सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्मको यात्रा

पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्मको यात्रा

प्रथम शताब्दीका ख्रीष्टियनहरूको जीवन

पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्मको यात्रा

“[तिनी] भोलिपल्ट बर्णाबाससँग डर्बी गए। त्यस सहरमा सुसमाचार प्रचार गरेर निकै चेलाहरू बनाइसकेपछि तिनीहरू फर्केर लिस्त्रा, त्यसपछि आइकोनियम र अन्तमा एन्टिओक गए।” —प्रेषित १४:२०, २१.

मन्द-मन्द चलिरहेको बिहानीको चिसो हावामा यात्रुले लामो सास फेर्छन्‌। अनि आफ्नो उही थोत्रो चप्पलमा थाकेका खुट्टाहरू घुसार्छन्‌। अब फेरि तिनलाई दिनभरि हिंड्‌नु छ।

झुल्के घाममा आफ्नो ढाड सेकाउँदै तिनी अङ्‌गुरको बारी, जैतुनको बगैंचा र पहाडको ठाडो उकालो पार गर्दै धूलाम्मे बाटो भई हिंड्‌छन्‌। बाटोमा तिनको भेट अन्य यात्रुहरूसित हुन्छ; जस्तै, आफ्नो खेततिर गइरहेका किसानहरू, टन्‍न सामान बोकेका पशुहरूलाई डोऱ्‍याउँदै हिंडिरहेका व्यापारीहरू र यरूशलेम गइरहेका तीर्थयात्रीहरू। यी यात्रु र यिनका साथीहरू बाटोमा भेटेका सबैसित कुरा गर्छन्‌। किन? “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी देओ भन्‍ने येशूको आज्ञा पालन गर्न।—प्रेषित १:८.

यी यात्रु प्रेषित पावल वा बर्णाबास वा प्रथम शताब्दीका अन्य कुनै पनि मिसनरी हुन सक्छन्‌। (प्रेषित १४:१९-२६; १५:२२) तिनीहरू बलिया र दृढ अठोट भएका व्यक्‍तिहरू थिए। यात्रा गर्नु सजिलो थिएन। समुद्रमा आफूले भोगेको कठिनाइबारे प्रेषित पावलले यस्तो लेखे: “तीन चोटि म चढेको जहाज क्षतिग्रस्त भयो, एक रात एक दिन मैले समुद्रमा बिताएँ।” थलयात्रा पनि सजिलो त कहाँ थियो र! आफू अक्सर “नदीहरूको खतरामा” र “डाँकुहरूको खतरामा” परेको कुरा पावलले बताए।—२ कोरिन्थी ११:२५-२७.

यदि तपाईं ती मिसनरीहरूसित यात्रा गर्दै हुनुहुन्थ्यो भने त्यो यात्रा कस्तो हुन्थ्यो होला? एक दिनमा कति यात्रा गर्नुहुन्थ्यो होला? तपाईंले आफ्नो साथमा के-के लानुपर्थ्यो र बाटोमा कहाँ बास बस्नुहुन्थ्यो?

थलयात्रा प्रथम शताब्दीसम्ममा रोमीहरूले आफ्नो साम्राज्यको मुख्य-मुख्य केन्द्रहरूलाई जोड्‌ने सडक सञ्जाल बनाइसकेका थिए। ती सडकहरू राम्ररी डिजाइन गरेर बलियो तरिकामा निर्माण गरिएका थिए। थुप्रै सडकहरू साढे चार मिटर चौडा थिए र त्यसमा ढुङ्‌गाहरू छापिएका, सडकको दुवैपट्टि पेटी जस्तैगरि अलि उठाइएका र कोसेढुङ्‌गाहरू राखिएका थिए। त्यस्तो सडकमा पावलजस्तो मिसनरीले एक दिनमा झन्डै ३२ किलोमिटर यात्रा गर्थे।

तर प्यालेस्टाइनमा प्रायजसो सडकहरू कच्ची र खतरनाक थिए, खेतहरू र खोचहरूबाट जोगाउन बार लगाइएको थिएन। यात्रु बाटोमा जङ्‌गली जनावर वा डाँकुहरूको फेला पर्न सक्थे। हो, बाटो पूरै बन्द हुन पनि सक्थ्यो।

यात्रुले आफ्नो साथमा के-के लग्थे? तिनले लग्नै पर्ने केही सामानहरू यसप्रकार छन्‌—सुरक्षाको लागि लौरो (१); गुन्टा (२); पैसाको थैलो (३); थप एक जोर चप्पल (४); खानेकुराको झोला (५); फेर्ने लुगा (६); बाटोमा इनारबाट पानी तान्‍नका लागि पट्ट्याउन मिल्ने छालाको बाल्टिन (७); पानीको भाँडो (८) र व्यक्‍तिगत सामानहरू राख्न मिल्ने छालाको ठूलो झोला (९)

एकपछि अर्को बजारमा सामानहरू वितरण गर्दै हिंड्‌ने घुमन्ते व्यापारीहरूलाई मिसनरीहरूले पक्कै भेट्‌ने थिए। ती व्यापारीहरूले सामान ओसार्न गधाहरू चलाउँथे किनभने गधाहरू अप्ठ्यारो बाटोमा पनि हतपती लड्‌दैनन्‌। साथै ढुङ्‌गेनी उकालो बाटोमा हिंड्‌ने सन्दर्भमा पनि गधाको बराबरीमा अरू कुनै पशु आउन सक्दैन। बलियो गधाले भारीका भारी सामान बोकेर एक दिनमा ८० किलोमिटर पार गर्न सक्थ्यो भनेर रिपोर्टहरूले बताउँछ। बयलगाडा र टाँगा तुलनात्मक रूपमा ढिला हुन्थे। तिनीहरूले ८ देखि २० किलोमिटर मात्र पार गर्न सक्थे। तर गोरुले गधाले भन्दा धेरै भारी बोक्न सक्ने भएकोले छोटो दूरीको लागि त्यो उपयुक्‍त हुन्थ्यो। यात्रा गर्ने क्रममा संसारका विभिन्‍न भागबाट ल्याइएका सामानहरू बोकेका ऊँट वा गधाहरूको ताँती पनि भेटिन सक्थ्यो। रोमी साम्राज्यको टाढ-टाढा पर्ने इलाकाहरूको पत्र र राजकीय उर्दी लिएर घोडामा तुफानको गतिमा हुइँकिरहेका सन्देशवाहक आफ्नो छेवैबाट जान सक्थे।

रात परेपछि यात्रु बाटो छेउ हतार-हतार पाल टाँगेर बास बस्थे। कोही-कोही चाहिं चारैतिर कोठाहरू र बीचमा चोक भएको पौवामा बस्थे। यस्ता फोहोर र त्यति सुविधा नभएका पौवाहरूले घामपानी वा चोरहरूबाट खासै सुरक्षा दिंदैनथ्यो। सम्भव भएसम्म, परिभ्रमण मिसनरीहरू आफ्नो परिवार वा सँगी विश्‍वासीहरूकहाँ बास बस्ने गरेका हुन सक्छन्‌।—प्रेषित १७:७; रोमी १२:१३.

जलयात्रा तटीय इलाकाहरूमा र गालील समुद्रमा स-साना डुङ्‌गाहरूले सामान तथा मानिसहरू ओसार्ने गर्थ्यो। (यूहन्‍ना ६:१, २, १६, १७, २२-२४) भूमध्यसागरमा थुप्रै ठूला जहाजहरूले टाढा-टाढाका बन्दरगाहहरूबाट सामानहरू ओसारपसार गर्थे। यी जहाजहरूमा रोमको लागि खाना ल्याइनुका साथै सरकारी अधिकारीहरू र तोक-आदेश एउटा बन्दरगाहबाट अर्कोमा पुऱ्‍याइने गरिन्थ्यो।

नाविकहरूले दिनमा सीमा संकेतहरू र रातमा ताराहरूको आधारमा जहाज चलाउँथे। त्यसैले तुलनात्मक रूपमा समुद्र अलि शान्त हुने समय अर्थात्‌ मे महिनादेखि सेप्टेम्बर महिनाको बीचसम्म मात्र समुद्रीयात्रा सुरक्षित हुन्थ्यो। जहाजहरू क्षतिग्रस्त हुनु सामान्य थियो।—प्रेषित २७:३९-४४; २ कोरिन्थी ११:२५.

यात्रुले जलयात्रा गर्नुको कारण थलयात्राभन्दा सजिलो हुने भएकोले त होइन। समुद्रमा सामान ओसारपसार गर्ने मुख्य माध्यम मालवाहक जहाजमा यात्रुहरूको सुविधालाई ध्यान दिइँदैनथ्यो। जस्तोसुकै मौसममा पनि यात्रुहरू डेक अर्थात्‌ कुनै छत नभएको खुला ठाउँमा बस्नुपर्थ्यो। डेकमुनिको सुक्खा ठाउँ बहुमूल्य सामानहरूले खचाखच भरिएको हुन्थ्यो। यात्रुहरूले आफ्नो लागि खाना आफै बोक्नुपर्थ्यो। केवल पिउने पानी दिइन्थ्यो। कहिलेकाहीं मौसम एकदमै अस्थिर हुन्थ्यो। निकै दिनसम्म आइरहने आँधी र छालहरूले गर्दा रिङ्‌गटा चल्थ्यो र वाकवाक लाग्थ्यो।

चाहे थलयात्रा होस्‌ या जलयात्रा, निकै कठिनाइहरू भोग्नुपरे तापनि पावलजस्ता मिसनरीहरूले त्यतिबेलाको संसारमा विस्तृत रूपमा ‘राज्यको सुसमाचार’ प्रचार गरे। (मत्ती २४:१४) येशूले आफ्ना चेलाहरूलाई आफूबारे साक्षी दिन अह्राएको मात्र ३० वर्षपछि पावलले यो सुसमाचार “आकाशमुनि भएका सबै मानिसहरूमाझ प्रचार भयो” भनेर लेख्न सके।—कलस्सी १:२३. (w10-E 11/01)