सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?

ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?

ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?

“तिमीहरू एकसाथ भेला हुँदा . . . सबै कुरा . . . उत्थानको निम्ति गर।”—१ कोरि. १४:२६, NW.

१. पहिलो कोरिन्थी अध्याय १४ अनुसार ख्रीष्टियान सभाको एउटा मुख्य उद्देश्‍य के हो?

 ‘आहा! कस्तो उत्थानदायी सभा!’ राज्यभवनमा हुने सभापछि तपाईंले पनि त्यस्तै भावना व्यक्‍त गर्नुभएको छ कि? अवश्‍य! मण्डलीका सभाहरूबाट साँच्चै प्रोत्साहन पाइन्छ भन्‍ने कुरामा दुई मत छैन। आखिर, प्रथम शताब्दीका ख्रीष्टियानहरूको समयमा जस्तै आज हाम्रा सभाहरूको एउटा मुख्य उद्देश्‍य उपस्थित सबैलाई आध्यात्मिक रूपमा बलियो बनाउनु हो। प्रेरित पावलले ख्रीष्टियान सभाको त्यही खास उद्देश्‍यबारे जोड दिंदै कोरिन्थका भाइबहिनीलाई लेखेको पहिलो पत्रमा दिइएको कुरा विचार गर्नुहोस्‌। तिनले अध्याय १४ भरि ख्रीष्टियान सभाहरूमा दिइने हरेक भागको उद्देश्‍य एउटै हुनुपर्छ अर्थात्‌ “मण्डलीको उत्थान”-को निम्ति हुनुपर्छ भनेर बारम्बार बताए।—१ कोरिन्थी १४:३, १२, २६, NW पढ्‌नुहोस्‌।  a  b

२. (क) केले गर्दा सभाहरू उत्थानदायी हुन्छन्‌? (ख) हामी कुन प्रश्‍न विचार गर्नेछौं?

परमेश्‍वरको आत्माको प्रभावले गर्दा नै सभाहरू उत्थानदायी वा निर्देशनमूलक हुन्छन्‌ भनेर हामीले बुझेका छौं। त्यसकारण मण्डलीका प्रत्येक सभाको सुरुमा स्वर्गका पिता यहोवालाई हार्दिक प्रार्थना गरेर सभामा पवित्र आत्माको आशिष्‌ माग्छौं। तथापि हामीलाई थाह छ, ख्रीष्टियान सभालाई सक्दो उत्थानदायी बनाउन मण्डलीका सबै सदस्यले योगदान दिन सक्छन्‌। त्यसोभए राज्यभवनमा हुने साप्ताहिक सभा सधैं आध्यात्मिक तवरमा स्फूर्तिदायी तथा प्रोत्साहनदायी होस्‌ भनेर हामीले व्यक्‍तिगत तवरमा चाल्न सक्ने केही कदम के हुन्‌?

३. ख्रीष्टियान सभाहरू कत्तिको महत्त्वपूर्ण छन्‌?

यसको जवाफ पाउन, सभाका केही पक्षबारे सभा सञ्चालकहरूले मनमा राख्नुपर्ने कुरा जाँच्नेछौं। उपस्थित सबैका लागि सभाहरू उत्थानदायी बनाउन सम्पूर्ण मण्डलीले कसरी योगदान पुऱ्‍याउन सक्छन्‌, त्यो पनि विचार गर्नेछौं। यो हाम्रो चासोको विषय हो किनभने हाम्रा सभाहरू पवित्र जमघट हुन्‌। वास्तवमा सभामा उपस्थित हुनु र भाग लिनु यहोवाको उपासनाका महत्त्वपूर्ण पक्षहरू हुन्‌।—भज. २६:१२; १११:१; यशै. ६६:२२, २३.

बाइबलको अध्ययन गर्न तयार पारिएको सभा

४, ५. प्रहरीधरहरा अध्ययनको उद्देश्‍य के हो?

साप्ताहिक प्रहरीधरहरा अध्ययनबाट हामी सबै पूर्णतया लाभ उठाउन चाहन्छौं। त्यसैले त्यस सभाको मुख्य उद्देश्‍य प्रस्ट बुझ्न प्रहरीधरहरा पत्रिका अनि अध्ययन लेखहरूमा गरिएका केही छाँटकाँट फेरि विचार गरौं।

नेपाली भाषाको प्रहरीधरहरा, जनवरी १५, २०११ अङ्‌कको पहिलो अध्ययन लेखको आवरणमा एउटा उल्लेखनीय विवरण समावेश गरिएको तपाईंले पाउनुहुनेछ। उक्‍त पृष्ठमा धरहराको मुनि खुला बाइबलको चित्र पाउनुहुनेछ। यो थपिएको विशेषताले हामी किन प्रहरीधरहरा अध्ययन गर्छौं, त्यसको महत्त्वलाई जोड दिन्छ। यस पत्रिकाको मदतले हामी बाइबलको अध्ययन गर्छौं। हो, साप्ताहिक प्रहरीधरहरा अध्ययनमा परमेश्‍वरको वचनको व्याख्या गरिन्छ र नहेम्याहको समयमा जस्तै ‘त्यसको अर्थ बुझाइन्छ।’—नहे. ८:८; यशै. ५४:१३.

६. (क) प्रहरीधरहरा अध्ययनमा कस्तो छाँटकाँट गरिएको थियो? (ख) “पढ्‌नुहोस्‌” लेखिएका पदहरूको सन्दर्भमा कुन कुरा मनमा राख्नुपर्छ?

बाइबल हाम्रो मुख्य पुस्तक भएकोले प्रहरीधरहरा अध्ययनमा एउटा छाँटकाँट गरियो। अध्ययन लेखमा उद्धरण गरिएका केही पदमा “पढ्‌नुहोस्‌” लेखिएको छ। सभाको दौडान यी पदहरू आफ्नै बाइबलबाट पढ्‌न हामी सबैलाई प्रोत्साहन दिइएको छ। (प्रेरि. १७:११) किन? आफ्नै बाइबलमा परमेश्‍वरको सल्लाह देख्दा यसले हामीमा गहिरो छाप पार्छ। (हिब्रू ४:१२) त्यसकारण यस्ता पदहरू ठूलो स्वरले पढिनुअघि सभा सञ्चालकले उपस्थित सबैलाई आ-आफ्नो बाइबल खोलेर सँगसँगै पछ्याउन पर्याप्त समय दिनुपर्छ।

हाम्रो विश्‍वास व्यक्‍त गर्न पर्याप्त समय उपलब्ध

७. प्रहरीधरहरा अध्ययनको दौडान हामीसित कस्तो मौका छ?

प्रहरीधरहरा अध्ययन लेखहरूमा गरिएको अझै अर्को छाँटकाँट यसको लम्बाइसित सम्बन्धित छ। केही वर्ष यतादेखि अध्ययन लेखहरू छोट्ट्याइएका छन्‌। त्यसैले प्रहरीधरहरा अध्ययनको दौडान अनुच्छेद पढ्‌न थोरै समय भए पुग्ने भयो। फलत: टिप्पणी दिन धेरै समय पायौं। त्यसैकारण अहिले थुप्रैले मण्डलीमा जनसमक्ष आफ्नो विश्‍वास व्यक्‍त गर्ने यस्ता मौका पाएका छन्‌: छापिएका प्रश्‍नहरूको जवाफ दिने, पदको उपयोगिता भन्‍ने, बाइबलका सिद्धान्तहरूअनुसार चल्नु बुद्धिमानी हो भनेर छोटो अनुभव बताउने वा अन्य तरिका। छापिएका चित्रहरूबारे छलफल गर्न पनि केही समय छुट्ट्याउन सकिन्छ।भजन २२:२२; ३५:१८; ४०:९ पढ्‌नुहोस्‌।

८, ९. प्रहरीधरहरा अध्ययन सञ्चालकको भूमिका के हो?

प्रहरीधरहरा अध्ययनको दौडान सहभागीहरू छोटो टिप्पणी दिन्छन्‌ र सञ्चालकले पनि धेरै टिप्पणी गर्नदेखि आफैलाई रोक्छन्‌ भने मात्र यो थप समयको सदुपयोग हुन्छ र थरीथरीका टिप्पणी सुन्‍न पाइनेछ। त्यसो हो भने सभा सबैको लागि उत्थानदायी बनाउन सञ्चालकलाई आफ्नो टिप्पणी र मण्डलीले दिने टिप्पणीबीच ठीक सन्तुलन कायम गर्न केले मदत गर्न सक्छ?

यसको जवाफ पाउन एउटा उदाहरण विचार गर्नुहोस्‌। राम्ररी सञ्चालन गरिएको प्रहरीधरहरा अध्ययन मनै हर्ने फूलको गुच्छाजस्तै हो। थरीथरीका फूलका थुँगा मिलेर फूलको एउटा ठूलो गुच्छा बनेझैं थरीथरीका टिप्पणीबाटै प्रहरीधरहरा-को अध्ययन हुन्छ। फूलको गुच्छामा विभिन्‍न प्रकार अनि रङ्‌गका फूल भएझैं प्रहरीधरहरा अध्ययनमा दिइने टिप्पणीको प्रकार र शैली पनि विभिन्‍न हुन्छ। त्यसोभए सञ्चालकको भूमिकाचाहिं के हो? तिनले बेला-बेलामा दिने टिप्पणी फूलको गुच्छामा सोचविचार गरी थपिएका पातजस्तै हुन्‌। पातले फूलको गुच्छा ढाक्नुहुँदैन बरु फूलका थुँगालाई आकार दिन र समेटेर एउटा सिङ्‌गो गुच्छा बनाउन पात प्रयोग गरिन्छ। त्यसैगरि सञ्चालकले बिर्सन नहुने कुरा के हो भने तिनको टिप्पणी नै छलफलको केन्द्रबिन्दु हुनुहुँदैन बरु तिनले मण्डलीले दिएका प्रशंसाका अभिव्यक्‍तिलाई समेट्‌नुपर्छ। हो, मण्डलीले दिने थरीथरीका टिप्पणी र सञ्चालकका केही सुहाउँदा टिप्पणीलाई एकसाथ चटक्क मिलाएर राख्दा त्यो शब्दभण्डारको सुन्दर गुच्छा सरह हुन्छ र यसले उपस्थित सबैको मन हर्नेछ।

“निरन्तर स्तुतिको बलिदान   परमेश्‍वरलाई चढाऔं”

१०. प्रथम शताब्दीका ख्रीष्टियानहरूले मण्डलीका सभाहरूलाई केको रूपमा लिन्थे?

१० ख्रीष्टियान सभाबारे १ कोरिन्थी १४:२६-३३ मा पावलले बताएको विवरणले प्रथम शताब्दीमा सभाहरू कसरी सञ्चालन गरिन्थे भनेर हामीलाई बुझ्ने मदत दिन्छ। यी पदबारे टिप्पणी गर्दै एक जना बाइबलविद्‌ले सुरुसुरुको उपासना स्थलको एउटा उल्लेखनीय पक्षबारे बताए। उनको भनाइअनुसार उपासना स्थलमा आउने जति प्रायः सबैले नै “केही दिनु आफ्नो दायित्व हो र त्यसो गर्नु सम्मानको कुरा हो भनी महसुस गर्थे। कुनै व्यक्‍ति ध्यानमग्न श्रोता हुने उद्देश्‍यले आउँदैनथिए; तिनी दिन आउँथे, पाउन मात्र होइन।” वास्तवमा प्रथम शताब्दीका ख्रीष्टियानहरूले मण्डलीका सभाहरूलाई आफ्नो विश्‍वास व्यक्‍त गर्ने मौकाको रूपमा लिन्थे।—रोमी १०:१०.

११. (क) के गर्दा सभाहरू उत्थानदायी बनाउन ठूलो योगदान पुग्छ र किन? (ख) कस्ता सुझाव लागू गर्दा सभाहरूमा आफ्नो टिप्पणी अझ राम्रो बनाउन सक्छौं? (पादटिप्पणी हेर्नुहोस्‌)

११ सभामा आफ्नो विश्‍वास व्यक्‍त गर्दा “मण्डलीको उत्थान”-मा ठूलो योगदान पुग्छ। सभामा उपस्थित भएको जतिसुकै वर्ष बितेको भए तापनि हाम्रा भाइबहिनीले दिएका टिप्पणी सुन्दा हामी अझै पनि रमाउँछौं भन्‍ने कुरामा तपाईं पक्कै सहमत हुनुहुन्छ। वफादार वृद्ध भाइबहिनीले मनैदेखि जवाफ दिंदा हाम्रो मन छुन्छ। मायालु चासो दिने प्राचीनले हाम्रो अवस्था राम्ररी बुझेर केही टिप्पणी गर्दा हामी उत्साहित हुन्छौं र साना केटाकेटीले यहोवाप्रति आफ्नो साँचो प्रेम व्यक्‍त गर्न स्वतःस्फूर्त तरिकामा बोलेको सुन्दा नमुस्कुराइ रहनै सक्दैनौं। स्पष्ट छ, टिप्पणीहरू दिएर हामी सबैले ख्रीष्टियान सभाहरू उत्थानदायी बनाउन योगदान पुऱ्‍याउन सक्छौं।  c

१२. (क) मोशा र यर्मियाको उदाहरणबाट के सिक्न सक्छौं? (ख) टिप्पणी दिने सन्दर्भमा प्रार्थनाले कस्तो भूमिका खेल्छ?

१२ तथापि सङ्‌कोची स्वभाव हुनेहरूलाई टिप्पणी दिनु साँच्चै चुनौतीपूर्ण हुन सक्छ। त्यसो हो भने तपाईंलाई मात्र यस्तो लागेको होइन भनेर सम्झनु मदतकारी हुन सक्छ। वास्तवमा मोशा र यर्मियाजस्ता परमेश्‍वरका विश्‍वासी सेवकहरूले समेत अरूसामु बोल्न आत्मविश्‍वासको कमी भएको कुरा व्यक्‍त गरे। (प्रस्थ. ४:१०; यर्मि. १:६) तथापि यहोवाले पुरातन समयका आफ्ना ती विश्‍वासी सेवकहरूलाई जनसमक्ष उहाँको प्रशंसा गर्न मदत गर्नुभएझैं तपाईंलाई पनि स्तुतिको बलिदान चढाउन मदत गर्नुहुनेछ। ( हिब्रू १३:१५ पढ्‌नुहोस्‌) टिप्पणी दिने डर हटाउन यहोवाको मदत कसरी पाउन सक्नुहुन्छ? सबैभन्दा पहिले सभाको लागि राम्रोसित तयारी गर्नुहोस्‌। त्यसपछि राज्यभवन जानअघि यहोवालाई प्रार्थना गर्नुहोस्‌ र टिप्पणी दिन साहस दिनुहोस्‌ भनेर तोकेरै बिन्ती गर्नुहोस्‌। (फिलि. ४:६) तपाईं जे माग्दै हुनुहुन्छ, “उहाँको इच्छाबमोजिम” नै भएकोले यहोवाले तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर विश्‍वस्त हुन सक्नुहुन्छ।—१ यूह. ५:१४; हितो. १५:२९.

सभाको उद्देश्‍य हो—‘उत्थान गर्नु, प्रोत्साहन दिनु र सान्त्वना दिनु’

१३. (क) सभाले उपस्थित सबैमाथि कस्तो प्रभाव पार्नुपर्छ? (ख) प्राचीनहरूले कुन प्रश्‍नमा विशेष ध्यान दिनुपर्छ?

१३ मण्डलीमा हुने सभाहरूको एउटा महत्त्वपूर्ण उद्देश्‍य उपस्थित सबैलाई ‘उत्थान गर्नु, प्रोत्साहन दिनु र सान्त्वना दिनु’ हो भनेर पावलले बताए।  d (१ कोरि. १४:३, NW) ख्रीष्टियान प्राचीनहरूले आफ्नो सभाको भागले भाइबहिनीलाई उत्थान गरेको र सान्त्वना दिएको छ कि छैन भन्‍ने कुरा कसरी पक्का गर्न सक्छन्‌? यसको जवाफ पाउन, येशूले आफ्नो पुनरुत्थान भएको केही समयपछि सञ्चालन गरेको सभाबारे विचार गरौं।

१४. (क) येशूले प्रबन्ध गरेको सभाअघि कस्ता घटना भए? (ख) नजिकै ‘आएर येशू तिनीहरूसित बोल्नुहुँदा’ प्रेरितहरूले ढुक्क महसुस गरेकै हुनुपर्छ, किन?

१४ सर्वप्रथम, उक्‍त सभा हुनअघि भएको घटना याद गर्नुहोस्‌। येशू मारिनुअघि प्रेरितहरू “उहाँलाई त्यागेर भागे” अनि भविष्यवाणी गरेअनुसारै तिनीहरू “हरेक आफ्ना आफ्नै ठाउँमा तितर-बितर” भए। (मर्कू. १४:५०; यूह. १६:३२) अनि येशूको पुनरुत्थान भएपछि उहाँले निराश प्रेरितहरूलाई एउटा विशेष सभामा निम्त्याउनुभयो। e निम्तो स्वीकार्दै “एघारै चेलाहरू गालीलमा येशूले तिनीहरूलाई खटाउनुभएको डाँडामा गए।” तिनीहरू आइपुगेपछि नजिकै “आएर येशू तिनीहरूसित . . . बोल्नुभयो।” (मत्ती २८:१०, १६, १८) यसरी येशू आफै अग्रसर हुँदा प्रेरितहरूले एकदमै ढुक्क महसुस गरेकै हुनुपर्छ। येशूले कुन विषयमा छलफल गर्नुभयो?

१५. (क) येशूले कुन विषयमा छलफल गर्नुभयो तर कुन विषयमा गर्नुभएन? (ख) त्यो सभाले प्रेरितहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

१५ येशूले यस्तो घोषणा गरेर सभा सुरु गर्नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।” त्यसपछि उहाँले तिनीहरूलाई यो जिम्मेवारी दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” अन्तमा उहाँले यस्तो आश्‍वासन दिनुभयो: “म . . . जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१८-२०) तर येशूले केचाहिं गर्नुभएन तपाईंले याद गर्नुभयो? उहाँले प्रेरितहरूलाई हप्काउनुभएन। यसबाहेक उहाँले त्यो सभामा प्रेरितहरूको मनसायमाथि शङ्‌का गर्ने वा क्षणभरको लागि तिनीहरूको विश्‍वास ढलपल भएको कुरा सम्झाउँदै तिनीहरूलाई अत्यन्तै दोषी महसुस गराउने पनि गर्नुभएन। बरु यस्तो गहन जिम्मेवारी सुम्पेर आफूले र पिताले तिनीहरूलाई माया गरेको कुरामा विश्‍वस्त गराउनुभयो। येशूले चालेको यस्तो कदमले प्रेरितहरूमा कस्तो प्रभाव पाऱ्‍यो? तिनीहरूको उत्थान हुनुका साथै तिनीहरूले प्रोत्साहन र सान्त्वना पाए। फलतः त्यो सभा सिद्धिएको केही समयपछि नै तिनीहरू सबैले फेरि “शिक्षा दिन र . . . सुसमाचार सुनाउन” थाले।—प्रेरि. ५:४२.

१६. सभाहरू स्फूर्तिको स्रोत हुनेगरि सञ्चालन गर्न आज ख्रीष्टियान प्राचीनहरूले येशूको उदाहरणको अनुकरण कसरी गर्छन्‌?

१६ आज ख्रीष्टियान प्राचीनहरूले येशूको उदाहरणको अनुकरण गर्दै सँगी विश्‍वासीहरूलाई यहोवाको अटल प्रेमबारे आश्‍वस्त गराउन सभालाई मौकाको रूपमा लिन्छन्‌। (रोमी ८:३८, ३९) त्यसकारण प्राचीनहरूले सभामा प्रस्तुत गर्ने भागहरूमा भाइबहिनीको कमीकमजोरीमा होइन; बलियो पक्षमा ध्यान दिन्छन्‌। प्राचीनहरू आफ्ना भाइबहिनीको मनसायमा शङ्‌का गर्दैनन्‌। बरु आफ्नो बोली अनि व्यवहारबाट सँगी विश्‍वासीहरू यहोवालाई प्रेम गर्ने र जे सही छ त्यही गर्न चाहने व्यक्‍तिहरू हुन्‌ भनेर प्रकट गर्छन्‌। (१ थिस्स. ४:१, ९-१२) हो, सम्पूर्ण मण्डलीलाई सच्याउन बेला-बेलामा सल्लाह दिनै पर्ने हुन सक्छ तर मण्डलीका कसैकसैलाई मात्र सच्याउनुपरेको हो भने सम्बन्धित व्यक्‍तिहरूलाई व्यक्‍तिगत तवरमा सल्लाह दिनु अक्सर बेस हुन्छ। (गला. ६:१; २ तिमो. २:२४-२६) सम्पूर्ण मण्डलीलाई सम्बोधन गर्दा उपयुक्‍त होउन्जेल प्राचीनहरूले मण्डलीको प्रशंसा गर्ने लक्ष्य राख्नुपर्छ। (यशै. ३२:२) सभाको अन्तमा उपस्थित सबैले स्फूर्ति र जोस पाउन सक्ने गरी प्राचीनहरूले बोल्ने कोसिस गर्नुपर्छ।—मत्ती ११:२८; प्रेरि. १५:३२.

सुरक्षित स्थल

१७. (क) पहिलेको तुलनामा हाम्रा सभाहरू सुरक्षित स्थल हुनु अझै जरुरी किन भएको छ? (ख) सभाहरूलाई उत्थानदायी बनाउन तपाईं व्यक्‍तिगत तवरमा के गर्न सक्नुहुन्छ? (“आफ्नो र अरूको लागि सभाहरू उत्थानदायी बनाउने १० तरिका” पेटी हेर्नुहोस्‌।)

१७ शैतानको संसारमा अत्याचार झन्‌-झनै बढ्‌दै जाँदा हाम्रा ख्रीष्टियान सभाहरू सुरक्षित स्थल अर्थात्‌ सबैले सान्त्वना पाउने स्थल हो भनेर पक्का गर्नु जरुरी छ। (१ थिस्स. ५:११) केही वर्षअघि आफ्ना पतिसितै कठोर परीक्षा भोगेकी एउटी बहिनी सम्झिन्छिन्‌: “राज्यभवनमा हुँदा यहोवाले नै हात थाम्नुभएको जस्तै लाग्यो। सभामा छउन्जेल चारैतिर ख्रीष्टियान भाइबहिनी भएकोले हामीलाई आफ्नो सम्पूर्ण भारी यहोवामा बिसाउन सकेको जस्तै लाग्यो र हामीले अपार मनोशान्ति अनुभव गऱ्‍यौं।” (भज. ५५:२२) हाम्रा सभा धाउने सबैले त्यस्तै प्रोत्साहन र सान्त्वना पाउन सकून्‌। यस्तो होस्‌ भन्‍ने चाहन्छौं भने ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट योगदान दिइरहौं। ( w10 -E 10/15)

[फुटनोटहरू]

a पहिलो कोरिन्थी १४:३ “तथापि, जसले भविष्यवाणी गर्छ, उसले आफ्नो बोलीद्वारा मानिसहरूको उत्थान गर्छ, प्रोत्साहन दिन्छ र सान्त्वना दिन्छ।”

१४:१२ “त्यसैले तिमीहरूले पनि पवित्र शक्‍तिका वरदानहरू पाउन तीव्र चाहना राखेकोले मण्डलीको उत्थानका लागि ती वरदानहरू प्रशस्त मात्रामा पाउने कोसिस गर।”

१४:२६ “भाइहरू हो, त्यसोभए के गर्ने त? तिमीहरू एकसाथ भेला हुँदा एक जनाले परमेश्‍वरको भजन गाउँछ, अर्कोले सिकाउँछ, अर्कोले परमेश्‍वरबाट पाएको सन्देश प्रकट गर्छ, अर्कोले विदेशी भाषामा बोल्छ अनि अर्कोले अर्थ खोलिदिन्छ। सबै कुरा एक-अर्काको उत्थानको निम्ति गर।”

b प्रथम शताब्दीमा हुने ख्रीष्टियान सभाका केही पक्ष बन्द हुनेथिए भनेर भविष्यवाणी गरिएको थियो। उदाहरणका लागि अहिले हामी “विदेशी भाषामा” बोल्दैनौं वा “भविष्यवाणी” गर्दैनौं। (१ कोरि. १३:८; १४:५) तैपनि पावलले दिएका निर्देशनहरूबाट अहिले हाम्रा ख्रीष्टियान सभा कसरी सञ्चालन गर्नुपर्ने हो, त्यो बुझ्ने मदत पाउँछौं।

c सभाहरूमा आफ्नो टिप्पणी अझ राम्रो कसरी बनाउन सकिन्छ, सुझावका लागि प्रहरीधरहरा, सेप्टेम्बर १, २००३, पृष्ठ १९-२२ हेर्नुहोस्‌।

d एउटा शब्दकोशले ( Vine’s Expository Dictionary of Old and New Testament Words) “प्रोत्साहन” र “सान्त्वना”-को भिन्‍नताबारे यसो भनेको छ: “सान्त्वना” शब्दको लागि अनुवाद गरिएको युनानी शब्दले “[प्रोत्साहन शब्दको] तुलनामा अझ धेरै कोमल स्नेहलाई” बुझाउँछ।—यूहन्‍ना ११:१९ तुलना गर्नुहोस्‌।

e येशू “पाँच सयभन्दा बढ्‌ता भाइहरूकहाँ देखापर्नुभयो” भनेर बताउँदा पावलले यही समयलाई सङ्‌केत गरिरहेका हुन सक्छन्‌।—१ कोरि. १५:६.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• ख्रीष्टियान सभाहरू कत्तिको महत्त्वपूर्ण छन्‌?

• सभामा दिइने टिप्पणीहरूले “मण्डलीको उत्थान”-मा कसरी योगदान पुऱ्‍याउँछ?

• येशूले आफ्ना अनुयायीहरूसित सञ्चालन गरेको सभाबाट के सिक्न सकिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ३० र ३१-मा भएको पेटी/चित्रहरू]

आफ्नो र अरूको लागि सभाहरू उत्थानदायी बनाउने १० तरिका

पूर्वतयारी गर्नुहोस्‌। राज्यभवनमा छलफल गरिने विषय पहिल्यै अध्ययन गर्नुभयो भने तपाईंले सभामा अझै ध्यान दिन सक्नुहुनेछ र तपाईंमा गहिरो छाप पर्नेछ।

नियमित उपस्थित हुनुहोस्‌। सभामा धेरै जना उपस्थित हुँदा सबैलाई प्रोत्साहन मिल्ने भएकोले तपाईं उपस्थित हुनु महत्त्वपूर्ण छ।

समयमै पुग्नुहोस्‌। कार्यक्रम सुरु हुनुअघि नै सिटमा बसिसक्नुभएको छ भने सुरुको गीत र प्रार्थनामा भाग लिन सक्नुहुन्छ। गीत र प्रार्थना पनि यहोवाको उपासनाको हिस्सा हो।

सुसज्जित भएर आउनुहोस्‌। सभामा चाहिने बाइबल तथा प्रकाशन(हरू) ल्याउनुहोस्‌। यसो गर्दा छलफललाई पछ्याउन र अझ राम्ररी बुझ्न सक्नुहुन्छ।

अलमल्याउने कुराहरू पन्छाउनुहोस्‌। उदाहरणको लागि एस एम एस सभाको दौडान होइन, सभा सिद्धिएपछि पढ्‌नुहोस्‌। यसरी तपाईंले व्यक्‍तिगत मामिलालाई उचित स्थानमा राख्नुभएको हुनेछ।

सहभागी हुनुहोस्‌। जति धेरैले टिप्पणी दिन्छन्‌, विश्‍वासका विभिन्‍न अभिव्यक्‍ति सुनेर त्यत्ति नै धेरैले प्रोत्साहन पाउँछन्‌ र उनीहरूको उत्थान हुन्छ।

छोटो टिप्पणी दिनुहोस्‌। यसो गर्नुभयो भने धेरैभन्दा धेरैले टिप्पणी दिने मौका पाउनेछन्‌।

असाइनमेन्ट पूरा गर्नुहोस्‌। ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको असाइनमेन्ट पूरा गर्दा वा सेवा सभामा सहभागी हुँदा तयारी राम्ररी गर्नुहोस्‌, पूर्वाभ्यास गर्नुहोस्‌ र पाएका असाइनमेन्टहरू रद्द नगर्न सक्दो कोसिस गर्नुहोस्‌।

सहभागीहरूको प्रशंसा गर्नुहोस्‌। सभामा भाग पाएकाहरू वा टिप्पणी दिनेहरूको प्रयासको प्रशंसा गर्नुहोस्‌।

सङ्‌गति गर्नुहोस्‌। सभा अघि र पछि गरिने न्यानो अभिवादन र उत्थानदायी कुराकानीले गर्दा सभामा उपस्थित हुँदा पाइने आनन्द र लाभ अझ बढ्‌छ।