सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूका एक मात्र नेता ख्रीष्टनै हो”

“तिमीहरूका एक मात्र नेता ख्रीष्टनै हो”

“तिमीहरूका एक मात्र नेता ख्रीष्टनै हो”

“तिमीहरूलाई मालिक [ “नेता,” NW] कसैले नभनोस्‌, किनकि तिमीहरूका एक मात्र मालिक [ “नेता,” NW] ख्रीष्टनै हो।”—मत्ती २३:९, १०.

१. यहोवाका साक्षीहरू कसलाई नेताको रूपमा मानिलिन्छन्‌ र किन?

 चर्चजगत्‌मा रोमका पोप अनि विशपहरू भएजस्तै अन्य धर्ममा पनि मानव नेताहरू छन्‌। तर यहोवाका साक्षीहरू कुनै पनि मानिसलाई आफ्नो नेताको रूपमा मानिलिंदैनन्‌। तिनीहरू कुनै मानिसका चेला वा अनुयायी होइनन्‌। यो, यहोवाले आफ्नो पुत्रबारे भविष्यसूचक रूपमा भन्‍नुभएबमोजिम छ: “हेर मैले त्यसलाई जातिहरूको बीचमा साक्षी, र जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।” (यशै. ५५:४) अभिषिक्‍त ख्रीष्टियानहरू अनि तिनीहरूका सहयोगी “अरू भेडा” मिलेर बनेको अन्तरराष्ट्रिय मण्डलीले यहोवाले दिनुभएको नेताबाहेक अरू कुनै नेताको आवश्‍यकता महसुस गर्दैनन्‌। (यूह. १०:१६) तिनीहरू येशूको यो भनाइसित सहमत छन्‌: “तिमीहरूका एक मात्र मालिक [“नेता,” NW] ख्रीष्टनै हो।”—मत्ती २३:१०.

इस्राएलको नेतृत्व गर्ने स्वर्गदूत

२, ३. परमेश्‍वरका पुत्रले इस्राएलीहरूको गतिविधिमा कस्तो सक्रिय भूमिका खेल्नुभयो?

ख्रीष्टियान मण्डलीको स्थापना हुनुभन्दा शताब्दीयौंअगाडि यहोवाले आफ्ना जन, इस्राएलीहरूको नेतृत्व गर्न एक स्वर्गदूतलाई खटाउनुभएको थियो। इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि यहोवाले तिनीहरूलाई यसो भन्‍नुभयो: “हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुऱ्‍याउनलाई म एउटा दूत तिमीहरूको अगि-अगि पठाउनेछु। ध्यान दिएर तिनको कुरा सुन। तिनको विरुद्ध नउठ, किनकि तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्‌, किनकि तिनैमा मेरो नाउँ छ।” (प्रस्थ. २३:२०, २१) त्यसैले, ‘यहोवाको नाउँ भएका’ यी दूत परमेश्‍वरका जेठो पुत्र हुनुहुन्थ्यो भन्‍ने निष्कर्षमा पुग्नु उचित छ।

मानिसको रूपमा जन्मिनुअघि परमेश्‍वरको पुत्रको नाम माइकल थियो भनेर प्रस्ट छ। दानियलको पुस्तकमा माइकललाई दानियलका मानिसहरूको “कुमार” अर्थात्‌ राजकुमार भनिएको छ। (दानि. १०:२१) दानियलको समयभन्दा धेरैअघि इस्राएलीहरूको गतिविधिमा माइकल संलग्न थिए भनेर चेला यहूदा सङ्‌केत गर्छन्‌। मोशाको मृत्युपछि शैतानले कुनै न कुनै किसिमले आफ्नो इच्छा पूरा गर्नको लागि, सायद इस्राएलीहरूलाई मूर्तिपूजा गर्न उक्साउन मोशाको लास प्रयोग गर्न खोजेको हुनुपर्छ। यस्तो हुनदेखि रोक्न माइकलले कदम चाल्नुभयो। यहूदा भन्छन्‌: “प्रधान दूत माइकलले मोशाको लाशको विषयमा शैतानसँग विवाद गर्दा त्यसमाथि निन्दित दोष लाउन साहस नगरी, ‘तँलाई प्रभुले हप्काउनुहुन्छ’ भनेथे।” (यहू. ९) यसको केही समयपछि तर यरीहोमा घेरा हाल्नुअघि यहोशूसित परमेश्‍वरको साथ छ भनेर आश्‍वस्त पार्न तिनीकहाँ देखापर्ने “परमप्रभुका फौजका कप्तान” माइकल नै थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। ( यहोशू ५:१३-१५ पढ्‌नुहोस्‌) अगमवक्‍ता दानियललाई महत्त्वपूर्ण सन्देश पुऱ्‍याउन आएका स्वर्गदूतलाई एक शक्‍तिशाली दुष्ट स्वर्गदूतले रोक्न खोज्दा प्रधान दूत माइकल त्यस स्वर्गदूतलाई सहायता गर्न आए।—दानि. १०:५-७, १२-१४.

भविष्यवाणी गरिएका नेता देखा पर्छन्‌

४. मसीह देखा पर्ने विषयमा कस्तो भविष्यवाणी गरिएको थियो?

स्वर्गदूतलाई रोक्न खोजेको घटनाअघि यहोवाले “एक अभिषेक जन,” मसीह अर्थात्‌ नेताबारे एउटा भविष्यवाणी बताउन अगमवक्‍ता दानियलकहाँ गब्रिएल स्वर्गदूत पठाउनुभएको थियो। (दानि. ९:२१-२५) a पछि ठ्याक्कै त्यही समयमा अर्थात्‌ इस्वी संवत्‌ २९ को शरद्‌ ऋतुमा यूहन्‍नामार्फत येशूको बप्तिस्मा भयो। येशूमाथि पवित्र आत्मा खन्याइएपछि उहाँ अभिषिक्‍त जन—ख्रीष्ट अर्थात्‌ मसीह हुनुभयो। (मत्ती ३:१३-१७; यूह. १:२९-३४; गला. ४:४) मसीहको रूपमा उहाँ एक अद्वितीय नेता बन्‍नुहुनेथियो।

५. पृथ्वीमा सेवा सुरु गरेदेखि नै ख्रीष्टले कसरी नेताको रूपमा काम गर्नुभयो?

पृथ्वीमा सेवा सुरु गरेदेखि नै येशूले आफूलाई ‘मसीह अर्थात्‌ नेता’-को रूपमा प्रमाणित गर्नुभयो। सेवा सुरु गरेको केही दिनमै उहाँले चेलाहरू जम्मा गर्न थाल्नुभयो र पहिलो चमत्कार गर्नुभयो। (यूह. १:३५–२:११) येशूले सहर-सहर र गाउँ-गाउँ हुँदो पूरै इलाकामा राज्यको सुसमाचार प्रचार गर्नुहुँदा चेलाहरू उहाँको पछि-पछि लागे। (लूका ८:१) उहाँले तिनीहरूलाई प्रचारकार्यसम्बन्धी तालिम दिनुभयो र प्रचार गर्ने अनि सिकाउने काममा असल उदाहरण बसाल्दै तिनीहरूको नेतृत्व गर्नुभयो। (लूका ९:१-६) यस सन्दर्भमा आजका ख्रीष्टियान प्राचीनहरूले उहाँको अनुकरण गर्नुपर्छ।

६. येशूले आफूलाई कसरी गोठालो र नेता साबित गर्नुभयो?

आफूलाई मायालु गोठालोसित तुलना गरेर येशूले आफ्नो नेतृत्वको अर्को पक्ष औंल्याउनुभयो। पूर्वी एसियाका गोठालाहरू आफ्नो बगाललाई साँच्चै डोऱ्‍याउँछन्‌। एउटा पुस्तकमा b डब्लू. एम. थम्सनले यस्तो लेखे: “गोठालाहरू भेडालाई बाटो देखाउन मात्र होइन तर त्यो ठाउँ सुरक्षित छ कि छैन अनि त्यहाँ जान सकिन्छ कि सकिंदैन, त्यो पक्का गर्न पनि अघि-अघि जान्छन्‌। . . . आफ्नो लौरोले बगाललाई नियन्त्रणमा राख्छन्‌, हरियो चरनसम्म डोऱ्‍याउँछन्‌ र शत्रुहरूबाट बचाउँछन्‌।” आफू साँचो गोठालो अनि नेता हो भनी देखाउँदै येशूले भन्‍नुभयो: “म असल गोठालो हुँ। असल गोठालाले आफ्नो प्राण भेडाहरूका लागि अर्पण गर्दछ। मेरा भेडाहरूले मेरो सोर सुन्छन्‌, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्‌।” (यूह. १०:११, २७) आफूले भनेअनुसारै आफ्ना भेडाहरूको खातिर उहाँ बलिदानस्वरूप मर्नुभयो तर यहोवाले उहाँलाई “नेता र मुक्‍तिदाता बन्‍न बिउँताउनुभयो।”—प्रेरि. ५:३१, न्यु जेरूशलेम बाइबल; हिब्रू १३:२०.

ख्रीष्टियान मण्डलीका निरीक्षक

७. येशूले ख्रीष्टियान मण्डलीलाई केमार्फत निरीक्षण गर्नुहुन्छ?

पुनरुत्थान हुनुभएका येशूले स्वर्ग उक्लनुभन्दा केही समयअघि आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।” (मत्ती २८:१८) चेलाहरूलाई ख्रीष्टियानको रूपमा बलियो बनाउन यहोवाले येशूमार्फत तिनीहरूलाई पवित्र आत्मा दिनुभयो। (यूह. १५:२६) येशूले इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन आफ्ना प्रारम्भिक ख्रीष्टियानहरूमाथि पवित्र आत्मा खन्याउनुभयो। (प्रेरि. २:३३) यसरी पवित्र आत्मा खन्याइएपछि ख्रीष्टियान मण्डलीको स्थापना भयो। यहोवाले आफ्नो पुत्रलाई पृथ्वीमा रहेका सम्पूर्ण मण्डलीमाथि स्वर्गबाट नेतृत्व गर्ने जिम्मेवारी दिनुभयो। ( एफिसी १:२२; कलस्सी १:१३, १८ पढ्‌नुहोस्‌) येशूले ख्रीष्टियान मण्डलीलाई यहोवाको पवित्र आत्मामार्फत डोऱ्‍याउनुहुन्छ र “उहाँकै अधीनमा राखिएका” स्वर्गदूतहरू उहाँको सेवामा हाजिर छन्‌।—१ पत्रु. ३:२२.

८. ख्रीष्टले पृथ्वीमा कसलाई चलाएर प्रथम शताब्दीका आफ्ना चेलाहरूलाई डोऱ्‍याउनुभयो र अहिले कसलाई चलाउँदै हुनुहुन्छ?

पवित्र आत्मामार्फत नै येशूले ‘कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुन मानिसहरूलाई वरदान [“पुरुषहरूमध्ये वरदान,” NW] दिनुभयो।’ (एफि. ४:८, ११) प्रेरित पावलले ख्रीष्टियान निरीक्षकहरूलाई यस्तो आग्रह गरे: “तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्‌। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले . . . परमेश्‍वरका मण्डलीको हेरचाहा तपाईंहरू गर्नुहोस्‌।” (प्रेरि. २०:२८, NRV) ख्रीष्टियान मण्डली सुरु हुँदा ती सबै निरीक्षक आत्मा-अभिषिक्‍त पुरुषहरू थिए। यरूशलेम मण्डलीका प्रेरित र धर्मगुरुहरूले परिचालक निकायको रूपमा काम गर्थ्यो। पृथ्वीमा भएका आफ्ना सम्पूर्ण अभिषिक्‍त ‘भाइहरूको’ नेतृत्व गर्न येशूले यही परिचालक निकाय चलाउनुभएको थियो। (हिब्रू २:११; प्रेरि. १६:४, ५) यस अन्तको समयमा ख्रीष्टले आफ्नो “सारा सम्पत्ति” अर्थात्‌ पृथ्वीमा रहेको आफ्नो सम्पूर्ण राज्य गतिविधि “विश्‍वासी र बुद्धिमान्‌ दास” र यसको प्रतिनिधित्व गर्ने परिचालक निकाय अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियान पुरुषहरूको एउटा समूहलाई सुम्पनुभएको छ। (मत्ती २४:४५-४७) आधुनिक समयको परिचालक निकायको नेतृत्व स्वीकार्नु भनेको वास्तवमा आफ्ना नेता ख्रीष्टको नेतृत्व स्वीकार्नु हो भनेर अभिषिक्‍त जन र तिनीहरूका सहयोगी अरू भेडाले बुझेका छन्‌।

ख्रीष्टले प्रचारकार्य सुरु गर्नुहुन्छ

९, १०. राज्यको सुसमाचार फैलाउने सन्दर्भमा ख्रीष्टले कामकुरालाई कसरी डोऱ्‍याउनुभयो?

येशू आफैले सुरुदेखि नै प्रचारकार्य र शिक्षणकार्यलाई डोऱ्‍याउँदै आउनुभएको छ। एउटा जातिबाट सुरु गरेर पछि क्रमशः पृथ्वीमा भएका अरूलाई पनि राज्यको सुसमाचार सुनाइनेछ भनेर उहाँले बताउनुभयो। आफ्नो सेवाको दौडान उहाँले प्रेरितहरूलाई यस्तो निर्देशन दिनुभयो: “अन्य जातिहरूका बाटोतिर नजाओ, र सामरीहरूका शहरमा नपस। तर इस्राएलको घरानामा हराएका भेडाहरूकहाँ जाओ। ‘स्वर्गको राज्य नजिकै आइपुगेको छ,’ भन्दै प्रचार गर।” (मत्ती १०:५-७) तिनीहरूले यहूदी र धर्म परिवर्तन गरेर यहूदी मत स्वीकारेकाहरूलाई विशेषगरि इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि जोसिलो भई प्रचार गरे।—प्रेरि. २:४, ५, १०, ११; ५:४२; ६:७.

१० पछि, येशूले पवित्र आत्मामार्फत सामरीहरू र त्यसपश्‍चात्‌ गैर-यहूदीहरूलाई प्रचार गरेर राज्य प्रचारकार्यलाई फैलाउनुभयो। (प्रेरि. ८:५, ६, १४-१७; १०:१९-२२, ४४, ४५) जाति-जातिहरूमाझ सुसमाचार सुनाउने हेतुले टार्ससका शावललाई ख्रीष्टियान बन्‍न उत्प्रेरित गर्ने स्वयम्‌ येशू हुनुहुन्थ्यो। येशूले चेला हननियालाई यस्तो निर्देशन दिनुभयो: “उठ, र ‘सीधा’ भन्‍ने गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा टार्ससको शावल नाउँ भएको मानिसलाई खोजी गर। . . . ‘जाऊ किनकि अन्य जातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु मेरो निम्ति मेरो नाउँ चलाउनलाई तिनी एक छानिएका पात्र हुन्‌।’ ” (प्रेरि. ९:३-६, १०, ११, १५) “तिनी” नै पछि गएर प्रेरित पावल बने।—१ तिमो. २:७.

११. ख्रीष्टले पवित्र आत्मामार्फत प्रचारकार्यलाई कसरी फैलाउनुभयो?

११ राज्य प्रचारकार्यलाई गैर-यहूदी राष्ट्रसामु फैलाउने समय भएपछि पवित्र आत्माले पावललाई एसिया माइनर र युरोपमा मिसनरी यात्रा गर्न निर्देशन दियो। प्रेरितको पुस्तकमा लूकाले यस्तो लेखेका छन्‌: “तिनीहरूले [अर्थात्‌ सिरियाली एन्टिओकको मण्डलीका ख्रीष्टियान अगमवक्‍ता र शिक्षकहरूले] प्रभुको सेवा गरी उपवास बसेपछि पवित्र आत्माले भन्‍नुभयो, ‘मेरो निम्ति वर्णाबास र शावललाई त्यस कामको लागि छुट्ट्याओ, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।’ तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना-आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए।” (प्रेरि. १३:२, ३) येशू आफैले टार्ससका शावललाई अन्यजातिसामु आफ्नो नाउँ वहन गर्ने “छानिएका पात्र” बन्‍न बोलाउनुभएको थियो। साक्षीकार्यको लागि यो नयाँ उत्प्रेरणा ख्रीष्ट अर्थात्‌ मण्डलीका नेता येशूबाटै मिलेको थियो। येशूले यो कार्यलाई डोऱ्‍याउन पवित्र आत्मा चलाउनुभएको कुरा पावलको दोस्रो मिसनरी यात्राको दौडान एकदमै स्पष्ट भयो। विवरणमा बताइएअनुसार “येशूको आत्माले” अर्थात्‌ येशूले पवित्र आत्मामार्फत पावल र तिनका सहयात्रीलाई कुन ठाउँमा कहिले जाने भनेर निर्देशन दिनुभयो र एउटा दर्शनमार्फत युरोपतर्फ जान भन्‍नुभयो।— प्रेरित १६:६-१० पढ्‌नुहोस्‌।

येशू मण्डलीको नेतृत्व गर्नुहुन्छ

१२, १३. ख्रीष्टलाई प्रत्येक मण्डलीमा भइरहेको एक-एक कुरा थाह छ भनेर प्रकाशको पुस्तकले कसरी देखाउँछ?

१२ इस्वी संवत्‌ प्रथम शताब्दीका अभिषिक्‍त अनुयायीहरूको मण्डलीमा भइरहेको एक-एक कुरा येशूलाई थाह थियो। उहाँलाई प्रत्येक मण्डलीको आध्यात्मिक अवस्थाबारे स्पष्ट जानकारी थियो। यो कुरा, प्रकाशको अध्याय दुई र तीन पढेपछि प्रस्ट हुन्छ। एसिया माइनरमा भएको सात वटा मण्डलीको नाम उहाँ उल्लेख गर्नुहुन्छ। (प्रका. १:११) त्यतिबेला पृथ्वीमा भएका बाँकी सबै मण्डलीको आध्यात्मिक अवस्थाबारे पनि उहाँलाई उतिकै राम्ररी थाह थियो भनेर विश्‍वास गर्ने हर कारण हामीसित छ। प्रकाश २:२३ पढ्‌नुहोस्‌।

१३ येशूले तीमध्ये केही मण्डलीको प्रशंसा गर्नुभयो किनभने तिनीहरूले धैर्य धरे, परीक्षाको बेला विश्‍वासी रहे, उहाँको वचनप्रति वफादार भए र धर्मत्यागीहरूलाई तिरस्कार गरे। (प्रका. २:२, ९, १३, १९; ३:८) अर्कोतर्फ, उहाँले केही मण्डलीलाई कडा सल्लाह दिनुभयो किनभने उहाँप्रतिको तिनीहरूको प्रेम सेलाएको थियो अनि तिनीहरूले मूर्तिपूजा, व्यभिचार र गुटबन्दीलाई रहिरहन दिएका थिए। (प्रका. २:४, १४, १५, २०; ३:१५, १६) कडा सल्लाह दिनुभए तापनि येशूले एक जना मायालु आध्यात्मिक निरीक्षकको हैसियतले यसो पनि भन्‍नुभयो: “जतिलाई म माया गर्छु, म हप्काउँछु र चेताउँछु, यसकारण जोशिलो होऊ र पश्‍चाताप गर।” (प्रका. ३:१९) स्वर्गमा हुनुभए तापनि येशूले पवित्र आत्मामार्फत पृथ्वीमा भएका आफ्ना चेलाहरूको मण्डलीलाई डोऱ्‍याइरहनुभएको थियो। ती मण्डलीहरूलाई दिएको सन्देशको अन्ततिर उहाँले भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”—प्रका. ३:२२.

१४-१६. (क) पृथ्वीमा रहेका यहोवाका जनको लागि येशू कसरी साहसी नेता साबित हुनुभएको छ? (ख) येशू “सब दिन . . . जगत्‌को अन्तसम्म” आफ्ना चेलाहरूको “साथमा” रहिरहनुभएकोले नतिजा कस्तो भएको छ? (ग) यसपछिको लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

१४ हामीले बुझ्यौं कि माइकल (येशू), इस्राएलको नेतृत्व गर्ने एक प्रतापी स्वर्गदूत साबित हुनुभयो। पछि, आफ्ना प्रारम्भिक चेलाहरूका लागि येशू साहसी नेता र मायालु गोठालो हुनुभयो। पृथ्वीमा सेवाको दौडान उहाँले प्रचारकार्यमा नेतृत्व लिनुभयो। अनि पुनरुत्थानपछि उहाँले राज्यको सुसमाचार फैलाउने काममा राम्ररी निरीक्षण गर्नुभयो।

१५ पवित्र आत्माद्वारा येशूले अन्ततः साक्षीकार्यलाई पूरै पृथ्वीभरि फैलाउनुहुनेछ। स्वर्ग उक्लनुअघि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरि. १:८; १ पत्रुस १:१२ पढ्‌नुहोस्‌) ख्रीष्टको निर्देशनमा प्रथम शताब्दीमा व्यापक साक्षी दिइयो।—कल. १:२३.

१६ तर यो काम अन्तको समयसम्मै चलिरहनेछ भनेर येशू आफैले सङ्‌केत गर्नुभयो। जाति-जातिका मानिसलाई प्रचार गर्नू र चेला बनाउनू भनेर आफ्ना अनुयायीहरूलाई आज्ञा दिएपछि येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) सन्‌ १९१४ मा राजकीय शक्‍ति पाएपछि येशूले आफ्ना चेलाहरूलाई अझ धेरै “साथ” दिंदैआउनुभएको छ र तिनीहरूको नेताको रूपमा सक्रिय हुनुहुन्छ। सन्‌ १९१४ देखि उहाँले जोडदार ढङ्‌गमा गरिरहनुभएको कार्यबारे यसपछिको लेखमा विचार गर्नेछौं। ( w10 -E 09/15)

[फुटनोट]

a यस भविष्यवाणीको विस्तृत विवरणको लागि दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! पुस्तकको अध्याय ११ हेर्नुहोस्‌।

b The Land and the Book

पुनरावलोकन गर्दा

• परमेश्‍वरको पुत्र कसरी इस्राएलको सक्रिय नेता साबित हुनुभयो?

• येशूले केमार्फत पृथ्वीमा आफ्ना मण्डलीको नेतृत्व गर्नुहुन्छ?

• सुसमाचार फैलाउने कार्यलाई ख्रीष्टले कसरी डोऱ्‍याउनुभएको छ?

• ख्रीष्टलाई प्रत्येक मण्डलीको आध्यात्मिक अवस्था राम्ररी थाह थियो भनेर केले देखाउँछ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको चित्र]

“म एउटा दूत तिमीहरूको अगि-अगि पठाउनेछु”

[पृष्ठ २७-मा भएको चित्र]

आफ्नो बगालको गोठालो गर्न ख्रीष्टले विगतमा झैं अहिले पनि “पुरुषहरूमध्ये वरदान” चलाउनुहुन्छ