सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपयोगी बाइबल पढाइका सात कदम

उपयोगी बाइबल पढाइका सात कदम

उपयोगी बाइबल पढाइका सात कदम

“बाइबल, इतिहासकै सर्वाधिक बिक्री हुने किताब हो। तर त्यति मात्र होइन, यो त वर्षैपिच्छे सबैभन्दा धेरै बिक्री हुने किताब पनि हो।”—टाइम पत्रिका।

“म कहिलेकाहीं बाइबल पढ्‌छु तर मलाई पटक्कै मजा लाग्दैन।” —किथ, इङ्‌गल्याण्डका लोकप्रिय संगीतकार।

धेरै मानिससित बाइबल हुनु तर तिनीहरूले त्यसबाट केही फाइदा नउठाएको जस्तो देखिनु साँच्चै हास्यास्पद कुरा हो। तर अरू कति भने बाइबलमा पढेको कुरालाई साह्रै कदर गर्छन्‌। उदाहरणको लागि, न्यान्सी भन्छिन्‌: “मैले हरेक दिन बिहान सबेरै बाइबल पढ्‌ने र त्यसमा मनन गर्ने बानी बसालेकी छु। त्यसो गर्न थालेदेखि दिनभरि आइपर्न सक्ने जुनसुकै चुनौती सामना गर्न पनि आफू तयार भएकी महसुस गर्छु। यो बानीले मलाई आफ्नो निराशामाथि विजयी हुन निकै मदत गरेको छ। विगत ३५ वर्षमा मैले निराशा हटाउन गरेको अनेकन्‌ प्रयासमध्ये यो नै सबैभन्दा प्रभावकारी साबित भएको छ।”

तपाईंले बाइबल कहिल्यै पढ्‌नुभएको छैन भने पनि अरूले यसबाट लाभ उठाएका छन्‌ भनेर थाह पाउँदा तपाईंलाई अचम्म लाग्छ कि? तर अर्कोतर्फ, तपाईं बाइबल पढ्‌नुहुन्छ भने के तपाईं अझ बढी लाभ उठाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने तल दिइएका सात कदम प्रयोग गरेर हेर्नुहोस्‌।

सही मनसाय राखेर पढ्‌नुहोस्‌

◼ एउटा सुन्दर साहित्यिक कृतिको रूपमा वा झारा टार्न वा यस समस्याग्रस्त संसारमा जिउनको लागि कतै डोऱ्‍याइ पाइएला कि भन्‍ने उद्देश्‍य राखेर पनि बाइबल पढ्‌न सकिन्छ। तर परमेश्‍वरबारे सिक्ने उद्देश्‍यले पढ्‌नुभयो भने सबैभन्दा लाभदायी हुनेछ। साथै, बाइबलको सन्देशले आफ्नो जीवनलाई कसरी असर गर्छ भनी बुझ्ने मनसायले पढ्‌नुभयो भने प्रचुर मात्रामा आशिष्‌ पाउनुहुनेछ।

सही मनसाय राखेर पढ्‌नुको महत्त्वलाई जोड दिन बाइबललाई ऐनासित यसरी तुलना गरिएको छ: “यदि कसैले वचन सुनेर त्यसबमोजिम गरेन भनेता त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हुनेछ। किनकि त्यसले आफूले आफूलाई देख्तछ र आफ्नो बाटो लाग्छ, तर कस्तो किसिमको मानिस थिएँ भनी तुरुन्तै बिर्सिहाल्छ। तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा स्याबासी पाउनेछ।”—याकूब १:२३-२५.

यस उदाहरणमा बताइएको मानिसले ऐनामा आफ्नो अनुहार हेर्न त हेऱ्‍यो तर त्यसअनुसार केही पनि मिलाएन। सायद उसले ऐनामा झलक्क मात्र हेऱ्‍यो वा केही मिलाउने ऊसित जाँगरै थिएन। त्यसरी नै, आफूलाई मन लागेको बेला मात्र पढ्यौं, अरू बेला पढेनौं वा पढेको कुरा लागू गरेनौं भने केही फाइदा हुँदैन। तर आफ्नो सोचाइ र कामलाई परमेश्‍वरको सोचाइअनुसार ढाल्ने उद्देश्‍य राखेर पढ्यौं अनि पढेअनुसार “काम गर्ने मानिस” बन्‍न बाइबललाई गहिरिएर केलायौं भने साँचो आनन्द पाउन सक्नेछौं।

विश्‍वसनीय अनुवाद छान्‍नुहोस्‌

◼ तपाईंको भाषामा बाइबलका विभिन्‍न अनुवाद उपलब्ध होलान्‌। परमेश्‍वरको वचनको जुनै पनि बाइबल अनुवादबाट तपाईं लाभ उठाउन सक्नुहुन्छ तर कुनै-कुनै अनुवादमा भने पुरानो भाषा वा साहित्यिक शैली प्रयोग गरिएको हुन सक्छ। यस्तो अनुवाद “साधारण” मानिसहरूलाई बुझ्न अलि गाह्रो हुन सक्छ। (प्रेरित ४:१३) कुनै-कुनै बाइबल अनुवादले भने परम्पराको प्रभावमा परेर बाइबलको शुद्ध सन्देशलाई हेरफेरसमेत गरेका हुन्छन्‌। उदाहरणको लागि, यस पत्रिकाका आवरण लेखहरूमा बताइएझैं कुनै-कुनै अनुवादले परमेश्‍वरको नाम हटाएर त्यसको ठाउँमा “परमेश्‍वर” वा “परमप्रभु”-जस्ता पदवीहरू लेखेका छन्‌। त्यसकारण यस्तो अनुवाद छान्‍नुहोस्‌, जसले सही अनुवाद गर्नुका साथै पढुँपढुँ लाग्ने सजिलो भाषा प्रयोग गरेको छ।

संसारभरका लाखौं पाठकले न्यु वर्ल्ड ट्रान्सलेसन पढ्‌न सजिलो अनि सही अनुवाद भएको पाएका छन्‌। a बुल्गेरियाका एक वृद्धको अनुभव विचार गर्नुहोस्‌। तिनी यहोवाका साक्षीहरूको सभामा उपस्थित भए अनि त्यहाँ तिनले न्यु वर्ल्ड ट्रान्सलेसन-को एक प्रति पाए। पछि तिनले यसो भने: “मैले बाइबल पढ्‌न थालेको वर्षौं भइसक्यो तर योजस्तो बुझ्न सजिलो अनि पढेको कुरा सीधै मनमा घुस्ने बाइबल अरू कुनै छैन।”

प्रार्थना गर्नुहोस्‌

◼ बाइबलका ग्रन्थकारसित मदत माग्यौं भने अझ राम्रोसित बुझ्न सक्नेछौं। एक जना भजनहारले यस्तै बिन्ती गरेका थिए: “मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्यवस्थाबाट उदेकका कुरा देख्न सकूँ।” (भजन ११९:१८) हरेक पटक बाइबल पढ्‌दा उहाँको वचन बुझ्न मदत दिनुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। आफूसित बाइबल भएकोमा पनि तपाईं धन्यवाद दिन सक्नुहुन्छ किनभने यो नहुँदो हो त हामीले परमेश्‍वरलाई चिन्‍ने थिएनौं।—भजन ११९:६२.

के मदतको लागि यसरी प्रार्थना गर्दा परमेश्‍वरले सुन्‍नुहुन्छ? उरुग्वेकी दुइटी किशोरी दिदीबहिनीको अनुभवलाई विचार गर्नुहोस्‌। बाइबलको दानियल २:४४ तिनीहरूले बुझ्न सकेका थिएनन्‌ अनि त्यो बुझाइदिन परमेश्‍वरले कोही पठाइदिऊन्‌ भनेर तिनीहरूले प्रार्थना गरे। ती केटीहरूले बाइबल बन्द गर्न नपाउँदै यहोवाका दुई साक्षी तिनीहरूको ढोकामा टुप्लुक्क आइपुगे। ती दिदीबहिनीले बुझ्न चाहेकै पद उनीहरूले पढे र त्यसको अर्थ भनेको मानव सरकारको ठाउँमा परमेश्‍वरको राज्य स्थापना हुनेछ भनेर बुझाइदिए। b परमेश्‍वरले प्रार्थनाको जवाफ दिनुभयो भनेर ती दिदीबहिनी विश्‍वस्त भए।

दिनहुँ पढ्‌नुहोस्‌

◼ अमेरिकामा सेप्टेम्बर ११, २००१ मा भएको आतङ्‌ककारी आक्रमणपछि त्यहाँ “बाइबलको बिक्री ह्वात्तै बढेको” एक जना पुस्तक प्रकाशकले टिप्पणी गरे। धेरैजसो मानिस आपत्‌ आइपर्दा मात्र परमेश्‍वरको वचनलाई सम्झन्छन्‌। तर बाइबलले भने दिनहुँ पढ्‌न हामीलाई यसरी प्रोत्साहन दिन्छ: “व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।”—यहोशू १:८.

नियमित तवरमा बाइबल पढ्‌नु कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न हृदयघात भएको मानिसलाई विचार गर्न सक्छौं जसले पोसिलो खाना खाने निर्णय गरेका छन्‌। छाती चसक्क दुख्दा मात्र उसले पोसिलो खाना खायो भने फाइदा हुन्छ र? अहँ, हुँदैन। स्वास्थ्य राम्रो बनाउनको लागि पोसिलो खाना खाने उसको नियमित तालिका नै हुनुपर्छ। त्यसरी नै, दिनहुँ बाइबल पढ्‌दा तपाईंको “सबै मार्गमा उन्‍नती” हुनेछ।

फरक-फरक तरिका अपनाउनुहोस्‌

◼ उत्पत्तिबाट सुरु गरेर प्रकाशसम्म पढ्‌ने तरिका राम्रो हो। तर रमाइलो हुने गरी पढ्‌ने अरू तरिका पनि छन्‌। केही सुझाव यसप्रकार छन्‌:

खास पात्रलाई ध्यानमा राखेर पढ्‌नुहोस्‌। परमेश्‍वरको कुनै एक जना खास उपासकबारे बताइएको सबै अध्याय वा पुस्तक पढ्‌नुहोस्‌। जस्तै:

यूसुफ: उत्पत्ति ३७–५०.

रूथ: रूथ १–३.

येशू: मत्ती १-२८; मर्कूस १-१६; लूका १-२४; यूहन्‍ना १-२१ c

एउटा विषयमा ध्यानकेन्द्रित गर्नुहोस्‌। त्यही विषयसित सम्बन्धित शास्त्रपदहरू पढ्‌नुहोस्‌। उदाहरणका लागि, प्रार्थनाको विषयमा अनुसन्धान गर्नुहोस्‌। त्यसपछि, प्रार्थनाको विषयमा बाइबलको सल्लाहलगायत बाइबलमा लिपिबद्ध थुप्रै प्रार्थना पढ्‌नुहोस्‌।  d

आवाज निकालेर पढ्‌नुहोस्‌। आवाज निकालेर बाइबल पढ्‌दा निकै लाभ उठाउन सक्नुहुन्छ। (प्रकाश १:३) परिवार मिलेर पनि पढ्‌न सक्नुहुन्छ, परिवारका सदस्यले पालैपालो अनुच्छेद पढ्‌ने वा एउटा पात्र एक जनाले पढ्‌ने गर्न सक्नुहुन्छ। कोही भने बाइबलको श्रव्य रेकर्डिङ सुन्‍न मन पराउँछन्‌। एउटी महिला भन्छिन्‌, “बाइबल पढ्‌न थाल्न मलाई साह्रै गाह्रो भएको थियो। त्यसैले मैले सुरुमा बाइबलको श्रव्य रेकर्डिङ सुन्‍न थालें। अब भने मलाई राम्रो उपन्यास पढ्‌नुभन्दा बाइबल पढ्‌नु नै रमाइलो लाग्छ।”

६ मनन गर्नुहोस्‌

◼ आधुनिक जीवनशैलीको दौडधूप र अनेकन्‌ अलमलले गर्दा मनन गर्ने वातावरण बनाउन गाह्रो हुन्छ। जसरी खानाबाट पोषण पाउन त्यसलाई पचाउनुपर्छ, त्यसरी नै बाइबलमा पढेको कुराबाट लाभ उठाउन मनन गर्नै पर्छ। मनन गर्नु भनेको आफूले पढेको कुरा मनमनै सम्झनु अनि आफूलाई यस्ता प्रश्‍नहरू सोध्नु हो: ‘मैले यहोवा परमेश्‍वरबारे के सिकें? यो पढेको कुरा मलाई कसरी लागू हुन्छ? अरूलाई मदत गर्न यो जानकारी म कसरी प्रयोग गर्न सक्छु?’

यसरी सोच्नुभयो भने बाइबलको सन्देशले हाम्रो मन छुन्छ अनि परमेश्‍वरको वचन पढ्‌न हामीलाई झन्‌-झन्‌ रमाइलो लाग्नेछ। भजन ११९:९७ यसो भन्छ: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” यस भजनहारले मनन गरेर दिनभरि आफ्नो ध्यान धर्मशास्त्रमै लगाए। यसरी तिनले आफूले सिकेको कुरालाई गहिरो प्रेम गर्न सके।

बुझ्न मदत माग्नुहोस्‌

◼ विना कुनै मदत बाइबलको कुरा आफैले बुझेको परमेश्‍वर आशा गर्नुहुन्‍न। “कुनै-कुनै कुराहरू बुझ्न कठिन छन्‌” भनेर बाइबलले नै मानिलिएको छ। (२ पत्रुस ३:१६) प्रेरितहरूको पुस्तकमा एक जना इथियोपियाली पदाधिकारीको विषयमा बताइएको छ जसले बाइबलको एउटा अंश बुझ्न सकेका थिएनन्‌। उसलाई मदत गर्न परमेश्‍वरले आफ्नो सेवक पठाउनुभयो। परिणाम के भयो? ती इथियोपियाली मानिस “रमाई-रमाईकन आफ्नो बाटो लागे।”—प्रेरित ८:२६-३९.

पढेको कुरा बुझ्न अरूको मदत लिएर तपाईंले पनि बाइबल पढाइबाट लाभ उठाउन सक्नुहुन्छ। तपाईंको इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुहोस्‌ अथवा यस पत्रिकाको पृष्ठ ४ मा दिइएको ठेगानामा पत्राचार गरेर निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि आग्रह गर्नुहोस्‌। ( w10 -E 07/01)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेसन-को पूरा वा केही अंश ८३ भाषामा उपलब्ध छ अनि www.watchtower.org मा १७ भाषामा अनलाइन पढ्‌न सकिन्छ।

b परमेश्‍वरको राज्य के हो र यसले के गर्नेछ भन्‍ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्‌।

c तपाईंले भर्खर मात्र बाइबल पढ्‌न थाल्नुभएको हो भने येशूको सेवाबारे एकपछि अर्को घटना वर्णन गरिएको मर्कूसको पुस्तकबाट पढ्‌न सुरु गर्नुभए कसो होला?

d बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकले धेरैलाई बाइबलको विषयगत अध्ययन गर्न मदत गरेको छ। उदाहरणको लागि, यसको अध्याय १७ मा प्रार्थनाबारे धर्मशास्त्रले बताउने कुरा छलफल गरिएको छ।