सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌

युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌

युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌

“हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नलाई तिमीहरूको वचन नूनले स्वादिलो पारेकोजस्तै . . . होस्‌।”—कल. ४:६.

१, २. धेरैजसो युवालाई अरूभन्दा बेग्लै हुनुपर्दा कस्तो लाग्छ र किन?

 निस्सन्देह, तपाईंले “साथीहरूको दबाब” भन्‍ने अभिव्यक्‍ति केवल सुन्‍नुभएको मात्र होइन, आफैले अनुभव पनि गर्नुभएको होला। कुनै न कुनै समयमा अरूले तपाईंलाई गलत काम गर्न दबाब दिएका होलान्‌। त्यस्तो बेला तपाईंलाई कस्तो लाग्छ? चौध वर्षीय क्रिस्टोफर भन्छन्‌, “कहिलेकाहीं त मलाई त्यो ठाउँबाटै गायब हुन पाए हुन्थ्यो जस्तो लाग्छ। हैन भने साथीहरूभन्दा बेग्लै देखिन नपरोस्‌ भनेर तिनीहरूजस्तै भइदिऊँ जस्तो लाग्छ।”

के तपाईंलाई आफ्ना साथीहरूले अत्यन्तै असर गर्छन्‌? गर्छन्‌ भने किन? कतै तिनीहरूले तपाईंलाई स्वीकारोस्‌ भन्‍ने चाहनाले हो कि? यस्तो चाहना स्वयम्‌ नै गलतचाहिं होइन। वास्तवमा वयस्कहरूसमेत आफ्ना साथीसँगीले स्वीकारेको चाहन्छन्‌। जवान होस्‌ वा वृद्ध, कोही पनि साथीहरूबाट तिरस्कृत हुन चाहँदैनन्‌। तर वास्तविकतालाई विचार गर्ने हो भने सही कुरा गर्ने अडान लिंदा अरूबाट सधैं वाहवाही भने पाइँदैन। येशूले समेत यस्तो तीतो वास्तविकता भोग्नुपरेको थियो। तैपनि उहाँले सधैं सही कुरा गर्नुभयो। कोही-कोही उहाँको पछि लागे र चेला बने तर अरू कतिपयले भने परमेश्‍वरको पुत्रलाई घृणा गरे अनि उहाँलाई ‘कुनै मोलको गनेनन्‌।’—यशै. ५३:३.

साथीहरूजस्तै बन्‍ने दबाब कत्तिको प्रबल हुन्छ?

३. साथीहरूले दबाब दिंदा तिनीहरूले भनेझैं गर्नु किन गलत हो?

कहिलेकाहीं भने साथीहरूबाट तिरस्कृत हुन नपरोस्‌ भनेर मात्र पनि तपाईंलाई तिनीहरूजस्तै होऊँ जस्तो लाग्न सक्छ। तर त्यसो गर्नु गलत हो। ख्रीष्टियानहरू ‘बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिने बालकहरू हुनु हुँदैन।’ (एफि. ४:१४) साना केटाकेटीहरू अरूको कुराबाट सजिलै बहकिन्छन्‌। तर तपाईं युवाहरू भने अब बिस्तारै वयस्क बन्दै हुनुहुन्छ। यदि यहोवाका स्तरहरू तपाईंकै हितका लागि हुन्‌ भन्‍ने लाग्छ भने आफूले विश्‍वास गरेका कुराअनुसारै जीवन बिताउनु बुद्धिमानी हो। (व्यव. १०:१२, १३) त्यसैले यहोवाको स्तर लत्त्याउनु भनेको आफ्नो जीवनलाई बेलगाम छोड्‌नु हो। अरूले दबाब दिंदा तपाईंले हार मान्‍नुभयो भने तपाईं तिनीहरूको कठपुतली बन्‍नुहुनेछ। २ पत्रुस २:१९ पढ्‌नुहोस्‌।

४, ५. (क) दबाब आइपर्दा हारूनले हार मानेको कसरी देखियो अनि यसबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ? (ख) साथीहरूले तपाईंलाई कुन-कुन तरिकामा दबाब दिन सक्छन्‌?

एक चोटि, मोशाका दाइ हारूनले साथीहरूको दबाबसामु हार माने। इस्राएलीहरूले देवता बनाइदिन कर गर्दा हारूनले उनीहरूको कुरा माने। हारून डरछेरुवा थिएनन्‌। यसअघिका घटनालाई विचार गर्ने हो भने मिश्रका सबैभन्दा शक्‍तिशाली व्यक्‍ति फिरऊनको सामना गर्नुपर्दा हारून मोशाको पक्षमा खडा भएका थिए। त्यतिबेला तिनले साहसी भई फिरऊनलाई परमेश्‍वरको सन्देश सुनाएका थिए। तर सँगी इस्राएलीहरूले दबाब दिंदा भने हारूनले लत्तो छोडे। हेर्नुहोस्‌ त, साथीहरूको दबाब कत्तिको प्रबल हुँदो रहेछ! हारूनलाई साथीहरूको दबाबको प्रतिरोध गर्नभन्दा मिश्रका राजाको प्रतिरोध गर्न सजिलो लाग्यो।—प्रस्थ. ७:१, २; ३२:१-४.

हारूनको उदाहरणले देखाएझैं युवाहरूले मात्र साथीहरूको दबाब सामना गर्नुपर्ने होइन, न त यो खराब काम गर्न चाहनेहरूले मात्र भोग्ने समस्या हो। साँचो मनले सही काम गर्न चाहनेहरूले समेत साथीहरूको दबाब सामना गर्नुपर्ने हुन्छ अनि यस्तो दबाबबाट तपाईं पनि अछुतो हुनु हुन्‍न। साथीहरूले चुनौती दिएर, आरोप लगाएर वा गिल्ला गरेर तपाईंलाई जबरजस्ती गलत काम गर्न लगाउन सक्छन्‌। साथीहरूको दबाब जुनसुकै किसिमले आए तापनि यसको सामना गर्न गाह्रो हुन्छ। यस्तो दबाबको प्रतिरोध गर्न सफल हुनको लागि सर्वप्रथम आफूले विश्‍वास गरेका कुरामा विश्‍वस्त हुन सिक्नुपर्छ।

“तिमीहरू आफ्नो प्रमाण देओ”

६, ७. (क) आफूले सिकेका कुरामा विश्‍वस्त हुनु किन महत्त्वपूर्ण छ र तपाईं आफ्नो विश्‍वस्तता कसरी बढाउन सक्नुहुन्छ? (ख) अझ बढी विश्‍वस्त हुन आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ?

साथीहरूको दबाबको प्रतिरोध गर्न सर्वप्रथम तपाईं आफूले विश्‍वास गर्ने र पालन गर्ने कुरा सही हुन्‌ भनेर विश्‍वस्त हुनुपर्छ। ( २ कोरिन्थी १३:५ पढ्‌नुहोस्‌) तपाईं स्वभावैले काँतर भए तापनि विश्‍वस्तताले तपाईंलाई निडर हुन मदत गर्नेछ। (२ तिमो. १:७, ८) तर कोही मानिस प्रायजसो अवस्थामा निडर देखिए तापनि आफूले आधा मनले मात्र विश्‍वास गरेको कुराको पक्षमा खडा हुन भने तिनलाई निकै गाह्रो हुन सक्छ। त्यसैले बाइबलबाट सिकेका कुराहरू सत्य हुन्‌ भनेर आफू पक्का हुनुभए कसो होला? उसोभए सबैभन्दा पहिला बाइबलका आधारभूत सत्यबाटै सुरु गर्नुहोस्‌। उदाहरणको लागि, तपाईं परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ अनि अरूले उहाँको साँच्चै अस्तित्व छ भनेर विश्‍वास गर्नुको कारणबारे बताएको पनि तपाईंले सुन्‍नुभएको होला। त्यसोभए आफैलाई सोध्नुहोस्‌: ‘परमेश्‍वरको अस्तित्व साँच्चै छ भनेर विश्‍वस्त हुनुको कारण के हो?’ यो प्रश्‍न सोध्नुको उद्देश्‍य तपाईंको मनमा शङ्‌का उब्जाउन होइन तर आफ्नो विश्‍वास अझ बलियो बनाउन हो। त्यसरी नै यो प्रश्‍न पनि सोध्नुहोस्‌: ‘बाइबल परमेश्‍वरबाटै प्रेरणा भएको किताब हो भनेर म किन भन्‍न सक्छु?’ (२ तिमो. ३:१६) ‘यी “आखिरी दिन” हुन्‌ भनेर म विश्‍वस्त हुनुको कारण के हो?’ (२ तिमो. ३:१-५) ‘यहोवाका स्तरहरू मेरै फाइदाका लागि हुन्‌ भनेर मैले विश्‍वास गर्न सक्नुको कारण के हो?’—यशै. ४८:१७, १८.

जवाफ दिन नसकिएला कि भनेर तपाईं उक्‍त प्रश्‍नहरू सोध्न हिचकिचाउनुहोला। तर त्यसो गर्नु भनेको गाडीको वा मोटरसाइकलको फ्युल मिटरको सुईले “रित्तो” देखाउला भनेर मिटर हेर्नै हिचकिचाउनु जस्तो हुनेछ! ट्याङ्‌कीमा पेट्रोल सिद्धिएको कुरा तपाईंले थाह पाउनुभयो भने मात्र आवश्‍यक कदम चाल्न सक्नुहुन्छ। त्यसरी नै आफूमा विश्‍वस्तताको कमी देखियो भने आवश्‍यक कदम चालिहाल्नु बेस हो।—प्रेरि. १७:११.

८. व्यभिचारदेखि अलग रहो भन्‍ने परमेश्‍वरको आज्ञा पालन गर्ने सन्दर्भमा तपाईं कसरी अझ विश्‍वस्त हुन सक्नुहुन्छ, व्याख्या गर्नुहोस्‌।

यो उदाहरण विचार गर्नुहोस्‌। बाइबल यसो भन्छ: “व्यभिचारदेखि अलग रहो।” अब आफैलाई सोध्नुहोस्‌: ‘यो आज्ञा मान्‍नु किन बुद्धिमानी हो?’ तपाईंका साथीहरू व्यभिचारजस्तो कुरामा संलग्न हुनुका कारण के-के हुन्‌, विचार गर्नुहोस्‌। साथै व्यभिचार गर्ने व्यक्‍तिले किन “आफ्नै शरीरको विरुद्धमा पाप” गरिरहेको हुन्छ, त्यसबारे पनि सोच्नुहोस्‌। (१ कोरि. ६:१८) अब जवाफ केलाउनुहोस्‌ अनि आफैलाई सोध्नुहोस्‌: ‘के गर्नु बेस हो—यो आज्ञा मान्‍नु कि नमान्‍नु? के यौन दुराचरणमा लागेर यत्ति ठूलो मोल चुकाउनु उचित हो?’ यसबारे अझ गहिरिएर विचार गर्दै फेरि आफैलाई सोध्नुहोस्‌: ‘यौन अनैतिकतामा फसें भने मलाई कस्तो लाग्नेछ?’ आफ्ना केही साथीमाझ त तपाईं स्वीकृत हुनुहोला तर पछि राज्यभवनमा आफ्ना आमाबाबु वा अरू ख्रीष्टियान भाइबहिनीसित बस्दा तपाईंलाई कस्तो लाग्नेछ? परमेश्‍वरलाई प्रार्थना गर्न लाग्दा तपाईंको मनमा कस्ता भावनाहरू आउनेछन्‌? के तपाईं आफ्नो कक्षाका साथीहरूलाई खुसी बनाउनकै लागि मात्र परमेश्‍वरसितको स्वच्छ सम्बन्ध तोड्‌न चाहनुहुन्छ?

९, १०. आफूले सिकेका कुराहरूमा पक्का हुँदा साथीहरूमाझ अझ विश्‍वस्त भई बोल्न तपाईंलाई केले मदत गर्नेछ?

तपाईं युवावस्थामा हुनुहुन्छ भने तपाईं जीवनको त्यस मोडमा हुनुहुन्छ जब तपाईंको सोचविचार गर्ने क्षमताको तीव्र विकास भइरहेको हुन्छ। ( रोमी १२:१, २ पढ्‌नुहोस्‌) यहोवाको साक्षी भन्‍ने नाम वहन गर्नु तपाईंको लागि कत्तिको महत्त्वपूर्ण छ, त्यसबारे गम्भीरतापूर्वक सोच्ने समय अहिल्यै हो। यस्ता विषयमा चिन्तन गर्दा आफूले सिकेका कुरामा तपाईंको विश्‍वस्तता बढ्‌नेछ। अनि साथीहरूको दबाब सामना गर्नुपर्दा पूर्णतया विश्‍वस्त भई उत्तिखेरै जवाफ दिन सक्नुहुनेछ। तपाईंले पनि यी ख्रीष्टियान युवतीले जस्तै महसुस गर्नुहुनेछ: “साथीहरूको दबाबको प्रतिरोध गर्दा मैले त्यस्तो अनौठो कुरा के नै गरें र। म जे विश्‍वास गर्छु, त्यसकै पक्षमा खडा भएकी हुँ। यो ‘धर्मको’ कुरा मात्र होइन। तर यसमा मेरो सम्पूर्ण कुरा मुछिएको छ—मेरो सोचाइ, लक्ष्य, नैतिकता अनि मेरो अस्तित्व।”

१० सही कुरा गर्ने दृढ अडान लिन पक्कै पनि प्रयास गर्नुपर्छ। (लूका १३:२४) अनि सही कुरा गर्न त्यत्रो प्रयास गर्नु कतै बेकार त होइन जस्तो तपाईंलाई लाग्ला। तर यो कुरा नबिर्सनुहोस्‌: यदि आफूले लिएको अडानको लागि अफसोस मान्‍नुहुन्छ वा लज्जित हुनुहुन्छ भने अरूले त्यो चाल पाइहाल्नेछन्‌ र तिनीहरूले तपाईंलाई अर्को चोटि अझ बढी दबाब दिन सक्छन्‌। तर विश्‍वस्त भई आफ्नो अडानबारे बताउनुभयो भने साथीहरूले तपाईंलाई कति चाँडै दबाब दिन छोड्‌नेछन्‌, त्यो देखेर तपाईं छक्कै पर्नुहुनेछ।—लूका ४:१२, १३ तुलना गर्नुहोस्‌।

‘जवाफ दिनुअघि सोच्नुहोस्‌’

११. साथीहरूको दबाब आउन सक्ने अवस्थाको लागि पहिल्यै तयारी गर्दा कस्तो फाइदा हुन्छ?

११ साथीहरूको दबाबको प्रतिरोध गर्ने अर्को महत्त्वपूर्ण कदम, तयारी हो। ( हितोपदेश १५:२८ पढ्‌नुहोस्‌) तयारी गर्नु भनेको सम्भाव्य परिस्थितिबारे पहिल्यै सोच्नु हो। कहिलेकाहीं पूर्वसोचले ठूलो मुठभेड हुनदेखि जोगाउन सक्छ। मानिलिनुहोस्‌, बाटोमा आफ्नो स्कूलका एक हूल साथीले चुरोट खाँदै गरेको देख्नुभयो। तिनीहरूले तपाईंलाई पनि चुरोट दिने सम्भावना कत्तिको हुन्छ? अप्ठ्यारोमा पर्न सक्ने अवस्था देख्नेबित्तिकै तपाईं के गर्न सक्नुहुन्छ? हितोपदेश २२:३ भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” त्यो बाटो छोडेर अर्कै बाटो जाँदा ती साथीहरूसित तपाईंको मुठभेड हुन पाउँदैन। यसो गर्नु डरछेरुवा हुनु होइन तर बुद्धिमान्‌ हुनु हो।

१२. तपाईंलाई दबाब दिने उद्देश्‍यले प्रश्‍न सोध्दा त्यो दबाबलाई तपाईं कसरी कम गर्न सक्नुहुन्छ?

१२ परिस्थितिवश साथीहरूसित आमनेसामने नै हुनुपऱ्‍यो भने के गर्ने? मानिलिनुहोस्‌, तपाईंको साथीले छक्क मान्दै सोध्यो: “तिम्रो ब्वाईफ्रेन्ड छैन?” वा “तिम्रो गर्लफ्रेन्ड छैन?” यस्तो बेला कलस्सी ४:६ मा बताइएको यो सल्लाह पालन गर्नु प्रभावकारी हुन्छ: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नलाई तिमीहरूको वचन नूनले स्वादिलो पारेकोजस्तै अनुग्रहसहितको होस्‌।” यस शास्त्रपदले बताएझैं तपाईंले दिने जवाफ परिस्थितिमा भर पर्छ। तर तपाईंले बाइबलबाट लामो भाषण छाँटिरहनु आवश्‍यक पर्दैन होला। दृढतापूर्वक दिएको छोटो जवाफ पर्याप्त हुन सक्छ। उदाहरणको लागि, तिम्रो अझै ब्वाईफ्रेन्ड/गर्लफ्रेन्ड छैन भनी सोध्दा यति मात्रै भने पुग्छ होला: “छैन,” वा “त्यो मेरो निजी कुरा हो।”

१३. साथीले गिल्ला गर्दा समझशक्‍ति देखाउनु किन आवश्‍यक छ?

१३ धेरै कुरा बताउँदा कुनै फाइदा नहुने अवस्थामा येशूले अक्सर छोटो जवाफ दिनुभयो। भनौं भने, हेरोदले प्रश्‍न गर्दा उहाँले केही जवाफ दिनुभएन। (लूका २३:८, ९) बेकारका प्रश्‍नहरूको जवाफ दिनुभन्दा अक्सर चुप लाग्नु बेस हुन्छ। (हितो. २६:४; उप. ३:१, ७) मानौं, कुनै व्यक्‍तिले तपाईंको विषयमा खराबी बोलेको थियो। तर त्यही व्यक्‍तिले यौन नैतिकताबारे तपाईंको अडान देखेर छक्क मान्दै निष्कपटतासाथ तपाईंलाई प्रश्‍न सोध्यो भने नि? (१ पत्रु. ४:४) यस्तो अवस्थामा आफूले त्यस्तो बाइबलआधारित अडान लिनुको कारण विस्तृत तवरमा बताउनु आवश्‍यक हुन सक्छ। त्यसो हो भने डराएर पछि नहट्‌नुहोस्‌। ‘जवाफ दिन सधैं तयार रहनुहोस्‌।’—१ पत्रु. ३:१५.

१४. कुनै-कुनै अवस्थामा तपाईं कसरी कौशलतापूर्वक उल्टै साथीलाई दबाब दिन सक्नुहुन्छ?

१४ कुनै-कुनै अवस्थामा तपाईंले उल्टै साथीलाई दबाब दिन सक्नुहुन्छ। तर यसो गर्दा कौशलता भने देखाउनै पर्छ। उदाहरणको लागि, कक्षाको साथीले तपाईंलाई ‘सक्छस्‌ भने चुरोट खाएर त देखा’ भनेर चुनौती दियो भने “अहँ, खाँदिनँ” भनेपछि यसो भन्‍न सक्नुहुन्छ: “तिमीजस्तो बाठो मान्छेले पनि चुरोट खान सुहाउँछ र!” अब कसरी उल्टै तपाईंको साथीले दबाब महसुस गर्नेछ, याद गर्नुभयो? किन चुरोट खाँदिनँ भनेर तपाईंले लम्बेतान बताइरहनै पर्दैन, बरु तपाईंको जवाफले गर्दा ऊ पनि ‘ए, मैले पनि खान नहुने हो तर किन खाँदैछु’ भनेर सोच्न बाध्य हुन्छ।  a

१५. दबाब दिने साथीहरूको माझबाट निस्केर गइहाल्नु कस्तो अवस्थामा उचित हो र किन?

१५ प्रयास गर्दागर्दै पनि दबाब कम भएन भने नि? यस्तो अवस्थामा त्यो ठाउँ छोडेर अन्तै जानु बेस हो। त्यस्तो ठाउँमा जति धेरै बेर बस्नुहुन्छ, तपाईंले कुनै न कुनै तरिकाले सम्झौता गर्ने सम्भावना पनि त्यति नै बढ्‌छ। त्यसैले त्यो ठाउँ छोडेर गइहाल्नुहोस्‌। त्यसरी गएकोमा पराजित भएजस्तो महसुस गर्नुपर्दैन। महत्त्वपूर्ण कुरा, तपाईंले परिस्थितिलाई आफ्नो नियन्त्रणबाहिर जान दिनुभएन। तपाईं साथीहरूको कठपुतली बन्‍नुभएन, बरु यहोवाको हृदयलाई तपाईंले आनन्दित बनाउनुभयो।—हितो. २७:११.

‘लाभ हुने पूर्व-सोच’ बनाउनुहोस्‌

१६. कोही-कोही ख्रीष्टियान भनाउँदाबाट पनि कसरी दबाब आउन सक्छ?

१६ कहिलेकाहीं भने यहोवाको सेवक भनाउँदा युवाहरूबाटै अहितकर गतिविधिमा भाग लिने दबाब आउन सक्छ। मानिलिनुहोस्‌, कुनै एउटा जमघटको लागि तपाईंले साथीबाट निम्तो पाउनुभयो। तर त्यहाँ पुगेपछि थाह पाउनुभयो कि त्यस जमघटको सुपरिवेक्षण गर्न कोही पनि वयस्क छैन। अब के गर्ने? अथवा कुनै जमघटमा जाँडरक्सी प्रशस्त छ अनि त्यहाँ कसैले बेसरी पिउन थाल्यो भने के गर्ने? बाइबल-प्रशिक्षित अन्तस्करण प्रयोग गर्नुपर्ने यस्ता विभिन्‍न परिस्थिति सृजना हुन सक्छन्‌। एउटी ख्रीष्टियान किशोरी यसो भन्छिन्‌: “म र मेरी बहिनी तथानाम छाडा बोलीले भरिएको फिल्म नहेरी बीचैमा उठेर आयौं। अरू साथीहरू भने फिल्म हेरिरहे। त्यहाँबाट निस्केर आएकोमा आमाबाबुले हाम्रो तारिफ गर्नुभयो। तर अरू साथीहरू भने हामीले गर्दा नराम्रो देखिनु परेकोले रिसाए।”

१७. कुनै जमघटमा जाँदा परमेश्‍वरको स्तरअनुसार चल्न तपाईं कस्तो व्यावहारिक कदम चाल्न सक्नुहुन्छ?

१७ अघिल्लो अनुच्छेदमा बताइएको अनुभवले देखाएझैं बाइबल-प्रशिक्षित अन्तस्करणअनुसार कदम चाल्दा कहिलेकाहीं अप्ठ्यारो अवस्थामा परिन्छ। तर जे सही हो भनेर तपाईं विश्‍वास गर्नुहुन्छ, त्यही गर्नुहोस्‌। अग्रिम तयारी गर्नुहोस्‌। कुनै जमघटमा जाँदै हुनुहुन्छ तर कथम्‌कदाचित्‌ त्यहाँको अवस्था आफूले सोचेजस्तो भएन भने निस्किहाल्ने बन्दोबस्त मिलाउनुहोस्‌। कोही-कोही युवाले आमाबाबुसित पहिल्यै कुरा मिलाउँछन्‌ अनि त्यस्तो ठाउँबाट निस्कनुपर्ने भयो भने घरमा एक कल फोन गर्नेबित्तिकै कसैले लिन आइहाल्ने बन्दोबस्त मिलाउँछन्‌। (भज. २६:४, ५) यस्तो ‘पूर्व-सोचले लाभ’ हुन्छ।—हितो. २१:५.

‘आफ्नो युवावस्थामा सुखी हुनुहोस्‌’

१८, १९. (क) तपाईं आनन्दित भएको यहोवा चाहनुहुन्छ भनेर तपाईं किन पक्का हुन सक्नुहुन्छ? (ख) साथीहरूको दबाबको प्रतिरोध गर्ने युवाहरू देख्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१८ जीवनको आनन्द उठाउन सक्ने क्षमतासहित यहोवाले तपाईंलाई सृष्टि गर्नुभएको छ अनि तपाईं आनन्दित भएको उहाँ चाहनुहुन्छ। ( उपदेशक ११:९ पढ्‌नुहोस्‌) तपाईंका धेरैजसो साथीले केवल ‘केही समयसम्म पापको सुख भोगिरहेका’ हुन्‌ भनेर नबिर्सनुहोस्‌। (हिब्रू ११:२५) तपाईंले त्योभन्दा कता हो कता उत्तम चीज पाएको साँचो परमेश्‍वर चाहनुहुन्छ। तपाईं सधैंभरि सुखी रहेको उहाँ चाहनुहुन्छ। यसैले परमेश्‍वरको नजरमा गलत कुरा गर्ने प्रलोभनको सामना गर्नुपर्दा यो कुरा नबिर्सनुहोस्‌: यहोवाले भन्‍नुभएअनुसारै गर्दा पछि गएर सधैं तपाईंकै हित हुन्छ।

१९ तपाईं जवान व्यक्‍तिले कुन कुरा बुझ्नुपर्छ भने तपाईं साथीभाइमाझ स्वीकृत हुनु नै भयो भने पनि, सायद वर्षौंपछि तिनीहरूमध्ये धेरैले तपाईंको नामसमेत सम्झनेछैनन्‌। तर यसको ठीक उल्टा, साथीहरूको दबाबको प्रतिरोध गर्नुभयो भने यहोवाले याद गर्नुहुनेछ र उहाँले तपाईं अनि तपाईंको वफादारीलाई कहिल्यै बिर्सनुहुनेछैन। उहाँले ‘स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌ वर्षाउनुहुनेछ।’ (मला. ३:१०) त्यति मात्र होइन, साथीहरूको दबाबको प्रतिरोध गर्न कटिबद्ध हुन उहाँले तपाईंलाई प्रशस्त मात्रामा पवित्र आत्मा दिनुहुनेछ। हो, साथीहरूको दबाबको प्रतिरोध गर्न यहोवाले तपाईंलाई अवश्‍य मदत गर्न सक्नुहुन्छ! (w10 -E 11/15)

[फुटनोट]

a युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (क्वेशन्स्‌ यङ पिपल आस्क—आन्सर्स द्यात वर्क) पुस्तकको खण्ड २, पृष्ठ १३२ र १३३ मा भएको “साथीहरूको दबाबको प्रतिरोध गर्न तयारी” भन्‍ने पेटी हेर्नुहोस्‌।

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

हारून सुनको बाछो बनाउन किन राजी भए?

[पृष्ठ १८-मा भएको चित्र]

के भन्‍ने हो, पहिल्यै तयारी गर्नुहोस्‌

[पृष्ठ १९-मा भएको चित्र]

के तपाईंलाई याद छ?

• साथीहरूको दबाब कत्तिको प्रबल हुन सक्छ?

• साथीहरूको दबाबको प्रतिरोध गर्न विश्‍वस्तताले कसरी मदत गर्छ?

• साथीहरूको दबाबको प्रतिरोध गर्न तपाईं कसरी तयारी गर्न सक्नुहुन्छ?

• तपाईंको वफादारीलाई यहोवा मूल्यवान्‌ ठान्‍नुहुन्छ भनेर तपाईं किन भन्‍न सक्नुहुन्छ?