सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज हाम्रा सक्रिय नेता

आज हाम्रा सक्रिय नेता

आज हाम्रा सक्रिय नेता

“तिनी विजय गर्दै र विजय गर्नलाई निस्के।”—प्रका. ६:२

१, २. (क) सन्‌ १९१४ देखि सुरु भएको ख्रीष्टको राजकीय गतिविधिलाई बाइबलमा कसरी चित्रण गरिएको छ? (ख) सिंहासनमा बसेपछि ख्रीष्टले कस्ता कदमहरू चाल्नुभएको छ?

 ख्रीष्ट, सन्‌ १९१४ मा यहोवाको मसीही राज्यको राजाको रूपमा सिंहासनमा बस्नुभयो। अहिले हामी उहाँलाई कस्तो राजाको रूपमा कल्पना गर्छौं? के उहाँ सिंहासनमा बसिरहेको सोचमग्न राजा हुनुहुन्छ, जसले आफ्नो मण्डलीको हालत कस्तो छ भनेर कहिलेकाहीं मात्र पृथ्वीमा आफ्नो नजर लगाउनुहुन्छ? यदि त्यसो हो भने हामीले आफ्नो सोचाइ बदल्नुपर्छ। भजन र प्रकाशको पुस्तकमा उहाँलाई घोडसवार जोसिलो राजाको रूपमा चित्रण गरिएको छ, जो अन्तिम “सफलता” हासिल गर्न “विजय गर्दै र विजय गर्नलाई” निस्केका छन्‌।—प्रका. ६:२; भज. २:६-९; ४५:१-४.

सिंहासनमा बसेपछि राजाको रूपमा ख्रीष्टले चाल्नुभएको पहिलो कदम, “अजीङ्‌गरजस्तै पशु र त्यसका दूतहरू”-माथिको विजय थियो। स्वर्गदूतहरूमाथि अख्तियार भएका प्रधान दूत माइकल अर्थात्‌ ख्रीष्टले शैतान र त्यसका प्रेतहरूलाई पवित्र स्वर्गबाट तल फ्याँक्नुभयो र पृथ्वीको इलाकामा सीमित पार्नुभयो। (प्रका. १२:७-९) यहोवाको ‘करारका दूतको’ रूपमा येशू आफ्नो पितासित आध्यात्मिक मन्दिरको निरीक्षण गर्न आउनुभयो। (मला. ३:१) अनि उहाँले “महान्‌ बेबिलोन”-को सबैभन्दा निन्दनीय भाग अर्थात्‌ चर्चजगत्‌को न्याय गर्नुभयो र त्यो रक्‍तपातले भरिएको र संसारका राजनैतिक प्रणालीसित साँठगाँठ गरेकोले दोषी पाउनुभयो।—प्रका. १८:२, ३, २४.

पृथ्वीमा आफ्ना दासलाई उहाँ शुद्ध पार्नुहुन्छ

३, ४. (क) यहोवाको “दूत”-को रूपमा ख्रीष्टले कुन काम गर्नुभयो? (ख) मन्दिरको निरीक्षण गर्दा कुन कुरा प्रकट भयो र मण्डलीको शिरको रूपमा येशूले कस्तो नियुक्‍ति गर्नुभयो?

यहोवा अनि उहाँका “दूत”-ले आध्यात्मिक मन्दिरको निरीक्षण गर्दा त्यस मन्दिरको पार्थिव चोकमा साँचो ख्रीष्टियानहरूको एउटा समूह पाउनुभयो, जो चर्चजगत्‌सित मुछिएका थिएनन्‌। तर यी अभिषिक्‍त ख्रीष्टियानहरू अर्थात्‌ “लेवीका सन्तान”-लाई अझ शुद्ध पार्नुपर्ने थियो। यो कुरा अगमवक्‍ता मलाकीले भविष्यवाणी गरेअनुसारै थियो: “चाँदी खार्ने र सफा गर्ने जस्तो गरी उनी [यहोवा] बस्नेछन्‌, र लेवीका सन्तानलाई उनले शुद्ध पार्नेछन्‌, र सुन र चाँदीझैं निर्मल पार्नेछन्‌। औ तिनीहरूले धर्मसित परमप्रभुमा भेटी चढाउनेछन्‌।” (मला. ३:३) यहोवाले आफ्ना ‘करारका दूत’ अर्थात्‌ ख्रीष्ट येशूलाई चलाएर यी आध्यात्मिक इस्राएलीहरूलाई शुद्ध पार्नुभयो।

अझै पनि, ख्रीष्टले ती विश्‍वासी अभिषिक्‍त ख्रीष्टियानहरूले विश्‍वासका घरानालाई ठीक-ठीक समयमा आध्यात्मिक खाना उपलब्ध गराउन यथासक्य गरिरहेको भेट्टाउनुभयो। सन्‌ १८७९ देखि तिनीहरूले गाह्रोसाह्रो जस्तोसुकै परिस्थितिमा पनि यस पत्रिकामार्फत परमेश्‍वरको राज्यबारे बाइबलमा आधारित सत्य कुरा प्रकाशित गर्दै आएका थिए। “जगत्‌को अन्त”-को समयमा आफ्ना परिवारको निरीक्षण गर्न ‘आउँदा’ विश्‍वासका घरानालाई ‘ठीक-ठीक समयमा खान दिइरहेको’ एउटा दास हुनेछ भनी येशूले भविष्यवाणी गर्नुभएको थियो। उहाँले ती दासलाई धन्य भन्‍नुहुनेथियो र त्यसलाई आफ्नो “सारा सम्पत्तिमाथि नियुक्‍त” गर्नुहुनेथियो। (मत्ती २४:३, ४५-४७) ख्रीष्टियान मण्डलीको शिरको रूपमा ख्रीष्टले यस “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई पृथ्वीमा रहेको आफ्नो राज्य गतिविधिको रेखदेख गर्न प्रयोग गर्नुभएको छ। आफ्ना अभिषिक्‍त “परिवार” र तिनीहरूका सहयोगी “अरू भेडा”-लाई उहाँले परिचालक निकायमार्फत निर्देशन दिनुभएको छ।—यूह. १०:१६.

पृथ्वीको कटनी गर्दै

५. मसीही राजाले गर्ने कस्तो काम यूहन्‍नाले दर्शनमा देखे?

सन्‌ १९१४ मा सिंहासनमा बसेपछि मसीही राजाले “प्रभुको दिनमा” गर्ने अर्को एउटा कामबारे प्रेरित यूहन्‍नाले दर्शन देखे। तिनले लेखे: “मैले हेरें, र एउटा सेतो बादल, र त्यसमाथि शिरमा सुनको मुकुट पहिरेका र हातमा लाग्ने हँसिया लिएका मानिसको पुत्रजस्तै एक जनालाई मैले देखें।” (प्रका. १:१०; १४:१४) यहोवाको तर्फबाट आएका स्वर्गदूतले ती कटनी गर्ने व्यक्‍तिलाई ‘पृथ्वीको बाली पूरै पाकिसकेकोले’ हँसिया चलाएर कटनी गर भनेको यूहन्‍नाले सुने।—प्रका. १४:१५, १६.

६. कटनीको समय नभएसम्म खेतमा हुने घटनाबारे येशूले के बताउनुभयो?

यो “पृथ्वीको बाली”-ले हामीलाई येशूले भन्‍नुभएको गहुँ र सामाको उखानको सम्झना गराउँछ। येशूले आफूलाई एक जना मानिससित तुलना गर्नुभयो, जसले असल गहुँको पूरा बाली कटनी गर्न सकियोस्‌ भनेर खेतमा गहुँको बीउ छरेका थिए। ती असल गहुँले “राज्यका सन्तान” अर्थात्‌ येशूको राज्यमा उहाँसितै रहने अभिषिक्‍त साँचो ख्रीष्टियानहरूलाई चित्रण गर्छ। तर राती एक जना शत्रु, “शैतान”-ले खेतमा सामा अर्थात्‌ “दुष्टका सन्तान” छरिदिए। ती बीउ छर्ने मानिसले आफ्ना चाकरहरूलाई “जगत्‌को अन्त”-मा बाली काट्‌ने समय नहोऊन्जेल गहुँ र सामालाई सँगसँगै बढ्‌नदेओ भने। तब उहाँले गहुँ र सामा छुट्ट्याउन स्वर्गदूतहरू पठाउनुहुनेथियो।—मत्ती १३:२४-३०, ३६-४१.

७. ख्रीष्टले “पृथ्वीको बाली” कसरी कटनी गर्दै हुनुहुन्छ?

यूहन्‍नालाई दिइएको दर्शनको पूर्तिस्वरूप येशूले विश्‍वव्यापी कटनीकार्य गर्दै आउनुभएको छ। येशूको उखानको “गहुँ” अर्थात्‌ १,४४,००० “राज्यका सन्तान”-का बाँकी जनलाई जम्मा गर्ने कामबाट “पृथ्वीको बाली” कटनी गर्ने काम सुरु भयो। साँचो अनि झूटो ख्रीष्टियानबीचको भिन्‍नता पहिलो विश्‍व युद्धपछि झनै स्पष्ट भयो, यतिसम्म कि यसले गर्दा “पृथ्वीको बाली”-को दोस्रो भाग अर्थात्‌ अरू भेडा जम्मा गर्ने काम भएको छ। यिनीहरू “राज्यका सन्तान” होइनन्‌ तर खुसीसाथ राज्यको अधीनमा बस्न चाहने प्रजाको “ठूलो भीड” हो। यिनीहरू “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरू”-बाट जम्मा गरिएका हुन्‌। यिनीहरू मसीही राज्यको अधीनमा बस्छन्‌, जुन राज्य ख्रीष्ट येशू र उहाँसित स्वर्गीय सरकारको भाग हुने १,४४,००० “पवित्र जनहरू” मिलेर बनेको छ।—प्रका. ७:९, १०; दानि. ७:१३, १४, १८.

मण्डलीहरूको नेतृत्व

८, ९. (क) ख्रीष्टले प्रत्येक मण्डलीलाई समूहको रूपमा मात्र होइन तर त्यसका प्रत्येक सदस्यको जीवनशैली पनि नियाल्नुहुन्छ भनेर केले देखाउँछ? (ख) यस चित्रमा देखाइएजस्तै शैतानका कस्ता “गहिरा-गहिरा कुराहरू”-बाट हामी अलग रहनुपर्छ?

ख्रीष्टले इस्वी संवत्‌ प्रथम शताब्दीको प्रत्येक मण्डलीको आध्यात्मिक अवस्थालाई कत्तिको ध्यान दिनुभएको थियो, त्यो हामीले अघिल्लो लेखबाट बुझिसक्यौं। “स्वर्ग र पृथ्वीमा सारा अधिकार”-प्राप्त शासनारूढ राजाको रूपमा अहिले हाम्रो नेता ख्रीष्टले संसारभरको मण्डली र त्यसका निरीक्षकहरूको सक्रियतासाथ नेतृत्व लिइरहनुभएको छ। (मत्ती २८:१८; कल. १:१८) यहोवाले उहाँलाई अभिषिक्‍त जनको ‘मण्डलीको’ खातिर ‘सबै कुराको शिर’ बनाउनुभएको छ। (एफि. १:२२) त्यसैले, अहिले यहोवाका साक्षीहरूको १,००,००० भन्दा धेरै मण्डली भए तापनि ती प्रत्येक मण्डलीमा भइरहेको कुनै पनि कुरा उहाँको नजरबाट लुक्न सक्दैन।

प्राचीन समयको थिआटायरा मण्डलीलाई येशूले यो सन्देश पठाउनुभयो: “यी कुरा आगोका ज्वालाजस्ता आँखा भएका . . . परमेश्‍वरको पुत्रले भन्दछ। तिम्रा कामहरू . . . मलाई थाहा छ।” (प्रका. २:१८, १९) उहाँले त्यस मण्डलीका सदस्यहरूलाई तिनीहरूको अनैतिक, आत्मविलासी जीवनशैली देखेर यसरी हप्काउनुभयो: “म उही हुँ, जसले सबैको मन र हृदय खोतल्छ, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसारै दिनेछु।” (प्रका. २:२३) यो भनाइले के सङ्‌केत गर्छ भने ख्रीष्टले समूहको रूपमा प्रत्येक मण्डलीको चालढाल मात्र होइन तर त्यसका प्रत्येक सदस्यको जीवनशैली पनि नियाल्नुहुन्छ। येशूले ‘शैतानका गहिरा-गहिरा कुराहरू’ थाह नभएका थिआटायरा मण्डलीका ख्रीष्टियानहरूको प्रशंसा गर्नुभयो। (प्रका. २:२४) त्यसैगरि, आज पनि इन्टरनेट, हिंस्रक भिडियो गेम वा मनमानी सोचाइद्वारा ‘शैतानका गहिरा-गहिरा कुराहरू’ खोज्नदेखि टाढै बस्ने जवान होस्‌ या वृद्ध, सबैलाई उहाँले स्वीकार्नुहुन्छ। आफ्नो जीवनको हरेक क्षेत्रमा उहाँको डोऱ्‍याइ स्वीकार्न यथासक्य गर्ने आजका थुप्रै ख्रीष्टियानको लगन र त्याग देख्दा उहाँ कत्ति धेरै खुसी हुनुहुन्छ!

१०. ख्रीष्टले मण्डलीका प्राचीनहरूलाई डोऱ्‍याइरहनुभएको कुरालाई कसरी चित्रण गरिएको छ तर तिनीहरूले कुन प्रबन्धलाई स्वीकार्नु आवश्‍यक छ?

१० ख्रीष्टले नियुक्‍त प्राचीनहरूमार्फत पृथ्वीमा भएका आफ्ना मण्डलीहरूको मायालु रेखदेख गर्नुहुन्छ। (एफि. ४:८, ११, १२) प्रथम शताब्दीका सबै निरीक्षक आत्मा-अभिषिक्‍त थिए। तिनीहरूलाई प्रकाशको पुस्तकमा ख्रीष्टको दाहिने बाहुलीमा भएका ताराहरू भनी चित्रण गरिएको छ। (प्रका. १:१६, २०) आज, मण्डलीका अधिकांश प्राचीन अरू भेडाका सदस्य हुन्‌। तिनीहरू प्रार्थनापश्‍चात्‌ र पवित्र आत्माको डोऱ्‍याइमा नियुक्‍त भएका हुन्छन्‌। त्यसैले तिनीहरू पनि ख्रीष्टको दाहिने बाहुलीमा अर्थात्‌ उहाँको अधीनमा छन्‌ र उहाँको निर्देशनअनुसार चल्छन्‌ भन्‍न सकिन्छ। (प्रेरि. २०:२८) तर तिनीहरूले यो कुरा स्वीकार्छन्‌ कि ख्रीष्टले पृथ्वीमा रहेका आफ्ना चेलाहरूलाई डोऱ्‍याउन र निर्देशन दिन अभिषिक्‍त ख्रीष्टियान पुरुषहरूको सानो समूहलाई परिचालक निकायको रूपमा चलाइरहनुभएको छ।— प्रेरित १५:६, २८-३० पढ्‌नुहोस्‌।

“आउनुहोस्‌, हे प्रभु येशू”

११. हाम्रा नेता चाँडै आउनुभएको हेर्न हामी किन उत्सुक छौं?

११ प्रेरित यूहन्‍नालाई प्रकट गरिएको दर्शनमा येशूले पटक-पटक चाँडै आउँदैछु भनेर बताउनुभयो। (प्रका. २:१६; ३:११; २२:७, २०) निस्सन्देह, उहाँले महान्‌ बेबिलोन र शैतानको बाँकी दुष्ट रीतिरिवाजमाथि न्याय गर्न आउने कुरालाई सङ्‌केत गर्दै हुनुहुन्थ्यो। (२ थिस्स. १:७, ८) भविष्यवाणी गरिएका ती अद्‌भुत घटनाहरू पूरा भएको हेर्न उत्सुक वृद्ध प्रेरित यूहन्‍नाले यसो भने: “आमिन, आउनुहोस्‌, हे प्रभु येशू।” अहिले यस दुष्ट रीतिरिवाजको अन्तको समयमा बाँचिरहेका हामी पनि हाम्रा नेता अनि राजा राज्य शक्‍तिमा आएर पिताको नाउँ पवित्र गरेको र उहाँको सार्वभौमिकता उच्च पारेको हेर्न इच्छुक छौं।

१२. विनाशको बतास छोडिनुअघि ख्रीष्टले कुन काम पूरा गर्नुहुनेछ?

१२ येशूले शैतानको दृश्‍य सङ्‌गठनलाई नाश गर्नुअघि आध्यात्मिक इस्राएलका १,४४,००० मध्ये बाँकी सदस्यलाई अन्तिम छाप लगाइनेछ। बाइबलले स्पष्टसित बताएको छ कि १,४४,००० लाई यो अन्तिम छाप लगाउने काम पूरा नभएसम्म शैतानको प्रणालीमाथि विनाशको बतास छोडिनेछैन।—प्रका. ७:१-४.

१३. “महासङ्‌कष्ट”-को पहिलो चरणमा ख्रीष्टले आफ्नो उपस्थिति कसरी प्रकट गर्नुहुनेछ?

१३ सन्‌ १९१४ देखि ख्रीष्टको “आगमन [“उपस्थिति,” NW]” भएको कुरा पृथ्वीमा बस्ने थुप्रैले वास्तै गरेका छैनन्‌। (२ पत्रु. ३:३, ४) तर चाँडै शैतानको रीतिरिवाजको विभिन्‍न तत्त्वमाथि यहोवाको न्याय कार्यान्वयन गरेर येशूले आफ्नो उपस्थिति प्रकट गर्नुहुनेछ। “पापको मानिस” अर्थात्‌ चर्चजगत्‌का पादरीहरूको विनाशले “उहाँको आगमन [“उपस्थिति,” NW]” प्रस्ट पार्नेछ। ( २ थिस्सलोनिकी २:३,  पढ्‌नुहोस्‌) यो, यहोवाको नियुक्‍त न्यायकर्ताको रूपमा ख्रीष्टले कदम चालिसक्नुभएको कुराको ठोस प्रमाण हुनेछ। ( २ तिमोथी ४:१ पढ्‌नुहोस्‌) झूटो धर्मको दुष्ट विश्‍व साम्राज्यको पूर्ण विनाश हुनुअघि सबैभन्दा पहिला, महान्‌ बेबिलोनको अति निन्दनीय भाग अर्थात्‌ चर्चजगत्‌को विनाश हुनेछ। यहोवाले राजनैतिक नेताहरूलाई त्यस आध्यात्मिक वेश्‍यालाई नाश गर्ने मन दिनुहुनेछ। (प्रका. १७:१५-१८) त्यो नै “महासङ्‌कष्ट”-को पहिलो चरण हुनेछ।—मत्ती २४:२१.

१४. (क) महासङ्‌कष्टको पहिलो चरण किन घटाइनेछ? (ख) यहोवाका जनको लागि “मानिसको पुत्रको चिन्ह”-को मतलब के हुनेछ?

१४ “चुनिएकाहरूका निम्ति” अर्थात्‌ पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियानहरूका निम्ति महासङ्‌कष्टको दिन घटाइनेछ भनेर येशूले भन्‍नुभयो। (मत्ती २४:२२) झूटो धर्ममाथि विनाशकारी हमला हुँदा यहोवाले अभिषिक्‍त ख्रीष्टियानहरू र तिनीहरूका सहयोगी अरू भेडालाई नामेट हुन दिनुहुनेछैन। येशूले अझै भन्‍नुभयो, ‘सङ्‌कष्टको दिनपछि’ सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ अनि “मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ।” यो देखेर पृथ्वीका जाति-जातिका मानिसहरूले “विलाप गर्नेछन्‌।” तर स्वर्गीय आशा भएका अभिषिक्‍त जन र पार्थिव आशा भएका तिनीहरूका सहयोगीहरूले भने विलाप गर्नेछैनन्‌। तिनीहरूले ‘शिर उठाएर माथि हेर्नेछन्‌ किनभने तिनीहरूको छुटकारा नजिकै आएको हुनेछ।’—मत्ती २४:२९, ३०; लूका २१:२५-२८.

१५. ख्रीष्ट आइसकेपछि उहाँले के काम गर्नुहुनेछ?

१५ आफ्नो विजय पूरा गर्नुअघि मानिसको पुत्र अर्को एउटा तरिकामा पनि आउनुहुनेछ। उहाँले यस्तो भविष्यवाणी गर्नुभयो: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌, र जसरी गोठालाले भेडालाई बाख्राबाट छुट्ट्याउँछ, उसरीनै उसले तिनीहरूलाई एकलाई अर्कोबाट छुट्ट्याउनेछ। औ उसले भेडाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।” (मत्ती २५:३१-३३) यसले “सबै देशका मानिसहरू”-लाई दुई समूहमा छुट्ट्याउन ख्रीष्ट न्यायकर्ताको रूपमा आउने कुरालाई बुझाउँछ। ती दुई समूह हुन्‌: “भेडाहरू,” जसले उहाँका आध्यात्मिक भाइहरूलाई (पृथ्वीमा रहेका अभिषिक्‍त ख्रीष्टियानहरू) सक्रियतापूर्वक साथ दिएका हुनेछन्‌ अनि “बाख्राहरू,” जसले ‘हाम्रा प्रभु येशूको सुसमाचार मान्दैनन्‌।’ (२ थिस्स. १:७, ८) “धार्मिक” भनेर वर्णन गरिएका भेडाले पृथ्वीमा “अनन्त जीवन” पाउनेछन्‌ तर बाख्राहरूले “अनन्त दण्ड” अर्थात्‌ विनाश भोग्नेछन्‌।—मत्ती २५:३४, ४०, ४१, ४५, ४६.

येशू आफ्नो विजय पूरा गर्नुहुन्छ

१६. हाम्रा नेता ख्रीष्टले कसरी विजय पूरा गर्नुहुनेछ?

१६ येशूसँगै राजा अनि पूजाहारीको रूपमा शासन गर्ने सबैलाई छाप लगाइसकेपछि अनि भेडाको पहिचान गरेर तिनीहरूलाई छुटकाराको लागि उहाँको दाहिने हातपट्टि राखिसकेपछि ख्रीष्ट आफ्नो “विजय” पूरा गर्न निस्कनुहुनेछ। (प्रका. ५:९, १०; ६:२) शक्‍तिशाली स्वर्गदूतहरूका सेनाको साथै पुनरुत्थान भएका भाइहरूको पनि नेताको हैसियतले उहाँले पृथ्वीमा रहेका शैतानका सम्पूर्ण राजनैतिक, सैन्य र आर्थिक प्रणाली नाश गर्नुहुनेछ। (प्रका. २:२६, २७; १९:११-२१) शैतानको दुष्ट रीतिरिवाज नाश गरिसकेपछि ख्रीष्टको विजय पूरा हुनेछ। तब उहाँले शैतान र त्यसका प्रेतहरूलाई हजार वर्षको लागि अगाध खाँदमा थुन्‍नुहुनेछ।—प्रका. २०:१-३.

१७. ख्रीष्टले हजार वर्षीय राज्यको दौडान अरू भेडालाई केतर्फ डोऱ्‍याउनुहुनेछ र हाम्रो सङ्‌कल्प कस्तो हुनुपर्छ?

१७ महासङ्‌कष्टबाट बच्ने अरू भेडाको “ठूलो भीड”-बारे प्रेरित यूहन्‍नाले यस्तो भविष्यवाणी गरे: “सिंहासनका बीचमा हुने थुमा तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ।” (प्रका. ७:९, १७) हो, हजार वर्षीय राज्यको दौडान, ख्रीष्टले उहाँको सोर साँच्चै सुन्‍ने अरू भेडाको नेतृत्व गरिरहनुहुनेछ र तिनीहरूलाई अनन्त जीवनतर्फ डोऱ्‍याउनुहुनेछ। ( यूहन्‍ना १०:१६, २६-२८ पढ्‌नुहोस्‌) अहिले अनि यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारसम्म पनि हाम्रा राजा अनि हाम्रा नेताको पछि-पछि विश्‍वासी भई लागिरहौं! ( w10 -E 09/15)

पुनरावलोकन गर्दा

सिंहासनमा बसेपछि ख्रीष्टले कस्तो कदम चाल्नुभयो?

पृथ्वीमा भएका मण्डलीहरूको नेतृत्व गर्न ख्रीष्टले कसलाई चलाउँदैहुनुहुन्छ?

हाम्रा नेता ख्रीष्ट कुन अर्थमा आउन बाँकी नै छ?

नयाँ संसारमा पनि ख्रीष्टले हामीलाई कसरी डोऱ्‍याइरहनुहुनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ ३१-मा भएको चित्र]

शैतानको दुष्ट रीतिरिवाजको विनाशले ख्रीष्टको उपस्थिति प्रकट गर्नेछ