सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जोडतोडले यहोवाको आशिष्‌ खोज्नुहोस्‌

जोडतोडले यहोवाको आशिष्‌ खोज्नुहोस्‌

जोडतोडले यहोवाको आशिष्‌ खोज्नुहोस्‌

“उहाँलाई खोज्नेहरूलाई [ परमेश्‍वर] प्रतिफल दिनुहुन्छ।”—हिब्रू ११:६.

१, २. (क) थुप्रै मानिस परमेश्‍वरको आशिष्‌ पाउन के गर्छन्‌? (ख) विशेषगरि हामीलाई किन यहोवाको आशिष्‌ चाहिन्छ?

 थुप्रै मानिसले धनसम्पत्ति, घर-जग्गा, गाडी इत्यादि हुनुलाई भगवान्‌कै आशिष्‌ ठान्छन्‌। धर्मगुरुहरूले मानिस, पशु अनि निर्जीव वस्तुलाई आशिष्‌ दिने गरेको पाइन्छ। पर्यटकहरू आशिष्‌ पाउने आसमा तीर्थस्थलहरू धाउने गर्छन्‌। आफ्नो देशको लागि राजनीतिज्ञहरूले बारम्बार भगवान्‌सित आशिष्‌ माग्ने गर्छन्‌। के तपाईंलाई त्यसरी आशिष्‌ माग्नु उचित जस्तो लाग्छ? के त्यस्तो बिन्ती प्रभावकारी होला? वास्तवमा कसले परमेश्‍वरको आशिष्‌ पाउँछन्‌ र किन?

अन्तिम दिनमा जाति-जातिबाट निस्केर आउने स्वच्छ र शान्तिप्रिय मानिसहरूले घृणा र विरोधको बाबजुद सारा संसारमा राज्यको सुसमाचार प्रचार गर्नेछन्‌ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (यशै. २:२-४; मत्ती २४:१४; प्रका. ७:९, १४) हामी ज-जसले परमेश्‍वरको जन हुने जिम्मेवारी स्वीकारेका छौं, हामीलाई परमेश्‍वरको आशिष्‌ चाहिन्छ र यस्तो आशिष्‌ हामीलाई आवश्‍यक पनि छ किनभने उहाँको आशिष्‌विना हामी कहिल्यै सफल हुन सक्दैनौं। (भज. १२७:१) तर हामी कसरी परमेश्‍वरको आशिष्‌ पाउन सक्छौं?

आज्ञाकारीहरूलाई आशिष्‌ लाग्नेछ

३. आज्ञाकारी भएको खण्डमा इस्राएलीहरूले के पाउने थिए?

हितोपदेश १०:६, ७ पढ्‌नुहोस्‌। यहोवाको वचन पालन गरेको खण्डमा इस्राएलीहरूले उल्लेखनीय समृद्धि र सुरक्षा अनुभव गर्न पाउनेछन्‌ भनेर उहाँले तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा पस्नै लाग्दा बताउनुभयो। (व्यव. २८:१, २) यहोवाको आज्ञा पालन गर्दा उहाँका जनहरूलाई आशिष्‌ ‘लाग्नेथियो।’ हो, ती आज्ञाकारीहरूले पक्कै उहाँको आशिष्‌ पाउने थिए।

४. साँचो आज्ञाकारितामा के-के समावेश छ?

इस्राएलीहरू कस्तो मनोवृत्ति राखेर आज्ञाकारी हुनुपर्थ्यो? आफ्ना जनहरूले “खुशीसँग प्रशन्‍नचित्तले” सेवा गरेनन्‌ भने परमेश्‍वर खुसी हुनुहुनेथिएन भनेर उहाँको व्यवस्थामा लेखिएको थियो। ( व्यवस्था २८:४५-४७ पढ्‌नुहोस्‌) कर्तव्यबोधले मात्र नियम पालन गरेको यहोवा चाहनुहुन्‍न किनभने त्यस्तो आज्ञाकारिता त पशु वा दुष्ट स्वर्गदूतहरूले पनि देखाउन सक्छन्‌। (मर्कू. १:२७; याकू. ३:३) साँचो आज्ञाकारिता परमेश्‍वरप्रतिको प्रेमको अभिव्यक्‍ति हो। यहोवाका आज्ञाहरू बोझिला छैनन्‌ र जोडतोडले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्‍ने विश्‍वास गरेर साँचो आज्ञाकारिता देखाउँदा त्यसमा आनन्द झल्किन्छ।—हिब्रू ११:६; १ यूह. ५:३.

५. यहोवाको प्रतिज्ञामा भरोसा गर्ने व्यक्‍तिलाई व्यवस्था १५:७, ८ मा दिइएको नियम पालन गर्न कसरी मदत पुग्थ्यो?

व्यवस्था १५:७, ८ मा ( पढ्‌नुहोस्‌) दिइएको नियम पालन गरेर साँचो आज्ञाकारिता देखाउँदा प्रतिफल पाइन्छ भनी विश्‍वास गरेको कसरी देखिन्थ्यो, विचार गर्नुहोस्‌। मन नलागी नलागी त्यो नियम पालन गर्दा गरिबले केही हदसम्म राहत त पाउन सक्थ्यो तर के त्यसले परमेश्‍वरका जनहरूबीच असल सम्बन्ध र सद्‌भाव कायम गर्न योगदान पुऱ्‍याउँथ्यो होला र? सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्ना सेवकहरूको लागि यहोवाले प्रबन्ध मिलाउन सक्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गरेको र उहाँको उदारताको अनुकरण गर्ने मौका पाएकोमा कृतज्ञता देखाएको झल्किन्थ्यो र? अहँ, पटक्कै झल्किंदैनथ्यो! परमेश्‍वरले साँच्चै उदार व्यक्‍तिको मनको अवस्था याद गर्नुहुन्थ्यो अनि तिनको सबै काममा र तिनले हात हाल्ने हरेक काममा उहाँले आशिष्‌ दिने प्रतिज्ञा गर्नुभएको थियो। (व्यव. १५:१०) त्यस प्रतिज्ञामा विश्‍वास गरेको कामद्वारा देखाउनुपर्नेथियो जसले गर्दा थुप्रै आशिष्‌ मिल्नेथियो।—हितो. २८:२०.

६. हिब्रू ११:६ ले हामीलाई कुन कुरामा विश्‍वस्त पार्नुपर्ने हो?

हिब्रू ११:६ ले यहोवालाई प्रतिफल दिनुहुने परमेश्‍वरको रूपमा विश्‍वास गर्नुपर्छ भनेर बताउँछ। अनि यस पदले परमेश्‍वरको आशिष्‌ पाउन आवश्‍यक अर्को गुणबारे पनि प्रकाश पार्छ। याद गर्नुहोस्‌, उक्‍त पदमा यहोवाले “उहाँलाई खोज्नेहरूलाई” प्रतिफल दिनुहुन्छ भनी बताइएको छ। तर मौलिक भाषामा भने जोडतोडले खोज्नु भन्‍ने अर्थ लाग्ने शब्द प्रयोग गरिएको छ, जसले उत्कटता अनि एकाग्र प्रयासलाई बुझाउँछ। उक्‍त पदले हामीलाई साँच्चै ढुक्क बनाउनुपर्ने हो किनभने उत्कट प्रयास गरेको खण्डमा हामीले उहाँको आशिष्‌ पाउनेछौं! आशिष्‌को स्रोत “कहिल्यै झूट नबोल्नुहुने” एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ। (ती. १:२) आफूले प्रतिज्ञा गरेको कुरा पूर्णतया भरोसायोग्य भएको उहाँले हजारौं वर्षदेखि देखाउँदै आउनुभएको छ। उहाँको वचन कहिल्यै असफल हुँदैन, त्यो सधैं सफल हुन्छ। (यशै. ५५:११) त्यसैले साँचो विश्‍वास देखायौं भने उहाँले हामीलाई प्रतिफल दिनुहुनेछ भन्‍ने कुरामा पूर्णतया विश्‍वस्त हुन सक्छौं।

७. अब्राहामको “सन्तान”-मार्फत हामी कसरी आशिष्‌ पाउन सक्छौं?

येशू ख्रीष्ट, अब्राहामको “सन्तान”-को मुख्य भाग साबित हुनुभयो। भविष्यवाणी गरिएको “सन्तान”-को दोश्रो भाग अभिषिक्‍त ख्रीष्टियानहरू मिलेर बनेको छ। अनि ‘अन्धकारबाट उहाँको गजबको ज्योतिमा बोलाउनेको सर्वश्रेष्ठता’ चारैतिर घोषणा गर्न तिनीहरूलाई खटाइएको छ। (गला. ३:७-९, १४, १६, २६-२९; १ पत्रु. २:९) येशूले आफ्नो सम्पत्तिको हेरचाह गर्न नियुक्‍त गर्नुभएका अभिषिक्‍त ख्रीष्टियानहरूलाई हामीले बेवास्ता गऱ्‍यौं भने यहोवासित राम्रो सम्बन्ध राख्ने आशा गर्न सक्दैनौं। “विश्‍वासी र बुद्धिमान्‌ दास”-को सहयोगविना हामीले परमेश्‍वरको वचनबाट पढेको कुराको पूरा अर्थ बुझ्न र त्यो कसरी लागू गर्ने भनेर थाह पाउन सक्दैनौं। (मत्ती २४:४५-४७) बाइबलबाट सिकेका कुरा व्यवहारमा लागू गरेर हामी परमेश्‍वरको आशिष्‌ पाउन सक्छौं।

परमेश्‍वरको इच्छामा ध्यानकेन्द्रित गरिरहनुहोस्‌

८, ९. कुलपिता याकूबले आफ्नो बिन्तीअनुरूपै कस्तो प्रयास गरे?

परमेश्‍वरको आशिष्‌ पाउन कडा प्रयास गर्ने सन्दर्भमा तपाईंलाई कुलपिता याकूबको याद आउँछ होला। परमेश्‍वरले अब्राहामलाई गर्नुभएको प्रतिज्ञा कसरी पूरा हुनेछ भनेर तिनलाई थाह थिएन तर यहोवाले तिनको हजुरबुबाको सन्तानको वृद्धि गर्नुहुनेछ र त्यस सन्तानबाट पछि एउटा ठूलो राष्ट्र बन्‍नेछ भनेर तिनी विश्‍वास गर्थे। त्यसैले ईसापूर्व १७८१ मा आफ्नो लागि पत्नी खोज्न याकूब हारान गए। तिनी आफूलाई मनपर्ने साथी मात्र होइन बरु आध्यात्मिक कुराको मोल गर्ने यहोवाको उपासक भेट्टाउन चाहन्थे, जो तिनका भावी छोराछोरीको राम्रो हेरविचार गर्न सक्ने आमा बन्‍ने थिइन्‌।

हामीलाई थाह छ, याकूबले आफ्नो नातेदार राहेललाई भेटे। तिनले राहेललाई मन पराउन थाले र उनलाई आफ्नो पत्नी बनाउन उनको बुबा लाबानको लागि सात वर्ष काम गर्न राजी भए। यो सम्झन लायकको एउटा रोमान्टिक कथा मात्र होइन। सर्वशक्‍तिमान्‌ परमेश्‍वरले आफ्नो हजुरबुबा अब्राहामलाई गरेको प्रतिज्ञा र पछि आफ्नो बुबा इसहाकलाई त्यही प्रतिज्ञा दोहोऱ्‍याएको याकूबलाई पक्कै थाह थियो। (उत्प. १८:१८; २२:१७, १८; २६:३-५, २४, २५) पछि इसहाकले पनि आफ्नो छोरा याकूबलाई यसो भने: “सर्वशक्‍तिमान परमेश्‍वरले तँलाई आशिष दिऊन्‌, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्‌, र तँ जातिहरूका एक समुदाय भएस्‌। परमेश्‍वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहामले पाउनुभएको आशिष दिऊन्‌, र तँ प्रवासी भएको यस देशमा, जो परमेश्‍वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्‌।” (उत्प. २८:३, ४) त्यसकारण याकूबले उचित पत्नी भेट्टाउन र परिवार बनाउन गरेको प्रयासबाट तिनी यहोवाले भनेको कुरामा विश्‍वस्त थिए भनेर देखियो।

१०. याकूबलाई आशिष्‌ दिन यहोवा किन खुसी हुनुभयो?

१० याकूबले आफ्नो परिवारको लागि धनसम्पत्ति जोरजाम गर्न खोजेनन्‌। तिनको ध्यान, आफ्नो सन्तानबारे यहोवाले गर्नुभएको प्रतिज्ञामा थियो। यहोवाको इच्छा कसरी पूरा हुन्छ भन्‍ने विषयमा तिनको ध्यानकेन्द्रित थियो। बाधा-बिघ्नको बाबजुद परमेश्‍वरको आशिष्‌ पाउन याकूब आफ्नो बल-बर्कतले भ्याएजति गर्न कटिबद्ध थिए। बुढेसकालसम्मै तिनले यस्तो मनोवृत्ति कायम राखे र यसो गरेकोले यहोवाले तिनलाई आशिष्‌ दिनुभयो।— उत्पत्ति ३२:२४-२९ पढ्‌नुहोस्‌।

११. परमेश्‍वरले आफ्नो वचनमा प्रकट गर्नुभएको इच्छाबमोजिम हामीले कस्तो प्रयास गर्नुपर्छ?

११ याकूबलाई जस्तै हामीलाई पनि यहोवाको उद्देश्‍य कसरी पूरा हुनेछ भनेर विस्तृत तवरमा त थाह छैन। तथापि, परमेश्‍वरको वचन अध्ययन गरेर “प्रभुको दिन”-बारे मोटामोटी रूपमा थाह पाउनचाहिं सक्छौं। (२ पत्रु. ३:१०, १७) उदाहरणको लागि, त्यो दिन ठ्याक्कै कहिले आउनेछ भनेर हामीलाई थाह छैन तर त्यो दिन नजिकै छ भनेर हामीलाई थाह छ। अहिले बाँकी रहेको थोरै समयमा विस्तृत साक्षी दिंदा हामीले आफू र आफ्नो कुरा सुन्‍नेलाई समेत उद्धार गरिरहेका हुनेछौं भन्‍ने परमेश्‍वरको वचनमा हामी विश्‍वास गर्छौं।—१ तिमो. ४:१६.

१२. हामी कुन कुरामा पक्का हुन सक्छौं?

१२ कुनै पनि बेला अन्त आउन सक्छ भनेर हामीले बुझेका छौं। पृथ्वीमा भएका प्रत्येक व्यक्‍तिलाई साक्षी नदिएसम्म यहोवाले पर्खनुहुन्छ भन्‍ने होइन। (मत्ती १०:२३) प्रभावकारी तरिकामा प्रचार गर्न हामीले राम्रो निर्देशन पाएका छौं। आफूसँग भएको स्रोतसाधन प्रयोग गर्दै हामी पूर्ण विश्‍वस्त भएर प्रचारकार्यमा यथाशक्य भाग लिन्छौं। के हामीले प्रचार गर्ने इलाका सधैं फलदायी हुन्छ र? फलदायी हुने वा नहुने हामी कसरी पहिल्यै थाह पाउन सक्छौं र? ( उपदेशक ११:५, ६ पढ्‌नुहोस्‌) हाम्रो काम भनेको यहोवाले हामीलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरामा भरोसा राख्दै प्रचार गर्नु हो। (१ कोरि. ३:६, ७) हामीले गरेको कडा मेहनत उहाँले याद गर्नुहुन्छ र आफ्नो पवित्र आत्मामार्फत हामीलाई आवश्‍यक निर्देशन दिनुहुनेछ भनेर पक्का हुन सक्छौं।—भज. ३२:८.

पवित्र आत्मा खोजिरहनुहोस्‌

१३, १४. परमेश्‍वरको पवित्र आत्माले उहाँका सेवकहरूलाई निपुण बनाउन सक्छ भनेर कसरी देखिएको छ?

१३ आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न वा प्रचारकार्यमा भाग लिन अयोग्य महसुस गर्छौं भने के गर्ने? यहोवाको सेवामा जे-जति गर्न सक्षम छौं, त्यसलाई अझै तिखार्न हामीले उहाँसित पवित्र आत्मा माग्नुपर्छ। ( लूका ११:१३ पढ्‌नुहोस्‌) विगतको परिस्थिति वा अनुभव जस्तोसुकै भए तापनि परमेश्‍वरको आत्माले मानिसहरूलाई कुनै काम वा जिम्मेवारी वहन गर्न योग्य बनाउन सक्छ। उदाहरणको लागि, मिश्रबाट प्रस्थान गर्ने बित्तिकै परमेश्‍वरको आत्माले युद्धकलामा अनुभवहीन गोठाला र दासहरूलाई शत्रुहरूमाथि विजय हासिल गर्न सक्षम बनायो। (प्रस्थ. १७:८-१३) त्यसको केही समयपछिको कुरा हो, परमेश्‍वरद्वारा प्रेरित निर्देशनअनुरूपै अत्यन्तै सुन्दर बासस्थानको निर्माण गर्न सोही आत्माले बजलेल र ओहोलीआबलाई निपुण बनायो।—प्रस्थ. ३१:२-६; ३५:३०-३५.

१४ सङ्‌गठनको आवश्‍यकता पूरा गर्न आफ्नै छापाखाना चलाउनुपर्ने खाँचो हुँदा सोही शक्‍तिशाली आत्माले आधुनिक समयमा पनि परमेश्‍वरका सेवकहरूलाई सक्षम बनायो। छापाखानाको तत्कालीन निरीक्षक भाइ आर. जे. मार्टिनले सन्‌ १९२७ सम्ममा गर्न सकेको कामबारे पत्रमार्फत यसरी बताए: “प्रभुले ठीक समयमै ढोका खोल्नुभयो अनि ठूलो रोटरी प्रेस हामीले पायौं। भनौं भने, यो कस्तो मेसिन हो र यसले कसरी काम गर्छ भनेर हामीलाई थाह थिएन। तर आफूसँग भएको सबै कुरा प्रभुलाई सुम्पिसकेका मानिसहरूको सोचविचार र क्षमता कसरी तिखार्दै लैजाने भनी प्रभु जान्‍नुहुन्छ। . . . केही हप्ता नबित्दै हामीले त्यो प्रेस चलाउन सक्यौं र अहिलेसम्म पनि चलिरहेको छ र यसका निर्माताहरूले पनि नसोचेको काम यसले गरिरहेको छ।” त्यस्तो साँचो प्रयासमाथि आजसम्म पनि यहोवाले आशिष्‌ दिइरहनुभएको छ।

१५. प्रलोभनको सामना गरिरहेकाहरूका लागि रोमी ८:११ कसरी प्रोत्साहनदायी हुन सक्छ?

१५ यहोवाको आत्माले विभिन्‍न तरिकामा काम गर्छ। परमेश्‍वरका सबै सेवकले त्यो आत्मा पाउन सक्छन्‌ र त्यसले जस्तोसुकै ठूलो बाधा-अवरोधको पनि सफलतासाथ सामना गर्न मदत गर्छ। प्रलोभनको कारण व्याकुल महसुस गरेका छौं भने नि? रोमी ७:२१, २५ र ८:११ मा लेखिएको पावलका शब्दहरूबाट हामी बल पाउन सक्छौं। हो, “येशूलाई मरेकाबाट बिउँताउनुहुनेका आत्मा”-ले शारीरिक अभिलाषाविरुद्धको युद्धमा विजयी हुन बल दिएर हाम्रो खातिर काम गर्छ। यी शब्दहरू आत्मा-अभिषिक्‍त ख्रीष्टियानहरूको लागि लेखिएको भए तापनि यो सिद्धान्त परमेश्‍वरका सबै सेवकलाई लागू हुन्छ। येशू ख्रीष्टलाई विश्‍वास गरेर, अनुचित चाहनाहरू मार्न अथक प्रयास गरेर अनि पवित्र आत्माको निर्देशनअनुरूप चलेर हामी सबैले जीवन पाउन सक्छौं।

१६. परमेश्‍वरको पवित्र आत्मा पाउन हामीले के गर्नै पर्छ?

१६ आफूले कुनै प्रयास नगरीकन के परमेश्‍वरले हामीलाई उहाँको सक्रिय शक्‍ति दिएको आशा गर्न सक्छौं? अहँ, सक्दैनौं। त्यो आत्मा पाउन हामीले प्रार्थना गर्नुको अलावा लगनशील भई परमेश्‍वरको प्रेरित वचनबाट पोषण लिनै पर्छ। (हितो. २:१-६) ख्रीष्टियान मण्डलीमा परमेश्‍वरको आत्माले बास गर्छ। ‘आत्माले मण्डलीहरूलाई के भन्छ,’ त्यो ‘सुन्‍न’ इच्छुक छौं भन्‍ने कुरा हामी सभामा नियमित उपस्थित हुँदा देखिन्छ। (प्रका. ३:६) अनि आफूले सिकेको कुरा नम्र भई लागू गर्नुपर्छ। हितोपदेश १:२३ हामीलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरूले मेरो चेतावनीलाई सुनेको मात्र भए, म मेरो सल्लाह तिमीहरूलाई दिनेथिएँ।” साँच्चै, परमेश्‍वरले “आफ्ना आज्ञा मान्‍नेहरू जत्तिलाई” पवित्र आत्मा दिनुहुन्छ।—प्रेरि. ५:३२.

१७. हामीले गरेको प्रयासमा परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ भनी बुझ्न कुन उदाहरण विचार गर्न सक्छौं?

१७ हुनत परमेश्‍वरको आशिष्‌ पाउन जोडतोडले प्रयास गर्नु आवश्‍यक छ तर यो कुरा नबिर्सनुहोस्‌, कडा मेहनत गरेको भरमा मात्र यहोवाले आफ्ना जनहरूलाई प्रशस्त मात्रामा असल कुरा दिनुहुने होइन। हामीले गरेको प्रयासमा उहाँले कसरी आशिष्‌दिनुहुन्छ भनी बुझ्नको लागि पोसिलो भोजनले हाम्रो शरीरलाई कस्तो फाइदा पुऱ्‍याउँछ, विचार गरौं। भोजनको आनन्द उठाउने र आवश्‍यक पोषण पाउने गरी परमेश्‍वरले हाम्रो शरीर बनाउनुभएको छ। उहाँले भोजनको पनि प्रबन्ध गरिदिनुभएको छ। भोजन कसरी पोसिलो हुन्छ भनेर हामीलाई राम्ररी थाह छैन अनि खाएको खानाबाट हाम्रो शरीरले कसरी शक्‍ति प्राप्त गर्छ, त्यसबारे पनि हामीमध्ये धेरैले बुझाउन सक्दैनौं। हामीलाई यति थाह छ कि खाएको भोजनबाट हामीले शक्‍ति पाउँछौं। पोसिलो भोजन खाने छनौट गऱ्‍यौं भने परिणाम अझ राम्रो हुन्छ। ठीक त्यसैगरि अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर यहोवाले बताउनुभएको छ र त्यो आवश्‍यकता पूरा गर्न उहाँ हामीलाई मदत दिनुहुन्छ। स्पष्ट छ, उहाँले हामीलाई धेरै मदत गर्नुहुने भएकोले उहाँ प्रशंसा पाउन योग्यको हुनुहुन्छ। तथापि, परमेश्‍वरको आशिष्‌ पाउन उहाँको इच्छाअनुरूप जीवन बिताएर उहाँसँगसँगै मिलेर काम गर्नुपर्छ।—हाग्गै २:१८, १९.

१८. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ र किन?

१८ त्यसकारण आफूलाई दिइएको हरेक जिम्मेवारी मन लगाएर पूरा गर्नुहोस्‌। सफल हुन सधैं यहोवामा भर पर्नुहोस्‌। (मर्कू. ११:२३, २४) यसरी भर पर्दा, “जसले खोज्दछ, त्यसले भेट्टाउँछ” भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। (मत्ती ७:८) आत्मा-अभिषिक्‍त जनले स्वर्गमा “जीवनको मुकुट” पाउनेछन्‌। (याकू. १:१२) अब्राहामको सन्तानमार्फत आशिष्‌ पाउन कोसिस गर्ने “अरू भेडा,” ख्रीष्टले यसो भनेको सुन्‍न पाउँदा खुसी हुनेछन्‌: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” (यूह. १०:१६; मत्ती २५:३४) हो, “[परमेश्‍वरबाट] आशिष पाउनेहरूले देश अधिकार गर्छन्‌। . . . र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भज. ३७:२२, २९. ( w10 -E 09/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• साँचो आज्ञाकारितामा के समावेश छ?

• परमेश्‍वरको आशिष्‌ पाउन के चाहिन्छ?

• परमेश्‍वरको पवित्र आत्मा कसरी पाउन सक्छौं र यसले हाम्रो खातिर कसरी काम गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएका चित्रहरू]

यहोवाको आशिष्‌ पाउन याकूबले स्वर्गदूतसित कुस्ती लडे।

के तपाईं पनि त्यसैगरि जोडतोडले प्रयास गर्नुहुन्छ?

[पृष्ठ १४-मा भएको चित्र]

परमेश्‍वरको पवित्र आत्माले बजलेल र ओहोलीआबलाई निपुण बनायो