सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवामा भरोसा गर—उहाँले साँच्चै मदत गर्नुहुनेछ

यहोवामा भरोसा गर—उहाँले साँच्चै मदत गर्नुहुनेछ

यहोवामा भरोसा गर—उहाँले साँच्चै मदत गर्नुहुनेछ

एडमन्ड श्‍मीटको वृत्तान्तमा आधारित

सन्‌ १९४३ को अक्टोबरमा न्यु योर्क सहरको एउटा अदालतमा हाजिर हुन जान लाग्दा मैले माथिको सल्लाह सम्झें। म २५ वर्षको हुँदासम्म ख्रीष्टियन तटस्थताको कारण झन्डै चार वर्ष जेलमा बिताइसकेको थिएँ। येशूका सुरुसुरुका चेलाहरूले जस्तै मैले पनि ‘मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍ने’ संकल्प गरिसकेको थिएँ। (प्रेषित ५:२९) तर यसबारे बताउनुअघि परमेश्‍वरमा मेरो विश्‍वास कसरी यत्तिको बलियो भयो भनेर म तपाईंहरूलाई बताउन चाहन्छु।

मेरो जन्म अप्रिल २३, १९२२ मा संयुक्‍त राज्य अमेरिकाको ओहायो राज्यको क्लिभल्याण्ड भन्‍ने ठाउँमा भएको थियो। हामी बस्ने कोठाको तल्लो तलामा मेरो बुबा केक, पाउरोटी आदि बनाएर बेच्ने गर्नुहुन्थ्यो। म चार महिनाको छँदा मेरो बुबा एडमन्ड हाम्रो घरबाट झन्डै १६० किलोमिटर टाढा सान्डस्की नजिकै सिडार प्वाइन्टमा बाइबल स्टुडेन्ट्‌सद्वारा (त्यतिबेला यहोवाका साक्षीहरू यो नामले चिनिन्थे) आयोजित अधिवेशनमा जानुभयो।

त्यस अधिवेशनमा उपस्थित भएकाहरूलाई “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌” भनेर प्रोत्साहन दिइयो। त्यसपछिको आइतबारदेखि बुबाले त्यस काममा भाग लिन थाल्नुभयो र जुलाई ४, १९८८ मा आफ्नो मृत्यु नहोउन्जेल ६६ वर्षसम्म त्यो काम गरिनै रहनुभयो। मेरी आमा परमेश्‍वरप्रति अन्तसम्मै विश्‍वासी भई १९८१ मा बित्नुभयो। उहाँको नाम मेरी थियो।

आमाबाबु सँगसँगै उपासनामा भाग लिएँ

हाम्रो परिवार क्लिभल्याण्डमा पोलिश भाषाको मण्डलीमा जान्थ्यो। शनिबार दिउँसो हामी थुप्रै केटाकेटीहरू अन्य वयस्कहरू सँगसँगै घर-घरमा सुसमाचार सुनाउन जान्थ्यौं। आइतबारको दिन हाम्रा आमाबाबुहरू हाम्रो सभा हुने ठाउँको मुख्य कक्षमा बाइबलआधारित भाषण सुन्‍नुहुन्थ्यो। त्यतिबेला एक अनुभवी बाइबल शिक्षकले हामी झन्डै ३० जना केटाकेटीसित भने परमेश्‍वरको वीणा a (अङ्‌ग्रेजी) भन्‍ने बाइबल अध्ययन सहायक चलाएर बाइबल अध्ययन सञ्चालन गर्थे। चाँडै म आफैले बाइबल अध्ययनहरू सञ्चालन गर्न थालें र नतिजा पनि राम्रो भयो।

सन्‌ १९३१ जुलाईमा बाइबल स्टुडेन्ट्‌सको अर्को अधिवेशन धाउन यसपालि भने हामी सपरिवार झन्डै १६० किलोमिटर दक्षिणमा कोलम्बस गयौं। यतिबेलासम्म मेरो भाइ फ्रान्क पनि जन्मिसकेको थियो। यही अधिवेशनमा बाइबल स्टुडेन्ट्‌सले यहोवाका साक्षीहरू भन्‍ने बाइबलआधारित नाम राजीखुसीले ग्रहण गरे। (यशैया ४३:१०-१२) सोही अवसरमा मैले सार्वजनिक प्रचारकार्यमा भाग लिएँ र त्यतिबेला यहोवाका साक्षीहरूको कार्यमा अगुवाइ लिइरहेका जे. एफ. रदरफोर्डको भाषण सुन्‍न मानिसहरूलाई निमन्त्रणा दिएँ। त्यसबेलादेखि यता ७९ वर्षभन्दा धेरै समय बितिसकेको छ र अझै पनि मेरो जीवन यहोवाका जनहरूसँगै उहाँको सेवा गर्नुमै केन्द्रित रहेको छ।

कठिन समय र इनामदायी क्षेत्र सेवा

सन्‌ १९३३ सम्ममा संसार महामन्दीको चपेटामा परिसकेको थियो। अमेरिकामा एक करोड पचास लाख भन्दा धेरै अर्थात्‌ दक्ष जनशक्‍तिको एक चौथाइ बेराजगार थिए। सहरहरू टाट पल्टिए र गरिबहरूको लागि सामाजिक सुरक्षाको कुनै व्यवस्था थिएन। तर हाम्रा ख्रीष्टियन भाइबहिनीहरूले एकअर्कालाई मदत गरे। हरेक आइतबार हाम्रो परिवारले अरूलाई दिन भनेर पाउरोटी र केकहरू बनाएर सभा हुने ठाउँमा लैजान्थ्यो। तिनुपर्ने सबै ठाउँमा तिरिसकेपछि महिनाको अन्तमा केही पैसा बाँकी भएमा मेरो बुबाले त्यो पैसा न्यु योर्कको ब्रूक्लिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा पठाउनुहुन्थ्यो। त्यो पैसा बाइबल साहित्यहरू छाप्नको लागि प्रयोग गरिन्छ भनेर उहाँलाई थाह थियो।

त्यतिबेला हाम्रो प्रचारकार्यमा रेडियो प्रसारणको महत्त्वपूर्ण भूमिका थियो। हाम्रा अधिवेशनहरूमा दिइएका भाषणहरू ४०० भन्दा धेरै स्टेसनहरूले प्रसारण गरे। सन्‌ १९३० को दशकमा साक्षीहरूले ब्रूक्लिनस्थित आफ्नै फ्याक्ट्रीमा फोनोग्राफ र रेकर्डहरू उत्पादन गरे। ती हामीले प्रचारकार्यमा चलाउँथ्यौं र गैर-साक्षीहरूलाई कति चोटि बाइबल भाषणहरू सुनायौं र कति जनाले सुने, त्यो हामी रिपोर्ट गर्थ्यौं।

सन्‌ १९३३ मा जर्मनीमा अडोल्फ हिटलर र नाजी पार्टी सत्तामा आयो। त्यहाँ यहोवाका साक्षीहरूले ख्रीष्टियन तटस्थताको कारण भीषण सतावट भोग्नुपऱ्‍यो। (यूहन्‍ना १५:१९; १७:१४) राजनैतिक गतिविधिमा भाग लिन वा हिटलरको जय होस्‌ भन्‍न इन्कार गरेकोले जर्मनीमा थुप्रै साक्षीहरूलाई झ्यालखाना वा यातना शिविरहरूमा पठाइयो। थुप्रैलाई झुन्ड्याइयो भने अरू कतिपयलाई काममा यति धेरै दलाइयो कि यसैले गर्दा तिनीहरू मरे। यस्तो निर्मम व्यवहारको कारण अरू थुप्रै भने कैदबाट मुक्‍त भएको केही समयपछि नै मरे। तर संयुक्‍त राज्य अमेरिकालगायत अन्य देशका यहोवाका साक्षीहरूले भोगेको दुर्व्यवहारबारे भने धेरैलाई थाह छैन।

सन्‌ १९४० मा हामी अधिवेशनको लागि डिटरोइट, मिशिगन गयौं। यहोवालाई आफ्नो जीवन समर्पण गरेको प्रतीकस्वरूप मैले जुलाई २८ को दिन त्यहीं नै बप्तिस्मा गरें। त्यस अधिवेशनको एक महिनाअघि संयुक्‍त राज्य अमेरिकाको सर्वोच्च अदालतले झन्डा सलामी गर्न नमान्‍नु राज्यविरुद्ध अपराध हो र त्यस्ता विद्यार्थीहरूलाई सजायस्वरूप स्कूलबाट निष्कासन गर्न सकिन्छ भनेर फैसला सुनाएको थियो। यो फैसलापछि साक्षीहरूले के गरे? थुप्रैले आफ्ना छोराछोरीलाई शिक्षा दिन आफैले स्कूलहरू सञ्चालन गर्न थाले। यस्ता स्कूलहरूलाई राज्य स्कूल भनिन्थ्यो।

सन्‌ १९३९ सेप्टेम्बरमा युरोपमा दोस्रो विश्‍वयुद्ध सुरु भएको थियो र त्यो युद्धले गर्दा अमेरिकामा पनि राष्ट्रवादको लहर छायो। हाम्रो तटस्थताबारे नबुझेका जवान र वयस्कहरूले जवान साक्षीहरूलाई दुर्व्यवहार गरे र पिटे। रिपोर्टहरूअनुसार सन्‌ १९४० देखि सन्‌ १९४४ बीच अमेरिकामा रहेका यहोवाका साक्षीहरूले २,५०० भन्दा धेरै हिंसात्मक हुलदङ्‌गाको सामना गर्नुपऱ्‍यो। डिसेम्बर ७, १९४१ मा जापानीहरूले पर्ल हार्बरमा आक्रमण गरेपछि सतावट झनै चर्कियो। त्यसको केही हप्ताअघि मैले यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक अर्थात्‌ अग्रगामीको रूपमा सेवा गर्न थालेको थिएँ। मैले पैसा बचाएर एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने ७ मिटरको गाडी-घर किनें र हामीमध्ये केही लुइजियानामा सेवा गर्न त्यहाँ सऱ्‍यौं।

दक्षिणी इलाकामा सतावट

स्थानीय बासिन्दाहरूले हामीलाई हाम्रो गाडी-घर जेनरेट सहर नजिकै रहेको ओखरको बगैंचामा राख्न अनुमति दिए। शनिबारको दिन हामीले सडकमा सार्वजनिक प्रचारकार्य गर्ने निर्णय गऱ्‍यौं तर प्रहरी प्रमुखले आफ्ना मानिसहरू पठाएर हामीलाई पक्रे अनि कैदीको रूपमा नगरपालिका लगे। झन्डै २०० जनाको भीड त्यहाँ जम्मा भएको थियो र कुनै सुरक्षाविना प्रहरीले हामीलाई तिनीहरू भएको ठाउँमा पठाइदियो। तर खुसीको कुरा, भीडले हामीलाई केही नगरी जान दियो। हामीमाथि भएको घटनाबारे सँगी साक्षीहरूलाई बताउन भोलिपल्ट हामी नजिकैको ठूलो सहर बेटन रूज गयौं।

हामी जेनरेट फर्किंदा हाम्रो गाडी-घरको ढोकामा यस्तो लेखिएको कागज टाँसिएको थियो: “कृपया मलाई तेलको कुवामा काम गर्नेहरू बस्ने शिविरमा भेट्‌न आउनुहोला।” त्यसको तलपट्टि “इ. एम. भन” भनी हस्ताक्षर गरिएको थियो। हामीले भनलाई भेट्टायौं र तिनले हामीलाई आफू र आफ्नी पत्नीसँगै खाना खान निम्तो दिए। शनिबार जम्मा भएको भीडमा तिनी र तिनका मानिसहरू पनि थिए र परेको खण्डमा तिनले हामीलाई भीडबाट बचाउने थिए भनेर हामीलाई बताए। हामीले तिनको प्रोत्साहन र समर्थनको लागि आभार व्यक्‍त गऱ्‍यौं।

भोलिपल्ट बन्दुक बोकेका प्रहरी अधिकृतहरूले हामीलाई पक्रे र हाम्रो साहित्यहरू जफत गरे। तिनीहरूले हाम्रो गाडी-घरको साँचो लिए र मलाई भोकभोकै १७ दिनसम्म एक्लै थुने। भनले हामीलाई मदत गर्न प्रयास गरे तर खासै सफल भएनन्‌। हामी थुनामा छँदा भीडले हाम्रो सामान लुटे र बाँकी अरू सामान गाडी-घरसहित जलाइदिए। त्यतिबेला यहोवाले मलाई आउन लागेका थप समस्याहरूको लागि तयार पार्दै हुनुहुन्छ भनेर मैले यादै गरेको थिइनँ।

उत्तरी इलाकाको कैदमा

उत्तरी इलाकामा फर्केको एक महिनापछि मलाई विशेष अग्रगामी नियुक्‍त गरियो र अरू साक्षीहरूसँगै न्यु योर्कको ओलियन भन्‍ने ठाउँमा सेवा गर्न थालें। त्यहाँ छँदा सरकारी नियमअनुसार मैले सैन्य सेवाको लागि नाम दर्ता गराउनुपर्ने भयो अनि मैले धार्मिक सिद्धान्तको खातिर सैन्य सेवामा भाग लिन नसक्ने व्यक्‍ति भनेर मान्यता पाएँ। तर शारीरिक र मानसिक जाँच पास गरेपछि मेरो कागजातमा “अधिकृत प्रशिक्षण प्रतिष्ठानका लागि योग्य” भन्‍ने छाप लगाइयो।

त्यसपछि झन्डै एक वर्ष म अग्रगामी सेवामा लागिरहन सकें। तर सन्‌ १९४३ मा मैले अग्रगामी सेवा छोडेर सैन्य प्रशिक्षणको लागि हाजिर हुन इन्कार गरेकोले संघीय जाँच आयोगले (एफबीआई) मलाई गिरफ्तार गऱ्‍यो र पुर्पक्षको लागि अर्को हप्ता न्यु योर्कको सिराक्युजस्थित संघीय अदालतमा हाजिर हुन भन्यो। मेरो अभियोग दर्ता गरियो र दुई दिनपछि मेरो पुर्पक्ष हुने भयो।

मेरो पक्षमा म आफैले वकालत गरें। ख्रीष्टियन सभाहरूमा हामी जवान साक्षीहरूलाई अदालतमा आफ्नो संवैधानिक अधिकारको बचाउ कसरी गर्ने र त्यहाँ कस्तो व्यवहार गर्ने, सो सिकाइन्थ्यो। यस लेखको सुरुमा दिइएको सल्लाह मैले राम्ररी सम्झेको थिएँ। केही अभियोक्‍ताहरूले साक्षीहरूलाई कानुनबारे तिनीहरूलाई भन्दा धेरै थाह छ भनेर समेत भन्थे! तर कचहरीले मलाई दोषी ठहऱ्‍यायो। न्यायधीशले मलाई अझै केही भन्‍नु छ कि भनेर सोध्दा मैले केवल यस्तो जवाफ दिएँ: “परमेश्‍वरको सेवा गर्ने व्यक्‍तिलाई यस देशले कस्तो व्यवहार गर्छ भन्‍ने मामिलामा परमेश्‍वरसामु यो देशको आज पुर्पक्ष भएको छ।”

मैले ओहायोको चिलिकोथमा रहेको संघीय जेलमा चार वर्षको जेल सजाय पाएँ। त्यहाँ मलाई झ्यालखानाको एक जना अधिकृतको सचिवको रूपमा काम गर्न खटाइयो। केही हप्तापछि वासिङ्‌टन डी. सी.-बाट एक जना विशेष अनुसन्धानकर्ता हाम्रो अफिसमा आए र तिनले हेडन कभिङ्‌टनको विषयमा छानबिन गरिरहेको कुरा बताए। हेडन यहोवाका साक्षीहरूको वकिल थिए र अमेरिकाको सबैभन्दा राम्रा सविंधानसम्बन्धी कानुनविद्‌हरूमध्ये एक भनेर चर्चित थिए।

ती अनुसन्धानकर्ताले आफूलाई दुई कैदी—ड्यानी हर्टाडो र एडमन्ड श्‍मीटको सबै फाइल चाहिएको कुरा बताए। मेरो हाकिमले जवाफमा यस्तो भने, “कस्तो संयोग, श्‍मीट उही त हो नि।” तिनी गोप्य काममा आएका थिए तर हामीलाई तिनको सबै योजना थाह भएको तिनले अकस्मात्‌ चाल पाए। त्यसको केही समयपछि नै मलाई भान्छामा सरुवा गरियो।

अग्रगामी सेवा, बेथेल सेवा र विवाह

सेप्टेम्बर २६, १९४६ मा मलाई जमानीमा रिहा गरियो र मैले क्यालिफोर्नियाको हाइल्याण्ड पार्क मण्डलीमा फेरि अग्रगामी सेवा सुरु गरें। पछि सेप्टेम्बर १९४८ मा धेरै समयअघिदेखि राखेको मेरो लक्ष्य पूरा भयो। ब्रूक्लिनमा रहेको मुख्यालयमा (बेथेल) केक, पाउरोटी आदि बनाउने कामको लागि मलाई बोलाइयो। विश्‍वव्यापी प्रचारकार्यको लागि चाहिने बाइबल साहित्यहरू यहीं छापिन्थ्यो। ग्लेनडेलको एउटा रेष्टुराँमा केक बनाउने सेफको जागिर तुरुन्तै छोडेर म बेथेल गएँ।

सात वर्षपछि सन्‌ १९५५ मा युरोपमा थुप्रै अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजना गरिए। मेरो परिवारले मलाई अधिवेशन जान चाहिने खर्च दियो। मैले लन्डन, पेरिस, रोम र विशेषगरि जर्मनीको न्युरेमबर्गमा भएका अधिवेशनहरूबाट आनन्द उठाएँ। कुनै समय हिटलरले आफ्नो सैन्य शक्‍ति प्रदर्शन गरेको न्युरेमबर्गको विशाल रंगशालामा १,०७,००० भन्दा धेरै जम्मा भएका थिए। हिटलरले पूरै नामेट गरिदिने वाचा गरेका कतिपय साक्षीहरू पनि त्यहाँ उपस्थित थिए। तिनीहरूको साथमा हुन पाउनु कस्तो रोमाञ्चकारी अनुभव थियो!

न्युरेमबर्ग अधिवेशनमा मैले जर्मनीकी एक जवान साक्षी ब्रिजेट गर्वेनलाई भेटें र तिनीसित मेरो मायाप्रीति बस्यो। त्यसको एक वर्ष नबित्दै हामीले विवाह गऱ्‍यौं र ग्लेनडेल फर्केर मेरो आमाबाबुको नजिकै बस्न थाल्यौं। हाम्रो जेठो छोरा टमको १९५७ मा, माइलो छोरा डनको १९५८ मा र छोरी साबेनाको १९६० मा जन्म भयो।

पूर्ण र सन्तोषजनक जीवन

परमेश्‍वरको सेवा गर्दा हुलदङ्‌गा र कैद सजाय भोग्नुपरेकोमा के म कहिल्यै पछुताएँ भनेर कोही-कोहीले मलाई सोधेका छन्‌। बरु, यहोवाका अन्य थुप्रै वफादार जनहरूसँगै मैले पनि सेवा गर्ने सुअवसर पाएकोमा म उहाँलाई धन्यवाद दिन्छु। अनि मेरो अनुभवले अरूलाई यहोवाको अझ नजिक हुन र उहाँलाई कहिल्यै नत्याग्न प्रोत्साहन दिनेछ भनी म आशा गर्छु।

परमेश्‍वरका थुप्रै सेवकहरूले उहाँको सेवा गरेकोले अकल्पनीय दुःखहरू भोगेका छन्‌। तर के हामीलाई यस्तै हुन्छ भनेर बताइएको छैन र? बाइबल भन्छ, “ख्रीष्ट येशूको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।” (२ तिमोथी ३:१२) तैपनि भजन ३४:१९ का शब्दहरू कत्ति साँचो साबित भएका छन्‌: “धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ”! (w10-E 09/01)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिंदैन।

[पृष्ठ १९-मा भएको चित्र]

सन्‌ १९४० को दशकको सुरुतिर लुइजियानामा प्रचार गर्दै

[पृष्ठ २१-मा भएको चित्र]

मुख्यालयमा काम गर्नेहरूका लागि केक बनाउँदै

[पृष्ठ २१-मा भएको चित्र]

मेरी श्रीमती ब्रिजेटसित