सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ

उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ

परमेश्‍वरको नजिक हुनुहोस्‌

उहाँले हामीलाई स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ

२ राजा १८:१-७

आमाबाबुले छोराछोरीका लागि राम्रो उदाहरण बसाल्नुपर्छ। आमाबाबुको सकारात्मक प्रभावले छोराछोरीलाई मूल्यवान्‌ गुणहरू विकास गर्न र जीवनमा बुद्धिमानी छनौटहरू गर्न मदत दिन सक्छ। दुःखको कुरा, थुप्रै आमाबाबुले छोराछोरीका लागि राम्रो उदाहरण बसालेका छैनन्‌। के यसको अर्थ यस्ता छोराछोरी सफल हुनै सक्दैनन्‌ भन्‍न खोजिएको हो? यसको जवाफ यी आश्‍वासनदायी सत्य शब्दहरूमा पाउँछौं: यहोवा परमेश्‍वरले हामी प्रत्येकलाई उपहारस्वरूप स्वतन्त्र इच्छा दिएर सम्मान गर्नुभएको छ। अब २ राजा १८:१-७ को विवरणमा पाइने हिजकियाहको परिस्थिति विचार गर्नुहोस्‌।

हिजकियाह “यहूदाका राजा आहाजका छोरा” थिए। (पद १) आहाजले आफ्नो प्रजालाई यहोवाको शुद्ध उपासना गर्नदेखि वञ्चित गराएका थिए। यी दुष्ट राजा बालको उपासना गर्थे र त्यस धार्मिक प्रचलनअनुसार नरबलि दिन्थे। तिनले हिजकियाहका साक्खै भाइ(हरू)लाई पनि बलि चढाएका थिए। आहाजले मन्दिरका ढोकाहरू बन्द गरिदिए र “यरूशलेमका कुना-कुनामा आफ्नो निम्ति वेदीहरू बनाए।” तिनले “परमप्रभुलाई क्रोधित तुल्याए।” (२ इतिहास २८:३, २४, २५) स्पष्ट छ, हिजकियाहका बुबा असाध्यै खराब थिए। तर त्यसो भन्दैमा हिजकियाह आफ्नो बुबाकै पदचिन्हमा हिंड्‌नुपर्छ भन्‍ने थियो र?

हिजकियाहले राजगद्दी सँभालेपछि बुबाको खराब उदाहरणद्वारा आफू प्रभावित नभएको तुरुन्तै देखाइ हाले। हिजकियाहले “परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे।” (पद ३) हिजकियाहले यहोवामा भरोसा गरे। त्यसैले “यहूदाका सबै राजाहरूमध्ये . . . कुनै पनि तिनीजस्ता भएनन्‌।” (पद ५) आफ्नो शासनको पहिलो वर्षमा यी युवा राजाले साँचो उपासनालाई फेरि कायम गर्न सुधारहरू गर्न थाले। फलतः तिनले मूर्तिपूजा गरिने डाँडाका पूजाथानहरू हटाए। मन्दिरका ढोकाहरू फेरि खोलिए र शुद्ध उपासना पुनःस्थापित भयो। (पद ४; २ इतिहास २९:१-३, २७-३१) हिजकियाह “परमप्रभुका भक्‍त भइरहे . . . यसैले परमप्रभु तिनीसँग रहनुभयो।”—पद ६, ७.

हिजकियाहलाई बुबाको खराब उदाहरणको प्रभावबाट जोगिन केले मदत गऱ्‍यो? हामीलाई तिनकी आमाबारे त्यति जानकारी त छैन। तथापि तिनकी आमा अबियाहले पो तिनीमाथि सकारात्मक असर पारेकी थिइन्‌ कि? हिजकियाहको जन्म हुनुअघिदेखि नै अगमवक्‍ताको रूपमा आफ्नो सेवा सुरु गरेका यशैयाको राम्रो उदाहरणको प्रभाव यी युवा राजकुमारमाथि परेको थियो कि? a यसबारे बाइबलमा कुनै खास जवाफ दिइएको छैन। जेसुकै होस्‌, एउटा कुरा भने पक्का छ: हिजकियाह र तिनका बुबाको जीवनशैलीमा आकाश-जमिनको भिन्‍नता थियो।

आमाबाबुको खराब उदाहरणले गर्दा कष्टकर बाल्यकाल बिताउनु परेका जो-कसैका लागि हिजकियाहको उदाहरण प्रोत्साहनदायी छ। विगतलाई बदल्न सकिंदैन; हो विगतमा भोगेका पीडादायी अनुभवहरूलाई हामी बिर्सन सक्दैनौं। तर त्यस्ता अनुभवहरूले गर्दा हारेको महसुस गर्नु आवश्‍यक छैन। अहिले वर्तमानमा हामीले गर्ने छनौटले हाम्रो भविष्य आनन्दित हुन सक्छ। हिजकियाहले जस्तै हामीले पनि साँचो परमेश्‍वर यहोवालाई प्रेम गर्ने र उहाँको उपासना गर्ने छनौट गर्न सक्छौं। त्यस्तो छनौटले अहिल्यै सन्तोषजनक जीवन बिताउन सक्छौं र परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन पाउन सक्छौं। (२ पत्रुस ३:१३; प्रकाश २१:३, ४) हामी प्रत्येकलाई स्वतन्त्र इच्छाको बहुमूल्य उपहार दिएर सम्मान गर्नुहुने मायालु परमेश्‍वरप्रति हामी धेरै आभारी छौं। ( w10 -E 09/1)

[फुटनोट]

a यशैयाले ईसा पूर्व ७७८ देखि ईसा पूर्व ७३२ पछिसम्म पनि अगमवक्‍ताको रूपमा सेवा गरेका थिए। हिजकियाहले भने ईसा पूर्व ७४५ देखि शासन सुरु गरे र त्यतिखेर तिनी २५ वर्षका थिए।