सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टलाई पछ्याउने तरिका

ख्रीष्टलाई पछ्याउने तरिका

येशूबाट हामी के सिक्छौं?

ख्रीष्टलाई पछ्याउने तरिका

मानिसहरूले येशूलाई विश्‍वास गर्दा उहाँ तिनीहरूलाई यसो भन्‍ने गर्नुहुन्थ्यो: “मेरो पछि लाग।” (मत्ती ९:९; १९:२१) येशूको अनुयायी हुनु अर्थात्‌ एक जना ख्रीष्टियान हुनुमा के समावेश छ? तीनवटा महत्त्वपूर्ण प्रश्‍नका जवाफ विचार गर्नुहोस्‌।

तपाईंले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ?

▪ अरूलाई कस्तो व्यवहार गर्ने भन्‍नेबारे दिइएका निर्देशन येशूको चेलाले पछ्याउनुपर्छ। उदाहरणको लागि, येशूले भन्‍नुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” यदि कसैले तपाईंको चित्त दुखाउँछ भने नि? येशूले भन्‍नुभयो: “तिम्रो विरोधीसित बाटोमै छँदा झट्टै मिलाप गरिहाल।” उहाँले अनुयायीहरूलाई यसो पनि भन्‍नुभयो: “तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले तिमीहरूका कसूर क्षमा गर्नुहुनेछैन।”—मत्ती ५:२५; ६:१५; ७:१२.

विवाहितहरूलाई येशूले सल्लाह दिनुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्‌।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।’ ” एक जना साँचो ख्रीष्टियानले आफ्नो मन अनि मस्तिष्कमा येशूका शिक्षाहरूलाई प्रभाव पार्न दिन्छ।—मत्ती ५:२७, २८.

साँचो ख्रीष्टियानहरू अरूको हितको लागि आफ्नो सुबिस्ता त्याग्छन्‌। येशू आत्म-त्यागी हुनुहुन्थ्यो। उदाहरणको लागि प्रचारकार्यको थकाइलाग्दो यात्रा गरिरहेको बेला येशू र उहाँका प्रेरितहरूसित खाने समयसमेत थिएन। त्यसैले येशूले तिनीहरूलाई डुङ्‌गाबाट एकान्त ठाउँमा आराम गर्न लानुभयो। तर मानिसहरूले येशू कहाँ जाँदै हुनुहुन्छ भन्‍ने सुनेपछि उहाँभन्दा अघि तिनीहरू त्यहाँ पुगे। बाइबल बताउँछ: “उहाँ निस्कँदा एउटा ठूलो भीड देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मर्कूस ६:३०-३४) कठिनाइहरू सामना गर्नुपरे तापनि परमेश्‍वरले तपाईंबाट चाहनुभएअनुसार गरेर तपाईं येशूको अनुकरण गर्न सक्नुहुन्छ।

तपाईंले सुसमाचार अरूलाई किन बाँड्‌नुपर्छ?

▪ येशूले आफ्ना अनुयायीहरूलाई सुसमाचार बाँड्‌न सिकाउनुभयो। उहाँले प्रेरितहरूलाई भन्‍नुभयो: “ ‘स्वर्गको राज्य नजिकै आइपुगेको छ,’ भन्दै प्रचार गर।” (मत्ती १०:७) येशूका अनुयायीहरूसित एकदमै मूल्यवान्‌ सन्देश छ। येशूले यसरी प्रार्थना गर्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई . . . चिनून्‌।”—यूहन्‍ना १७:३.

येशूले उहाँका लाखौं अनुयायीले भाग लिने कामबारे भविष्यवाणी गर्नुभयो। उहाँले भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:१४) यदि तपाईंले परमेश्‍वरको राज्यबारे सिक्नुभएको छ र बाइबलका कुरामा विश्‍वास गर्नुहुन्छ भने तपाईंले सिकेको कुरा अरूलाई बाँडेर पक्कै पनि आनन्दित हुनुहुनेछ। येशूका थुप्रै अनुयायीले परमेश्‍वरको राज्यबारे आफन्तहरूलाई सुनाएर यो काम सुरु गरे।—यूहन्‍ना १:४०, ४१.

तपाईंले किन बप्तिस्मा लिनुपर्छ?

▪ येशूले यर्दन नदीमा बप्तिस्मा लिंदा उहाँले स्पष्टसित यसरी प्रार्थना गर्नुभयो: “हे परमेश्‍वर, तपाईंकै इच्छा पूरा गर्नलाई म आएको छु।” (हिब्रू १०:७) यदि तपाईं परमेश्‍वरको इच्छाअनुसार गर्न चाहनुहुन्छ भने तपाईंले पनि बप्तिस्मा लिनुपर्छ। येशूले आज्ञा दिनुभयो: “सबै देशका जातिहरूलाई चेला बनाओ, . . . बप्तिस्मा देओ।”—मत्ती २८:१९.

बप्तिस्मा लिंदा कस्ता जिम्मेवारी आउँछन्‌ र कस्ता लाभ पाइन्छन्‌? बप्तिस्मा प्राप्त येशूका अनुयायीहरू आफ्नो सारा प्राणले परमेश्‍वरको सेवा गर्छन्‌। परमेश्‍वरले मोशालाई दिएको व्यवस्था उद्धरण गर्दै येशूले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) उहाँले यसो पनि भन्‍नुभयो: “कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌ र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।” (मत्ती १६:२४) कुनै व्यक्‍तिले बप्तिस्मा लिनु भनेको उसले आफूलाई इन्कार गरेर आफू परमेश्‍वरको हुने निर्णय गरेको संकेत हो। यो विशेष सम्बन्धमा हुनेहरूले परमेश्‍वरसित सफा अन्तस्करण माग सक्छन्‌।—१ पत्रुस ३:२१. (w10 -E 05/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित यस पुस्तकको अध्याय १८ हेर्नुहोस्‌