सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

७ प्रार्थना के परमेश्‍वरले सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ?

७ प्रार्थना के परमेश्‍वरले सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ?

७ प्रार्थना के परमेश्‍वरले सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ?

यस प्रश्‍नले निकै उत्साह र कौतूहलता जगाउँछ। यहोवाले आज पनि प्रार्थना अवश्‍य सुन्‍नुहुन्छ भनी बाइबल बताउँछ। उहाँले प्रार्थना सुन्‍नु वा नसुन्‍नु, यो धेरै हदसम्म हामी आफैमा निर्भर हुन्छ।

येशूले देखावटी प्रार्थना गर्ने धर्मगुरुहरूको निन्दा गर्नुभयो। तिनीहरूको धुन केवल देखावटी धर्मकर्म गर्नुमा थियो। त्यस्ता मानिसहरूले “आफ्नो इनाम पाइसकेका हुन्छन्‌” भनी येशूले बताउनुभयो। (मत्ती ६:५) यसको मतलब, आफूले सबैभन्दा चाहेको कुरा अर्थात्‌ मानिसहरूको वाहवाही तिनीहरूले पाउनेथिए तर परमेश्‍वरले भने त्यस्तो प्रार्थना सुन्‍नुहुनेथिएन, जुन तिनीहरूको लागि आवश्‍यक थियो। त्यसरी नै आज पनि धेरैले परमेश्‍वरको होइन, आफ्नै इच्छाबमोजिम प्रार्थना गर्छन्‌। अघिल्लो लेखहरूमा छलफल गरिएका बाइबल सिद्धान्तहरू तिनीहरू बेवास्ता गर्छन्‌। त्यसैले परमेश्‍वरले तिनीहरूको प्रार्थना सुन्‍नुहुन्‍न।

त्यसोभए तपाईंको प्रार्थना नि? के परमेश्‍वरले तपाईंको प्रार्थना सुनेर त्यसको जवाफ दिनुहुन्छ? यो तपाईंको राष्ट्रियता, जाति वा सामाजिक ओहदामा निर्भर हुँदैन। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) के यो विवरण तपाईंसित मेल खान्छ? यदि तपाईं परमेश्‍वरको भय राख्नुहुन्छ भने उहाँको उच्च सम्मान गर्नुहुनेछ र उहाँलाई अप्रसन्‍न तुल्याउनदेखि होसियार हुनुहुनेछ। यदि तपाईं उचित काम गर्नुहुन्छ भने आफ्नै इच्छाबमोजिम गर्नु वा आफ्ना सँगी मानवको कुरा सुन्‍नुको साटो परमेश्‍वरले जुन कुरालाई सही ठहराउनुभएको छ, त्यही गर्नुहुन्छ। के तपाईं परमेश्‍वरले प्रार्थना सुनेको साँच्चै चाहनुहुन्छ? परमेश्‍वरले कस्तो प्रार्थना सुन्‍नुहुन्छ, त्यसबारे बाइबलमा बताइएको छ।  a

निस्सन्देह, धेरैले परमेश्‍वरले कुनै चमत्कारद्वारा प्रार्थनाको जवाफ दिएको आशा गर्छन्‌। तर बाइबलकालमा पनि परमेश्‍वरले त्यस्ता चमत्कारहरू हतपती गर्नुभएन। कहिलेकाहीं एउटा चमत्कार गरेको शताब्दीयौंपछि मात्र उहाँले अर्को चमत्कार गर्नुभयो। साथै प्रेरितहरूको समयपछि चमत्कारको युगको अन्त भयो भनी बाइबल बताउँछ। (१ कोरिन्थी १३:८-१०) के यसको मतलब परमेश्‍वरले अहिले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्‍न भन्‍ने हो? कदापि होइन! उहाँले जवाफ दिनुभएका केही प्रार्थनाबारे विचार गर्नुहोस्‌।

परमेश्‍वरले बुद्धि दिनुहुन्छ। सर्वोत्तम बुद्धिको स्रोत यहोवा हुनुहुन्छ। उहाँको डोऱ्‍याइ खोज्ने र त्यसैअनुरूप जिउन चाहनेहरूलाई उहाँले उदारचित्तसँग नझर्कीकन त्यस्तो बुद्धि दिनुहुन्छ।—याकूब १:५.

परमेश्‍वरले पवित्र आत्मा र यसबाट सम्भव हुने सम्पूर्ण कुरा दिनुहुन्छ। पवित्र आत्मा परमेश्‍वरको सक्रिय शक्‍ति हो। योभन्दा बलियो अरू कुनै शक्‍ति छैन। यसले हामीलाई परीक्षाहरू सहन मदत गर्छ। समस्याले पिरोलिएको अवस्थामा समेत हामीलाई मनोशान्ति दिन्छ। यसले हामीलाई अरू सुन्दर तथा मनमोहक गुणहरू खेती गर्न पनि मदत गर्छ। (गलाती ५:२२, २३) उदारचित्त भई परमेश्‍वरले यो उपहार दिनुहुन्छ भनी येशूले आफ्ना चेलाहरूलाई आश्‍वासन दिनुभयो।—लूका ११:१३.

जोडतोडले परमेश्‍वरको खोजी गर्नेहरूलाई उहाँले ज्ञान दिनुहुन्छ। (प्रेरित १७:२६, २७) जोडतोडले सत्यको खोजी गर्ने मानिसहरू संसारभरि छन्‌। तिनीहरू परमेश्‍वरबारे यस्ता कुरा जान्‍न चाहन्छन्‌: उहाँको नाम के हो, पृथ्वी र मानिसजातिको लागि उहाँको उद्देश्‍य के हो अनि कसरी उहाँसित नजिक हुन सकिन्छ। (याकूब ४:८) यहोवाका साक्षीहरूले यस्ता मानिसहरू अक्सर भेट्‌ने गर्छन्‌ अनि बाइबलबाटै ती प्रश्‍नहरूको जवाफ दिन पाएकोमा खुसी हुन्छन्‌।

के यस्तै प्रश्‍नहरूको जवाफ पाउन तपाईंले यो पत्रिका लिनुभएको हो? के तपाईं परमेश्‍वरको खोजी गर्दै हुनुहुन्छ? कतै यो नै तपाईंको प्रार्थनाको जवाफ हो कि! (w10 -E 10/01)

[फुटनोट]

a प्रार्थना कसरी गर्ने अनि परमेश्‍वरले कस्ता प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय १७ हेर्नुहोस्‌।