सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पूरै पृथ्वीमा परिवर्तन ल्याउने एउटा राज्य

पूरै पृथ्वीमा परिवर्तन ल्याउने एउटा राज्य

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌

पूरै पृथ्वीमा परिवर्तन ल्याउने एउटा राज्य

परमेश्‍वरको राज्य के हो, के तिमीलाई थाह छ?— a येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभएको राज्य यही हो। परमेश्‍वरलाई यस्तो बिन्ती गर्न उहाँले सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌।” (मत्ती ६:९, १०) परमेश्‍वरको राज्य आओस्‌ भनेर येशूका चेलाहरूले प्रार्थना गर्न थालेको लगभग २,००० वर्ष भइसक्यो। के तिमीले यो राज्यको लागि प्रार्थना गरेका छौ?—

राज्य के हो भनेर बुझ्न, पहिला तिमीले राजा भनेको के हो, त्यो बुझ्नुपर्छ। शासन गर्ने मानिसलाई राजा भनिन्छ। अनि उसले शासन गर्ने इलाकालाई उसको साम्राज्य भनिन्छ। परमेश्‍वरको राज्यको साम्राज्य पूरै पृथ्वी हो। उहाँको राज्य आएको केही समयपछि पृथ्वीमा बसोबास गर्ने सबै जनाले उहाँको शासनले ल्याउने आशिष्‌हरूको आनन्द उठाउन थाल्नेछन्‌।

परमेश्‍वरको राज्य भनेको स्वर्गमा स्थापना भएको एउटा सरकार हो। बाइबलले यशैया ९:६ मा यस सरकारको शासकबारे बताएको छ। उहाँबारे के भनिएको छ, ध्यान दिएर पढ त: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ . . . शान्तिका राजकुमार कहलाइनेछ।”

राजकुमार कसलाई भनिन्छ, के तिमीलाई थाह छ?— हो, राजाको छोरालाई राजकुमार भनिन्छ। स्वर्गमा हुनुहुने सर्वोच्च राजा को हुनुहुन्छ?— तिमीले यहोवा भनेका हौ भने ठीक भन्यौ। बाइबलमा उहाँलाई “सारा पृथ्वीमा सर्वोच्च” भनिएको छ। (भजन ८३:१८) बाइबलमा येशूलाई अक्सर “परमेश्‍वरको छोरा” भनिएको छ। उहाँलाई यसो भन्‍नुको एउटा कारण हो, यहोवाले नै येशूलाई जीवन दिनुभएको थियो। त्यसैले येशूको वास्तविक बुबा यहोवा नै हुनुहुन्छ।—लूका १:३४, ३५; यूहन्‍ना १:३४, ४९; ३:१७; ११:२७; २०:३१; प्रेषित ९:२०.

येशूले प्रार्थना गर्न सिकाउनुभएको परमेश्‍वरको राज्य विशेष किसिमको सरकार हो। यहोवाले आफ्नो छोरा, राजकुमार येशूलाई यो राज्यको शासक बनाउनुहुन्छ। तर परमेश्‍वरको राज्यमा अरूले पनि येशूसँगै शासन गर्नेछन्‌ भनेर के तिमीलाई थाह छ?— अब यसबारे बुझौं है त।

आफ्नो मृत्यु हुनुभन्दा अलिकति मात्र अगाडि येशूले आफ्ना विश्‍वासी प्रेषितहरूलाई स्वर्गमा आफ्नो बुबाको “घरमा” जान लागेको कुरा बताउनुभयो। उहाँले भन्‍नुभयो, “म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदैछु। . . . र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीं हुनेछौ।” (यूहन्‍ना १४:१-३) प्रेषितहरू र छानिएका अन्य व्यक्‍तिहरूले स्वर्गमा येशूसँगै के गर्नेछन्‌, तिमीलाई थाह छ?— उनीहरूले “उहाँसित शासन गर्नेछन्‌।” राजाको रूपमा येशूसँगै कति जनाले शासन गर्नेछन्‌ भनेर पनि बाइबलमा बताइएको छ। तिनीहरू १,४४,००० जना हुनेछन्‌।—प्रकाश १४:१, ३; २०:६.

शान्तिका राजकुमार र छानिएका १,४४,००० जनाले पृथ्वीमाथि शासन गर्दा कस्तो हुन्छ होला?— एकदमै रमाइलो हुनेछ नि, होइन र? युद्ध हुनेछैन। जनावरहरू आपसमा र हामीसँग मिलेर बस्नेछन्‌। कोही पनि बिरामी हुनेछैनन्‌ वा मर्नेछैनन्‌। अन्धोले देख्नेछ, बहिराले सुन्‍नेछ, लङ्‌गडा मृगझैं दौडनेछ र उफ्रनेछ। पृथ्वीमा सबैलाई पुग्ने गरी असल-असल अन्‍न उर्मनेछ। अनि येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएझैं सबै मानिसहरूले आपसमा प्रेम गर्नेछन्‌। (यूहन्‍ना १३:३४, ३५) अब हामी यहाँ दिइएका यशैयाको पुस्तकका शास्त्रपदहरू पल्टाऔं र परमेश्‍वरको राज्यमा हुने राम्रा-राम्रा कुराहरूबारे पढौं।—यशैया २:४; ११:६-११; २५:८; ३३:२४; ३५:५, ६; ६५:२१-२४.

“तपाईंको राज्य आओस्‌” भनेर येशूले जतिबेलादेखि सिकाउनुभयो त्यतिबेलादेखि यता लाखौं मानिसहरूले त्यस राज्यबारे सिकेका छन्‌। यो ज्ञानले तिनीहरूको जीवनमा परिवर्तन ल्याएको छ। चाँडै त्यो राज्य आएपछि र पृथ्वीमा रहेका सबै सरकारहरूलाई हटाएपछि यहोवा परमेश्‍वर र उहाँले छान्‍नुभएको शासक, येशू ख्रीष्टको सेवा गर्ने सबैले शान्ति, सुस्वास्थ्य र आनन्द पाउनेछन्‌।—यूहन्‍ना १७:३. (w10-E 10/01)

[फुटनोट]

a केटाकेटीसँगै बसेर तपाईं यो लेख पढ्‌दै हुनुहुन्छ भने धर्सोले एकछिन रोकिन र बच्चालाई आफ्नो कुरा बताउने प्रोत्साहन दिन सम्झाउँछ।

प्रश्‍नहरू:

▪ परमेश्‍वरको राज्यको शासक को हो र बाइबलमा उनलाई किन “राजकुमार” भनिएको छ?

▪ परमेश्‍वरको राज्यमा येशूसँगै अरू कसले राज्य गर्नेछ?

▪ येशूले शासन गर्दा पृथ्वी कस्तो हुनेछ?