सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो—तपाईं जीवनमा के गर्न चाहनुहुन्छ?

युवाहरू हो—तपाईं जीवनमा के गर्न चाहनुहुन्छ?

युवाहरू हो—तपाईं जीवनमा के गर्न चाहनुहुन्छ?

“म यसरी मुक्का लड्‌दछु, केवल हावामा हान्‍नेजस्तो होइन।”—१ कोरि. ९:२६.

१, २. वयस्क हुँदै जाँदा सफल हुन चाहनुहुन्छ भने तपाईंसित के हुनुपर्छ?

 तपाईं कुनै अपरिचित ठाउँमा यात्रा गर्दै हुनुहुन्छ भने सायद आफूसित नक्सा अनि कम्पास लैजानुहुन्छ होला। नक्साले तपाईं कहाँ हुनुहुन्छ, त्यो ठम्याउन अनि अब कुन बाटो भएर जानु बेस हुन्छ, त्यो तय गर्न पनि मदत गर्नेछ। कम्पासले तपाईंलाई यताउता नअलमली सही बाटोमा गइरहन मदत गर्नेछ। तथापि आफू कहाँ जाने हो, त्यो नै थाह छैन भने नक्सा र कम्पासको केही काम छैन। विनालक्ष्य यताउता नभौंतारिने हो भने आफ्नो गन्तव्यबारे पक्का हुनुपर्छ।

वयस्क हुँदै जाँदा तपाईंले पनि यस्तै परिस्थितिको सामना गर्नुपर्छ। भरपर्दो नक्सा अनि कम्पास दुवै उपलब्ध छ। बाइबल एउटा यस्तो नक्सा हो जसले तपाईंलाई सही बाटो रोज्न मदत गर्न सक्छ। (हितो. ३:५, ६) तपाईंको अन्तस्करणले राम्ररी तालिम पाएको खण्डमा सही बाटोमा लागिरहन यसले निकै मदत गर्न सक्छ। (रोमी २:१५) यसले कम्पासको जस्तै काम गर्न सक्छ। तर तपाईंको जीवन सफल बनाउने हो भने आफ्नो गन्तव्य पनि थाह पाउनुपर्छ। आफ्नो लक्ष्य के हो, त्यसबारे पक्का हुनुपर्छ।

३. लक्ष्यहरू राख्दा हुने कस्ता फाइदाबारे पावलले १ कोरिन्थी ९:२६ मा बताएका छन्‌?

प्रेरित पावलले लक्ष्य राख्नु र त्यसलाई हासिल गर्नुको लाभबारे संक्षिप्तमा यसरी बताए: “म यसरी दगुर्छु, बेताकसित होइन, म यसरी मुक्का लड्‌दछु, केवल हावामा हान्‍नेजस्तो होइन।” (१ कोरि. ९:२६) तपाईंले लक्ष्य राख्नुभएको छ भने ढुक्क भएर त्यस लक्ष्यतर्फ अघि बढ्‌न सक्नुहुन्छ। तपाईंले उपासना, जागिर, विवाह अनि परिवारजस्ता विषयमा गम्भीर निर्णय गर्नुपर्ने बेला चाँडै आइहाल्छ। कहिलेकाहीं तपाईं के गरौं कसो गरौं जस्तो लागेर अलमलमा पर्नुहोला। तर यदि तपाईंले कुन बाटो जाने भनेर पहिल्यै पक्का गरिसक्नुभएको छ अनि त्यो निर्णय परमेश्‍वरको वचनमा पाइने सत्य र सिद्धान्तमा आधारित छ भने गलत दिशातर्फ लाग्ने प्रलोभनमा पर्नुहुनेछैन।—२ तिमो. ४:४, ५.

४, ५. (क) आफ्नो लागि तपाईं आफैले लक्ष्य राख्नुभएन भने के हुन सक्छ? (ख) जीवनमा छनौटहरू गर्दा तपाईंको इच्छा परमेश्‍वरलाई खुसी पार्ने हुनुपर्छ, किन?

आफ्नो लागि तपाईं आफैले लक्ष्य राख्नुभएन भने तपाईंका साथी अनि शिक्षकहरूले तपाईंलाई यसो गर्नु ठीक होला वा त्यसो गर्नु ठीक होला भनेर दबाब दिन सक्छन्‌। हुनत तपाईंले स्पष्ट लक्ष्यहरू राख्नुभएको होला तर त्यसो भन्दैमा अरूले तपाईंमाथि आफ्नो विचार थोपर्न भने छोड्‌नेछैनन्‌। उनीहरूको सुझाव पाउँदा आफैलाई सोध्नुहोस्‌, ‘उनीहरूले जुन लक्ष्य राख्ने सुझाव दिएका छन्‌ के त्यसले मलाई युवावस्थामा सृष्टिकर्ताको सम्झना गर्न मदत गर्नेछ वा त्यसो गर्नदेखि टाढा लैजानेछ?’उपदेशक १२:१ पढ्‌नुहोस्‌।

जीवनमा छनौटहरू गर्दा तपाईंको इच्छा परमेश्‍वरलाई खुसी पार्ने हुनुपर्छ, किन? एउटा कारण, अहिले हामीसित भएका सबै असल कुरा यहोवाले दिनुभएको हो। (याकू. १:१७) वास्तवमा हामी सबै जना यहोवाप्रति कृतज्ञ हुनुपर्छ। (प्रका. ४:११) आफ्ना लक्ष्यहरू राख्दा हामीले यहोवालाई बिर्सनु हुँदैन। यहोवाप्रति कृतज्ञता देखाउने योभन्दा उत्तम तरिका अरू के नै होला र? आउनुहोस्‌, कस्ता लक्ष्यहरू हासिल गर्नु बेस हो अनि ती लक्ष्य प्राप्त गर्न तपाईंले के गर्नै पर्छ, सो विचार गरौं।

तपाईं कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ?

६. तपाईंले कुन महत्त्वपूर्ण अनि आधारभूत लक्ष्य राख्न सक्नुहुन्छ र किन?

अघिल्लो लेखमा बताइएझैं तपाईंले राख्न सक्ने एउटा महत्त्वपूर्ण अनि आधारभूत लक्ष्य भनेको बाइबलमा बताइएका कुराहरू सत्य हुन्‌ कि होइनन्‌ भनेर आफू पक्का हुनु हो। (रोमी १२:२; २ कोरि. १३:५) अर्काको लहलहैमा लागेर तपाईंका साथीहरू क्रमविकास वा अन्य झूटा धार्मिक सिद्धान्तहरूमा विश्‍वास गर्छन्‌ होला। तर अरूले भन्दैमा तपाईंले विश्‍वास गरिहाल्नुपर्ने कुनै कारण छैन। नबिर्सनुहोस्‌, आफ्नो सारा समझ अर्थात्‌ दिमागले सेवा गरेको यहोवा चाहनुहुन्छ। ( मत्ती २२:३६, ३७ पढ्‌नुहोस्‌) तपाईंले प्रमाणको आधारमा आफ्नो विश्‍वास बलियो बनाउँदै लगेको स्वर्गमा बस्ने हाम्रो बुबा चाहनुहुन्छ।—हिब्रू ११:१.

७, ८. (क) थोरै समयमा हासिल गर्न सकिने कस्ता लक्ष्यहरूले तपाईंको विश्‍वास बलियो बनाउनेछ? (ख) थोरै समयमा हासिल गर्न सकिने केही लक्ष्य प्राप्त गर्दा तपाईंलाई कस्तो लाग्नेछ?

आफ्नो विश्‍वास बलियो बनाउन, थोरै समयमा हासिल गर्न सकिने लक्ष्यहरू राख्नुभए कसो होला? एउटा लक्ष्य हो, दिनहुँ प्रार्थना गर्ने। कुनै विषयमा तोकेरै प्रार्थना गर्ने अनि एउटै कुरा नदोहोऱ्‍याउने हो भने तपाईंले दिनभरिका खास कुराहरू मनमनै सम्झन वा लेख्न सक्नुहुन्छ। प्रार्थना गर्दा, आफूले सामना गरेका चुनौतीहरू मात्र नभई आफूलाई रमाइलो लागेका कुराहरू पनि समावेश गर्नुहोस्‌। (फिलि. ४:६) तपाईंले राख्न सक्ने दोस्रो लक्ष्य भनेको दिनहुँ बाइबल पढ्‌नु हो। तपाईंले दिनदिनै चार पाना जति पढ्‌नुभयो भने एक वर्षमा पूरै बाइबल पढिसिध्याउन सक्नुहुन्छ भनेर के तपाईंलाई थाह थियो? a भजन १:१, २ यसो भन्छ, “त्यो मानिस धन्य हो, जो . . . परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ।”

थोरै समयमा हासिल गर्न सकिने तेस्रो लक्ष्य, मण्डलीका प्रत्येक सभाको लागि टिप्पणी तयार गर्नु हो। सुरु-सुरुमा त तपाईं अनुच्छेदबाटै पढेर जवाफ दिन वा कुनै एउटा बाइबल पद पढ्‌न सक्नुहुन्छ। पछि भने आफ्नै शब्दमा टिप्पणी दिने लक्ष्य राख्न सक्नुहुन्छ। साँच्चै भन्‍ने हो भने तपाईंले हरेक पटक टिप्पणी दिंदा यहोवालाई उपहार चढाइरहनुभएको सरह हुनेछ। (हिब्रू १३:१५) यीमध्ये केही लक्ष्य हासिल गरेपछि तपाईंको आत्मविश्‍वासका साथै यहोवाप्रतिको कृतज्ञता पनि बढ्‌नेछ। त्यसपछि तपाईं लामो समयमा हासिल गर्न सकिने लक्ष्यहरू राख्न तयार हुनुहुनेछ।

९. तपाईं राज्य प्रकाशक बनिसक्नुभएको छैन भने लामो समयमा हासिल गर्न सकिने कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ?

तपाईंले लामो समयमा हासिल गर्न सकिने कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ? जनसमक्ष सुसमाचार सुनाउन थाल्नुभएको छैन भने तपाईंले लामो समयमा हासिल गर्न सकिने एउटा लक्ष्य हो, राज्य प्रकाशक बन्‍ने। यो सम्माननीय लक्ष्य प्राप्त गरिसकेपछि एक महिना पनि नछुटाई तपाईं प्रचारकार्यमा नियमित अनि प्रभावकारी बन्‍ने लक्ष्य राख्न सक्नुहुन्छ। साथै प्रचारकार्यमा कसरी बाइबल चलाउने, त्यो पनि सिक्न सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाईंलाई प्रचारकार्य अझ रमाइलो लाग्नेछ। यसपछि तपाईंले घर-घरको प्रचारकार्यमा अझ बढी समय बिताउन वा एउटा बाइबल अध्ययन सञ्चालन गर्ने प्रयास पनि गर्न सक्नुहुन्छ। तपाईं बप्तिस्मा अप्राप्त प्रकाशक भइसक्नुभएको हुँदा बप्तिस्माको लागि योग्य हुने र यहोवा परमेश्‍वरको समर्पित अनि बप्तिस्माप्राप्त साक्षी बन्‍ने लक्ष्य राख्न सक्नुहुन्छ। तपाईंको लागि योभन्दा उत्तम लक्ष्य अरू के नै हुन सक्छ र?

१०, ११. बप्तिस्माप्राप्त युवाहरूले लामो समयमा हासिल गर्न सकिने कस्ता लक्ष्यहरू राख्न सक्छन्‌?

१० यदि तपाईं यहोवाको बप्तिस्माप्राप्त सेवक भइसक्नुभएको छ भने लामो समयमा हासिल गर्न सकिने केही लक्ष्य तल दिइएका छन्‌। कहिलेकाहीं मात्र प्रचार गरिएको इलाकामा प्रचार गर्न तपाईं बेला-बेलामा मण्डलीलाई मदत गर्न सक्नुहुन्छ। तपाईं आफ्नो शक्‍ति र सुस्वास्थ्य सहायक वा नियमित अग्रगामी सेवा गर्न पनि चलाउन सक्नुहुन्छ। युवावस्थामा सृष्टिकर्ताको सम्झना गर्ने इनामदायी तरिका पूर्ण समय सेवामा लाग्नु हो भनेर हजारौं आनन्दित अग्रगामीले आफ्नो अनुभव तपाईंलाई बताउनेछन्‌। यी लक्ष्यहरू तपाईंले आफ्नै घरमा हुँदा हासिल गर्न सक्नुहुन्छ। यी लक्ष्यहरू हासिल गर्दा तपाईंको स्थानीय मण्डलीले पनि लाभ उठाउनेछ।

११ लामो समयमा हासिल गर्न सकिने अरू लक्ष्यको लागि भने आफ्नो स्थानीय मण्डलीको इलाकाभन्दा अन्तै सर्नुपर्ने हुन सक्छ। उदाहरणको लागि, आवश्‍यकता बढी भएको कुनै इलाकामा वा अर्कै देशमा सेवा गर्ने योजना बनाउन सक्नुहुन्छ। विदेशमा गएर राज्यभवन अथवा शाखा कार्यालय बनाउन मदत दिन सक्नुहुन्छ। तपाईं बेथेल सेवा गर्न वा मिसनरी बन्‍न पनि सक्नुहुन्छ। लामो समयमा हासिल गर्न सकिने यी सबै महत्त्वपूर्ण लक्ष्यसम्म पुग्न तपाईंले सबैभन्दा पहिला हासिल गर्नुपर्ने लक्ष्य भनेको बप्तिस्मा हो। तर यदि तपाईंको बप्तिस्मा भएको छैन भने यो महत्त्वपूर्ण लक्ष्यसम्म पुग्नुमा के-के समावेश छन्‌, विचार गर्नुहोस्‌।

बप्तिस्माको लक्ष्यसम्म पुग्ने

१२. कोही-कोहीले कस्ता कारणले गर्दा बप्तिस्मा गर्छन्‌ अनि यी कारणले मात्र बप्तिस्मा गर्नु किन उचित होइन?

१२ तपाईंको विचारमा बप्तिस्माको उद्देश्‍य के हो? कसै-कसैलाई लाग्न सक्छ, बप्तिस्मा गऱ्‍यो भने पापमा फस्नदेखि जोगिन्छ। अरू कतिपय भने साथीहरूको बप्तिस्मा भइसकेकोले अब मैले पनि बप्तिस्मा गर्नुपर्छ भन्ठान्छन्‌। अरू युवाहरू भने आमाबाबुलाई खुसी पार्न बप्तिस्मा गर्छन्‌। तर बप्तिस्मा भनेको आफूले गोप्य रूपमा गर्न चाहेको कुरा गर्नदेखि रोक्ने करारनामा होइन। न त यो अरूको दबाबमा परेर गर्ने कुरा नै हो। यहोवाको साक्षी हुनुमा के-कस्ता कुराहरू मुछिएका छन्‌ भनेर पूरै बुझिसकेपछि अनि यहोवाको साक्षी हुँदा आइपर्ने जिम्मेवारीहरू वहन गर्न तयार र इच्छुक भइसकेपछि मात्र बप्तिस्मा गर्नुपर्छ।—उप. ५:४, ५.

१३. तपाईंले किन बप्तिस्मा गर्नुपर्छ?

१३ बप्तिस्मा गर्नुको एउटा कारण हो, येशूले आफ्ना अनुयायीहरूलाई “चेला बनाओ, र . . . बप्तिस्मा देओ” भन्‍ने आज्ञा दिनुभएको थियो। उहाँ आफैले पनि बप्तिस्मा गरेर उदाहरण बसाल्नुभयो। ( मत्ती २८:१९, २०; मर्कूस १:९ पढ्‌नुहोस्‌) साथै बच्न चाहनेहरूका लागि बप्तिस्मा एउटा महत्त्वपूर्ण कदम हो। नूहले आफू र आफ्नो परिवार जलप्रलयबाट बच्न जहाज निर्माण गरेको विषयमा बताइसकेपछि प्रेरित पत्रुसले यसो भने: “ठीक त्यही किसिमले, अर्थात्‌ बप्तिस्माले, . . . येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरूलाई बचाउनेछ।” (१ पत्रु. ३:२०, २१) बप्तिस्मा भनेको कथम्‌कदाचित्‌ विपत्ति आइपरेको खण्डमा जोगिनको लागि गरिने बीमाजस्तो होइन। बरु यहोवालाई प्रेम गरेकोले अनि सारा मन, प्राण, बुद्धि र शक्‍तिले उहाँको सेवा गर्न चाहेकोले बप्तिस्मा गरिन्छ।—मर्कूस १२:२९, ३०.

१४. कोही-कोही बप्तिस्मा गर्नदेखि किन पछि हट्‌छन्‌ तर तपाईंले कस्तो आश्‍वासन पाउनुभएको छ?

१४ पछि गएर मण्डलीबाट बहिष्कार हुनुपर्ला भन्‍ने डरले गर्दा कोही-कोही बप्तिस्मा गर्न हिचकिचाउँछन्‌। के तपाईंलाई पनि यस्तै डर लाग्छ? लाग्छ भने यस्तो डर स्वयम्‌ नै नराम्रो कुरा त होइन, बरु यहोवाको साक्षी हुँदा आइपर्ने गम्भीर जिम्मेवारीलाई तपाईंले राम्ररी बुझ्नुभएको छ भनेर देखाउँछ। यस्तो डर लाग्नुको अर्को कारण पनि छ कि? सायद, परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउनु सर्वोत्तम तरिका हो भनेर अझै विश्‍वस्त हुनुभएको छैन होला। यसो हो भने, बाइबलको स्तर बेवास्ता गर्नेहरूले कस्तो परिणाम भोग्छन्‌, त्यो विचार गर्दा बप्तिस्मा गर्ने निर्णय गर्न मदत पाउन सक्नुहुन्छ। अर्कोतर्फ, तपाईं परमेश्‍वरको स्तरलाई प्रेम गर्नुहुन्छ होला तर त्यसैअनुरूप जीवन बिताउन सक्छु भन्‍ने आत्मविश्‍वास नभएको हुन सक्छ। वास्तवमा यो राम्रै कुराको सङ्‌केत हो किनभने यसले तपाईं नम्र हुनुहुन्छ भन्‍ने देखाउँछ। हुन पनि सबै असिद्ध मानिसको हृदय छली हुन्छ भनी बाइबल बताउँछ। (यर्मि. १७:९) तर ‘परमेश्‍वरको वचनमा’ निरन्तर ‘ध्यान दिनुभयो’ भने तपाईं सफल हुन सक्नुहुन्छ। ( भजन ११९:९ पढ्‌नुहोस्‌) बप्तिस्मा गर्नदेखि हिचकिचाउनुको कारण जेसुकै होस्‌, आफू अझ विश्‍वस्त हुनु अनि आफ्नो डर-चिन्ता हटाउनु एकदमै जरुरी छ।  b

१५, १६. आफू बप्तिस्माको लागि तयार भएँ कि भइनँ भनेर तपाईं कसरी थाह पाउन सक्नुहुन्छ?

१५ तर आफू बप्तिस्माको लागि तयार भएँ कि भइनँ, कसरी पक्का गर्न सकिन्छ? एउटा तरिका भनेको आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु हो: ‘के म अरूलाई बाइबलका आधारभूत शिक्षाबारे बताउन सक्छु? आमाबाबु प्रचारकार्यमा नगएको बेला पनि के म जान्छु? के म सबै ख्रीष्टियान सभा धाउन सक्दो प्रयास गर्छु? साथीहरूले दबाब दिंदा मैले प्रतिरोध गरेको कुनै खास घटनाहरू के म सम्झन सक्छु? मेरो आमाबाबु अनि साथीहरूले यहोवाको सेवा गर्न छोडे पनि के म उहाँको सेवा गरिरहनेछु? परमेश्‍वरसितको सम्बन्ध मेरो लागि एकदमै महत्त्वपूर्ण छ भनेर के मैले प्रार्थनामा व्यक्‍त गरेको छु? अनि यहोवालाई पूर्ण हृदयले समर्पण गरेको कुरा के मैले प्रार्थनामा व्यक्‍त गरिसकें?

१६ बप्तिस्मा भनेको जीवनले नयाँ मोड लिने कदम हो अनि यसलाई हल्कासित लिन मिल्दैन। के तपाईं यो कदमबारे गम्भीरतापूर्वक सोच्न परिपक्व भइसक्नुभयो? परिपक्वता भनेको मञ्चबाट प्रभावकारी भाषण दिनु वा सभामा राम्रो टिप्पणी दिनु मात्र होइन तर बाइबल सिद्धान्त बुझेर त्यसको आधारमा निर्णय गर्नु हो। ( हिब्रू ५:१४ पढ्‌नुहोस्‌) यदि तपाईं यसो गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने तपाईंको अगाडि सबैभन्दा ठूलो सुअवसर छ—तनमनले यहोवाको सेवा गर्ने अनि साँच्चै उहाँमा समर्पित सेवक हुनुहुन्छ भनेर देखिने तरिकामा जीवन बिताउने।

१७. बप्तिस्मापछि आइपर्न सक्ने परीक्षाको सामना गर्न तपाईंलाई केले मदत गर्नेछ?

१७ बप्तिस्मा गर्नेबित्तिकै परमेश्‍वरको सेवा गर्न तपाईं एकदमै जोस्सिएर लाग्नुहोला। तर छिट्टै नै आफ्नो विश्‍वास र दृढताको जाँच हुने परीक्षाको सामना गर्नुपर्ने हुन सक्छ। (२ तिमो. ३:१२) यस्तो परीक्षाको सामना एक्लैले गर्नुपर्छ भन्‍ने नठान्‍नुहोस्‌। आमाबाबुको सल्लाह लिनुहोस्‌। मण्डलीका अनुभवी व्यक्‍तिहरूसित मदत माग्नुहोस्‌। तपाईंलाई साथ दिने व्यक्‍तिहरूसितको मित्रता कायम राख्नुहोस्‌। यहोवा तपाईंको फिक्री गर्नुहुन्छ अनि जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे तापनि उहाँले तपाईंलाई सहने बल दिनुहुनेछ भनेर कहिल्यै नबिर्सनुहोस्‌।—१ पत्रु. ५:६, ७.

तपाईं कसरी आफ्नो लक्ष्य हासिल गर्न सक्नुहुन्छ?

१८, १९. आफ्नो प्राथमिकता केलाउँदा तपाईं कस्तो लाभ उठाउन सक्नुहुन्छ?

१८ जतिसुकै प्रयास गरे तापनि आफूले चाहेको अनि गर्नै पर्ने कामकुराको लागि कहिल्यै पर्याप्त समय नभएको महसुस गर्नुभएको छ कि? यदि त्यसो हो भने तपाईंले कुन कुरालाई प्राथमिकता दिइरहनुभएको छ, सो केलाउनुहोस्‌। यो उदाहरण विचार गर्नुहोस्‌: एउटा बाल्टिनमा केही ठूलठूला ढुङ्‌गा राख्नुहोस्‌। त्यसपछि बाल्टिनमा बालुवा खन्याउनुहोस्‌। अब बाल्टिन ढुङ्‌गा र बालुवाले टन्‍न भरियो। त्यसपछि बाल्टिनबाट ढुङ्‌गा र बालुवा दुवै झिक्नुहोस्‌। फेरि त्यही बालुवा र ढुङ्‌गा बाल्टिनमा राख्नुहोस्‌। यस पटक भने बाल्टिनमा पहिला बालुवा अनि त्यसपछि मात्र ढुङ्‌गा राख्नुहोस्‌। बाल्टिनमा ढुङ्‌गा अट्यो र? कहाँ अट्‌नु! बाल्टिनमा पहिला ढुङ्‌गा राखेको भए पो बालुवा अट्‌थ्यो!

१९ विभिन्‍न कुराको लागि समय मिलाउँदा यस्तै चुनौतीको सामना गर्नुपर्ने हुन्छ। तपाईंले मनोरञ्जनजस्ता कुरालाई पहिलो स्थानमा राख्नुभयो भने अझ महत्त्वपूर्ण कुराहरू अर्थात्‌ परमेश्‍वरको सेवासित सम्बन्धित गतिविधिहरूको लागि कहिल्यै पनि पर्याप्त समय पाउनुहुनेछैन। तर “जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक” भन्‍ने बाइबलको सल्लाह पालन गर्नुभयो भने राज्य गतिविधिमा भाग लिनुका साथै केही हदसम्म मनोरञ्जनको लागि पनि समय पाउनुहुनेछ।—फिलि. १:१० NRV.

२०. आफ्नो लक्ष्य हासिल गर्ने प्रयास गर्दा तपाईंलाई चिन्ता अनि शङ्‌का लाग्छ भने के गर्नुपर्छ?

२० बप्तिस्मालगायत अरू लक्ष्यहरू हासिल गर्ने प्रयास गर्दा कहिलेकाहीं चिन्ता वा शङ्‌का लाग्न सक्छ। यस्तो अवस्थामा ‘आफ्नो भारी परमप्रभुमा राख्नुहोस्‌, र उहाँले तपाईंलाई सम्हाल्नुहुनेछ।’ (भज. ५५:२२) मानव इतिहासमा पहिला कहिल्यै नभएको अत्यन्तै रोमाञ्चकारी अनि महत्त्वपूर्ण काम अर्थात्‌ विश्‍वव्यापी प्रचार तथा शिक्षण अभियानमा भाग लिने मौका अहिले तपाईंसित छ। (प्रेरि. १:८) तपाईं कुन कुरा रोज्नुहुन्छ—केवल मूकदर्शक बनेर अरूले यो काम गरिरहेको टुलुटुलु हेर्ने वा तपाईं स्वयम्‌ पनि यस कार्यमा सक्रिय भई भाग लिने? रोजाइ तपाईंकै हो। राज्य गतिविधि विस्तार गर्ने काममा आफ्नो सीप प्रयोग गर्नदेखि पछि नहट्‌नुहोस्‌। ‘युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गरेकोमा’ तपाईं कहिल्यै पछुताउनुपर्ने छैन।—उप. १२:१. (w10 -E 11/15)

[फुटनोट]

a द वाचटावर अगस्त १, २००९ को पृष्ठ १५-१८ हेर्नुहोस्‌।

b यस सन्दर्भमा मदतको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (क्वेशन्स्‌ यङ पिपल आस्क—आन्सर्स द्यात वर्क) भन्‍ने पुस्तकको खण्ड २ अध्याय ३४ हेर्नुहोस्‌।

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

के तपाईंले दिनहुँ बाइबल पढ्‌ने लक्ष्य राख्नुभएको छ?

[पृष्ठ २२-मा भएको चित्र]

बप्तिस्माको लक्ष्यसम्म पुग्न तपाईंलाई कुन कुराले मदत गर्नेछ?

[पृष्ठ २३-मा भएको चित्र]

यस उदाहरणबाट तपाईंले कस्तो पाठ सिक्नुभयो?

[पृष्ठ २३-मा भएको चित्र]

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• तपाईंले किन लक्ष्य राख्नुपर्छ?

• हासिल गर्न लायकका केही लक्ष्य के-के हुन्‌?

• बप्तिस्माको लक्ष्य हासिल गर्नुमा के समावेश छ?

• आफ्नो प्राथमिकता केलाउँदा लक्ष्यहरू हासिल गर्न तपाईंले कस्तो मदत पाउन सक्नुहुन्छ?