लागे।” (लूका ५:२७, २८) माछा मारिरहेका पत्रुस र अन्द्रियासको विषयमा यस्तो लेखिएको छ: “उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” त्यसपछि येशूले याकूब र यूहन्‍ना आफ्ना बुबासित जाल तुन्दै गरेको देख्नुभयो। येशूले निम्तो दिंदा तिनीहरूले के गरे? “उत्तिखेरै डुंगा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे।”—मत्ती ४:१८-२२.

१६ अर्को राम्रो उदाहरण हो: पछि प्रेरित पावल बनेका शावलको। ख्रीष्टका अनुयायीहरूलाई सताउने कट्टर व्यक्‍ति भए तापनि तिनले आफ्नो जीवन परिवर्तन गरे र ख्रीष्टको नाउँको साक्षी दिन “एक छानिएका पात्र” भए। “तुरुन्तै तिनले सभाघरहरूमा येशू परमेश्‍वरका पुत्र हुन्‌ भनेर घोषणा गरे।” (प्रेरि. ९:३-२२) अनि जत्तिनै कठिनाइ र सतावट सहनुपरे तापनि पावलले कहिल्यै आफ्नो जोस गुमाएनन्‌।—२ कोरि. ११:२३-२९; १२:१५.

१७. (क) ख्रीष्टको पछि लाग्ने सन्दर्भमा तपाईंको कस्तो इच्छा छ? (ख) सारा हृदय र बलले यहोवाको इच्छाअनुसार गर्दा हामी कस्ता आशिष्‌ पाउनेछौं?

१७ पक्कै पनि हामी ती चेलाहरूको राम्रो उदाहरण पछ्याउन चाहन्छौं र येशूको चेला हुने निम्तो उत्सुक भएर तुरुन्तै स्वीकार्छौं। (हिब्रू ६:११, १२) जोसका साथ र पूर्णरूपले ख्रीष्टको पछि लाग्ने कोसिस गरिरह्‍यौं भने हामी कस्तो आशिष्‌ पाउँछौं? परमेश्‍वरको इच्छाअनुसार गर्दा हामी साँचो आनन्द पाउँछौं। अनि मण्डलीमा सेवाको थप सुअवसर र जिम्मेवारी स्वीकार्दा सन्तुष्टिको अनुभव गर्छौं। (भज. ४०:८; १ थिस्सलोनिकी ४:१ पढ्‌नुहोस्‌) हो, ख्रीष्टको पछि लाग्न जोडतोडले प्रयत्न गर्दा हामीले प्रशस्त अनि चिरकालीन आशिष्‌हरू पाउनेछौं। जस्तै: शान्ति, सन्तुष्टि, आनन्द, परमेश्‍वरको अनुमोदन र अनन्त जीवनको आशा।—१ तिमो. ४:१०. ( w10 -E  04/15)

के तपाईंलाई याद छ?

• हामीलाई कस्तो महत्त्वपूर्ण काम सुम्पिएको छ र त्यस कामप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?

• कस्ता मानव झुकावबाट हामी सुरक्षित रहनैपर्छ र किन?

• इमानदार भई हामीले कस्तो परिस्थिति जाँच्नुपर्छ?

• ख्रीष्टको पछि लागिरहन हामीलाई केले मदत दिनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको पेटी/चित्र]

ख्रीष्टको पछि लागिरहन केले मदत गर्नेछ?

▪ परमेश्‍वरको वचन दिनदिनै पढ्‌नुहोस्‌ र पढेको कुरा मनन गर्नुहोस्‌।—भज. १:१-३; १ तिमो. ४:१५.

▪ परमेश्‍वरको आत्माको समर्थन र निर्देशनको लागि बारम्बार प्रार्थना गर्नुहोस्‌।—जक. ४:६; लूका ११:९, १३.

▪ सेवाको काममा मनैदेखि जोस देखाउनेहरूसित संगत गर्नुहोस्‌।—हितो. १३:२०; हिब्रू १०:२४, २५.

▪ हामी बाँचिरहेको समयमा ढिलासुस्ती गर्न नहुने कुरा स्वीकार्नुहोस्‌।—एफि. ५:१५, १६.

▪“अस्वीकार” गर्दा अर्थात्‌ बहाना बनाउँदा हुने गम्भीर नतिजाबारे सचेत हुनुहोस्‌।—लूका ९:५९-६२.

▪ यहोवाको सेवा गर्दा र मनदेखि नै येशूलाई पछ्याउँदा पाइने प्रशस्त आशिष्‌ र समर्पणको वाचामा नियमित रूपमा मनन गर्नुहोस्‌।—भज. ११६:१२-१४; १३३:३; हितो. १०:२२.