सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्‌

पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्‌

पहिले “उहाँको धार्मिकता” खोजिरहनुहोस्‌

“पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३३.

१, २. परमेश्‍वरको धार्मिकता के हो र यो केमा आधारित छ?

 “पहिले उहाँको राज्य . . . खोजी गर।” (मत्ती ६:३३) येशू ख्रीष्टले डाँडामा उपदेश दिनुहुँदाको यो सल्लाह आज यहोवाका साक्षीहरूमाझ चिरपरिचित छ। परमेश्‍वरको राज्य सरकारलाई हामी प्रेम गर्छौं अनि त्यसप्रति वफादार रहन चाहन्छौं भनेर आफ्नो जीवनको हरेक पक्षमा देखाउने प्रयास गर्छौं। तर हामीले उक्‍त सल्लाहको दोस्रो भाग अर्थात्‌ “र उहाँको धार्मिकता” भन्‍ने अभिव्यक्‍तिलाई पनि बिर्सनु हुँदैन। परमेश्‍वरको धार्मिकता के हो र पहिले यसको खोजी गर्नुको अर्थ के हो?

“धार्मिकता” भनी अनुवाद गरिएको मूल भाषाको शब्दलाई “न्याय” वा “सोझोपन” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसर्थ, परमेश्‍वरको धार्मिकताले उहाँको स्तर र मूल्यमान्यताको सोझोपन अर्थात्‌ निष्कपटतालाई बुझाउँछ। यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले असल र खराब अनि सही र गलतको स्तर तोक्ने अधिकार उहाँसित मात्र छ। (प्रका. ४:११) तथापि, परमेश्‍वरको धार्मिकता भनेको कठोर, निर्दयी नीतिनियमहरूको ठेली वा तीन थुप्रो विधिविधानको सूची होइन। यहोवाको धार्मिकता उहाँको न्यायमा आधारित छ। यो न्याय उहाँको व्यक्‍तित्व र उहाँको प्रमुख गुणमध्ये एक हो अनि यसले उहाँको प्रेम, बुद्धि र शक्‍तिसँगसँगै मिलेर काम गर्छ। त्यसैले परमेश्‍वरको इच्छा र उद्देश्‍यसित उहाँको धार्मिकता सम्बन्धित छ। यसमा उहाँको सेवा गर्न चाहनेहरूबाट उहाँले माग गर्नुहुने कुराहरू पनि मुछिएका छन्‌।

३. (क) पहिले परमेश्‍वरको धार्मिकता खोजी गर्नुको अर्थ के हो? (ख) हामी किन यहोवाको धार्मिक स्तरअनुसारै चल्छौं?

पहिले परमेश्‍वरको धार्मिकता खोजी गर्नुको अर्थ के हो? सरल भाषामा भन्‍ने हो भने, परमेश्‍वरलाई खुसी पार्न उहाँको इच्छाबमोजिम गर्नु हो। उहाँको धार्मिकता खोजी गर्नु भनेको आफ्नो होइन तर उहाँको मूल्यमान्यता र त्रुटिरहित स्तरअनुसार जीवन बिताउने प्रयास गर्नु हो। ( रोमी १२:२ पढ्‌नुहोस्‌) यस्तो जीवनशैलीमा यहोवासितको हाम्रो सम्बन्ध नै मुछिएको छ। सजाय भोग्नुपर्ला भन्‍ने डरले मात्र हामी उहाँको नियम पालन गर्दैनौं। बरु, परमेश्‍वरप्रतिको प्रेमले हामीलाई आफ्नो स्तर बनाउन होइन तर उहाँको स्तरअनुसारै चल्ने प्रयास गर्न उत्प्रेरणा दिन्छ। हामीले गर्नुपर्ने सही कुरा यही हो अनि यसैका लागि सृष्टि भएका हौं भनेर हामीले बुझेका छौं। परमेश्‍वरको राज्यको राजा येशू ख्रीष्टले जस्तै हामीले पनि धार्मिकतालाई प्रेम गर्नुपर्छ।—हिब्रू १:८, ९.

४. परमेश्‍वरको धार्मिकता खोज्नु किन एकदमै महत्त्वपूर्ण छ?

यहोवाको धार्मिकता खोज्नु कत्तिको महत्त्वपूर्ण छ? यो तथ्य विचार गर्नुहोस्‌: अदनको बगैंचामा पहिलो परीक्षा हुँदा यहोवाको स्तर तोक्ने अधिकारलाई आदम र हव्वाले स्वीकार्नेछ कि छैन, त्यसको जाँच भएको थियो। (उत्प. २:१७; ३:५) तिनीहरूले परमेश्‍वरको यो अधिकार स्वीकार्न नमान्दा तिनीहरूका सन्तान अर्थात्‌ हामीले अनेकन्‌ दुःखकष्ट अनि मृत्यु भोग्नुपरेको छ। (रोमी ५:१२) अर्कोतर्फ, परमेश्‍वरको वचनले बताएअनुसार “असल चालचलन र भक्‍ति देखाउनेले जीवन,” धार्मिकता र “आदर पाउँछ।” (हितो. २१:२१) हो, पहिले परमेश्‍वरको धार्मिकता खोजी गर्दा यहोवासित शान्तिमय सम्बन्ध कायम हुन्छ जसले गर्दा हाम्रो उद्धार हुन्छ।—रोमी ३:२३, २४.

आत्मधर्मी बन्‍ने खतरा

५. कुन खतरादेखि हामी होसियार हुनुपर्छ?

प्रेरित पावलले रोमका ख्रीष्टियानहरूलाई पत्र लेख्दा, पहिले परमेश्‍वरको धार्मिकता खोज्न सफल हुनको लागि हामी सबै होसियार हुनुपर्ने एउटा खतराबारे सजग गराए। आफ्ना सँगी यहूदीहरूबारे पावलले यसो भने: “तिनीहरूसँग परमेश्‍वरका निम्ति जोस त छ, तर समझअनुसारको होइन भनी मलाई तिनीहरूका विषयमा पक्का थाह छ। किनभने परमेश्‍वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्‍वरको धार्मिकताको अधीनमा रहनसकेनन्‌।” (रोमी १०:२, ३) पावलले बताएअनुसार ती उपासकहरूले परमेश्‍वरको धार्मिकताबारे बुझेका थिएनन्‌ किनभने तिनीहरू आफ्नै धार्मिकता स्थापना गर्न अति व्यस्त थिए।  a

६. हामीले कस्तो मनोवृत्ति राख्नु हुँदैन र किन?

हामी यो पासोमा फस्न सक्ने एउटा खतरा, परमेश्‍वरप्रतिको हाम्रो सेवालाई एउटा प्रतिस्पर्धा ठानेर आफूलाई अरूसित तुलना गर्नु हो। यस्तो मनोवृत्ति राख्यौं भने आफ्नो क्षमतामा अतिविश्‍वस्त हुन कत्ति बेर पनि लाग्दैन। तर हामीले त्यस्तो व्यवहार गऱ्‍यौं भने यहोवाको धार्मिकतालाई बिर्सिरहेका हुनेछौं। (गला. ६:३, ४) उचित मनसाय अर्थात्‌ यहोवाप्रतिको प्रेमले गर्दा हामी सही काम गर्छौं। आफ्नो धार्मिकता प्रमाणित गर्न खोज्यौं भने यहोवालाई प्रेम गर्छौं भन्‍ने दाबीलाई गलत साबित गरिरहेका हुन सक्छौं। लूका १६:१५ पढ्‌नुहोस्‌।

७. आत्मधर्मी हुने समस्याबारे येशूले कसरी बताउनुभयो?

“हामी धर्मी छौं भन्‍ने आफैमाथि भरोसा राख्नेहरू र अरूलाई केही नसम्झनेहरू” देखेर येशूलाई चिन्ता लागेको थियो। त्यसैले आत्मधर्मी हुने समस्याबारे येशूले दृष्टान्तसहित यसरी बताउनुभयो: “दुई जना मानिस प्रार्थना गर्नलाई मन्दिरमा उक्ले—एक जना फरिसी र अर्कोचाहिं महसूल उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गऱ्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्ता लुटाहा, अन्यायी, व्यभिचारी, अथवा यही महसूल उठाउने जस्तो पनि छैनँ। म हप्तामा दुईपल्ट ब्रत बस्तछु। मैले पाएका सबै थोकका दशांश म दिन्छु।’ तर महसूल उठाउनेचाहिं टाढै उभिएर स्वर्गतिर आँखा उठाउन पनि सकेन, तर यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्‌!’ ” यस दृष्टान्तको अन्तमा येशूले भन्‍नुभयो: “म तिमीहरूलाई भन्दछु, योचाहिं मानिस त्यो अर्कोभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ, त्यो होचिनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उचालिनेछ।”—लूका १८:९-१४.

अर्को खतरा—“ज्यादै धर्मी” बन्‍ने

८, ९. “ज्यादै धर्मी” बन्‍नुको अर्थ के हो र यसको परिणाम के हुन सक्छ?

हामी होसियार हुनुपर्ने अर्को खतराबारे उपदेशक ७:१६ मा यसो भनिएको छ: “ज्यादै धर्मी र ज्यादै बुद्धिमानी नहो। तिमी किन आफैलाई एउटा हाँसोको पात्र बनाउँछौ?” यसका प्रेरित लेखक हामीले यस्तो मनोवृत्ति राख्न नहुने कारणबारे पद २० मा यसरी बताउँछन्‌: “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भूल गर्दैन।” “ज्यादै धर्मी” बन्‍ने मानिसले धार्मिकताको आफ्नै स्तर बनाउँछ अनि त्यही स्तरको आधारमा अरूको न्याय गर्छ। तर यसो गर्दा परमेश्‍वरको भन्दा आफ्नो स्तरलाई माथि उचालिरहेको अनि परमेश्‍वरको नजरमा अधर्मी साबित भइरहेको कुरा बुझ्नचाहिं तिनी चुकिरहेका हुन्छन्‌।

“ज्यादै धर्मी” हुँदा वा अरू कुनै-कुनै बाइबल अनुवादअनुसार “धेरै धर्मात्मा” वा “धेरै धर्मी” हुँदा कामकुरा गर्ने यहोवाको तौरतरिकामाथि प्रश्‍न गर्नसमेत पुग्न सक्छौं। तर बिर्सन नहुने कुरा के हो भने, यहोवाका निर्णयहरूको निष्पक्षता वा औचित्यमाथि हामीले प्रश्‍न गऱ्‍यौं भने वास्तवमा यहोवाको भन्दा आफ्नो स्तरलाई माथि राख्न थालिरहेका हुनेछौं। यसो गर्नु भनेको त, यहोवालाई कठघरामा उभ्याएर सही र गलतसम्बन्धी आफ्नो स्तरअनुसार उहाँको न्याय गरिरहेको बराबर हुनेछ। तर धार्मिकताको स्तर तोक्ने अधिकार यहोवाको हो, हाम्रो होइन।—रोमी १४:१०.

१०. अय्यूबजस्तै हामी पनि कस्ता कारणले गर्दा परमेश्‍वरको न्याय गर्न पुग्न सक्छौं?

१० हामीमध्ये कोही पनि जानाजानी परमेश्‍वरको न्याय गर्न चाहँदैनौं। तर हाम्रो असिद्ध स्वभावले गर्दा यसो गर्न पुग्न सक्छौं। कुनै अवस्थामा अन्याय भएजस्तो लाग्दा वा आफूले कुनै कठिनाइ भोग्नुपर्दा परमेश्‍वरको न्याय गर्न धेरै बेर लाग्दैन। विश्‍वासी पुरुष अय्यूबले समेत यस्तो गल्ती गरे। हुनत अय्यूब “निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्‍वरसँग डराउँथे र खराब कामबाट अलग रहन्थे” भनेर सुरुतिर बताइएको थियो। (अय्यू. १:१) तर पछि अय्यूबले एकपछि अर्को विपत्ति भोग्नुपऱ्‍यो, जुन तिनलाई अन्यायपूर्ण लाग्यो। यसले गर्दा अय्यूबले “आफूलाई परमेश्‍वरभन्दा पनि धेरै धर्मी तुल्याए।” (अय्यू. ३२:१, २) अय्यूबको यस्तो दृष्टिकोण सच्चाउनुपर्ने भयो। त्यसैले हामी पनि कहिलेकाहीं यस्तै अवस्थामा पर्दा छक्क मान्‍नु पर्दैन। त्यसो हुँदा आफ्नो सोचाइलाई सच्याउन केले मदत गर्न सक्छ?

हामीलाई सधैं सबै कुरा थाह हुँदैन

११, १२. (क) कुनै कुरा पक्षपातपूर्ण लाग्दा हामीले कुन कुरा बिर्सनु हुँदैन? (ख) येशूले दाखबारीको खेतालाबारे बताउनुभएको दृष्टान्त कसै-कसैलाई किन पक्षपातपूर्ण लाग्न सक्छ?

११ हामीले सम्झनुपर्ने पहिलो बुँदा हो, हामीलाई सधैं सबै कुरा थाह हुँदैन। अय्यूबको सन्दर्भमा त्यस्तै भएको थियो। तिनलाई स्वर्गमा परमेश्‍वरका दूतहरूको सभा भएको अनि शैतानले झूटो आरोप लगाएको विषयमा थाह थिएन। (अय्यू. १:७-१२; २:१-६) आफूमाथि आइपरेको समस्याको मूल कारण शैतान हो भनेर पनि अय्यूबलाई थाह थिएन। भनौं भने, शैतान वास्तवमा को हो भनेर तिनलाई थाह थियो कि थिएन, हामीलाई पक्का छैन। त्यसैले तिनले आफ्नो समस्या परमेश्‍वरले गर्दा नै भएको हो भन्‍ने गलत अनुमान लगाए। हो, आफूलाई सबै कुरा थाह नहुँदा गलत निष्कर्षमा पुग्न कत्ति बेर पनि लाग्दैन।

१२ उदाहरणको लागि, दाखबारीमा काम गर्ने खेतालाहरूबारे येशूले बताउनुभएको दृष्टान्त विचार गर्नुहोस्‌। ( मत्ती २०:८-१६ पढ्‌नुहोस्‌) उक्‍त दृष्टान्तमा येशू एक जना घरमालिकबारे बताउनुहुन्छ जसले सबै खेतालालाई एउटै ज्याला दिन्छन्‌, चाहे तिनीहरूले दिनभरि काम गरेका होऊन्‌ वा एक घण्टा मात्र। यस्तो व्यवहार तपाईंलाई कस्तो लाग्छ? के यो पक्षपातपूर्ण भएन र? टन्टलापुर घाममा दिनभरि खटिएर काम गर्ने खेतालाहरूप्रति तपाईंको मनमा दया जाग्यो होला। तिनीहरूले त अलि बढी ज्याला पाउनुपर्थ्यो जस्तो लाग्यो कि? यस्तो निष्कर्षमा पुगेपछि उक्‍त घरमालिक दयामाया नभएका अनि पक्षपातपूर्ण लाग्न सक्छ। अनि गुनासो गर्ने खेतालाहरूलाई तिनले दिएको जवाफ पनि अख्तियारको दुरुपयोग गरेको जस्तो देखिन सक्छ। तर के हामीलाई सबै कुरा थाह छ र?

१३. दाखबारीका खेतालाहरूबारे येशूले बताउनुभएको दृष्टान्तलाई अर्को कुन दृष्टिकोणबाट पनि हेर्न सक्छौं?

१३ अब यही दृष्टान्तलाई अर्को दृष्टिकोणबाट हेरौं। यस दृष्टान्तका घरमालिकलाई आफूले काममा लगाएका सबै खेतालाले परिवार पाल्नुपर्ने कुरा थाह थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। येशूको समयमा खेतालाहरूलाई दिनदिनैको ज्याला दिने चलन थियो। अनि यसरी दिनदिनैको ज्यालाले आफ्नो परिवार पाल्नुपर्थ्यो। दिन ढल्कनै लाग्दा काममा लगाइएकाले एक घण्टा मात्र काम गर्न पाउने खेतालाको अवस्था कस्तो हुन्थ्यो, सोच्नुहोस्‌ त! सायद एक घण्टाको ज्यालाले परिवार पाल्न गाह्रो हुनेथियो; यद्यपि, तिनीहरू काम गर्न इच्छुक थिए अनि काम पाइहाल्ला कि भनेर दिनभरि पर्खेर बसेका थिए। (मत्ती २०:१-७) तर दिनभरि काम गर्न नपाउनुमा तिनीहरूको कुनै दोष थिएन। तिनीहरू जानाजानी कामै नगरी बस्न खोजेका थिए भन्‍ने कुनै सङ्‌केत पाइँदैन। काम पाउन दिनभरि पर्खनुपर्ने अनि त्यसमाथि आफ्नो कमाइले पूरै परिवार पाल्नुपर्ने अवस्था हुँदो हो त कस्तो हुन्थ्यो, कल्पना गर्नुहोस्‌ त! थोरै मात्र भए पनि काम पाउँदा तपाईं कत्ति खुसी हुनुहुनेथियो। अनि त्यसमाथि पूरै परिवार पाल्न पुग्ने ज्याला पाउँदा तपाईं झन्‌ कत्ति दङ्‌ग पर्नुहुन्थ्यो होला!

१४. दाखबारीको दृष्टान्तबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं?

१४ अब घरमालिकको व्यवहारलाई हामी फेरि केलाएर हेरौं। तिनले कसैलाई पनि कम ज्याला दिएनन्‌। बरु काम गरेपछि उचित ज्याला पाउनु सबै खेतालाको अधिकार हो भनेर बुझेअनुसारै तिनले व्यवहार गरे। बजारमा खेतालाहरू फालाफाल भए तापनि तिनले कसैलाई पनि थोरै ज्याला दिएर काममा लगाएनन्‌। सबै खेताला आफ्नो परिवार पाल्न यथेष्ट ज्याला लिएर घर फर्के। यी थप विवरणहरू विचार गर्दा त्यस घरमालिकको व्यवहारप्रति हाम्रो सोचाइ परिवर्तन हुन सक्छ। तिनले मायालु निर्णय गरेका थिए, अख्तियारको दुरुपयोग गरेका थिएनन्‌। हामी यसबाट कस्तो पाठ सिक्न सक्छौं? कुनै अवस्थाको एक-दुइटा कुरा मात्र विचार गऱ्‍यौं भने हामी गलत निष्कर्षमा पुग्न सक्छौं। निस्सन्देह, यस दृष्टान्तले परमेश्‍वरको धार्मिकताको उत्कृष्टतालाई प्रकाश पार्छ, जुन धार्मिकता नियमकानुन र मानिसको योग्यतामा मात्र आधारित छैन।

हाम्रो दृष्टिकोण त्रुटिपूर्ण वा सीमित हुन सक्छ

१५. निष्पक्षताको सन्दर्भमा हाम्रो दृष्टिकोण किन त्रुटिपूर्ण वा सीमित हुन सक्छ?

१५ कुनै अवस्था पक्षपातपूर्ण लाग्दा हामीले सम्झनुपर्ने दोस्रो बुँदा हो, हाम्रो दृष्टिकोण त्रुटिपूर्ण वा सीमित हुन सक्छ। असिद्धता, पूर्वाग्रह वा सांस्कृतिक पृष्ठभूमिले गर्दा हाम्रो दृष्टिकोण त्रुटिपूर्ण हुन सक्छ। अनि हाम्रो दृष्टिकोण सीमित पनि छ किनभने हामी अरूको मनसाय बुझ्न सक्दैनौं अनि मानिसको मनमा वास्तवमा के छ, त्यो जान्दैनौं। तर यहोवा अनि येशू यस्तो सीमितताले बाँधिनुभएको छैन।—हितो. २४:१२; मत्ती ९:४; लूका ५:२२.

१६, १७. दाऊदले बेतशेबासित व्यभिचार गर्दा यहोवाले त्यससम्बन्धी नियम लागू नगर्नुको कारण के हुन सक्छ?

१६ अब दाऊदले बेतशेबासित राखेको अनुचित यौनसम्बन्धलाई विचार गरौं। (२ शमू. ११:२-५) मोशाको व्यवस्थाअनुसार तिनीहरू दुवैलाई मृत्युदण्ड दिनुपर्थ्यो। (लेवी २०:१०; व्यव. २२:२२) हुनत यहोवाले तिनीहरूलाई सजाय दिनुभयो, तर आफूले दिएको नियम भने लागू गर्नुभएन। के यो यहोवाको पक्षपातपूर्ण व्यवहार भएन र? के यो उहाँले दाऊदको पक्ष लिएको अनि आफ्नै धार्मिक स्तरको उल्लङ्‌घन गरेको भएन र? कोही-कोही बाइबल पाठकले यस्तै महसुस गरेका छन्‌।

१७ तथापि, यहोवाले व्यभिचारसम्बन्धी नियम असिद्ध न्यायकर्ताहरूलाई दिनुभएको थियो र तिनीहरूले मानिसको मन जान्‍न सक्दैनन्‌। यस्तो सीमितताको बाबजुद यहोवाले दिनुभएको यो नियमले गर्दा उनीहरूले एकरूप न्याय गर्न सक्थे। तर अर्कोतर्फ, यहोवा मानिसहरूको मन जान्‍नुहुन्छ। (उत्प. १८:२५; १ इति. २९:१७) त्यसैले असिद्ध न्यायकर्ताहरूलाई दिइएको नियमको दायराभित्र यहोवा पनि बाँधिनुपर्छ भनेर आशा गर्नु मिल्दैन। यदि त्यसो हुँदो हो त, राम्ररी देख्न सक्ने व्यक्‍तिलाई आँखा कमजोर भएको व्यक्‍तिले लगाउने चस्मा जबरजस्ती लगाइदिन खोजेको जस्तो हुँदैन र? यहोवाले दाऊद र बेतशेबाको मनमा के छ भनेर जान्‍नुका साथै तिनीहरूले गरेको साँचो पश्‍चात्ताप देख्न सक्नुहुन्थ्यो। यो कुरा विचार गर्दै उहाँले कृपालु अनि मायालु ढङ्‌गमा तिनीहरूको उचित न्याय गर्नुभयो।

यहोवाको धार्मिकता खोजिरहनुहोस्‌

१८, १९. धार्मिकताको आफ्नो स्तरले कहिल्यै पनि यहोवाको न्याय नगर्न हामीलाई केले मदत गर्नेछ?

१८ बाइबलको कुनै विवरण पढ्‌दा वा आफ्नो व्यक्‍तिगत अनुभवले गर्दा यहोवाले पक्षपात गर्नुभयो जस्तो कहिलेकाहीं लाग्न सक्छ। यस्तो बेला पनि धार्मिकताको आफ्नो स्तरले परमेश्‍वरको न्याय कहिल्यै नगरौं। हामीलाई सधैं सबै कुरा थाह हुँदैन अनि हाम्रो दृष्टिकोण त्रुटिपूर्ण वा सीमित हुन सक्छ भनेर नबिर्सौं। अनि “मानिसको क्रोधले परमेश्‍वरको धार्मिकतालाई समर्थन गर्दैन” भनेर पनि कहिल्यै नबिर्सौं। (याकू. १:१९, २०) यसो गऱ्‍यौं भने हाम्रो मनले कहिल्यै “परमप्रभुको विरुद्धमा असन्तोष प्रकट” गर्नेछैन।—हितो. १९:३.

१९ धार्मिक र असल कुराको स्तर तोक्ने अधिकार यहोवासित मात्र छ भनेर येशूले जस्तै हामीले पनि सधैं मानिलिऔं। (मर्कू. १०:१७, १८) उहाँको स्तरको ठीक “समझ” अर्थात्‌ सही “ज्ञान” लिने प्रयास गरौं। (रोमी १०:२; २ तिमो. ३:७) यस्तो ज्ञान हासिल गऱ्‍यौं अनि यहोवाको इच्छाबमोजिम जीवन बितायौं भने पहिले “उहाँको धार्मिकता” खोजिरहेका छौं भनेर देखाइरहेका हुनेछौं।—मत्ती ६:३३. ( w10 -E 10/15)

[फुटनोट]

a एक शास्त्रविद्‌अनुसार “स्थापित गर्न” भनी अनुवाद गरिएको मौलिक शब्दले ‘स्मारक खडा गर्नु’ भन्‍ने अर्थ पनि बुझाउन सक्छ। त्यसैले ती यहूदीहरूले परमेश्‍वरको होइन, वास्तवमा आफ्नै प्रशंसाको लागि प्रतीकात्मक स्मारक खडा गरिरहेका थिए।

के तपाईंले सम्झनुभएको छ?

• यहोवाको धार्मिकता खोजी गर्नु किन महत्त्वपूर्ण छ?

• हामी कुन दुइटा खतरादेखि होसियार हुनुपर्छ?

• हामी कसरी पहिले परमेश्‍वरको धार्मिकता खोजी गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

मन्दिरमा प्रार्थना गर्ने दुई जना मानिसबारे येशूले बताउनुभएको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

[पृष्ठ १८-मा भएको चित्र]

एघारौं घडीदेखि मात्र काम थाल्ने र दिनभरि काम गर्ने खेतालालाई एउटै ज्याला दिनु के पक्षपातपूर्ण थियो?