सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुरुषहरू हो—के तपाईंहरू ख्रीष्टको शिरत्वको अधीनमा बस्नुहुन्छ?

पुरुषहरू हो—के तपाईंहरू ख्रीष्टको शिरत्वको अधीनमा बस्नुहुन्छ?

पुरुषहरू हो—के तपाईंहरू ख्रीष्टको शिरत्वको अधीनमा बस्नुहुन्छ?

“हरेक मानिसको [ “पुरुषको,” NW] शिर ख्रीष्ट हुनुहुन्छ।”—१ कोरि. ११:३.

१. यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ भनेर केले देखाउँछ?

 प्रकाश ४:११ यसो भन्छ: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” सृष्टिकर्ता भएकोले यहोवा परमेश्‍वर ब्रम्हाण्ड अनि यावत्‌ सृष्टिका सर्वोच्च सत्ताधारी हुनुहुन्छ। स्वर्गमा भएको उहाँको परिवार व्यवस्थित भएकोले यहोवा “गोलमालका परमेश्‍वर होइन, तर शान्तिका परमेश्‍वर” हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।—१ कोरि. १४:३३; यशै. ६:१-३; हिब्रू १२:२२, २३.

२, ३. (क) यहोवाको प्रथम सृष्टि को हो? (ख) पितासितको सम्बन्धमा जेठो पुत्रको ओहदा के हो?

कुनै पनि कुरा सिर्जनुअघि असीमित समयसम्म परमेश्‍वर मात्र अस्तित्वमा हुनुहुन्थ्यो। उहाँको प्रथम सृष्टि “वचन” भनेर चिनिनुहुन्थ्यो किनकि उहाँ यहोवाको प्रवक्‍ता हुनुहुन्थ्यो। यही वचनमार्फत अन्य सम्पूर्ण कुरा अस्तित्वमा आए। पछि उहाँ पृथ्वीमा सिद्ध मानवको रूपमा आउनुभयो र येशू ख्रीष्ट भनेर चिनिनुभयो।यूहन्‍ना १:१ *-३, १४ पढ्‌नुहोस्‌।

परमेश्‍वर र उहाँको जेठो पुत्रबीचको ओहदाबारे बाइबल के भन्छ? प्रेरित पावल प्रेरणा पाएर यसो लेख्दै हामीलाई जवाफ दिन्छन्‌: “तर तिमीहरूले यो जान भन्‍ने म चाहन्छु, कि हरेक मानिसको [“पुरुषको,” NW] शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरि. ११:३) ख्रीष्ट आफ्नो पिताको शिरत्वको अधीनमा हुनुहुन्छ। बौद्धिक प्राणीहरूबीच शान्ति र सुव्यवस्था छाउन शिरत्व र अधीनता अत्यावश्‍यक छन्‌। ख्रीष्टमा नै ‘सबै थोक सृष्टि भए’ तापनि उहाँसमेत परमेश्‍वरको शिरत्वको अधीनमा रहनु आवश्‍यक छ।—कल. १:१६.

४, ५. यहोवासितको सम्बन्धमा आफ्नो ओहदाबारे येशूले कस्तो महसुस गर्नुभयो?

यहोवाको शिरत्वको अधीनमा रहने र पृथ्वीमा आउनेबारे येशूले कस्तो महसुस गर्नुभयो? बाइबल यसो भन्छ: “उहाँले परमेश्‍वरको स्वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनलाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलि. २:५-८.

आफ्नो पिताको इच्छाबमोजिम गर्न येशू हर समय नम्रतासाथ राजी हुनुहुन्थ्यो। उहाँले भन्‍नुभयो: “म आफै केही गर्नसक्‍तिनँ, . . . मेरो इन्साफ ठीक छ, किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” (यूह. ५:३०) उहाँले यस्तो घोषणा गर्नुभयो: “म सधैं [मेरा पितालाई] मन पर्ने कुराहरू गर्दछु।” (यूह. ८:२९) पृथ्वीमा आफ्नो जीवनको अन्ततिर येशूले पितालाई प्रार्थनामा यसो भन्‍नुभयो: “तपाईंले मलाई गर्न दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरें।” (यूह. १७:४) कुरा स्पष्ट छ, येशूलाई पिताको शिरत्व स्वीकार्न र त्यस शिरत्वको अधीनमा रहन कुनै समस्या थिएन।

पिताको अधीनमा रहँदा पुत्रलाई फाइदा हुन्छ

६. येशूले कस्ता मनमोहक गुणहरू देखाउनुभयो?

पृथ्वीमा छँदा येशूले थुप्रै मनमोहक गुण देखाउनुभयो। तीमध्ये एउटा पिताप्रति देखाएको महान्‌ प्रेम थियो। उहाँले भन्‍नुभयो: “म पितालाई प्रेम गर्दछु।” (यूह. १४:३१) उहाँले मानिसहरूप्रति पनि महान्‌ प्रेम देखाउनुभयो। ( मत्ती २२:३५-४० पढ्‌नुहोस्‌) येशू दयालु र विचारशील हुनुहुन्थ्यो; कठोर वा कज्याउने होइन। उहाँले भन्‍नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना-आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुका छ।” (मत्ती ११:२८-३०) भेडाजस्ता नम्रखाले हरेक उमेरका मानिसहरू र त्यसमा पनि विशेषगरि शोषित तथा मिचिएकाहरूले येशूको मनमोहक व्यक्‍तित्व र उत्थानदायी सन्देशबाट ठूलो सान्त्वना पाए।

७, ८. रगत बग्ने व्यथाले चापेकी त्यस स्त्रीमाथि मोशाको व्यवस्थाले गर्दा कस्तो प्रतिबन्ध लागेको थियो तर येशूले तिनीसित कस्तो व्यवहार गर्नुभयो?

येशूले स्त्रीजातिसित गरेको व्यवहार पनि याद गर्नुहोस्‌। इतिहासभर थुप्रै पुरुषले स्त्रीहरूसित अत्यन्तै नराम्रो व्यवहार गरेका छन्‌। प्राचीन इस्राएलका धर्मगुरुहरूले पनि त्यसै गरेका थिए। तर येशूले स्त्रीहरूसित आदरसाथ व्यवहार गर्नुभयो। बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी स्त्रीसित येशूले गरेको व्यवहारमा यो प्रस्टै देखियो। तिनले डाक्टरहरूको “हातबाट” धेरै “कष्ट पाएकी” र निको हुन आफ्नो सरसम्पत्ति सखाप पारेकी थिइन्‌। यत्ति धेरै प्रयास गरे तापनि तिनी “झन्‌ खराब हालतमा” पुगेकी थिइन्‌। मोशाको व्यवस्था अन्तर्गत तिनी अशुद्ध थिइन्‌। तिनलाई छुने जोसुकै पनि अशुद्ध हुन्थ्यो।—लेवी १५:१९, २५.

येशू बिरामीहरू निको पार्दै हुनुहुन्छ भनेर सुन्दा तिनी येशूलाई घेरेको भीडबीच छिरिन्‌ र मनमनै यसो भनिन्‌: “मैले उहाँको पोशाक मात्र छोएँ भने पनि म निको हुनेछु।” तिनले येशूलाई छोइन्‌ र तुरुन्तै निको भइहालिन्‌। तिनले उहाँको पोशाक छुनु हुँदैनथ्यो भनेर येशूलाई थाह थियो। तैपनि उहाँले तिनलाई गाली गर्नुभएन। बरु तिनीप्रति दयालु व्यवहार गर्नुभयो। यत्तिका वर्षसम्म व्यथाले चापेर बस्नुपर्दा तिनले कस्तो महसुस गरेकी थिइन्‌, उहाँले बुझ्नुभयो र तिनी रोगमुक्‍त हुन अत्यन्तै व्याकुल भएकी पनि बुझ्नुभयो। टिठाउँदै येशूले तिनलाई भन्‍नुभयो: “ए छोरी तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ। शान्तिसित जाऊ, तिम्रो रोग निको भइजाओस्‌।”—मर्कू. ५:२५-३४.

९. येशूका चेलाहरूले केटाकेटीलाई उहाँकहाँ आउनदेखि रोक्न खोज्दा उहाँले के गर्नुभयो?

येशूसामु केटाकेटीलाई पनि सजिलो महसुस हुन्थ्यो। एक पटक मानिसहरूले उहाँसामु आफ्ना छोराछोरीलाई ल्याउँदा उहाँका चेलाहरूले उनीहरूलाई हप्काए। येशूलाई केटाकेटीले दुःख देलान्‌ भन्ठानेर चेलाहरूले त्यसो गरेका थिए। तर येशूले त्यस्तो महसुस गर्नुभएको थिएन। बाइबल विवरण हामीलाई बताउँछ: “यो देखेर येशू [चेलाहरूसित] नाराज हुनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, ‘साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो।’ ” त्यतिमात्र होइन, “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” येशूले केटाकेटीसित धैर्य गर्नुभएको मात्र होइन; तिनीहरूलाई न्यानो महसुस पनि गराउनुभयो।—मर्कू. १०:१३-१६.

१०. आफूले देखाएका गुणहरू येशूले कसरी हासिल गर्नुभएको थियो?

१० पृथ्वीमा छँदा आफूले देखाएका यस्ता गुणहरू येशूले कसरी हासिल गर्नुभएको थियो? मानव शरीर धारण गर्नुअघि उहाँले स्वर्गमा युगौंयुगसम्म आफ्नो पितालाई नियाल्नुभएको र उहाँको काम गर्ने तरिका सिक्नुभएको थियो। ( हितोपदेश ८:२२, २३, ३०, NRV पढ्‌नुहोस्‌) स्वर्गमा उहाँले यहोवाले मायालु तरिकामा आफ्ना सम्पूर्ण सृष्टिमाथि शिरत्व प्रयोग गरेको तरिका पनि देख्नुभएको थियो र त्यसैलाई उहाँले अनुकरण गर्नुभयो। अधीनमा नबसेको भए के येशूले त्यसो गर्न सक्नुहुन्थ्यो र? आफ्नो पिताको अधीनमा बस्न उहाँ रमाउनुहुन्थ्यो र यस्तो पुत्र पाएकोमा यहोवा पनि खुसी हुनुहुन्थ्यो। पृथ्वीमा येशूले स्वर्गका पिताका अदभुत्‌ गुणहरू दुरुस्तै देखाउनुभयो। परमेश्‍वरले स्वर्गको राज्यको राजा नियुक्‍त गर्नुभएका ख्रीष्टको अधीनमा रहन पाउनु हाम्रो लागि सम्मानको कुरा हो।

ख्रीष्टका गुणहरू अनुकरण गर्नुहोस्‌

११. (क) कसको अनुकरण गर्न हामीले अथक प्रयास गर्नुपर्छ? (ख) मण्डलीमा विशेषगरि पुरुषहरूले किन येशूको अनुकरण गर्न प्रयास गर्नुपर्छ?

११ ख्रीष्टियान मण्डलीका सबैले र विशेषगरि पुरुषहरूले ख्रीष्टका गुणहरू अनुकरण गर्न अथक प्रयास गरिरहनुपर्छ। अगाडि उल्लेख गरिएझैं बाइबल बताउँछ: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ।” ख्रीष्टले आफ्नो शिर साँचो परमेश्‍वरको अनुकरण गरेझैं ख्रीष्टियान पुरुषहरूले तिनीहरूको शिर ख्रीष्टको अनुकरण गर्न प्रयास गर्नुपर्छ। ख्रीष्टियान बनेपछि प्रेरित पावलले त्यसै गरे। तिनले सँगी ख्रीष्टियानहरूलाई यस्तो सुझाव दिए: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (१ कोरि. ११:१) अनि प्रेरित पत्रुसले भने: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रु. २:२१) ख्रीष्टको अनुकरण गर भन्‍ने सल्लाह पुरुषहरूले पालन गर्नुको अर्को पनि कारण छ। प्राचीन तथा सेवकाई सेवक हुनेहरू त पुरुषहरू नै हुन्‌। यहोवाको अनुकरण गर्दा येशू रमाएझैं ख्रीष्टियान पुरुषहरूले पनि ख्रीष्ट र उहाँका गुणहरूको अनुकरण गर्दा रमाउन सक्नुपर्छ।

१२, १३. आफ्नो जिम्मामा सुम्पिएका भेडाहरूसित प्राचीनहरूले कस्तो व्यवहार गर्नुपर्छ?

१२ ख्रीष्टियान मण्डलीका प्राचीनहरूमाथि ख्रीष्ट जस्तै हुन सिक्नैपर्ने अभिभारा छ। पत्रुसले धर्मगुरुहरू अथवा प्राचीनहरूलाई यस्तो सुझाव दिए: “तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्‍वरको इच्छाबमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले, तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ।” (१ पत्रु. ५:१-३) ख्रीष्टियान प्राचीनहरू तानाशाह, हैकम जमाउने, मनखुसी गर्ने वा कठोर हुनुहुँदैन। आफ्नो जिम्मामा सुम्पिएका भेडाहरूसित व्यवहार गर्दा ख्रीष्टको उदाहरण अनुकरण गर्दै तिनीहरू मायालु, विचारशील, नम्र अनि दयालु हुने कोसिस गर्छन्‌।

१३ मण्डलीमा नेतृत्व लिनेहरू असिद्ध पुरुषहरू हुन्‌ र तिनीहरू यो सीमितताप्रति निरन्तर सचेत हुनुपर्छ। (रोमी ३:२३) त्यसैले तिनीहरू येशूबारे सिक्न र उहाँको प्रेमको अनुकरण गर्न उत्सुक हुनैपर्छ। परमेश्‍वर र ख्रीष्टले मानिसहरूसित गरेको व्यवहार विचार गर्नु अनि उहाँहरूको अनुकरण गर्ने कोसिस गर्नु पनि आवश्‍यक छ। पत्रुसले यस्तो सुझाव दिए: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्‍वरले घमन्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रु. ५:५.

१४. प्राचीनहरूले अरूलाई कुन हदसम्म आदर गर्नुपर्छ?

१४ परमेश्‍वरको बगालसित व्यवहार गर्दा मण्डलीका नियुक्‍त पुरुषहरूले राम्रा गुणहरू देखाउनुपर्छ। रोमी १२:१० यसो भन्छ: “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ, मानमा एउटाले अर्कोको बढ्‌ता कदर गर।” प्राचीन तथा सेवकाई सेवकहरू अरूलाई आदर गर्छन्‌। प्रायः सबै ख्रीष्टियानजस्तै यी पुरुषहरू पनि ‘विरोध अथवा फोस्रो घमन्डले केही गर्दैनन्‌। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्छन्‌।’ (फिलि. २:३) नेतृत्व लिनेहरूले अरू तिनीहरूभन्दा श्रेष्ठ छन्‌ भन्ठान्दै व्यवहार गर्नैपर्छ। यसो गर्दा यी नियुक्‍त पुरुषहरूले पावलको यो सल्लाह पालन गरिरहेका हुन्छन्‌: “हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ, आफ्नो खुशी मात्र गर्नुहुँदैन। हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नलाई खुश तुल्याउनुपर्छ। किनभने ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन।”—रोमी १५:१-३.

‘पत्नीलाई आदर गर्नुहोस्‌’

१५. पतिहरूले पत्नीहरूसित कसरी व्यवहार गर्नुपर्छ?

१५ पत्रुसले विवाहित पुरुषहरूलाई दिएको सल्लाह अब विचार गर्नुहोस्‌। तिनले लेखे: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो [आफ्नी पत्नीलाई] आदर दिई बुद्धिमानीसाथ . . . बस।” (१ पत्रु. ३:७) कसैलाई आदर गर्नुको अर्थ तिनलाई अत्यन्तै सम्माननीय ठान्‍नु हो। अतः तपाईं तिनका धारणा, आवश्‍यकता अनि चाहनामा विचार पुऱ्‍याउनुहुन्छ र त्यसो नगर्ने कुनै खास कारण छैन भने तिनको इच्छाबमोजिम गर्नुहुन्छ। पतिले पत्नीसित त्यसरी नै व्यवहार गर्नुपर्छ।

१६. पत्नीलाई आदर गर्ने सम्बन्धमा परमेश्‍वरको वचनले पतिहरूलाई कस्तो चेतावनी दिन्छ?

१६ पतिहरूलाई आफ्नी पत्नीलाई आदर गर भनेर बताउँदा पत्रुसले यस्तो चेतावनी पनि थपे: “तिमीहरूका प्रार्थना नरोकिओस्‌।” (१ पत्रु. ३:७) पतिले पत्नीलाई गर्ने व्यवहारलाई यहोवा कत्ति गम्भीर ठान्‍नुहुन्छ, यसले प्रस्टै देखाउँछ। पत्नीलाई आदर गर्न नसक्दा पतिको प्रार्थना रोकिन सक्छ। यसबाहेक, पतिहरूले सम्मानजनक व्यवहार गर्दा अक्सर पत्नी पनि सहमत हुन्छिन्‌, होइन र?

१७. पतिले पत्नीलाई कुन हदसम्म प्रेम गर्नुपर्छ?

१७ पत्नीलाई प्रेम गर्ने सम्बन्धमा परमेश्‍वरको वचन यस्तो सल्लाह दिन्छ: “पतिहरूले पनि आफ्ना-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। . . . कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन-पोषण गर्दछ। . . . तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर।” (एफि. ५:२८, २९, ३३) पतिहरूले आफ्ना-आफ्ना पत्नीलाई कुन हदसम्म प्रेम गर्नुपर्छ? पावलले लेखे: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफि. ५:२५) हो, ख्रीष्ट अरूको निम्ति आफ्नो ज्यान दिन इच्छुक भएझैं पतिहरू पनि आफ्ना-आफ्ना पत्नीका लागि ज्यान दिनसमेत इच्छुक हुनुपर्छ। ख्रीष्टियान पतिले आफ्नी पत्नीसित कोमल, विचारशील, सचेत अनि निःस्वार्थ भएर व्यवहार गर्दा पत्नीलाई पनि पतिको शिरत्वको अधीनमा रहन सजिलो हुन्छ।

१८. पत्नीसित आदरपूर्वक व्यवहार गर्न पतिहरूले कस्तो मदत पाउन सक्छन्‌?

१८ यसरी पत्नीहरूलाई आदर गर्नू भनेर पतिहरूसित बढ्‌तै माग गरिएको हो? होइन, यहोवाले तिनीहरूलाई क्षमताबाहिरको कुरा गर्न कहिल्यै अह्राउनुहुन्‍न। यसबाहेक यहोवाका उपासकहरूले ब्रम्हाण्डकै सबैभन्दा शक्‍तिशाली शक्‍ति—परमेश्‍वरको पवित्र आत्मा पाउन सक्छन्‌। येशूले भन्‍नुभयो: “तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) अरूलगायत आफ्ना पत्नीसित व्यवहार गर्दा पवित्र आत्मामार्फत मदत गर्नुहोस्‌ भनेर पतिहरूले यहोवालाई प्रार्थना गर्न सक्छन्‌।प्रेरित ५:३२ पढ्‌नुहोस्‌।

१९. अर्को लेखमा केबारे छलफल गरिनेछ?

१९ वास्तवमा ख्रीष्टको अधीनमा बस्न र उहाँको शिरत्वको अनुकरण गर्न सिक्ने गहन जिम्मेवारी पुरुषहरू वहन गर्छन्‌। तर स्त्रीहरू र त्यसमा पनि विशेषगरि पत्नीहरूले नि? तिनीहरूले यहोवाको प्रबन्धमा आफ्नो भूमिकालाई कसरी लिन्छन्‌, त्यसबारे अर्को लेखमा छलफल गरिनेछ। ( w10-E 05/15)

[फुटनोट]

^ यूहन्‍ना १:१ (NW): “सुरुमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्‍वरसित हुनुहुन्थ्यो र वचन ईश्‍वरीय हुनुहुन्थ्यो।”

के तपाईंलाई याद छ?

• येशूका कस्ता गुणहरू हामीले अनुकरण गर्नुपर्छ?

• प्राचीनहरूले भेडासित कसरी व्यवहार गर्नुपर्छ?

• पतिले पत्नीसित कसरी व्यवहार गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

अरूलाई आदर गरेर येशूको अनुकरण गर्नुहोस्‌