सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको नाम जान्‍नुमा मुछिएका कुराहरू

परमेश्‍वरको नाम जान्‍नुमा मुछिएका कुराहरू

परमेश्‍वरको नाम जान्‍नुमा मुछिएका कुराहरू

के तपाईंको नामको खास अर्थ छ? संसारका कुनै-कुनै ठाउँमा बच्चालाई खास अर्थ भएको नाम दिने चलन छ। यस्तो नामले आमाबाबुको विश्‍वास, मूल्य-मान्यता वा बच्चाको भविष्यको लागि उनीहरूले सँगालेका आशा र सपनाहरू झल्काउन सक्छ।

अर्थपूर्ण नाम दिने चलन नयाँ होइन। बाइबलकालीन व्यक्‍तिहरूको सन्दर्भमा हेर्ने हो भने अर्थलाई विचार गरेर नाम राखिन्थ्यो। उक्‍त व्यक्‍तिले पछि जुन भूमिका निर्वाह गरेको आशा गरिन्थ्यो, त्यस्तै किसिमको नाम दिइन्थ्यो। उदाहरणको लागि, दाऊदलाई तिनको छोरा सुलेमानको भावी भूमिकाबारे सङ्‌केत गर्दै यहोवाले भन्‍नुभयो: “त्यसको नाउँ सुलेमान अर्थात्‌ ‘शान्तिको मानिस’ हुनेछ। त्यसको पालामा म इस्राएललाई शान्ति र चैन दिनेछु।”—१ इतिहास २२:९.

नयाँ भूमिका पूरा गर्नुपर्ने अवस्थामा पनि यहोवाले कहिलेकाहीं नयाँ नाम दिनुहुन्थ्यो। अब्राहामकी बाँझी श्रीमतीले सारा भन्‍ने नाम पाइन्‌, जसको अर्थ हो “राजकुमारी।” किन? यहोवाले भन्‍नुभयो: “म त्यसलाई आशिष्‌ दिनेछु, र त्यसबाहेक त्यसबाट म तँलाई एउटा छोरो दिनेछु। म त्यसलाई आशिष्‌ दिनेछु र धेरै जातिहरूका आमा त्यो हुनेछ। जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन्‌।” (उत्पत्ति १७:१६) हो, साराले नयाँ नाम किन पाइन्‌ भनेर बुझ्यौं भने उनको नयाँ भूमिकाबारे पनि बुझ्नेछौं।

नामहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण नाम यहोवाबारे के भन्‍न सकिन्छ? यस नामको अर्थ के हो? मोशाले परमेश्‍वरलाई उहाँको नामबारे सोध्दा यहोवाले यस्तो जवाफ दिनुभयो: “म हुँ जो म हुँ।” (प्रस्थान ३:१४) परमेश्‍वरले दिनुभएको यो जवाफ थुप्रै बाइबलले यसरी नै अनुवाद गरेका छन्‌। तर रथरहाम अनुवाद यस्तो छ: “म जे हुन चाहन्छु, त्यही हुन्छु।” यहोवाको नामले उहाँ थुप्रै भूमिका निर्वाह गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर प्रकट गर्छ। एउटा साधारण उदाहरण विचार गरौं: एउटी आमाले आफ्ना छोराछोरीको स्याहारसुसार गर्न आवश्‍यकताअनुसार हरेक दिन विभिन्‍न भूमिका निर्वाह गर्नुपर्ने हुन सक्छ। जस्तै: नर्स, भान्से, शिक्षिका आदि। यहोवाले पनि यसरी नै विभिन्‍न भूमिका निर्वाह गर्नुहुन्छ तर अझ उत्तम तरिकामा। मानिसजातिप्रति आफ्नो मायालु उद्देश्‍य पूरा गर्न उहाँ आवश्‍यकताअनुसार जुनसुकै भूमिका पनि पूरा गर्न सक्नुहुन्छ। यसर्थ परमेश्‍वरलाई चिन्‍नुको मतलब उहाँको विभिन्‍न भूमिका बुझ्नु र त्यसप्रति कृतज्ञ हुनु हो।

दुःखको कुरा, परमेश्‍वरको व्यक्‍तित्वको सौन्दर्य उहाँलाई नचिन्‍ने व्यक्‍तिहरूको नजरबाट लुकेको छ। तर बाइबल अध्ययन गरेर तपाईं यहोवाको विभिन्‍न भूमिकाबारे बुझ्न सक्नुहुन्छ, जस्तै: बुद्धिमान्‌ सल्लाहकार, शक्‍तिशाली उद्धारक, उदार प्रबन्धक इत्यादि। उहाँका थुप्रै भूमिकामध्ये यी त केही मात्र हुन्‌। यहोवा नामको गहन अर्थ साँच्चै उदेकलाग्दो छ।

तथापि, परमेश्‍वरलाई चिन्‍न सधैं सजिलो हुँदैन। किन? यसपछिको लेखमा त्यसको जवाफ पाउनेछौं। ( w10 -E 07/01)