सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

५ प्रार्थना खास ठाउँ र समयमै गर्नुपर्छ?

५ प्रार्थना खास ठाउँ र समयमै गर्नुपर्छ?

५ प्रार्थना खास ठाउँ र समयमै गर्नुपर्छ?

धेरैजसो स्थापित धर्मले प्रार्थना गर्न भव्य भवन हुनुपर्ने अनि दिनमा कुन-कुन समयमा प्रार्थना गर्नुपर्ने हो भनेर तोक्ने गरेको सायद तपाईंले याद गर्नुभएको होला। के बाइबलले खास स्थान र समय छुट्ट्याएर हाम्रो प्रार्थनालाई सीमित पारेको छ?

बाइबलले प्रार्थना गर्ने उपयुक्‍त अवस्थाबारे भने बताउँछ। उदाहरणको लागि, चेलाहरूसँगै बसेर खानुअघि येशूले परमेश्‍वरलाई धन्यवाद चढाउन प्रार्थना गर्नुभयो। (लूका २२:१७) अनि उहाँका चेलाहरू उपासना गर्न भेला हुँदा तिनीहरूले एकसाथ प्रार्थना गरे। यसरी तिनीहरूले यहूदी सभाघर अनि यरूशलेमको मन्दिरमा पहिल्यैदेखि गर्दै आएको चलनलाई निरन्तरता दिए। परमेश्‍वरले यरूशलेमको मन्दिर “सब जातिहरूका निम्ति प्रार्थनाको घर” भएको चाहनुहुन्थ्यो।—मर्कूस ११:१७.

परमेश्‍वरका जन एकसाथ भेला भएर प्रार्थना गर्दा तिनीहरूको बिन्ती प्रभावकारी हुन्छ। यदि तिनीहरूको सोचाइ एउटै छ अनि समूहको खातिर गरिएको प्रार्थनाले धर्मशास्त्रीय सिद्धान्त झल्काउँछ भने परमेश्‍वर खुसी हुनुहुन्छ। यदि कुनै कुरा हामीले प्रार्थनामा नमागेको भए सायद यहोवाले पूरा गर्नुहुन्थेन होला तर त्यसको लागि हामीले प्रार्थना गरेको हुँदा उहाँ त्यो पूरा गरिदिन अग्रसरसमेत हुन सक्नुहुन्छ। (हिब्रू १३:१८, १९) यहोवाका साक्षीहरू सभामा नियमित रूपमा प्रार्थना गर्छन्‌। तपाईंको घर नजिकैको राज्यभवनमा तपाईंलाई हार्दिक स्वागत छ अनि त्यहाँ कस्तो प्रार्थना गरिन्छ, आफै सुन्‍न सक्नुहुन्छ।

तथापि कुनै खास समय वा ठाउँमा मात्र प्रार्थना गर्नुपर्छ भनी बाइबल बताउँदैन। परमेश्‍वरका सेवकहरूले जुनसुकै ठाउँमा अनि जुनसुकै बेला प्रार्थना गरेको विवरण हामी बाइबलमा पाउन सक्छौं। येशूले भन्‍नुभयो: “तिमी जब प्रार्थना गर्दछौ, त्यसबेला आफ्नो भित्री कोठाभित्र पस, र ढोका थुनेर गुप्तमा बसेका तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।”—मत्ती ६:६.

के यस्तो निमन्त्रणाले हाम्रो मन छुँदैन र? तपाईं ब्रह्‍माण्डको सार्वभौमलाई जुनसुकै बेला, बिल्कुलै गोप्य रूपमा पुकार्न सक्नुहुन्छ र उहाँले तपाईंको पुकारा सुन्‍नुहुनेछ भनेर विश्‍वस्त हुनुहोस्‌। त्यसैले त येशू प्रार्थना गर्न अक्सर एक्लै कतै जानुहुन्थ्यो! एक चोटि उहाँले एकदमै महत्त्वपूर्ण निर्णय गर्नुअघि परमेश्‍वरको डोऱ्‍याइ खोज्न रातभरि प्रार्थना गर्नुभयो।—लूका ६:१२, १३.

बाइबलमा लिपिबद्ध थुप्रै पुरुष तथा स्त्रीले गम्भीर निर्णय गर्नुपर्दा वा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्दा प्रार्थना गरे। कहिलेकाहीं तिनीहरूले ठूलो स्वरले प्रार्थना गरे त कहिले मनमनै। तिनीहरूले कहिले समूहमा प्रार्थना गरे भने कहिलेचाहिं एक्लै। तर महत्त्वपूर्ण कुरा, तिनीहरूले प्रार्थना गरे। परमेश्‍वर आफ्ना सेवकहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “निरन्तर प्रार्थना गरिरहो।” (१ थिस्सलोनिकी ५:१७) उहाँको इच्छाबमोजिम गर्नेहरूको प्रार्थना सुन्‍न उहाँ सधैं इच्छुक हुनुहुन्छ। के यो परमेश्‍वरको मायालु निमन्त्रणा होइन र?

निस्सन्देह, अहिलेको स्वार्थी संसारका मानिसहरू ‘प्रार्थना गरेर के फाइदा होला र’ भनी शङ्‌का व्यक्‍त गर्ने गर्छन्‌। तपाईं पनि सोध्नुहोला: ‘के प्रार्थनाले मलाई साँच्चै मदत गर्छ?’ (w10 -E 10/01)

[पृष्ठ ८-मा भएको चित्र]

हामी जुनसुकै ठाउँमा अनि जुनसुकै बेला प्रार्थना गर्न सक्छौं