सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ?

मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ?

मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ?

“राजालाई तपाईंको न्यायको वचन दिनुहोस्‌, . . . किनकि दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ।”—भज. ७२:१, १२.

१. परमेश्‍वरले दाऊदलाई देखाउनुभएको कृपाबाट हामी के सिक्न सक्छौं?

 माथिका शब्दहरू कत्ति प्रोत्साहनदायी! प्राचीन इस्राएलका राजा दाऊदले यी शब्दहरू कोरेको हुनुपर्छ। तिनले यी शब्दहरू कोर्नुभन्दा केही वर्षअघि, बेतशेबासित व्यभिचार गरेकोमा पछुताएका थिए। त्यतिखेर दाऊदले परमेश्‍वरलाई यस्तो बिन्तीभाउ गरेका थिए: “तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्‌। . . . मेरो पाप सदा मेरै सामनेमा छ। . . . हेर्नुहोस्‌, म अधर्ममा उत्पन्‍न भएँ। र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌।” (भज. ५१:१-५) यहोवाले हाम्रो वंशानुगत पापी अवस्था विचार गर्दै कृपा देखाउनुहुन्छ।

२. भजन ७२ ले हामीलाई कुन आशा प्रदान गर्छ?

यहोवा हाम्रो दयनीय अवस्था बुझ्नुहुन्छ। तर भविष्यवाणी गरेअनुरूपै परमेश्‍वरका अभिषिक्‍त राजाले ‘दरिद्रहरूको पुकारा सुनेर छुटकारा दिनेछ। सहायता नभएका दु:खीहरूलाई छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई टिठाउनेछ, र दरिद्रहरूको प्राण बचाउनेछ।’ (भज. ७२:१२, १३) त्यसोभए छुटकारा कसरी दिइनेछ? यसको जवाफ भजन ७२ ले दिन्छ। दाऊदको छोरा सुलेमानको शासनबारे लेखिएको यो भजनले परमेश्‍वरका पुत्र येशू ख्रीष्टको शासनले कसरी मानिसजातिलाई दुःखबाट छुटाउनेछ, त्यसको पूर्वझलक दिन्छ।

ख्रीष्टको शासनको पूर्वझलक

३. सुलेमानले के मागे र परमेश्‍वरले तिनलाई के दिनुभयो?

सुलेमानलाई राजा बनाउन आज्ञा दिइसकेपछि वृद्ध दाऊदले सुलेमानलाई खास निर्देशन दिए, जुन तिनले विश्‍वासी भई पालन गरे। (१ राजा १:३२-३५; २:१-३) पछि सुलेमानको सपनामा यहोवा देखापर्नुभयो र तिनलाई भन्‍नुभयो: “म तँलाई के दिऊँ? मलाई भन्‌।” सुलेमानले केवल एउटा बिन्ती गरे: “तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्ने मन दिनुहोस्‌, र त्यसले असल खराबको भेद छुट्याउनसकोस्‌।” सुलेमानले विनम्र अनुरोध गरेको कारण तिनले मागेको कुराबाहेक अरू थोक पनि परमेश्‍वरले दिनुभयो।—१ राजा ३:५, ९-१३.

४. सुलेमानका समकालीन शासकले तिनको शासनलाई कसरी वर्णन गरिन्‌?

यहोवाको आशिष्‌ले गर्दा सुलेमानको शासनकालमा यस्तो उल्लेखनीय शान्ति र संवृद्धि छायो जुन यस पृथ्वीका कुनै पनि सरकारले ल्याउन सकेन। (१ राजा ४:२५) सुलेमानको शासन कस्तो होला भनी हेर्न आएकाहरूमध्ये ठूलो लावालस्कर लिएर आएकी शबाकी रानी पनि थिइन्‌। तिनले सुलेमानलाई यसो भनिन्‌: “तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। . . . त्यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र तपाईंको ऐश्‍वर्य मैले सुनेको भन्दा ता धेरै ज्यादा रहेछन्‌।” (१ राजा १०:१, ६, ७) तर त्योभन्दा पनि कता हो कता महान्‌ बुद्धि येशूले देखाउनुभयो। उहाँले आफूबारे यसो भन्‍नु उचित थियो: “हेर, सुलेमानभन्दा श्रेष्ठ यहाँ छ।”—मत्ती १२:४२.

महान्‌ सुलेमानको शासनमा पाइने छुटकारा

५. भजन ७२ ले के बताउँछ र यसले कुन कुराको पूर्वझलक दिन्छ?

आउनुहोस्‌, महान्‌ सुलेमान येशू ख्रीष्टले शासन गरिसकेपछि हामीले कस्ता आशिष्‌हरू पाउनेछौं, त्यो बुझ्न भजन ७२ का विशेषताहरूलाई ध्यान देऔं। ( भजन ७२:१-४ पढ्‌नुहोस्‌) यो भजनले यहोवा आफ्ना पुत्र, “शान्तिका राजकुमार” येशू ख्रीष्टको “शासन”-प्रति कस्तो महसुस गर्नुहुन्छ, त्यसबारे बताउँछ। (यशै. ९:६, ७) परमेश्‍वरको निर्देशन पाएर महान्‌ सुलेमानले ‘गरीब जनहरूको इन्साफ गर्नुहुनेछ र दरिद्रको सन्तानलाई बचाउनुहुनेछ।’ उहाँको शासनमा शान्ति र न्याय छाउनेछ। आफ्नो आउँदै गरेको हजार वर्षीय राज्यले के-के पूर्ति गर्नेछ, त्यसको पूर्वझलक येशूले पृथ्वीमा छँदा देखाउनुभयो।—प्रका. २०:४.

६. परमेश्‍वरको राज्यमा पाइने आशिष्‌हरूबारे येशूले कस्तो पूर्वझलक दिनुभयो?

भजन ७२ का भविष्यवाणीको पूर्तिमा येशूले मानिसजातिको लागि के गर्नुहुनेछ, त्यसको पूर्वझलक दिने येशूका केही गतिविधि विचार गर्नुहोस्‌। दुःखमा परेकाहरूप्रति उहाँले जुन किसिमको महान्‌ दया देखाउनुभयो, त्यसबाट हामी प्रभावित नहुने त कुरै छैन। (मत्ती ९:३५, ३६; १५:२९-३१) उदाहरणको लागि, कोर लागेको मानिसले येशूको नजिक आएर यस्तो बिन्ती गऱ्‍यो: “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ।” येशूले भन्‍नुभयो: “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।” अनि ती मानिस निको भए! (मर्कू. १:४०-४२) पछि येशूले एउटी विधवालाई भेट्‌नुभयो जसको एक मात्र छोरो मरेको थियो। येशूले “टिठाएर” भन्‍नुभयो, “उठ” अनि तिनको छोरो उठ्यो। हो, तिनको छोरो फेरि जीवित भयो!—लूका ७:११-१५.

७, ८. येशूसित निको पार्ने शक्‍ति छ भन्‍ने केही प्रमाण के-के थिए?

यहोवाले येशूलाई चमत्कार गर्ने शक्‍ति दिनुभयो। यो कुरा “बाह्र वर्षदेखि रगत बग्ने बेथा भएकी एउटी स्त्री”-को घटनाले स्पष्ट पार्छ। तिनले “धेरै वैद्यहरूका हातबाट कष्ट पाएकी” थिई र “आफूसँग भएका सारा धन-दौलत खर्च” गरेकी थिइन्‌, तैपनि तिनको हालत झन्‌-झन्‌ खराब हुँदै गएको थियो। “रजस्वाला” भएकी त्यस स्त्रीले मोशाको व्यवस्था उल्लङ्‌घन गर्दै भीडमा छिरेर येशूलाई छोएकी थिई। (लेवी १५:१९, २५) येशूले आफूबाट शक्‍ति निस्केको महसुस गर्नुभयो र कसले छोएको भनेर सोध्नुभयो। ती स्त्री “डरले काम्दै आएर घोप्टो परी र उहाँलाई सारा सत्य कुरा भनिदिई।” यहोवाले ती स्त्रीलाई निको पार्नुभएको कुरा थाह पाएपछि येशूले ती स्त्रीप्रति दयालु व्यवहार गर्नुभयो र भन्‍नुभयो: “ए छोरी तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ। शान्तिसित जाऊ, तिम्रो रोग निको भइजाओस्‌।”—मर्कू. ५:२५-२७, ३०, ३३, ३४.

परमेश्‍वरबाट प्राप्त शक्‍तिले गर्दा येशूले थुप्रै बिरामीलाई निको पार्नुभयो र साथै यी चमत्कारहरू देख्नेहरूमाथि पनि सशक्‍त प्रभाव परेको हुनुपर्छ। उदाहरणको लागि, प्रख्यात डाँडाको उपदेश दिनुअघि येशूले मानिसहरूलाई निको पार्नुभएको देखेर थुप्रै प्रभावित भएका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (लूका ६:१७-१९) बप्तिस्मा दिने यूहन्‍नाले येशू नै मसीह हुनुहुन्छ भनेर पक्का गर्न दुई जना सन्देशवाहकलाई उहाँका पठाए। तब ‘उहाँले धेरैलाई रोग, व्यथा र दुष्ट आत्माहरूबाट छुटाउनुभएको औ धेरै अन्धाहरूलाई दृष्टिको शक्‍ति निगाह भएको’ तिनीहरूले देखे। त्यसपछि येशूले ती दुईलाई भन्‍नुभयो: “जे तिमीहरूले देख्यौ र सुन्यौ, गएर सो यूहन्‍नालाई भन, अर्थात्‌ अन्धाहरूले दृष्टि पाउँछन्‌, लङ्‌गडाहरू हिंड्‌छन्‌, कोरीहरू शुद्ध हुन्छन्‌, बहिराहरू सुन्छन्‌, मुर्दाहरू बिउँतन्छन्‌, गरीबहरूलाई सुसमाचार सुनाइन्छन्‌।” (लूका ७:१९-२२) यो सन्देशबाट यूहन्‍नाले कत्ति धेरै प्रोत्साहन पाएको हुनुपर्छ!

९. येशूका चमत्कारहरू कुन कुराको पूर्वझलक थियो?

हो, येशूले पृथ्वीमा आफ्नो सेवाको दौडान दुःखबाट छुटकारा दिनुभयो तर त्यो अस्थायी मात्र थियो। उहाँले निको पारेका वा पुनरुत्थान गरेकाहरू पछि मरेर गए। तैपनि, पृथ्वीमा छँदा येशूले देखाउनुभएका चमत्कारहरू मसीही राज्यमा मानिसजातिले पाउने अनन्त छुटकाराको पूर्वझलक थियो।

पृथ्वीभरि छाउने प्रमोदवन नजिकै!

१०, ११. (क) परमेश्‍वरको राज्यमा पाइने आशिष्‌ कतिन्जेल रहिरहनेछ र येशूको शासन कस्तो हुनेछ? (ख) प्रमोदवनमा ख्रीष्टसित को हुनेछन्‌ र तिनी कसरी सधैंभरि बाँच्न सक्नेछन्‌?

१० पार्थिव प्रमोदवनमा जीवन कस्तो हुनेछ एकछिन कल्पना गर्नुहोस्‌ त! ( भजन ७२:५-९ पढ्‌नुहोस्‌) साँचो परमेश्‍वरका उपासकहरूले प्रमोदवनमा सूर्य र जून रहुन्जेल अर्थात्‌ सदैव जीवनको आनन्द उठाउन सक्नेछन्‌। “काटेको घाँसमा पानीझैं र पृथ्वीमा परेको झरीजस्तै” राजा येशू ख्रीष्ट स्फूर्तिदायी साबित हुनुहुनेछ।

११ यो भजन पूरा भएको कल्पना गर्दा पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशाले के तपाईंको मन खुसीले उफ्रँदैन र? येशूले “तिमी मसित स्वर्गलोकमा [“प्रमोदवनमा,” NW] हुनेछौ” भन्दा उहाँसितै झुण्ड्याइएको कुकर्मी पक्कै रोमाञ्चित भए। (लूका २३:४३) येशूको हजार वर्षीय राज्यको दौडान ती मानिसले फेरि जीवन पाउनेछन्‌। ख्रीष्टको शासनलाई समर्थन गरेको खण्डमा तिनी सधैंभरि यसै पृथ्वीमा स्वस्थ भई र खुसीसाथ बाँच्न सक्नेछन्‌।

१२. पुनरुत्थान हुने अधर्मीहरूलाई ख्रीष्टको हजार वर्षीय राज्यको दौडान कस्तो मौका दिइनेछ?

१२ महान्‌ सुलेमान येशू ख्रीष्टले शासन गर्नुहुँदा “धर्मात्माहरूको फलिफाप हुनेछ,” मतलब तिनीहरू फस्टाउनेछन्‌ अर्थात्‌ संवृद्ध हुनेछन्‌। (भज. ७२:७) तब पृथ्वीमा हुँदा ख्रीष्टले देखाउनुभएको जस्तै प्रेम र कोमल हेरचाह प्रशस्त हुनेछ। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा, पुनरुत्थान हुने “अधर्मीहरू”-लाई समेत यहोवाको स्तर स्वीकार्ने र बाँच्ने मायालु मौका दिइनेछ। (प्रेरि. २४:१५) निस्सन्देह, ईश्‍वरीय आवश्‍यकताअनुरूप जीवन बिताउन नचाहनेहरू त्यसउप्रान्त बाँचिरहन पाउनेछैनन्‌ र तिनीहरूले नयाँ संसारको सुख-शान्ति खलबल्याउन सक्नेछैनन्‌।

१३. परमेश्‍वरको राज्य कत्तिको व्यापक हुनेछ र किन त्यहाँको शान्ति कहिल्यै भङ्‌ग हुनेछैन?

१३ महान्‌ सुलेमानको शासन पृथ्वीभरि फैलिनेछ भनेर यी शब्दहरूले सङ्‌केत गर्छ: “एक समुद्रदेखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ। र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म रहनेछ। वनमा रहनेहरू पनि उसको अगाडि झुक्नेछन्‌। र उसका शत्रुहरूले धूलो चाट्‌नेछन्‌।” (भज. ७२:८, ९) हो, येशू ख्रीष्टले पूरै पृथ्वीमा शासन गर्नुहुनेछ। (जक. ९:९, १०) उहाँको शासन अनि त्यसले दिने आशिष्‌प्रति कृतज्ञ हुनेहरू राजीखुसी उहाँको अधीनमा बस्न उहाँसामु “झुक्नेछन्‌।” अर्कोतर्फ अपश्‍चात्तापी पापीहरू मानौं, “सय वर्ष” पुगेको भए तापनि नाश गरिनेछ। (यशै. ६५:२०) तिनीहरूले “धूलो चाट्‌नेछन्‌।”

हाम्रीप्रति समानुभूतिशील चासो

१४, १५. येशू मानिसहरूको भावना बुझ्नुहुन्छ र ‘पुकारा गर्ने दरिद्रहरूलाई उहाँले छुटकारा दिनुहुनेछ’ भनी हामी कसरी थाह पाउन सक्छौं?

१४ पापी मानिसजाति दयनीय अवस्थामा भएकोले मदतको तड्‌कारो खाँचो छ। तर हाम्रो लागि आशा छ। ( भजन ७२:१२-१४ पढ्‌नुहोस्‌) महान्‌ सुलेमान येशूले हामीलाई समानुभूति देखाउनुहुन्छ किनभने उहाँ हाम्रो असिद्ध अवस्था बुझ्नुहुन्छ। साथै येशूले धार्मिकताको खातिर दुःख भोग्नुभयो अनि परमेश्‍वरले उहाँलाई अरूको सहायताविना एक्लैले परीक्षाहरूको सामना गर्न दिनुभयो। उहाँले यत्तिको भावनात्मक पीडा भोग्नुभयो कि “उहाँको पसिना रगतका ठूला-ठूला थोप्लाजस्तै भुइँमा खसिरहेका थिए।” (लूका २२:४४) पछि शासनाको खम्बामा झुण्ड्याइँदा उहाँ यसरी कराउनुभयो: “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभयो?” (मत्ती २७:४५, ४६) येशूले अनेक दुःख झेल्नुपऱ्‍यो अनि शैतानले उहाँलाई यहोवाबाट तर्काउने हर प्रयास गऱ्‍यो। तैपनि यहोवा परमेश्‍वरप्रति येशू विश्‍वासी रहनुभयो।

१५ येशू हाम्रो दुःख बुझ्नुहुन्छ र उहाँले ‘दरिद्रहरूको पुकारा सुनेर छुटकारा दिनुहुनेछ र सहायता नभएका दुःखीहरूलाई छुटकारा दिनुहुनेछ’ भनी हामी पक्का हुन सक्छौं। आफ्नो पिताले जस्तै मायालु चासो राख्दै येशूले ‘दरिद्रहरूको पुकारा सुन्‍नुहुनेछ’ र ‘मन भाँचेकाहरूलाई निको पार्नुहुनेछ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुनेछ।’ (भज. ६९:३३; १४७:३) येशू ‘हामीसँग दुःखी हुन सक्नुहुन्छ’ किनभने उहाँ ‘सबै कुरामा हामीजस्तै परीक्षित हुनुभयो।’ (हिब्रू ४:१५) राजा येशू ख्रीष्टले अहिले स्वर्गमा शासन गर्दै हुनुहुन्छ र उहाँ मानिसजातिलाई दुःखबाट छुटकारा दिन एकदमै इच्छुक हुनुहुन्छ भन्‍ने कुरा थाह पाउनु कत्ति खुसीको कुरा हो!

१६. सुलेमानले आफ्ना प्रजालाई समानुभूति देखाउन सक्नुको कारण के थियो?

१६ सुलेमानसित बुद्धि र परिस्थिति बुझ्न सक्ने क्षमता भएकोले पक्कै पनि तिनी ‘कमजोरप्रति टिठाएको’ हुनुपर्छ। त्यसबाहेक तिनको जीवनमा दुःखलाग्दा अनि पीडादायी घटनाहरू पनि घटेका थिए। आफ्नी बहिनी तामारलाई तिनको दाइ अम्नोनले बलात्कार गरे र सुलेमानकै अर्को दाइ अब्शालोमले अम्नोनको हत्या गर्न लगाए। (२ शमू. १३:१, १४, २८, २९) अब्शालोमले दाऊदको सिंहासन हडपे तर उनको यो चाल विफल भयो र योआबद्वारा उनी मारिए। (२ शमू. १५:१०, १४; १८:९, १४) पछि सुलेमानको अर्को दाइ अदोनियाह राजा बन्‍न खोजे। यदि तिनी सफल भएका भए पक्कै पनि तिनले सुलेमानलाई बाँकी छोड्‌ने थिएनन्‌। (१ राजा १:५) यहोवाको मन्दिरको उद्‌घाटनको बेला सुलेमानले प्रार्थनामा भनेको कुरालाई विचार गर्दा तिनले मानिसहरूको दुःख बुझेको हुनुपर्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। आफ्ना प्रजाहरूबारे राजाले यसरी प्रार्थना गरे: ‘तिनीहरूले आफ्नो दुःख वा कष्टमा पछितो गऱ्‍यो भने तपाईं [यहोवाले] त्यसलाई त्यसको कर्मअनुसार प्रतिफल दिनुहोस्‌।’—२ इति. ६:२९, ३०.

१७, १८. परमेश्‍वरका केही सेवकले कस्तो पीडा भोगिरहेका छन्‌ र त्यो सहन तिनीहरूलाई केले मदत गरेको छ?

१७ विगतका केही घटनाले गर्दा अहिले ‘कष्ट’ भोग्नु परिरहेको हुन सक्छ। तीस वर्ष काटिसकेकी मेरी a, जो यहोवाका साक्षी हुन्‌, तिनी लेख्छिन्‌: “मसित खुसी हुनुपर्ने हर कारण छ तर पहिलाको कुरा सम्झँदा लज्जित हुन्छु अनि आफैप्रति घृणा जाग्छ। म एकदमै दुःखी हुन्छु, रुन मन लाग्छ। ती सबै घटनाहरू हिजो मात्र भएका हुन्‌ कि जस्तो लाग्छ। बिर्सनै नसकिने अतीतका ती घटनाहरूले गर्दा म हदैसम्म अयोग्य अनि दोषी महसुस गर्छु।”

१८ परमेश्‍वरका थुप्रै सेवकले यी भावनाहरू बुझ्न सक्छन्‌ तर यी कुराहरू सहन आवश्‍यक बल केले दिन सक्छ? मेरी भन्छिन्‌: “साँचो मित्रहरू अनि आध्यात्मिक परिवारले गर्दा अहिले म खुसी छु। साथै यहोवाले भविष्यका लागि गर्नुभएका प्रतिज्ञाहरूमा ध्यान दिने कोसिस गर्छु अनि मलाई पक्का विश्‍वास छ कि मदतको लागि मैले बगाएका आँसुहरू खुसीको आँसुमा परिणत हुनेछन्‌।” (भज. १२६:५) परमेश्‍वरले आफ्नो छोरा अर्थात्‌ नियुक्‍त शासकको जुन प्रबन्ध मिलाउनुभएको छ, त्यसमा आशा राख्नु आवश्‍यक छ। उहाँबारे यस्तो भविष्यवाणी गरिएको थियो: “कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।” (भज. ७२:१३, १४) यो कुरा कत्ति आश्‍वासनदायी छ!

भरिपूर्ण नयाँ संसार नजिकै

१९, २०. (क) भजन ७२ ले सङ्‌केत गरेझैं परमेश्‍वरको राज्यले कुन-कुन समस्या समाधान गर्नेछ? (ख) ख्रीष्टको शासनको लागि मुख्यतया कसलाई श्रेय जान्छ र त्यसले पूर्ति गर्ने कुराप्रति तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१९ महान्‌ सुलेमानले शासन गर्ने परमेश्‍वरको नयाँ संसारमा धर्मी मानिसहरूको भविष्यलाई एकछिन फेरि कल्पना गर्ने प्रयत्न गर्नुहोस्‌। हामीलाई यस्तो प्रतिज्ञा गरिएको छ: “देशभरि अन्‍न भरिपूर्ण होस्‌, डाँडाका टाकुराहरूमा त्यो लहलह होस्‌।” (भज. ७२:१६, NRV) साधारणतया पहाडका टाकुराहरूमा अन्‍न नफल्ने भएकोले यी शब्दहरूले पृथ्वी कत्तिको उत्पादनशील हुनेछ, त्यो कुरालाई जोड दिन्छ। सुलेमानको शासनकालमा प्रशस्त उत्पादन गर्ने “लबानोन” प्रदेशमा झैं उत्पादन हुनेछ। एकछिन सोच्नुहोस्‌ त! त्यतिबेला कुनै खाद्यान्‍न अभाव हुनेछैन, कसैलाई कुपोषण हुनेछैन अनि कोही पनि भोकमरीको चपेटामा पर्नेछैनन्‌! सबैले “मीठा-मीठा थोकहरू” खान पाउनेछन्‌।—यशै. २५:६-८; ३५:१, २.

२० यी सम्पूर्ण आशिष्‌हरूको श्रेय कसलाई जान्छ? मुख्यतया अनन्त राजा र ब्रह्‍माण्डका शासक यहोवा परमेश्‍वरलाई। वास्तवमा, यो सुन्दर अनि मन छुने भजनको अन्तिम भागमा हामीले पनि आनन्दित भई सोरमा सोर मिलाउन सक्नेछौं: “उसको [अर्थात्‌ राजा येशू ख्रीष्टको] नाउँ सदा रहिरहनेछ। उसको कीर्ति सूर्यझैं निरन्तर रहनेछ। र मानिसहरू उसमा आशीर्वादी हुनेछन्‌। सारा जातिहरूले उसलाई आशीर्वादी भन्‍नेछन्‌। परमप्रभु, इस्राएलका परमेश्‍वर धन्यका होऊन्‌, उहाँले मात्र उदेकको काम गर्नुहुन्छ। उहाँको पराक्रमी नाउँ सदासर्वदै धन्यको होस्‌। सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्‌। आमेन, आमेन।”—भज. ७२:१७-१९. ( w10 -E 08/15)

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

तपाईं के भन्‍नुहुन्छ?

भजन ७२ ले भविष्यसूचक ढङ्‌गमा कुन कुराको पूर्वझलक दियो?

• महान्‌ सुलेमान को हुन्‌ र तिनको शासन कत्तिको व्यापक हुनेछ?

भजन ७२ मा भविष्यवाणी गरिएको कुनचाहिं आशिष्‌ले तपाईंको मन छोयो?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

सुलेमानको शासनकालमा भएको संवृद्धि कुन कुराको पूर्वझलक थियो?

[पृष्ठ ३२-मा भएको चित्र]

महान्‌ सुलेमानले शासन गर्ने प्रमोदवनमा जीवन बिताउनको लागि गरिने हर प्रयास खेर जानेछैन