बिरामी साथीलाई कसरी मदत गर्ने?
बिरामी साथीलाई कसरी मदत गर्ने?
गम्भीर बिरामी परेको साथीसित कुरा गर्दा के तपाईंलाई कहिल्यै के भनूँ, कसो भनूँ जस्तो भएको छ? चिन्ता नगर्नुहोस्, यो चुनौतीको सामना तपाईं गर्न सक्नुहुन्छ। तर कसरी? यस्तै गर्नुपर्छ भन्ने नियमहरू त छैनन् किनकि यो संस्कृति र व्यक्तित्वमा भर पर्ने कुरा हो, जुन फरक-फरक हुन सक्छ। त्यसैले एक जना बिरामीलाई राम्रो लाग्ने कुरा अर्को बिरामीलाई मन नपर्न सक्छ। साथै आजको भोलि नै परिस्थिति र भावना परिवर्तन हुन सक्छ।
त्यसैले महत्त्वपूर्ण कुरा भनेको तपाईंले आफूलाई उक्त व्यक्तिको ठाउँमा राखेर उसले तपाईंबाट आशा गरेको र चाहेको कुरा के हो बुझ्ने कोसिस गर्नु हो। यो तपाईं कसरी गर्न सक्नुहुन्छ? बाइबल सिद्धान्तहरूमा आधारित केही सल्लाह यहाँ दिइएका छन्।
ध्यान दिएर सुन्नुहोस्
बाइबल सिद्धान्तहरू:
“हरेक मानिसले चनाखो भई सुन्नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।”—याकूब १:१९.
“चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।”—उपदेशक ३:१, ७.
◼ बिरामी साथीलाई भेट्न जाँदा सहानुभूति देखाउँदै ध्यान दिएर उसको कुरा सुन्नुहोस्। हत्त न पत्त अघि सरेर सल्लाह नदिनुहोस् वा रोगको उपचारबारे उसलाई केही न केही बताउनै पर्छ भन्ने नसोच्नुहोस्। यसो गर्दा उसको चित्त दुख्ने केही कुरा चालै नपाई तपाईंको मुखबाट फुत्कन सक्छ। तपाईंको बिरामी साथीलाई जवाफको नभई खुला मनले कुरा सुनिदिने व्यक्तिको खाँचो परेको हुन सक्छ।
साथीलाई आफ्नो कुरा खुलस्त बताउन दिनुहोस्। उसको कुरा बीचैमा काटेर, जो-कसैले पनि भन्ने बनिबनाउ कुराहरू गरेर उसको अवस्थालाई हल्कासित लिएको भान नपार्नुहोस्। एमिलियो a भन्छन्, “मेनिन्जाइटिसको कारण मैले आफ्नो दृष्टि गुमाएँ। कहिलेकाहीं मलाई नैराश्यले घेर्छ र मेरा साथीहरूले ‘यस्तो तिमीलाई मात्र भएको होइन नि। तिमीभन्दा पनि नराम्रो अवस्थामा अरू कति छन् कति’ भनेर सान्त्वना दिन खोज्छन्। तर त्यसरी मलाई केही नभएजस्तो गर्दैमा मेरो अवस्था सुध्रिदैन भनेर तिनीहरूलाई थाह छैन। बरु, त्यस्तो कुराले मलाई एकदमै नराम्रो असर पार्छ र म विचलित हुन्छु।”
आफ्नो कुरा काट्ने हो कि भन्ने डरविना मनको कुरा खुलस्त बताउन दिनुहोस्। उसले आफूलाई डर लागिरहेको छ भनी बताउँदा ‘डराउनुपर्दैन, किन डराएको’ भन्नुको सट्टा उसको भावना बुझ्ने कोसिस गर्नुहोस्। “आफ्नो अवस्थाबारे चिन्ता लागेर म रुन्छु। तर यसको मतलब परमेश्वरमाथिको मेरो भरोसा टुटिसक्यो भन्ने होइन” भनी क्यान्सरसित लडिरहेकी इलियाना बताउँछिन्। आफ्नो साथीलाई ऊ जस्तो अवस्थामा छ त्यस्तै स्वीकार्नुहोस्, उसलाई आफूले चाहेजस्तो बनाउन नखोज्नुहोस्। अहिले ऊ पहिलाको जस्तो होइन तर कमजोर छ भनी मनमा राख्नुहोस्। एउटै कुरा बारम्बार सुन्नुपरे तापनि धैर्य गरेर सुन्नुहोस्। (१ राजा १९:९, १०, १३, १४) आफूलाई कस्तो भइरहेको छ तपाईंलाई बताउन आवश्यक छ जस्तो उसलाई लागेको हुन सक्छ।
समानुभूतिशील र विचारशील हुनुहोस्
बाइबल सिद्धान्तहरू:
“रमाउने मानिसहरूसित रमाओ; रुने मानिसहरूसित रोओ।”—रोमी १२:१५.
“मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।”—मत्ती ७:१२.
◼ आफूलाई आफ्नो साथीको ठाउँमा राखेर हेर्नुहोस्। साथीको शल्यक्रिया हुनेवाला छ, उपचार चलिरहेको छ वा स्वास्थ्य जाँचको रिपोर्ट कुर्दैछ भने ऊ तनावमा हुन सक्छ र सानोतिनो कुराले पनि उसलाई सजिलै असर गर्न सक्छ। यो कुरालाई बुझेर उसको मुडअनुसार व्यवहार गर्नुहोस्। यस्तो समयमा तीनथुप्रो प्रश्नहरू, विशेष गरी व्यक्तिगत खालका प्रश्नहरू सोध्नु उपयुक्त नहुन सक्छ।
मनोवैज्ञानिक आना क्याटालिफोस बताउँछिन्, “बिरामीलाई आफूले चाहेको समयमा आफ्नै सुरमा आफ्नो रोगबारे बताउन दिनुहोस्। उनीहरूलाई कुरा गर्न मन लागेको बेलामा उनीहरूले चाहेको जुनसुकै विषयमा कुरा गर्नुहोस्। तर उनीहरू कुरा गर्ने मुडमा नहुँदा भने चुप लागेर बस्नुहोस्। बिरामीको हात समाएर बस्दा मात्र पनि धेरै सकारात्मक असर पर्न सक्छ। उनीहरूलाई आफू रुँदा आफ्नो मर्म बुझिदिने व्यक्ति चाहिएको हुन सक्छ।”
आफ्नो साथीको गोपनीयताको कदर गर्नुहोस्। दुई-दुई चोटि क्यान्सर लागेर पनि बाँचेकी लेखिका रोज्यान क्यालिक लेख्छिन्, “बिरामीले तपाईंलाई आफ्नो रोगबारे जे-जति कुरा भन्छ त्यसलाई गोप्य ठान्नुहोस्। तपाईंलाई परिवारको प्रवक्ता तोकिएको छ भने बेग्लै कुरा, नत्र भने अरूलाई कुनै पनि जानकारी नदिनुहोस्। अरूलाई कतिसम्म जानकारी दिन उनी इच्छुक छन् भनेर बिरामीलाई सोध्नुहोस्।” क्यान्सर रोग लागेर पनि बाँचेका एड्सन भन्छन्, “मलाई क्यान्सर भएको छ र अब म धेरै दिन बाँच्दिनँ भनेर एक जना साथीले हल्ला फैलाएछ। तर वास्तवमा मेरो भर्खरै शल्यक्रिया भएको थियो। हो, मलाई क्यान्सर भएको थियो तर म बायोप्सीको रिपोर्ट पर्खिरहेको थिएँ। शरीरको अरू भागमा रोग फैलिएको रहेनछ। तर त्यो हल्लाले हानि पुऱ्याइसकेको थियो। मेरो साथीले त्यसरी विचार नपुऱ्याई बोल्दा र अरूले एकपछि अर्को प्रश्न सोध्दा मेरी श्रीमतीले असाध्यै चित्त दुखाइन्।”
तपाईंको साथी कुन उपचार गर्ने भनेर सोच्दैछ भने तपाईं उसको ठाउँमा भएको भए के गर्नुहुन्थ्यो भनी बताउन हतार नगर्नुहोस्। क्यान्सर रोग लागेर पनि बाँचेकी लेखिका लोरी होप भन्छिन्, “क्यान्सर रोगसित लडिरहेका वा पहिला क्यान्सर रोग लागेर पनि बाँचेका जो-कोहीलाई कुनै लेख वा जानकारी पठाउनुअघि उनीहरू त्यस्तो जानकारी प्राप्त गर्न चाहन्छन् कि भनेर सोध्नु बेस हुन्छ। अन्यथा तपाईंले असलै मनसायले मदत गर्न खोज्नु भए तापनि आफ्नो साथीको चित्त दुखाउन सक्नुहुन्छ र यो कुरा तपाईंलाई थाहै नहुन सक्छ।” विभिन्न किसिमको स्वास्थ्य उपचारबारे तीन थुप्रो जानकारी सबैलाई मन पर्छ भन्ने छैन।
बिरामी तपाईंको एकदमै मिल्ने साथी हो भने पनि घन्टौंसम्म उसैसित बस्ने नगर्नुहोस्। तपाईं त्यसरी भेट्न जानु एकदमै महत्त्वपूर्ण छ तर तपाईंको साथीलाई धेरै बेर कुराकानी गर्न मन नपर्न सक्छ। उसलाई थकाइ लागेकोले कुरा गर्न वा लामो समयसम्म कुरा सुनिरहन समेत बल नहुन सक्छ। तर तपाईंलाई फर्कन हतार भएजस्तो भान पनि नपार्नुहोस्। तपाईं आफ्नो साथीको कत्ति ख्याल राख्नुहुन्छ भनी उसले महसुस गर्नुपर्छ।
विचारशील हुनुमा सन्तुलित हुनु र सही निर्णय गर्नु समावेश छ। उदाहरणका लागि, बिरामीलाई कुनै खानेकुरा वा फूलको थुँगा लैजाँदै हुनुहुन्छ भने उसलाई कुनै एलर्जी छ कि भनेर सोध्न सक्नुहुन्छ। तपाईं आफै बिसन्चो हुनुहुन्छ, जस्तै रुघाखोकी लागेको छ भने सन्चो भएपछि मात्र साथीलाई भेट्न जानु मायालु कुरा हुनेछ।
उत्थानदायी हुनुहोस्
बाइबल सिद्धान्तहरू:
“बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।”—हितोपदेश १२:१८.
“तिमीहरूको बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।”—कलस्सी ४:६.
◼ बिरामी साथीप्रति तपाईंले सकारात्मक दृष्टिकोण राख्नुभयो भने तपाईंको बोली र कार्यमा त्यो देखिनेछ। तपाईंको साथी जे-जस्तो अवस्थामा भए पनि ऊ तपाईंकै साथी हो र सुरुमा चिन्दा तपाईंलाई उसका जुन गुणहरू मन परेको थियो ती अझै पनि उसमा छन् भनेर सोच्नुहोस्। तपाईंको नाता ऊसित हो, उसको रोगसित होइन। साथीसित निस्सहाय व्यक्तिलाई जस्तो व्यवहार गरेमा उसले आफूलाई त्यस्तै ठान्न सुरु गर्नेछ। कमै मानिसहरूलाई मात्र लाग्ने हड्डीसम्बन्धी वंशानुगत रोगबाट पीडित रोर्बटा भन्छिन्, “मलाई सामान्य व्यक्तिलाई जस्तो व्यवहार गर्नुहोस्। हो, म असक्त छु तर मेरा आफ्ना विचार र इच्छाहरू छन्। मलाई दया चाहिंदैन। मलाई केही थाह नभएजस्तो गरी कुरा नगर्नुहोस्।”
नबिर्सनुहोस्, तपाईं के भन्नुहुन्छ, त्यसले मात्र होइन तर कसरी भन्नुहुन्छ, त्यसले पनि फरक पार्छ। बोल्ने शैलीले समेत असर गर्छ। क्यान्सर भएको पत्ता लागेलगत्तै अर्नेस्टोको साथीले तिनलाई विदेशबाट फोन गरेर भने, “तिमीलाई पनि क्यान्सर भएको, मलाई त विश्वासै लागेन!” अर्नेस्टो सम्झन्छन्, “मेरो साथीले जुन तरिकाले ‘तिमी’ र ‘क्यान्सर’ शब्दलाई जोड दियो त्यो सुनेर मेरो आङै सिरिङ्ङ भयो।”
लेखिका लोरी होप अर्को उदाहरण दिन्छिन्, “‘अहिले कस्तो छ?’ भनेर सोध्दा बिरामीले त्यसलाई विभिन्न तरिकामा बुझ्न सक्छ। प्रश्न सोध्ने शैली, शरीरको हावभाव, बिरामीसितको सम्बन्ध र ऊसितको घनिष्ठताका साथै कस्तो बेला प्रश्न सोधिएको छ, त्यसले बिरामीलाई सन्चो महसुस गराउन, पीडा थप्न वा सुषुप्त डरलाई जगाउन सक्छ।”
बिरामी साथीले आफ्नो ख्याल राखेको, कुरा बुझेको र आदर गरेको महसुस गर्न चाहला। त्यसैले तपाईंको जीवनमा उसको महत्त्व छ र तपाईं उसलाई मदत गर्न तयार हुनुहुन्छ भनेर उसलाई ढुक्क बनाउनुहोस्। मस्तिष्कको ट्युमर भएकी रोजमेरी भन्छिन्, “‘हामी तिमीलाई माया गर्छौं र जेसुकै परे पनि तिम्रो साथ छोड्ने छैनौं’ भनेर मेरा साथीहरूले बताउँदा धेरै प्रोत्साहन मिल्यो।”—हितोपदेश १५:२३; २५:११.
मदत गर्नुहोस्
बाइबल सिद्धान्त:
“हामी वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम गरौं।”—१ यूहन्ना ३:१८.
◼ रोग खुट्टिंदाको समयमा र उपचारको समयमा तपाईंको साथीको आवश्यकता एउटै हुँदैन। तर यी समयको दौडान उसलाई मदत चाहिन सक्छ। “केही पऱ्यो भने भन है” भनेर हल्का रूपमा भन्नुको सट्टा के-कस्तो मदत गर्न सक्नुहुन्छ तोकेरै बताउनुहोस्। साथीको ख्याल राखेको देखाउन सक्ने केही व्यावहारिक तरिकाहरू भन्नुपर्दा खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने, इस्त्री लगाउने, बिजुली/पानीको बिल तिर्न जाने, बजार जाने अनि साथीसँगै अस्पताल वा क्लिनिक जाने-आउनेजस्ता दैनिक कामकुरामा मदत गर्ने प्रस्ताव राख्नु हो। भरपर्दो र समयनिष्ठ हुनुहोस्। आफ्नो वाचा पूरा गर्नुहोस् र वचनको पक्का हुनुहोस्।—मत्ती ५:३७.
लेखिका रोज्यान क्यालिक भन्छिन्, “ठूलो होस् वा सानो, बिरामी मानिस आफैले गर्न नसक्ने जुनसुकै खालको काम गरिदिंदा मदतकारी हुनेछ।” दुई-दुई चोटि क्यान्सर रोग लागेर पनि बाँचेकी सिल्भिया यो कुरासित सहमत छिन्। “रेडियसनको लागि दिनदिनै अर्कै सहरमा जानुपर्थ्यो। त्यतिबेला फरक-फरक साथीले लगिदिंदा मन असाध्यै हल्का भएको र सान्त्वना पाएको महसुस गर्थें। बाटोमा हामी विभिन्न विषयमा कुराकानी गर्थ्यौं र उपचारपछि फर्कंदा सधैं बाटोमा कतै रोकिएर कफी पिउन जान्थ्यौं। त्यसो गर्दा मलाई आफूले सामान्य जीवन बिताइरहेको महसुस हुन्थ्यो।”
तपाईंको साथीलाई के चाहिएको छ त्यो तपाईंलाई राम्ररी थाह छ भन्ने नठान्नुहोस्। क्यालिक यस्तो सुझाव दिन्छिन्,
“सोध्नुहोस्, यसको अर्को विकल्प छैन।” तिनी अझै भन्छिन्, “मदत गर्ने धुनमा सबै कुरा आफै नगर्नुहोस्। यसले उल्टो असर गर्न सक्छ। तपाईंले मलाई केही गर्न दिनुभएन भने म केही गर्न सक्दिनँ भन्ने मलाई लाग्न सक्छ। म अझै सक्षम छु भन्ने मलाई लाग्नुपर्छ। म निस्सहाय छैन भन्ने मैले महसुस गर्नुपर्छ। म जे गर्न सक्छु, त्यो गर्न मलाई मदत गर्नुहोस्।”तपाईंको साथीले आफू अझै सक्षम भएको महसुस गर्नुपर्छ। एड्स लागेका अडिल्सन भन्छन्: “बिरामी परेपछि तपाईंलाई केही काम नलाग्ने वा केही गर्न नसक्ने ठानेर एकातिर मिल्काइएको तपाईं चाहनुहुन्न। सानोतिनो काम नै किन नहोस्, तपाईं केही कामको हुन चाहनुहुन्छ। तपाईं अझ पनि केही न केही गर्न सक्नुहुन्छ भन्ने महसुस गर्दा रमाइलो लाग्छ। यसले तपाईंलाई लत्तो नछोड्न बल दिन्छ। अरूले म आफैलाई निर्णय गर्न दिएको र त्यसलाई आदर गरेको म रुचाउँछु। बिरामी भयौं भन्दैमा हामीले बुबाको, आमाको वा अरू कुनै जिम्मेवारी बहन गर्न सक्दैनौं भन्ने होइन।”
सम्पर्कमा रहनुहोस्
बाइबल सिद्धान्त:
“साँचो मित्रले सधैं प्रेम गर्छ, र दुःखमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।”—हितोपदेश १७:१७, NW.
◼ टाढा भएकोले वा अन्य कुनै कारणले गर्दा बिरामी साथीलाई भेट्न जान सक्नुभएको छैन भने फोनमा कुरा गर्न, चिठी लेख्न वा इमेल पठाउन सक्नुहुन्छ। के लेख्ने? मनोवैज्ञानिक आलेन डि. वुलफेल्ट यस्तो सुझाव दिन्छन्: “तपाईंहरूले सँगै बिताएका रमाइला क्षणहरूको सम्झना गर्नुहोस्। चाँडै फेरि तिनलाई चिठी लेख्ने वाचा गर्नुहोस्। अनि आफ्नो वाचा पूरा गर्नुहोस्।”
आफ्नो मुखबाट गलत कुरा निस्केला वा आफूबाट गल्ती होला भन्ने डरले बिरामी साथीलाई प्रोत्साहन दिनदेखि पछि नहट्नुहोस्। थुप्रै अवस्थामा तपाईंको उपस्थितिले मात्र पनि धेरै फरक पार्न सक्छ। लोरी होप आफ्नो पुस्तकमा यस्तो लेख्छिन्, “हामीमध्ये कोही पनि यस्तो छैन जसले भनेको र गरेको कुराको गलत अर्थ लगाइँदैन वा जसले अन्जानमै अरूको चित्त दुखाउँदैन। यो कुनै समस्या होइन। बरु, आफूबाट गल्ती होला भन्ने डरले मदतको आवश्यकता परेकाहरूबाट टाढा रहन खोज्नुचाहिं समस्या हो।”
गम्भीर बिरामी परेको साथीलाई यस्तो बेला अघिपछि भन्दा अझ बढी तपाईंको आवश्यकता पर्छ। “साँचो मित्र” साबित हुनुहोस्। साथीलाई मदत गर्न तपाईंले गरेको प्रयासले उसको पीडा गायब त नहोला तर आफूले माया गर्ने व्यक्तिलाई गाह्रो परिस्थिति सहन सजिलो बनाइदिन भने सक्नुहुन्छ। (w10-E 07/01)
[फुटनोट]
a केही नामहरू परिवर्तन गरिएका छन्।