सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

४ प्रार्थना कस्ता विषयमा गर्नुपर्छ?

४ प्रार्थना कस्ता विषयमा गर्नुपर्छ?

४ प्रार्थना कस्ता विषयमा गर्नुपर्छ?

ख्रीष्टियान प्रार्थनाहरूमध्ये येशूको नमुना प्रार्थना सबैभन्दा व्यापक तवरमा गरिने प्रार्थना मानिन्छ, जसलाई “प्रभुको प्रार्थना” वा “हाम्रो पिता” पनि भनिन्छ। यो प्रार्थना व्यापक तवरमा गरिन्छ कि गरिंदैन, त्यो त पक्का छैन तर यसको एकदमै गलत अर्थ भने लगाइएको छ। लाखौं मानिसले यो प्रार्थना कण्ठ गरेर दिनमा धेरै चोटि बर्बराउँछन्‌। तर त्यसरी प्रार्थना गरोस्‌ भनेर येशूले कहिल्यै चाहनुभएको थिएन। यो हामी कसरी भन्‍न सक्छौं?

नमुना प्रार्थनाबारे बताउनुअघि येशूले भन्‍नुभयो: “प्रार्थना गर्दा . . . व्यर्थै नबरबराऊ।” (मत्ती ६:७) तर येशूले “यस किसिमले प्रार्थना गर” भन्‍नुभएको हुँदा त्यही शब्द कण्ठ गर्नुपर्ने वा त्यही शब्द दोहोऱ्‍याउनुपर्ने जस्तो भएन र? पटक्कै भएन! येशूले वास्तवमा कुन विषयमा प्रार्थना गर्ने भनेर सिकाउँदै हुनुहुन्थ्यो। अनि प्रार्थनामा कुन कुरालाई प्रथम स्थान दिनुपर्छ भनेर प्रस्ट पार्दै हुनुहुन्थ्यो। अब उहाँले भन्‍नुभएको कुरालाई केलाएर हेरौं। यो प्रार्थना मत्ती ६:९-१३ मा लिपिबद्ध छ।

येशूको नमुना प्रार्थनामा समेटिएका मुख्य बुँदाहरूलाई हामीले छोटकरीमा विचार गऱ्‍यौं तर प्रार्थना गर्न सकिने हरेक विषयबारे भने बताइएको छैन। पहिलो यूहन्‍ना ५:१४ ले परमेश्‍वरबारे यसो भन्छ: “उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” त्यसैले आफ्ना समस्याहरू अति मामुली भएकाले यहोवासमक्ष राख्न मिल्दैन होला भन्‍ने चिन्ता नगर्नुहोस्‌।—१ पत्रुस ५:७.

उसोभए कहिले र कहाँ बसेर प्रार्थना गर्ने त? प्रार्थना गर्ने समय र ठाउँले के कुनै फरक पार्छ? ( w10 -E 10/01)

[पृष्ठ ६-मा भएको चित्र]

“हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।”

आफ्नो बुबा यहोवालाई मात्र प्रार्थना गर्नुपर्छ भनेर येशूले चेलाहरूलाई सम्झाउनुभयो। तर परमेश्‍वरको नाम यत्तिको महत्त्वपूर्ण हुनु अनि यसलाई पवित्र पार्नुपर्ने कारण के तपाईंलाई थाह छ?

मानव इतिहासको सुरुदेखि परमेश्‍वरको पवित्र नाम बदनाम भएको छ। परमेश्‍वरको विरोधी शैतानले यहोवालाई फटाहा र स्वार्थी शासक भन्‍नुका साथै सृष्टिमाथि वास्तवमा उहाँको कुनै अख्तियार छैन पनि भनेको छ। (उत्पत्ति ३:१-६) थुप्रैले शैतानको पक्ष लिएर परमेश्‍वर कठोर, निर्दयी अनि बदला लिने परमेश्‍वर हुनुहुन्छ भनी सिकाउँछन्‌। अनि कतिपयले उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर पटक्कै मानिलिंदैनन्‌। कतिले भने उहाँको नाममाथि नै आक्रमण गरेर बाइबल अनुवादबाट यहोवा नाम हटाएका छन्‌ अनि त्यो नाम प्रयोग गर्न निषेध गरेका छन्‌।

परमेश्‍वरले आफ्नो नाममा लागेको सबै कलङ्‌क मेटाउनुहुनेछ भनी बाइबल बताउँछ। (इजकिएल ३९:७) अनि उहाँले तपाईंको हरेक आवश्‍यकता पूरा गर्नुहुनेछ र तपाईंको समस्या सुल्झाउनुहुनेछ। कसरी? येशूका यी शब्दहरूले यसको जवाफ दिन्छ।

[पृष्ठ ७-मा भएको चित्र]

“तपाईंको राज्य आओस्‌।”

आज परमेश्‍वरको राज्यबारे थुप्रै धर्मगुरु अन्योलमा छन्‌। तर परमेश्‍वरले छान्‍नुभएको उद्धारक अर्थात्‌ मसीहले परमेश्‍वरको राज्य शासन चलाउनेछ अनि त्यस सरकारले संसारको रूप परिवर्तन गर्नेछ भनेर परमेश्‍वरका भविष्यवक्‍ताहरूले पहिल्यै बताइसकेका थिए भनेर येशूका श्रोताहरूलाई थाह थियो। (यशैया ९:६, ७; दानियल २:४४) यसले शैतानको झूट पर्दाफास गरेर अनि शैतान र त्यसका कामहरूलाई परास्त गरेर परमेश्‍वरको नाम पवित्र पार्नेछ। परमेश्‍वरको राज्यले युद्ध, रोगबिमार, अनिकाल र मृत्युसमेत नामेट पार्नेछ। (भजन ४६:९; ७२:१२-१६; यशैया २५:८; ३३:२४) परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्दा यी सबै प्रतिज्ञा पूरा होस्‌ भनेर तपाईंले प्रार्थना गरिरहनुभएको हुन्छ।

[पृष्ठ ७-मा भएको चित्र]

“तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”

येशूका यी शब्दहरूले परमेश्‍वर बास गर्नुहुने स्वर्गमा जसरी उहाँको इच्छा पूरा भयो, त्यसरी नै पृथ्वीमा पनि उहाँको इच्छा पूरा हुनेछ भनेर देखाउँछ। स्वर्गमा परमेश्‍वरको इच्छा पूरा हुनदेखि कुनै कुराले रोक्न सकेन। स्वर्गमा परमेश्‍वरको छोराले शैतान र त्यसका समर्थकहरूविरुद्ध लडाइँ लड्‌नुभयो र तिनीहरूलाई तल पृथ्वीमा हुऱ्‍याइदिनुभयो। (प्रकाश १२:९-१२) नमुना प्रार्थनाको यो तेस्रो बिन्तीले हामीलाई पहिलो दुइटा बिन्तीले जस्तै आफ्नो होइन तर परमेश्‍वरको इच्छामा ध्यानकेन्द्रित गर्न मदत गर्छ। उहाँको इच्छाबमोजिम जे गरिन्छ, त्यसले नै सारा सृष्टिको सर्वोत्तम लाभ हुन्छ। तसर्थ सिद्ध मानिस येशूले समेत आफ्नो बुबालाई यसो भन्‍नुभयो: “मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्‌।”—लूका २२:४२.

[पृष्ठ ७-मा भएको चित्र]

“हाम्रो दिनभरिको भोजन दिनुहोस्‌।”

येशूका यी शब्दहरूको मतलब आफ्नो लागि केही पनि माग्नै हुँदैन भन्‍ने होइन। दैनिक आवश्‍यकताको लागि प्रार्थना गर्नुमा कुनै खराबी छैन। वास्तवमा, त्यसरी माग्दा यहोवाले नै “सबैलाई जीवन, सास र सबै चिज दिनुहुन्छ” भनेर हामीले सम्झिरहेका हुन्छौं। (प्रेरित १७:२५) उहाँ मायालु बुबा हुनुहुन्छ, जो आफ्ना छोराछोरीलाई आवश्‍यक कुरा दिन खुसी हुनुहुन्छ भनेर बाइबल बताउँछ। तर जसरी असल बुबाले आफ्नो छोराछोरीले मागेको कुराले तिनीहरूलाई फाइदा हुँदैन भने दिंदैनन्‌, त्यसरी नै यहोवाले पनि मागेको हरेक कुरा दिनुहुन्‍न।

[पृष्ठ ७-मा भएको चित्र]

“हाम्रो अपराध क्षमा गर्नुहोस्‌।”

के तपाईंलाई परमेश्‍वरको क्षमा चाहिन्छ? आज धेरैले पापको वास्तविकता र गम्भीरतालाई बिर्सेका छन्‌। तर हाम्रा दुःखदायी समस्याको जड पाप हो र पापले गर्दा नै हामी मर्छौं भनी बाइबल सिकाउँछ। हामी जन्मजात पापी भएकोले पटक-पटक पाप गर्छौं अनि परमेश्‍वरले क्षमा दिनुभएको खण्डमा मात्र अनन्त भविष्यको आशा राख्न सक्छौं। (रोमी ३:२३; ५:१२; ६:२३) बाइबलले सिकाउने निम्न कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौं: “हे परमप्रभु [“यहोवा,” NW], तपाईं भलो र क्षमा गर्ने हुनुहुन्छ।”—भजन ८६:५.

[पृष्ठ ७-मा भएको चित्र]

“दुष्टबाट छुटाउनुहोस्‌।”

परमेश्‍वरको सुरक्षा एकदमै जरुरी अनि अत्यावश्‍यक छ भनेर के तपाईंले बुझ्नुभएको छ? धेरैले “दुष्ट” अर्थात्‌ शैतानको अस्तित्व छ भनेर स्वीकार्नै मान्दैनन्‌। तर येशूले शैतान वास्तविक हो भनेर सिकाउनुभयो अनि त्यसलाई “यस संसारको शासक”-समेत भन्‍नुभयो। (यूहन्‍ना १२:३१; १६:११) शैतानले आफ्नो नियन्त्रणमा भएको संसारलाई भ्रष्ट पारेको छ। त्यसैले तपाईंलाई पनि भ्रष्ट पार्न अनि तपाईंको बुबा यहोवासित घनिष्ठ सम्बन्ध गाँस्नदेखि रोक्न शैतान त्यत्तिकै उत्सुक छ। (१ पत्रुस ५:८) तथापि शैतानभन्दा यहोवा कता हो कता शक्‍तिशाली हुनुहुन्छ र उहाँलाई प्रेम गर्नेहरूलाई सुरक्षा दिन खुसी हुनुहुन्छ।